म महान् बन्‍न सक्दिनँ – रूपा !- विविधा - कान्तिपुर समाचार

म महान् बन्‍न सक्दिनँ – रूपा !

भूपाल राई

रूपा सुनारले खेपेको जातीय विभेदको घटना प्रकाशमा आएपछि कवि भूपाल राईलाई बोध भयो– उनीभित्र पनि एउटा दमित घाउ कतै दुखिरहेको रै’छ । करिब ४५ वर्षअघि राईले भोगेको विभेद र त्यस विभेदको ‘ऐया’ माथिको एक टिप्पणी :

रूपा अर्थात् रूपा सुनार !

यो समयको एउटा प्रतिवादी नाम, जसले खेपेको जातीय विभेदको घटनाले यतिबेला काठमाडौं खाल्डो तरंगित छ । काठमाडांैजस्तो महानगरी जहाँ भित्रभित्रै नजाने कति विभेदजन्य घटना हुने गथ्र्यो, तर दृश्यमा अक्सर देखिँदैनथ्यो । यस पटक यही महानगरीमा यो घटना यस्तरी देखिने गरी आयो, जसले पुष्टि गर्‍यो कि दूरदराजको कुनै साँघुरो समाजभन्दा काठमाडांै कम घातक छैन । महानगरीको नाममा यसले पालिरहेको आडम्बर यस पटक सडकमा पोखिएको पानीझैं छताछुल्ल हुन पुग्यो ।

तर, पानी काठमाडौंको सडकमा मात्रै पोखिएन, मौजुदा समयमा स्थायी/अस्थायी बसोबास गर्ने यसभित्रका प्रत्येक मान्छेको सोचमा समेत छताछुल्ल हुन पुग्यो । प्रत्येक मानिस, जो कथित वर्ण सोपानको तल्लो तहमा छन्, उनीहरू यतिखेर जीवनमा आफूले भोग्नुपरेका विभेदका अनेक घटना सम्झिरहेछन् । विभेदग्रस्त मानिसका अनेक अतीतकथाहरू धमाधम दृश्यमा आउन थालेका छन् । अतीतको विस्मृत घाउ कोट्याउने यो क्रममा यतिखेर म आफैं पनि लामबद्ध छु । यो घटनाले मलाई पनि आफ्नै सुदूरअतीतको एक विभेदजन्य क्षण एकाएक सम्झाइदिएको छ । झट्ट सुन्दा सामान्य लाग्छ रूपाको यो कोठा प्रकरण– काठमाडौंका प्रधान थरको कुनै एक घरमा रूपाले डेरा माग्नु । घरबेटी सरस्वती प्रधानले पहिले सहज रूपमा डेरा दिनु । तर, रूपाले आफू कामी (दलित) की छोरी भएको तथ्य नढाँटेपछि दिइसकेको कोठा फेरि जातकै आधारमा नदिनु । एकदम सामान्य । त्यस्तो सामान्य, जो सदासर्वदा भइरहेको छ हाम्रो समाजमा, हाम्रै वरिपरि । अभ्यस्त भइसकेका छौं हामी यस्ता सामाजिक प्रकरणहरूबाट । तर, सुन्दा सामान्यजस्तो लाग्ने यो घटना जब रूपासँगै पुग्यो प्रहरी प्रशासनमा तब एक्कासि यो सोचेजस्तो सामान्य छैन भन्ने बोध हुन गयो । यस्तो घटना जसले मान्छेको आत्मस्वाभिमानमाथि ठेस पुर्‍याउँछ वा मानवीय न्यायकै धज्जी उडाउँछ, त्यसलाई सामान्य मान्नु साँच्चै गल्ती हुन जान्छ । जातीय भेदभावको हतियारले मान्छेमान्छेबीचमा कहिल्यै नमेटिने विभेदको रेखा कोर्ने मानवताविरोधी कर्मलाई सधैं भइरहने घटना मानेर साधारणीकृत गर्नु अपराधपूर्ण हुन जान्छ ।

घटनाले केही यस्ता भावोद्वेग र उद्वेलनपूर्ण विचारहरू सतहमा ल्याइदियो जुन यसभन्दा अगाडि विरलै भएको थियो । पहिलो त यसले माथि भनेजस्तै विभेदमा परेका प्रत्येक व्यक्तिलाई आफ्नो दमित पहिचानप्रति सम्मानभाव प्रदान गर्‍यो । प्रत्येकलाई आफू कहाँ, कसरी, कस्तो विभेदबाट गुज्रिनुपरेको थियो, त्यसको पुनरवलोकन गर्ने ठाउँ दियो । दोस्रो, सधैं भइरहने घटना जो यसभन्दा अगाडि सामान्य लाग्थ्यो, त्यो सधैं सामान्य भइरहँदैन भन्ने पुष्टि भयो, जसलाई व्यक्त गर्न एक न एक दिन कुनै न कुनै रूपा सुनारले जन्मिनै पथ्र्यो । र, तेस्रो, विभेदपूर्ण समाजमा विभेदलाई नै लिएर समाज विभाजित अवस्थामा हुन्छ । त्यहाँ एउटा यस्तो वाचाल पक्ष पनि हुन्छ, जसको सजातीय सत्ता विभेदकै जगमा टिकेको हुन्छ र ऊ हमेसा त्यसैको रक्षार्थ उभिन्छ । यसकारण कि उसलाई लाग्छ, उत्पीडनको लगाम उसको हातबाट छुट्यो भने जन्मिँदै प्राप्त विशेषाधिकारको घोडाबाट उसले अवश्य झर्नुपर्छ ।

माथि नै संकेत गरिसकियो । फेरि पनि दोहोर्‍याऊँ । कहिलेकाहीँ सामान्यजस्तो लाग्ने मनोवैज्ञानिक घटना पनि यति चोटिलो हुँदो रैछ, त्यसले सुदूरअतीतको विस्मृत घाउलाई एकाएक ब्युँझाइदिँदो रैछ । मलाई पनि ठीक त्यस्तै भयो । यसले मलाई एक्कासि मेरो बालापनमा लगेर पछारिदियो, जतिखेर म एक सुदूर गाउँको एक हाइस्कुलको विद्यार्थी थिएँ । ठीक त्यही बेला ममाथि पनि त्यस्तो अकल्पनीय घटना भएको थियो, जसलाई अहिलेको भाषामा जातीय विभेद भनिन्छ । ‘भनिन्छ’ – किनभने उतिबेला प्रतिकारमा उत्रिने विषय त परै जाओस्, मलाई यो पनि थाहा थिएन कि त्यहाँ के भइरहेको थियो ? यसरी थाहै नपाई हाम्रो समाजले हामीलाई दण्डित गरिरहेको हुँदोरैछ । यद्यपि नेपाली समाजमा जात व्यवस्थाअनुसार हुने विभेदको तह उस्तै छैन, तथापि त्यसले दिने मनोवैज्ञानिक चोट कसैको पनि सानो हुँदैन । आजभन्दा लगभग ४५/४६ वर्षअगाडिको त्यो अवोध बालवयको घटनालाई व्यक्त गर्ने यतिखेर मसँग ठीकठीक शब्द छैन । एक दुस्वप्नजस्तै मैले लगभग त्यसलाई बिर्सिसकेको थिएँ । एक्कासि रूपा सुनारको घटना सतहमा आएपछि मात्रै मलाई बोध भयो, अझै पनि मभित्र त्यो दमित घाउ कतै दुखिरहेको रैछ । त्यही दुखाइ आज अरू सबै दु:खहरूसँग साझेदारी गर्न म यहाँ फेरि बाँड्न गइरहेछु ।

०००

आफ्नो कथा भन्नुअघि रूपा सुनारसँगै जोडिएको एउटा सानो घटना राखिहालूँ । घटनाले निकै ठूलो तरंग ल्याएपछि मैले आफ्नो फेसबुकमा एउटा संक्षिप्त धारणा सम्प्रेषण गरेको थिएँ । त्यो जुन २३ तारिखको बेलुकीपख थियो, जसको मजबुन जम्माजम्मी यस्तो थियो, ‘समयको हजार दलदल टेकेर उभिएको रूपा सुनार साहसको एउटा खुट्टा हो । एउटा आन्दोलन हो । ऊ यतिखेर जातीय विभेदको फोहोरी दलदलसँग लडिरहेछ । उसलाई समयको बयलगाडे पहियाँको जिम्मा लगाएर एक्लो नछाडौं । समयलाई क्रमभंग गर्ने अरू हजार खुट्टाको आड दिऊँ ।’ अनेक सहभाव र सह–अनुभूतिजन्य कमेन्टहरूको साथमा केही मिस्रित टिप्पणीहरू पनि आउने क्रम जारी थियो । यही क्रममा भित्तामुनि अनायास एउटा कमेन्ट खस्यो, ‘तपाईंजस्तो महान् मान्छेले यस्तो जातीय कुरा गर्न सुहाउँछ र... ?’

टिप्पणीले मलाई अचानक एकछिन घोत्लिन बाध्य बनायो । यद्यपि त्यसले मलाई ‘महान्’ करार गरेको थियो, तर त्योभन्दा बढी यसले मलाई सोचनीय बनायो कि टिप्पणीकारको नामसँग कथित उच्च जातीय ‘अधिकारी’ थर जोडिएको थियो र झट्ट हेर्दा ऊ पढालेखाझैं लाग्ने एक युवक थियो । एउटा उच्च जातधारी नाम, त्यो पनि शिक्षित युवक ! मलाई यसले अनेक प्रश्नबीच खडा गरिदियो । किन एक युवकलाई नेपाली समाजमा व्याप्त जात व्यवस्थाको विकारले छोइरहेको छैन ? किन ऊ विभेदको यत्रो ज्युँदो तथ्यमाथि निस्पृह छ ? किन ऊ समानताको न्यायपूर्ण आवाजमा जातीय द्वन्द्व भड्किने खतरा देख्छ ? त्यस्तो कुन कारखाना छ, जहाँबाट दिनानुदिन यस्ता विचारहरूको उत्पादन भैरहेछ ? मलाई यी प्रश्नले केही तथ्यको उद्घाटन गर्न उद्यत गरायो ।

अनौठो यो छ कि दसवर्षे माओवादी जनयुद्धको दौरान मत्थर हुन गएको जातीय विभेदको विषयले गणतन्त्रकालमा फेरि एकाएक शिर उठाउन पुग्यो । यो पछिल्लो तीन साढे तीन वर्षको दम्र्यानमा त झन् यस्तो भयो कि दलितद्वेषी केही अकल्पनीय घटनाले इतिहासका सारा विद्वेष र विभेदको रेकर्ड तोड्यो । तथ्य र तथ्यांकले के भन्छ थाहा छैन, तर सामाजिक सञ्जालहरूमा छेँडिएको जातीय युद्व देख्दा यस्तो लाग्छ, साराका सारा उच्च जातीय भनिने असहिष्णु युवा जत्थाहरूको उत्पादन यही समयमा हुन गएको छ । आखिर यस्तो किन भैरहेछ ? मलाई लाग्छ, यसका दुई तीनवटा कारण छन् ।

पहिलो हो, राजनीतिक आन्दोलनको कर्मकाण्डीय चरित्र । २००७ सालदेखि यताका जुनसुकै राजनीतिक आन्दोलनलाई हेरौं, ती सबैले अंशअंशमा मात्रै आफ्ना मुद्दा पूरा गरेका छन् । प्रत्येकले थोरै लिएर धेरै छाडेका छन् । हरेकले सामाजिक न्याय र सांस्कृतिक रूपान्तरणको मुख्य मुद्दालाई नजरअन्दाज गरेका छन् । एक किसिमले प्रत्येकले आफ्नो समयको कर्मकाण्ड मात्र पूरा गरेका छन् । अरू त अरू २०५२ को माओवादी ‘जनयुद्ध’ मा समेत यो कमजोरी दोहोरिएको देखियो । यद्यपि यो नै त्यस्तो युगीन राजनीतिक परिघटना थियो, देशकै इतिहासमा यस्तो परिघटना न कहिल्यै घटित भएको थियो न कहिल्यै फेरि हुनेछ । यो कालभरि जातीय भेदभावका घटनाहरू धेरै मत्थर भएको पनि हो । किनभने सारा उत्पीडित दमित तह र तप्कालाई गुमेको उनीहरूको स्वत्व र मूल्यको अवोध यही राजनीतिक परिघटनाले प्रदान गरेको थियो । तर, यसमा पनि एउटा ठूलो अपुग या अपूर्णता रहन गयो । राजनीति भनेको आर्थिक आधार र सांस्कृतिक धुरीहरूको गठजोड हो भन्ने यसले पनि बिस्र्यो । त्यसैले यसले पनि आफूसँगसँगै वा आफ्नो समानान्तर सांस्कृतिक अभियानको आयामलाई छुटाउन पुग्यो । त्यही सांस्कृतिक आयामको अपूर्णताले मानिसहरूभित्र जड भएर बसेका पुराना मूल्य र जर्जर मान्यतालाई यसले चिर्न सकेन । केहीकेही राजनीतिक कित्ताका उपरिसंरचनाहरू बदलिए पनि मानिसभित्रको जडता र अन्तरसोचलाई यसले बदल्न सकेन । फलत: जब माओवादी जनयुद्ध सेलाउन पुग्यो, त्यतिन्जेलसम्म क्षणिक दबाबका कारण ढुंगाको कापमुनि लुकेर बसेको झ्याउझैं उच्चजातीय अहंकारले एकाएक टाउको उठाइहाल्यो । रुकुम चौरजहारीको नरसंहार यसैको परिणाम थियो । अजित मिझारलगायतका अनेक दलित सफाया र बलात्कार काण्डहरू यसैका द्योतक हुन् ।

दोस्रो हो, राज्यसत्तामा वर्ण उत्थानको अभ्यास । तथ्यांकले बताउँछ, पञ्चायती व्यवस्थाको अवसानपछि जातीय भेदभाव घट्दै जानुपर्ने र जातीय समावेशिताको क्षत्रफल खुकुलो हुँदै जानुपर्नेमा त्यो झन् कसिलो हुँदै गयो । पृथ्वीनारायण शाहको पालादेखि पञ्चायतकालसम्म राज्यसत्ताको अविच्छिन्न दोहन वर्णव्यवस्थाको दोस्रो धुरीले गथ्र्याे भने त्यसपपछि (प्रजातन्त्रको पुनर्बहालीपछि) त्यो सुअवसर एक्कासि उपल्लो वर्णको हातमा सर्‍यो । अर्थात् त्योभन्दा अगाडि राज्यसत्ताको हालीमुहाली वर्णको हिसाबले क्षत्रीहरूले गर्थे भने त्यसपछाडि ब्राह्मणहरूले गर्न थाले । भर्खरैको कुरा गरौं– पछिल्लो कालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको हातमा राज्यसत्ताको लगाम पुगेपछि पनि यो समस्याले निरन्तरता पाइरह्यो । जस्तो : उनले कोभिडको महामारीमा जीवन र मृत्युसँग जनता लडिरहेका बेला ठोरीमा अयोध्याको उत्खनन गरे । माडीमा राम मन्दिरको कालिगडी गरे । पशुपतिमा ३० करोडको जलहरी फहराए । जातीय विभेद अन्त्य गर्नुपर्नेमा प्रधानमन्त्री ओलीका क्याबिनेट मन्त्री आफैंले जातीय विभेदको आरोपमा थुनामा परी मुक्त भएकी महिलालाई झन्डावाल गाडीमा घरसम्म पुर्‍याए । यो एक अस्वाभाविक घटना थियो ।

तेस्रो हो, ‘स्वामी’ वा ‘स्वामित्व’ भावको अपरिवर्तनीय मोह । वर्ण व्यवस्थाको कथित सर्वोच्च तहको वर्णले बाँकीलाई अधीनस्थ राखिराख्नका लागि ‘स्वामी’ वा ‘स्वामित्व’ भावको सिद्धान्त स्थापित गरेको छ । आफूलाई स्वामीको वर्चस्वशाली आसनमा विराजमान गराएर र अरूबाट सबैथोक खोसेर उनले आफ्नो अकण्टक स्वर्ग बचाइराखे । यो भनेको आफू मालिक र अरू सब सेवक हुनु हो, जो सर्वदा अपरिवर्तनीय छ । मालिकत्व या बञ्चनाको यो सिद्धान्त उनले तहअनुसार व्यवस्था गरेका छन्, जसको सबभन्दा ठूलो मारमा दलितहरू परेका छन् ।

मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकारजन्य विषय प्रकृति र प्राकृतिक स्रोतसँग जोडिएको हुनाले उनले सबभन्दा पहिले प्रकृतिको साझा अवधारणामाथि प्रहार गरेको छ । उनले प्रकृतिलाई अनधिकार रूपले आफ्नो स्वामित्वमा पारेका छन् । उनले सबैभन्दा पहिले दलितहरूको हातबाट पानी खोसेका छन् । त्यसपछि माटो (जमिन) खोसेका छन् । वनजंगल, चउर, सार्वजनिक स्थल सबैबाट वञ्चित गरेका छन् । भारतमा धेरै पछिसम्म त्यहाँका अछुत हरिजनहरूलाई बेलुकी पाँच बजेतिर बाहिर निस्कन निषेध गरिएको थियो । किनभने पाँच बजेको तेर्सो घाममा मान्छेको छाया लामो हुन्थ्यो । कदाचित हरिजनहरू बाहिर निस्किए उनीहरूको छायाले मालिकहरूलाई छुन सक्थ्यो । त्यसले मालिकहरूलाई अपवित्र बनाउन सक्थ्यो । यसरी दलितहरू घामबाट पनि वञ्चित थिए । किनभने घाम पनि मालिकहरूको आफ्नो थियो । अर्थात् सारा प्रकृति मालिकहरूको एकल स्वामित्वमा थियो । यसरी सम्पूर्ण प्रकृति र प्राकृतिक स्रोतबाटै वञ्चित भएपछि दलितहरू जातभात, चुल्हाचौका, मठमन्दिर आदिबाट वञ्चित रहनु स्वाभाविक थियो ।

सबभन्दा अनौठो त यो छ कि स्वामित्वको यो सिद्धान्त बिलकुल अपरिवर्तनीय छ । कहिल्यै तलमाथि नहुने, नबदलिने, जसको जगमा हिन्दु धर्मको सार्वकालिक झन्डा फहराएको छ । र, अर्को अनौठो के छ भने यो नियम लगभग तीन हजार वर्षअगाडिदेखि निरन्तर चलिआइरहेको छ । तब प्रश्न उठ्छ, तीन हजार वर्षभन्दा पुरानो त्यो अपरिवर्तनीय स्वामित्वको मोहलाई त्यति सजिलै कसले त्याग्न सक्छ ? अझ, त्योभन्दा पुरानो छुवाछुतमा आधारित हिन्दु धर्मको जग भत्काउन कसले सक्छ ?

मलाई लाग्छ, माथि वर्णित बाह्मण युवा (टिप्पणीकार) यही हिन्दु उच्चजातीय कारखानाको पछिल्लो उत्पादन हो, जसले मेरो फेसबुक आग्रहलाई जातीय विग्रहको लेपन दिन खोजेको छ । यसैबाट अनुमान गर्न सकिन्छ कि पछिल्लो नेपाली राज्यसत्ताले कस्तो युवा पुस्ताको उत्पादन गरिरहेको रैछ ! या त्यसले कस्तो विचारलाई संरक्षण गरिरहेको रैछ ! र, यस्ता उत्पादनहरूको बीचमा रूपा सुनारले रोप्न खोजेको बीउको जगेर्ना कसरी गर्न सकिन्छ ?

०००

अब जाऊँ आफ्नै कथाको सुदूरअतीततिर । सुदूरतिर जानुअघि थोरै दूरको धागो तान्दै अगाडि बढूँ ।

२०५८ जेठ महिनातिर भोजपुर सदरमुकाममा ‘भोजपुर महोत्सव’ नामक बृहत् कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमले भोजपुरमा जन्मिएर दशकौं नफर्किएका केही पाका व्यक्तित्वलाई आफू जन्मिएको माटो टेक्ने सुअवसर जुराइदिएको थियो । म आफैं पनि झन्डै दशकपछाडि आफ्नो जिल्ला फर्किएको थिएँ । सिरान बजारमा अवस्थित गेस्टहाउसमा जुराइएको थियो मेरो बास । एक बेलुकी सुत्ने बेला मेरो कोठामा आएर एक जना कविले गफैगफमा मलाई भने, ‘तपाईंमा अवश्य कुनै न कुनै इन्फेरियर कम्प्लेक्सिटी छ ।’ त्यसो भन्नुको कारण त उनले खोल्न चाहेनन्, तर मलाई लाग्छ— नयाँ सम्बन्धहरूसँग हत्तपत्त सहज बन्न नसक्ने र अपरिचित माहोलहरूबाट भरसक टाढै रहन चाहने मेरो अलगाव–भाव देखेर उनले त्यसो भनेको हुनुपर्छ ।

मैले जवाफमा भनेँ, ‘अवश्य । मसँग कुनै न कुनै हीनताभाव व्याप्त छ । तर त्यो जात व्यवस्थाले निर्माण गरेको एक खालको हीनताबोध हो । मभित्र कुनै दिन आफैंमाथि हुन गएको जातीय विभेदको चर्को असर छ ।’

मेरो जवाफले कवि छक्क परे । किनभने म थिएँ किराती समुदायको एक सदस्य (किराती जाति हिन्दु वर्ण व्यवस्थाभित्र पर्दैन । तर, योभित्र पनि वर्ण विकारको बाह्य अभ्यास सरिसकेको छ, जुन बहसको छुट्टै विषय हो) । र, उनलाई लाग्यो होला ममाथिको विभेदको कुरा अतिरञ्जित छ । त्यसैले छक्क पर्दै उनले भने, ‘कसरी ?’

त्यो ‘कसरी’ ले खोजेको दुर्दान्त कथा मैले त्यो बेलुका दोस्रोचोटि एक कविलाई सुनाएँ । पहिलोचोटि २०४८ असोज १३ को साप्ताहिक ‘छहरा’ को आफ्नो नियमित स्तम्भमा मैले त्यसबारे लेखिसकेको थिएँ । आज म तेस्रोचोटि खाटा बसिसकेको त्यो कथा फेरि यहाँ कोट्याउन गइरहेछु ।

०००

लगभग चार साढे चार दशकअगाडि, मुस्किलले १२/१३ वर्षको एक अबोध केटो । दुनियाँको उहापोह नदेखेको । उँच–नीच नजानिसकेको । समाजको मानवनिर्मित तह र तहगत व्यवस्थाको जटिलता नबुझेको अबोध बालक । भोजपुर जिल्लाको पूर्वी क्षेत्र, याकु बिर्ता गाउँको विश्वप्रेमी नामको पुरानो हाइस्कुल । ऊ त्यही स्कुलको आटौं कक्षाको विद्यार्थी । आफ्नो समयको एक जेहेनदार विद्यार्थी । सार्वकालिक फस्ट ब्वाई ।

सदरमुकाममा जिल्लाव्यापी अन्तरविद्यालयीय हाजिरीजवाफ प्रतियोगिता चलिरहेको थियो । त्यसका लागि स्कुलका तीन–चार जना अन्य विद्यार्थीसँगै उसको नाम पनि छनोटमा पर्न गयो । ऊ पहिलोचोटि त्यस स्कुलको विद्यार्थीको हैसियतमा सदरमुकाम रमाना भइरहेको थियो । अभिभावकत्वका लागि साथमा खटिएको थियो विद्यालयबाट पत्याइएको एक पाको र अनुभवी शिक्षक– विशद्ध धर्म–कर्ममा आस्था राख्ने दिङ्ला गाउँतिरको एक चोखो ब्राह्मण । सबैले उसलाई गुरु भनेर बोलाउने गर्थे, जसले कक्षामा संस्कृत र नेपाली पढाउँथ्यो । दिङ्ला देशभरिकै पहिलो शैक्षिक संस्था षडानन्द संस्कृत विद्यालय रहेको प्रख्यात गाउँ । सम्भवत: त्यही संस्कृत विद्यालयको एक शैक्षिक र सांस्कृतिक उत्पादन थियो त्यो केटोको गुरु । उर्फ त्यो दिनको अभिभावक ।

स्कूलबाट लगभग ७/८ घण्टाको दूरीमा छ सदरमुकाम । एक दिनमा मज्जाले काट्न सकिने दूरी हो यो । तर त्यो दिन जाँदाजाँदै बाटैमा रात पर्न गयो । त्यसैले सदरमुकामदेखि ठीक पारिपट्टिको मुलाबारी ओरालोको कुनै घरमा बास बस्नुपर्‍यो । घर कसको थियो ? बेलुकी खाना कसरी पाक्यो ? त्यस्तो कुनै सम्झना छैन त्यो अबोध केटोलाई । खाना खाइसकेपछि घरको मझेरीमा सामूहिक ओछ्यान मिल्यो । सबै लहरै सुत्ने भए । एक किसिमले सब ठीकठाक थियो ।

तर जब सबै झकाउन लागेका थिए, थाकेका कलिला विद्यार्थीहरू लगभग निदाइसकेका थिए, एक्कासि त्यहाँ त्यस्तो घटना हुन पुग्यो जुन कसैले कल्पनै गरेका थिएनन् । अचानक उही मान्यवर गुरु जुरुक्क उठेर चिच्याइरहेको थियो, ‘ए केटा हो ! उठ, उठ... !’

जर्‍याकजुरुक उठेर आँखा मिच्दै कसैले सोध्यो, ‘के भयो गुरु ?’

एक छिनपछि टुकी बल्यो । टुकीको दोछायामा छेउमा बसिरहेको त्यही अबोध केटोलाई देखाउँदै गुरुले भन्यो, ‘लौ अधर्म भयो । यो केटो मेरो छेउमा सुतिरहेको रैछ । त्यो पनि दाहिनेपट्टि । मेरो दाहिनेतिर सानो जातले सुत्न मिल्दैन । लौ केटा हो ओछ्यान बदल... !’

गुरुको त्यस्तो गुरुत्ववाणी सुनेर सबैले तँछाडमछाड गर्दै आ–आफ्नो ओछ्यान बदले । बदलिएको ओछ्यानबाट एकाएक त्यो केटाको ओछ्यान हरायो । जाडोको महिना । कुनै परित्यक्त अपराधीझैं बाहिर सिकुवामा एक्लै पल्टिन ऊ बाध्य भयो ।

त्यसपछि ऊ रातभरि निदाउन सकेन । जात व्यवस्थाको सानोभन्दा सानो संकेतसम्म थाहा नपाएको उसको कलिलो दिमागमा पहिलोचोटि जातीय विभेदको बीउ रोपिएको थियो । उसले के गल्ती गरेको थियो ? बिलकुल अनजान थियो ऊ । मात्र कुनै अदृश्य गल्ती गरेबापत दण्डितजस्तै, कुनै गहिरो अपराधबोधले ऊ रातभरि छटपटाइरह्यो ।

के कसैले अनुमान गर्न सक्छ ? त्यो कलिलो केटोको निरपराध दिमागले त्यो एक्लो रातभरि अरू के के सोच्यो होला ? या त्यो एक रातको आकस्मिक घटनाले उसको सुदूरभविष्यमाथि कस्तो असर छाड्यो होला ? अथवा त्यो एउटा वज्रपात, जुन एउटा बाल मनोविज्ञानमाथि अकस्मात खसेको थियो, त्यसको क्षतिपूर्ति दिने बहादुर को होला ?

यी जटिल प्रश्नको उत्तर त्यो परित्यक्त केटाले आजसम्म पाएको छैन । त्यो अबोध र अनजान बालक, जो आज आफ्नो जीवनको प्रौढावस्थामा छ, त्यो केटो अरू कोही थिएन, म थिएँ ।

०००

आफ्नो निधारमा ‘इन्फेरियरिटी’ को छप्पा लागेको यत्तिका वर्षपछि आज म सोचिरहेछु, वास्तवमा त्यो कवि शतप्रतिशत सही थियो । किनभने मुलाबारीको त्यो एक रातले दिएको प्रथम उपहार मैले धेरै दशकसम्म बोकेर हिँड्नुपरेको थियो । धेरै पछिसम्म मलाई यस्तो लाग्थ्यो, हरेक मोडमा भेटिएका सजातीय अनुहारहरू त्यही गुरुका अवतार हुन् । लाग्थ्यो, म उनीहरूभन्दा जन्मजात कमजोर छु । उनीहरूभन्दा म हरतरहले नजान्नेछु, अबुझ छु । यस हीनभावनाले मलाई पछिसम्मै क्षुब्ध बनाइरह्यो । वितृष्णा पैदा गराइरह्यो । मलाई ‘गुरु’ भन्ने शब्दबाटै मोहभंग भएको थियो । भित्रभित्रै म तर्सिन्थेँ र उनीहरूबाट टाढा भाग्न खोज्थेँ । अब सोचौँ, मुस्किलले चार या पाँच सय वर्षअघिको सेनकालदेखि अथवा खासगरी पृथ्वीनारायण शाहको अतिक्रमणपछि भेदभावको अभ्यासमा पर्न थालेको मेरो जातिलाई एउटा सानो विभेदको घटनाले त्यत्रो मानसिक यन्त्रणा दिन्छ भने तीन हजार वर्षदेखि अविच्छिन्न विभेद खेपिरहेका रूपा सुनारहरू कसरी बाँचिरहेका होलान् ? अथवा हजारौं वर्षदेखिको वञ्चिती र मानसिक यन्त्रणाको बावजुद पनि एउटा समुदाय बाँचिरहेछ– के यो सानो परिघटना हो ? किन हामीलाई एउटा सिंगो मानव समुदायमाथिको अमानवीयताले छुँदैन ? किन हामी रूपा सुनारको त्यो सानो प्रतिरोधलाई तीन हजार वर्षको दलदलबाट उठेको पीडाको आवाज ठान्दैनौँ ?

जातवादी समाजको गजुरतल्ले संरचना यस्तो एउटा नियोजित संरचना हो, जसले समाजलाई त तह तहमा विभाजित गरेकै छ, त्यसले तहअनुसारको पीडालाई पनि विभाजित गरेर राखेको छ । हामी आफूमाथि पर्न गएको विभेदबाट क्षुब्ध त हुन्छौं, तर आफैंले गरेको विभेदबाट गर्व पनि गर्छौं । उपल्लो स्थानमा विराजमान कथित एउटा तहबाहेक तलका तीनै तहले एक अर्काको उत्पीडनलाई चिन्दैनन् । आफ्नो ठान्दैनन् । यो नियोजित र विभाजित संरचनाको खाकाले कसैलाई एक हुन दिएको छैन । कसैले कसैको उत्पीडनलाई साझा मान्दैन । त्यसैले हामी सोच्छौं, सम्पूर्ण विभेदविरुद्ध जुध्ने एकल जिम्मेवारी केवल रूपा सुनारको हो । र, साथसाथै यो पनि सोच्छौं कि ऊसँग जोडिएको कोठा प्रकरण खासमा घरधनीको नितान्त निजी मामला हो । तर, हामीले बुझ्नुपर्छ, विभेद जुन जातको आधारमा गरिन्छ, त्यो व्यक्तिले गरे पनि हजारौं वर्षदेखिको शृंखलामा भइरहेको छ । तीन हजार वर्षअघिदेखि संस्थागत रूपले चलिरहेको जातीय विभेद त्यो चाहे जसले गरोस् निजी हुँदैन संस्थागत हुन्छ, साझा हुन्छ । र, साझा मुद्दामा लड्नका लागि साझा जिम्मेवारी हुन जान्छ । त्यसैले रूपा सुनारको प्रतिरोध अरू कुनै समुदायको विरुद्धमा हो भन्नु गल्ती हुन जान्छ ।

अब म यहाँ ‘महानता’ को त्यो भाष्य र त्यसको भाष्यकारलाई पुन: एकचोटि सम्झिन चाहन्छु, जसले फेसबुकमा मलाई महान् करार गरेको छ । तर, म बुझ्छु उठिरहेको मुद्दालाई विषयान्तर गर्ने यो एउटा गज्जबको तरिका हो । जात व्यवस्थाको गजुरमा बसेका उनीहरू चाहन्छन् यस्ता मुद्दाहरू भरसक उठ्दै नउठून् । उठिहालेछन् भने पनि जातीय द्वन्द्वको त्रास फैलाएर तिनलाई निस्तेज पार्न सकियोस् । यदि यी दुवै तरकिव काम लागेनन् भने मजस्ता चिन्तित चित्तहरूलाई महानताको ट्याग भिराएर चुप लगाउन सकियोस् । चुप लगाएर मुद्दाहरूको ‘टोन डाउन’ गर्न सकियोस् । तर, भाष्यकारलाई थाहा हुनुपर्छ, चुप लागेर महान् भइँदैन । आफैंमाथिको अत्याचार सहँदै, मौनता साँधेर अरू थप अत्याचार हेरिरहनु महान् हुने मार्ग होइन । महान् हुनका लागि त समयको हजार दलदल टेकेर उठ्ने साहस गर्नैपर्छ, जुन दिशातर्फ यतिखेर रूपा सुनारको कदम अग्रसर छ ।

अन्त्यमा, यो मेरो अहोभाग्य हो, मैले आफ्नो दमित कथा यसरी फेरि सुनाउने अवसर पाएँ । यद्यपि रूपाको ताजा घटना र मेरो विस्मृत घटनाबीच समय र सन्दर्भ भिन्न होला । तर, म जान्दछु विभेदको ‘ऐया’ समान छ । र, म यो पनि जान्दछु कि यो अवसर त्यत्तिकै जुरेको छैन । यसका लागि रूपा सुनारको ठूलो योगदान छ । त्यसो त रूपाको कदम अब त्यो महानताको मोडतिर मोडिइसकेको छ । तर, म त्यो टिप्पणीकारले सोचेजस्तो महान् छु कि छैन ? मलाई थाहा छैन । मात्र यति थाहा छ– उसले चाहेजस्तो भइदिएर, हमेसा चुप लागिदिएर, कुनै उपबुज्रुक बन्ने सर्तमा म महान् बन्न सक्दिनँ । हो, म त्यस्तो महान् बन्न कदापि सक्दिनँ ।

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : श्रावण १, २०७८ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्

अक्षरका वर्जित यात्रीहरू

प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगितामा जो–जो जे भएका छन्, ती सब तजबिजी हातबाट बनाइएका छन् । नेपालका अधिकांश सम्मान, पद र पुरस्कार तजबिजकै परिणाम हुन् । 
भूपाल राई

तपाईं यसलाई नपढ्न सक्नुहुन्छ ।हो, नपढ्न सक्नुहुन्छ । तर, तपाईंले नपढ्दैमा मैले नलेख्न सक्छु, त्यस्तो सोच्न सक्नुहुन्न । नपढ्नु तपाईंले नलडी प्राप्त गर्नुभएको क्षेत्राधिकारभित्र पर्छ होला । तर, लेख्नु अधिकारको कुरा मात्र होइन । त्यो अरू पनि केही हो ।

प्राप्त अधिकारभन्दा पर अझै पनि अलेखा कथाहरू अनेक छन् । लेख्नु त्यो पनि हो । कोही रिसाउँछ, त्यस्तो भयले नलेख्न सकिन्न । कोही रिसाओस्, त्यस्तो निर्भयताका साथ पनि कहिलेकाहीं लेख्नुपर्छ । लेखनलाई सबै कोहिले गर्न नसक्ने स्पुतनिक–यात्रा मानेर मानिसहरूको सम्बन्धबाट च्युत गर्नुहुँदैन । अरू सबैसबै कामजस्तै समाजका एकथरी मानिसले गर्ने सामान्य क्रिया हो लेखन, जसबाट यदि तपाईंले कुनै अपेक्षित प्रतिक्रिया आर्जन गर्नुभयो भने सम्झिनोस्, त्यसपछि कोही रिसाउनुको ठूलो अर्थ रहँदैन ।

लेख्नु, खासगरी आत्मकथ्यजस्तो लाग्ने यस्तो परम्परागत शैली अपनाउनु निकै जोखिमपूर्ण काम हो, जसले उत्तिकै परम्परागत आरोपको आह्वान पनि गर्छ । तर, यसले सधैँ ऐनामा देखिने आफ्नै सपाट चित्रको चित्रण मात्रै गर्छ भन्ने पनि होइन । लेख्नु कुनै समय र समाजको सपाट ऐना हेर्नु मात्र हुँदै होइन, जुन अक्सर भन्ने गरिन्छ । ऐनामा सम्भाव्य सबै आयामको झल्को बिम्बित हुँदैन । बरु लेखन तात्कालिक समयको मूर्तीकरण हो । अर्थात् कुनै खास समयको चौखटभित्र त्यही समयको वस्तुकरण । वस्तु हुनुमा नै अनेक विषय अधीनस्थ हुन्छन् भन्ने बुझ्नु हो । वस्तु भएपछि मात्रै विषयवस्तु बन्छन् । चेतनाको उत्पादन र पुनरुत्पादन वस्तुकरणबाटै हुन्छ । त्यसैबाट व्याख्याको द्वन्द्वात्मक ढोका खुल्छ ।

प्रसंग छ– अक्षर यात्राको । त्यो पनि सख्त वर्जनाको, जुन बर्जना ठाडो अर्थमा बहिष्करण पनि हो । र, जो बजारको चल्ती भाषाअनुसार एक किसिमले बौद्धिक सिन्डिकेट पनि हो । जाबो अक्षरको अगाडिसमेत निषेधका अनेक पर्खाल खडा हुन्छन् भने बुझ्नुपर्छ, सेन्डिकेट सबै ठाउँ, सबै चिज, सबै कालमा छ । कतै विचारको नाममा । कतै बजारको नाममा । कतै सत्ता त कतै संस्कृतिको नाममा । राज्य भनेको त्यसैले ती तमाम सत्ता र संरचनाको केन्द्रीकरणको नाम हो । यो एक हिसाबले निषेधको द्वार पनि हो । अर्को हिसाबमा एकाधिकारको औजार पनि । तर, जानाजान सेन्डिकेटहरू तोडिँदैनन्, यो सबैलाई थाहा छ । सेन्डिकेट तोडियो भने बजारको स्वरूप तोडिन्छ । विचार र शक्ति संरचनाको संस्थापन भत्किन्छ । राज्यसत्ता र शासक नामको भाष्य नै खतरामा पर्छ, जुन बिलकुल अनचाह विषय हो ।

आज म यहाँ मेरो अक्षर–यात्रामा खडे त्यही सेन्डिकेटको कुरा गर्न गइरहेछु, जसलाई हाम्रोमा कम सरोकारको विषय ठानिन्छ । तर, सबैले बुझ्न जरुरी छ, त्यसको दुरगामी असर हिउँदयाममा हाइबर्नेसनमा पसेको सर्पजस्तै मन्द सुतिरहेको हुन्छ, जुन निकै खतरनाक हुन्छ । कुरा त्यो कालको हो, जतिबेला मेरो कविता–लेखन प्रारम्भिककालमै थियो । कविता किन लेख्नुपर्छ ? यसबाट उत्पादित फसलले कसको भरणपोषण गर्छ ? यसको फैलँदो जटा र जरा कुन माटोको सत्तासँग जोडिन्छ ? यी आदि कुराहरू थोरैथोरै बुझ्दै थिएँ । भनिसकेँ, प्रारम्भकाल । र, यही कालका मेरा किशोर अक्षरहरूले ती कथित सेन्डिकेटको सामना गर्नुपरेको थियो । त्यही निषेध वा एकाधिकारको हाइबर्नेसन छायाका केही अनचाहा घटनाहरू म यहाँ राख्न गइरहेछु, जसको शीतलहरमुनि मेरा तात्कालिक कविताका कलिला बेर्नाहरू कठ्यांग्रिन पुगेका थिए । तिनका आत्माख्यानका नमुना केही यस्ता छन् ।

कम्निस्ट कविता

२०३४ सालतिर तत्कालीन ‘छहरा’ साहित्यिक द्वैमासिकमा मेरो पहिलो कविता छापिएको थियो । काठमाडौंबाट छापिने त्यस पत्रिकाका सम्पादक हुनुहुन्थ्यो, गोपाल छाङ्छा । र, मलाई ज्ञात भएसम्म काठमाडौंवासी किराती वृत्तबाट निस्किएको त्यो नै पहिलो साहित्यिक पत्रिका थियो । त्यसैको हाराहारी समयमा काठमाडौंबाटै घल राईको सम्पादकत्वमा एक अर्को ‘कोङ्पी’ नामको पत्रिका पनि निस्कन्थ्यो । अलि पछि मेरो कविताको नियमित प्लेटफर्म ‘कोङ्पी’ पनि हुन थाल्यो । कविता लेखिसकेपछि कहीँ न कहीँ त छाप्न जरुरी हुन्थ्यो नै ।

छापाको महत्त्वबारे मलाई थोरबहुत जानकारी अवश्य थियो । तर, म कहिल्यै सोच्दिनथेँ, ती दुईबाहेक अरू पनि त्यस्ता कुनै पत्रिका छन्, जसमा म आफ्ना कविता छाप्न सक्थेँ । म केवल यत्ति सोच्थेँ, ‘छहरा’ र ‘कोङ्पी’ भएपछि मेरो कविता कासनको लागि काफी भइहाल्छ । खासमा ती दुईको विकल्प मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो ।

तर, स्थिति सधैँ उस्तै रहिरहेन । केही वर्षको अनियमिततापछि चालिसको मध्यवर्ती कालदेखि साहित्यिक द्वैमासिकबाट ‘छहरा’ साप्ताहिकमा परिणत भयो । ‘कोङ्पी’ सधैँका लागि बन्द भयो । मेरो कविता प्रकाशनको अर्को कुनै वैकल्पिक माध्यम जुन मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो, त्यो यथार्थमा बदलियो । मैले प्रकाशनको कल्पना गर्न साँच्चि नै छाडिदिएँ ।

यस्तैमा २०३७/३८ सालतिर मैले अचानक मेरो कविताको एक प्रशंसक भेट्टाएँ । भेट्टाएँ भन्दा पनि यसो भन्दा उचित होला, अचानक मेरो बेर्नाकालीन जीवनमा कोही आइन् । उनी आउनुमा एक छुट्टै संयोगको हात छ, जसको छुट्टै कथा छ । कथाको इतिवृत्तिस्वरूप यहाँ केवल यत्ति बताउन सकिन्छ । उनको तराई घर झापा । तत्काल ताहाचल शिक्षा क्याम्पसकी विद्यार्थी । बिस्तारै उनी मेरो कविताको प्रशंसकबाट प्रेमिमा रूपान्तरण भइन् । प्रेमीबाट अझै नजिक, अझै अन्तरंग । थाहै नपाई हामी नयाँ सम्बोधनको औपचारिक साइनोबाट सम्बोधनहीन साइनोको पुरानो गहिराइमा उत्रियौँ ।

एक दिन उनले भनिन्, ‘तपाईंका कविता गरिमा या मधुपर्कमा छापिनुपर्ने ।’ ‘गरिमा’ र ‘मधुपर्क’ बारे मैले पनि नसुनेको/नपढेको थिइनँ । एक किसिम म राम्रै जानकार थिएँ । तिनका साहित्य नाममा ठडिएका सिन्डिकेटबारे पनि राम्रै ज्ञात थियो । थाहा थियो, तिनमा छापिएपछि मात्रै खास्साको कवि भइन्थ्यो ।

मैले भनेँ, ‘हो हुनु त, तर मैले तिनीहरूसम्मको कल्पनै गरेको छैन ।’

‘गर्नुस् अब ।’

फेरि भनेँ, ‘मभित्र एउटा यस्तो अप्ठ्यारो मान्छे छ, जसले त्यहाँसम्म पुग्न दिँदैन ।’

हुनु पनि हो । बागबजारको डेराबाट पैदल हिँडेर बढिमा १५/२० मिनेटमा पुगिने न्युरोडको गोरखापत्र कार्यालय र गाडीमा चढेर उत्तिकै समयमा पुगिने पुलचोकको साझा प्रकाशन कार्यालय मेरा लागि हुम्ला र ओलाङ्चुङगोला पुग्नुबराबर थियो । सत्य हो, मेरो खुट्टाले त्यताको दिशा नै चिन्दैनथ्यो ।

तिनले भनिन्, ‘अब म पुग्छु ।’

‘कसरी ?’

भनिन्, ‘गरिमाको सम्पादकलाई म राम्ररी चिन्दछु । उनि मेरा गाउँले दाइ हुन् । म उनलाई भेट्छु र दिन्छु कविता ।’ त्यसपछि उनले मेरो एउटा कविता टिपेर हिँडिन् ।

दुई–चार दिनपछि उनी फर्किएर आइन् । र,अँध्यारो मुख लाएर भनिन,‘नछापिने भयो ।’

– ‘किन ? के भन्छ तिम्रो सम्पादक दाइ ?’

‘अरू त सब ठीक छ रे । तर, तपाईंको कविता कम्निस्ट कविता भयो रे ।’

यो थियो मेरो कवितामाथि लागेको पहिलो बन्देजीकरण । यात्राको प्रारम्भकालमै लागेको एक वैचारिक र जबर्जस्त छेकाबार । तर, त्यतिखेर त्यो जे भएको थियो, त्यसबाट म खास दुःखी थिइनँ । मलाई लाग्थ्यो, त्यसो हुनु स्वाभाविक थियो । किनभने त्यतिखेर पञ्चायती सेन्सरसिपको ऊर्वरकाल जो थियो । मात्र निषेधको अशुभ सूचना बोकेर आउने उनको बेखुस अनुहारले भने मलाई पछिसम्मै दुखाइरह्यो । पछि किन हो हाम्रो अन्तरंग सम्बन्ध छिट्टै नै बहिरंग बन्न पुग्यो ।

बिचरी, त्यो अन्तरंगकालमै आफ्नो प्रिय मान्छेलाई कवि भएको हेर्ने उनको धोको पूरा नहुँदै हामीले छुट्टिनुपर्‍यो । मलाई थाहा छैन, आज उनी कहाँ, कुन रूपमा छिन ? तर, आज पनि जसै म उनको त्यो सम्पादक दाइलाई भेट्छु, अनायास उनैलाई सम्झिन पुग्छु । उनी मेरो साथ नभए पनि आज म उनले सोचेभन्दा माथिको कवि भएको छु । उनको त्यो सम्पादक दाइलाई पनि म राम्ररी चिन्दछु । तर, मलाई जहाँसम्म लाग्छ, त्यो सम्पादक दाइलाई अझै पनि थाहा छैन, त्यो कम्निस्ट कविता लेख्ने कवि को थियो ?

धेरै पछि थाहा भयो, ती सम्पादक दाइ कांग्रेसी कार्यकर्ता हुन् । र, साथसाथै यो पनि अनुमान भयो कि मेरो कम्निस्ट कविता किन बन्देजमा पर्‍यो ? तर, यी सब थाहा हुँदाहुँदै पनि दुइटा कुरा भने मलाई कहिल्यै थाहा हुन सकेन । एक, त्यत्रो पञ्चायतकालमा कांग्रेसी भएरै पनि कसैलाई सम्पादक हुनु जति सहज थियो, त्यतिकै कसैलाई कम्निस्ट कविता लेख्नु सहज किन थिएन ? दुई, आजसम्म कविताको यत्रो लामो यात्रा हिँडिसकेँ तैपनि म अझै अनभिज्ञ छु, खास कम्निस्ट कविता कस्तो हुन्छ ?

थाहा नहुँदा नहुँदै पनि तर यत्तिचाहिँ बुझेको छु, यदि मैले त्यो निषेध तोडेर अगाडि बढेको थिइनँ भने कम्निस्ट त जसोतसो म हुन्थेँ नै, तर कवि हुन भने मलाई पक्कै गाह्रो पर्थ्यो ।

तिमी र कविता ?

२०४७ सालदेखि मैले साप्ताहिकको रूपमा बदलिएको ‘छहरा’ मा स्तम्भ लेख्न सुरु गरेँ, जुन झन्डै एक दशकसम्म चल्यो । संयोग नै भनूँ कविताजस्तै मेरो स्तम्भ लेखनको सुरुवात पनि ‘छहरा’ बाटै भयो । त्यो साप्ताहिक स्तम्भको नाम थियो–‘बेलाको बोली’ । २०४७ जेष्ठ २७ गतेको अंकमा मेरो पहिलो स्तम्भ छापियो, जसको शीर्षक थियो ‘दाइजी, आजको लेखन अब नाकले लेखिन्न ।’

पहिलो स्तम्भमै नाकमाथि कटाक्ष गर्नुको खास कारण थियो, जसलाई आज फेरि एक नयाँ सन्दर्भका साथ यहाँ सम्झिन खोजिरहेछु । जीवनमा घटेका केही महत्त्वपूर्ण घटनाहरू अक्सर मेरो लेखनीमा दोहोरिएर आउने गर्छन् । तीमध्ये एक फेरि यहाँ पुनरावृत्त हुने भयो ।

सन्दर्भ यस्तो थियो । त्यो ताका बागबजारवासी केही लेखनमा चासो राख्ने किराती विद्यार्थीका बीचमा गाइँगुइँ हल्ला सुनियो । दार्जिलिङका प्रख्यात साहित्यकार गुमानसीं चाम्लिङ त्यहाँको कुनै गेस्ट हाउसमा आएर बसेका छन् । त्यतिखेर बागबजार आजको जस्तो घुइँचो र अस्तव्यस्त थिएन । कोही नयाँ र खास मान्छे आएर बसेको प्रस्टै थाहा हुन्थ्यो । मैले उनलाई खोजेर निकाल्न र परिचय बनाउन उस्तो कठिनाइ परेन । परिचय हुनसाथ हामी एकअर्काको बीचमा यति सहज बन्यौँ कि मानौँ उनले काठमाडौंमा मलाई नै खोजिरहेका थिए । मैले त झन खोजेकै मान्छे फेला पारेको थिएँ, किनभने म कविता जो लेखिरहेको थिएँ ।

परिचयको सुरुवातमै मैले आफ्नो निहित उद्देश्य जाहेर गरिहालेँ, ‘दाइ म पनि कविता लेख्छु, यसो हेरिदिनोस् है...!’ कसैको अगाडि त्यसरी हत्तपत्त नखुल्ने मान्छे म कसरी उनीसँग त्यति सहजताका साथ खुल्न पुगेँ र त्यति आतुरताका साथ उनलाई खोजेर निकालेको थिएँ ! मलाई लाग्छ, यसको पछाडि अवश्य पनि हामीबीचको समान वंशाणु विज्ञानले काम गरेको थियो । यही भावनाले सायद हामी दुवैलाई त्यति छिट्टै सहज हुन पनि मदत्त गरेको थियो ।

‘ए हो !’ खास चासो नराखी उनले भने ।

हामी दिनैपिच्छे भेट्थ्यौँ । अर्थात म उनकोमा भेटिन्थेँ । दिनैपिच्छे म आफ्नो कविताको जिकिर गर्थें । तर, दिनैपिच्छे उनी मेरो कुरालाई चासोरहित टारिदिन्थे । बरु उनी मलाई डुलाउन लैजान्थे । कहिल्यै नभेटेका मान्छेसँग भेट गराउँथे । उनी त्यतिबेलाका केही दरबारिया मान्छेसँग निकटस्थ थिए । अक्सर त्यतै धाउँथे । र, बेलुका खुट्टा लर्बराउँदै गेस्ट हाउस फर्किन्थे । सुनिन्थ्यो, काठमाडौं बसिन्जेल उनको खानपान, मनोरञ्जन सब तिनै दरबारियाहरूले व्यहोर्थे ।

यस्तो किन भइरहेछ ? किन मलाई उनले पत्याइरहेका छैनन् ? म आफैं अन्योलग्रस्त थिएँ । यस्तैमा फेरि एकपटक मैले भनेँ, ‘हैन दाइ, पत्याउनुभएन कि के हो ? निक्कै राम्रै पो लेख्छु त हौ...!’ दाइको ध्यान केन्द्रित गर्न यतिसम्म भन्न म सायद बाध्य थिएँ ।

दाइले फेरि उही पुरानै मुद्रामा ‘ए हो!’ भने र अनुहार अर्कैतिर मोडे ।

एक दिन यस्तो लाग्यो । अब कुरा वारपार नगरी नहुने भयो । मैले आफ्नो कविताको पाण्डुलिपि च्यापेँ र बिहानै उनको ढोका ढकढक्याउन पुगेँ । ‘खुल्लै छ,’ भित्रबाट आवाज आयो । ढोका खोलेर हेरेँ । दाइ बेलुकीको ह्याङओभरले गर्दा पलङको टाउकोपट्टिको आडमा सिरानी ठड्याएर ढल्किरहेका थिए । म सिरानी छेउकै कुर्सीमा थ्याच्च बसेँ र कविताको पोका देखाउँदै भनेँ, ‘लु आज त कविता बोकेरै आको छु, नसुनी हुँदै हुन्न ।’

आँखा चिम्म गरेर सिलिङतिर फर्किरहेका दाइ मन नलागी–नलागी फुसफुसाए, ‘ल ल सुनाऊ ।’ उनी त्यस्तो मुडमा थिए– सुन्न खास जरुरी थिएन तर परिस्थिति नसुनी नहुने थियो । मैले ‘पाण्डुलिपि’ को ढड्डाबाट एउटा कविता निकालेर पढ्न सुरु गरेँ । कविता अलिकति सुनाएको मात्रै के थिएँ, अचानक बिजुलीको झट्का लागेझैँ गरेर ढल्किरहेका दाइ त जुरुक्क उठेर बसे । र, तत्कालै मलाई भने, ‘उठ, उठ ।’

अचानक उनको मुखबाट त्यस्तो शब्द निस्कँदा म त एकछिन् विचारशून्यझैं भएँ । लाग्यो, दाइ रिसाएछन् । त्यसैले मलाई उठेर त्यहाँबाट जान भनिरहेका छन् ! म आफ्नो कविताको ठेली च्यापेर उनको अगाडि ठिंग उभिएँ । जब म उठेँ, त्यसपछि उनले जे गरे, त्यो एउटा अनौठो दृश्य थियो । उनले मलाई शिरदेखि पाइताला, पाइतालादेखि शिरसम्म घुरीघुरी त्यसरी हेर्न थाले, मानौं म उनको अगाडि त्यस्तो एउटा अद्भुत चिज उभिइरहेको छु, जो भर्खरै कुनै अर्कै लोकबाट आइपुगेको छ । मेरो कुमकुमसम्म लत्रिएको हुल्याहा कपाल ! सर्टको ठाडो कलर ! आधा खुलेको गुन्डा छाती ! पाइन्टको मोहोता छोपेर कसिएको खलनायकी टप बुट ! चिम्सो आँखा ! दारी–जुँगाबिनाको सफाचट किराती अनुहार ! जम्मामा साँच्चैको एउटा बदमास हुलिया !

यी सब हेरिसकेपछि दाइले भने, ‘बा...फ्रे ! तिमी र कविता ? यो हुनै सक्दैन । असम्भव ।’

उनको त्यो अनौठो प्रतिक्रियापछि पुष्टि भएको थियो कि दाइले साँच्चि नै मलाई पत्याएका थिएनन् । उतिखेर त मलाई सामान्य आश्चर्य मात्रै लागेको थियो, तर पछि सोच्दा निकै दुःख पनि लाग्यो । खासमा दाइले मेरो अनुहार वा हुलियामा कविको त्यो परम्परागत इमेज भेट्न सकिरहेका थिएनन्, जो उनले त्यतिन्जेलसम्म हेर्दै आइरहेका थिए । उनलाई लाग्थ्यो होला, कवि भनेपछि दाह्रीजुँगायुक्त स्थापित नश्लको अनुहार, उच्च नाक, गाढिएका आँखा र बिलकुल सादा लिवासमा हुनुपर्छ । उसले लामो कपाल नढल्काओस् । छाती खोलेर नहिँडोस् । मेरैजस्तो टपबुट र भड्किलो पहिरनमा नठाँटियोस् ।

भरसक खाँडिको झोलामा कविता भरेर चप्पल फट्कार्दै सडक नापिरहेको होस् । अनुहार ठ्याक्कै आदिकवि या महाकविको सापेक्ष नश्लमा होस् । उनि अवश्य पनि त्यसखालको सोच र बनिबनाउ धारणाको सिकार थिए, जो लामो समयदेखि चल्दै आएको सामाजिक सेन्डिकेटको उपज थियो । यसै कारणले नै उनलाई आश्चर्य लागेको थियो कि मेरो हुलिया र कविता एकसाथ कसरी सम्भव हुन गयो ? र, यसैको प्रतिक्रिया स्वरूप नै हो पछि मैले ‘छहरा’ को त्यो पहिलो स्तम्भमा लेखेको थिएँ, ‘दाइजी, आजको लेखन अब नाकले लेखिन्न ।’

निकैबेरपछि दाइले फेरि भने, ‘बस, बस ।’

यो छुट्टै हो कि त्यसपछि लगत्तै उनले मेरो त्यो एउटै कविता तीन तीनचोटि सुनिदिए । दार्जिलिङबाट कवितासंग्रह नै छापिदिन्छु भनेर मेरो पूरै पाण्डुलिपि जिम्मा लिइदिए । ‘गरिमा’ र ‘मधुपर्क’ जस्ता तत्कालका ठूला सेन्डिकेटहरूतिर मलाई पुर्‍याएर मभित्रको अप्ठ्यारो मान्छेलाई पनि भत्काइदिए । तर, यो मेरो हुलियाले कविको परम्परागत र स्थापित मानक भत्काइसकेपछिको कुरा थियो । मैले बलात ढंगले उनको दिमागभित्र जमेर बसेको सेन्डिकेट तोडिसकेपछिको कुरा थियो ।

दुःखको कुरा मेरो कविताको त्यो प्रथम पाण्डुलिपि लिएर दार्जिलिङ पसेका दाइ न फेरि कहिल्यै फर्के । न मेरो पाण्डुलिपि नै फर्क्यो । उनकै कारण म कविता प्रकाशनको दुनियाँमा झण्डै एक दशक ढिलाएँ । यो ०४५ सालतिरको कुरा थियो ।

प्रथम हुनुपर्दैन ?

२०५० सालमा प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय नामक कविता प्रतियोगितामा मैले प्रथमचोटि भाग लिएँ । प्रथम मात्र होइन, कविताको कुनै पनि प्रतियोगितामा भाग लिएको यो मेरो अन्तिमचोटि पनि थियो । अन्तिम के कारणले ? त्यो पछि खुल्नेछ ।

एउटा चाखलाग्दो कुरा । प्रतियोगिताको घोषित मितिभन्दा लगभग १५/२० दिन अगावै मलाई एउटा अनपेक्षित सूचना प्राप्त हुन आयो । प्रज्ञा प्रतिष्ठानमै अस्थायी कर्मचारीको रूपमा कार्यरत एक कविले गलामा दुई हातले मालाको संकेत दिँदै सुटुक्क मलाई भन्यो, ‘तपाईंको कविताले मेडल दिलाउने भो...!’

मेडल पाउने कुराले त्यसै पनि खुसी लाग्नु अस्वाभाविक थिएन । तर, खुसीभन्दा पनि बढी मलाई त्यो अग्रिम सूचनाले आश्चर्यमा पारिरहेको थियो । के त्यो सूचना विश्वास गर्न लायक छ ? यदि छ भने तोकिएको मितिभन्दा अगाडि नै परिणाम थाहा हुने प्रतियोगिताको विधि कस्तो हो ? को हो त्यस्तो बहादुर निर्णायक, जसले त्यति अगाडि नै निर्णय टुंग्याउँछ र परिणाम हातहातै बाँडिहिँड्छ ? मलाई यस्तै प्रश्नहरूले घेरिरहेका थिए, जसको सही उत्तर पाउन सकिरहेको थिइनँ । त्यसको अलावा बरु थप अर्को सूचना पनि त्यतिखेरै प्राप्त हुन गयो । त्यो थियो प्रतियोगिताका वरिष्ठ र स्वनामधन्य एक निर्णायक कविको नाम ।

मलाई यस सूचनाले फगत आश्चर्य मात्र होइन प्रज्ञा प्रतिष्ठानमाथिको विश्वासमा आधा–आधी धराशायी नै बनायो । साथसाथै त्यहाँको निर्णय अस्वस्थ र तजबिजी हुन सक्ने कुराले समेत सशंकित तुल्यायो । यही कारण मलाई आफैँ पुरस्कृत हुँदै छु भन्ने सूचनाले समेत उस्तो उत्साहित बनाउन सकेन । पहिलो गाँसमै ढुंगा भनेजस्तै भयो मेरो पहिलो प्रतियोगिताको अनुभव ।

पछि परिणाम आउँदा थाहा भयो, सूचना शतप्रतिशत सही थियो । मेरो भागमा साँच्चि नै एउटा मेडल थियो । मलाई दोस्रो विजेता बनाइएको थियो । तर, यो परिणामले मलाई जति खुसी लाग्नुपर्ने थियो, मैले माथि नै संकेत गरिसकेको छु, त्यस्तो भएन । त्यो खुसी त्यहाँभित्रको अस्वस्थ क्रीडाका कारण आधासरो पहिले नै मरिसकेको थियो । यद्यपि मलाई दोस्रो बनाइएको थियो । तर, मलाई कता–कता लाग्यो, म दोस्रो भएको थिइनँ । बनाइएको थिएँ । जहाँको समग्र निर्णय प्रक्रिया नै व्यक्तिको लहड र तजबिजमा निर्भर हुन्छ, त्यस्तोमा कोही आफ्नो बुतामा केही हुँदैन, बनाइन्छ । तजबिज भन्नासाथ व्यक्तिको इच्छा, निर्धारित विचार, साइनो, सम्बन्ध आदिले निर्धारण गर्छ, जुन कुरा मलाई प्राप्त निर्णय र निर्णायकको अग्रिम सूचनाले संकेत गरिसकेको थियो ।

मेरो दाबी यो थिएन कि म त्योभन्दा अब्बल या कमसल हुनुपर्थ्यो । निर्णयको पूर्वसूचना आउनुभन्दा अगाडि मभित्र त्यस्तो कुनै किसिमको आग्रहको टुसासमेत पलाएको थिएन । कुरा त्यस्तो थिएन र होइन पनि । कुरा त कुनै संस्था वा संस्थागत पद्धति या त्योसँग जोडिएको व्यक्ति कति निष्पक्ष र विश्वसनीय छ भन्ने हो । मलाई आज पनि के लाग्छ भने त्यहाँ जो–जो जे भएका छन्, ती सब तजबिजी हातबाट बनाइएका छन् । त्यो मात्र होइन नेपालका अधिकांश सम्मान, पद र पुरस्कार तजबिजकै परिणाम हुन् भन्नुपर्दा मलाई साँच्चि नै दुःख लाग्छ ।

यही कारण त्यसपछि मैले फेरि कविता प्रतियोगिताको नाममा प्रज्ञा प्रतिष्ठान त के कहीँ कतै भाग लिइनँ । मैले आफैँभित्रको आत्मविश्वासको कमीले त्यसो गरेको थिइनँ । दोस्रा–तेस्रा हुने अनेक कविहरू पटक–पटक भाग लिँदै पहिला हुँदै गेम ओभर गर्थे । तर, मैले त्यो लेठो उठाइरहिनँ । खासमा मलाई पहिलो अनुभवमै कविता प्रतियोगिता भन्ने प्रहसनसँग मोहभंग भइसकेको थियो । कैलेकाहीँ अप्रतियोगीका रूपमा भाग लिन्थेँ, त्यो पनि कवि हुनुको मोह त्याग्न नसकेर ।

यस्तैमा एकपटक अप्रतियोगी कविको सूचीमा मेरो नाम देखेर त्यही प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय हलमा एक शुभेच्छुक कविले मलाई प्रश्न गर्‍यो, ‘किन तपाईं सधैँ अप्रतियोगीको रूपमा ? तपाईं त दोस्रा भइसकेको कवि । प्रथम हुनुपर्दैन ?’

म उसको प्रश्नले निकैबेर अकमकिएँ । के भनूँ भनूँ भएँ । र, अन्तिममा छोटो उत्तर दिएँ, ‘तजबिजमा मलाई विश्वास छैन, त्यसैले...।’

मेरो उत्तरले उसको चित्त बुझ्यो–बुझेन थाह भएन तर मलाई लाग्छ, त्यो कवि आफैँ पनि यस कुराबारे राम्रै जानकार थियो कि नेपालमा तजबिज नै यस्तो चिज हो, जो सबभन्दा ठूलो सेन्डिकेट हो ।

लाहुर जानुपर्ने मान्छे

२०५३ सालमा मेरो पहिलो कविता संग्र्रह प्रकाशित भयो । २०४५ सालमा उनै दाइ गुमानसीं चाम्लिङको गल्लामा भर्ती भएर परदेश लागेको मेरो पाण्डुलिपि सुटबुटसहित फर्केर आउँछ भनेर कुर्दाकुर्दा त्यतिका समय व्यतीत भएको थियो । फर्किने आस मरिसकेपछि आफ्नै निजी सक्रियतामा केही न केही पहलकदमी त लिनै पर्थ्यो । त्यही निजी पहलकदमीबापत् जन्मिएको मेरो पहिलो सन्तान थियो– सुम्निमाको तस्बिर ।

संग्रह छापिसकेपछि आफैँ झोलामा बोकेर, पुस्तक पसल–पसल चाहारेर वितरण गर्ने अर्को कठिन उपक्रम सुरु हुन्थ्यो । लक्षित व्यक्ति र सम्बन्धित माहोलमा हातहातै बाँडेर आफू कवि भएको अर्जी पेस गर्नुपर्थ्यो । कुनै–कुनै ठूला भनिने कार्यालय र पुस्तकालयहरूले दुई–चारप्रति किताब किनेर दया देखाउँथे, त्यता पनि निवेदनसहित धाउनै पर्थ्यो । अहिलेजस्तो कविताको स्वाद चाख्ने बजारको जिब्रो पलाइसकेको थिएन । फेसबुकको भित्ता ठडिइसकेको थिएन । धेरै जोर जुत्ता फटाउनुपर्थ्यो– कवि हुनका लागि । यो हाम्रो समयको आमकविहरूको साझा नियति थियो ।

यस्तैमा कसैले मलाई सुझायो, केशर पुस्तकालयले पनि दुई–चारप्रति किताब किनिदिन सक्छ । नजाने कुरै थिएन । एक–डेढ सय रुपैयाँको पनि खास महत्त्व हुने समय । पुस्तकालयको अघिल्लो कक्षमा एक जना मान्छे (सम्भवतः लाइब्रेरियन हुन सक्छ) बसिरहेको थियो । आफ्ना केही थान पुस्तक लिइदिन आग्रह गर्दै कविता संग्रह उसको हातमा टक्य्राएँ । तर, उसले मेरो संग्रह ओल्टाईपल्टाई गरेर अचानक त्यस्तो प्रश्न गर्‍यो, जुन मेरो जीवनकै सबभन्दा अप्ठ्यारो प्रश्न थियो ।

पुस्तकमा अंकित मेरो नाम पढ्दै अचानक उसले भन्यो, ‘लाहुर जानुपर्ने मान्छे, कसरी कविता लेख्नुभो ?’

उसको प्रश्नले म एकछिन त हल न चल भएँ । जडवत् भएर उसैलाई हेरिरहेँ । उसको दिमागमा जे थियो र जस्तो प्रश्न त्यहाँ प्रकट भएको थियो त्यो सम्झिँदा म अहिले पनि विक्षिप्तझैँ हुन्छु । उसले सम्भवतः बुझेको थियो, लाहुर जाने जातिको मान्छेले कविता लेख्नु हुँदैन । या, कविता लेख्ने जो जाति हो, उसले लाहुर जानू हुँदैन । यी दुई नितान्त विपर्यास कुरा हुन् । तर, उसले जे बुझेको थियो, के त्यो युक्तिसंगत थियो ? के त्यो कविताको नाममा ठडिएको डरलाग्दो एकल जातीय सेन्डिकेट थिएन ? अहिले म सोच्छु, आखिर त्यस्तो भयानक निषेध–सूचक धारणा उसको दिमागमा कसले भरिदियो ? कविताको नाममा त्यत्रो विभेदकारी पर्खाल एउटा सामान्य लाइब्रेरियनको दिमागसम्म कसरी खडा हुन पुग्यो ? के त्यो आफसेआफ निर्माण भएको उसकै निजी धारणा थियो ?

तर, मलाई लाग्छ, यसको लागि ऊ मात्र एक्लो दोषी पक्कै थिएन । त्यो त निकै लामो कालखण्ड र लामो ऐतिहासिक घटनाक्रमले निर्माण गरेको एउटा यस्तो विभेदजन्य मनोग्रन्थीको पर्खाल थियो, जसको निर्माता तिनै कविता लेख्ने जातिले आर्जेको एकात्मक राज्यसत्ता थियो । र, ऊ त्यसैको एउटा बफादार र कर्मठ निमित्त पात्र थियो ।

त्यो निमित्त पात्रलाई मैले त्यसपछि कहिल्यै भेटिनँ । खासमा म त्यो पुस्तकालयमा फेरि कहिल्यै फर्केर गइनँ । त्यो दिन मैले उसको प्रश्नको उत्तर के दिएँ ! अथवा दिइनँ ! मलाई त्यो पनि थाहा छैन । सत्य हो, जीवनमै त्यतिको निरुत्तर म कहिल्यै भएको थिइनँ ।

***

तपाईं यसलाई नपढ्न सक्नुहुन्थ्यो । तर, अब पढिसक्नुभयो । यी अक्षरका वर्जित यात्रीहरू, जसले यहाँसम्म आइपुगिन्जेल अनेकपटक अनेक स्टेसनमा रोकिनुपर्‍यो । कहिले विचारको नाममा, कहिले जाति त कहिले सत्ता र संस्कृतिको नाममा खडा भएका एकात्मक द्वारको बहिष्करणमा पर्नुपर्‍यो । कहिले त उल्टो फर्किनुसमेत पर्‍यो । कतिपटक निरुत्तर हुनुपर्‍यो । निषेधका ती अनेक पर्खाल, जसलाई ढाल्नका लागि अक्षरकै अनेक हथौडा प्रयोग गर्नुपर्‍यो, तिनको सामान्य फेहरिस्त अब मैले तपाईंका अगाडि राखिसकेको छु । मलाई लाग्छ, यात्राको यसचोटिमा आइपुगिसकेपछि अब कम्तीमा दुइटा परिणाम हात लागेका छन् ।

पहिलो, कोही रिसाउँछ, यस्तो भयबाट म अब निकै माथि उठिसकेको छु । दोस्रो, निश्चित रूपले यिनीहरू अब तपाईंका पनि विषय बन्नेछन् । बहसको द्वन्द्वात्मक द्वार अब स्वयं तपाईंले खोल्नु हुनेछ किनभने ती यावत् धुमिल समय र सम्झनाहरूलाई अब मैले वस्तुमा रूपान्तरण गरिसकेको छु ।

प्रकाशित : फाल्गुन २९, २०७७ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×