सेयर बजारमा पैसै पैसा

राधा पोखरेल

काठमाडौँ — कोरोनाले थिलथिलो बनाएको यो समयमा पैसा सोचमा छ । विचार र भावनामा पैसा छ । सबैको सम्मिश्रण भनेको पुँजी बजार नै हो । किन पनि हो भने, पुँजी बजारमा सबै क्षेत्रबाट मानिस आउन सक्ने भए । पुँजी बजार भनेको यस्तो क्षेत्र हो, यसमा कुनै धर्म, सीमा क्षेत्र आदि केही हुन्न । पुँजी बजारका लागि कार्यालय सञ्चालन गर्नुपर्दैन । कर्मचारी राख्नुपर्दैन । हामीले कुनै जागिरमा पूरै समय दिएजस्तो समय लगाउनु पनि पर्दैन । व्यवसाय वा अरू जागिर गरिरहे पनि पुँजी बजारलाई सँगसँगै लैजान सकिन्छ । त्यसैले पनि पुँजी बजार धेरैभन्दा धेरैको आकर्षणको केन्द्र बनेको हो । एकदम सुखसयलमा बाँच्न खोज्नेलाई सुखको पेसाका रूपमा पनि यसलाई रोज्ने गरिएको छ । त्यस हिसाबले पुँजी बजारमा पैसै पैसा छ जस्तो लाग्छ ।

सेयर बजारमा पैसै पैसा

प्रहरी, सेना, पाइलट, डाक्टर वा अन्य प्रोफेसनमा जो हुनुहुन्छ, व्यापार गरेर बस्नुभएको पनि हुनुहुन्छ । उहाँहरू सबैले पुँजी बजारलाई सँगसँगै लैजान सक्नुहुन्छ । हामीसँग भएको थोरैथोरै रकम पनि पुँजी बजारमा लगाउन सकिन्छ । हामीसँग रहेको पकेट खर्च १ हजार रुपैयाँलाई नै पुँजी बजारमा लगाउन सक्छौं । यो क्षेत्रमा लाखौं रुपैयाँ लगाउन पनि सकिन्छ । पुँजी बजार यस्तो क्षेत्र भयो कि, जति सम्पत्ति होस्, कसैले देख्न नसक्ने पनि भयो । हामीसँग कति सम्पत्ति छ, त्यो बाहिर नआउने पनि भयो । त्यसले गर्दा सबैको आकर्षणको केन्द्र पुँजी बजार भएको हो ।

सरकारले पनि यसलाई हामीले केही गर्नुपर्छ भन्ने सोचिदिने हो भने पुँजी बजारको भविष्य एकदम उज्ज्वल छ । यससँगै सरकारले लिन मात्र खोजेको देखिन्छ, दिन खोजेको देखिँदैन । जस्तो एक दशकको बीचमा ५ लाख लगानीकर्ता थिए । दुई करोड कारोबार हुन्थ्यो होला । अहिले एक दशकमा २० अर्बको कारोबार हुन्छ । ४० लाख लगानीकर्ता बजारमा भित्रिएका छन् । यस अर्थले पनि के देखिन्छ भने पैसा पुँजी बजारमै छ ।

सेयर बजारमा सबैको आआफ्नो क्षमताअनुसार नै कमाइ हुने हो । केही समयअघि मौद्रिक नीति आयो । मौद्रिक नीति आउनुभन्दा अघि नै त्यससम्बन्धी सूचना चुहावट भएका थिए । बजेट आउने बेला पनि पहिल्यै सूचना चुहावट हुने गरेका छन् । कुनै कम्पनीले केही ‘डिक्लेयर’ गर्दै छ भने त्यो पहिला नै चुहावट भइसक्छ । त्यो भनेको सामान्य लगानीकर्ताको पहुँचमा हुन्न । जो अलिकति क्षमतावान् छन्, ठूला लगानीकर्ता छन्, जसको कम्पनीसँग पहुँच छ । तिनीहरू त्यो पहुँचमा हुन्छन् । त्यसले गर्दा उनीहरूले बेसी कमाउने गरेका छन् । साना लगानीकर्ताले पनि नकमाउने भन्ने हुँदैन । बजारमा प्रवेश गर्नुअघि के विचार गर्नुपर्‍यो भने हामीसँग कस्तो पैसा छ ? कस्तो पैसा बजारमा लगानी गर्दै छौं ? जस्तै हामीले ऋण लिएर बजारमा लगानी गर्दै छौं कि कुनै बचत गर्ने पैसा गर्दै छौं कि ? यही बजारमा मात्र लागिरहन्छु भनेर सोच्ने हो कि वा अन्य प्रोफेसनसँगै बजारलाई पनि लान्छौं भन्ने हो, त्यो पहिल्यै छुट्याउनुपर्छ ।

चार दशकभन्दा बढी भइसक्यो, पुँजी बजार अझै बामे नै सर्दै छ । हामीले विभिन्न समस्या भोगिरहेका छौं । नेपाल मात्र यस्तो देश हो, जहाँ पुँजी बजारमा यो सुधार गर, त्यो सुधार गर भनेर विभिन्न समयमा अनशन बस्नुपर्छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गएर धर्ना बस्नुपर्छ । नेप्सेमा गएर ताल्चा लगाउनुपर्छ । राष्ट्र बैंकमा गएर यो नियम संशोधन गरिदेऊ भन्नुपर्छ ।

राजनीतिक नेतृत्वले गर्दा पनि लगानीकर्ताहरूले धेरै नै दु:ख पाउनुपरेको छ । चार वर्षसम्म लगातार सेयर बजार घट्यो । प्रधानमन्त्रीदेखि अर्थमन्त्री, राष्ट्र बैंक, धितोपत्र आदि सरोकारवाला निकायलाई आफ्ना समस्याको यथोचित समयमा समाधान होस् र नीति नियम कार्यान्वयन होऊन् भनेर धेरै दबाब दियौं । तर हाम्रा कतिपय माग अझै सम्बोधन हुन सकेका छैनन् ।

नेतृत्वमा आउनेहरूले लिएको नीति नै तीन महिना, छ महिनासम्म पनि टिक्दैन । त्यसले गर्दा लगानीकर्ता धेरै मारमा परेका छन् । अर्थ मन्त्रालयमा पुँजी बजार र मुद्रा बजारका समस्या समाधान गर्न आयोग बनाइएको थियो । त्यो आयोगको सदस्य म पनि थिएँ । त्यो आयोगमा हामीले ५८ वटा बुँदामा यी यी समस्या छन् भनेर बुझाएका थियौं । त्यो अहिले पनि कार्यान्वयन हुन सकेको छैन । अहिले हेर्दा प्राथमिक बजार सातै प्रदेशको ७७ वटै जिल्लामा पुगिसकेको छ । सेकेन्डरी बजार अहिलेसम्म पनि पुग्न सकेको छैन । कसैले आईपीओ लिएको होला । आईपीओ बढेको होला । तर बिक्री गर्न सक्ने अवस्था छैन । कसैलाई आर्थिक समस्या परेर बिक्री गरौं भन्ने होला । तर त्यो बिक्री गर्न सक्ने अवस्था छैन ।

हामीले बैंकलाई ब्रोकर भनिरहेका छौं । यसो भनिरहँदा बैंकहरूले हामी ब्रोकर लिन तयार छौं भनेर छुट्टै डिलर खडा गरेर बस्दा पनि अहिलेसम्म रोकिएको छ । हामी नेप्सेमा जान्छौं, सेबोनमा काम अड्किएको छ भनिन्छ । सेबोनमा जान्छौं, राष्ट्र बैंकमा अड्किएको छ भनिन्छ । राष्ट्र बैंकले यो किन अड्काइरहेको छ ? राष्ट्र बैंकमा जाँदा अर्थ मन्त्रालयले रोकेको छ भनिन्छ । यस्ता कारणले गर्दा लगानीकर्ता धेरै समस्यामा परेका छन् । अझै पनि हामीले हाम्रो सम्पत्ति सुरक्षित छ भन्न सकिने अवस्था छैन । सेयर बजारमा लगानी गरेको छु भनेर आनन्दले ढुक्क भएर बस्ने र निदाउन सक्ने वातावरण छैन । हामी सेयर बजारमा जो लागेका छौं, पक्कै पनि प्रेसरका रोगीचाहिँ छौं ।

(कान्तिपुर इकोनमिक समिट,२०२१ मा पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेलले राखेको धारणा)

प्रकाशित : भाद्र ५, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?