कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भन्न गाह्रो व्यथा

अरुणा उप्रेती

अरूको प्रजनन अंगसँग जोडिएको स्वास्थ्य समस्याबारे लेख्न मलाई कहिल्यै गाह्रो परेन । आफ्नो यस्तो समस्याबारे लेख्ने साहस जुटाउन भने निकै समय लाग्यो । १५ वर्षअघि मेरी छोरीले भनिन्, ‘आमा, कहिलेकाहीँ तपाईंको जीउमा ह्वास्स पिसाब गन्हाउँछ । समयसमयमा लुगा फेर्नुस् र न्वाउनुस् ।’

भन्न गाह्रो व्यथा

तिनताका म ४०–४५ वर्षकी थिएँ । १५ वर्षकी छोरीको यस्तो भनाइ सुनेर झसंग भएँ । त्यस बेला कहिलेकाहीँ हाच्छ्युँ गर्दा, लामो समय हिँड्दा, अट्टहास गर्दा तुरुक्क पिसाब चुहिन्थ्यो (अहिले ठीक भइसकेको छ) ।

त्यस बेला मैले यो व्यथालाई खासै वास्ता गरेकी थिइनँ । तर छोरीले नै भनेपछि लाज लाग्यो । अरू साथी र चिनारुहरूले ‘तपाईंको जीउ गन्हाउँछ’ भन्दैनथे, उनीहरूलाई थाहा चाहिँ पक्कै हुन्थ्यो । छोरीले भनेपछि मैले हरेक ठाउँमा जाँदा एक जोर लुगा बोक्न थालें । अफिसमा पनि दुई जोर लुगा राख्न थालें । छोरीले त्यस बेला मलाई भनेको कुरा अहिले बिर्सी पनि सकिछन् तर त्यो मेरा लागि ठूलो पाठ भयो ।

हुन त पिसाब चुहिने समस्या धेरै महिलालाई हुने गर्छ तर यस विषयमा प्रायः कोही बोल्दैनन् । स्वस्थ जीवनशैली अपनाए, व्यायाम गरे यो समस्या कम हुन्छ । मेरो पनि योगासन गर्न थालेपछि झन्डै ८० प्रतिशत समस्या कम भयो । कतिपय महिलालाई महिनावारी सुकेपछि यस्तो समस्या आउन सक्छ, वा झन् बढ्न सक्छ । धेरै तौल तथा मधुमेह भएका महिलाहरूलाई पनि यसले सताउन सक्छ । गह्रौं भारी बोकिरहने≤ धेरै बच्चा जन्माएका गाउँघरका महिलालाई यस्तो समस्या हुने सम्भावना बढी हुन्छ ।

के हो पिसाब चुहिने समस्या ?

चिकित्सकीय भाषामा यसलाई ‘युरिनरी इनकन्टिनेस’ भनिन्छ । यो रोग होइन, तर महिलाको दैनिक जीवनलाई यसले कठिन बनाउँछ । पिसाब चुहिने समस्याले पुरुषभन्दा महिलालाई बढी सताउँछ । विभिन्न अध्ययन अनुसार, विश्वमा करिब २० प्रतिशत महिलालाई यस्तो समस्या छ । यसको प्रमुख कारण महिलाको पिसाबथैलीको मांसपेशी कमजोर वा खुकुलो हुनु हो ।

हाँस्दा, हाच्छ्युँ गर्दा पेटको मांसपेशीका साथै पिसाबथैलीमा बल पर्छ र एक–दुई थोपा पिसाब तुरुक्क झर्छ । यस्तो समस्या हुने कुनै–कुनै महिलालाई छिटछिटो पिसाब फेर्न मन लाग्छ, शौचालय नपुग्दै पिसाब चुहिन्छ । भित्री लुगामा पिसाब चुहिँदा जीउ नै गन्हाउँछ, साथै पानीले सफा नगरे गुप्तांग चिलाउँछ, घाउ हुन्छ । यसबारे कसैलाई भन्न पनि गाह्रो हुन्छ । कतिपय महिलालाई यो मलाई मात्र होला, कसलाई भन्नु जस्तो लाग्न सक्छ । तर, यो धेरै महिलालाई हुने साधारण समस्या हो र केही साधारण उपाय अपनाए, कम हुन सक्छ ।

मूत्राशयमा संक्रमण हुँदा यो समस्या झन् बढी हुन सक्छ । पिसाब तप–तप चुहिरहँदा पानी पिउन डराउने महिलालाई मूत्राशयको संक्रमण हुन सक्छ । मूत्रनली र मूत्राशयमा बारम्बार संक्रमण भए, मृगौलामा संक्रमण हुने सम्भावना पनि बढ्छ ।

सुत्केरी भएपछि प्रजनन अंगको मांसपेशी बलियो बनाउने किगल व्यायाम गर्दा यो समस्या कम गर्न सकिन्छ । केहीअघि हामीले देशका थुप्रै गाउँमा धेरै महिलालाई यो व्यायाम सिकायौं । तीन महिनासम्म हरेक दिन यो व्यायाम गरेपछि धेरै महिलाको यस्तो समस्यामा ८० प्रतिशतसम्म कमी आएको थियो । पाठेघर खस्ने सम्भावना भएका महिलालाई पनि यो व्यायामले फाइदा भएको छ ।

के हो किगल व्यायाम ? कसरी गर्ने ?

यो व्यायामले प्रजनन अंगको मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ । सुरुमा पिसाब फेर्दा एक छिन रोक्ने, सास फेर्ने, जनेन्द्रियका मांसपेशीहरू माथितिर तान्ने कोसिस गर्दा ती खुम्चिन्छन् । यसरी १० सेकेन्डसम्म खुम्च्याएर राख्नुपर्छ, अनि पिसाब छोडिदिनुपर्छ । सुरुमा १० सेकेन्ड अड्याएर राख्न गाह्रो भए, ५ सेकेन्डसम्म अड्याउन सकिन्छ । अनि बिस्तारै समय बढाउन सकिन्छ । पिसाब फेरेपिच्छे चार–पाँच चोटि गरेपछि, हिँड्दा, बस्दा, काम गर्दा पनि जनेन्द्रिय मांसपेशी खुम्च्याउने व्यायाम गरिरहनुपर्छ । यसले बिस्तारै मांसपेशी बलियो बनाउँदै लैजान्छ । यसले पाठेघर झर्दा वा शल्यक्रिया गरेर निकाल्दा पिसाब चुहिने समस्या भएकाहरूलाई पनि मद्दत गर्छ । किगल व्यायाम नजिकैका स्वास्थ्यकर्मीसँग सिक्न सकिन्छ ।

त्यसै गरी केही योगासन दिनदिनै गरे यो समस्या केही कम गर्न सकिन्छ । सर्वांगासन, उष्ट्रासन, उत्कटासन, ताडासनले मेरुदण्ड र पुठ्ठाका साथै जनेन्द्रियको मांसपेशीलाई पनि बलियो बनाउँछ । २५–४० वर्षका महिलाहरूले सुत्केरी अवस्थादेखि नै यस्ता योगासन गरे पिसाब चुहिने समस्या कम हुँदै जान्छ । त्यसै गरी सुत्केरी अवस्थामा संक्रमण हुन नदिन नीम, तीतेपाती आदि पानीमा उमालेर जनेन्द्रिय धुनुपर्छ । चिसो पेय पदार्थ, चिनी आदि सकेसम्म खानु हुँदैन ।

महिनावारी सुक्ने बेला शरीरमा ‘एस्ट्रोजोन’ हर्मोनको कमी हुन्छ । अनि बिस्तारै पाठेघर र पिसाबथैलीका मांसपेशी पातलो हुँदै जाँदा तुरुक्क पिसाब चुहिने भएकाले यसलाई ‘उमेरले ल्याउने समस्या’ पनि भन्न सकिन्छ । धूमपान गर्ने महिलालाई बारम्बार खोकी लाग्ने भएकाले उनीहरूमा यो समस्या बढी हुन सक्छ । त्यसैले धूमपान त्यागेकै बेस ।

यस्तो समस्या भएर महिलाको शरीरबाट पिसाबको गन्ध आयो भने उनलाई अपहेलना गरिन्छ । यस अर्थमा यो ‘सामाजिक समस्या’ पनि हो । पिसाब चुहिने समस्या भइरहे महिलालाई भोज, सभा–समारोहमा जान गाह्रो हुन्छ । समयमै परामर्श नपाउँदा वा उपचार नगर्दा यो समस्या झन् बढ्न सक्छ ।

प्रकाशित : भाद्र ११, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?