युवाको दृष्टि : नेता होइन नीति- विविधा - कान्तिपुर समाचार

युवाको दृष्टि : नेता होइन नीति

युवा वर्गले नीति वा नेता के रोज्ने भन्नेबारे निर्णय गर्नु आवश्यक छ । बुझ्नुपर्ने कुरा के हो भने नीतिको जीतले दीर्घकालीन हित गर्छ भने नेताको जीतले सीमित व्यक्तिलाई अल्पकालीन हित गर्छ ।
दधि अधिकारी

काठमाडौँ — भनिन्छ, राजनीतिमा शक्ति र पद कसैले दिएर प्राप्त हुँदैन, यो त छिनेर लिन सक्नुपर्छ । तर छिन्ने तरिका भने समाज र देशअनुसार फरकफरक हुन्छ । भारतको विहारमा कुनै समय निकै शक्तिशाली मानिने पप्पु यादव र अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले शक्ति र पद प्राप्त गर्न प्रयोग गरेका विधि र प्रक्रिया नितान्त फरक छन् ।


जहाँ पप्पु यादवले डर, त्रास, धम्की र आवश्यक परे अपहरण र हत्याजस्ता उपाय प्रयोग गरेर पद र शक्ति प्राप्त गर्थे भने बाराक ओबामा अध्ययन, समस्याको वैज्ञानिक विश्लेषण, आमनागरिकको समस्याको उचित सम्वोधन र केही हदसम्म वक्तृत्वकलाको कारणले राष्ट्रपति चुनिएका थिए । र, यही तरिकामा हुने फरकले समग्र समाजको विकास र समृद्धिकोस्तरलाई फरक पार्छ ।

अहिले देशमा अवसर पाएका केही छिटपुट मानिसबाहेक धेरैमा देश र समाजप्रति निराशा देखिन्छ । निराशाको पछाडी केही मत्हवपूर्ण कारकहरू छन् । निकम्मा सरकारी सेवा प्रवाह, भ्रष्टाचार र खुलेआम लुट, कुनै पनि अवसरको निम्ति चाकडी र चाप्लुसी एकमात्र योग्यता, पाइला–पाइलामा दलाल र ठगको बिगबिगी, जिम्मेवारी र उत्तरदायित्वको अभाव निराशाका केही कारकहरू हुन् । एक औसत नागरिक र स्वाभिमानी व्यक्ति यी कारकहरूको सञ्जालभित्र छिर्नै सक्दैन र राज्यबाट संधै ठगिईरहन्छ ।

हुन त विगत ७० वर्षमा देशमा विकासका सूचक सुधार हुँदै नभएका होइनन् । सडक सञ्जाल ७ सयबाट करिब १ लाख किलोमिटर पुगेको छ । प्राथमिक विद्यालयमा भर्ना दर १५ प्रतिशतबाट करिब सतप्रतिशत पुगेको छ, बिजुली बत्तीको उत्पादन ९ मेगावाट १३०० मेगावाट पुगेको छ । खानेपानीमा पहुाच करिब सतप्रतिशत पुगेको छ । बालमृत्युदर र मातृमृत्युदर धेरै घटेको छ । सन् १९९० मा १९० डलर भएको प्रतिव्यक्ति आय अहिले १००० डलर नाघेको छ । अन्य क्षेत्रमा पनि यसैगरी विकास भएको छ । तर यी विकासका तीनवटा प्रमुख समस्या रहेका छन् ।

पहिलो समस्या, विकासको यो गति निकै सुस्त रहेको छ । सन् १९६० मा लगभग नेपालकै हाराहारीमा रहेका सिङ्गापुर, दक्षिण कोरिया र चीनजस्ता देसहरू अहिले विश्वका ‘रोल मोडेल’ बनेका छन् भने नेपाल कछुवाको गतिमा घस्रिरहेको छ । दोस्रो, विकासका यी सूचक प्राप्त गर्न लागेको लागत निकै बढिरहेको छ । हामीले विकासको नाममा गरेको खर्चले अहिलेको भन्दा धेरै विकास गर्न सकिन्थ्यो । आमनागरिकको करबाट उठाइएको रकम विकासको नाममा भ्रष्टहरूको खल्तीमा गएको छ । तेस्रो, हामीले निर्माण गरेका पूर्वाधार र प्रवाह गरेका सेवाका गुणस्तर निकै निम्नस्तरका छन् । जस्तै— विद्यालयको सङ्ख्या बढ्यो तर शिक्षाको गुणस्तर बढेन । घरघरमा धारा त जोडियो तर धारामा पानी आएन । नदी र खोलामा बनेका कतिपय पुलहरू त बनिनसक्दै भत्किए ।

देशमा योजनाबद्ध विकासको थालनी भएको ६ दशकभन्दा बढी भए पनि योजनाको छनक देखिएन । सुव्यवस्थित बस्तीहरूको विकास हुन सकेन । देशको निम्ति योगदान दिने प्रमुख क्षेत्रहरू के–के हुन् र ती क्षेत्रको विकास कसरी गर्ने भन्नेबारे सरकार पिच्छे फरक धारणा आउन थाले । देश विकासका खाका र योजना तथ्यमा भन्दा पनि लहडमा आधारित भए । सन् १९९० पछि सरकारले गरेको एउटा काम जसले अहिले देशको अर्थतन्त्र धानिरहेको छ– त्यो हो सहजरूपले राहदानी दिने । यसलेगर्दा कृषि क्षेत्रको योगदानको हाराहारीमा विप्रेषणले राष्ट्रिय आम्दानीमा योगदान गरिराखेको छ ।

आमनागरिकहरू राजनीति र राजनीतिज्ञबाट झनै निराश देखिन्छन् । विगत ७० वर्षदेखि देशको राजनीति लोकतन्त्र र स्थायित्वको नाममा भद्रगोल छ । भारतको संविधान सन् १९५० मा बनेको हो भने श्रीलङ्काको संविधान १९७८ मा बनेको हो । अमेरिकाको संविधान १७८७ मा बनेको हो भने बेलायतमा आजपर्यन्त लिखित संविधान छैन । यी देशहरूमा लामो समयदेखि एउटै संविधानले काम गरिराखेको छ । समयअनुसार केही संशोधन स्वाभाविक हो ।

तर नेपालमा भने २००७ साल यता छवटा संविधान बनिसकेका छन् । यसको मतलव, औसतमा १४ वर्षमा अर्को नयाँ संविधान बनेको छ । नयाँ संविधानको निर्माण गर्नु संविधान संशोधन गर्नु जस्तो सामान्य कार्य होइन । यसको पृष्ठभूमिमा ठूलो आन्दोलन र सङ्घर्ष रहेको हुन्छ । धेरै जनधनको क्षति भएको हुन्छ । यी आन्दोलनको सफलताको निम्ति लामो समय लागेको हुन्छ र त्यस अवधिमा देशका अन्य क्षेत्र ठप्पजस्तै भएका हुन्छन् ।

राजनीतिमा ऐतिहासिकरूपमा नै देखिएका यी अस्थिरताका संवाहक कुनै सिद्धान्तभन्दा पनि व्यक्तिगत महत्वाकाङ्क्षाले गर्दा उत्पन्न भएका छन् । यस्ता अस्थिरता र राजनीतिज्ञका गैरजिम्मेवार व्यवहारले आमनागरिकमा राजनीति र राजनीतिज्ञप्रति सन्तुष्ट छैनन् । विशेषतः आजको युवापुस्ता राजनीतिबाट बिरक्तिएको देखिन्छ ।

राजनीतिमा चरम विकृति भित्रिएको छ । चुनाव मात्र होइन सभा र विरोध प्रदर्शनसमेत पैसाको आडमा हुन थालेको छ । लोकतन्त्रमा आˆनो कुरा राख्न पाउने अधिकार त हुन्छ तर अहिले त्यो अधिकार अप्रत्यक्षरूपमा खोसिँदैछ । पैसा नभएका गरिब र निमुखाले आˆना कुरा राख्न नसक्ने भएका छन् । जीवनभर लोकतन्त्रको निम्ति सङ्घर्ष गरेको व्यक्तिलाई सरक्क पाखा लगाएर मोटो चन्दा दिने व्यक्तिलाई पार्टी र राज्यसंयन्त्रमा मौका दिने परिपाटी बसेको छ । उच्च राजनीतिक नेतृत्वको जीवनशैली आश्चर्यजनकरूपमा फेरिएको छ । कर्मचारीतन्त्र यस्तै कुरालाई बढावा दिन तल्लीन छ । तर यी र यस्ता क्रियाकलापलाई औंला ठड्याउन सक्ने नत कुनै स्वतन्त्र निकाय छ न आमनागरिकमा त्यो हैसियत नै छ । यस्तो अवस्थामा केही टाठाबाठा र हुनेखानेले मात्र लोकतन्त्रको उपयोग गरिरहेका छन् । राजनीतिमा देखिएका यी विकृतिहरूले आमनागरिकमा निराशा जन्माएको छ ।

राजनीति र राजनीतिज्ञप्रति जति नै वितृष्णा भए पनि देशको भाग्य राजनीति र राजनीतिज्ञको वरिपरि नै घुमेको हुन्छ । देशको भविष्य कोर्ने नीतिनिर्माण अन्ततः राजनीतिमार्फत् नै हुने हो । अतः देशका नागरिक, विशेषतः युवावर्ग राजनीतिबाट विरक्तिएर पलायन हुनुको साटो राजनीतिमा सक्रिय हुनु अहिलेको आवश्यकता हो । राजनीतिमा सक्रिय हुनुको अर्थ काम छोडेर सधै सभा, जुलुसमा सहभागी हुनुपर्छ भन्ने अर्थमा लिइनु हुँदैन । आमनागरिकमा चेतना अभिवृद्धि, उचित मञ्चमार्फत् गलत कुराको विरोध, पारदर्शिताको निम्ति ऐक्यबद्धताजस्ता कुरामार्फत् पनि राजनीतिमा सक्रिय हुन सकिन्छ । अहिले मुख्य आवश्यकता युवाहरू देशमा सही नेतृत्व र प्रणालीको निरन्तरताको निम्ति सचेत र क्रियाशील हुनु आवश्यक छ ।

महान दार्शनिक प्लेटोले समाज वा राष्ट्रलाई एउटा जहाजसाग तुलना गरेका छन् । जहाजको निम्ति एउटा क्याप्टेन चाहिन्छ । क्याप्टेन चयनको निम्ति रस्साकसी चल्छ । अन्ततः एउटा क्याप्टेन चयन हुन्छ । तर प्लेटो त्यसरी चयन हुने क्याप्टेन विरलै मात्रामा योग्य हुन्छ भन्छन् । किनभने त्यो जहाजको भविष्यबारेमा जानकारी राख्ने मान्छे नेतृत्वको रस्साकस्सीमा लाग्दै लाग्दैन । ऊ त समुद्रमा कताबाट छाल आएको छ, हावा कुन दिशामा बहिरहेको छ जस्ता जहाजको भविष्यसाग जोडिएका कुराको अध्ययन गर्न व्यस्त हुन्छ । उसको त्यो व्यस्ततालाई जहाजमा यात्रा गरिरहेका मानिसले पागलपनको संज्ञा दिन्छन् । यसलेगर्दा कमजोर र जहाजको लागि अनुपयुक्त पात्र जहाजको क्याप्टेन बन्न पुग्छ ।

प्लेटोको यो सिद्धान्त केही निराशावादी देखिए पनि समाजको उत्तरोत्तर प्रगतिको निम्ति असल, पढेलेखेको, संसार थाहा भएको व्यक्तिले नै त्यो समाजको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता राख्छन् । नेपालको सन्दर्भमा भन्ने हो भने नेतृत्व लिने त्यो शक्ति भनेको युवाशक्ति हो । आजको युवा प्रविधिको जानकार छ, अध्ययनशील छ, जोखिमका साथसाथै जिम्मेवारी पनि लिन्छ र देशको करिब आधा जनसङ्ख्याको प्रतिनिधित्व गर्दछ । विडम्बना अहिलेको हाम्रो राजनीतिले यो वर्गलाई पूर्णरूपमा उपेक्षा गरेको छ ।

युवा वर्गले नीति वा नेता के रोज्ने भन्नेबारे निर्णय गर्नु आवश्यक छ । बुझ्नुपर्ने कुरा के हो भने नीतिको जीतले दीर्घकालीन हित गर्छ भने नेताको जीतले सीमित व्यक्तिलाई अल्पकालीन हित गर्छ । हामीले विगतदेखि सडकमा जिन्दावाद र मुर्दावादको नारा लगाइराखेका छाौ । तर देशमा अझ पनि लोकतन्त्रको संस्थागत विकास हुन सकेको छैन । लोकतन्त्रको चीरहरणका प्रयास बेलाबेलामा हुने गरेका छन् । देश दलाल पुँजीवादको चङ्गुलमा फसेको छ । यसको प्रमुख कारण राजनीति नीतिप्रधान नभएर नेताप्रधान हुनु नै हो । अतः युवावर्गले पछिको पुस्ताको जीवन पनि लोकतन्त्र र विकासको निम्ति जिन्दावाद र मुर्दावाद गर्दै नबितोस् भन्ने चाहने हो भने अहिलेदेखि नै राजनीतिमा नेताभन्दा नीतिलाई प्राथमिकता दिने दिशा रोज्नुको विकल्प देखिँदैन ।

प्रकाशित : आश्विन १०, २०७८ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्

चन्द्रागिरि नगर ३ नम्बर वडाको आफ्नै भवन

कान्तिपुर संवाददाता

काठमाडौँ — चन्द्रागिरि नगरपालिकाअन्तर्गत वडा नम्बर ३ थानकोट गणेशथानमा आफ्नै नयाँ भवनमा सरेको छ । स्थानीयको श्रमदान, १५ लाख हाराहारी चन्दा, वडा र नगरको बजेटसहित २ करोड ९ लाख रुपैयाँमा बनाइएको भवन चन्द्रागिरिका मेयर घनश्याम गिरिले शनिबार उद्घाटन गरेका थिए । वडा अध्यक्ष दुर्गालाल महर्जनका अनुसार, १७ आना क्षेत्रफलमा बनाइएको भवनको निर्माण अढाई वर्षअघि थालिएको थियो । 

कोरोना संक्रमणका कारण निर्माण कार्यमा ढिलाई भएको महर्जनले बताए । उनले उज्यालो वडाअन्तर्गत सबै टोलमा बिजुली जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । वडाले यसअघि यसै भवनमा आइसोलेसन संचालन गरेको थियो ।


प्रकाशित : आश्विन १०, २०७८ २०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×