गौरापर्वमा कोरोनाको असर- विविधा - कान्तिपुर समाचार

गौरापर्वमा कोरोनाको असर

यज्ञराज उपाध्याय

गौराका रमाइला गीत गाउँदै टाउकोमा गौराको प्रतिमूर्ति राखेर दिदीबहिनीहरूसँग कम्मर मर्काइमर्काइ नाच्ने शारदा जोशीलाई यो वर्षको गौराले त्यो अनुभूति दिन सकेको छैन । कोरोनाको कहरले घरभित्रै पूजा अनुष्ठान गरेर बस्नु पर्दा नरमाइलो भएको जोशीले बताइन् । कोरोनाकै कारणले यसै वर्ष पति गुमाएकी बैतडीकी रूमा भट्टका आँखाका आँसु अझै रोकिएका छैनन् । गौरा पर्व आएर क्या गर्नु ?

आजको दिन इजू रनझनियाँ
यति क्या रमाइलो रे रनझनियाँ
लोली माइत आइन रनझनियाँ
रैजा बाबु लोलीगौरा रनझनियाँ
छ मैना बरिखा रे रनझनियाँ

अठ्ठाइस वर्षको लक्का जवान भएको छोरा केही महिना पहिले गुमाएकी कैलालीकी तिलु पनेरूको पीडा त्यत्तिकै दर्दनाक छ । जतिबेला पनि छोराकै अनुहार आँखामै आइरहन्छ । गौरा आयाले क्या गरूँ ? यस्तै–यस्तै दर्दनाक अवस्था काली–कर्णाली क्षेत्रका गाउँबस्तीहरूमा छाएको छ । कोरोनाकै कारणले धुमधामसँग गौरापर्व मनाउने अवस्था छैन अहिले ।

सिउतीसेरो रोपि ल्यायो सुर्बुर्‍या बियाँले
दिदीबैनी डेउडा खेलौ गौराका नियाँले

यस्तै गीतहरू गाएर गौरापर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा हातेमालो गर्दै देउडा खेलेको झलझली सम्झिन्छिन् ज्वाला विष्ट । अब ती दिनहरू कहिले देख्न पाइने होला ? ज्वाला विष्टलाई यस्तै पीडाले सताइरहेको छ । उनको कामना छ गौरामाताले कोरोनालाई समाप्त पारिदिऊन् ।

सरकारले अरू कुरामा नअल्झेर सबै नेपालीलाई छिटो खोप लगाइदिएको भए कोरोना निस्तेज भएर आउँदो वर्ष रमाइलोसँग गौरा मनाउन पाइन्थ्यो कि भन्ने झिनो आशाको झिल्को टिमटिमाइरहेको छ, दुर्गा ओझाको मनमा । उनको त्यो आशाको झिल्को झलमल्ल भएर मनोकामना पूरा गर्छ कि निभेर निरासाको खडेरी चुलिन्छ त्यो भोलिको दिनले बताउने छ । यो वर्ष भने गौराको रमाइलो कोरोनाले लुटिसकेको छ ।

कालीको लड्कन्या माछो कर्णालीका भेल ।
हृदय जल्याको जल्यै कैल होला सेल ।।

माथि उल्लेखित गीत काली-कर्णालीको सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्ध नङ र मासुझैं अन्योत्यास्रित छ भन्ने कुराका दृष्टान्त हुन् । सुन्दर प्रकृतिले सजिएको काली–कर्णाली क्षेत्रका विविध चाडपर्वहरूमध्ये प्रचलित र महत्त्वपूर्ण पर्व हो गौरा । महिलाहरूले व्रत बसी गौरीदेवीको पूजाअर्चना गरी अगाध आस्थाकारूपमा धुमधामसँग यो पर्व मनाउने गरिन्छ ।

‘गौरा’ र पर्व ‘एक’ यौगिक शब्दका रूपमा रहेको पाइन्छ । ‘गौरा’ शब्दले जगतजननी शक्तिस्वरूपा गौरी देवीलाई र अनेकार्थक ‘पर्व’ शब्दले धार्मिक सांस्कृतिक र सामाजिक दृष्टिले महत्त्वपूर्ण मानिने समय वा उत्सवलाई जनाउँछ । अतः गौरा देवीको पूजा अर्चनागरी मनाइने पर्वलाई गौरापर्व भनिन्छ ।

हिमालय पुत्री पार्वतीको दोश्रो नाम गौरी हो । गौरीको नामबाट स्थापित भएको पर्व हुनाले यो पर्वलाई गौरापर्व भनिएको हो । स्थान अनुसार कतै गौरा, कतै गोःरा, कतै गमरा र कतै लोलीगौरा भन्ने प्रचलन रहेको छ । हिमालय पुत्री पार्वतीले शिवलाई पति पाउनका लागि ब्रत बसी शिवको आराधना गरेको र सोही ब्रतका प्रभावले शिवलाई पतिको रूपमा वरण गर्न पाएकोले सोही समयदेखि यो पर्वको आरम्भ भएको कुरा हिमवत् खण्ड र अन्य पुराणमा उल्लेख भएको पाइन्छ । हिमालय पुत्री पार्वती पछि गौरा व्रत र अनुष्ठानको थालनी भृगुवंशी ब्राहमणीहरूले गरेको कुरा कथामा उल्लेख भएको छ ।

गौरापर्व पाँच दिनसम्म विधि विधानका साथ मनाइने गरिन्छ । मूलरूपमा गौरापर्व गौरा महेश्वरको उपासना हो । गौरा पुजनमा प्रमुख नैविद्यको रूपमा विरूडाको अग्रस्थान रहेको छ । संस्कृतको विरूढ शब्दबाट विरूडा भएको हो । पाँच किसिमका अन्नको सामुहिक स्वरूपलाई विरूडा भन्ने गरिन्छ । यो पर्वको थालनि नै विरूडाको प्रारम्भिक कार्यबाट हुने गर्दछ । गौरापर्वको अनुष्ठान विधि चतुर्थीबाट सुरू भई दूर्वाअष्टमीसम्म रहन्छ । चतुर्थीको दिनमा विरुडा भिजाउने र पंचमीको दिनमा विरुडा धुने गरिनछ । विरूडा धुने दिनमा पानीको महत्त्व अमुल्य हुन्छ । धारा, कुवा, नदी र तलाउको पानी विरूडा धुनका लागि पवित्र मानिन्छ । महिलाहरू फाग गाउँदै विरूडा भिजाउँदै गर्दा माइती सम्झन्छन् ।

आउँसीका दिनदेखि निन्ना चोखा बस्या
तृतियाका दिन विरुणी खोज्न गया
चौथीका दिन विरुणी केलेया
पञ्चमीका दिन विरुणी भिजाया
षष्ठीका दिन विरुणी धोया
सप्तमीका दिन लोली माइत ल्याया
सप्तमीकाई दिन इजू म माइत बोलाया

अमुक्ताभरण सप्तमी गौरापर्वको प्रमुख दिन मानिन्छ । यस दिनमा व्रत धारण गरिसकेकी विवाहित महिलाहरू व्रत बस्छन् । व्रत बसेका महिलाहरूले धान, साउ, वलु, अपमार्ग र ऐसेलु जस्ता पञ्च वनस्पतिबाट गौरीमाताको प्रतिमूर्ति बनाई वस्त्र, अलङ्कार आदि पहिराई गौरा घरमा ल्याएर डालोमा स्थापना गर्दछन् । त्यसका साथै काठको पिरकालाई महेश्वरको प्रतिक मानी कपडा पहराई गौरी माताकै समिपमा स्थापना गरिन्छ । त्यसै ठाउँमा यज्ञ स्थापना गरी ब्राम्हणद्वारा प्राणप्रतिष्ठा गराई विधिपूर्वक देवपूजन गरी गौरीमाता र महेश्वरको पूजा आराधना गर्ने गरिन्छ ।

दूर्गा अष्टमी गौरापर्वको अत्यन्त व्यस्त दिन हो । यसै दिनमा व्रतालुहरूले दुबोको पूजा गर्दछन् । त्यहीबेला गौराको दोश्रो प्रतिमूर्ति भित्र्याइन्छ । जसलाई सञ्जा गौरा भनिन्छ । लोलीगौरालाई पार्वतीको प्रतीक र सञ्जागौरालाई सतीदेवीको प्रतीक मानी पूजा गरिन्छ । यसै दिन महिलाहरूले अघिल्लो वर्ष धारण गरेको दूवाधागो निकालिन्छ र गोश्वरद्वारा तयार पारिएको गौरीकुण्डमा विसर्जन गरिन्छ । गौरीकुण्डको पवित्र जलले अभिषेक गरेको नयाँ दुवाधागोलाई धारण गरिन्छ । गौराको अनुष्ठान पूरा भैसकेपछि आ–आफ्नो कुलाचार अनुसार बिसर्जन गर्न तिथि र मितिको तय गरिन्छ ।

चन्द्रमास र सौरमासका आधारमा मनाइने हाम्रा चाडपर्वहरू निश्चित पक्ष र तिथिमा पर्ने गर्दछन् । तर गौरापर्व यसको अपवादको रूपमा रहेको छ । अगस्तिको उदय भइसकेपछि गौरा पुजन र विसर्जन दुवै कार्य गर्दा त्यसको फल प्राप्त नहुने कुरा पुराणहरूमा उल्लेख गरिएको छ । पुराणमा स्कन्धले भनेका छन्–

अगस्ति उदिते तात पुजयत् अमृतोद् भवाम् ।
वैद्यव्यं पुत्र सोकन्ध दश वर्षाणी पञ्चच ।

अर्थात् अमृतबाट जन्मेको दूर्वाको वा दूर्वाअष्टमीको व्रत अगस्ति उदयपछि गरेमा बैद्यव्य, पुत्रशोक आइपर्दछ । त्यसैले पञ्चाङ्ग निर्माणकर्ताले अगस्ति उदयलाई हेरेर गौरापर्वको तिथि र मिति तय गर्नुपर्ने भएकोले यो पर्व कुनै वर्ष शुक्ल पक्षमा र कुनै वर्ष कृष्ण पक्षमा पर्ने गर्दछ । शुक्ल पक्षमा परेको गौरापर्वलाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अँध्येरी गौरा भन्ने गरिएको छ ।

नारीको सहयोग विना पुरूष पूर्णरूपमा पुरूष हुन सक्दैन । नारी सन्ततिका लागि शिक्षा प्रदान गर्ने पहिलो पाठशाला हो । करूणाकी प्रतिमूर्ति कर्मशील नारीहरूले नै आफ्ना सन्ततिहरूलाई कर्मयोगी बनि सत्मार्ग तिर लम्किन दिशानिर्देश गर्दछिन् । यिनै नारीले गौरापर्वमा आफ्नो पति र पुत्र पुत्रीहरूको सुस्वास्थ्य, दीर्घायु, श्रीवृद्धि, सुख शान्ति र आफ्नै अटल सौभाग्यका लागि अनुष्ठान गर्ने गर्दछिन् ।

त्यसैले गौरापर्वले भावनात्मकरूपमा पति पत्नी र परिवार जनमा एकअर्का प्रतिको श्रद्धा, विश्वास र भावनालाई प्रगाढ तुल्याएको छ । गौरापर्व नारी प्रधान पर्व भएपनि पुरूषहरूको पूरा सहभागिता रहेको हुन्छ । गौरापर्वले धार्मिक संस्कार र अनुष्ठानसँग सम्बद्ध भएर समाज र परिवारमा सद्भाव, समर्पण र शिष्टता दर्साउँदै पारिवारिक सुमधुर सम्बन्ध स्थापित गर्न महत्वपूर्ण माध्यमको रूपमा कार्य गरिरहेको छ ।

गौरापर्व धार्मिक संस्कार र अनुष्ठानसँग सम्बद्ध भएपनि यस पर्वले समाज र परिवारमा शिष्टता, सभ्यता र संस्कृतिलाई दर्शाउँदै सबै जातजातीको मन आफूतिर आकर्षित गरी साझा पर्वको रूपमा देशभरी झाँगिरहेको छ । यसले देश र समाजमा समानताको सन्देश पनि दिएको छ । देशको प्रधानमन्त्रीदेखि सामान्य नागरीकहरू, समाजका ब्राम्हण परिवारका पण्डितहरूदेखि दलितहरू हातमा हात र स्वरमा स्वर मिलाउँदै एउटै चाल र समान स्वरलहरीमा लामवद्ध भएर डेउडा, धमारी जस्ता खेलहरू खेल्ने गर्दछन् । सानो ठूलो र जातजातीको कुनै भेदभाव नगरी सबै एउटै स्तरमा हातेमालो गरेर रमाउन पाउने यो पर्वले समानताको शंखघोष गरेको छ र सु–संस्कृत सम्पदाको नमुनाको रूपमा देखापरेको छ ।

यस पर्वले सबै जातजाती र समुदायका महिला पुरूषहरूलाई एउटै थलोमा उभ्याएर आपसी सद्भावको विकास, एकअर्काविच परस्पर सम्बन्ध, सम्वाद र सत्कर्मको लागि प्रेरणा प्रदान गरेर समाज र परिवारलाई गतिशील रूपमा अगाडि बढ्न प्रेरित गरिरहेको छ । वर्षा ऋतुको समाप्तिसँगै बाढि पहिरोको पीडा, खाद्यान्नको संकट र रोगब्याधिको आक्रान्त स्वरूपलाई बिर्साएर गौरापर्वले पुनः समाजमा रमाइलो वातावरणको श्रृजना गर्दछ ।

प्रकाशित : भाद्र १४, २०७८ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्

निष्ठावान् राजनीतिज्ञ

नैनबहादुर स्वाँर पञ्चायत व्यवस्थाको सुधारका पक्षमा थिए । बालिग मताधिकारका आधारमा चुनाव र राष्ट्रिय पञ्चायतप्रति उत्तरदायी प्रधानमन्त्री हुनुपर्ने उनको अडान थियो ।
यज्ञराज उपाध्याय

अछामका गोदाम्याकी फुलौट्या उकालो खुडीमा पाल्याका सुवा पाइनकी मुकालो

२०१४ सालताका यो गीत अछामेलीको जिब्रोमा झुन्डिएको थियो । यो गीतले अछामेलीले त्यति बेला भोग्नुपरेको पीडाको यथार्थ चित्रण गर्थ्यो । १९८६ सालदेखि डोटीमा बस्ने सरकारी पल्टनका लागि अछामीहरूले एक रुपैयाँ बराबर बाइस पाथी धान तिरो बुझाउनुपर्ने प्रावधान राणाहरूले ल्याएका थिए ।

त्यो पनि डोटी, सिलगढीको गोदाममै पुर्‍याइदिनुपर्ने । डोटी, फुलौटको अत्यासलाग्दो उकालोमा धानको भारी बोकेर पसिना चुहाउँदै हिँड्नुपर्दाको अछामीको पीडा उक्त गीतमा झल्कन्छ । राणा शासनको अन्त भैसक्दा पनि तिरो तिर्न डोटी मालपोतमै जानुपर्ने प्रावधान यथावत् थियो । अछामीले भोग्नुपरेको यो कहालीलाग्दो पीडा नैनबहादुर स्वाँरलगायत अछामका युवाहरूले टुलुटुलु हेरेर बस्न सकेनन् । २०१४ सालमा राजा महेन्द्रको डोटी, सिलगढीमा भएको भ्रमणका क्रममा, यही विषयलाई लिएर यी युवाहरूले राजा चढेको घोडाको लगाम समाते र सवारी अवरुद्ध गर्दै राजालाई घेराउ गरे । अछामी युवाहरूको यो साहसिक कार्यपछि तिरो तिर्न डोटी जानुपरेन ।

तिनै युवामध्येका एक नैनबहादुरको जन्म अछामको रिडिकोटमा १९८४ सालमा भएको थियो । त्यस बेला मुलुकमा जहानियाँ निरंकुश राणा शासन थियो । राणाहरूले विद्यालय खोल्न दिएका थिएनन् । औपचारिक पठनपाठनको व्यवस्था राणाका छोराछोरीलाई मात्र थियो । त्यस्तो अँध्यारो समयमा पनि साहित्यकार पहलमानसिंह स्वाँर लगायतको विशेष पहलमा अछामको बयाल्पाटामा भाषा पाठशालाको स्थापना भयो । यही पाठशालाबाट नैनबहादुरले तीन कक्षासम्मको औपचारिक शिक्षा प्राप्त गरे । भाषा पाठशालामा अंग्रेजी विषयको पठनपाठन नहुने भएकाले उनी डोटी पुगे । त्यहाँ कान्छा बुबाको सहयोगमा प्राइभेट शिक्षकसँग तीन वर्ष अंग्रेजी र गणित अध्ययन गरे ।

त्यस बेला सरकारी जागिर खानेको ठूलो इज्जत र प्रतिष्ठा हुन्थ्यो । यही प्रतिष्ठाको लोभले हर्कजंग स्वाँरले छोरा नैनबहादुरलाई काठमाडौं ल्याएर दरबार स्कुलमा भर्ना गरिदिए । दरबार स्कुलबाट मध्यमा पास गरेपछि त्यस बेलाका वन विभागका हाकिम अर्जुन राणाको भनसुनमा नैनबहादुरले नेपालगन्जमा खरिदारको जागिर पाउने पक्का भयो । त्यस बखत खरिदार ठूलै पद थियो । नेपालगन्जमा वनको हाकिमको जिम्मेवारी खरिदारले पाउँथे । तर, समाजसेवामा रुचि भएका नैनबहादुरलाई जागिर खान मनै थिएन । नियुक्ति पाउन दाम राखेर जर्नेललाई ढोग्नुपर्ने चलन थियो, त्यस बेला । दाजु नृपबहादुर स्वाँरसँग आफ्ना रुचिबारे कुरा गरेपछि उनी जागिर नखाने निर्णयमा पुगे । र, जर्नेललाई दाम नराखी भागेर कलैया गए ।

केही दिनको कलैया बसाइपछि मुम्बई जान ठिक्क परेर रक्सौलमा उभिइरहेका बेला नैनबहादुरको भेट गणेशमान सिंहसँग भयो । नैनबहादुरको जोस र आँट देखेर सिंहले प्रजातन्त्र प्राप्तिको यात्रामा समाहित हुन आग्रह गरे । नैनबहादुरले उनको आग्रह स्विकारे । त्यही भेटले नैनबहादुरलाई राष्ट्रिय कांग्रेसको सदस्य बनायो । र, उनको राजनीतिक यात्रा सुरु भयो । मुम्बईमा केएस रावल लगायतका नेपालीको सहयोगमा उनले राष्ट्रिय कांग्रेसको प्रवास जनसम्पर्क समिति गठन गरे, जुन अहिले भारतमा सशक्त जनसम्पर्क समितिका रूपमा स्थापित भएको छ । मुम्बई बसाइले उनलाई अभिनेता दिलीप कुमारको फ्यान बनायो । दिलीप कुमारको ‘मेला’ सिनेमा चौध पटकसम्म हेरेको पछिसम्म सुनाउँथे उनी । छोरो भागेर मुम्बई बसेको थाहा पाएपछि हर्कजंग आफैं मुम्बई पुगे र नैनबहादुरलाई डोर्‍याएर अछाम ल्याए ।

अछाम आइसकेपछि गाउँघरमै केही गर्ने चाहनाअनुरूप उनले बयाल्पाटामा नवदुर्गा मिडिल स्कुल स्थापना गरे । र, त्यहीँ पढाउन थाले । अछामको गाँज्रामा कार्तिक पूर्णिमामा राँगा र बोका बलि दिएर कात्तिके दसैं मनाउने चलन छ । डौठेगडाको मेला पनि भनिन्छ, यसलाई । नैनबहादुरले पहिलो राजनीतिक भाषण यही डौठेगडाको मेलामा दिएका थिए । आफ्नै काकालाई तत्कालीन प्रशासनले जेलमा थुनेपछि जिल्लामा आएका बडाहाकिमलाई कसैले पनि बास र खाना नदिनू भन्ने उर्दी नैनबहादुरले दिएका थिए । उनको भाषणको विषय पनि यही थियो । सबैले उनको यो कुरा मानेर बडाहाकिमलाई खान–बस्न दिएनन् । यो घटना अझै अछामीहरू याद गर्छन् । यसरी नैनबहादुरको राजनीतिक यात्रा अछामबाटै अगाडि बढ्यो । जिल्लामा उनी लोकप्रिय हुँदै गए । राष्ट्रिय कांग्रेसलाई छोडेर त्यसै बेला उनी गोर्खा परिषद्मा प्रवेश गरे । गोर्खा परिषद्का तर्फबाट अछामको निर्वाचन क्षेत्रबाट उठेका जगदीशशमशेर राणाले चुनाव हारे, त्यस बेला । बयाल्पाटाको चौतारामा ‘नैनबहादुर उठ्या भए चुनाव जित्थ्यो’ भन्ने बूढापाकाहरूको कुराले उनलाई झनै हौस्यायो । र, उनी त्यहाँको राजनीतिमा झनै सक्रिय भए ।

२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि देशमा निर्दलीय पञ्चायत व्यवस्थाको सुरुआत भयो । ‘कू’ लगत्तै नैनबहादुर भागेर पटना गए । तारामानसिंह स्वाँरले नैनबहादुरलाई काठमाडौं बोलाए । काठमाडौं आएपछि राजा महेन्द्रले उनलाई दरबार बोलाए । राजासँगको पटक–पटकको कुराकानीले पञ्चायत व्यवस्थाप्रतिको उनको धारणामा परिवर्तन आयो । र, उनी पञ्चायती राजनीतिमा प्रवेश गरे । नैनबहादुरका बुबाले २००९ सालमा कैलालीको बुटकैयामा जमिन लिएका थिए । पछि त्यहाँबाट गप्का सरे । ठूलै मौजा थियो स्वाँर परिवारको, बुटकैयामा । अछाममा दाजु नृपबहादुर स्वाँरले राजनीति गर्न थालेकाले कैलालीमा आफ्नो राजनीतिक धरातल निर्माण गर्न सक्रिय भए, नैनबहादुर । त्यहाँका चौधरी समुदायसँग उनले सम्बन्ध बढाउँदै गए । २०१८ सालमा चुहा गाउँ पञ्चायतको निर्विरोध प्रधानपञ्च भए । बर्खे खेतीपातीको काम सिद्धिएपछि कैलालीको वाणीमा मेला लाग्ने गर्थ्यो । २०२० सालको मेलामा उपस्थित भएका जनसमुदायले नैनबहादुरलाई कैलाली जिल्ला पञ्चायतको सभापति बनाए । निर्विरोध सभापति भएपछि उनको राजनीतिक सक्रियता झनै बढ्यो । कैलालीको चुहामा स्कुल स्थापना गराए । जनतासँगको सामीप्यका कारण २०२४ सालमा किसान संगठनबाट राष्ट्रिय पञ्चायतको सदस्य बने । २०२५ सालमा एकैपटक उनी भूमिसुधार राज्यमन्त्री बन्न सफल भए । २०२८ सालमा दोस्रोपटक राष्ट्रिय पञ्चायतको सदस्य बनेका नैनबहादुर राजा वीरेन्द्रको विशेष रुचिमा २०३० सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष बने । त्यसपछि उनको राजनीतिक उचाइ चुलिँदै गयो ।

नैनबहादुर तत्कालीन व्यवस्थाको सुधारको पक्षमा थिए । बालिग मताधिकारका आधारमा चुनाव र राष्ट्रिय पञ्चायतप्रति उत्तरदायी प्रधानमन्त्री हुनुपर्ने उनको अडान थियो । गाउँ फर्क अभियान समयसापेक्ष नभएकाले खारेज गर्नुपर्ने सुझाव राजालाई उनैले दिएका थिए । पछि, यो अभियान खारेज भयो । २०३६ सालको जनमत सङ्ग्रहमा तत्कालीन सरकारलाई महत्त्वपूर्ण सहयोग रह्यो नैनबहादुरको । २०३७ सालमा उनले जनमत संग्रहमा गरेको विशेष सहयोगको कदरस्वरूप कानुनमन्त्रीको जिम्मेवारी पाए । केही समयपछि खाद्य तथा कृषिमन्त्रीको जिम्मेवारी थपियो । २०३८ सालमा उनी गृहमन्त्री पनि बने । २०४६ सालमा नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र बहालीका लागि आन्दोलन भयो । आन्दोलन चर्किंदै गएपछि मरीचमानसिंह श्रेष्ठको मन्त्रिपरिषद् विघटन भयो र लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रित्वमा मन्त्रिमण्डल गठन भयो । उक्त मन्त्रिमण्डलमा गृहमन्त्रीसहित नौ वटा मन्त्रालयको जिम्मेवारी नैनबहादुरले पाए । तत्कालीन अवस्थामा आन्दोलनरत पक्षसँग वार्ता गराउन र आवश्यक निकास दिन महत्त्वपूर्ण भूमिका रह्यो, नैनबहादुरको । २०४६ सालको आन्दोलनले सफलता पाएसँगै नेपालमा प्रजातन्त्रको स्थापना भयो । त्यसपछि राप्रपा (थापा) को उपाध्यक्ष बने, नैनबहादुर । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नैनबहादुर नेपाली कांग्रेसमा प्रवेश गरे । कांग्रेसले उनलाई पार्टीको केन्द्रीय आमन्त्रित सदस्य बनायो । कैलाली क्षेत्र नं. २ बाट कांग्रेसका महासमिति सदस्य पनि बने ।

अछाम जिल्लाको उन्नतिका लागि नैनबहादुरले गरेका कामहरू चिरस्मरणीय छन् । २०३६ सालअगाडि बूढीगंगाको पश्चिमतिरको भूभागलाई आठ सय क्षेत्र भनिन्थ्यो । तेह्र गाउँ पञ्चायत भएको यो क्षेत्र डोटी जिल्लाअन्तर्गत पर्थ्यो । नैनबहादुरले ती तेह्र गाउँ पञ्चालयतलाई अछाममा गाभेपछि दुई निर्वाचन क्षेत्रसहितको फराकिलो अछाम बन्न पुग्यो । अछामको बयाल्पाटामा सात दशकअघि नवदुर्गा मेडिकल स्कुल नैनबहादुरले स्थापना गरेका थिए । अछामको बूढीगंगामा झोलुंगेपुल, बयाल्पाटा अस्पताल, साँफेबगरमा ‘एयरपोर्ट’ बनाउन पहल लगायतका थुप्रै सम्झनयोग्य कामहरू नैनबहादुरले गरे ।

नैनबहादुरले कैलालीको पुर्ख्यौली जमिन बेचेर आफ्नो चुनाव खर्च जुटाएका थिए । उनले उच्च राजनीतिक पदमा बस्दा भ्रष्टाचार गरेको र नाता–परिवारबाट घेरिएको जस्ता कुरा जनमानसले कहिल्यै सुन्नुपरेन । व्यक्तिगत जीवनबाट सार्वजनिक जीवनमा आइसकेपछि सबै काम पारदर्शी हुनुपर्छ भन्ने मान्यता नैनबहादुरको थियो । नैनबहादुर राजनीतिमा कुरा लाउने संस्कृतिका सख्त विरोधी थिए । गोपनीयता राख्न सक्ने अर्को विशेषता थियो उनको । नोकरी भनसुनका आधारमा हैन, योग्यताका आधारमा खानुपर्छ भन्ने धारणा नैनबहादुको थियो । कसैले घरमै ल्याइदिएका उपहारहरू पनि तुरुन्तै फिर्ता गर्थे । परिवारकै सदस्यहरूका लागि पनि कतै भनसुन गरेनन् ।

सक्रिय राजनीतिबाट विश्राम लिएपछि पछिल्लो समय उनी वानेश्वरस्थित घरमा समय बिताइरहेका थिए । हालै कोरोना संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरियो । चौरानब्बे वर्षको उमेरमा पनि उनले कोरोनालाई जिते । विडम्बना, कोरोनालाई जितेको दोस्रो दिन उनी मृत्युसँग हारे ।

प्रकाशित : मंसिर ३०, २०७७ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×