शिक्षण सिकाइको निरन्तरता, जटिलता र सम्भावना- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षण सिकाइको निरन्तरता, जटिलता र सम्भावना

केही दुई चारओटा विद्यालयको अवस्था फरक भए पनि समग्रमा देशभरीको अवस्थालाई हेर्दा अनलाइन शिक्षण सिकाइमा सामुदायिक विद्यालयका करिब २० प्रतिशत र निजीका करिब ८० प्रतिशत बालबालिकामात्र समेट्न सकिएको छ र अनलाइन शिक्षणमा पनि थुप्रै समस्या छन् ।
देवीराम आचार्य

गतवर्षको महामारीबाट पाठ सिकेर तयारी गर्न सकेको भए सायद यतिबेला हाम्रो शिक्षा प्रणालीले यति धेरै समस्यासँग जुध्नुपर्ने थिएन । गतवर्ष यस्तो महामारी आउँदा हामीलाई यसको धेरै जानकारी थिएन र हामी अलमलमा पर्नु स्वाभाविक थियो । महामारी दोहोरियो तर हामीले गतवर्षको सिकाइबाट अहिले केही थप राम्रो गर्न सकेको अवस्था छैन ।

कक्षा १० र १२ को परीक्षा होस् वा उच्च शिक्षाको शिक्षण सिकाइ र परीक्षा होस् वा विद्यालय तहको शिक्षण सिकाइ, सबै पक्षमा हामी अहिले पनि गतवर्षकै जस्तो अन्योल र अलमलको अवस्थामा छौं । विद्यालय तहमा अध्ययनरत झण्डै ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन नियमित हुन सकेको छैन । निजी विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षामा करिब ७०–८० प्रतिशतसम्म विद्यार्थी सहभागी भएका छन् तर त्यो पनि अपेक्षित प्रभावकारी हुन सकिरहेको छैन ।

अनलाइन शिक्षण सिकाइ सञ्चालन गरेका शहरीक्षेत्रका सामुदायिक विद्यालयमा पनि ६० प्रतिशतभन्दा बढी विद्यार्थी सहभागी हुन सकेका छैनन् । केही दुई चारओटा विद्यालयको अवस्था फरक भए पनि समग्रमा देशभरीको अवस्थालाई हेर्दा अनलाइन शिक्षण सिकाइमा सामुदायिक विद्यालयका करिब २० प्रतिशत र निजीका करिब ८० प्रतिशत बालबालिकामात्र समेट्न सकिएको छ र अनलाइन शिक्षणमा पनि थुप्रै समस्या छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले गतवर्ष गरेको एक अध्ययनमा ६६ प्रतिशत विद्यार्थीसँग रेडियो, टिभी, कम्प्युटर, इन्टरनेटजस्ता कुनै पनि सिकाइका माध्यम नभएको उल्लेख गरेको थियो । सिकाइका लागि विभिन्न साधनहरुको पहुँचको अवस्था के छ ? र के गर्न सकिन्छ भन्नेमा केन्द्रित भएर अध्ययन, अनुसन्धान भएका छैनन् । शहरीक्षेत्रका धेरै निजी विद्यालय र केही सामुदायिक विद्यालयले अनलाइन शिक्षण सिकाइमा जोड दिएका छन् तर ग्रामीणक्षेत्रमा अनलाइन शिक्षणको सम्भावना एकदमै जटिल छ । अनलाइन शिक्षणका लागि चाहिने इन्टरनेट, डिभाइस र शिक्षण सीपसमेतमा समस्या छ ।

केही सामुदायिक विद्यालयहरुले गृहकार्य प्याकेजहरु उपलब्ध गराउने अभियानको थालनी गरेका भए पनि त्यसको निरन्तर अनुगमन गर्ने, विद्यार्थीलाई पृष्ठपोषण दिने र अप्ठ्यारो भएकोमा सहजीकरण हुन सकेको छैन । टोल सिकाइ पनि अपेक्षित प्रभावकारी हुन सकेको छैन ।

भर्ना अभियानको औपचारिकता सकिंदैछ । अधिकांश विद्यालयले पाठ्यपुस्तक पनि बितरण गरेका छन् । भौतिक उपस्थितिमा बाहेक शिक्षण सिकाइ सम्भव हुँदैन भन्ने मत अलिक बलियो देखिन्छ । जे जसरी सकिन्छ, जे जे सम्भव हुन्छ त्यसरी नै शिक्षण सिकाइ सञ्चालन गरौं भन्ने इच्छाशक्ति निकै कममा मात्र छ । केही विद्यालयमा यस्तो गर्न इच्छा गर्ने केही थोरै शिक्षकहरूलाई पनि प्रोत्साहन नगरी हतोत्साहित गर्ने अवस्थाका उदाहरण पनि पाइन्छन् । गतवर्षको जस्तै अलमल र वैकल्पिक सिकाइका निर्देशिका, रेडियो पाठका तालिकाले मात्र अबको शिक्षण सिकाइलाई भरथेग गर्न निकै जटिल छ । सामान्य अवस्थामै पनि विद्यार्थीको सिकाइ सन्तोषजनक थिएन, गत एकवर्षको महामारीले त्यसमा कति धेरै क्षति पुग्यो कुनै औपचारिक अध्ययन नभए पनि विश्व बैङ्कले गरेको सिकाइको गरिबी प्रक्षेपणअनुसार कम्तीमा पनि १० प्रतिशतसम्म क्षति पुगेको छ । यी विभिन्न परिवेश र सन्दर्भबाट हेर्दा अब हरेक विद्यालयले आफ्नो परिवेश अनुकूलका शिक्षण सिकाइका रणनीतिहरु तय गरेर शिक्षण सिकाइलाई निरन्तरता दिन ढिला भइसकेको छ ।

स्थानीय पालिकाहरुले स्थानीय परिवेश अनुकूलका सिकाइ रणनीति तय गर्न ढिला गर्नु हुँदैन । विद्यालयहरुले हरेक विद्यार्थर्ीको के कस्ता साधनहरूबाट सिक्न सक्ने अवस्था छ ? तत्कालै तथ्याङ्क सङ्कलन, सङ्कलन भइसकेको भए अध्यावधिक र त्यसको विश्लेषण गर्नुपर्छ । जटिल परिस्थितिमा तोकिएको समय र तोकिएको विधिले मात्र शिक्षण सिकाइलाई निरन्तरता दिन सम्भव नहुने भएकाले विगतमा यसो गरेका थियौं , यसो गर्नुपर्छ भन्ने स्थापित विधि र मान्यताहरूलाई छोड्न जरुरी हुन्छ । पालिकाहरूले शिक्षकको उत्प्रेरणा, शिक्षक परिचालन र क्षमता विकासलाई पनि प्राथमिकता दिएर वैकल्पिक सिकाइका स्थानीय रणनीति तय गर्नेतर्फ आवश्यक तयारी गर्नु आवश्यक छ । स्वाभाविक रुपमा समस्याहरु हुन्छन् । स्थानीय सरकारले स्थानीय परिवेश अनुकूल सिकाइ रणनीति तय गरी शिक्षण सिकाइको निरन्तरताका लागि विद्यालयलाई जिम्मेवार बनाउने र आवश्यक सहयोग, सहजीकरण र समन्वय गर्नेतर्फ ध्यान दिनुपर्छ ।

एउटामात्र विधि वा पद्धतिले सबै बालबालिकालाई शिक्षण सिकाइमा जोड्न सकिने अवस्था छैन । इन्टरनेटको पहुँचमा भएका बालबालिकालाई अनलाइन शिक्षण सिकाइ सञ्चालन गर्ने, रेडियो र टिभीको उपलब्धता भएका बालबालिकालाई अभिभावसकसँग समन्वय गरी रेडियोका पाठहरु सुन्न प्रोत्साहित गर्ने, अनलाइन, रेडियो, टिभीजस्ता माध्यमबाट जोडिन नसक्नेहरूका लागि खास समय तालिका मिलाएर फोन र एसएमएसबाट सिकाइ सहजीकरण गर्ने र फोनमा पनि जोड्न नसकिनेहरुका लागि स्वास्थ्य मापदण्डको कडाइसाथ पालना गरेर भौतिक रुपमै क्लिनिक मोडलको प्रयोगबाट शिक्षण सिकाइलाई निरन्तरता दिनु जरुरी छ । स्थानीय परिवेश अनुकूल कुनै खास सानो टोल र समुदायमा भएका विद्यालयहरुले टोल र समुदायमा कोरोनाको सङ्क्रमण अवस्था अध्ययन गरी अन्य विधिलाई पनि प्रयोगमा ल्याउन सकिन्छ ।

विद्यालयहरूले शिक्षण सिकाइ सञ्चालन गर्नेभन्दा पनि विद्यार्थीलाई सिकाइमा सहजीकरण गर्ने र स्वअध्ययनमा जोड दिनु आवश्यक हुन्छ । साना कक्षा र ठूला कक्षाका लागि फरकफरक रणनीतिहरुको तय गर्नुपर्छ । सियुजी पाठशाला सिमको प्रयोगबाट विद्यार्थीलाई हप्तामा एक वा दुई पटकसम्म फोन गर्ने, उनीहरुले के गरिरहेका छन् ? के पढ्दै छन् ? के समस्या भएको छ ? सोध्ने गर्न सकिन्छ । सियुजी पाठशाला सिमबाट असीमित समय कुरा गर्न र म्यासेज गर्ने सुविधा उपलब्ध भएकाले जुनसुकै प्रकारको शिक्षण सिकाइ पद्धति अवलम्बन गरे पनि यसको प्रयोगबाट त्यसालाई थप प्रभावकारी बनाउन सकिन्छ । स्मार्ट फोनको उपलब्धता भएका बालबालिकाहरुले सियुजी सिमबाट शिक्षा तथा मानवस्रोत विकास केन्द्रको सिकाइ चौतारीबाट सिक्नका लागि ८ जिबीसम्मको डाटासमेत उपलब्ध भएकाले पालिकाहरूले सबै विद्यालय र विद्यार्थीलाई यसको उपलब्धता र प्रयोगमा सहजीकरण गर्नु आवश्यक हुन्छ ।

कुनै एउटा मात्र विधिको प्रयोगबाट पनि हुँदैन र कुनै पनि विधि पूर्णतया दोषरहित र रामवाण पनि हुँदैनन् । स्थानीय परिवेश अनुरुपका सिकाइका रणनीति तय गर्नु आवश्यक छ । स्थानीय पालिका, विद्यालय व्यवस्थापन समितिहरु, प्रधानाध्यापक र शिक्षकहरुको नियमित छलफल अन्तरक्रिया गर्दै अभिभावकहरूको समेत सहभागितामा उनीहरूलाई समेत अनुकूल हुनेगरी सिकाइ रणनीति तय नगर्दा प्रभावकारिता हुँदैन । रेडियोमा पाठ बजाउँदा साना कक्षाका लागि विहान वा बेलुका उपर्यक्त हुनसक्छ भने ठूला कक्षाको लागि दिउँसो उपयुक्त होला । विद्यालयमा साना कक्षाका लागि मात्र क्लिनिक मोडल सञ्चालन गर्न सकिएला तर समय अभिभावक अनुकूल हुनेगरी बिहान तय गर्नु आवश्यक हुन्छ । गृहकार्यका प्याकेज बितरण गर्ने, टोल सिकाइ सञ्चालन गर्नेजस्ता कार्यमा कक्षाअनुसार विषयअनुसार र विद्यालयअनुसार फरकफरक रणनीतिहरु आवश्यक पर्छन् ।

महामारी कहिलेसम्म रहन्छ भन्ने कुनै तथ्यगत आधारहरू छैनन् । महामारीको तेस्रो लहर आउन सक्नेतर्फ सचेतता आवश्यक भइसकेको छ । महामारी कम होला र शिक्षण सिकाइ सञ्चालन गरौंला भन्ने समय नभएकाले जहाँ जे विधि उपयुक्त हुन्छ सोही विधिको अवलम्बन गरी शिक्षण सिकाइलाई निरन्तरता दिनु आवश्यक हुन्छ । विद्यार्थीलाई सिकाइका विभिन्न माध्यमबारे जानकारी दिने र उनीहरूलाई आफ्नो सिकाइको अभिलेख (माइ लर्निङ प्रोफाइल) राख्न लगाउने र सोही अभिलेखका आधारमा उनीहरुको सिकाइ मूल्याङ्कनसमेत गर्नेगरी परम्परागत शिक्षण सिकाइको सोच र पद्धतिबाट बाहिर निस्कन आवश्यक छ । परिवेश र सन्दर्भ अनुकूल हुने सबैखाले सिकाइ रणनीति उपयोग गर्दै स्वअध्ययन र जीवनोपयोगी सीप सिकाइतर्फ अभिप्रेरित गरौं ।

प्रकाशित : श्रावण ७, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्

पार्टी एकताको प्रयासलाई निरन्तरता दिने एमालेको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।केन्द्रीय कमिटीको बिहीबारको बैठकले एमाले एकताको प्रयासलाई थप निरन्तरता दिने र यसका लागि अध्यक्षको तर्फबाट पार्टीका सबैलाई समेट्नका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

फाइल तस्बिर

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एकतालाई सुदृढ पार्नका लागि एकतामा आउन चाहनेहरुलाई विगतका गल्ती बिर्सेर स्वागत गर्न सकिने बताएका पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

‘पार्टीको एकता कायम राख्नको निम्ति भइरहेको प्रयासहरुका बारेमा हामीले छलफल गरेका छौं । र, यो प्रयासलाई अझ थप निरन्तरता दिने र कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई, पार्टीका सबै साथीहरुलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ,' प्रवक्ता ज्ञवालीले भने, 'अध्यक्षले पार्टी एकतालाई सुदृढ र पार्टीमा योगदान गर्नेगरी आउन चाहाने साथीहरुलाई विगतका गल्तीहरु बिर्सेर पनि स्वागत गर्न सकिने कुराहरु बताउनुभएको छ । एकताको लागि प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहित हुनेगरी गतिविधिमा संलग्न भएका साथीहरुलाई कमी, कमजोरीहरु सच्याएर आउनका निम्ति अपिल गर्दै आजको बैठक सकिएको छ ।’

ओलीले नेता कार्यकर्तालाई जनताको नजरमा आदर्श बनेर जनताले विश्वास र भरोसा गर्ने नेतृत्वको रुपमा स्थापित निर्देशन दिएको पनि प्रवक्ता ज्ञवालीले बताए । जनताले आलोचना गर्ने खालका कुनै गतिविधि नगर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।

प्रकाशित : श्रावण ७, २०७८ १९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×