फरक 'हर्कत' देखाउँदै कोरोना !  - विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरक 'हर्कत' देखाउँदै कोरोना !  

शेरबहादुर पुन

कोरोनाको विश्लेषण गर्दा युरोप तथा अमेरिकामा कोरोनाको उतारचडावले निरन्तरता पाइरहेको देखिन्छ । यो विश्वकै वैज्ञानिकहरुका लागि चाखलाग्दो, अनुमानविपरीत तर चिन्ताको विषय हो । नेपालमा झन्डै दुई दशक निरन्तर संक्रामक रोगहरुलाई नजिकबाट नियालिराख्दा हाल कोरोनाले देखाइरहेका गुणहरु भने अन्यभन्दा निकै फरक छन् ।

फरक भन्नाले छोटो समयमा उमेर समूह परिवर्तन गर्ने, नयाँ नयाँ लक्षणहरु देखिने/थपिने, तीव्रता तथा घातकतामा फरक देखाउने, पीसीआर परीक्षणमा चुनौती (जीनहरु अदृश्य हुने) दिने र आफ्नै स्वरुपलाई (जीनलाई) निरन्तर परिवर्तन गर्ने आदीलाई भन्न खोजिएको हो।

केहि दिनयता बालबालिका विशेषत: विद्यार्थीहरुमा कोरोना फैलिँदै गएको जानकारीहरु सार्वजनिक हुँदै आइरहेको छ । अभिभावकहरुमा पनि त्रास छ । हाल विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने बहसले प्रमुखता पाएको देखिन्छ । कुनैपनि ठाउँमा मानिसहरुको जमघट हुन्छ भने त्यो कोरोना फैलनका लागि उपयुक्त वातावरण मानिन्छ । यसैलाई आधार मानेर हेर्दा शिक्षण संस्थाहरुमा जनस्वास्थको मापदण्डहरु अपनाउन असफल वा कमजोरी भएमा कोरोना एक विद्यार्थीबाट अर्कोमा सर्न सक्ने जोखिम रहन्छ । र संक्रमण अन्तत: परिवारका अरु सदस्यहरुसम्म पुग्ने सम्भावना रहन्छ । हाल कोरोना बालबालिकामा फैलिएको हो वा फैलिने वातावरणको कारण बढेको हो भन्ने यकिन भएको छैन । यदि कोरोना पहिलो लहरमा भन्दा हाल बालबालिकामा संक्रमण बढी देखिन थालेको हो भने विद्यालय नजाने बालबालिका के कति संक्रमित भएका छन् अध्ययन गर्न जरुरी छ । किनभने कोरोना हाल समुदाय स्तरमा रहेको हुनाले अभिभावक मार्फत बालबालिकामा संक्रमण भइरहेको पनि हुनसक्छ ।

गत वर्ष कोरोना संक्रमण उकालो लाग्दै गर्दा शिक्षण संस्थाहरु बन्द थिए । तसर्थ शिक्षण संस्था जाने र नजानेबीच संक्रमणको आक्रमकता छुट्याउन सकिएको थिएन । यदि शिक्षण संस्थामा जाने र नजानेबीच संक्रमण फैलिरहेको दर उस्तै देखिए हालको कोरोना भाइरस अघिल्लो लहरभन्दा आक्रामक नै भएको अनुमान गर्न सकिनेछ । यस्तो नयाँ "हर्कत" देखिँदा भाइरसमा स्वरुप परिवर्तन भएको अनुमान गर्न सकिन्छ । झन्डै तीन महिना अगाडि नेपालमा यूके भेरियन्टको कोरोना भाइरस प्रवेश भएको पाइए पनि हालसम्म समुदायमा यसको प्रभावको बारेमा भने अधिकारिक जानकारी छैन । यूके भेरियन्ट बालबालिकामा आक्रामक देखिएको भए पनि मृत्युदर भने बढी नहुने अनुसन्धानहरुले देखाएका छन् । यद्यपी नेपालमा संक्रमित बालबालिकामा कस्तो नतिजा देखिन्छ आगामी दिनहरुमा सार्वजनिक हुने नै छ । पीसीआरमा "एस जीन" नेगेटिभ देखिने क्रम बढेकोले यूके भेरियन्ट व्यापक फैलिरहेको अनुमान गरिएको छ । तर यसको निर्क्यौल जेनोमिक सिक्वेन्सिङ गरेपछि मात्र गर्न सकिन्छ ।

सुरुवाती समयमा ज्वरो आउने, स्वासप्रस्वासमा अवरोध देखिए तथा खोकी लागेमा कोरोनाको लक्षण हुनेसक्ने मानिन्थ्यो । र कसैलाई त्यस्ता लक्षण देखिए स्वस्थाकर्मीसँग परामर्श वा उपचारको लागि अनुरोध गरिन्थ्यो । तर, नेपालमा पहिलो लकडाउन अगाडिसम्म झन्डै ९९ प्रतिशत संक्रमितहरुमा लक्षण नै देखिएन । त्यस्तो अवस्थालाई मैले "साइलेन्ट कोरोना" को उपनाम दिएको थिएँ । वास्तवमा, सो समयमा नेपालमा "साइलेन्ट कोरोना" भाइरस संक्रमितबाट नै संक्रमण फैलिएको थियो । लामो समयपछि विशेषत: पहिलो लकडाउनपछि मात्र लक्षणहरु देखिन सुरु भएको थियो । अचानक लक्षणसहितको कोरोना संक्रमित देखिँदा भाइरसको स्वरुपमा परिवर्तन भएको आशंका मैले गरेको थिएँ । हाल ढिलाइ भएपनि भाइरसले गुण परिवर्तन गरे/नगरेको पत्ता लगाउने जेनोमिक सिक्वेन्सिङ प्रविधिको आवश्यकता महसुस गरी जडान गर्ने प्रक्रियामा रहेको देखिन्छ । यो प्रविधि २१ औं शताब्दीमा देखिन सक्ने नयाँ नयाँ संक्रमणहरुको अध्ययन/जानकारी, अनुसन्धान तथा नियन्त्रणको रणनीति बनाउन सहयोगी हुनेछ ।

कोरोनाको पहिलो लहर तीव्र हुँदै जाँदा संक्रमितहरुमा स्वाद तथा गन्ध थाहा नपाउने थप लक्षणहरु देखा परेका थिए । वास्तवमा, यी लक्षणहरु (स्वाद र गन्ध थाहा नपाउने) फ्लू तथा अरु भाइरल रुघाखोकीबाट छुट्याउन महत्वपूर्ण हुने गरेको थियो । किनभने कोरोना, फ्लू तथा अरु भाइरल रुघाखोकीको लक्षणहरु एक अर्कासँग धेरै हदसम्म मिल्दोजुल्दो हुने गर्दछ । पछिल्लो समय संक्रमित बालबालिकामा वान्ता हुने समस्या देखिने गरेको बताइएको छ । यद्यपी यस्तो समस्या र कोरोना भाइरसबीचको सम्बन्धका बारेमा अनुसन्धान हुन जरुरी हुन्छ । त्यस्तै, बालबालिकामा पछिल्लो पटक "मल्टी इन्फ्लामेटोरी सिन्ड्रोम" स्वास्थ्य समस्याको कारण धेरै अस्पताल भर्ना भइरहेका खबरहरु आइरहेका छन् । जुन कोरोनाको सुरुवाती समयमा देखिएको थिएन । कोभिड-१९ को उपचार पश्चात धेरैलाई स्वास्थ समस्या सकियो होला भन्ने लागेको थियो । तर यसको ठिक विपरित केहीमा भने निरन्तर स्वास्थ समस्याले गाजी नै रहेको देखियो । यसलाई "लंग कोभिड"को नाम दिइएको छ ।

विश्वमा कोरोना भाइरसका नयाँ भेरियन्टहरु देखिने क्रम जारी छ । जुन प्राकृतिक र स्वाभाविक पनि हो । तर केहि भेरियन्टहरु भने अघिल्लो भाइरस भन्दा तीव्र गतिमा फैलिने वा घातक हुने वा रोग प्रतिरोधात्मक प्रणालीलाई छल्न सक्ने क्षमता क्रमिक रुपमा विकास गरेका देखिन्छन् । जुन प्रमुख चासो र चिन्ताको विषय हो । यस्तो अवस्थामा भाइरस पत्ता लगाउन कठिन हुने, उपचारमा समस्या देखिने, र अझ महत्वपूर्ण कुरा भनेको हाल उपलब्ध खोपहरुको प्रभावकारितालाई समेत चुनौती दिनसक्ने देखिन्छ । हाल वैज्ञानिकहरुको लागि पनि कोरोनाको स्वरुपमा निरन्तर परिवर्तन देखिनु नै टाउको दुखाइको कारण भइरहेको छ । नेपालमा पनि कोरोना भाइरसको चक्र एक वर्षदेखि निरन्तर देखिरहँदा स्वरुप अथवा जीनमा परिवर्तन भइरहेको हुनुपर्दछ । अर्थात् "नेपाली भेरियन्ट" को कोरोना भाइरस विकास नभएको होला भनेर भन्न सकिने अवस्था देखिँदैन वा अहिले नभएको रहेछ भने पनि आगामी दिनहरुमा नदेखिएला भन्न सकिँदैन । तथापी भाइरसमा देखिने स्वरुप परिवर्तनको अवस्था थाहा पाउन बेला बेलामा जेनोम सिक्वेन्सिङ गरिरहनुपर्छ ।

हाल कोरोना संक्रमणको कारणले अस्पताल भर्ना हुने उमेर समूहमा पनि परिवर्तन आएको देखिन्छ । बालबालिका मात्र होइन युवाहरु पनि संक्रमित भई अस्पताल भर्ना हुने गरेको दैनिक तथ्यांकको बढ्दो संख्याले पनि देखाउँदछ । जति अस्पताल भर्ना हुनेको संख्या बढ्छ, त्यति नै मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहने गर्छ । हाल ल्याइएका खोपको प्राथमिकतामा युवाहरु सबैभन्दा पुछारमा परेको देखिन्छ । थप खोप ल्याउने मिति यकिन नहुँदा अन्योल बढेको छ । त्यसैले पनि कोरोनाको दोस्रो लहरको चपेटामा धेरैजना पर्ने देखिन्छ । कोरोनाको पहिलो लहरमा युवा समूह संक्रमित हुने गरेका थिए । तर मुख्यतः जेष्ठ नागरिक र दीर्घरोगीहरु अस्पताल बढी भर्ना र सो समूहमै मृतकको संख्या बढी थियो । हाल समुदायमा ठूलो संख्याले खोप लगाउन नपाएकाले दोस्रो लहरमा पनि जेष्ठ नागरिक तथा दीर्घरोगीहरु कोरोनाको जोखिममा धेरै टाढा भने छैनन् ।

अन्तमा, गएको वर्ष कोरोनासँग भएको युद्धबाट सिकेका अनुभवहरु हाल दोस्रो लहर संघारमै आइपुग्दा तुरुन्तै व्यवहारमा लागू गर्नुपर्दछ । तर कोरोना भाइरस मानिसभन्दा एक कदम अगाडि देखिन्छ । भाइरसले नौलो 'हर्कतहरु' देखाउने क्रम जारी राखेको छ । तसर्थ विगतमा नियन्त्रणका लागि गरेका विभिन्न प्रयासहरु बाहेक थप नौलो तथा अप्रत्यासित चुनौतीको सामना गर्न सतर्क र तयार हुन जरुरी देखिन्छ ।

डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

प्रकाशित : वैशाख २, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

'लङ कोभिड' मा खोप उपयोगी !

शेरबहादुर पुन

काठमाडौँ — झन्डै पाँच महिना अगाडि पहिलो पटक मैले 'पोष्ट एक्युट कोभिड-१९' अर्थात्  'लङ कोभिड' को बिरामी भेटेको थिएँ र त्यसपछि कोरोना उपचार पश्चात वा पीसीआर निगेटिभ भएपछि पनि केहीमा 'लङ कोभिड' को समस्या देखिँदै र थपिँदै आइरहेको छ । नेपालमा 'लङ कोभिड' भएकाहरुको यकिन तथ्यांक आउन केहि समय अझै कुर्नुपर्ने हुन्छ । 'लङ कोभिड' सम्बन्धी अनुभव समेटेर नेपालमा पहिलो पटक पाँच महिना अगाडि जानकारी/खोजमुलक लेख पनि प्रकाशित गरेको थिएँ ।

नेपालमा विशेषत: पहिलो लकडाउन सकिए लगतै लक्षणसहितको संक्रमित देखिन सुरु भएपछि, संक्रमणमुक्त भनिएका वा अस्पतालबाट डिस्चार्ज भएका मध्ये केहीमा स्वास्थ समस्याले निरन्तर नछाडेको अनुभव सुनिन सुरु भएको थियो । नेपालभन्दा केहि महिना अगाडि कोरोनाको महामारीबाट गुज्रेका विकसित पश्चिमा देशहरुबाट पनि यस्ता स्वास्थ समस्याहरुको बारेमा जानकारी आउने क्रम सुरु भैसकेको थियो । त्यसले मेरो ध्यानाकृष्ट गरेको थियो । तर ती विकशित देशहरुका अनुसन्धानकर्ता/चिकित्सकहरु पनि 'लङ कोभिड' किन देखियो/देखिँदै छ र यसको सटिक उपचारको बारेमा स्पष्ट वा एकमत भएको भने देखिँदैन।

अर्थात् यस सम्बन्धित खोज अनुसन्धानहरु जारी नै छन् । हाल पनि 'लङ कोभिड' को परिभाषालाई लिएर एक मत भएको त पाइँदैन । तर सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, अमेरिका तथा इन्फेक्सिएस डिजिज सोसाइटी अफ अमेरिकाले उल्लेख गरे अनुसार कोरोनाको प्रारम्भिक उपचार पश्चात पनि स्वस्थ समस्याले निरन्तरता पाएमा त्यसलाई 'लङ कोभिड' भनिएको छ । यस्ता लक्षणहरु सामान्यदेखि कडा प्रकृतिको हुने भनिएको छ ।

नेपालमा 'लङ कोभिड' देखिएकाहरुमा मुख्यतः थकान, मुटुको चालमा अनियमिता, छाती भारी हुने, श्वास प्रश्वासमा अवरोध, अनिद्रा, जिउ तातेको अनुभव गर्नु, घरी घरी बिर्सिने आदि जस्ता स्वास्थ समस्याको रुपमा देखिएका छन् । त्यस्तै कोरोना संक्रमण मुक्त भएपछि कसैकसैलाई छालामा स-साना बिमिरा पनि देखिने गरेका अनुभवहरु बताउने गरेका छन् । त्यस्तै मनोवैज्ञानिक वा मानसिक समस्याहरुले पनि उपचार पश्चात व्यापकता पाहेको देखिन्छ । नेपालमा 'लङ कोभिड' समस्या भएकाहरु बढ्दै गएको भएतापनि यस बारेमा गम्भीर तथा सार्वजनिक रुपमा बहस भैसकेको भने देखिँदैन ।

आ-आफ्ना समस्याहरु लिएर पूर्व संक्रमितहरु सम्बन्धित विशेषज्ञहरुकोमा जाने गरेको भएपनि समाधान नभएको/नहुने गरेको गुनासो गर्ने गरेका छन् । वास्तवमा, यस्तो अवस्थामा कहाँ र कोसँग शारीरिक अथवा मानसिक समस्याहरुको बारेमा उपचार/परामर्श लिने भन्नेमा अन्यौलता देखिन्छ । विभिन्न देशहरुमा 'लङ कोभिड' को समस्या भएका केहीलाई अक्सिजनको सहायता लिनु परेका वा आईसीयूमा उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको अनुसन्धानहरुमा उल्लेख गरेको पाइन्छ । तर नेपालमा भने 'लङ कोभिड' कै कारणले जटिल अवस्था सिर्जना भई अक्सिजनको नै सहायता लिनु परेको वा आईसीयूमा नै भर्ना गरी उपचार गर्नु परेको अधिकारिक तथ्यांक वा जानकारीहरु छैन । यद्यपी आगामी दिनहरुमा यस्तो अवस्था आउँदैन भनेर अहिले नै ठोकुवा भने गर्न सकिँदैन । यसको लागि 'लङ कोभिड' समस्या भएकाहरुलाई निरन्तर महिनौ‌ निगरानी गर्नुपर्ने हुन्छ।

'लङ कोभिड' भएकाहरुको समस्यासँग सम्बन्धित अंगको आवश्यकता अनुसार शारीरिक तथा प्रयोगशाला परिक्षण गर्ने गरिन्छ तर अधिकांशमा खासै समस्याहरु देखिने गरेको पाइँदैन । जस्तै, छाती भारी वा कस्सिएको वा निरन्तर खोकी लागेको अवस्थामा एक्स-रे लगायतका न्यूनतम थप अरु परीक्षणहरु गर्दा खासै समस्याहरु नदेखिने गर्दा निश्चित औषधि पनि दिने गरिँदैन । तर स्वास्थ समस्याले भने निरन्तर दुःख दिने गरेको उनीहरुको अनुभव छ । यस्तो अवस्थामा दैनिक कार्य क्षमता तथा मनोबलमा तीव्र ह्रास आउने गरेको देखिन्छ । यस्ता समस्या भएकाहरु आफ्नो पूर्ववत काममा फर्कनलाई ठूलो संघर्ष गर्नु परिरहेको अनुभवहरु सुनाउँछन् ।

औसतमा १० देखि ३० प्रतिशतसम्ममा उपचार पश्चात पनि 'लङ कोभिड' को समस्याहरु देखिने गरेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । पुरुषभन्दा महिलामा 'लङ कोभिड' को समस्याहरु देखिने गरेको छ । नेपालमा भने कोभिड-१९ को उपचार पश्चात देखिने 'लङ कोभिड' को प्रभावको बारेमा विस्तृत अनुसन्धानहरु प्रकाशित हुन बाँकी नै छ ।

'लङ कोभिड' हुनुका यकिन कारणहरु अहिलेसम्म थाहा छैन । तसर्थ थप अध्ययनहरु जारी छन् । तर विशेषज्ञहरुले सम्भावनाका केहि तर्कहरु अगाडि सारेका देखिन्छन् । विभिन्न वैज्ञानिकहरुमध्ये याले विश्वविद्यालयका इपीडेमीयोलोजी तथा इमुनोलोजीका प्रोफेसर आकिको इवासाकीको थेओरी बढी बहसमा आएको देखिन्छ । केहि व्यक्तिहरुको शरीरमा उपचार पश्चात पनि भाइरसको केहि अंश बाँकी रहिरहँदा निरन्तर स्वास्थमा समस्या देखिरहेको हुन सक्दछ ।

खोपले रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय गराई एन्टीबडी विकास गरी शरीरमा बाँकी रहेको भाइरसको अंशलाई नष्ट वा शरीरबाट निष्काशन गरी दिँदा 'लङ कोभिड' को समस्या समाधान हुनुपर्दछ भन्ने तर्क गरिरहेको पाइन्छ । तर, यो बाहेक अरु सिद्धान्तहरुको पनि सम्भावनाहरु व्यक्त गरिँदै आइरहेका छन् । सम्भावित सिद्धान्तहरु जे जस्तो गरिँदै आइरहेको भएपनि यसको कारणको खोजि निरन्तर हुनुपर्दछ । अनि मात्र यसको उपचारको दिर्घकालिन उपाय पहिल्याउन सहज हुनेछ ।

अन्तमा, प्राणघातक कोरोनाको सफल उपचार पश्चात जो कोहिले सन्तोषको सास लिने गर्दछौ र यो स्वाभाविक पनि हो । तर ती मध्ये केहीलाई कोभिड-१९ को 'दोस्रो चरण' को स्वास्थ समस्याले निरन्तर पछ्याई रहेको देखिन्छ । यसको सटिक समाधान नहुँदा मानिसमा थप खिन्नताले गाँजेको पाइन्छ । यो नेपालमा मात्र नभई विश्वमा नै देखिँदै आइरहेको तर अप्रत्याशित पोष्ट एक्युट कोभिड-१९ को स्वास्थ समस्या हो । हाल यसको लागि लक्षणहरुको आधारमा उपचार वा परामर्श दिनु बाहेक अर्को विकल्प/विशेष औषधिहरु छैन । तर केहि दिन यता अन्तर्राष्ट्रिय समाचारहरुमा केहीले कोरोनाविरुद्धको भ्याक्सिन लगाउदा 'लङ कोभिड' को समस्याहरु हराएको अनुभवहरु सुनाउने/साट्ने क्रम बढ्दै गइरहेको देखिन्छ, भने केहि प्रारम्भिक अनुसन्धानले पनि भ्याक्सिन लगाएपछि केहीमा 'लङ कोभिड' को समस्यामा क्रमिक सुधार हुँदै गएको नतिजा प्रकाशन गरेको छ । यो अनुसन्धानकर्ताहरुको लागि नयाँ र थप चासोको विषय बनेको छ ।

भ्याक्सिन प्रतिरक्षामा मात्र होइन 'लङ कोभिड' समस्यामा उपचारको भूमिकामा पनि देखिन सक्ने सम्भावना देखिन्छ । यद्यपी थप अनुसन्धानहरु नभई अहिले नै पूर्ण सहमति जनाउन भने हतार हुनेछ । तर पनि 'लङ कोभिड' समस्याको अर्को विकल्प नहुँदा यसलाई आशाको किरणको रुपमा लिन भने सकिनेछ । तपाईंहरुमध्ये कसैलाई कोभिड-१९ को उपचार पश्चात 'लङ कोभिड' को समस्याले जेलिएर बसिरहनु भएको छ ? यदी, छ भने भ्याक्सिन लगाएपछि कस्तो महसुस/अनुभव गर्नु हुँदैछ ?

प्रकाशित : चैत्र ११, २०७७ १४:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×