१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साहित्य र अर्थशास्त्रमा भावनाले कस्तो भूमिका खेल्छ ?

दधि अधिकारी

‘मनोवैज्ञानिकहरूले डर, खतरा, रिस, आश्चर्य, खुशी, उदासी, अपमान, लाज, गर्व, सन्तुष्टि र मनोरञ्जनलाई मानिसका ११ आधारभूत भावना (इमोसन) को रूपमा लिएका छन् । यी भावनाका सम्मिश्रणबाट मानिसमा अन्य प्रकारका भावनाहरू पनि पैद हुन्छन् । मानिसमा उत्पन्न हुने यी भावनाले साहित्य र अर्थशास्त्रमा कस्तो प्रभाव पारेको हुन्छ ? यदि दुवैमा भावनाको महत्व हुन्छ भने के साहित्य र अर्थशास्त्र एकै कुरा हुन् त ?’ अर्थशास्त्री रिचार्ड ब्रोङ्कले ‘द रोमान्टिक इकोनोमिस्ट’ किताबमा लेखेका छन् ।

साहित्य र अर्थशास्त्रमा भावनाले कस्तो भूमिका खेल्छ ?

उक्त किताबको सुरूमै उनले रोमान्टिसिजम र अर्थशास्त्रलाई आमरूपमा फरक विधा बुझिन्छ तर दुवैमा मानिसले गर्ने कल्पनाको महत्वपूर्ण भूमिका हुन्छ भनेका छन् । यो लेखमा अर्थशास्त्र र साहित्यमा भावनाको कस्तो भूमिका हुन्छ भन्नेबारे छोटकरीमा चर्चा गरिनेछ ।

अर्थशास्त्रमा भावना

अर्थशास्त्रलाई कतिपय अर्थशास्त्रीले सामाजिक विज्ञानको भौतिकशास्त्र भन्न रुचाउँछन् । अझ त्यसमा पनि अर्थशास्त्रमा गणित र अर्थमितीको प्रयोग गर्न रूचाउने अर्थशास्त्रीहरूले त अर्थशास्त्रलाई विज्ञान नै हो भन्छन् । अर्थशास्त्रलाई विज्ञान भन्नुको कारणचाहिँ विज्ञानमा जस्तै अर्थशास्त्रमा पनि कारण (कज) र प्रभाव (इफेक्ट) बीच सम्बन्ध स्थापित गर्न सकिन्छ भन्ने मान्यताले गर्दा हो । विज्ञानको प्रमुख विशेषता के हो भने त्यहाँ अनिश्चितताविहीन कारण र प्रभाव बीचको सम्बन्ध स्थापित भएका हुन्छन् । जस्तैः हाइड्रोजन र अक्सिजनलाई सँगै बाल्यो भने पानी बन्छ ।

यस्तै प्रकारका कारण र प्रभाव बीचका सम्बन्धहरू अर्थशास्त्रमा पनि हुन्छन् । उदाहरणको लागि कुनै पनि वस्तुको मूल्य बढ्यो भने त्यो वस्तुको माग घट्छ । यो सम्बन्धलाई अर्थशास्त्रमा मागको नियम भनिन्छ । मागको नियममा, ‘मूल्यमा हुने परिवर्तन’ कारण हो भने ‘मागमा हुने परिवर्तन’ प्रभाव हो । अर्थशास्त्रमा हुने यस्तै प्रकारका धेरै कारण र प्रभावमा आधारित सम्बन्धहरू विकसित गरिएको र यी सम्बन्ध स्थापित गर्न गणित र अर्थनीतिको व्यापक प्रयोग गरिएको हुनाले अर्थशास्त्रलाई समाजशास्त्रको भौतिक विज्ञान भनिएको हो ।

प्राकृतिक विज्ञानको अर्को महत्वपूर्ण विशिष्टता भनेको त्यहाँ मानिसका मनमा आउने भावनात्मक आरोहअवरोह जस्तैः डर, खुशी, चिन्ताजस्ता कुराको निम्ति कुनै पनि स्थान हुँदैन । कुनै पनि मानिस चिन्तित भएको बेला होस् वा खुशी भएको बेला हाइड्रोजनलाई अक्सिजनसँग बाल्यो भने पानी नै दिन्छ । तर अर्थशास्त्रमा त्यस्तो हुँदैन । उदाहरणको निम्ति कुनै युवालाई चुरोट पिउन मन छ तर ऊसँग बुबाआमा हुनुहुन्छ भने उसले चुरोटको मूल्य जतिसुकै होस् चुरोट पिउँदैन । यहाँ चुरोट नपिउनुमा मूल्यको प्रभाव नभएर युवाको मनमा बुबाआमाप्रतिको श्रद्धा वा डरको प्रभाव हो ।

अर्थशास्त्र र साहित्यको बीचमा भावनाको माध्यमबाट कुनै सम्बन्ध स्थापित गर्न सकिन्छ कि सकिँदैन भन्ने छलफल गर्नु पहिले अर्थशास्त्र र साहित्य के हुन् भन्ने कुरा बुझ्नु जरूरी हुन्छ । अर्थशास्त्रमा मुख्यतः मानिसले कुनै पनि कुराको छनोट कसरी गर्छ भन्नेबारे अध्ययन गरिन्छ । उदाहरणको लागि उत्पादन गर्दा श्रमिक धेरै प्रयोग गर्ने कि पुँजी धेरै प्रयोग गर्ने, आफूसँग भएको सीमित पैसाले घर किन्ने कि कतै लगानी गर्ने, उपचारको निम्ति सार्वजनिक अस्पतालमा जाने कि नीजि अस्पतालमा जानेदेखि बिहे गर्दा कस्तो केटा/केटी बिहे गर्नेजस्ता छनोटका विषय हुन् । त्यसैले यी विषयहरू अर्थशास्त्रका पनि विषयहरू हुन् ।

अर्थशास्त्रीय सिद्धान्तमा मानिसका छनोट मुख्यतया तीन कुराले निर्धारण गर्छन् ःछनोट गर्न खोजिएको कुराको उपलब्धता, मानिसको उपयोगिता फलन र छनोट गर्दा आइपर्ने व्यवधान ।

छनोट गर्न खोजिएको कुराको उपलब्धताः कुनै पनि मानिसले कुनै कुराको छनोट गर्दा कति प्रकारका विकल्पहरू उपलब्ध छन् भन्ने कुराले असर गर्छ । उदाहरणको निम्ति कुनै अमेरिकन पर्यटक नेपाल घुम्न आएको बेला उसलाई कफी पिउन मन लाग्ला । कफीमा पनि उसलाई स्टार बक्स कफी पिउन मनपर्ने होला । तर नेपालमा स्टार बक्स कफी उपल्ब्ध नभएकोले या त ऊ कफी नै नपिई बस्छ या कुनै अर्को कफी पिउँछ । अतः छनोटका विकल्पहरूले हाम्रा छनोटलाई असर गर्छन् । वास्तवमा कुनै पनि देशको समृद्धि त्यो देशमा छनोटका अवसर कति छन् भन्ने कुराले निर्धारण गर्छ । जति धेरै छनोटका अवसर त्यति नै धेरै विकास ।

उपयोगिता फलनः कुनै पनि मानिसले वस्तु तथा सेवाको उपभोगपश्चात् सन्तुष्टी प्राप्त गर्छ । त्यही सन्तुष्टीलाई अर्थशास्त्रमा उपयोगिता भनिन्छ । मानिसले विभिन्न वस्तु तथा सेवाका भिन्नभिन्न मात्राको उपभोग गरेर उपयोगिता प्राप्त गर्छ । मानिसले प्राप्त गर्ने उपयोगितालाई विभिन्न तत्वले असर गर्छ । उदाहरणको लागि मानिसको आम्दानी बढी हुँदा बढी खर्च गर्न सक्छ जसले गर्दा उसले बढी उपयोगिता प्राप्त गर्न सक्छ । यस्तै वस्तु तथा सेवाको मूल्यले पनि उपयोगितालाई असर गर्छ । उपयोगिता र यसलाई असर गर्ने तत्व बीचको सम्बन्धलाई उपयोगिता फलन भनिन्छ ।

छनोट गर्दा आइपर्ने व्यवधानः मानिसले सँधैभरि बढी भन्दा बढी उपयोगिता प्राप्त गर्न खोज्छ । तर बढी भन्दा बढी उपयोगिता प्राप्त गर्ने दिशामा विभिन्न व्यवधानहरू आउँछन् । उदाहरणको लागि कुनै मानिसलाई पाँचतारे होटलको खाना खान मन होला । त्यहाँको खाना खाँदा उसको उपयोगिता बढ्छ । तर ऊसँग पाँचतारे होटलमा खाना खाएपछि तिर्नुपर्ने आवश्यक पैसा नहुन सक्छ । त्यसैले कम आम्दानी उसको बढी उपयोगिता प्राप्त गर्ने दिशामा व्यवधान भयो । मानिसको बढी भन्दा बढी उपयोगिता प्राप्त गर्ने लक्ष्यमा आउने यस्ता असंख्य व्यवधान हुन्छन् ।

अब माथिका तीन कुरा अर्थात् छनोट गर्न खोजिएको कुराको उपलब्धता, उपयोगिता फलन र छनोट गर्दा आइपर्ने व्यवधानमा मानिसको भावना कहाँ जोडिन्छ र यसले हाम्रा आर्थिक नीति निर्माणमा कहाँ असर गर्छ भन्ने कुरा प्रमुख हो ।

मानिसको भावनात्मक आरोहअवरोह, सामाजिक नीतिनियम, संस्कृति, बानीव्यहोराजस्ता कुराले उपयोगिता फलनलाई असर गर्छ र ती कुरा छनोटका व्यवधान पनि हुन जान्छन् । अर्थशास्त्रमा उपयोगिता फलनको विकास बेन्थम (सन् १७४८–१८३२) ले गरेका हुन् ।

त्यसपछिको समयमा उपयोगिता फलनमा निकै परिवर्तन आएका छन् । मुख्य परिवर्तन उपयोगिता फलनमा के कुरा समावेश गर्ने र त्यसलाई कसरी विश्लेषण गर्ने भन्ने नै हो । एडम् स्मिथ र नवशास्त्रीय अर्थशास्त्रीहरूको मानिसलाई आफूलाई चाहिएको कुराको सम्पूर्ण ज्ञान हुन्छ र उसले हरेक स–साना कुरा पनि तुलना गरेर कसबाट बढी उपयोगिता प्राप्त हुन्छ भनी गणना गर्न सक्छ भन्ने मान्यता थियो । यी मान्यताहरूलाई तर्कसंगत मान्यताहरू (र्‍यासनालिटी एजम्सन्) भनिन्छ ।

‘र्‍यासनालिटी एजम्सन्’ले अर्थशास्त्रका सिद्धान्तहरूमा धेरै लामो समयसम्म राजाइँ गर्‍यो । यसका आधारमा बनेका सिद्धान्तहरूले विश्वकै नीतिनियमहरूमा पनि असर गर्‍यो । विश्व व्यापार, वैदेशिक सहयोग, आर्थिक वृद्धि र समानताजस्ता हरेक क्षेत्रका सिद्धान्त र नीतिनियममा ‘र्‍यासनालिटी’ सिद्धान्तको असर परेको छ । तर यो सिद्धान्तको निकै कडा र अव्यवहारिक मान्यताहरू रहेका छन् । एउटा सानो उदाहरणबाट यसलाई स्पष्ट पार्न सकिन्छ ।

मानौं, कुनै मानिसलाई मिठाई निकै मन पर्छ । ऊ जति पनि मिठाई खान सक्छ । मानौं, ती मानिस साथीहरूसँग साँझ खाना खान एउटा होटलमा गएको छ जहाँ खाना पश्चात् ‘डेजर्ट’को रूपमा एउटा प्लेटमा रसवरी ल्याइएको छ । पहिले त सबै साथीहरूले आफ्नो इच्छा अनुरूप रसवरी झिकेर खान्छन् । जब अन्तिममा प्लेटमा एउटा रसवरी बाँकी हुन्छ त्यो रसवरी कसैले उठाउँदैन । हाम्रो उदाहरणको मानिसले पनि सो रसवरी खाऊँ, खाऊँ लागे पनि खाँदैन । किनकि उसलाई साथीहरूले खान नपाएको वा लोभी भन्ने सोच्लान् भन्ने लाग्न सक्छ । हो, यहीँनेर उपयोगिता फलनमा भावना जोडिन आउँछ । नवशास्त्रीय अर्थशास्त्रीहरूको मान्यतामा ती मानिसले उक्त अन्तिम रसवरी खान्छ भन्ने हुन्थ्यो । तर वास्तवमा उसले रसवरी खाँदैन ।

‘र्‍यासनालिटी’ सिद्धान्तलाई हर्बट साइमनदेखि अमर्त्यसेन र कान्हेमानसम्मका अर्थशास्त्रीहरूले कडा आलोचना गरेका छन् । माथि रसवरीको उदाहरण अमर्त्यसेनको किताबबाट लिइएको हो । वास्तवमा मानिसको उपयोगिता फलनलाई उसको भावना, संस्कृति, परम्परालगायतका कुराले असर गर्छ र उसको व्यवहार सोहीअनुरूप परिवर्तन हुन्छ ।

मानवीय भावनालाई उपेक्षा गरेर निर्माण गरिएका आर्थिक सिद्धान्त सफल भएका छैनन् । उदाहरणको निम्ति ‘ट्रिकल डाउन’ सिद्धान्त, स्वतन्त्र व्यापारका सिद्धान्त, वृद्धि र समानता सँगसँगै जान सक्दैनन् भन्नेजस्ता सिद्धान्त कुनै न कुनै रूपमा नवशास्त्रीय सिद्धान्तबाट प्रेरित छन् । तर यी सिद्धान्तहरू गलत रहेछन् भन्ने प्रमाणित भइसकेका छन् ।

मार्क्सवादले पनि मानिसका भावना र विचारको तुलनामा विज्ञानलाई महत्व दिएको छ । अर्थात् मानवीय आचरण, व्यवहार र क्रियाकलापलाई प्राकृतिक विज्ञानको रूपमा हेरेको छ । त्यसैले एङ्गेल्सले मार्क्सले प्रतिपादन गरेको सामाजिक–आर्थिक–राजनीतिक सिद्धान्तलाई वैज्ञानिक समाजवादको नाम दिएका हुन् ।

वैज्ञानिक समाजवादले पदार्थलाई प्रधान र चेतनालाई सहायक मान्छ । मार्क्सवादका अनुसार चेतनाको मूल आधार भौतिक श्रम र व्यवहार हो । तर समय बित्दै जाँदा यी कुरा गलत देखिए । मार्क्सवादअनुसार जसरी ऋणात्मक ‘चार्ज’ भएको ‘इलेक्ट्रोन’ र धनात्मक ‘चार्ज’ भएको ‘प्रोटोन’ बीचको संघर्षले गर्दा अणुको अस्तित्व हुन्छ त्यस्तै समाजमा पनि शोषक र शोषितबीच निरन्तर संघर्ष हुँदा नयाँ समाजको निर्माण हुन्छ ।

तर मानवीय व्यवहारलाई पूर्णरूपमा प्राकृतिक विज्ञानसँग तुलना गर्नुले यथार्थलाई आत्मसात् गरेको देखिएन । समाजमा मजदूर र मालिकबीच सँधै संघर्ष नै हुन्छ भन्ने मान्यता वास्तविकतामा चरितार्थ भएन । यसको प्रमुख कारण प्रविधिको विकासलगायत अन्य कारणले गर्दा मजदूरहरूको ज्यालामा वृद्धि हुँदै गयो । त्यसबाहेक अहिलेको अवस्थामा संसारका धेरै मानिस मजदूर र मालिक दुवै आफै छन् । यस्तो अवस्थामा कसले कसको विरुद्ध संघर्ष गर्ने ?

माथि उल्लेख गरिएका सिद्धान्त र उदाहरणहरूले के स्पष्ट भयो भने अर्थशास्त्र भनेको मुख्यरूपमा छनोटको सिद्धान्त हो । मानिसको छनोटलाई अन्य कुराको अतिरिक्त उसको भावनाले पनि निर्धारण गर्छ । अतः मानिसका भावना जुन उनीहरूका बानी, संस्कृति, ज्ञान, स्वास्थ्य, वातावरणजस्ता कुराले निर्धारण गर्छन् ती भावनालाई सम्बोधन नगरी निर्माण गरिने आर्थिक नीतिनियम पनि सफल हुँदैन । यसैकारण कुनै एक देश वा ठाउँमा सफल भएका नीति अर्को देश वा ठाउँमा सफल नहुन सक्छ ।

साहित्यमा भावना

नो टियर्स इन द राइटर, नो टियर्स इन द रिडर

—रोबर्ट फ्रस्ट

अर्थात् यदि पाठकलाई रूवाउनु छ भने लेखक आफै रूनु आवश्यक छ । रोबर्ट फ्रस्टको यो भनाइले साहित्यमा भावनाको महत्व स्पष्ट पार्छ । नेपाल र विश्वभरिकै साहित्यकारहरूले साहित्यमा भावनाको महत्वलाई स्विकार गरेका छन् । हड्सनले साहित्यलाई भाषाको माध्यमबाट प्रस्तुत गरिएको जीवनको अभिव्यक्ति हो भनेका छन् भने महाकवि लक्ष्मीप्रसाद देवकोटाले साहित्यलाई जीवित अनुभवहरूको कलात्मक प्रस्तुति भनेका छन् ।

यसको मतलव साहित्यमा जीवन प्रतिविम्बित हुन्छ र जीवन भनेकै भावनाहरूको संगम हो । शून्य भावनामा जीवनको अस्तित्व हुँदैन । प्रस्तुति कलात्मक हुनु रचनात्मकता होला तर साहित्यको आत्ममा भावना अन्तर्निहित हुन्छ ।

साहित्यकारमा भावना कसरी पैदा हुन्छ त ? धेरै मानिसहरू साहित्यकारहरूले आफ्नै अनुभव लेख्छन् भन्ने गर्छन् । तर त्यो पूर्णरूपमा सत्य होइन । हामीले गर्ने कल्पना, अरुप्रति उत्पन्न हुने हाम्रो सहानुभूति र उनीहरूसँग गरिने अन्तरक्रियाले हामीमा भावना उत्पन्न हुन्छ भनिन्छ । लक्ष्मीप्रसादले भिखारी कविता लेख्दा उनी आफै भिखारी त थिएनन् । तर भिखारीप्रतिको सहानुभूतिले उनमा भावना उत्पन्न भयो होला भन्ने मान्न सकिन्छ । तर लक्ष्मीप्रसादको मनमा भिखारीप्रतिको त्यो भावना उत्पन्न नभएको भए भिखारी कविता त्यति शसक्त हुने थिएन ।

के साहित्य र अर्थशास्त्र एकै हुन् त ?

हुन त कतिपयले अर्थशास्त्रलाई पूर्ण प्रतिस्पर्धात्मक बजारजस्ता काल्पनिक कुरा गर्ने साहित्य भनेर दोष लगाउने गर्छन् । तर वास्तविकता भने अलि फरक छ । अर्थशास्त्र पूर्णरूपमा काल्पनिक होइन । तर पनि अर्थशास्त्र र साहित्य दुवैमा भावनाको निकै ठूलो महत्व हुन्छ । दुवै विधाको शसक्तता यसले मानवीय भावना कति मजबुत तरिकाले समात्न सकेका छन् भन्नेमा भर पर्छ । तर दुवै विषयमा भावनाको प्रयोगको लक्ष्य भने फरक छ । अर्थशास्त्रमा भावनाको प्रयोग मानिसको छनोट सम्बन्धी व्यवहार वर्णन गर्न गरिन्छ भने साहित्यमा यसलाई जीवनको यथार्थलाई चित्रण गर्न प्रयोग गरिन्छ । अतः भावनाको उपयोग दुवै विधामा हुने भए पनि दुवै विधा फरक हुन् । यति हुँदाहुँदै पनि अर्थशास्त्रीहरूले आफ्ना सिद्धान्तहरूलाई अझ बढी परिष्कृत गर्न साहित्यकारहरूको अनुभव र भावनालई गहनरूपले अध्ययन गर्दा राम्रो हुनसक्छ ।

(अर्थशास्त्रमा अमेरिकाबाट विद्यावारिधि गरेका अधिकारी गीतकार पनि हुन् ।)



प्रकाशित : भाद्र २०, २०७८ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?