१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अम्बरलाई शंकरको पत्र– ‘मैले झन्डै जीवन समाप्त गर्ने सोचेको थिएँ’

किशोर गुरुङ

यतिखेर हामी कोरोनाको विषमता भोगिरहेका छौं । निषेधाज्ञाको निस्तब्ध समयमा छौं । हामीमाझबाट अनेक आफन्त बिछोडिइरहेका छन् । समस्याले झन् समस्या निम्त्याइरहेको छ । रोग न्यूनीकरण गर्ने प्रयास त जारी छ तर कहिले उन्मूलन हुन्छ, किटान गर्न सकिने अवस्था छैन । 

अम्बरलाई शंकरको पत्र– ‘मैले झन्डै जीवन समाप्त गर्ने सोचेको थिएँ’

मानव संघर्षको यो कथा नौलो भने होइन । इस्वी संवत् १३४७ देखि १३५२ सम्म पाँच वर्षको अवधि युरोप प्लेग रोगबाट आक्रान्त थियो । यो रोगले युरोपको कुल जनसंख्याको एक तिहाइभन्दा बढी, करोडौं मानिसको ज्यान लिएको थियो । ‘ब्ल्याक डेथ’ कहलिएको त्यो विषम परिस्थितिबाट ज्यान गुमाउनेहरूमा बडेबडे संगीतकार, गायक–गायिका, चित्रकार आदि पनि थिए । ‘ब्ल्याक डेथपछि’ प्लेग लहरकै रूपमा देखिएको र एसिया–अफ्रिकामा समेत फैलिएको विज्ञहरू बताउँछन् । ‘ब्ल्याक डेथ’ले युरोपको कलासंस्कृतिमा कस्तो प्रभाव पारेको थियो भन्ने विषयमा लेख, किताब लेखिने क्रम आजसम्म पनि जारी छ ।

०००

एक–दुई महिनाअघि एउटा हराएको पत्र फेला पर्‍यो, साहित्यकार शंकर लामिछानेले अम्बर गुरुङलाई लेखेको (पत्रको सबै पृष्ठ फेला परेन) । चाैधौं शताब्दीको प्लेग महामारी र यो पत्रबीच कुनै सम्बन्ध छैन । तर यो पत्र मानव संघर्षको एउटा कथा भने हाे । कला र अभिव्यक्तिसँग गाँसिएको यो पत्र मार्मिक छ, प्रेरणादायक पनि । साह्रै इमानदारीपूर्वक लेखिएको पत्र अहिलेको यो परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक छ–

गएको दुई–तीन वर्ष मेरो जीवनमा साह्रै कष्टपूर्ण रह्यो । एक–दुई पटक मैले झन्डै जीवन समाप्त गर्ने सुद्ध सोचेको थिएँ । तपाईं यहाँ आउनुहुँदा म मेरो जीवनको मानसिक चिन्ताहरूको चरम सामनामा पुगेको थिएँ । त्यही अवस्था अर्को एक महिना रहन गएको भए कि त बहुला हुन्थेँ कि त सायद मर्ने थिएँ । मैले एउटा ठूलो समस्याको समाधान पाउनुपरेको थियो र त्यही नपाएर म साह्रै विचलित भइराखेको थिएँ । यिनै कारणले गर्दा म साधारण परिस्थितिमा थिइनँ र मैले तपाईंहरूको उचित सम्मान र सत्कार गर्न सकिनँ । तथापि, आज त्यो खाडल पार गरेर पछाडि हेर्दा म एउटा कुरा पाइरहेछु । यस अवधिले मलाई ठूलो ज्ञान र गहिरो यस्तो अनुभव प्रदान गर्‍यो जसलाई म आफ्नो जीवनको ठूलो सम्पत्ति ठान्दछु । यिनलाई सहित्यमा कुनै दिन उपयोग गर्न पाएँ भने ती निश्चय पनि सुन्दर हुनेछन् । कारण, ती मेरो मुटुमा पग्लेर खारिएका छन् ।

कलात्मक अभिव्यक्तिमा तिम्रो र मेरो प्रेमभन्दा परतिर संघर्षका कथाले पनि ठाउँ खोजिरहेका हुन्छन् भन्ने कुरो नौलो नभए पनि शंकर लमिछानेको पत्रमा एउटा कलाकारले कलाप्रति अपनाएको, आफूनजिक लाग्ने, जीवित यथार्थ पाउँछौ ।

प्रसिद्ध क्लासिकल गितारवादक जुलियन ब्रिम– उसको म असाधारण अनुयायी– भन्छन्, पहिले जीवन जिउने र जिउनुपरेको जीवनको पल कलामा उत्तार्ने । कलाकै विषयमा सोच्ने हो भने व्यक्तिगत संघर्ष र सामूहिक संघर्ष कहाँ छुट्टिन्छ, मैले त्यो भन्न सकिरहेको छैन । संवेदनशील अनुभूति र कलात्मक अभिव्यक्ति कुनै परिधिमा निहित पनि हुुन हुँदैन ।

एउटा गीतको अन्तरा मनमा तरंगित हुन्छ –

तिम्रो देश यहाँ नहोला धर्ती एउटै हाम्रो

तिम्रो मुहार बेग्लै होला आँसु हाम्रो एउटै

त्यसैले भुइँचालो तिमीकहाँ चल्दा मेरा घरहरू गिर्छन् ।

–अम्बर गुरुङ

गत शताब्दीकै अग्रपंक्तिको पियानिस्ट आर्थर रुबिन्स्टाइन भन्छन्, ‘संवेदनशीलता नपनाएको भावुकता मात्र अर्थहीन हुन्छ । रुबिन्स्टाइनको जन्म पोल्यान्डमा भएको थियो । यिनी मज्जाक गर्दै भन्छन्, यिनले अर्का पोल्यान्डवासी महान् सोपेनको कृतिहरू पियानो बजाउँदा यिनको कार्यक्रम सुन्न आएका देशवासीहरू भावावेशमा वाइनको गिलास समातेर रुन्थे तर उनीहरूलाई के थाहा थिएन भने बजाउन कठिन परेका सरदर बीस प्रतिशत स्वरहरू रुबिन्स्टाइनले नबजाई छोडिदिएका हुन्थे ।

मैलो, झुत्रो, उदास देखिने भएर कलाका निम्ति यो मेरो जीवन भन्ने र तिम्रो मायामा एक बाल्टिन आँसु झारेँ वा झार्छु भन्ने प्रेमगीत, कविताको सीमाभन्दा परतिर पनि अभिव्यक्तिका निम्ति सागरहरू छन् र ती निश्चय पनि गहिरा छन् ।

विषम परिस्थितिमा पनि प्रेरणाको उज्यालो देख्ने कलाकार र हृदयहरूलाई मेरो अन्तस्करणदेखिको नमन छ ।

नोट : यो पत्र उद्धृत गर्न अनुमति दिने अभिन्न मित्र दीप लामिछानेलाई आन्तरिक हृदयबाट धन्यवाद । प्रतिलिपि हक–अधिकारको इज्जत गर्नु त पर्छ नि फेरि !

(सन्दर्भ : राष्ट्रगानका संगीतकार संगीतज्ञ अम्बर गुरुङ (१९९४–२०७३) को स्मृति दिवस)

प्रकाशित : जेष्ठ २४, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?