कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नक्खु जेलको अपुरो कथा

'मेलम्चीको सुरुङबारे हामीले सुनेकै छौँ । योचाहिँ जेलको सुरुङ खन्दाको कथा हो । त्यो र यो दुवै सुरुङ नै हो । अब यहाँ त्यो मेलम्चीको होइन, अर्कै मेलम्चीको सुरुङ बन्दै थियो । पानी लैजाने होइन, मान्छे लैजाने सुरुङ ।'
जीवन मगर

चालीसौँ वर्ष पाइला टेकेछ । दशकौं पुराना पाइलाहरु....। हिजोझैँ, आजझैँ लाग्ने । त्यो एउटा अँध्यारो रात, सम्झनामा सल्बलायो । कतिऔँ दिन, कतिओँ रात बिते । एउटा मानिसको चालीस वर्ष—जीवनको उर्बर वर्षहरु । बर्सेनि आँउथ्यो, जान्थ्यो- त्यो महिना चैत्र ।

नक्खु जेलको अपुरो कथा

सम्झना हुन्थ्यो, त्यस रातको, अनि बिस्तारै बिर्सनातिर पुग्थ्यो । लोकले चर्चा गर्थ्यो, कथाहरु बुनिन्थ्यो, अनि फेरि ओझेल पर्दै जान्थ्यो । स्मरण हुने, अझ नयाँ चेतमा स्मरण हुने, लोक-चर्चा थपिँदै जाने, त्यसरी नै गोधूलि पर्दै विलीन पनि हुने । त्यो बेलाको अर्कै संसार, थियो अर्कै नेपाल । कति जोर भोटा-कछाड फाटे, कतिऔँ क्युसेक पानी बहे । र अहिलेको यो संसार, यो नेपाल । इतिहास रहेछ यो त, बिर्संदै नबिर्सने ऐतिहासिक । वर्षहरु थपिँदै जान्छन्, पत्रपत्र भएर थपिँदै नै जान्छन् । यो वर्ष- २०७३ साल चैत्र १२ भने केही भिन्न भएरै आयो । कताकति केही लिएरै आयो । ‘ओल्ड इज गोल्ड’ भने जस्तो जति पुरानो उति चमक लिएर आयो । ...चालीस वर्ष भएछ है कमरेडहरु नख्खु जेल ब्रेक...’

घडीको सुई देखाउँदै हुनुहुन्थ्यो कमरेडहरु । धन्य-धन्य कमरेडहरु उहाँहरु मेरो मनमा छपक्कै बस्नुभयो । कौतुहल मनले भन्न मन पनि लाग्यो यो चालीसौँ वार्षिकोत्सव मेरा जीवनका अनन्त पाइलाहरु..., वर्षहरुका लामा-लामा मालाहरु...। र मेरी श्रीमतीकै उमेर पछ्याउँदै आएको यो चालीस वर्षको आगामी पाइलाहरुले नयाँ सन्देश दिएरै जाओस् ।

***

नक्खु जेल— राजनीतिक बन्दीगृह । जहाँ हामी झापाली कम्युनिस्टहरुलाई थुनिएको थियो । झापालीहरुलाई थुन्न पाउँदा शासकहरु हाइसञ्चोमा थिए । र, झापा विद्रोह सधँैका लागि दमन गर्‍यौँ भनी सोचेका थिए । तर शासकहरुलाई यो थाहै भएन कि हामी अर्कै तत्वका मानिस हौ । हामी जेल-ब्रेकको अनुकूल समय पर्खिरहेका थियौँ । त्यो समय पनि अनेकौँ गौँडा छिचोल्दै लुक्दै—छिप्तै आयो । त्यस समय नक्खु जेल कमिटी (कोके) को सचिव म थिएँ । जेल-ब्रेकको छलफल चल्दा-चल्दै एकदिन हाम्रो पंक्तिमा नियास्रो छायो । यसकारण कि जेल प्रशासनले अन्यायपूर्वक कमरेडहरु एमसी, आरके र केपीलाई जेल सरुवा गर्‍यो । र पनि हाम्रो योजनालाई मूर्तरूप दिन हामी लागिरह्यौँ । एउटा थाती रहेको काम थियो- पार्टी सदस्यता प्रदान । कमरेडहरु सूर्य कन्दब्वा, धर्म घिमिरे, भीष्म धिमाल र नारद वाग्लेलाई पार्टी सदस्यता प्रदान र ‘मुस्लो समूह’का कमरेडहरु गोपाल शाक्य, प्रदीप नेपाल, माधव पौडेल र वीरबहादुर लामाको पार्टी सदस्यता नवीकरणका साथ सामूहिक शपथ ग्रहण भयो । त्यसपछि जेलब्रेकको प्रस्तावमाथि केन्द्रित भयौँ ।

ब्रेकका अनेकौँ बाटाहरुको छलफल सँगसँगै कमरेड वीरबहादुर र माधवले सुरुङको आइडिया पेस गर्नुभयो । यो बाटो सफल भए कम क्षति हुने वा पूणर् सफल हुने देखियो । अन्य बाटाहरुलाई तपसिलमा राख्दै सुरुङको अभ्यासमा जाने मत पास गरियो । अभ्यासमा जाँदा असम्भव हुने भए अन्य बाटाहरुलाई मध्यनजर दिने टुंगो भयो । तुरुन्तै जेल कमिटीले सुरुङ खन्ने योजना बनायो र चार नम्बर ब्लकबाट खन्ने निणर्य भयो । उक्त कामको नेतृत्वका निम्ति मैले सचिवको कार्यभार कमरेड सीपीलाई हस्तान्तरण गरे । अब ठोस निणर्य भएपछि ठोस कार्यमा जुट्नु थियो । हामी कोही पनि इन्जिनियरिङ पढेका थिएनौँ । सुरुङबारे हाम्रो प्राविधिक ज्ञान पनि थिएन । न त कसैलाई सुरुङ खनेको अनुभव थियो । चिनियाँ क्रान्तिमा सुरुङ युद्धको कथा पढेका-सुनेका चाहिँ थियौँ । हामीले सुरुङको खाका तयार गर्यौँ र आफ्नै अभ्यासमा खन्ने निधो गर्‍यौँ । सुरुङ खन्ने कोठामा आँखा छल्न खरायो पाल्नुपर्थ्यो ।

एक गोठ खरायो र सुरुङ खन्न लाग्ने जिन्सी सामानहरुको जोरजाम कमरेड हर्कले गर्नुभयो । तीनवटा खरायोको खोर बनिसकेको थियो र दसवटा खरायो खेल्न थालिसकेका थिए । अब झट्टै कमरेड सीपी, हर्क, वीरबहादुर र म कोठामा छिर्‍यौँ । एउटा खोरबाट सुरुङको ढोका निर्माण गर्नु थियो । कमरेड हर्क र वीरबहादुर किसान चरित्रका व्यावहारिक मान्छे, उहाँहरुले तीन फिट खनेर सुरुङको मुख बनाउनुभयो । सुरुङमा घर्राको ढोका पनि निर्माण गर्नुभयो । यो काम हाम्रो पंक्तिभित्र पनि अत्यन्त उच्च गोपनीयताका साथ भएको थियो । यो थियो- फागुन १० गतेको दिन, जहाँ सुरुङको शिलान्यास भयो— जेल विद्रोह जिन्दावाद ! मुठ्ठी कस्दै एक स्वरमा गुञ्जियो ।

***

त्यो योजना मेलम्चीको सुरुङजस्तो कथैकथा पनि थिएन । अनि ठेकेदार र इन्जिनियरको जस्तो ‘ढिलासुस्ती’ गर्नु पनि थिएन । वैज्ञानिक उपकरणहरु, मेसिनहरु, औजारहरु हाम्रा हातमा थिएनन् । थियो त सिर्फ एउटा खेलौनाजत्रो सानो कुटो, एउटा फलामे सानो बूढो पनिउँ र एउटा सानो कसैले फालेको थोत्रे छाताको डन्डी । पनिउँ त फेरि बिहान—बेलुकी भात पकाउन पनि प्रयोग गर्नुपर्ने । हाम्रा हातमा यिनै तीन सामान मात्र थिए । यिनै तीन हतियार पूज्य बन्यो, महादेवले तथास्तु भनी पठाएजस्तो । मेलम्चीको सुरुङबारे हामीले सुनेकै छौँ । योचाहिँ जेलको सुरुङ खन्दाको कथा हो । त्यो र यो दुवै सुरुङ नै हो । अब यहाँ त्यो मेलम्चीको होइन, अर्कै मेलम्चीको सुरुङ बन्दै थियो । पानी लैजाने होइन, मान्छे लैजाने सुरुङ । अब सुरुङले तेर्सो बाटो हिँड्न थालेको थियो । एवंरितले एक रात, दुई रात, एक दिन, दुई दिन गर्दै सुरुङ परपर पुग्दै थियो । हाम्रो ‘इन्जिनियरिङ’ मेल खाँदै थियो, जेलको पहरा फेल खाँदै थियो । निरन्तर खन्नेमा कमरेड जीवन, वीरबहादुर, माधव, भीष्म र गोपाल हुनुहुन्थ्यो ।

अन्य कमरेडहरुले पनि आंशिक रूपमा खन्नुभयो । खन्ने टिमको नेतृत्व जेल कमिटीले मलाई दिएको थियो । सुरुङ धस्सिए ज्यान जाने, ज्यानकै बाजी थियो । नक्खु खोला छेउको जेल, बालुवा-ढुंगा मिसिएको गेग्रान माटो, जति-जति खन्यो, सुरुङ भास्सिने हो कि नजर लाइरहनुपर्ने । भास्सिएमा जिब्रो टोक्नुपर्ने, जीवित फर्किने कुनै उपाय थिएन । कडा जोखिम मोलेर खन्नुपर्थ्यो । एक—एक घडी, एक—एक पाइला, एक—एक सास ज्यानको खतरा थियो । हंस कोठामै छाडेर, मृत्यु पातमा राखेर खन्नुपर्थ्यो । सुरुङ जति लामो हुँदै गयो, उति अक्सिजन कम हुने र निस्सासिनुपर्ने । एक पटक सुरुङ धस्सिन थाल्यो । अब के होला ? के गर्ने ? तुरुन्तै बैठक बस्यो । समाधान निकालियो— सुरुङको दुवै छेउ इँटाको गारो लगाई, छतमा दाउराको चाब लगाई, थोत्रा लत्ता—कपडा कोची रोकथाम गरियो । सुरुङ खन्दा होसियारी राख्नुपर्ने, गोलाकार खन्नुपर्ने, लेभल हेर्नुपर्ने र एक मान्छे लामो खनेपछि घुमफिर गर्ने सेल्टर बनाइन्थ्यो । कहिलेकाहीँ पानी उम्रिन्थ्यो र ढुंगा छापी बुजो लगाइन्थ्यो । हाम्रो हातमा कमसल औजार ! रातोदिन खन्दा पनि एक हात मात्र । एक हात खन्दा पनि माटा—रोडाको उरुङ थुप्रो, एउटा ढिस्को नै बन्ने । ती टनका टन माटा—ढुंगा छुमन्तरमै गायब गरिन्थ्यो ।

***

चौकीदार—नाइके र जेल प्रशासनले भेउ पाउने हो कि ? एक—एक सास र एक—एक मुटुको चालमा निगरानी गर्नुपर्थ्यो । जेलको वातावरण सहज बनाउन, दैनन्दिनकै रुटिङले सरल बनाउन सबै कमरेडहरु रत्तिभर चुक्नुभएन । बन्दीहरुसँग गफगाफ गर्ने कमरेड हर्क—धर्मको टोलीले आकाश—पातालको गफ लडाएरै मख्ख पार्ने, भलिबल—टेबलटेनिस—चेस खेल्ने कमरेड घनेन्द्र—नरेशको टोलीले खेलेरै ढुक्क पार्ने र कमरेड प्रदीपको टोलीले गीति कार्यक्रम गरेरै छक्क पार्ने ! उनीहरुलाई लाग्यो— झापाली कमरेडहरु गफमा, खेलमा, गानाबजानामा मख्खै छन्, मस्तै छन् । अनि उनीहरुलाई विश्वास भयो- कम खाना, गम रहना, चटपट न करना, धुसा ओढना, मस्त सोना, तब कटेगा जेलखाना’ (यी पंक्ति जेलका कहावत हुन्) मै चुर्लुम्म डुबेका छन्, मज्जाले रत्तिएका छन् । त्यहाँ हामीले नाटक खेलेका थियौँ, उनीहरुले हाम्रो नाटकको मूलकथा बुझ्नै सकेनन् । उता शनैः शनैः सुरुङ झन् लामो, झन् लामो हुँदै थियो । योजनाले राम्रो लक्षण देखाउँदै थियो । जेल साविकझैँ चलिरहेथ्यो । कुनै हलचल थिएन । हामी खुसीले उफ्रिँदै थियौँ । एकदिन त आम्मै हौ हुरुरुरु....पुलिस र नाइकेहरु आए, सुरुङ खनेको कोठा र बाहिर सुरुङ खनेको जमिनमाथि ढ्यापढ्यापेले । ढ्याप—ढ्याप, ढ्याप—ढ्याप’ पारी त हाल्यो । लौ सत्यानाश भो ! हामी असिना—पसिन भयौँ । हामी त्यस्ता मान्छे हुँदै होइनौँ, हामीले क्यै गरेकै छैनौँ, शंका लिनै पर्दैन’ भन्न बाध्य भयौँ । (मनमनै चाहिँ औंलाले देखाउदै ! त्यहाँ.....हामीले सुरुङ खनेकै छैनौँ, तर सुरुङ खनेको त हो है !) अनि उनीहरुका ढ्यापढ्यापेले नि फेल खायो, बेकामे साबित भयो ।

(डीएसपीले कुकुर ल्याको भएचाहिँ हाम्रो दाल गल्थ्यो होला, कञ्चटबाट महाकाली तेल चुहिन्थ्यो होला !) उनीहरु फुस्रो भएर फर्केपछि हामीले सञ्चले लामो सास तान्यौ । यो अचानकको जाँचपडतालले ढ्यांग्रो बजाइसकेको थियो । अब अरु उच्च सतर्कताको खाँचो भयो । हाम्रो एकता र सहकार्य झन् बलियो भयो । दुई दिन सुरुङ खन्न बन्द गर्‍यौँ । शंकाको तुष हट्यो र फेरि खन्न थाल्यौं । खन्दै- खन्दै सुरुङ बाहिरी पर्खालमा ठोक्कियो । जग रहेछ ढुंगै—ढुंगाको, सुरुङ ठोक्कियो सुरुङकै मुखजत्रो ढुंगामा । फेरि दुर्भाग्य आइलाग्यो । समाधानका लागि बैठक बस्यो । भरसक ढुंगा निकाल्ने, नत्र छेउबाट सुरुङ घुमाउने । म पसे सुरुङमा, ढुंगाको चारैतिरको नक—नक र कोर खोतल्नुपर्थ्यो, खोसिँ्रदै गए । त्यस रात आधामात्रै नक खोलियो । भोलिपल्ट फेरि सुरु गरियो । रातभरिमा नक र कोर खोले । अब ढुंगा तान्नुपर्ने, तान्दा घ्याच्च पर्खाल धस्सिने हो कि ! मनमा गहिरा कुरा खेल्यो । हंस कोठामा टाँसेर आएकै थियौँ, ज्यान कर्कलोको पातमा चढाएकै थियौँ । भएभरको बलले ताने ढुंगा, अहो खुल्यो भाग्य ! बडेमानको ढुंगा— बाहिर ल्याउनु सम्भव थिएन र मनासिव पनि थिएन, त्यहींभित्र चिहान खनेर दफ्नायौँ ।

***

अब सुरुङले जेल बाहिरको सररर... यात्रा थाल्यो । हाम्रो इन्जिनियरिङले सुरुङ बयरको झ्याङमुनि पुग्यो । एकदम सही निसानामा सुरुङ टुंगियो । बाहिरी स्थिति ज्ञातका लागि सुरुङको सानो आँखी—प्वाल बनाइयो र दुर्बिनले झैं हेरियो । अहा ! क्या राम्रो लहलह....आलुबारी ! सुरुङ उद्घाटनदेखि समापनसम्मको यात्राले बत्तीसौँ दिन खाएछ । ढिलो गर्नु र शूली चढ्नु एउटै अर्थ हुन्थ्यो । बिहान झटपट बैठक बस्यो । त्यसै रात अर्को संसार टेक्ने निणर्य भयो । त्यस दिन ६ वटा खरायो ढाली भोज खाइयो । भएको रुपैयाँ दामासाहीले बाँडियो । जिन्सी पनि बाडँफाँड भयो । मेरो घरबाट आएको, मायाले नलाई— नलाई राखेको रातो ज्याकेट कमरेड प्रदीपले पहिरिनुभयो । भलिबल, टेबलटेनिस खेल्न किनेको मेरो नयाँ स्पोर्ट जुत्ता कमरेड नारदले लाउनुभयो । अन्य कमरेडहरुलाई के-के भाग पर्‍यो, मलाईचाहिँ पर्‍यो— कमरेड अशोकको थोत्रो, औंलामा प्वाल परेको, साँघुरो जुत्ता । आफ्नो होइन, अरुको सेवा गर ! भन्ने नीति नै थियो ।

छोटो दिन हो कि लामो दिन हो, घाम पनि ढल्किँदै—ढल्किँदै पर झन् पर पुग्दै थियो । त्यो दिन, अन्तिम जेल बसाइ हुँदै थियो । त्यसै रातदेखि जेल सम्झना...र बिर्सना...को तरेलीमा पुग्दै थियो । दिनै खप्टिएर लामो भ’को महसुस भैरहेथ्यो । अनि अन्तिम पलसम्म के कसो होला । विजय—पराजय के होला । कस्ता समस्या आइपर्ला । के—के भोग्नुपर्ला । घामले पनि फर्पिङ डाँडा छिचोल्यो । हामीले पनि नेटो काट्नु थियो । खासमा सुरुङ खन्ने कमरेडहरुको बलिदानी आत्मत्याग, चौकीदारचाहिँ खलनायक’, कमरेड हर्कचाहिँ चौकीदारको भूमिकामा र कमरेड सीपीको सबल वैचारिक नेतृत्वले यो सम्भव हुँदै थियो । मिहेनतले खनेको सुरुङ पनि संग्रहालयमा परिणत हुँदै थियो । अब केही मिनेटमै जेल प्रशासन थाङ्नामा सुकला हुँदै थियो । र कांग्रेस मित्रहरु पनि नराम्ररी भुस बन्दै थिए । अनि भोलिका दिन राज्यसत्ताका राजाहरुलाई फिलिम हेर्‍याझैं लाग्ने... । चारैतिर झमक्कै रात परिसकेको थियो, विद्रोहको समय सामुन्ने आउँदै थियो । र हामी मैदानमा फुटबल खेलाडीझैँ आ—आफ्नो पोजिसनमा सल्बलाउन थाल्यौँ ।

***

ड्याम्म.... ! छत्तीस नम्बरको ग्रिनेड पड्किएझैँ आवाज आयो जेल अत्याउने गरी । खैलाबैला भयो र गल्याङ-मल्याङको आवाज आउन थाल्यो । माफ गर्नुहोला, यो पड्केको ग्रिनेड थिएन । यो बिजुलीको मेन ट्रान्समिटर बक्स पड्किएको थियो, ग्रिनेड जसरी । जेल झ्याप्प कालो-नीलो रंगमा अँध्यारो भयो । अँधेरी रातमा झन् अँध्यारो खप्टिएको थियो । अगाडिको आकृति अकिञ्चन ठम्याउन नसकिने मुस्लो अन्धकार छायो । केही मिनेटको खलबल पनि विस्तारै हावामा हराउँदै गयो । नाइकेहरु भोलि मात्र बिजुली आउने भन्दै थिए । जेलै कालो भएपछि नाइके-प्रहरीहरु हाइ-अलर्ट ड्युटीमा थिए । मान्छेका स्वरहरु पनि दबिसकेको थियो र सन्नाटा छायो । शान्त र चकमन्न रात दोहोरियो । वास्तवमा त्यहाँ, त्यसबेला, खतराको पल र जटिल समयमा हामीलाई प्राकृतिक चिठ्ठा परेको थियो । प्रकृतिले हामीलाई अनुकूलता प्रदान गरेको थियो । योजना त थियो बिजुली सर्ट-अफ गर्ने ।

त्यस टोलीमा कमरेड नारद, अशोक, गोपाल लागिरहनुभएको थियो । उहाँहरुले शौचालयबाट रडले सर्ट गर्नुभयो । तर शौचालयदेखि अघिको कनेक्सनमा मात्र सीमित ठाउँमा बिजुली गयो । चार दिवार पर्खालको चार ठाउँको पाँच सय वाटसहित अन्य ठाउमा बत्ती गएन । जेल झलमल्ल थियो । हामी समस्यामा फसिरहेका थियौँ । यत्तिकैमा एउटा चमत्कारै भयो । हाम्रो लागि प्राकृतिक शक्ति बलवान भएर आयो । हाम्रो पक्षमा हावापानी, आँधी-बतास, हुरी-हुन्डरी आइदियो । चार दिवारको नाङ्गो तार झ्याम-झ्याम जुध्न थाल्यो, बत्ती झिलिप-झिलिप हुन थाल्यो र चटट-चटट आगोका झिल्काहरु फाल्न थाल्यो ।

तुरुन्तै करेन्ट सर्ट भई ट्रान्समिटर ग्रिनेडझैँ पड्कियो । जेललाई अँध्यारो कालले घ्याप्प छोप्यो । पहिले-पहिले पनि त्यहाँ आँधी-हुरी-हुन्डरी आउँदा लाइन जान्थ्यो र भोलिपल्ट मात्र बत्ती आउथ्यो । अहिले पनि हामी देख्छौँ, आँधी-हुरी-हुन्डरी आउँदा लाइन सर्ट हुन्छ नै, बत्ती जान्छ नै । संसारमा प्राकृतिक शक्ति दिग्विजयी छ । यहाँ यस्तै भएको थियो प्रकृतिसँग जेलले हार्‍यो र कैदीले जिते । प्रकृतिले हामीलाई शुभसाइत दिलायो । जेल विद्रोहको खेल अँध्यारो मैदानमा खेल्नु थियो । अँध्यारोमै छक्याएर गोल हान्नु थियो । बल हाम्रो खुट्टामा थियो । पास खेल्दै नेटमा छिराउनु थियो ।

***

चैत्र १२ गतेको त्यो रात । अग्ला-अग्ला चार दिवार । दिवारमाथि नाङ्गो तारको झन्झनाहट । नाइकेहरु कराउँदै थिए- खबरदार! खबरदार !! प्रहरीहरु चिच्याउँदै थिए- होशियार ! होशियार !! दिवारबाहिर राइफलधारीहरु लेफ्ट-राइट, लेफ्ट-राइट’ फन्को लाउँदै थिए । अग्लो-अग्लो चार बुर्जाका सेन्ट्रीहरु हतियार ठ्याक-ठ्याक, ठुक-ठुक पार्दै ‘ठीक छ, ठीक छ’ भन्दै थिए । रात परेपछि उनीहरुको बेग्लै फुर्तिफार्ती देखिन्थ्यो । लडाइँमा मार्चपास गरेजस्तो, लडाइँ लड्न तयार भएजस्तो, लडाइँ नै लडिरहे जस्तो । त्यहाँ थियौँ हामी झापा विद्रोह गर्ने झापाली विद्रोही कम्युनिस्टहरु । जमिनमाथि उनीहरुको सतर्कता, जमिनमुनि के सतर्कता ? जमिनमाथि शक्ति देखाएर त नाचेकै थिए । हाम्रो योजनाको गोपनीयता र जमिनमुनिको चक्रव्यूहको के भेउ नि ? यो जमिनमुनिको लडाइँ थियो । हो, सुरुङ विद्रोहबाट शासक परास्त गर्नु थियो ।

त्यो १० बजेको कालो रात । पन्ध्र जनाको हाम्रो पल्टन अब अगाडि बढ्यो, सामनेको मृत्यु त्यान्द्रोसरि वरण गर्दै । सामूहिक त्यागले सफलता प्राप्त गर्नु थियो । जेल कमिटीको आपत्कालीन बैठक बस्यो । सबै कमरेडहरु आफै छिटो निस्किने ध्याउन्नमा थिए । सबैलाई अघि पठाई आफूलाई कमरेड सीपीले अन्तिम लिस्टमा राख्नुभयो । मैले त्यो लिस्ट अनुचित ठाने र काटे । सबै मूल्यांकन गरेर चार समूहको लिस्ट बनाएँ । त्यो प्रस्ताव अनुमोदन भयो । सुरुङ पार गर्न अब चार समूह तम्तयार थियो । एक-दुई-तीन समूह पालो-पालो गर्दै सुरुङतिर लम्कियो । क्रान्तिलाई, पार्टीलाई....सलाम गर्दै कमरेड सीपीको समूह पार भयो । लगत्तै कमरडे नरेशको समूह पार भयो । तुरुन्तै कमरेड हर्कको समूहले सुरुङ पार गर्‍यो । र अन्तिम मेरो समूह थियो । मेरो समूहको कमरेडहरुले पनि निमेषभरमै सुरुङ पार गर्नुभयो । बाहिर भूमिगत पार्टीमा-केन्द्रमा कमरेड सीपीको महत्त्व थियो र अन्य बौद्धिक कमरेडहरुको । सबै कमरेडहरुलाई अघि लगाएँ । म अन्तिममा- जे सहुँला, भोगुँला, सहीछाप ठोके । अनि म पनि लम्किए सुरुङतिर, सबै कमरेडहरुको तर्फबाट जेललाई बिदा गर्दै सुरुङभित्र पसेँ।

सुरुङको घर्रामा झ्याँसझुस राखे र घर्रा लगाए । सुरुङको भित्तामा कमरेड माओत्सेतुङको फोटो टाँसेँ । चार पाउ घस्रिँदै बाहिरी मुखमा पुगे, टाउको निकालेर आँखा डुलाए र कान थापेँ । सब ठीक पाएँ । प्रहरी आफ्नै तालमा, म आफ्नै सुरमा । गुरिल्ला चालमा फुत्त निस्किएँ । कुइनाले आलुबारी घस्रिएँ । नक्खु खोला पार गरेँ र डिलमा पुगेँ, जहाँ कमरेडहरुलाई मेरो प्रतीक्षा थियो । म पुग्नासाथ सफलताको खुसी हामीमा छायो । हाम्रो योजनाले चरण-चरणको खुड्किलो चढ्दै, संगीन जोखिम मोल्दै विजय पाउन सफल भयो । त्यो क्षण राज्यसत्ताको जेलनेल, ऐन-कानुन कागजको खोस्टो भएको थियो । हामीलाई खुला आकाशले स्वागत गर्दै थियो । हामी मुक्त जमिन टेक्दै थियौ । र जनताको काखमा पुग्न आतुर थियौं । बाई- बाई नक्खु जेल ! हामीले छिटो-छिटो कदम अगाडि बढायौं ।

जेल विद्रोह त भयो, तर खुसीले उफ्रनु थिएन । अब पाइला-पाइला दु्ःखकष्ट र संकट आइलाग्दै थियो । कहाँ खानु- पिउनु, कहाँ आराम गर्नु, कता हिँड्नु, कता पुग्नु, के भन्नु, के गर्नु, बडो विरोधाभास । समूह, जोडा र एक्ला-एक्लै खतरा पन्छाउँदै हिँड्यौँ । म दायाँ-बायाँ छलिँदै, भावभंगिमा बदल्दै, हाउभाउ फेर्दै झापा पुगेँ र पार्टीको सम्पर्कमा रहेँ । जनताको न्यानो पाउँदा हर्षित भए । दुश्मनलाई छक्काउँदा र मूर्ख बनाउँदा रोमाञ्चित भएको थिएँ । अब जेलभित्रको बन्दी जीवन होइन, बाहिरी संसारी जीवन, पार्टी र जनताको जीवन जिउन सुरु भयो । जसै मेरो खुसी क्षणभर टिकेन, तसै पानी-पानी भयो । हामी पन्ध्रजना विद्रोहीमध्ये पाँच जना विद्रोही नरेश, घनेन्द्र, धर्म, भीष्म र नारद पुनः पक्राउ परेको खबरले दुःखी भए । मन जलन भयो । के जेल विद्रोह असफल भएको हो ? भन्ने दोमन भयो । संघर्ष हो जीवन, जीवन संघर्ष हो ! चन्द्रमा नि आफ्नो कक्षमा घुम्दा-घुम्दै खुँडो पर्छ, संघर्षमा नि क्षतिको भाग रहेकै हुन्छ । हो त नि ! मन बुझाए ।

जे गरियो, जो भयो, जस्तो भइपरी आयो । भनौं नक्खु जेल विद्रोह सफल रह्यो । नेपाली जनताले अनुमोदन गर्‍यो । श्रेय पार्टी को-अर्डिनेसन केन्द्रलाई गयो । बस् ! जेल विद्रोह गरेर टाउकोको नाम्लो बिसाइएको थियो, मनमा जेलका केही तर्कनाहरु आए । नक्खु जेलमा (अन्य जेलमा हुँदाको प्रयासपछि) हामीले यस्तो कदम चालिरहेका थियौँ, जसमा राजशाही- तानाशाही पञ्चायती सरकारलाई एउटा कडा टक्करको चुनौती दिइरहेका थियौँ- जेलब्रेकमार्फत । कम्युनिस्ट आन्दोलनमा विरलै हुने, पार्टीको जीवनमा दुर्लभ घट्ने घटना हुँदै थियो ।

झापा विद्रोहपछि अर्को विद्रोह- जेल विद्रोह रचियो । प्रतिक्रियावादीका सामु झापालीहरुको अदम्य साहस पोखियो । देश र जनताको निम्ति जीवित रहने कि बलिदान दिने संगिन मोड रहेको थियो । अन्त्यमा हामीले दायाँ-बायाँ, अघि-पछिका विघ्नबाधा परास्त गर्दै विजय प्राप्त गरेका थियौँ । होइन हो, यो हर्क खड्काले दस जना जिमदारको टाउकाको माला लाको रे ! खतरै मान्छे हो है ! जेलभित्र कसै-कसैले गाइँगुइँ कुरा गरेको सुनिन्थ्यो । हुन पनि हो, अग्ला हट्टाकट्टा ज्यानको, झापा संघर्षका कमान्डरै हुन् । किन विश्वास नहुँदो हो ? यो सीपी मैनाली भन्नेको टाउको (दिमाग !) त पाँच जनाको टाउको बराबर ऊ एक्लैको छ रे, बाफ रे ! जेलभित्र एक कान, दुई कान चर्चा गरेको सुनियो । विश्वास पनि किन नहोस् ? कमरेड सीपी’ नाम किम्वदन्ती भइसकेको थियो । यो जेलमा कति कम्युनिस्टहरु आए-गए, वास्तै भएन । तर यी झापाली कम्युनिस्टहरु फरक खालको देखियो । दिलदेखिको कम्युनिस्ट भावनाले जेलब्रेक सम्भव भएको थियो । जहाँ कम्युनिस्ट बन्दी, त्यहीँ जेल विद्रोहको तानाबाना । क्रान्तिको सदावहार अभिन्न अंग । जेल विद्रोहको झापाली लाइन, कम्युनिस्ट पार्टीको लाइन, पार्टी केन्द्रको निर्देशन थियो । नक्खु जेल यो चिन्तनबाट अछुतो रहने कुरै भएन ।

म जेल विद्रोहपछि झापा पार्टी सम्पर्क गरी पुनः भूमिगत भएँ । म सर्वस्वहरणसहित जन्मकैदको कैदी थिएँ । पछि नाबालक भनी अर्ध-कैद सुनाएयो । दुई वर्षअघि जन्मेको भए । सुखानीतिर डोर्‍याउने रहेछन् । क्रान्तिमा गोली भनेको के हो, छातीमा अनुभव हुन्थ्यो होला । त्यसबाट बँचियो । अर्को इतिहास रच्ने अवसर मिल्यो । आजका दिनसम्म विगतको त्यो विश्वास र आस्थालाई सँगालेरै जीवन अगाडि बढ्दो छ ।

-'नक्खु जेल विद्रोह' बाट साभार । चर्चित नक्खु जेलब्रेक घटनामा संलग्न जीवन मगरको सोमबार ६३ वर्षको उमेरमा निधन भएको छ ।

प्रकाशित : असार ८, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?