‘स्टार्टअप’मैत्री कानुनहरुको आवश्यकता

विष्णु अग्रवाल

काठमाडौँ — केही समयअघि मौद्रिक नीति आएको छ । यसले उद्योगी व्यवसायीलाई राहत दिएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पनि गरेको छ । केही समयअघि मैले एक जना साथीसँग कुरा गरिरहेको थिएँ । उनी सेयर लगानी गर्न बैंक गएका थिए । एप्लिकेसन फाराम बुझाउन जाँदा मान्छेको भीडैभीड रहेछ । फाराम भरेर बुझाउन मात्रै तीन घण्टा लागेको थियो । पैसा त यहीँ छ । अहिले मान्छेको चासो सेयर बजारमा देखिएको छ । प्राइमरी इक्विटीका फन्डिङ देखिएका छन् । यसबाट पैसा नेपालमै रहेको पुष्टि हुन्छ । यति भनिरहँदा नेपालमा यस्ता धेरै मान्छे छन्, जसलाई पैसा चाहिएको छ । उनीहरुसँग काम गर्ने आइडिया पनि छ । तर, पैसा छैन । र, यस्ता मान्छे पनि छन्, पैसा छ तर लगानी कहाँ गर्ने, आइडिया छैन ।

‘स्टार्टअप’मैत्री कानुनहरुको आवश्यकता

अहिले पैसाको उपलब्धताका लागि सजिलो पनि छ । थोरै पैसा चाहिने मान्छेहरु जस्तै स्टार्टअप गर्ने वा मध्यम उद्योग खोल्नेहरुलाई बैंकहरुले सहुलियत दिएका छन् । मौद्रिक नीतिले पनि ब्याजदर सस्तो गराइदिएको छ । सरकारले पनि स्टार्टअपलगायत विभिन्न कार्यक्रम ल्याएको छ । ती कार्यान्वयनमा जानेमा म विश्वस्त छु । सरकारले बैंकमार्फत बिनाधितोको कर्जा २५ लाख रुपैयाँसम्म दिने भनेको छ ।

धितो भएको मान्छेका लागि बैंकबाट ऋण लिन सजिलो छ । धितो नभएको व्यक्तिलाई फाइनान्स, सहकारीले सघाइरहेका छन् । निजी क्षेत्रका धेरै संस्था पनि स्टार्टअपका लागि पैसा लगानी गर्न तयार छन् । त्यसैले यो पनि अवसर नै हो । स्टार्टअप व्यवसायीका लागि नेपालमा भेन्चर कम्पनीहरुको पनि उदय भएको छ । स्टार्टअपलाई पैसा मात्रै नभई निरीक्षण, कन्सल्टेन्सी पनि दिने, उचाइमा पुर्‍याउने काम उनीहरुले गरिरहेका छन् । त्यसैले सानो पैसाका लागि धेरै अवसर छन् । त्यो पर्याप्त भने होइन । सहयोगी नहुनेलाई भने आज समस्या छ । पैसा लिन चुनौती नै छ ।

जति पनि स्टार्टअप छन्, १ सय वटा सुरु हुँदा ९० वटा आफैं मर्छन् । यसो हुनुमा उनीहरुको आइडियाको भूमिकाले काम गरेको हुन्छ । प्रयास गरिराख्नुपर्छ । हरेक व्यवसायी सफल हुँदैनन् । प्रयास नछाडे कुनै न कुनै समयमा त्यसले पक्कै राम्रो प्रतिफल दिन्छ । दोस्रो कुरा, भेन्चर क्यापिटालिस्ट कसरी सफल हुन सक्छ ? सेयर बजारको भूमिका के हुन सक्छ ? भेन्चर क्यापिटलिस्टले १० ठाउँमा लगानी गरेका हुन्छन् । सायद ७/८ ठाउँमा पैसा डुब्छ नै । बाँकी २/३ वटा ठाउँको लगानी सफल हुन्छ । र त्यहीँबाट उनीहरु लगानी उठाउन सफल हुन्छन् ।

पुँजीबजारले पनि पुँजी निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ । स्टार्टअपमा गरिएको लगानी तत्काल फिर्ता नहुन सक्छ । तर स्टक मार्केटमा सूचीकृत भएपछि त्यसको मूल्यांकनले दिने रिटर्न राम्रो हुन्छ । नेपाल जस्तो मुलुकमा स्टार्टअप कल्चर विकास गर्नुपर्छ । तर, त्यसका लागि केही ऐनकानुन पनि सुधार गर्नुपर्छ । अहिले व्यवसायमा आउनु र बाहिरिनुमा नै ठूलो समस्या छ । कम्पनी खोल्नुपर्‍यो भने धेरै समय लाग्छ । कम्पनी बन्द गर्नुपर्दा झन् सबैभन्दा ठूलो चुनौती छ । कुनै पनि व्यवसायीले १० वटा कम्पनीमा लगानी गरेका छन् । र, ७ वटा कम्पनी डुबे भने कर कार्यालयलाई बुझाउन पनि ठूलो समस्या छ ।

स्टार्टअपलाई प्रवद्र्धन गर्न नेपाल उद्योग परिसंघ (सीएनआई)ले एउटा युवा उद्यम फोरम बनाएको छ । हामीले पुँजी बजारसँग समन्वय गर्ने काम पनि गरिरहेका छांै । त्यसको काम स्टाटअपलाई पहिचान गर्ने, प्रशिक्षण दिने, कहाँबाट रकम उपलब्ध हुन्छ, उपलब्ध गराउने हो । नेपालमा सम्भावनाको कमी छैन । यहाँको कृषि क्षेत्रमा लगानी गर्न प्रशस्त ठाउँ छ । हामीले दुई सय अर्ब जतिको कृषि सामग्री, कृषि उपज आयात गरिरेहका छौं । यहीँ उत्पादन गर्न सके त्यसलाई प्रतिस्थापन गर्न सकिन्छ । लगानीको अर्को क्षेत्र पर्यटन पनि हो । कोभिडको समयलाई छाड्ने हो भने सन् २०२० लाई ‘भिजिट नेपाल’ले ठूलो साथ दिन्थ्यो । भविष्यमा कोभिडको समस्या हटेपछि पर्यटनको पनि ठूलो सम्भावना छ । आइटी पनि अथाह सम्भावना भएको क्षेत्र हो । एसियाली मुलुकको तुलनामा पनि हामी पूर्वाधारमा धेरै पछाडि छौं । पूर्वाधार बनेकै छैनन् । यहाँ म्यानुफ्याक्चरिङ उद्योगको पनि सम्भावना व्यापक छ । भारत र चीनको फाइदा लिन सक्छौं । तर, केही कठिनाइ पनि छन् ।

बिजुलीमा आत्मनिर्भर हुँदै छौं । केही समयपछि निर्यात गर्ने अवस्थामा पुग्न सक्छौं । नेपालमा पनि विद्युत्‌को खपत कसरी बढाउन सकिन्छ, त्यहाँ पनि सम्भावना छ । म्यानुफ्याक्चरमा पीपीपीको अवधारणा पनि आइरहेको छ । यी सबैलाई कसरी कार्यान्वयनमा लैजाने, त्यतातिर पनि ध्यान दिनुपर्छ ।

नेपालमा कसैले उद्योग सञ्चालन गर्न खोज्दा जग्गामा पनि धेरै ठूलो लगानी गर्नुपर्ने बाध्यता छ, जुन हाम्रो ठूलो समस्या हो । त्यसलाई कसरी कम गर्न सकिन्छ, कसरी सुपथ मूल्यमा उपलब्ध गराउन सकिन्छ, यसतर्फ सोच्नुपर्छ ।

(कान्तिपुर इकोनमिक समिट,२०२१ मा नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले राखेको धारणा)

प्रकाशित : भाद्र ५, २०७८ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?