नक्खु जेलको अपुरो कथा- विविधा - कान्तिपुर समाचार

नक्खु जेलको अपुरो कथा

'मेलम्चीको सुरुङबारे हामीले सुनेकै छौँ । योचाहिँ जेलको सुरुङ खन्दाको कथा हो । त्यो र यो दुवै सुरुङ नै हो । अब यहाँ त्यो मेलम्चीको होइन, अर्कै मेलम्चीको सुरुङ बन्दै थियो । पानी लैजाने होइन, मान्छे लैजाने सुरुङ ।'
जीवन मगर

चालीसौँ वर्ष पाइला टेकेछ । दशकौं पुराना पाइलाहरु....। हिजोझैँ, आजझैँ लाग्ने । त्यो एउटा अँध्यारो रात, सम्झनामा सल्बलायो । कतिऔँ दिन, कतिओँ रात बिते । एउटा मानिसको चालीस वर्ष—जीवनको उर्बर वर्षहरु । बर्सेनि आँउथ्यो, जान्थ्यो- त्यो महिना चैत्र ।

सम्झना हुन्थ्यो, त्यस रातको, अनि बिस्तारै बिर्सनातिर पुग्थ्यो । लोकले चर्चा गर्थ्यो, कथाहरु बुनिन्थ्यो, अनि फेरि ओझेल पर्दै जान्थ्यो । स्मरण हुने, अझ नयाँ चेतमा स्मरण हुने, लोक-चर्चा थपिँदै जाने, त्यसरी नै गोधूलि पर्दै विलीन पनि हुने । त्यो बेलाको अर्कै संसार, थियो अर्कै नेपाल । कति जोर भोटा-कछाड फाटे, कतिऔँ क्युसेक पानी बहे । र अहिलेको यो संसार, यो नेपाल । इतिहास रहेछ यो त, बिर्संदै नबिर्सने ऐतिहासिक । वर्षहरु थपिँदै जान्छन्, पत्रपत्र भएर थपिँदै नै जान्छन् । यो वर्ष- २०७३ साल चैत्र १२ भने केही भिन्न भएरै आयो । कताकति केही लिएरै आयो । ‘ओल्ड इज गोल्ड’ भने जस्तो जति पुरानो उति चमक लिएर आयो । ...चालीस वर्ष भएछ है कमरेडहरु नख्खु जेल ब्रेक...’

घडीको सुई देखाउँदै हुनुहुन्थ्यो कमरेडहरु । धन्य-धन्य कमरेडहरु उहाँहरु मेरो मनमा छपक्कै बस्नुभयो । कौतुहल मनले भन्न मन पनि लाग्यो यो चालीसौँ वार्षिकोत्सव मेरा जीवनका अनन्त पाइलाहरु..., वर्षहरुका लामा-लामा मालाहरु...। र मेरी श्रीमतीकै उमेर पछ्याउँदै आएको यो चालीस वर्षको आगामी पाइलाहरुले नयाँ सन्देश दिएरै जाओस् ।

***

नक्खु जेल— राजनीतिक बन्दीगृह । जहाँ हामी झापाली कम्युनिस्टहरुलाई थुनिएको थियो । झापालीहरुलाई थुन्न पाउँदा शासकहरु हाइसञ्चोमा थिए । र, झापा विद्रोह सधँैका लागि दमन गर्‍यौँ भनी सोचेका थिए । तर शासकहरुलाई यो थाहै भएन कि हामी अर्कै तत्वका मानिस हौ । हामी जेल-ब्रेकको अनुकूल समय पर्खिरहेका थियौँ । त्यो समय पनि अनेकौँ गौँडा छिचोल्दै लुक्दै—छिप्तै आयो । त्यस समय नक्खु जेल कमिटी (कोके) को सचिव म थिएँ । जेल-ब्रेकको छलफल चल्दा-चल्दै एकदिन हाम्रो पंक्तिमा नियास्रो छायो । यसकारण कि जेल प्रशासनले अन्यायपूर्वक कमरेडहरु एमसी, आरके र केपीलाई जेल सरुवा गर्‍यो । र पनि हाम्रो योजनालाई मूर्तरूप दिन हामी लागिरह्यौँ । एउटा थाती रहेको काम थियो- पार्टी सदस्यता प्रदान । कमरेडहरु सूर्य कन्दब्वा, धर्म घिमिरे, भीष्म धिमाल र नारद वाग्लेलाई पार्टी सदस्यता प्रदान र ‘मुस्लो समूह’का कमरेडहरु गोपाल शाक्य, प्रदीप नेपाल, माधव पौडेल र वीरबहादुर लामाको पार्टी सदस्यता नवीकरणका साथ सामूहिक शपथ ग्रहण भयो । त्यसपछि जेलब्रेकको प्रस्तावमाथि केन्द्रित भयौँ ।

ब्रेकका अनेकौँ बाटाहरुको छलफल सँगसँगै कमरेड वीरबहादुर र माधवले सुरुङको आइडिया पेस गर्नुभयो । यो बाटो सफल भए कम क्षति हुने वा पूणर् सफल हुने देखियो । अन्य बाटाहरुलाई तपसिलमा राख्दै सुरुङको अभ्यासमा जाने मत पास गरियो । अभ्यासमा जाँदा असम्भव हुने भए अन्य बाटाहरुलाई मध्यनजर दिने टुंगो भयो । तुरुन्तै जेल कमिटीले सुरुङ खन्ने योजना बनायो र चार नम्बर ब्लकबाट खन्ने निणर्य भयो । उक्त कामको नेतृत्वका निम्ति मैले सचिवको कार्यभार कमरेड सीपीलाई हस्तान्तरण गरे । अब ठोस निणर्य भएपछि ठोस कार्यमा जुट्नु थियो । हामी कोही पनि इन्जिनियरिङ पढेका थिएनौँ । सुरुङबारे हाम्रो प्राविधिक ज्ञान पनि थिएन । न त कसैलाई सुरुङ खनेको अनुभव थियो । चिनियाँ क्रान्तिमा सुरुङ युद्धको कथा पढेका-सुनेका चाहिँ थियौँ । हामीले सुरुङको खाका तयार गर्यौँ र आफ्नै अभ्यासमा खन्ने निधो गर्‍यौँ । सुरुङ खन्ने कोठामा आँखा छल्न खरायो पाल्नुपर्थ्यो ।

एक गोठ खरायो र सुरुङ खन्न लाग्ने जिन्सी सामानहरुको जोरजाम कमरेड हर्कले गर्नुभयो । तीनवटा खरायोको खोर बनिसकेको थियो र दसवटा खरायो खेल्न थालिसकेका थिए । अब झट्टै कमरेड सीपी, हर्क, वीरबहादुर र म कोठामा छिर्‍यौँ । एउटा खोरबाट सुरुङको ढोका निर्माण गर्नु थियो । कमरेड हर्क र वीरबहादुर किसान चरित्रका व्यावहारिक मान्छे, उहाँहरुले तीन फिट खनेर सुरुङको मुख बनाउनुभयो । सुरुङमा घर्राको ढोका पनि निर्माण गर्नुभयो । यो काम हाम्रो पंक्तिभित्र पनि अत्यन्त उच्च गोपनीयताका साथ भएको थियो । यो थियो- फागुन १० गतेको दिन, जहाँ सुरुङको शिलान्यास भयो— जेल विद्रोह जिन्दावाद ! मुठ्ठी कस्दै एक स्वरमा गुञ्जियो ।

***

त्यो योजना मेलम्चीको सुरुङजस्तो कथैकथा पनि थिएन । अनि ठेकेदार र इन्जिनियरको जस्तो ‘ढिलासुस्ती’ गर्नु पनि थिएन । वैज्ञानिक उपकरणहरु, मेसिनहरु, औजारहरु हाम्रा हातमा थिएनन् । थियो त सिर्फ एउटा खेलौनाजत्रो सानो कुटो, एउटा फलामे सानो बूढो पनिउँ र एउटा सानो कसैले फालेको थोत्रे छाताको डन्डी । पनिउँ त फेरि बिहान—बेलुकी भात पकाउन पनि प्रयोग गर्नुपर्ने । हाम्रा हातमा यिनै तीन सामान मात्र थिए । यिनै तीन हतियार पूज्य बन्यो, महादेवले तथास्तु भनी पठाएजस्तो । मेलम्चीको सुरुङबारे हामीले सुनेकै छौँ । योचाहिँ जेलको सुरुङ खन्दाको कथा हो । त्यो र यो दुवै सुरुङ नै हो । अब यहाँ त्यो मेलम्चीको होइन, अर्कै मेलम्चीको सुरुङ बन्दै थियो । पानी लैजाने होइन, मान्छे लैजाने सुरुङ । अब सुरुङले तेर्सो बाटो हिँड्न थालेको थियो । एवंरितले एक रात, दुई रात, एक दिन, दुई दिन गर्दै सुरुङ परपर पुग्दै थियो । हाम्रो ‘इन्जिनियरिङ’ मेल खाँदै थियो, जेलको पहरा फेल खाँदै थियो । निरन्तर खन्नेमा कमरेड जीवन, वीरबहादुर, माधव, भीष्म र गोपाल हुनुहुन्थ्यो ।

अन्य कमरेडहरुले पनि आंशिक रूपमा खन्नुभयो । खन्ने टिमको नेतृत्व जेल कमिटीले मलाई दिएको थियो । सुरुङ धस्सिए ज्यान जाने, ज्यानकै बाजी थियो । नक्खु खोला छेउको जेल, बालुवा-ढुंगा मिसिएको गेग्रान माटो, जति-जति खन्यो, सुरुङ भास्सिने हो कि नजर लाइरहनुपर्ने । भास्सिएमा जिब्रो टोक्नुपर्ने, जीवित फर्किने कुनै उपाय थिएन । कडा जोखिम मोलेर खन्नुपर्थ्यो । एक—एक घडी, एक—एक पाइला, एक—एक सास ज्यानको खतरा थियो । हंस कोठामै छाडेर, मृत्यु पातमा राखेर खन्नुपर्थ्यो । सुरुङ जति लामो हुँदै गयो, उति अक्सिजन कम हुने र निस्सासिनुपर्ने । एक पटक सुरुङ धस्सिन थाल्यो । अब के होला ? के गर्ने ? तुरुन्तै बैठक बस्यो । समाधान निकालियो— सुरुङको दुवै छेउ इँटाको गारो लगाई, छतमा दाउराको चाब लगाई, थोत्रा लत्ता—कपडा कोची रोकथाम गरियो । सुरुङ खन्दा होसियारी राख्नुपर्ने, गोलाकार खन्नुपर्ने, लेभल हेर्नुपर्ने र एक मान्छे लामो खनेपछि घुमफिर गर्ने सेल्टर बनाइन्थ्यो । कहिलेकाहीँ पानी उम्रिन्थ्यो र ढुंगा छापी बुजो लगाइन्थ्यो । हाम्रो हातमा कमसल औजार ! रातोदिन खन्दा पनि एक हात मात्र । एक हात खन्दा पनि माटा—रोडाको उरुङ थुप्रो, एउटा ढिस्को नै बन्ने । ती टनका टन माटा—ढुंगा छुमन्तरमै गायब गरिन्थ्यो ।

***

चौकीदार—नाइके र जेल प्रशासनले भेउ पाउने हो कि ? एक—एक सास र एक—एक मुटुको चालमा निगरानी गर्नुपर्थ्यो । जेलको वातावरण सहज बनाउन, दैनन्दिनकै रुटिङले सरल बनाउन सबै कमरेडहरु रत्तिभर चुक्नुभएन । बन्दीहरुसँग गफगाफ गर्ने कमरेड हर्क—धर्मको टोलीले आकाश—पातालको गफ लडाएरै मख्ख पार्ने, भलिबल—टेबलटेनिस—चेस खेल्ने कमरेड घनेन्द्र—नरेशको टोलीले खेलेरै ढुक्क पार्ने र कमरेड प्रदीपको टोलीले गीति कार्यक्रम गरेरै छक्क पार्ने ! उनीहरुलाई लाग्यो— झापाली कमरेडहरु गफमा, खेलमा, गानाबजानामा मख्खै छन्, मस्तै छन् । अनि उनीहरुलाई विश्वास भयो- कम खाना, गम रहना, चटपट न करना, धुसा ओढना, मस्त सोना, तब कटेगा जेलखाना’ (यी पंक्ति जेलका कहावत हुन्) मै चुर्लुम्म डुबेका छन्, मज्जाले रत्तिएका छन् । त्यहाँ हामीले नाटक खेलेका थियौँ, उनीहरुले हाम्रो नाटकको मूलकथा बुझ्नै सकेनन् । उता शनैः शनैः सुरुङ झन् लामो, झन् लामो हुँदै थियो । योजनाले राम्रो लक्षण देखाउँदै थियो । जेल साविकझैँ चलिरहेथ्यो । कुनै हलचल थिएन । हामी खुसीले उफ्रिँदै थियौँ । एकदिन त आम्मै हौ हुरुरुरु....पुलिस र नाइकेहरु आए, सुरुङ खनेको कोठा र बाहिर सुरुङ खनेको जमिनमाथि ढ्यापढ्यापेले । ढ्याप—ढ्याप, ढ्याप—ढ्याप’ पारी त हाल्यो । लौ सत्यानाश भो ! हामी असिना—पसिन भयौँ । हामी त्यस्ता मान्छे हुँदै होइनौँ, हामीले क्यै गरेकै छैनौँ, शंका लिनै पर्दैन’ भन्न बाध्य भयौँ । (मनमनै चाहिँ औंलाले देखाउदै ! त्यहाँ.....हामीले सुरुङ खनेकै छैनौँ, तर सुरुङ खनेको त हो है !) अनि उनीहरुका ढ्यापढ्यापेले नि फेल खायो, बेकामे साबित भयो ।

(डीएसपीले कुकुर ल्याको भएचाहिँ हाम्रो दाल गल्थ्यो होला, कञ्चटबाट महाकाली तेल चुहिन्थ्यो होला !) उनीहरु फुस्रो भएर फर्केपछि हामीले सञ्चले लामो सास तान्यौ । यो अचानकको जाँचपडतालले ढ्यांग्रो बजाइसकेको थियो । अब अरु उच्च सतर्कताको खाँचो भयो । हाम्रो एकता र सहकार्य झन् बलियो भयो । दुई दिन सुरुङ खन्न बन्द गर्‍यौँ । शंकाको तुष हट्यो र फेरि खन्न थाल्यौं । खन्दै- खन्दै सुरुङ बाहिरी पर्खालमा ठोक्कियो । जग रहेछ ढुंगै—ढुंगाको, सुरुङ ठोक्कियो सुरुङकै मुखजत्रो ढुंगामा । फेरि दुर्भाग्य आइलाग्यो । समाधानका लागि बैठक बस्यो । भरसक ढुंगा निकाल्ने, नत्र छेउबाट सुरुङ घुमाउने । म पसे सुरुङमा, ढुंगाको चारैतिरको नक—नक र कोर खोतल्नुपर्थ्यो, खोसिँ्रदै गए । त्यस रात आधामात्रै नक खोलियो । भोलिपल्ट फेरि सुरु गरियो । रातभरिमा नक र कोर खोले । अब ढुंगा तान्नुपर्ने, तान्दा घ्याच्च पर्खाल धस्सिने हो कि ! मनमा गहिरा कुरा खेल्यो । हंस कोठामा टाँसेर आएकै थियौँ, ज्यान कर्कलोको पातमा चढाएकै थियौँ । भएभरको बलले ताने ढुंगा, अहो खुल्यो भाग्य ! बडेमानको ढुंगा— बाहिर ल्याउनु सम्भव थिएन र मनासिव पनि थिएन, त्यहींभित्र चिहान खनेर दफ्नायौँ ।

***

अब सुरुङले जेल बाहिरको सररर... यात्रा थाल्यो । हाम्रो इन्जिनियरिङले सुरुङ बयरको झ्याङमुनि पुग्यो । एकदम सही निसानामा सुरुङ टुंगियो । बाहिरी स्थिति ज्ञातका लागि सुरुङको सानो आँखी—प्वाल बनाइयो र दुर्बिनले झैं हेरियो । अहा ! क्या राम्रो लहलह....आलुबारी ! सुरुङ उद्घाटनदेखि समापनसम्मको यात्राले बत्तीसौँ दिन खाएछ । ढिलो गर्नु र शूली चढ्नु एउटै अर्थ हुन्थ्यो । बिहान झटपट बैठक बस्यो । त्यसै रात अर्को संसार टेक्ने निणर्य भयो । त्यस दिन ६ वटा खरायो ढाली भोज खाइयो । भएको रुपैयाँ दामासाहीले बाँडियो । जिन्सी पनि बाडँफाँड भयो । मेरो घरबाट आएको, मायाले नलाई— नलाई राखेको रातो ज्याकेट कमरेड प्रदीपले पहिरिनुभयो । भलिबल, टेबलटेनिस खेल्न किनेको मेरो नयाँ स्पोर्ट जुत्ता कमरेड नारदले लाउनुभयो । अन्य कमरेडहरुलाई के-के भाग पर्‍यो, मलाईचाहिँ पर्‍यो— कमरेड अशोकको थोत्रो, औंलामा प्वाल परेको, साँघुरो जुत्ता । आफ्नो होइन, अरुको सेवा गर ! भन्ने नीति नै थियो ।

छोटो दिन हो कि लामो दिन हो, घाम पनि ढल्किँदै—ढल्किँदै पर झन् पर पुग्दै थियो । त्यो दिन, अन्तिम जेल बसाइ हुँदै थियो । त्यसै रातदेखि जेल सम्झना...र बिर्सना...को तरेलीमा पुग्दै थियो । दिनै खप्टिएर लामो भ’को महसुस भैरहेथ्यो । अनि अन्तिम पलसम्म के कसो होला । विजय—पराजय के होला । कस्ता समस्या आइपर्ला । के—के भोग्नुपर्ला । घामले पनि फर्पिङ डाँडा छिचोल्यो । हामीले पनि नेटो काट्नु थियो । खासमा सुरुङ खन्ने कमरेडहरुको बलिदानी आत्मत्याग, चौकीदारचाहिँ खलनायक’, कमरेड हर्कचाहिँ चौकीदारको भूमिकामा र कमरेड सीपीको सबल वैचारिक नेतृत्वले यो सम्भव हुँदै थियो । मिहेनतले खनेको सुरुङ पनि संग्रहालयमा परिणत हुँदै थियो । अब केही मिनेटमै जेल प्रशासन थाङ्नामा सुकला हुँदै थियो । र कांग्रेस मित्रहरु पनि नराम्ररी भुस बन्दै थिए । अनि भोलिका दिन राज्यसत्ताका राजाहरुलाई फिलिम हेर्‍याझैं लाग्ने... । चारैतिर झमक्कै रात परिसकेको थियो, विद्रोहको समय सामुन्ने आउँदै थियो । र हामी मैदानमा फुटबल खेलाडीझैँ आ—आफ्नो पोजिसनमा सल्बलाउन थाल्यौँ ।

***

ड्याम्म.... ! छत्तीस नम्बरको ग्रिनेड पड्किएझैँ आवाज आयो जेल अत्याउने गरी । खैलाबैला भयो र गल्याङ-मल्याङको आवाज आउन थाल्यो । माफ गर्नुहोला, यो पड्केको ग्रिनेड थिएन । यो बिजुलीको मेन ट्रान्समिटर बक्स पड्किएको थियो, ग्रिनेड जसरी । जेल झ्याप्प कालो-नीलो रंगमा अँध्यारो भयो । अँधेरी रातमा झन् अँध्यारो खप्टिएको थियो । अगाडिको आकृति अकिञ्चन ठम्याउन नसकिने मुस्लो अन्धकार छायो । केही मिनेटको खलबल पनि विस्तारै हावामा हराउँदै गयो । नाइकेहरु भोलि मात्र बिजुली आउने भन्दै थिए । जेलै कालो भएपछि नाइके-प्रहरीहरु हाइ-अलर्ट ड्युटीमा थिए । मान्छेका स्वरहरु पनि दबिसकेको थियो र सन्नाटा छायो । शान्त र चकमन्न रात दोहोरियो । वास्तवमा त्यहाँ, त्यसबेला, खतराको पल र जटिल समयमा हामीलाई प्राकृतिक चिठ्ठा परेको थियो । प्रकृतिले हामीलाई अनुकूलता प्रदान गरेको थियो । योजना त थियो बिजुली सर्ट-अफ गर्ने ।

त्यस टोलीमा कमरेड नारद, अशोक, गोपाल लागिरहनुभएको थियो । उहाँहरुले शौचालयबाट रडले सर्ट गर्नुभयो । तर शौचालयदेखि अघिको कनेक्सनमा मात्र सीमित ठाउँमा बिजुली गयो । चार दिवार पर्खालको चार ठाउँको पाँच सय वाटसहित अन्य ठाउमा बत्ती गएन । जेल झलमल्ल थियो । हामी समस्यामा फसिरहेका थियौँ । यत्तिकैमा एउटा चमत्कारै भयो । हाम्रो लागि प्राकृतिक शक्ति बलवान भएर आयो । हाम्रो पक्षमा हावापानी, आँधी-बतास, हुरी-हुन्डरी आइदियो । चार दिवारको नाङ्गो तार झ्याम-झ्याम जुध्न थाल्यो, बत्ती झिलिप-झिलिप हुन थाल्यो र चटट-चटट आगोका झिल्काहरु फाल्न थाल्यो ।

तुरुन्तै करेन्ट सर्ट भई ट्रान्समिटर ग्रिनेडझैँ पड्कियो । जेललाई अँध्यारो कालले घ्याप्प छोप्यो । पहिले-पहिले पनि त्यहाँ आँधी-हुरी-हुन्डरी आउँदा लाइन जान्थ्यो र भोलिपल्ट मात्र बत्ती आउथ्यो । अहिले पनि हामी देख्छौँ, आँधी-हुरी-हुन्डरी आउँदा लाइन सर्ट हुन्छ नै, बत्ती जान्छ नै । संसारमा प्राकृतिक शक्ति दिग्विजयी छ । यहाँ यस्तै भएको थियो प्रकृतिसँग जेलले हार्‍यो र कैदीले जिते । प्रकृतिले हामीलाई शुभसाइत दिलायो । जेल विद्रोहको खेल अँध्यारो मैदानमा खेल्नु थियो । अँध्यारोमै छक्याएर गोल हान्नु थियो । बल हाम्रो खुट्टामा थियो । पास खेल्दै नेटमा छिराउनु थियो ।

***

चैत्र १२ गतेको त्यो रात । अग्ला-अग्ला चार दिवार । दिवारमाथि नाङ्गो तारको झन्झनाहट । नाइकेहरु कराउँदै थिए- खबरदार! खबरदार !! प्रहरीहरु चिच्याउँदै थिए- होशियार ! होशियार !! दिवारबाहिर राइफलधारीहरु लेफ्ट-राइट, लेफ्ट-राइट’ फन्को लाउँदै थिए । अग्लो-अग्लो चार बुर्जाका सेन्ट्रीहरु हतियार ठ्याक-ठ्याक, ठुक-ठुक पार्दै ‘ठीक छ, ठीक छ’ भन्दै थिए । रात परेपछि उनीहरुको बेग्लै फुर्तिफार्ती देखिन्थ्यो । लडाइँमा मार्चपास गरेजस्तो, लडाइँ लड्न तयार भएजस्तो, लडाइँ नै लडिरहे जस्तो । त्यहाँ थियौँ हामी झापा विद्रोह गर्ने झापाली विद्रोही कम्युनिस्टहरु । जमिनमाथि उनीहरुको सतर्कता, जमिनमुनि के सतर्कता ? जमिनमाथि शक्ति देखाएर त नाचेकै थिए । हाम्रो योजनाको गोपनीयता र जमिनमुनिको चक्रव्यूहको के भेउ नि ? यो जमिनमुनिको लडाइँ थियो । हो, सुरुङ विद्रोहबाट शासक परास्त गर्नु थियो ।

त्यो १० बजेको कालो रात । पन्ध्र जनाको हाम्रो पल्टन अब अगाडि बढ्यो, सामनेको मृत्यु त्यान्द्रोसरि वरण गर्दै । सामूहिक त्यागले सफलता प्राप्त गर्नु थियो । जेल कमिटीको आपत्कालीन बैठक बस्यो । सबै कमरेडहरु आफै छिटो निस्किने ध्याउन्नमा थिए । सबैलाई अघि पठाई आफूलाई कमरेड सीपीले अन्तिम लिस्टमा राख्नुभयो । मैले त्यो लिस्ट अनुचित ठाने र काटे । सबै मूल्यांकन गरेर चार समूहको लिस्ट बनाएँ । त्यो प्रस्ताव अनुमोदन भयो । सुरुङ पार गर्न अब चार समूह तम्तयार थियो । एक-दुई-तीन समूह पालो-पालो गर्दै सुरुङतिर लम्कियो । क्रान्तिलाई, पार्टीलाई....सलाम गर्दै कमरेड सीपीको समूह पार भयो । लगत्तै कमरडे नरेशको समूह पार भयो । तुरुन्तै कमरेड हर्कको समूहले सुरुङ पार गर्‍यो । र अन्तिम मेरो समूह थियो । मेरो समूहको कमरेडहरुले पनि निमेषभरमै सुरुङ पार गर्नुभयो । बाहिर भूमिगत पार्टीमा-केन्द्रमा कमरेड सीपीको महत्त्व थियो र अन्य बौद्धिक कमरेडहरुको । सबै कमरेडहरुलाई अघि लगाएँ । म अन्तिममा- जे सहुँला, भोगुँला, सहीछाप ठोके । अनि म पनि लम्किए सुरुङतिर, सबै कमरेडहरुको तर्फबाट जेललाई बिदा गर्दै सुरुङभित्र पसेँ।

सुरुङको घर्रामा झ्याँसझुस राखे र घर्रा लगाए । सुरुङको भित्तामा कमरेड माओत्सेतुङको फोटो टाँसेँ । चार पाउ घस्रिँदै बाहिरी मुखमा पुगे, टाउको निकालेर आँखा डुलाए र कान थापेँ । सब ठीक पाएँ । प्रहरी आफ्नै तालमा, म आफ्नै सुरमा । गुरिल्ला चालमा फुत्त निस्किएँ । कुइनाले आलुबारी घस्रिएँ । नक्खु खोला पार गरेँ र डिलमा पुगेँ, जहाँ कमरेडहरुलाई मेरो प्रतीक्षा थियो । म पुग्नासाथ सफलताको खुसी हामीमा छायो । हाम्रो योजनाले चरण-चरणको खुड्किलो चढ्दै, संगीन जोखिम मोल्दै विजय पाउन सफल भयो । त्यो क्षण राज्यसत्ताको जेलनेल, ऐन-कानुन कागजको खोस्टो भएको थियो । हामीलाई खुला आकाशले स्वागत गर्दै थियो । हामी मुक्त जमिन टेक्दै थियौ । र जनताको काखमा पुग्न आतुर थियौं । बाई- बाई नक्खु जेल ! हामीले छिटो-छिटो कदम अगाडि बढायौं ।

जेल विद्रोह त भयो, तर खुसीले उफ्रनु थिएन । अब पाइला-पाइला दु्ःखकष्ट र संकट आइलाग्दै थियो । कहाँ खानु- पिउनु, कहाँ आराम गर्नु, कता हिँड्नु, कता पुग्नु, के भन्नु, के गर्नु, बडो विरोधाभास । समूह, जोडा र एक्ला-एक्लै खतरा पन्छाउँदै हिँड्यौँ । म दायाँ-बायाँ छलिँदै, भावभंगिमा बदल्दै, हाउभाउ फेर्दै झापा पुगेँ र पार्टीको सम्पर्कमा रहेँ । जनताको न्यानो पाउँदा हर्षित भए । दुश्मनलाई छक्काउँदा र मूर्ख बनाउँदा रोमाञ्चित भएको थिएँ । अब जेलभित्रको बन्दी जीवन होइन, बाहिरी संसारी जीवन, पार्टी र जनताको जीवन जिउन सुरु भयो । जसै मेरो खुसी क्षणभर टिकेन, तसै पानी-पानी भयो । हामी पन्ध्रजना विद्रोहीमध्ये पाँच जना विद्रोही नरेश, घनेन्द्र, धर्म, भीष्म र नारद पुनः पक्राउ परेको खबरले दुःखी भए । मन जलन भयो । के जेल विद्रोह असफल भएको हो ? भन्ने दोमन भयो । संघर्ष हो जीवन, जीवन संघर्ष हो ! चन्द्रमा नि आफ्नो कक्षमा घुम्दा-घुम्दै खुँडो पर्छ, संघर्षमा नि क्षतिको भाग रहेकै हुन्छ । हो त नि ! मन बुझाए ।

जे गरियो, जो भयो, जस्तो भइपरी आयो । भनौं नक्खु जेल विद्रोह सफल रह्यो । नेपाली जनताले अनुमोदन गर्‍यो । श्रेय पार्टी को-अर्डिनेसन केन्द्रलाई गयो । बस् ! जेल विद्रोह गरेर टाउकोको नाम्लो बिसाइएको थियो, मनमा जेलका केही तर्कनाहरु आए । नक्खु जेलमा (अन्य जेलमा हुँदाको प्रयासपछि) हामीले यस्तो कदम चालिरहेका थियौँ, जसमा राजशाही- तानाशाही पञ्चायती सरकारलाई एउटा कडा टक्करको चुनौती दिइरहेका थियौँ- जेलब्रेकमार्फत । कम्युनिस्ट आन्दोलनमा विरलै हुने, पार्टीको जीवनमा दुर्लभ घट्ने घटना हुँदै थियो ।

झापा विद्रोहपछि अर्को विद्रोह- जेल विद्रोह रचियो । प्रतिक्रियावादीका सामु झापालीहरुको अदम्य साहस पोखियो । देश र जनताको निम्ति जीवित रहने कि बलिदान दिने संगिन मोड रहेको थियो । अन्त्यमा हामीले दायाँ-बायाँ, अघि-पछिका विघ्नबाधा परास्त गर्दै विजय प्राप्त गरेका थियौँ । होइन हो, यो हर्क खड्काले दस जना जिमदारको टाउकाको माला लाको रे ! खतरै मान्छे हो है ! जेलभित्र कसै-कसैले गाइँगुइँ कुरा गरेको सुनिन्थ्यो । हुन पनि हो, अग्ला हट्टाकट्टा ज्यानको, झापा संघर्षका कमान्डरै हुन् । किन विश्वास नहुँदो हो ? यो सीपी मैनाली भन्नेको टाउको (दिमाग !) त पाँच जनाको टाउको बराबर ऊ एक्लैको छ रे, बाफ रे ! जेलभित्र एक कान, दुई कान चर्चा गरेको सुनियो । विश्वास पनि किन नहोस् ? कमरेड सीपी’ नाम किम्वदन्ती भइसकेको थियो । यो जेलमा कति कम्युनिस्टहरु आए-गए, वास्तै भएन । तर यी झापाली कम्युनिस्टहरु फरक खालको देखियो । दिलदेखिको कम्युनिस्ट भावनाले जेलब्रेक सम्भव भएको थियो । जहाँ कम्युनिस्ट बन्दी, त्यहीँ जेल विद्रोहको तानाबाना । क्रान्तिको सदावहार अभिन्न अंग । जेल विद्रोहको झापाली लाइन, कम्युनिस्ट पार्टीको लाइन, पार्टी केन्द्रको निर्देशन थियो । नक्खु जेल यो चिन्तनबाट अछुतो रहने कुरै भएन ।

म जेल विद्रोहपछि झापा पार्टी सम्पर्क गरी पुनः भूमिगत भएँ । म सर्वस्वहरणसहित जन्मकैदको कैदी थिएँ । पछि नाबालक भनी अर्ध-कैद सुनाएयो । दुई वर्षअघि जन्मेको भए । सुखानीतिर डोर्‍याउने रहेछन् । क्रान्तिमा गोली भनेको के हो, छातीमा अनुभव हुन्थ्यो होला । त्यसबाट बँचियो । अर्को इतिहास रच्ने अवसर मिल्यो । आजका दिनसम्म विगतको त्यो विश्वास र आस्थालाई सँगालेरै जीवन अगाडि बढ्दो छ ।

-'नक्खु जेल विद्रोह' बाट साभार । चर्चित नक्खु जेलब्रेक घटनामा संलग्न जीवन मगरको सोमबार ६३ वर्षको उमेरमा निधन भएको छ ।

प्रकाशित : असार ८, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्

अनुगमनको डरले पसल बन्द

किसानले मल नपाएको र पाएको मल पनि बढी मूल्यमा किन्नुपरेको गुनासो
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दीमा मलखाद बिक्री वितरण हुने पसलको अनुगमन गर्न खोज्दा व्यापारी पसल नै बन्द गरेर भागेका छन् । इलाका प्रशासन कार्यालय हरिवनले लालबन्दी बजारमा रहेको एग्रोभेट, बीउबिजन र मलखाद बिक्री गर्ने पसलको अनुगमन गर्न खोज्दा व्यापारीहरू भागेका हुन् ।

मलमा कालोबजारी भइरहेको गोप्य सूचनाका आधारमा अनुगमन टोली बजारमा पुगेको थियो ।

अनुगमनका लागि बजारको एक पसलमा पुग्नासाथ अन्य व्यापारीहरू आ–आफ्नो पसलमा ताला लगाएर भागेको इलाका प्रशासन कार्यालयका प्रमुख सूर्य दाहालले बताए । ‘खेती किसानीको मुख्य सिजन भएकाले मलखाद, बीउबिजनको हामी निरन्तर अनुगमन गछौं, हेरौ कति दिन व्यापारीहरू पसल बन्द गर्दा रहेछन्,’ उनले भने ।

दाहालका अनुसार एग्रोभेटमा २ हजार २ सय रुपैयाँमा पाउनुपर्ने डीएपी मल २ हजार ५ सयभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको छ । सरकारबाट किसानका लागि पाएको अनुदान रकम पनि पसलेले लिइरहेको खरिदबिक्री बिलबाट फेला परेको दाहालले बताए ।

पसलमा स्टक मल नरहेकाले एकपटकलाई सम्झाइबुझाई गरेर छाडिएको उनले जानकारी दिए । दाहालका अनुसार खेतीकिसानीको मुख्य समयमा कृषि क्षेत्रका पसलका साथसाथै मल पाउने कृषि सहकारी संस्थाको पनि अनुगमन गरिनेछ । किसानले मल नपाएको र पाएको मल पनि बढी मूल्यमा किन्नुपरेको सर्वसाधारणको गुनासोपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको हो । मलमा कालोबजारी गरेको पाइएपछि केही दिनअघि वाग्मती नगरपालिका–४ जिरायतमा रहेको एक पसललाई जरिवाना तिराइएको थियो ।

यसअघि पनि जिल्लाका बयलबास, हरिवन, बरहथवा बजारमा अनुगमनको हल्लाले व्यापारीहरू पसल बन्द गरेर भागेका थिए । जिल्लामा नियमित बजार अनुगमन हुन नसक्दा व्यापारीहरूले ग्राहक ठग्ने र बेलाबखत हुने अनुगमनका क्रममा पसल बन्द गरेर भाग्ने प्रवृत्ति रहेको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताए । उनले चाडपर्वको बेला अथवा गोप्य सूचनाका आधारमा केही सीमित स्थानमा अनुगमन हुने र वर्षभरि चुप लागेर बस्दा दैनिक ग्राहक ठगिन बाध्य भएको जानकारी दिए ।

म्याद गुज्रिएका सामग्री ग्राहकलाई दिने, मूल्य सूची नराख्ने, उत्पादन मिति नराखी खाद्यान्न बिक्री वितरण गर्नेजस्ता कमीकमजोरी दैनिक भेटिने गरेको उनको भनाइ छ । ‘अनुगमनको दायरालाई फराकिलो नबनाउँदा दैनिक उपभोक्ता ठगिन बाध्य छन्,’ उनले भने, ‘दैनिक ग्राहकलाई ठग्ने व्यापारी अनुगमनको डरले पसल बन्द गरेर भाग्ने प्रवृत्ति बढेको छ, अनुगमनमा स्थानीय सरकारको पनि भूमिका हुनुपर्छ ।’

प्रकाशित : असार ८, २०७८ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×