डर- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डर

'आफ्ना जनता, देशबाट होइन, उत्तर–दक्षिणकाबाट डरको पोको बोकेर बसेका राज्यसञ्चालकहरूले हामीलाई सिकाइसकेका छन्– अब भोका–नाङ्गा र घरबारविहीनहरू डराउनु पर्दैन किनभने जसको केही छैन, ऊ किन डराउने ?'
'कोरोना भाइरससँग डराए पनि सत्तासँग डराउन्नँ ! स्वतन्त्रतासँग डराउँछु, निरंकुशतासँग डराउन्नँ ।'
भूपेन्द्र खड्का

“कुनै भय र वस्तु देखेर वा खराबीको आशाले मनमा उत्पन्न हुने भाव, भय, त्रास ।” नेपाली बृहत् शब्दकोशमा लेखिएको डरको अर्थ हो यो । के डर शब्दको अर्थ मात्रै यत्ति हो त ?

यो डरले सारा चराचर जगत्‌लाई कति आतंकित पारेको छ, कति थर्कामान गराएको छ, त्यसको लेखाजोखा उही डरलाई मात्रै थाहा होला । बन्दाबन्दीको एकाकीबाट म डरको फ्ल्यासब्याकमा पुग्छु ।

डर – १

म शिशु कक्षामा पढ्दा चकटी बोकेर स्कुल जान्थें । देब्रे पारेर चकटी बोक्थें भने दाहिने पारेर किताबको झोला । एक दिन स्कुलमा पुगेर चकटी निकालेर बसें । झोला पनि कोखाबाट झिकें । किताब र कापी निकाल्न हात हालेको त केही चिज बिझाएजस्तो भयो । किताब ननिकालिकन चियाएर हेरेको त आमाको कपाल कोर्ने काइँयो, त्यसमै गुजिल्टो परेको कपाल र सानो हाते एना छन् । मेरो सातो गयो । कतै मास्टरले मेरो झोला छामे भने मैले गाली खानु पर्ला, उस्तै परे छडीले ढाड सेकिएला, नभए कुखुरा हुनुपर्ला । त्यति मात्रै नभएर साथीहरूका बीचमा आँसु खसालेर रुनुपर्‍यो भने त भन्ने पिरलोले मेरो कट्टुमै झन्नै पिसाब खुस्केन ।

तर मेरो डरले त्यो स्वरूप लिएन । म त्यो दिन बाँचेँ, डरबाट ।त्यसपछि डरले मेरो मनमा डेरा जमाएर बस्यो । म धेरै शङ्कालु र डरछेरुवा भएँ । सानोभन्दा सानो कुरामा पनि डराउने भएँ ।

डर – २

डराउँदै डराउँदै बाँचिरहेको शिशुपाल जीवन सात कक्षामा पढ्ने भैसकेको थियो । झोलुङ्गे पुलको जिल्ला बागलुङमा जन्मिएको म । पहाडका कन्दराहरूमा बारी र खेतका फाँटहरू थिए । तिनै साना गह्राहरूमा घरहरू थिए । हाम्रो घर पनि भिरालो परेको गह्राको बीचको एउटा गह्रामा थियो ।

दुइटा गह्राको अन्तरमा हाम्रा दुइटा घर थिए । माथिल्लो घर हजुरबाको पालाको भने तल्लो घर बाले बनाएको । माथिल्लो घरमा दाइ र म सुत्थ्यौं । साउनको एक रात हामी खाना खाँदै थियौं । लगातार ५–७ दिनदेखि झरी परिरहेको थियो । अगेनोको वरिपरि बसेर खाना खाइरहेका बेला गड्याम्म आवाज आयो । घर थररर हल्लियो । लौ पहिरो गयो भन्दै आमा उठ्नुभयो ।

हामी सबै डराउँदै आमाको पछिपछि गयौं । टर्च लाइट बालेर आँगनको डिलमा पुग्दा छेउबाट निकै ठूलो पहिरो जाँदै थियो । रुने–कराउने बाहेक केही गर्न सकिएन । झन्डै घरचाहिं बगाएन । हामी बाँच्यौं । त्यसपछि म घरमा सुतेको बेला होस्, या जहाँसुकै रहेको बेला होस्, पानी पर्‍यो कि पहिरोको डरले डराउने भएँ । यो डर आजसम्म पनि कायमै छ ।

डर –३

एसएलसी दिने समय आइसक्दा माओवादी द्वन्द्व चर्किसकेको थियो । बागलुङ अझै उनीहरूको नामकरणको लालकिल्ला थियो । हाम्रो आर्मी परिवारलाई उनीहरूको नजर अझै फरक थियो । हामी दुवै पक्षाबाट निगरानीमा छौं भन्ने थाहा भइसकेको थियो । दाइ आर्मी भइसकेको थियो । भाइहरू ५–६ कक्षा पढ्दै थिए । एसएलसी पासपछि पढाइका लागि घर छाड्नुपर्ने भयो । घरबाट सदरमुकाम झर्न पनि त्रास बोकेर हिंड्नुपर्ने भो । त्यही समयमा माओवादी जनसरकार प्रमुख बनेको काकाको छोराले सेनाको गोली खाएर ठहरै भयो । त्यो दृश्य देखेकी मेरी आमा ३ महिनासम्म कसैसँग बोल्न नसक्ने भइन् ।

हाम्रो माथिल्लो घरमा माओवादीले डेरा जमाए । घरको अन्नपात, दूध, दही, मोही खाए । द्वन्द्व उत्कर्षमा पुगेका बेला घर जान नसकिने अवस्था आयो । म सहरमै अड्किएँ । दशैं–तिहारमा डराई–डराई घर जाँदा पनि सयौं चेक जाँचमा आफूलाई प्रमाणित गर्नुपर्ने भो । दोहोरो जवाफ दिन मिल्दैनथ्यो । नारायण वाग्लेको ‘पल्पसा क्याफे’ उपन्यास पनि उनैलाई दिनुपर्ने भो । अहिले १७ हजार मरेको डरभन्दा आफ्नै डर ठूलो थियो ।

डर – ४

द्वन्द्वको दूरीले सहर र गाउँ अनकन्टारजस्ता लाग्थे । उच्च शिक्षा पढ्ने र अन्य सपना बोकेर म काठमाडौं छिरें । साथमा बोकेको पैसा र अनुमानित खर्चले नधानेपछि पुतलीसडकको एउटा रेस्टुरेन्टमा भाँडा माझ्नलाई साहुलाई आग्रह गरें । उनले पत्याएनन् । त्यो रात भोको पेटमा मलाई निकै डर लाग्यो कि जीवनमा के भइरहेछ ? जे भइरहेछ, ठीक भइरहेको छैन । करिब ३ दिन भोको पेटले कामको खोजीमा भौंतारिंदा कतै पाइएन । त्यही साँझ बालाजुका एक दयालु डाक्टरको घरमा भाँडा माझ्ने काम अचानक पाएँ । हर्षले गद्गद् हुँदै रुझेको बिरालोजस्तो भएर बालाजुको माछा पोखरी पसें ।

करिब ६ महिना डरको भुमरीमा मैले त्यहाँ काम गरेँ । त्यतिन्जेलसम्म पनि सम्भावित जीवनका भवितव्यहरूका डरले छाडेनन् ।

डर – ५

सन् २०१० को अगस्ट महिनामा म अफ्रिकी मुलुक घाना, केन्या, इथोपियाहरूमा थिएँ । नेपालको सङ्गीत रोयल्टी सङ्कलन समाजको महासचिवको हैसियतले विश्वका २५ देशका प्रतिलिपि अधिकार प्राप्त संस्थाहरूको डेढ महिने गोष्ठीमा मैले ती देशमा जाने सौभाग्य प्राप्त गरेको थिएँ । नेपालको सङ्गीत रोयल्टी सङ्कलन समाजलाई नर्वेको दाता संस्थाबाट वार्षिक करिब ३० लाख रुपैयाँको सहयोग उपलब्ध गराएर फर्कने क्रममा केन्यामा थिएँ । सेतोहात्तीको देशबाट काला साथीहरूलाई बिदाइको हात हल्लाएर इथोपियन एअरलाइन्सको जहाज चढेको करिब आधा घण्टामा जहाज नराम्ररी हल्लियो । झन्डै उल्टो नै पर्‍यो । जहाजभित्र रुवाबासी सुरु भयो ।

एसियाका भियतनामी र चिनियाँ साथी मात्र थिए । कान सुन्न बन्द भए । देब्रे घुँडा जहाजमा ठोक्कियो । त्यसको करिब १०–११ मिनेटमा जहाज इथोपियाको अदिसअबाबा फोर्स ल्यान्ड गर्‍यो ।

बाँच्न त बाँचियो । तर जहाजबाट ओर्लन खुट्टाले टेकेनन् । स्ट्रेचरमा सुताएर ओराली डाक्टरहरूले काउन्सिलिङ गरे । त्यसको करिब ३ घण्टापछि जहाज पुनः उड्ने भयो, डेनमार्कको कोपनहेगनका लागि । तर जहाजको भर्‍याङ उक्लन खुट्टा सोझिएनन् । मनले भन्यो, म बस चढेर नेपाल जान्छु । डरको कामजरोमा विभिन्न ट्रान्जिट हुँदै नेपाल आएँ । त्यही दुर्घटनाको डरले करिब २ वर्ष जहाज चढिनँ ।

डर – ६

जिन्दगी चल्दै थियो । देशले नयाँ स्वरूपमा काँचुली फेर्दै थियो । मेरो जीवनमा नयाँ सपनाहरू मौलाउँदै थिए । कवि भूपिनसँग दरबारमार्गको हिमालय जाभामा अमेरिकानो खानका लागि अर्डर गर्नेबित्तिकै भुइँचालो आयो, २०७२ वैशाख १२ को १२ बजे । धरहरा ढल्यो । मानिसका मनका धरोहरहरू पनि ढले । हजारौं पुरिएर मरे । त्यसपछिका परकम्पनमा पनि मन हल्लिरह्यो ।

जब–जब भूकम्पले भुइँ हल्लाउँछ । मन एकपटक हल्लिएर आउँछ । डरको लाजले छोपेर मुख रातो हुन्छ ।

डर –७

०७२ पछि डरका धर्साहरू नदेखिने हुँदै गएका थिए । पुस्तक व्यवसायीको रूपमा परिचय थपिंदै थियो । रेडियोकर्म र गीति लेखनले थपेको मायावी संसारलाई पुस्तकका अक्षरहरूको संसारले उल्लासमय बनाउँदै थियो ।

विभिन्न साहित्य महोत्सव, सभा–समारोह, बुक–टुर आदिमा धेरैलाई स्वागत र आतिथ्य प्राप्त गर्ने अवसर प्राप्त हुँदै थियो । यस्तो समय आयो, वुहानको एउटा विषाणुले संसार हल्लाएको कथा सुरु भयो । नपत्याउँदा नपत्याउँदै त्यसले शक्तिशालीका नाकका डाँडी भाँचिदिसकेको थियो ।

ट्रम्पले चिनियाँ भाइरस भन्दै थिए, मोदीलाई त्यो विषाणु भारत पस्छ भन्ने विश्वास नै थिएन, केपीले बेसार पानीको सिफारिस गर्दै थिए ।

०७६ चैत ११ बाट नेपालमा पनि लकडाउन सुरु भयो । सुरुवातका केही महिना डरमै बिते । नजाने, नचिनेको एउटा भाइरसले मच्याएको आतङ्कले संसार त्राहिमाम भएका बेला म नाथे नडराउने कुरै भएन । बिस्तारै यसले नेपालीहरूको पनि ज्यान लिन थाल्यो । मानिसलाई घरभित्र डराएर राख्नुको सट्टा यसले केही दिन सकेन । देश–विदेशका सबै कार्यक्रम बन्द भए । चीन, अमेरिका, युरोप, अस्ट्रेलिया, युके आदिले यसलाई नियन्त्रणमा लिन खोजे । कोरोनाको त्रास अलि मत्थर भएजस्तो हुन थाल्यो ।

जब अघिल्लो साता भारतमा यसको दोस्रो भेरियन्टले आतङ्क मच्यायो, अब चाहिं साँच्चिकैको डर मनमा अङ्कुरण भयो ।

आफू सतर्क हुँदाहुँदै अनि अरूको असावधानीले सर्ने यो महारोगको जराले फेरि लकडाउनमा जाकेर आइसोलेसनमा लानुबाहेकको अर्को कुनै काम गर्न सकेन ।

रोगसँग लडिरहेका, भोकसँग लडिरहेका, शोकसँग लडिरहेका, ऋणसँग लडिरहेका, दिन–दीनसँग लडिरहेका, शासक र उपासकसँग लडिरहेका सबैको त्रास मेरो जस्तै छ वा फरक छ ?

प्रकृतिविरुद्धको हाम्रो कुकृत्यको जवाफ प्रकृतिले कुन हदसम्म दिने हो भन्ने डरले म त्राहिमाम छु । वैज्ञानिक, डाक्टर, जानकार वा आविष्कारकहरू भनिरहेछन्, यसको असर अझै केही वर्ष रहन्छ । त्यतिन्जेलसम्म बाँचेका मानिसको ग्रहदशा कस्तो होला ? तिनले परिकल्पना गरेको जीवन र भोगेको जीवनमा कति अन्तर आउला ?

अब झन् यो समयसँग डर लाग्न थालेको छ । सङ्क्रमण र सङ्क्रमितको डरभन्दा पनि सम्भावित मानव जीवनको आँकलनको डरले डराम्य बनाएको छ मलाई ।

डर – ८, अब डर छैन

तीन–चार दशकदेखि देश गोपीक्याँचहरूको हातमा छ । आफ्ना जनता, देशबाट होइन, उत्तर–दक्षिणकाबाट डरको पोको बोकेर बसेका राज्यसञ्चालकहरूले हामीलाई सिकाइसकेका छन्– अब भोका–नाङ्गा र घरबारविहीनहरू डराउनु पर्दैन किनभने जसको केही छैन, ऊ किन डराउने ?

हो, हातमा सीप छ, उद्यम गर्ने जाँगर छ, खेतबारी जोत्ने ताकत छ, कलकारखाना चलाउने हिम्मत छ, भन्ज्याङ र बेंसीहरूबाट एकताको गीत गुन्जाउने कला र गला छ तर ज्यान एकान्तबासमा छ । त्यसैले डराउने किन ?

अब म डराउन्नँ । पुगुन्जेल खान्छु, रोगसँग लड्छु । जुन दिन खान नपाउने भएर अरूसँग हात फैलाउनुपर्ने दिन आउँछ, त्यो दिन म एक्लै बाहिर निस्कन्छु । मौसमी हावामा कावा खान्छु अनि बालुवाटारको गेटअगाडि उभिन्छु ।

कोरोना भाइरससँग डराए पनि सत्तासँग डराउन्नँ !

स्वतन्त्रतासँग डराउँछु, निरंकुशतासँग डराउन्नँ ।

twitter : @khadkabhupendra

प्रकाशित : जेष्ठ ११, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाका जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बस्दै, निषेधाज्ञा लम्ब्याउनेबारे छलफल हुने

मातृका दाहाल

काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला कोभिड व्यवस्थापन समितिको संयुक्त बैठक केहीबेरमा बस्दैछ । यो बैठकमा उपत्यकामा वैशाख २६ देखि जारी गरिएको निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल हुने काठमाडौं समितिका एक सदस्यले बताए । 

कंलकी अन्डरपासमा चेकिङमा खटिएका ट्राफिक प्रहरी तस्बिर : दीपक केसी/कान्तिपुर

समिति बैठकले निषेधाज्ञा कति समय लम्ब्याउने भन्ने विषयमा सिफारिस गरेपछि यसकै आधारमा आजै वा भोलि बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गर्ने बताइएको छ ।

ती सदस्यले यसपटक एक साताका लागि झन् कडा निषेधाज्ञा थप्नेबारे छलफल हुने बताए । 'अवधि कति हुन्छ अहिले टुंगो छैन । एक साता वा बढी पनि हुनसक्छ तर अहिलेको भन्दा पनि कडा निषेधाज्ञाको सिफारिस हुने सम्भावना छ,' उनले भने ।

हालै जारी गरिएको कोभिड संकट व्यवस्थापन अध्यादेशका प्रावधानहरु लागू हुनेगरी निषेधाज्ञा थप गरिने पनि उनले बताए । प्रशासनले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाको अवधि जेठ १३ गते सकिदैछ ।


प्रकाशित : जेष्ठ ११, २०७८ ११:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×