९/११ : आतंकको कालो दिन, अफगानिस्तानको दु:ख

तालिबानले विश्व मञ्चमा वैधानिकता पाउन आतंकवादी संगठनसँंग सम्बन्ध तोड्नुपर्नेछ । विश्व समुदायलाई तालिबानले अफगानिस्तान कुनै पनि आतंककारी समूहका लागि आश्रयस्थल हुने छैन भनेर विश्वस्त पार्नु पर्नेछ । महिलाविरुद्धका हिंसा रोक्नुपर्ने छ ।
नारायण अधिकारी

९/११ अर्थात, सेप्टेम्बर ११, सन् २००१ जुन दिन आतंकवादीहरूले विमान अपहरण गरी अमेरिकाको न्युर्योकस्थित गगनचुम्बी भवन (ट्विन टावर) माथि लगेर ठोक्काए । क्षणभरमा नै ११० तलाको गगनचुम्बी भवन खरानी मात्र भएन, भवनभित्र रहेका झन्डै तीन हजार नागरिकहरूको जीवन पनि समाप्त भयो ।

९/११ : आतंकको कालो दिन, अफगानिस्तानको दु:ख

त्यस घटनामा २,९७७ जनाको मृत्यु भएको तथ्या‌ंक छ । अझ त्योभन्दा बढी संख्यामा हताहतीको अनुमान गरिएको छ । उक्त घटनापछि सेप्टेम्बर ११ लाई ९/११ (नाइन इलेभेन) भनेर चिनिन्छ । जुन आतंककारीहरूले घटाएको एउटा आततायी घटना थियो ।

अमेरिकाको न्युर्योकमा घटेको उक्त घटनाको युद्धको सम्बन्ध अफगानिस्तानसँंग जोडियो । साधारण रुपमा हेर्दा अमेरिकाबाट झन्डै ७ हजार ४ सय २९ माइल टाढा हवाई दूरी रहेको अफगानिस्तान कसरी युद्धमा मुछियोभन्दा यसका पछि केही कारणहरू रहेका छन् ।

सेप्टेम्बर ११, एकाबिहानै १९ जना आतंककारीहरूले अमेरिकन र युनाइटेड एरलायन्सका गरी जम्मा ४ वटा विमान अपहरण गरी ट्विनटावर, पेन्टागन र पेन्सिलभेनियामा ठोक्काए । उक्त घटनामा संलग्न आतंककारीहरू अलकायदा भनिने आतंकवादी संङगठनका लडाकुहरू थिए । जसको प्रमुख नेता र योजनाकार थिए, ओसामा बिन लादेन ।

अमेरिकाले ओसामा बपन लादेनको खोजी तीव्र पार्न थाल्यो । अमेरिकाले ओसामा बिन लादेन अफगानिस्तानमा रहेको र उसलाई त्यहाँको तत्कालीन सरकारले संरक्षण दिएको आरोप लगायो । सोभियत युद्धपश्चात् त्यहाँ तालिबानको सरकार थियो । आतंकवादी संगठन अलकायदाको सैन्य प्रशिक्षण केन्द्र पनि अफगानिस्तानमा सञ्चालित थिए ।

अक्टोबर २००१ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले अमेरिकामा भएको आतंकवादी हमलाको बदला लिन अलकायदामाथि आक्रमण गर्न अमेरिकन सेनालाई आदेश दिए । तद्अनुरुप अमेरिकन सेनाले अफगानिस्तानमाथि हस्तक्षेप गऱ्यो । अमेरिकाको पहिलो उद्देश्य ओसामा बिन लादेनलाई पक्राउ गर्नु र अलकायदालगायत अन्य आतंकवादी संगठनहरूलाई ध्वस्त पार्नु थियो । अमेरिकी हस्तक्षेपसँगै तालिबान सरकार ढल्न पुग्यो । त्यहाँ नयाँ सरकार बन्न गयो । अनि गएको २० वर्ष अमेरिकन र नेटो फौजका सेनाहरू आतंकवादी समूह अलकायदाविरुद्ध लडे । यता सरकारबाट अपदस्त भएको तालिबान भने अफगानिस्तानको सरकार र विदेशी फौजविरुद्ध अन्य आतंकवादी संगठनको साथमा गुरिल्ला युद्ध लड्दै आतंक मच्चाउन थाले ।

गत अगस्ट २७ का दिन अफगानिस्तान-पाकिस्तान सीमामा अफगानी नागरिक । फाइल तस्बिर : रोयटर्स

सन् २०११ मा अमेरिकन फौजले लादेनलाई मार्न सफल भयो । लादेनको अन्त्य सँंगै सन् २०१४ मा ओवामा सरकारले अफगानिस्तानमा अमेरिकी फौजको मेजर कम्ब्याट अपरेसन समाप्त भएको घोषणा गरे । बिस्तारै अमेरिकन रणनीति र प्राथमिकता बदलिन गएको देखिन्छ । सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले फास्ट फरवार्ड पोलिसी अन्तर्गत अफगानिस्तामा आतंकवादविरुद्ध लडिरहेको अमेरिकी फौजको लडाइँलाई अन्त्य गर्ने रणनीति लिन पुगे । सन् २०१९ देखि अमेरिकन खुफिया एजेन्सी सीआईएले तालिबानसँंग कतारको सहयोगमा वार्ता गर्न थाल्यो । फलस्वरुप २९ फ्रेब्रुअरी २०२० मा अमेरिका र तालिबानबीच दोहा सम्झौता हुन पुग्यो । उक्त सम्झौताको अनुरुप सेप्टेम्बर ११, २०२१ सम्ममा सबै अमेरिकीले अफगानिस्तान छोड्ने निर्णय गरे ।

यता अमेरिकी फौजले गएको जुलाई महिनामा सबैभन्दा ठूलो बाग्राम बेस छोड्ने बितिकै तालिबान ले अफगानिस्तानको सरकारी फौजविरुद्ध लडाइँ तीव्र पाऱ्यो । तालिबानको अगाडि सरकारी फौज खासै टिक्न सकेनन् । फलस्वरुप १५ अगस्ट मा तालिबान ले राजधानी नै कब्जा गरे । कावुल कब्जासँगै तालिबान ले गएको हप्ता सरकार गठन गरेको छ भने अफगानिस्तान इस्लामिक इमिरेट्स घोषणा भएको छ ।

को थिए ओसामा बिन लादेन ?

आतंकवादी संगठन अल कायदा, सन् १९८८ मा लादेनले नै स्थापना गरेका थिए । सन् १९५७, रियाद, साउदीमा जन्मेका लादेन सुन्नी मुस्लीम धर्मका पक्षधर थिए । सन् १९७९ मा लादेन जिहादको नाममा सोभियत संघविरुद्ध लड्न गएका थिए । त्यहीँबाट बिन लादेनको सम्बन्ध अफगानिस्तानसँंग जोडिएको थियो । पेशाले एक सिभिल इन्जिनियर २२ वर्षको उमेरमा नै चरमपन्थी विचारधारा बोकेर जिहादमा लागेका थिए ।

तस्बिर : रोयटर्स

अफगानिस्तानबाट सोभियत संघ हारेर फर्केपछि, सन् १९८९ ओसामा आफ्नै देश साउदी अरेबिया फर्केका थिए । सुरुमा युद्धनायकका रुपमा स्वागत भए पनि पछि साउदी सरकारले उनलाई कट्टरपन्थी विचारधारा बोकेको व्यक्ति, जो साउदीका लागि सुरक्षा खतराको रुपमा चित्रण गऱ्यो । जसमा ओसामाले इराकी शासक सद्दाम हुसेनविरुद्ध आफ्नो लडाकु समूहको प्रयोग गर्न खोजेको थियो । त्यसबेला सद्दामले साउदी अरेबियामाथि हमला गर्ने प्रक्षेपण थियो । ओसामा साउदी अरेबियाबाट सुडान बस्न पुगे, त्यहाँ पनि आतंकवादी सैन्य प्रशिक्षण सुरु गरे । केही वर्षपछि पुन: अफगानिस्तान फर्केर अलकायदामा सक्रिय भए ।

मे २ सन् २०११ मा, ओसामा लादेन अपरेसन नेप्चुन स्पेयर नाम दिएको अमेरिकन फौजको आतंकवादविरुद्धको कारबाहीमा पाकिस्तानको अबोटाबादमा मारिए । विश्व हल्लाउने एक कुख्यात आतंककारीको अन्त्य पाकिस्तानमा भयो । लादेनलाई गोली हान्ने नेभी सिलका एक सदस्य रोर्वट ओ निल ले आफ्नो पुस्तक 'द अपरेटर'मा अपरेसन गर्दाको अनुभव साटेका छन् । जुन आतंकवादसम्बन्धी जानकारी लिन चाहनेहरूका लागि उपयोगी हुन सक्छ ।

२० वर्षपछि तालिबान सरकार

अहिले अफगानिस्तानमा २० वर्षपछि तालिबानको पुन: उदय भएको छ । हाल तालिबानले गठन गरको सरकारको संरचना हेर्दा तालिबानले अन्य आतंकवादी संगठनसँगको सम्बन्ध त्याग्न सकेको छैन । तालिबानले सरकारमा आतंकवादी समूह हक्कानी नेटवर्कका प्रमुखलाई गृहमन्त्री बनाएको छ । तालिबानसँंग अलकायदा, हक्कानी नेटवर्क, इस्लामिक स्टेट, इस्लामिक स्टेट (खोरासन) लगायत कयौं आतंकवादी संगठनको बलियो सम्बन्ध र सहकार्य देखिन्छ ।

गत सेप्टेम्बर ७ मा काबुलस्थित पाकिस्तानी दूतावासअघि विरोधमा उत्रिएका प्रदर्शनकारीलाई रोक्दै तालिबान लडाकु । तस्बिर : रोयटर्स

खासगरी, अलकायदा र तालिबानको सम्बन्ध यसको स्थापना कालदेखि नै हो । यी दुवै संगठन सोभियत संघविरुद्ध लड्न बनेका थिए । उता सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमणपश्चात् इस्लामिक स्टेटको स्थापना भएको देखिन्छ । त्यस्तै अलकायदाका कयौं लडाकुहरू इस्लामिक स्टेटमा आबद्ध छन् । सिरिया र लिबियाबाट पनि ठूलो संख्यामा विदेशी आतंकवादी लडाकुहरू अफगानिस्तानमा गएका छन् । यी समूहहरूलाई व्यवस्थापन गर्नु तालिबानका लागि ठूलो चुनौती हुनेछ । त्यस्तै तालिबानविरुद्ध लड्ने नर्दन अलायन्स फोर्स पनि बलियो रुपमा छ ।

तालिबानले विश्व मञ्चमा वैधानिकता पाउन आतंकवादी संगठनसँंग सम्बन्ध तोड्नुपर्नेछ । विश्व समुदायलाई तालिबानले अफगानिस्तान कुनै पनि आतंककारी समूहका लागि आश्रयस्थल हुने छैन भनेर विश्वस्त पार्नु पर्नेछ । महिलाविरुद्धका हिंसा रोक्नुपर्ने छ ।

अत, २० वर्ष अगाडिको त्यो आतंकवादी हमला जसले गर्दा अमेरिकालाई कट्टरपन्थी र चरमपन्थी आतंकवादी समूहविरुद्ध कडा कदम उठाउन बाध्य बनायो । जसले विश्व समुदायलाई आतंकवादविरुद्ध लड्न एकजुट बनायो । गएको २० वर्षमा संसारमा धेरै परिवर्तन भए, इतिहास बदलियो तर अफगानिस्तानको दु:ख कहिले बदलिएन । यहाँका जनता २१ औं शताब्दीमा हत्या, हिंसा, बम र गोलीको वर्षासँग बाँच्नुपऱ्यो । त्यहाँ मानवीय संकट उत्पन्न भएको छ । अब २० वर्षपछि सत्ताको बागडोर सम्हाल्न आएको तालिबान बदलिन्छ कि बदलिँदैन अब हेर्न बाँकी छ ।

यो संसारमा कुनै पनि धर्मले हिंसालाई प्रश्रय दिँदैन र दिनु पनि हुँदैन । हाल आतंकवादी संगठनहरूले धर्मलाई एउटा हतियारका रुपमा प्रयोग गरेका छन् । यसबाट सबै सजग हुनु पर्ने छ ।

-(लेखक अधिकारीले अमेरिकाको एसिया प्यासिफिक सेन्टर फर सेक्युरिटी स्टडिज् र जर्मनीको युरोपियन सेन्टर फर सेक्युरिटी स्टडिज्‌मा प्रतिआतंकवादसम्बन्धी विषयमा अध्ययन गरेका छन् ।)

प्रकाशित : भाद्र २६, २०७८ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?