१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेपालमा डढेलो : वन्यजन्तुको विनाशप्रति बेवास्ता

अस्मिता खड्का

काठमाडौँ — गत माघदेखि वैशाखसम्म नेपालका विभिन्न वनमा लागेको डढेलोका कारण उत्पन्न वायु प्रदुषणले संकट निम्त्यायो । प्रदुषण यति फैलियो कि सरकार कतिपय शहरका विद्यालयहरु बन्द गराउन वाध्य भयो । तर डढेलोले असर गरेका वन्यजन्तु र वनस्पति बारे कमै चर्चा भयो । ती गैर मानव जीवनमा डढेलोले पु¥याएको क्षतिबारे यस लेखमा शोधखोज गरिएको छ ।

नेपालमा डढेलो : वन्यजन्तुको विनाशप्रति बेवास्ता

करिब ३ सय घरधुरी भएको रसुवा जिल्लाको तामाङ बहुल बस्ती गत्लाङका बासिन्दाहरु बोम्जामाने सामुदायिक वन र जासागोथेन सामुदायिक वनमा निर्भर छन् । २०६५ साल फागुन दोस्रो सातातिर किरा फट्याङ्ग्रा मार्न गाउँलेले वननजिकै आगो सल्काएका थिए । त्यो दिन अचानक आएको हुरीबतासले आगोलाई यसरी फैलायो कि आगो निभाउन गाउँलेहरु भुइँबाट प्रयास गर्दा आगो रुखको टुप्पासम्म पुगिसक्थ्यो । हावाको दिशासँगै एउटा रुखबाट अर्को रुख हुँदै आगो छिनभरमै वनभरि फैलियो । डढेलो निभाउन खटिएका गाउँलेको केही सिप लागेन । त्यस साल फागुन दोस्रो सातादेखि सुरु भएको डढेलो जेठ पहिलो सातामात्र निभ्यो ।

‘वनमा बुढो रुखहरु थियो । जंगल सखाप भएपछि पानी पनि पर्‍यो, डढेलो पनि निभ्यो । वन भने जोगाउन सकिएन,’ गत्लाङका वडाध्यक्ष दावा गोम्बु तामाङ १२ वर्षअघिको घटना सम्झन्छन्, ‘अहिले वनमा डढेलोले मरेको रुखहरु र नाङ्गो डाँडो मात्र बाँकी छ ।’ त्यसयता अहिलेसम्म पनि चराचुरुङ्गी र जंगली जनावरको आवाज बन्द भएको उनी बताउँछन् । भेडाबाख्रा र चौरी चराउन, रुखबाट घाँसपात र काठ दाउरा बटुल्न वनको भर पर्छन् गाउँलेहरु । ५० वर्षीय तामाङ भन्छन्, ‘मैले जन्मेदेखि ठूल्ठूला रुखहरुको जंगल मात्र देखेको थिएँ । गोठालो जाँदा देखेका बोटहरु हुर्किन १०÷१५ वर्ष लाग्थ्यो । डढेलोले सबथोक नास गरिदियो ।’ अहिलेपनि डढेलोले सुकेको रुखहरु ढलेर वर्षेनी ८÷१० भेडाबाख्रा र चौरी मर्ने उनी बताउँछन् ।

लाङटाङ क्षेत्रको आमाछोेदिङ्गो गाउँपालिका वडा नं ३, गत्लाङका दुई सामुदायिक वनमा डढेलो लागेको १२ वर्ष बितिसक्दा पनि एउटा नमिठो सम्झनाका रुपमा रहेको छ । स्थानीयका अनुसार ती वनमा लागेको डढेलोका कारण त्यस क्षेत्रमा घाँसबाहेक अरु बिरुवा उम्रिएनन् । न त वन्यजन्तु र जंगली जनावरहरु नै पहिलाझैं फर्किए ।

डढेलो लागेको उक्त क्षेत्रको उचाइ २३ सयदेखि ३८५० मिटर छ । उक्त वनमा लेकाली गोब्रे, धुपी र ठिमुरे सल्ला, कालो भालु, हाब्रे, बँदेल, रतुवा मृग, हिउँचितुवाजस्ता जंगली जनावर र कालिज, डाँफे, मुनाल पाइन्छ । करिब एक हजार हेक्टर क्षेत्रफल रहेको उक्त वनको करिब ६ सय हेक्टरभन्दा बढी भाग डढेलोले सखाप गरेको तथ्यांक रसुवाको वन डिभिजन कार्यालयले निकालेको छ ।

डिभिजन वन कार्यालय, रसुवाका रेन्जर बद्री ढुंगानाले विगत तीन महिनादेखि उक्त डढेलोले ती वनमा पारेको दीर्घकालिन असर, डढेलोपछिको माटोको गुणस्तर, पुनर्जनन क्षमता, बोटविरुवा, जंगली जनावर तथा चराचुरुङ्गीमा परेको असर आदिबारे अध्ययन गरिरहेका छन् । डढेलोले १२ हजारभन्दा बढी रुखहरु कामै नलाग्ने गरी कुहिएको, ५ हजारभन्दा बढी रुखहरु सुकेको र सबैभन्दा बढी ठिमुरे सल्ला ९५ प्रतिशतले सखाप पारेको उनको प्रारम्भिक अध्ययनले देखाएको छ । ढुंगानाका अनुसार ती वनमा पाइने बिरुवाहरु उम्रिएपछि जंगलको रुप लिन ८ देखि १५ वर्षसम्म लाग्छ ।

ती सामुदायिक वनमा लागेको छत्र डढेलो (रुखको जरा, हाँगा र टुप्पोसम्म सखाप पार्ने गरी लाग्ने आगो) ले अकल्पनीय क्षति पुगेको थियो । ‘छत्र डढेलाले कल्पना गरेभन्दा बढी असर पर्ने रहेछ भन्ने अहिलेसम्मको अध्ययनबाट देखिएको छ । डढेलोले प्राकृतिक प्रणाली र माटोको गुणस्तरमा ह्रास ल्याएको हुँदा यहाँको वन्यजन्तु, वनस्पति लगायत समग्र जैविक विविधता नै संकटमा परेको छ,’ उनी भन्छन् ।

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्‍जमा आइतबार लागेको डढेलो हेलिकप्टरबाट पानी खसालेर निभाइँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर

डढेलो लागेको कतिपय क्षेत्रमा लगत्तै पानी पर्ने हो भने महिना दिन भित्रै त्यहाँका रुखमा पात पलाएको, घाँस र बोटविरुवा उम्रिरहेको देखिन्छ । जसले गर्दा सुख्खायामको विकराल डढेलोलाई सहजै भुलाइदिन्छ । लाङटाङमा मात्र नभई नेपालका विभिन्न वनमा लाग्ने डढेलोको प्रकृति फरक भएपनि वन्यजन्तु तथा वनस्पतिमा त्यसले पुर्‍याएको क्षति भने गहिरो छ ।

डढेलोले जैविक विविधतामा पारेको असरसम्बन्धी विस्तृत रुपमा गरिएको आधिकारिक अध्ययनबारे वन तथा भूसंरक्षण विभाग, वन मन्त्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग बुझ्दा सबैतिरबाट लगभग एउटै जवाफ आयो ‘डढेलो लाग्नुअघि र लागि सकेपछि अध्ययन गर्न सम्भव नभएकोले डढेलोले वनस्पती र वन्यजन्तुसम्बन्धी गरेको असरबारे हालसम्म कुनै पनि अध्ययन तथा अनुसन्धान गरिएको छैन ।’

डढेलोको क्षतिबारे आधिकारिक अध्ययन उपलब्ध नभएपनि जैविक विविधतामा व्यापक असर पर्ने राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरुको ठहर छ । यसका प्रत्यक्षदर्शी हुन्, विभिन्न राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा २५ वर्षे अनुभव बटुलेका डा. बुद्धिसागर पौडेल । उनले रसुवामा डढेलो लागेकै साल ०६५ मा कञ्चनजंघा संरक्षण क्षेत्रमा लागेको डढेलोले एकैपटक ८ वटा घोरल लडेर मरेको देखेका छन् । तराईमा लाग्ने डढेलोले कैयौ स्थानीय वन्यजन्तु लोप भएको पनि देखेका छन् । ‘एकपटक रुखमा आगोले छोएपछि कतिपय रुखहरुमा मानवमा लाग्ने क्यान्सरझैं रोग लाग्छ,’ उनी भन्छन् ।

ग्रामीण शिक्षा एवं वातावरण विकास केन्द्र (रेड) का पूर्व अधिकारीसमेत रहेका डा. पौडेल जैविक विविधता नै संकटमा पर्नेगरी नेपालका विभिन्न वनमा लाग्ने डढेलोलाई एक प्राकृतिक महामारीको रुपमा अर्थ्याउँछन् । ‘वर्षेनि लाग्ने डढेलो जंगलको महामारीजस्तै हो,’ उनी भन्छन्, ‘डढेलोले वन्यजन्तुको बासस्थान परिवर्तन भइरहेको छ भने पर्यावरणीय संरचना पनि फेरिएको छ ।’ उनका अनुसार दोहोरिएर आगो लाग्ने ठाउँमा नयाँ प्रजातिका जीव र वनस्पति देखा परेका छन् । आगोले क्षति पुर्‍याएको ठाउँमा बनेको ढुसीकै कारण रुखहरु सुक्दै र कुहिँदै गएको उनी बताउँछन् ।

डढेलोकै कारण तराई क्षेत्रमा पाइने पिग्मी हग (बाम पुड्के बँदेल) नेपालबाट लोप भइसकेको उनी बताउँछन् । मुसा, खरायो, लोखर्के, गिनि पिगलगायत साना स्तनधारी सबैभन्दा बढी प्रभावित भएको उनको अनुभवले देखाएको छ । एकै ठाउँमा बासस्थान बनाइरहने बाम पुड्के बँदेललगायत स्थानीय जीवजन्तुहरु, सरिसृपमा डढेलोको सबैभन्दा जोखिममा रहेको उनी बताउँछन् ।

डढेलोले तत्कालिन र दीर्घकालिन रुपमा वनस्पति तथा जंगली जीवजन्तुमा असर पुग्ने बताउँँदै वनस्पति तथा वन्यजन्तु विज्ञ मेघधोज अधिकारी भन्छन्, ‘सतही डढेलाले भूवनोट, माटोको गुणस्तरमा ठुलो असर नपर्ने हुँदा वनस्पति र वन्यजन्तुमा ठुलो असर पर्दैन । तर पहाडी तथा हिमाली क्षेत्रमा लाग्ने छत्र डढेलोले माटोको गुणस्तरमा समेत ह्रास ल्याउने हुँदा त्यहाँ भुक्षय हुन्छ । त्यहाँ उम्रिने वनस्पतिको बिउ मरिसकेको हुन्छ र त्यसले दीर्घकालिन असर ल्याउँछ ।’

वन क्षेत्रको अवस्था
वन तथा भुसंरक्षण विभागको वेबसाइटका अनुसार नेपालको कुल क्षेत्रफलमध्ये ४४.७४ प्रतिशत (६४ लाख हेक्टर) भुभाग वन क्षेत्रले ओगटेको छ । नेपालमा विभिन्न राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, सामुदायिक तथा निजी वन सञ्चालनमा छन् । संघीय सरकार लागु भएपछि नेपालभर ८४ डिभिजन वन कार्यालयहरु, ७४ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु सञ्चालनमा छन् ।

सन् २००१ देखि सन् २०१४ सम्म वन मन्त्रालय तथा भू–संरक्षण विभागका शिव खनालले गरेको एक अध्ययन अनुसार नेपालको वन डढेलोका कारण वर्षेनि औसत ३ लाख ७२ हजार क्षेत्रफल सखाप हुन्छ भने कम्तीमा १ लाख ६३ हजार हेक्टर क्षेत्रफलदेखि बढीमा ७ लाख ६० हजार हेक्टर डढेलाले क्षति हुन्छ । नेपालमा सन् २००१, २००९ र २०१२ मा सबैभन्दा बढी डढेलो लागेको थियो ।

इसिमोडले विकास गरेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार सन् २०२१ मा मात्र नेपालमा सानाठूला गरी ४ हजार ५ सय बढी डढेलोका घटना भएका छन् । इसिमोडका अनुसार हरेक वर्ष मार्च, अप्रिल र मे महिनामा ८९ प्रतिशत डढेलो लाग्ने गर्छ भने ७७ जिल्लामध्ये १८ जिल्ला डढेलोको उच्च जोखिममा छन् ।

जलवायु संकटले निम्त्याएको खडेरीको समयावधि लम्बिएसँगै वनजंगलमा डढेलोको संख्या बढ्दै गएको छ । वन विनाश र जैविक विविधता ह्रास हुनुका कारक जनसंख्या वृद्धि, वन फडानी, शहरीकरण, पुर्वाधार विकास मानिन्छ । तर, जलवायु संकटले निम्त्याएको खडेरी र वन क्षेत्रको उचित व्यवस्थापन हुन नसक्दा वर्षेनि सुख्खायाममा डढेलोको चपेटामा यिनै प्राकृतिक स्रोत पर्ने गरेका छन् ।

खडेरीले सतही र छत्र डढेलो लाग्ने हुँदा वन्यजन्तुसँगै विभिन्न संरक्षित बिरुवामा समेत डढेलोको असर रहेको वन्यजन्तु तथा वनस्पति विज्ञ मेघधोज अधिकारी बताउँछन् । ‘डढेलोले सबैलाई प्रत्यक्ष तथा अप्रत्यक्ष गर्छ । तर वनै विनाश हुने गरी लागेको आगोले वन विनाश र जैविक विविधता ह्रास गर्नमा ठूलो भुमिका खेल्छ,’ उनी भन्छन् । तराई क्षेत्रमा पाइने संरक्षित विरुवा साल्दानदेखि हिमाली क्षेत्रका जटामसी, पाँचऔलेजस्ता साना वनस्पतिहरु, वन्यजन्तुमा तराई क्षेत्रको संरक्षित सरिसृप अजिङ्गरदेखि हिमाली क्षेत्रको संरक्षित हाब्रे र रुखमा बासस्थान र गुँड बनाउने गिद्धजस्ता चराहरु डढेलोको सबैभन्दा बढी जोखिममा भएको उनी बताउँछन् ।


अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलो निभाउने प्रयास गर्दै अग्नि नियन्त्रक । तस्बिर : एजेन्सी

राष्ट्रिय प्रकृति संरक्षण कोषमा समेत आबद्ध अधिकारीका अनुसार तराईमा १२ सय मिटरदेखि ५ हजार मिटर उचाइसम्मको उष्ण प्रदेशीय सदावहार वन, पतझर, कोणधारी र घाँसे मैदानमा वनस्पति तथा बहुमुल्य जडिबुटी पाइन्छन् । तराईका वनमा गौर, हात्ती, पाटे बाघ, जंगली बिरालो आदिको बासस्थान छ भने पहाड र हिमालमा पाटे बाघ, हाब्रे, थार, झारल, हिम चितुवा, काँडे भ्याकुर, चील, गिद्ध आदी संरक्षित र लोपोन्मुख जंगली जनावर र चराचुरुङ्गी पाइन्छन् । डढेलोकै कारण यी वनस्पति, जीवजन्तुको अस्तित्व संकटमा छ ।
कसरी लाग्छ नेपालमा डढेलो ?

जंगलमा आगलागी हुने तीनवटा कारक तत्व हुन्छन् : आगो, इन्धन (ज्वलनशील पदार्थ) र हावामा हुने अक्सिजन । यी त्रिकोणात्मक तत्व सँगै अवस्था अनुकुल रहेमा एकैपटक आगो सल्किन्छ र फैलिन्छ ।
अमेरिका, अष्ट्रेलियामा जस्तो मुलुकहरुमा २५ प्रतिशत आगलागि चट्याङ, ज्वालामुखी विष्फोट आदिका कारण डढेलो लागेपनि नेपालमा भने मानविय कारण डढेलो लाग्ने डढेलो विज्ञ सुन्दर शर्मा बताउँछन् । ‘नेपालमा चट्याङले आगलागी भइहाले पनि चट्याङ (वेट थन्डरबोल्ड) पर्दा पानी परेकै हुन्छ । पानीले आगो निभाउन सघाउँछ,’ उनी भन्छन् । उनका अनुसार नेपालमा प्राकतिक कारणले बिरलै आगलागी हुने भएकाले मानवीय कारण नै प्रमुख हो । मानवीय कारणले भएका आगलागीमध्ये ८५ प्रतिशत जानाजान १५ प्रतिशत आगलागी अन्जानमा हुनेगरेको छ ।

डढेलो विज्ञ शर्माकाअनुसार नेपालको भूबनोटअनुसार उष्ण प्रदेशीय सदाबहार वन क्षेत्र र १२०० मिटरदेखि ३५०० मिटर उचाइमा पर्ने वनजंगलमा आगलागी हुन्छ । आगोका विभिन्न प्रकारमध्ये नेपालमा सतही/अण्डाकार (ग्राउन्ड फायर) र छत्र डढेलो (क्राउन फायर) बढी लाग्छन् । भुगोलको आकारअनुसार डढेलोको स्वभाव पनि फरकफरक हुन्छ । तराई र चुरेमा पाइने सदाबहार र समशीतोष्ण वनमा बढिजसो सतही डढेलो लाग्ने गर्छ भने २ हजार मिटर माथिका पतझर र कोणधारी वनमा छत्र आगो लाग्ने गर्छ । सतही डढेलो हावाको गतिसँगै विपरित दिशामा फैलिन्छ । पहाड र हिमाली भेगमा लाग्ने छत्र डढेलोले अमेरिका, अष्ट्रेलियाको जंगलमाझै पुरै जंगल सखाप पार्छ । भिरालो जमिनमा माथिबाट आगो सल्केमा बिस्तारै तलतिर सर्छ र तलबाट सल्केको छ भने तीब्र गतिमा माथितिर सर्छ ।

वनहरुमा कतिपय अवस्थामा दुवै किसिमको आगो दोहोरिएर पनि लाग्न सक्ने डढेलो विज्ञ शर्मा बताउँछन् । ‘सदाबहार वनमा रुखको पातपतिङ्गर झरेर तीनचार तहसम्म बस्ने हुँदा खडेरीको समयमा एउटै सिजनमा तीनपटकसम्म पनि डढेलो लाग्छ,’ उनी भन्छन्, ‘यस्तो क्षेत्रमा एकपटक आगलागी भएपछि पनि घाँसपात पलाउने र झर्ने प्रक्रिया दोहोरिएर चल्ने हुँदा वर्षमै तीनपटकसम्म दोहोरिँदै डढेलो लाग्छ । तर कोणधारी जंगल, मुनाहरु ढिलो पलाउने वन अर्थात् छत्र डढेलोले सखाप बनाएको वनमा भने वर्षौसम्म पनि आगलागी नदोहोरिन सक्छ ।’

जैविक विविधतामा असर
इसिमोडकाअनुसार नेपाल जैविक विविधताको दृष्टिले विश्वको २५ औँ र एसियाको ११ औँ स्थानमा पर्दछ । जैविक विविधता रणनीति (२०१४ देखि २०२०) अनुसार विश्वमा पाइने कुल वनस्पती प्रजातिको ३.२ प्रतिशत, तथा कुल जीवजन्तुमध्ये १.१ प्रतिशत नेपालमा मात्र पाइन्छन् ।

विश्व वन्यजन्तु कोष नेपालका अनुसार सन् २०२१ मा मात्र करिब ४७९ बन्यजन्तु डढेलोका कारण आफ्नो बासस्थानबाट अन्तै सरेका छन् । यो वर्षको तथ्यांक उल्लेख नभएपनि सन् २००९ मा संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुन्जमा लागेको डढेलोका कारण ८० याक र दुर्लभ रेड पाण्डा मरेका थिए । त्यसको तीन वर्षपछि बर्दिया राष्ट्रिय निकुन्जमा लागेको डढेलोका कारण करिब ४० प्रतिशत जंगली जनावर, ३० प्रतिशत चरा, ६० प्रतिशत किरा फट्यांग्रा जलेर नष्ट भएका थिए ।

वसन्त ऋतुमा चराहरुले गुँड लगाउँछन् । अधिकांश चराहरुको वासस्थान पुराना तथा बुढा रुखहरुमा हुने गर्छ । डढेलोले चराचुरुङ्गी र बनस्पतिलाई दीर्घकालिन असर पार्ने वन्यजन्तु तथा वनस्पति विज्ञ मेघधोज अधिकारी बताउँछन् । ‘चराहरुले गुँड लगाउँदा र बास बस्दा घाँसको बीच, भुइँमा यात टोड्का भएको बुढो रुखहरु रोज्छन्,’ उनी भन्छन्, ‘डढेलोले बुढा र ठुला रुखहरु नासिने हुँदा डढेलोपछि पनि चराहरु फर्केर आउँदैनन् । साथै दुलोमा बस्ने अन्य जीवहरुलाई पनि असर पर्छ ।’

यतिमात्र नभई तराईको घाँसे मैदानमा वन व्यवस्थापनका निम्ति वर्षेनी लगाइने आगोले घाँसमै बस्ने प्रजातिहरु, अति संवेदनशील प्रजाति, बसाइँसराइ गरेर आउने चराहरुको संख्या पनि निकै घटेको डा. बुद्धिसागर पौडेल बताउँछन् ।

न तयारी, न जिम्मेवारी
नेपालमा असारदेखि असोजसम्म पानी पर्ने हुदा डढेलोसँगै हामीले पनि विश्राम लिन्छौ । कात्तिकदेखि जेठसम्म सुख्खा हुने हुँदा जब डढेलोको पुन सुरु हुन्छ तब हामी पनि आत्तिन्छौ । डढेलोले पुर्‍याएको क्षतिको आंकलन गर्छौ । अर्को वर्ष जब डढेलो लाग्छ, तब सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसको चर्चा हुन्छ । यो प्रक्रिया फेरि दोहोरिन्छ, कुमालेको चक्रझै । वर्षेनि ठूलो क्षति पुग्ने थाहा हुँदाहँुदै सरकार तथा सम्बन्धित निकायले न कुनै तयारी गरेको देखिन्छ, न कुनै जिम्मेवारीवोध ।

हाल वन तथा वातावरण मन्त्रालयका प्रवक्ता समेत रहेका डा. बुद्धिसागर पौडेल कुनैपनि निकायले पुर्वतयारी र जिम्मेवारी बहन नगरेको स्वीकार्छन् । ‘यदि केन्द्रदेखि स्थानिय तहका सम्बन्धित निकायहरु र समुदाय सबैको सक्रिय सहभागिता हुने हो भने हामीले डढेलो लाग्नै नदिन सक्छौं, लागि हालेमा नियन्त्रणमा लिन सक्छौं,’ उनी भन्छन्, ‘तर यस्तो अभ्यास न्युन छ । सरकारको पूर्वतयारी छैन, न त स्थानिय तहमा जनचेतनामुलक तालिम र नियन्त्रणका लागि पर्याप्त उपकरणहरु उपलब्ध गराउन सक्छ ।’

पूर्वतयारी र जनचेतना अभावकै कारण डढेलोको क्षति बेहोर्नुपर्ने बताउँछन्, विपद् प्राधिकरणका उप सचिवसमेत रहेका डढेलो विज्ञ सुन्दर शर्मा । भन्छन्, ‘सरकारले डढेलो नियन्त्रणका लागि बजेट छुट्याउने, पुर्वतयारीका योजना बनाउने, जनचेतनामुलक कार्यक्रमको अभ्यासगर्ने र विज्ञहरुको सुझाव मान्दैन । न त सरकारले डढेलोपछि अध्ययन र अनुसन्धानको कार्यक्रम नै अघि बढाउँछ ।’

मानवनिर्मित समस्याको मानवीय समाधान
२०६५ सालको डढेलोबाट प्रभावित लाङटाङ क्षेत्रको बोम्जामाने र जासागोथेन सामुदायिक वनमा प्राकृतिक पुनर्जननको लागि डिभिजन वन कार्यालय, रसुवाले आगामी वर्षदेखि सुकेका रुखहरु निकालेर विक्रि वितरण गर्ने र ५० हजार क्षेमताको नर्सरी बनाएर वृक्षारोपण गर्ने कार्ययोजना बनाएको छ ।

नेपालमा वन व्यवस्थापनको निम्ति आगो लगाउने, खोरिया गर्ने चलन, पिकनिक÷क्याम्पिङ, ननिभेको चुरोटको ठुटालगायत मानवीय गतिविधिका कारण सुख्खायाममा डढेलो फैलिने हुँदा लाङटाङ क्षेत्रमाझै वृक्षारोपण, जनचेतना आदिमार्फत गरिने मानवीय समाधान नै प्रभावकारी हुनसक्छ । जनचेतनामुलक कार्यक्रम सञ्चालन, सामुदायिक वनहरुले आफ्नो वनबाट हुने आम्दानीलाई वन संरक्षणका लागि छुट्याउने जस्ता उपायले सानो डढेलो नियन्त्रणमा ल्याउन सकिने विज्ञहरु बताउँछन् ।

मानवीय गतिविधि नियन्त्रणमा ल्याएर आगलागि हुनै नदिने र भइहालेमा पनि नियन्त्रणमा ल्याउन सकिने बताउँदै वनस्पति एवम् वन्यजन्तु विज्ञ मेघ धोज अधिकारी भन्छन्, ‘वास्तवमा आगलागि हुन नदिनु नै मुख्य पाटो हो । यदि लागिहालेमा ठाउँ र क्षेत्रअनुसार डढेलो नियन्त्रणका फरकफरक उपाय अपनाउनुपर्छ । छत्र आगो लागेको क्षेत्रमा वृक्षारोपण गर्नुपर्छ । भिरालो ठाउँबाट माटो बग्न नदिन तलतिर बाँध बाँध्नुपर्छ । जंगलमा भएका पानीको स्रोतहरुको संरक्षण गर्नुपर्छ ।’

वनस्पति विज्ञ अधिकारीका अनुसार वनजंगलको झाडि तथा घाँसपात व्यवस्थापन गर्दा अग्नीरेखा बनाएर आगो लगाउने, डढेलोले ठूलो क्षति पुर्‍याएको क्षेत्रमा पुनर्वासको व्यवस्था तथा वृक्षारोपण गर्नुपर्छ । मानिसका आवश्यकता पुर्तिका लागि मात्र नभई डढेलो नियन्त्रण गर्न वन र वन्यजन्तुका लागि पनि वनमा पानीका स्रोतहरुको संरक्षण गर्नुपर्छ । ‘समुदाय स्तरका वनबाट हुने आम्दानी वन संरक्षणमा खर्चिनुपर्छ । यदि हामीले पुर्वतयारीका साथ यी र यस्तै पक्षहरुलाई गम्भीर रुपमा कार्यान्वयन गर्ने हो भने हामीले वर्षेनी डढेलोबाट हुने वन्यजन्तु र वनस्पतिमा हुनेक्षति रोक्न सक्छौ । जैविक विविधता र पर्यावरणीय चक्र सन्तुलनमा राख्न सक्छौं,’ उनी भन्छन् ।

मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेल पनि मानवनिर्मित समस्याको समाधान मानवबाट नै सम्भव रहेको बताउँछन् । ‘यदि हाम्रै कारणले डढेलो लाग्छ भने त्यसको समाधान पनि हामीसँगै छ,’ उनी भन्छन्, ‘त्यसको लागि समुदायमा जनचेतना बृद्धि र सबैलाई आगलागीबारे पर्याप्त ज्ञान हुन जरुरी छ । जनचेतनासँगै आगो लगाउनेलाई कारबाहीको लागि कडा नीति र कारबाही पनि जरुरी छ ।’ असारदेखि असोजसम्म मात्र डढेलो नलाग्ने हुँदा सरकारसँगै अन्य निकायले बाँकी समयको लागि पुर्वतयारी गरेमा डढेलोसँग जुध्न सकिने उनको भनाइ छ ।

इन्जिनियर्स पोस्टमा कार्यरत खड्काले यो सामग्री भारतको द इनर्जी रिसोर्स इन्स्टिच्युटको हिमाली क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी फेलोसीप अन्तर्गत तयार पारेकी हुन् ।

प्रकाशित : असार १४, २०७८ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?