२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोरोनासँगको दोस्रो महायुद्ध !

कोरोना भाइरसको दोस्रो लहरले छोटो समयमै पहिलोले भन्दा बढी तीव्रता लिएको छ । संक्रमितको मात्र होइन, अस्पताल भर्ना हुने संख्याको ग्राफ पनि अप्रत्याशित रूपमा उकालो लागेको छ ।
शेरबहादुर पुन

झन्डै तीन महिनाअघि मैले नेपालमा कोरोना भाइरस दोस्रोपटक झन् ठूलो चुनौती बनेर आउने प्रक्षेपण गरेको थिएँ । विश्वमा कोरोनाको उतारचढाव देख्दा यो भाइरस सजिलै हार खानेवाला रहेनछ भन्ने मेरो निष्कर्ष थियो । 

कोरोनासँगको दोस्रो महायुद्ध !

अनुमानअनुसार नै कोरोना भाइरसले अहिले नेपालमा एकतर्फी दोस्रो महायुद्धको घोषणा गरिसकेको छ । यसपटक कोरोना आफूलाई पूर्ण तयार र थप शक्तिशाली बनाई भारतमा विध्वंस मच्चाउँदै नेपाल आक्रमण गर्न प्रवेश गरिसकेको छ ।

यो लेख तयार पार्दै गर्दा कोरोनाको पहिलो निसानामा नेपालगन्ज परिसकेको छ । त्यहाँको अवस्था हेर्दा कोरोनासँग लड्ने सिपाही (स्वास्थ्यकर्मी) मात्र होइन हामीसित हतियारको (अक्सिजन, औषधि) समेत अभाव भएको देखिन्छ । अहिले कोरोना भाइरसले आफ्नो शक्ति काठमाडौँलगायत देशका विभिन्न ठाउँमा केन्द्रित गर्दै लगिरहेको देखिन्छ । यो दोस्रो महायुद्धमा नेपाली पक्षले कोरोना भाइरसलाई कमजोर आँकेजस्तो देखिन्छ । तसर्थ तयारी पनि कमजोर भएको हुनुपर्छ ।

यो पंक्तिकार फिभर क्लिनिकमा बसिरहेको बेला एक दम्पती एकवर्षीय आफ्नो बालकलाई लिएर आइपुगेका थिए । बालक बिरामी थियो र कोरोनाको शंका लागेर एक्सरे गर्न आइपुगेका रहेछन् । ती दम्पती दुवै कोरोना पोजिटिभ रहेछन् । बालक तीन दिनको ज्वरो र त्यसको कारणले लट्ठ देखिन्थ्यो । एक्सरेमा प्रस्ट निमोनिया देखियो । ती दम्पतीलाई बालरोग अस्पताल जान सल्लाह दिइयो । यो सन्दर्भ यहाँ जोड्नुको कारण पहिलो लहरमा कोरोना भाइरसले विशेषत: बालबालिकालाई खासै समस्या दिने गरेको थिएन । अहिले अस्पतालमा विशेषत: ३०–५० वर्षका युवा जमातको भर्ना बढी देखिन्छ । स्वाभाविक रूपमा मृत्यु पनि बढी यही उमेर समूहको भइरहेको छ ।

युवाको ठूलो जमात पहिलो लहरमा पनि तुलनात्मक रूपमा बढी नै संक्रमित हुने गरेको तथ्यांक छ । तर अस्पताल भर्ना र मृत्यु हुने बढी ६० वर्ष माथिकाहरू ( दीर्घ रोगीहरू) नै थिए । कोरोना दोस्रोपटक आउँदा पहिलो लहरमा देखिएको त्यो अनुभव र जानकारीलाई चुनौती दिँदै सबै उमेर समुहकाहरूलाई आफ्नो चपेटामा पारेको देखिन्छ ।

दोस्रो लहरको सुरुवातमा अथवा नेपालले निषेधाज्ञा सुरु गर्नुअघि नै कोरोनाले परिवारभित्र पनि आफ्नो स्थान बनाइसकेको देखिन्छ । पहिलो लहरमा कोरोनाले बिस्तारै उचाइ लिएको थियो । त्यसबेला लकडाउन सकिएपछि मात्र परिवारभित्र बिस्तारै यसले प्रवेश पाएको थियो । चाखलाग्दो कुरा के छ भने त्यसबेला (पहिलो लहरमा) परिवारको धेरैजसो सदस्यहरू संक्रमित भएको देखिँदैनथ्यो भने दोस्रो लहरमा परिवारका अधिकांश सदस्य संक्रमित भएको देखिन्छ । यसलाई अहिलेको कोरोना भाइरस बढी संक्रामक भएर आएको प्रमाणका रूपमा लिन सकिन्छ । अहिले दर्जनौं परिवारले यो पंक्तिकारसँगको कुराकानीमा उनीहरूका लगभग सबै सदस्यहरू संक्रमित भएको अनुभव सुनाउने गरेका छन् । हुन त अलिकति हास्यास्पद र व्यावहारिकजस्तो नदेखिए पनि परिवारका सदस्यहरूबीच पनि धेरै समय सँगै नबिताउँदा तथा एकअर्कासँग कुरा गर्दा मास्कको प्रयोग गर्दा बढी सुरक्षित हुने देखिन्छ । यसभन्दा अघि विशेषत: कुनै कामले बाहिर जाँदा मात्र मास्क लगाउन सल्लाह दिने गरिन्थ्यो । आवश्यकता र परिस्थितिअनुसार यस्तो परिवर्तन गर्न सकिन्छ र गर्नु पनि पर्छ ।

हाल समुदायमा कोरोनाको संक्रमण फैलिसकेको छ । परीक्षण र कन्ट्याक्ट ट्रेसिङ नहुँदा कोरोनाले आफ्नो प्रभाव कति र कहाँसम्म पारिसक्यो भनेर यकिन गर्न सक्ने अवस्था भने छैन । कोरोनाको प्रवेश घरघरमा भइसकेकाले सायद अबको दिन भने संक्रमित र मृत्युको तथ्यांकलाई अद्यावधिक गर्ने काम मात्र हुने देखिन्छ र अहिले भइरहेको पनि त्यही छ ।

दोस्रो लहरमा विदेशी भेरिएन्टको कोरोना भाइरस नेपाल भित्रिसकेको छ । युके भेरियन्ट नेपाल भित्रिएको तीन महिना भैसकेको छ भने भारतीय ‘डबल म्युटेसन’ को भेरिएन्ट केही दिनअघि पत्ता लागेको थियो । कोरोनाको जिन विश्लेषणले नियमितता नपाउँदा थप नयाँ भेरिएन्टहरू छन्/छैनन्, थाहा छैन । भारतमा ब्राजिलियन र दक्षिण अफ्रिकी भेरिएन्ट देखापरिसकेको हुनाले ढिलोचाँडो ती भेरिएन्टहरू नेपालसम्म नआउलान् भन्न सकिँदैन । हालै भारतमा ‘ट्रिपल म्युटेसन’को भेरिएन्ट पनि देखिएको जानकारी आइरहेको छ । दोस्रो लहरमा कोरोना भाइरसका विभिन्न स्वरूपहरू नेपाल भित्रँदै गर्दा आगामी दिनहरूमा नौलो तर जटिल चुनौती सामना गर्नुपर्नेछ । यी भेरिएन्टहरू छुट्टाछुट्टै विशेषताले गर्दा विश्वचर्चित छन् । तीव्र गतिमा फैलनु, रोग प्रतिरोधात्मक प्रणालीलाई छल्न सक्नु, घातक हुनु र हाल उपलब्ध भ्याक्सिनको प्रभावकारितालाई समेत चुनौती दिन सक्नु, यी विदेशी भेरिएन्टहरूका मुख्य विशेषता हुन् ।

यसर्थ दोस्रो लहर नेपालको लागि महायुद्ध लडे सरह हुनेछ । तर तयारी र तीव्र प्रतिक्रिया देखाउन नेपालले ढिलाइ गर्दा बहुरूपी कोरोनाले पहिलो लहरमा भन्दा बढी समस्याहरू ल्याउन सक्ने सम्भावना बलियो देखिन्छ । फरक कोणबाट विश्लेषण गर्दा नेपालमा लामो समयदेखि कोरोनाको चक्रले निरन्तरता पाइरहेकाले जिनमा म्युटेसन भई ‘नेपाली भेरिएन्ट’को कोरोना भाइरस पनि विकास भएको हुनसक्छ । फलस्वरूप भाइरसले तीव्रता पाएको हुन सक्ने अनुमानलाई नकार्न सकिँदैन । यद्यपि, यो प्रमाणित गर्न जेनोमिक सिक्वेन्सिङ गरेर हेर्नुपर्नेछ ।

कोरोना भाइरसको दोस्रो लहरले छोटो समयमा पहिलोले भन्दा बढी तीव्रता लिएको छ । संक्रमितको संख्या मात्र होइन, अस्पताल भर्ना हुने संख्याको ग्राफ पनि अप्रत्याशित रूपमा उकालो लागेको छ । यसले गर्दा नेपालमा उपचारका लागि चाहिने आवश्यक अक्सिजन तथा औषधिहरूको समेत अभाव सुरु भएको देखिन्छ । दोस्रो लहरको सुरुवाती समयमा नै नेपालको स्वास्थ संरचना ढलमलाउन लागेको देखिन्छ । कोरोनाको यो तीव्र वेगलाई ब्रेक लगाउने उपाय/कदम नचाले उत्कर्षमा पुग्दासम्म थप मानवीय क्षति नहोला भन्न सकिँदैन ।

अन्तमा, भाइरसले आफ्नो गतिलाई तीव्रता दिन सक्ने क्षमता विकास गरे पनि आफूलाई थप घातक बनाएर फर्के पनि यसले यदि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने/फैलने मौका पाएन भने त्यो क्षमताको कुनै औचित्य हुनेछैन/रहँदैन । अर्थात् भाइरस थप शक्तिशाली भएर पनि त्यो शक्तिहीन सरह हुनेछ । हाल कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातमा अन्योल छाइरहेको अवस्थामा यो नै निर्विकल्प उपाय हुनेछ तर यसको लागि सबैको प्रतिबद्धताको आवश्यकता पर्नेछ । भेटघाट बन्द गरौं, मास्क सही तरिकाले लगाऔं, कोरोनाको चक्रलाई तोडौं र थप मानवीय क्षतिलाई रोकी समाजलाई सुरक्षित बनाऔं ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : वैशाख २२, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?