कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

काठमाडौं सहरमा बलेको विभेदको आगो

शिशिर वैद्य

काठमाडौँ — जेठको गर्मी अनुभव गर्न नपाउँदै मनसुन सुरु भएको छ । झरीले काठमाडौंको मौसम चिसिएको छ । चिसो मौसममा पनि काठमाडौंको माहोल भने तातो छ । डेरा खोज्दा भएको सामाजिक विभेदको मुद्दाले काठमाडौंको समाज पक्ष-विपक्षमा विभाजित भएको छ । यो विभाजनको बलिरहेको आगोमा घ्यू थप्ने काम गरे शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले । उनी झण्डा हल्लाउँदै प्रहरी चौकी पुगे । आरोपित महिलालाई छुटाए ।

काठमाडौं सहरमा बलेको विभेदको आगो

रैथाने नेवाः समाज उनको यो व्यवहारले दंग परे । वाह वाह गरे । मन्त्री श्रेष्ठ पुलकित भए । तर वाहवाहीको न्यानो सेलाउन नपाउँदै श्रेष्ठ मैले गल्ती गरें माफ पाउँ भन्दै मानवअधिकार आयोग पुगे । चौकीमा आरोपित महिलालाई छुटाउन झन्डा हल्लाउँदै पुग्नु पदको दुरुपयोग र प्रहरीमाथि दबाब हो । नागरिक अधिकारकर्मी र मानवअधिकारकर्मीको आरोप छ ।

काठमाडौं उपत्यकामा कोठा भाडामा दिने र लिने क्रम कहिलेबाट चल्यो ? यसै भन्न सकिँदैन । यो क्रम निरन्तर चलिरहेको छ । नेवाः समुदायको बाहुल्यता रहेको काठमाडौंमा मिश्रित जातजातिको बसोबास छ । रानीपोखरी पश्चिमबाट सुरु हुने प्राचीन सहर काठमाडौं विष्णुमतिमा पुगेर टुंगिन्छ । सहरको आयातन फैलिएको छ । काँठहरु भरिएका छन् । दमाइ, पोडे, नाय, धोबी आदि जातिका नाममा विशेष टोलहरु स्थापित छन् यहाँ । तर त्यहाँ दमाइ, पोडे, नाय्, धोबीहरु मात्रै बस्दैनन् । सतहत्तर जिल्लाका मानिसहरुको साझा थलो बनेको छ काठमाडौं । कति दमाईका घरमा बाहुन डेरामा बसेका छन् । कति धोबीका घरमा क्षेत्री डेरामा बसेका छन् । पानीको सकस छ काठमाडौंमा । पानी, बत्तीको सुविधा सहितको सस्तो डेरा । अनेक सपना बुनेर काठमाडौं आएकाहरुको संघर्षको अभिन्न पाटो हो यो । पाएकमा डेरा पाउनु प्रमुख हो, अरु कुरा गौण । पुराना पुस्ताका मस्तिष्कमा मात्रै बाँकी छ, पानी चल्ने र नचल्ने प्रथा ।

मल्ल राजा जयस्थितिले कर्म अनुसारको जात व्यवस्था गरिदिएका थिए । कालान्तरमा समाजका धर्मभिरुहरुले पानी चल्ने र नचल्ने बनाए । जातकै कारण कोही ठूला भए, कोही साना । कर्म अनुसार बनाइएको जात व्यवस्था विकृत बन्यो । मानिसले मानिलाई विभेद गर्न थाल्यो । तल्लो जात भनिएकाहरुलाई सहरभित्र बस्न निषेध गरियो । उनीहरुका सीप चले तर पानी चलेन । समाजको एक हिस्सामाथि भएको यो विभेदका विरुद्ध आवाज नउठेका होइनन् । उठेका छन् । सयौं वर्षदेखि मानिसहरुका मनमस्तिष्कमा प्रथा बनेर बसेको सामाजिक विभेदको जग निकै बलियो छ । एकै पटकमा हट्न सक्दैन ।

मानिस मानिसबीच विभेद हुनु हुँदैन । न जातका कारणले न अन्य कुनै कारणले । समाज परिवर्तित हुँदैछ । शिक्षित समाजले जातका कारण हुने विभेदलाई अस्वीकार गर्दै लगेको छ । विभेद बिस्तारै हराउँदै गएको छ । हजुरबा हजुरआमा पुस्ताका मानिसहरुको सोचमा मात्र जीवित रहेको छ जातभात । आफ्नो जमानामा जे सिके आफ्ना सन्तानलाई पनि त्यही सिकाउनु नै त परम्परा हो । नयाँपुस्ता शिक्षित छ, पुराना सबै मान्यतालाई आत्मसात गर्न तयार छैनन् ।

नेवाः समुदायभित्र थुप्रै जातजातिहरु छन् । उनीहरुका आ-आफ्नै रहनसहन र संस्कृति छ । गुठि छन् । आगं छें छन् । गुठी र आगंमा निश्चित् दीक्षा लिएका मानिसहरुमात्रै प्रवेश पाउँछन् । एकै जातको भएर पनि आगंमा प्रवेश पाउनै पर्दछ भन्ने हुँदैन । अर्को जातकाले पाउने त कुरै उठ्दैन । आगं र गुठी लोप हुँदै जानुको मूल कारण नै यसका कडा नियमहरु हुन् । अन्तर्जातीय विवाह सामान्य हुँदै गएको समाजका नयाँ पुस्तालाई पारम्परिक नियमहरुमा बाँधीराख्न सम्भव छैन । गुठी र आगंका नियमहरु खुकुलो नपारे ती विलुप्त हुनेछन् । ती नियमहरु पालना गर्न नयाँ पुस्तासँग समय छैन । बेफुर्सदिला युवाहरुको आधुनिक सहर बनेको छ उपत्यका । स्मार्ट सिटी ।

स्मार्ट सिटी काठमाडौं, सांस्कृतिक रुपमा धनी छ । यहाँका धेरैजसो संस्कृति र जात्राहरु केही निश्चित् जातका गुठीले संचालन गर्छन् । इन्द्र जात्रामा निस्कने लाखे मजिपाटका रंजितकारहरुको गुठीले सञ्चालन गर्छन् । दागीं कुमाःहरुको गुठीले । बौमत मानन्धरहरुको गुठीले । जीवित देवी कुमारी निश्चित् शाक्य वा बज्राचार्य कूलकै हुनु पर्ने नियम बनाइएको छ । सेतो मछिन्द्रनाथको रथ यात्रामा एक दर्जन विभिन्न जातका गुठीको सहभागिता र जिम्मेवारी हुन्छ । पाहाँचह्रेबेला नरदेवीको न्यतभूलु अजिमाको नाच ज्यापु समुदायले निकाल्ने गर्दछन् । जसमा त्यहींका तुलाधरहरुको पनि सहभागिता रहन्छ । कंग अजिमाको जात्रा, टेबहाः, वटु, महाबौद्धमा निस्कने पायका आ—आफ्नै गुठी छन् । जात्रा जसले निकाले पनि सहभागितामा कसैलाई रोक छैन । जातीय सद्भावका अनुपम उदाहरण हुन् उपत्यकाका जात्रापर्व र संस्कृति ।

कोठा दिने क्रममा सोधिने सामान्य प्रश्नहरु हुन् । नाम के ? घर कहाँ ? काम के ? परिवारमा कति जना छन् ? विवाहित कि अविवाहित ? बच्चा कति छन् ? आदि । लिनेका जिज्ञासा सामान्यतया पानी र शौचालयको व्यवस्थामा केन्द्रित हुने गर्छ । कोठा बहालमा लिने दिने क्रममा हुने यी सामान्य प्रश्नोत्तर पछि दिने र लिनेको चित्त बुझे नै हो कुरा अघि बढ्ने । यसलाई अन्यथा लिनुको अर्थ छैन ।

हो, जातले कोही ठूलो सानो हुँदैन । कोही छुत–अछूत हुँदैन । यस्तो व्यवहार गर्नु गराउनु अमानवीय र दण्डनीय छ । तर समाजमा कतिपय तप्कामा जातीय विभेद कायम छ । किन ? विभेदका घटनाहरु समाजको कुन तप्कामा बढी छ ? देशको कुन क्षेत्रमा यसको अस्तित्वले कडासँगले जरा गाढेको छ ? कुन जाति वा वर्ग ज्यादा विभेदकारी छन् ? जातीय विभेदका घटनाहरुको तथ्यांक खोज्ने हो भने यी प्रश्नहरुका उत्तर पक्कै भेटिने छन् । दलित–दलितबीच विभेद । दलित र अन्य जातिबीच विभेद । मधेसी र पहाडीबीच विभेद । आदिवासी र ब्राम्हण क्षेत्रीबीच विभेद । महिला र पुरुष बीचको विभेद । भाषिक विभेद । सांस्कृतिक विभेद । के काठमाडौं उपत्यकाका नेवाः समुदायमा जातीय भेद्भा‌व अझै कायम छ ? छन् भने यी सम्पूर्ण विभेदहरुका विरुद्ध बोलौं । आन्दोलित बनौं । हैन भने राज्य र समाजको विभेदमा परेको दुई समुदायका बीच द्वन्द्व बढाउनु दुवैका लागि प्रत्युत्पादक हुने निश्चित छ ।

प्रकाशित : असार २३, २०७८ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?