कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थ बांगिनुको पीडा भोग्दै ‘नौटङ्की’

नौटङ्कीको नकारात्मक व्याख्या गर्ने, आफ्ना बेतुकका विरोध जनाउन अन्य उपयुक्त शब्दावली हुँदाहुँदै पनि ओजपूर्ण कला विद्याको गरिमामाथि प्रहार गर्ने काम बन्द गरियोस् । 
रमेश रञ्‍जन

काठमाडौँ — अरूलाई झूटा, फरेबी, असत्य बोल्ने, सत्यलाई प्रकट हुन नदिने, बेइमान आदि नकारात्मक टिप्पणी गर्दा नौटङ्की शब्दको प्रयोग हुने गरेको छ । सामाजिक, राजनीतिक क्षेत्रका टिप्पणीकर्ताका लागि नौटङ्की आदर्श र प्रिय शब्द बनेको छ । ‘के नौटङ्की गरेको ?’ ‘यस्तै नौटङ्की गर्ने हो ?’ ‘नौटङ्की गर्न जानेकै हो’ । ‘जनतासँग मतलब छैन, नौटङ्की गरेको छ ।’ ‘काम गर्दैन, नौटङ्की मात्रै गर्छ ।’ ‘नौटङ्की नगर न ।’ 

अर्थ बांगिनुको पीडा भोग्दै ‘नौटङ्की’

यस्ता टिप्पणी पत्रपत्रिका, सामाजिक सञ्जाल वा सञ्चारमाध्यमहरूमा हेर्न र सुन्न सकिन्छ । राजनीतिक र सामाजिक जीवनका कुनै महत्त्वपूर्ण व्यक्तिद्वारा नौटङ्की शब्दलाई माध्यम बनाएर नकारात्मक टिप्पणी नगरिएको दिनै हुँदैन । राजनीतिक नेता/कार्यकर्ताले टिप्पणी गर्दासम्म त सामान्य रूपमा ग्रहण गर्न सकिन्छ तर बौद्धिक व्यक्तित्व, कला मर्मज्ञ, साहित्य, कलाचेत भएकाहरू पनि सोहीअनुसारको भाव सम्प्रेषण गर्न नौटङ्की शब्दको प्रयोग गर्न चुक्दैनन् ।

विश्लेषक सिके लालले (कान्तिपुर २०७८ जेठ ४ गते) सर्वेसर्वा प्रचण्ड प्रताप शीर्षक आलेखमा नाटक र नौटङ्की छुट्टयाउने मापदण्ड नै निर्धारण गर्नु भएको छ, ‘नाटकको सामाजिक सान्दर्भिकता हुन्छ भने नौटङ्कीको प्रमुख उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु हो ।’

झन् नेपाली नाट्यमञ्चका आचार्यका रूपमा सम्मानित डा. अभि सुवेदीले नौटङ्की शब्दको अद्भूत प्रयोग गर्नु भएको छ । ‘सम्झनामा नाटक–नौटङ्की’ (२०७८ वैशाख १८ कान्तिपुर) मा प्रकाशित आलेखमा कार्ल मार्क्सको भनाइलाई हुबहु राख्दै भन्नु भएको छ, ‘इतिहासै परिवर्तन भएर आउँछ । पहिला ‘ट्रेजडी’ हुन्छ, दोस्रोपटक नौटङ्की हुन्छ/कमेडी हुन्छ ।’ डा. सुवेदीको वाक्य संरचनाले नै संशय उत्पन्न गरेको छ । किनकि, उहाँले नौटङ्की ‘स्ल्यास कमेडी’ लेख्नु भएको छ । मार्क्सले त्यस्तै लेख्नु भएको हो त ? मार्क्सले नौटङ्की शब्दको प्रयोग नकारात्मक अर्थमा गरेको कुनै आधार देखिँदैन ।

सन् १८१८ मा जन्मेको मान्छे एकसय पच्चीस वर्षअघिमात्र नामाकरण भएको विधाबारे कसरी जानकार हुन सक्छन् ? त्यसैले मार्क्सले प्रयोग गर्ने शब्द नौटङ्की हुन सक्दैन । डा. सुवेदीेले मार्क्सले प्रयोग गरेको कुनै अन्य शब्दलाई मार्क्सको भावको पुनर्संरचना गर्दै नौटङ्की लेख्नुभएको हुनसक्छ । संभवतः त्यो शब्द ‘कमेडी’ हो । यदि त्यही हो भने ‘कमेडी’लाई नौटङ्की भन्न मिल्छ र ?

नौटङ्कीको मूल अर्थभन्दा भिन्न प्रयोगबारे भाषाशास्त्री डा. रामावतार भन्नुहुन्छ, ‘कुनै शब्द आफ्नो मूल अर्थभन्दा भिन्न अर्थको लागि प्रयोग भएका अनेकौं उदाहरण छन् ।’ भाषाविज्ञानको दृष्टिले नौटङ्की शब्दको प्रयोगकर्ताले कसैलाई होच्याउन वा झुटासाबित गर्न प्रयोग गर्दा यस शब्दले आफ्नो मूल अर्थलाई जोगाउन नसकेको निष्कर्ष निकाल्दा हुन्छ । अर्थात् यसका प्रयोगकर्ताले सचेत रूपमा प्रयोग नगरेको भन्नुपर्ने हुन्छ । अर्थात् हाम्रा शब्दकोषहरूले पनि भ्रम छर्ने कार्य गरेका छन् । जे कारणले भए पनि नौटङ्की शब्दलाई नबुझी प्रयोग गरिदिँदा नाटकको एउटा शील्पको साँच्चै अधोगति भएको छ ।

नौटङ्कीको विगत

एकसय पच्चीस वर्षअघि अविभाज्य भारतको अम्बालामा तैनाथ क्याप्टेन आर. सी. टेम्पल नामका अङ्ग्रेज अधिकारीले अनेकौँ खण्डमा संयोजित ‘दि लिजेन्ड्स अफ पन्जाब’ नामक एउटा सन्दर्भग्रन्थ प्रकाशित गरेका थिए । (सुरेश सलिल, रंग प्रसंग, पूर्णाङ्क ५, सन् २०००) त्यस ग्रन्थको प्रकाशन सन् १८३३ मा भएको र ‘फिल्डवर्क’ स्वभावको यस कार्यमा वर्षौं समय लागेको हुनसक्ने अध्येताहरू आकलन गर्छन् ।

त्यस ग्रन्थमा पन्जाब, हरियाणा र उत्तरप्रदेशका मेरठसम्मका स्वाँगलाई सङ्कलन गरिएको छ । नौट्ङ्कीको आदि स्रोत स्वाँग नामक लोककलालाई मानिन्छ । ऐतिहासिक अध्ययनको दृष्टिले त्यस ग्रन्थमा सोही क्षेत्रका लोकनाट्यकार बंसीलालका तीनवटा लेख्य स्वाँगहरू पनि सङ्कलित छन् ।

नौटङ्कीको उद्गम लोकनाट्य नै हो । नगहर, नकटौरा, मरिँगा, स्वाँगजस्ता लोकनाट्यको समिश्रित रूप हो नौटङ्की । नौटङ्कीमात्र सांस्कृतिक धरोहर होइन, लोकचेतनाको शक्तिशाली माध्यम पनि हो । (विजय पण्डित, रंग प्रसंग, पूर्णाङ्क ८, २००१) । नौटङ्कीभन्दा पहिला ख्याल, लावणी गायिकी परम्परा रहेको थियो । उन्नाइसौँ शताब्दीको उतरार्द्धमा उत्तरप्रदेशको हाथरस भन्ने ठाउँमा स्वाँग परम्पराको शुरूवात भयो । ख्याल, लावणी र केही अन्य लोक तथा शास्त्रीय सङ्गीतसहितको स्वाँगको रूपमा एउटा नवीन विधाको विकास भयो । यसमा अभिनय पनि थियो तर सङ्गीतको बाहुल्यता भएको कारणले ‘सङ्गीत’को नाउँले प्रसिद्धि पायो । स्वाँगमा नृत्य, गायन, वादन र अभिनय समाहित हुन्छ ।

नौटङ्कीको व्यवसायिक मण्डली स्थापित गरिसकेपछि हाथरसका प्रसिद्ध ख्याल गायक नत्थाराम शर्मा गौड प्रत्येक वर्ष साउनमा आफ्ना समूहसहित प्रदर्शनका लागि कानपुर आउने गर्थे । नत्थाराम हाथरसबाट कानपुर आएर नौटङ्की प्रदर्शन गर्न थालेपछि कानपुरबासीमा यस कलाप्रति उच्च सम्मान देखिन थालेको थियो । मञ्चबाटै नत्थारामले चुनौती दिए, ‘यस्ता स्वाँग अरू कसैले गर्न सक्दैनन् ।’ कानपुरका प्रसिद्ध कलाकार बंदी खलिफाको नेतृत्वमा कानपुरमा स्वाँगको अभ्यास भए पनि हाथरसजस्तो स्तर कानपुरीहरूको थिएन ।

बंदी खलिफाले नत्थारामको चुनौती सहन सकेनन् । स्वाँग प्रदर्शन भइरहँदा बीचमै उभिएर घोषणा गरिदिए, ‘म तेरो चुनौतीलाई स्वीकार गर्छु । यसै स्थलमा एक महिनाभित्र म यस्तो ‘नौटङ्की’ गर्छु जसमा एक्कैसाथ बाह्रवटा नङ्गारा बजाइनेछ ।’ बंदी खलिफाको यो घोषणाले नै कानपुरी स्वाँग परम्पराको प्राक्कथन बन्यो । सँगै त्यसै घोषणमा स्वाँगशैलीको नयाँ नामाकरण पनि भयो । यसअघि नौटङ्की शब्द प्रयोग भएको थिएन । बंदी खलिफाको घोषणाबाटै एउटा कला विद्याले नौटङ्की नाउँ पाएको हो । (सुरेश सलिल, रंग प्रसंग, पूर्णाङ्क ५, सन् २०००)

नौटङ्कीको मूल र प्रारम्भिक स्वरूप अभिनय र नृत्यप्रधान थिएन । यसको पहिचान नै शुद्ध र प्रमाणिक गायिकी थियो । यसलाई लोकनाट्य विद्या भने पनि यसको गायिकीमा शास्त्रीय सङ्गीत अनिवार्य उपस्थिति हुने गरेको थियो । नौटङ्कीका लागि विभिन्न राग, लय र तालको प्रयोग आवश्यक मानिन्छ । यस लोकनाट्य परम्पराको लावनी गायनसँग गहिरो सम्बन्ध रहेको छ । प्रारम्भमा ब्रजको ध्रुपद प्रधान गायिकीको नौटङ्कीमा प्रयोग गरिन्थ्यो ।

नौटङ्कीमा प्रयोग हुने छन्दलाई मूलतः विज्ञहरूले दुई भागमा बाँडेका छन् । मुख्य वा चारित्रिक छन्द वा सहायक वा अलङ्कारिक छन्द । मुख्य छन्दमा दोहा, चौबोला, दौड, बहर, तबील र सहायक छन्दमा दुबोला, छन्द, सोहनी, लावनी, कड, वीर, छन्द, आल्हा, शिकस्त, कव्वाली, रेख्ता, थिएटर, डेढ, तुर्की, गजल, दादरा, माँड, कालगंड, रंगत, छोटी र ठुमरी प्रमुख हो ।

छन्द ज्ञान नभएका लेखकले नौटङ्की लेख्न सक्दैनन् । नौटङ्कीको पाठमै रागबारे स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ । नौटङ्कीको गायनमा लय बाँधिएको हुँदैन । लावनी, दादरी र चौबोला अपवादजस्तै हो । दौडमा तेह्र–तेह्र मात्राको पंक्ति गायन गरिसकेपछि नङ्गारा बजाइन्छ । ‘बहरेबील’को एउटा कम प्रचलित गायिकीलाई छोडेर बाँकी सबै गायनमा ताल वाद्य संगत गर्दैन ।

विश्व अथवा युरोपमा अपेराको समृद्ध परम्परा रहेको छ । अपेरामा पनि तालबाट मुक्त स्वतन्त्र गायिकीको प्रयोग गरिँदैन । भारतका प्रसिद्ध नौटङ्की विशेषज्ञ मुद्राराक्षसले गम्भीर खोजबीन गर्दा जर्मनीको पुरानो अपेरामध्ये एउटा यस्तो फेला पर्‍यो जसको सम्पूर्ण अपेरा गायनमा दुइटा पद्धतिको प्रयोग गरिएको छ । एउटा ‘आरिया’ अर्को ‘रेचितातिवो’ ।

एउटै अपेरामा अभिनेता वाद्ययन्त्र प्रयोग गर्दै तालमा गाउँछन् र केही संवादसहितका पद ताल, वाद्य प्रयोग नगरिकन गाउँछन् । यस गायनशैलीलाई रेचितातिवो भनिन्छ । यस शताब्दीमा रेचितातिवोको प्रयोग स्पेन, इटली, फ्रान्स र इङ्गल्याण्डका केही अपेरामा पनि भएको छ । रेचितातिवो र नौटङ्कीको बहरेतबीलमा विज्ञहरूले साम्यता रहेको निष्कर्ष निकालेका छन् । फरक मात्र यति छ कि रेचितातिवोमा ताल वाद्यको प्रयोग नै हुँदैन भने बहरेतबीलमा दोहा वा दौडको आधी नाटकीय अवस्था उसको अन्तराल वा उपसंहारमा बज्ने नङ्गारा वाद्यबाट पूरा हुन्छ ।

नृत्य कलाकारको लागि नर्तन गुण हुनै पर्छ । आधुनिक रङ्गमञ्चको प्रभाव र विकासले नौटङ्कीमा पनि महिला कलाकार भित्रिएका हुन् । पहिला नर्तकको रूपमा र पछि चरित्रकै रूपमा महिला कलाकार नौटङ्कीमा अनिवार्य भए । नौटङ्की अध्येता विजय पण्डितका अनुसार बिसलपुर (पिलीभित, उत्तरप्रदेश) को नौटङ्कीका प्रसिद्ध कलाकार राधारानी जयपुरका पण्डित कृष्णकुमार महराजको सान्निध्यमा शास्त्रीय नृत्यको शिक्षा लिएर नौटङ्कीको मञ्चमा प्रयोग गरिन् । आधुनिक रङ्ग चेतना भएकी उर्मिला थपलियालले नौटङ्कीलाई प्रतिष्ठित गर्ने क्रममा कत्थक प्रयोग गरेकी थिइन् । अन्य विद्याजस्तै नौटङ्कीले पनि व्यावसायिक प्रतिस्पर्धाको दबाबमा आफ्नो मूल स्वरूपलाई जोगाउन सकेन ।

शास्त्रीय स्वरूप विकृत हुँदै सस्तो तथा उत्तेजक नृत्यको प्रस्तुति हुन थाल्यो । सिनेमाको बढ्दो प्रभाव र पारसी रंगमञ्चको एकछत्र व्यवसायिक बजारसँग प्रतिस्पर्धा गर्न नौटङ्कीले आफ्नो मूल स्वरूप गुमाउँदै गएको देखिन्छ । प्रतिस्पर्धाका कारण नौटङ्की कम्पनीहरू कलाकारको हातबाट पुँजिपतिको हातमा गए । कानपुरमा कृष्ण पहलमानले पारसी नाटक गर्नेजस्तै नौटङ्की कम्पनी बनाए । यथार्थवादी दृश्यहरूको आवश्यकता बोध भयो । दृश्य अनुसारको पर्दा निर्माण पारसीकै अनुकरणमा हुन थाल्यो । फेरि पारसी नाटक र नौटङ्कीको विषयवस्तुमा सामिप्यता पनि थियो । ऐतिहासिक र पौराणिक कथानकप्रति दुवै आकर्षित थिए । कपडामा ‘पेन्ट’ गरेर दृश्यलाई भव्य बनाउन थालियो ।

मञ्चमा पर्दाका कैयौं पत्रहरू हुन्थे । लपेटिएर माथि जाने र तल आउने प्रविधिसहितका पर्दा भित्रिए । बगैँचा, जङ्गल, झर्ना, बाघ, मृगजस्ता प्राकृतिक र जङ्गली जीवहरू सहितको असम्भव देखिने दृश्यले मञ्चलाई भव्यता प्रदान गर्‍यो । दरबारको दृश्यमा दरबारी देखाउन मानव पुत्लाको निर्माण शुरू भयो । नौटङ्कीमा वास्तु शील्प, पेन्टिङ्ग र मूर्तिकलाको पनि पर्याप्त प्रयोग हुन थाल्यो । कारण एउटै थियो बजारको दबाब । फिल्म र पारसी ‘थिएटर’को बजार बिस्तारको रणनीतिसँग प्रतिस्पर्धा गर्न नौटङ्कीले आफ्नो मूल स्वरूपमा व्यापक परिवर्तन गर्दै रूप र अनुहार विकृत बनायो ।

मैथिली नौटङ्कीसित मेरो साइनो

धनुषा जिल्लाको सानो गाउँ परवाहामा मेरो जन्म भएको हो । बाल्यकालमा नौटङ्कीसँग नजिक हुने शौभाग्य मैले पाएँ । पछिल्ला समय नौटङ्कीका विकसित दुईवटा धाराहरूमध्ये कानपुरी नौटङ्की बिहार हुँदै नेपालमा प्रवेश गरेको हो । मेरो गाउँमा नौटङ्कीको व्यावसायिक समूह थियो । तर ती समूह सञ्चालित रहेको समयको सम्झना मसँग छैन । ती समूह विघटित भइसकेपछि नौटङ्कीका ती कलाकारहरू अनिवार्य रूपमा मेरो घर–दलानमा आउने र धेरै समय बिताउने गर्थे । उनीहरूसँग विगतको संस्मरण मसँग छ । उनीहरूसँग सफलता र सङ्घर्षका कथाहरू थिए । एकठाउँमा जम्मा भएपछि ती सबै सम्झनाहरू मौखिक आख्यानको रूपमा अभिव्यक्त हुन्थ्यो । त्यसमा उनीहरूको आफ्नै इतिहास हुन्थ्यो, यात्राका घाम र छहारी हुन्थे । दुःख, पीडा र सङ्घर्षका गाथा हुन्थे । कलायात्राका सहयात्रीहरूसँगको प्रेम र विछोडका भावनात्मक रूपहरू प्रकट हुन्थे ।

नौटङ्कीका कलाकार मधुरी भण्डारी र नङ्गारवादक फिरन मिश्र आफ्नो पीडा अभिव्यक्त गर्थे । समूहको विघटन नौटङ्की यात्रामाथिको बिराम थियो । वर्षौंसम्म ती कलाकारहरूले केही पनि गर्न सकेनन् । बेकम्माको उपाधिसहित अपमानित भएर बाँच्नु परेको थियो ।

तिनले समयक्रममा पेशा परिवर्तन गरे । तर पनि तिनीहरू भित्र रहेको नौटङ्की कलाको मृत्यु भइसकेको थिएन । दलानमा बसेपछि आफ्ना अतित सम्झिदै कहिलेकाहीँ स्वतःस्फूर्तरूपमा र कहिलेकाहीँ मेरो बालपनको जिद्दीका कारण तिनीहरू नौटङ्की सुनाउँथे । त्यतिबेला मैले अमरसिंह राठौर, चान्दीका पेर, लैला–मजनु, भक्त मोरध्वज, दहीवाली आदि नौटङ्कीको पूर्णपाठ सुनेको छु ।

मिथिलामै विकसित वा अन्य ठाउँबाट आएका कला विद्या लोकप्रिय भएपछि त्यसका कला वैशिष्ट्यप्रति सर्जकहरू आकर्षित हुन थाले । लीला र नौटङ्कीजस्ता नाट्य शील्पप्रति बढ्दो आकर्षणले मैथिली आधुनिक रङ्गमञ्चमा कार्य गर्ने सर्जकहरू पुनर्सिर्जन गर्न थाले । भारत पटनाका रङ्ग निर्देशक कुणालले सोमदेवको लेखन रहेको ‘सीतायन’ प्रदर्शन गरेका थिए ।

यो प्रदर्शनमा सीता लङ्काबाट अयोध्या फर्किने बेलाको कथा समेटिएको छ । सीता अग्निपरीक्षापश्चात् अयोध्या आईन् । रामको महलमा महारानी सीतालाई रामका सगा सम्बन्धीहरूले मानसिक प्रताडना दिइरहेको हुन्छ । लाञ्छना र आरोपका कारण विक्षुब्ध सीता छटपटिइरहेकी हुन्छिन् ।

लङ्काको बन्दी जीवनभन्दा रामको महल झन्झन् कष्टकर बन्दै जान्छ । चारित्रिक लाञ्छना सीताको नियति बन्दै गएको हुन्छ । मौन र लाञ्छित जीवन सीताको मात्रै होइन सीतालाई एउटा बिम्वको रूपमा प्रयोग गर्दै आममैथिल महिलाको अवस्थालाई सीतायनमा चित्रित गरिएको छ । सीता सम्मानपूर्वक अयोध्यामा रहन सक्ने अवस्था बन्दैन ।

नेपालमा भने डा. राजेन्द्र विमलले २०४६ सालको परिवर्तनपछि मैथिलीमा नौटङ्की लेखेका हुन् । ‘नौटङ्की चलि रहल अछि’ शीर्षकको यो पाठ परिवर्तित राजनीतिक व्यवस्थामा जनता र नेताको जिम्मेवारीपूर्ण भूमिकाको अपेक्षासहित उत्कृष्ट व्यंग्यसहितको नौटङ्की हो । डा. विमलकै लेखन र मेरो निर्देशनमा २०५९ सालमा ‘सीता’ नाटक प्रदर्शन भएको थियो । यसमा सीताको जन्मकथाको मिथकीय अवधारणालाई विज्ञानसम्मत र तार्किक बनाउँदै तत्कालीन मिथिलाको कहालीलाग्दो अवस्था चित्रण गरिएको छ ।

अनिकाल परेको मिथिलामा जनता अन्न र पानीबिना ज्यान गुमाउँदैछन् र राजा जनक महर्षि बन्ने आकाङ्क्षाको लागि तत्वज्ञान प्राप्तिको मार्गमा यात्रारत छन् । नेपालमा त्यतिबेला राजा ज्ञानेन्द्रले ‘कू’ गरेका थिए । जनताप्रति कर्तव्यच्यूत राजालाई गद्दीच्यूत गर्नै पर्छ भन्ने निष्कर्षका साथ नौटङ्की शील्पमा पहिलोपटक गणतन्त्रको औचित्यलाई तार्किक परिणति दिइएको छ । संभवतः नेपालमा गणतन्त्रको औचित्य पुष्टि गर्ने यतिको कलात्मक र प्रभावशाली साहित्य–कला खोज्न गाह्रै हुन्छ ।

मैथिलीका प्रसिद्ध नाटककार महेन्द्र मलंगियाको नाटक ‘ओ खाली मुह देखै छै’ मा नौटङ्की शील्पको प्रयोग गरिएको छ । मेरै नाटकहरू ‘बगिया’ ‘नहि आब नहि’ ‘सत्यक ज्योति’मा नौटङ्की शील्पको प्रयोग गरिएको छ । माथि उल्लेखित सबै नाटकहरूमा नौटङ्की शील्प प्रयोग गरिए पनि समाजसँग गहिरो सरोकार भएका नाटकहरू हुन् । यी नाटकहरूले राजनीति र समकालीन समाजको द्वन्द्वलाई बडो प्रभावशाली ढङ्गले अभिव्यक्त गरेका छन् । यी नाटकहरू नत मनोरञ्जनका लागि मात्र लेखिएका हुन् न प्रदर्शनका लागि मात्र ।

‘लेनिन महान उर्फ मेहनतकशो कि आँखका तारा’

नौटङ्कीका अन्वेषक अमिताभ दीक्षित नौटङ्कीको विकासलाई भारतको राजनीतिक–सामाजिक स्थितिबाट अलग्याएर हेर्न नसकिने बताउँछन् (अमिताभ दीक्षित, रंग प्रसंग, पूर्णाङ्क ४७, सन् २०१६) । औपनिवेशिक शासनको वर्चस्व र राष्ट्रियवोधको प्रभावलाई नौटङ्कीले ग्रहण गरेको उनको मत छ । नौटङ्कीले धेरैलाई साक्षर बनाएको हो । सिनेमा र टेलिभिजनजस्ता माध्यम प्रभावशाली नभएका बेला नौटङ्की समाज परिवर्तनको महत्त्वपूर्ण बाहक थियो ।

हिन्दी र उर्दूको क्रमशः भारत र पकिस्तानमा राम्रो प्रभाव रहेको थियो । लाहोरदेखि कराँचीसम्म उत्तरप्रदेशका नौटङ्की समूह प्रदर्शनको लागि जाने गर्थे ।

भारतमा धार्मिक असहिष्णुता र धर्मको आधारमा सामाजिक विभाजनको प्रक्रिया शुरू भइसकेको थियो । भारत पाकिस्तानको विभाजनका लागि राजनीतिक रसायन बनाउने कार्य भइरहेको थियो । धार्मिक घृणा र सामाजिक सम्बन्धको विच्छेदका प्रयत्न सफल भइरहेका थिए ।

नौटङ्कीले त्यतिबेला पनि आफ्नो धर्मनिरपेक्ष चरित्र गुमाएन । अङ्ग्रेज शासनका विरूद्ध जनमत निर्माण गर्न संस्कृतिकर्मीहरूले गर्ने प्रयत्न भनेको आफ्नो गौरवपूर्ण विगतलाई स्मरण गराउने हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा मिथकीय पात्रलाई नौटङ्की शील्पमा ल्याएर लोकसमाजबीच ती पात्रहरूको महत्त्व र योगदानलाई स्थापित गर्नु हो ।

नौटङ्की आफ्नो संरक्षणको लागि पश्चिमी मूल्यवोधबाट ग्रसित सहरिया मध्यम वर्गमाथि निर्भर रहेन । सहरिया मूल्यले नौटङ्कीलाई आकर्षित गर्न सकेन । यसको जरो उत्तर भारत र दक्षिण नेपालको किसान समाजमा थियो । यसले कथानक चयन र सामाजिक मूल्यको खोजी आफ्नै परिवेशभित्र गर्‍यो । भारतवर्षका पात्रहरू राजा हरिशचन्द्र (पौराणिक कथा) भक्त प्रल्हलाद (पौराणिक कथा) इस्लामिक रोमांसका लैला–मजनु, शिरी फरहाद तथा इस्लामिक बादशाहहरूको न्यायप्रियता र हिन्दुस्तानी ‘तहजीव’ मान्नेहरू जहाँगीरका इन्साफ वा अमर सिंह राठौरजस्ता कथ्यहरू नै नौटङ्कीको लागि प्रिय रहँदै आएको हो ।

नौटङ्कीको दुईवटा धारामध्ये हाथरसी आफ्ना शास्त्रीय स्वरूपलाई जोगाउँदै पौराणिक र लोकआख्यानमा सीमित देखिन्छ भने कानपुरी नौटङ्की युगीन चेतनातिर अग्रसर छ । आर्यसमाजको गतिविधि र स्वाधीनता आन्दोलनको पृष्ठभूमिमा ‘धर्मवीर हकीकत राय, खून नाहक’ (जालियाबला बागको घटनामाथि) ‘भगत सिंह’, ‘वीर बालक’, ‘बलियाका शेर’ (बलियाका शहीद चित्तु पाण्डेय) जस्ता नौटङ्कीको लेखन र प्रदर्शन भएको हो ।

भारतमा नौटङ्की स्वतन्त्रता आन्दोलनसम्ममात्र सीमित रहेन । वर्गीय आन्दोलनको चेतनालाई पनि ग्रहण गर्‍यो । श्यामविहारी बर्माले ‘लेनीन महान उर्फ मेहनतकशके आँखोका तारा’ नामक नौटङ्की लेखे । जारशाहीको त्रूर पञ्जाबाट रूसको मुक्ति र जनताको बलिदानीपूर्ण सङ्घर्षको कथा उक्त नौटङ्कीमा रहेको छ । लेनिनद्वारा मार्क्सवादको प्रयोग, सर्वहारालाई संगठित गर्ने सांगठनिक सिद्धान्त तथा महान् सोभियत संघ निर्माणको सङ्घर्ष र लेनीनको महान नेतृत्वको कथा यस नौटङ्कीमा रहेको छ ।

संसारभरिकै सर्वहारा वर्गले आफ्ना असल हितैषीको रूपमा पाएको लेनिनको योगदानलाई भारतको किसान, मजदुर वर्गमा पुर्‍याउने यस नौटङ्कीको लक्ष्य रहेको छ । सर्वहारा सत्ताका सफल प्रयोगकर्ता लेनिनको प्रभाव भारतीय सर्वहारा वर्गसमक्ष पुर्‍याइ वर्ग सङ्घर्षको लागि संगठित हुन यस नौटङ्कीको निहितार्थ रहेको छ ।

नौटङ्कीबारे यस वृत्तान्तको एउटै ध्येय क्याप्टेन आर. सी. टेम्पलको सम्पादनमा पहिलो प्रकाशित पुस्तक ‘दि लिजेन्ड्स अफ पन्जाब’देखि यस कला विधाको इतिहासमा मैले कहिलै पनि नौटङ्कीको सामाजिक सरोकार नै नभएको फेला पार्न सकिन । नौटङ्की कला र यसको रचना स्रोतमध्ये अधिकांशको लोक वा शास्त्रीय सम्बन्ध रहेको छ । भरतमा नाट्यशास्त्रका विशेषता र अवधारणालाई नौटङ्कीले खण्डित गरेको मैले भेटेको छैन ।

यदि कुनै शास्त्रलाई पालना नौटङ्कीले गरेको छैन भन्ने अरू पनि धेरै यस्ता कला विद्या छ जसले शास्त्रीय व्याकरणलाई अनादर गरेको छ । अपेक्षाकृत आधुनिक रङ्गमञ्चमा कार्य गर्ने नाट्यकार, निर्देशक र अभिनेताभन्दा कम क्षमता नौटङ्कीमा कार्य गर्नेहरूको छैन ।

नौटङ्कीका कलाकारमा अभिनय क्षमतासँगै, नृत्य र गायन अनिवार्य हुनै पर्छ । वाद्यवादकहरूले घरमै बसेर ढोलक र नङ्गारा ठोक्दैमा नौटङ्कीमा बजाउने क्षमता प्राप्त गर्न सक्दैनन् । सिकाई र नियमित अभ्यासले मात्र नौटङ्कीजस्तो विविधतायुक्त गायन र वादन गर्नसक्ने दक्षता प्राप्त गर्न सक्छ ।

मैथिली नौटङ्कीमा गणतन्त्रको लागि जनताको मनोविज्ञान तयार गर्न वा राजनीतिक परिवर्तनपछि जनदायित्वप्रति सचेत प्रयत्न नौटङ्कीले गरेको छ । भारतमा लेनिनको जीवन र कृत्यका माध्यमले सर्वहारा वर्गलाई संगठित गरी सर्वहारा राजनीतिक सत्ताको नौटङ्कीले परिकल्पना गरेको छ । र, पनि सिके लालजस्ता विद्वानले नौटङ्कीलाई ‘सामाजिक मान्यता नभएको मनोरञ्जनमात्र दिने कला’ घोषणा गर्नुको तर्क र तुक त खोज्नैपर्ने हुन्छ । यस्ता कला मनोरञ्जनमात्र हो या यिनमा कलाको सामाजिक–राजनीतिक मान्यता हुन्छ भन्ने पुष्ट्याइँको लागि ‘कलाको नवीन व्याख्या’को प्रतीक्षा गरौँ ? म नौटङ्कीको लागि नकारात्मक व्याख्या गर्ने, आफ्ना बेतुकको विरोध वा तुकसहितको विरोधको लागि अन्य उपयुक्त शब्दावली हुँदाहुँदै पनि ओजपूर्ण कला विद्याको गरिमामाथि प्रहार गर्ने शब्द प्रयोग नगर्न सुझाव दिन चाहन्छु ।

राजनीतिक नेता/कार्यकर्ताज्यू हो, आफ्ना प्रतिस्पर्धीप्रति हिलो छ्याप्न, फोहोर फाल्न हाम्रो बृहत् शब्दकोषमा रहेका अन्य शब्द बिम्वहरूको खोजी गरौँ । सहजै भेटिन्छ । डा. अभि सुवेदीजस्ता व्यक्तित्वले ‘कमेडी’लाई किन नौटङ्की भन्नु पर्‍यो र ? बरू उहाँले त नाटकको विशिष्ट शिल्प नौटङ्कीमाथि कुनै विद्वानलाई प्रेरित गरेर शोध गर्न लगाउनु उचित हुन्थ्यो ।

प्रकाशित : आश्विन १०, २०७८ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?