उद्घाटनको युग- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्घाटनको युग

‘पहिले सडकको उद्घाटन गरिहालौं । त्यसपछि कहाँ बनाउने, कहिले बनाउनेजस्ता कुरामा विचार गरौंला ।’
शरच्चन्द्र वस्ती

कानै खाने आवाजका साथ स्कूलको चउरमा अकस्मात् हेलिकप्टर अवतरित भयो । विद्यार्थीहरू कक्षा छोडेर बाहिर निस्के, र हेलिकप्टरबाट निस्क्यो— प्रदेशको एउटा मन्त्री । उसका पछाडि तीन जना थिए— पीए, अंगरक्षक र पत्रकार ।

प्रधान अध्यापक मन्त्रीको स्वागतका लागि अघि बढ्न नभ्याउँदै गाउँपालिका अध्यक्ष झंकमणिले उसलाई खादा लगाइदिइसकेको थियो । जति बोलाउँदा पनि कहिल्यै स्कूलमा पाइला हाल्न नभ्याउने झंके हेलिकप्टरले भुइँ टेक्न नभ्याउँदै त्यहाँ कसरी हाजिर भयो, उनले भेउ पाएनन् । मन्त्री भने ऊसँगै उसको घरतिर लम्किसकेको थियो । विद्यार्थीहरू तिनको पछि लागेपछि स्कूल बन्द गरेर उनी पनि त्यतै लागे ।

झंकमणिले एक हप्ताअघि नयाँ मोटरसाइकल किनेर ल्याएको थियो । उनले देखे, त्यसलाई धोई–पखाली गरेर पालीमुनि सिकुवामा राखिएको छ र सिकुवाका दुई खम्बाबीच रातो रिबन बाँधिएको छ ।

मन्त्रीले पीएतिर हेर्‍यो । उसले कोटको दाहिने गोजीबाट कैंची निकाल्यो र मन्त्रीलाई दियो । मन्त्रीले रिबन काटेर मोटरसाइकलको उद्घाटन गर्‍यो । झंकमणिले ताली बजायो । सबैले ताली बजाए । मन्त्रीले भाषण दियो :

‘आज हामीले अध्यक्षज्यूको मोटरसाइकल उद्घाटन गरेका छौं । यो यस गाउँको ऐतिहासिक घटना हो । महाराजको गौरवशाली नेतृत्वमा हामी देशभरि निरन्तर ऐतिहासिक काम गरिरहेका छौं । अध्यक्षज्यूले मोटरसाइकल चढ्नु भनेको सिंगो गाउँले मोटरसाइकल चढ्नु हो । हामी सिंगो देशलाई समृद्ध र सुखी बनाउने अभियानमा छौं । यो त्यसैको प्रतीक हो ।’

भाषणपछि ऊ झंकमणिले चलाएको मोटरसाइकलमा बसेर अर्को वडातर्फ लाग्यो । सबै जना पछि लागे । खादा समातेर बाटोमा उभिएको वडा अध्यक्षले मन्त्रीलाई स्वागत गर्‍यो र आफ्नो घरको बार्दलीतिर देखाउँदै ङिच्च गर्‍यो, ‘हिजो मात्र बनाइसकेको ।’

मन्त्री त्यसको पनि उद्घाटन गर्न भनेर आएको थियो । भन्यो, ‘कैंची त मसँग छ । तर रिबन खोइ ? के काटेर उद्घाटन गर्नु ?’

वडा अध्यक्ष एकछिन अलमलियो । अनि, स्कूल छोडेर मन्त्रीका पछिपछि आएकी आफ्नी छोरीलाई बोलायो र उसले लगाएको रिबन खोल्न लगायो । एकातिर बाबु र अर्कातिर छोरी रिबन तन्काएर उभिएपछि मन्त्रीले रिबन काटेर बार्दली उद्घाटन गर्‍यो । सबैले ताली बजाए । ‘बधाई छ तपाईंहरूलाई । आज यो गाउँमा दुइटा ऐतिहासिक घटना भए’ भन्दै ऊ हेलिकप्टर भएतिर फर्क्यो र अर्को जिल्लातिर उड्यो । पुरानो झोलुंगे पुलको मुखमा रातो रिबन बाँधेर गाउँपालिका अध्यक्ष सहित केही मानिसले बाटो छेकेका थिए । सय जना जति यात्रु बाटो नपाएर मुर्मुरिंदैथिए । यसैबीच मन्त्रीको हेलिकप्टर आइपुग्यो । सबै जना आफ्नै स्वागतका लागि आएका भन्ठानेर दंग पर्दै मन्त्रीले रिबन काटेर पुलको उद्घाटन गर्‍यो । यात्रुहरू भुतभुताउँदै बाटो लागे ।

नजीकैको छाप्रोमा चियाको व्यवस्था थियो । छेउमा घाम तापिरहेको एउटा बूढो मानिसले सोध्यो, ‘यो त पुरानै पुल हो । १२ वटा जति फल्याक भाँचिएकाले तिनै फल्याक मात्र फेर्‍या हो । यसको पनि हेलिकप्टरबाट आएर उद्घाटन गर्नुपर्छ र बाबु ?’

मन्त्रीले भन्यो, ‘कुनै पनि कुरालाई मामूली ठानेर उद्घाटन नगर्नु अथवा निर्माण भएपछि एकचोटि मात्र उद्घाटन गर्नु सामन्ती परम्परा हो । हामीले त्यसको उन्मूलन गरेका छौं । हामी पाइला पाइलामा उद्घाटन गर्छौं र शोषक, सामन्तले महत्त्व नदिएका कुराको पनि उद्घाटन गर्छौं । मुलुकको समृद्धि यसैमा निर्भर छ भन्ने महाराजको निष्कर्ष छ । हामी त्यसै अनुसार अघि बढेका छौं । महाराजको प्रतापले सिंगो देश अब उद्घाटनको युगमा प्रवेश गरिसकेको छ ।’

उसले ठीक भनेको थियो । महाराजको प्रतापले देश उद्घाटनमय हुँदै गएको थियो । वडाध्यक्षको भान्साघरको उद्घाटन झंकमणि स्वयंले गरेको थियो भने उसको कुखुरा–खोरको उद्घाटन वडाध्यक्षको हातबाट भएको थियो । डल्लीमायाले ठेलागाडामा थापेको चटपटे पसलको उद्घाटन गर्न विधायक लम्बोदर आएको थियो, जसलाई सुन्तली र सुन्दरेको प्रगतिशील बिहामा प्रमुख अतिथि बनाइयो । उसले बेलुका उनीहरूको सुहागरात कक्षको उद्घाटन गर्नु थियो । यसबीच ऊ अर्को गाउँमा शौचालय उद्घाटन गर्न गयो । गाउँभरिका शौचालय पालैपालो उद्घाटन गर्दै जाँदा रात पूरै छिप्पिइसकेको थियो । ऊ फर्कंदा बेहुला बेहुली सुहागरात कक्षबाहिर सुकुलमै निदाइसकेका थिए— उद्घाटनको प्रतीक्षामा ।

उद्घाटन भनेपछि मन्त्रीहरू हिरिक्कै हुन्थे । गाउँको स्वास्थ्य चौकीमा एउटा कोठा थपिएपछि स्वास्थ्यमन्त्री आठ घण्टा गाडी कुदाएर उद्घाटन गर्न पुगेको थियो भने पर्यटनमन्त्रीले डेढ घण्टा हेलिकप्टर चढेर आफ्नो गाउँमा बर्थडे केकको उद्घाटन गरेको थियो । ३२ वर्ष पुरानो एउटा नहर मर्मत भएपछि त्यसको उद्घाटन गर्न दुई पूर्वमन्त्री सहित तीन बहालवाला मन्त्रीको जत्था पुगेको थियो, ५५ वटा गाडीको लश्कर थिएर । पाँचै जनाले एकमाथि अर्को खप्टिएजस्तो गरेर, बत्तीसदन्त देखाउँदै नहरको गेट खोल्ने बटन त थिचे तर पानीको कमी थियो । नहरमा बगेको पानी सय मीटर पर पुग्दा नपुग्दै भुइँमा सोसिएर हरायो । करीब तीन सय जनाको त्यो जत्था नहरको बजेटमा पिकनिक मनाएर फर्कियो ।

देशमा चार दशक अघि एउटा राजमार्ग बनेको थियो, जो सातै प्रदेश भएर गुज्रन्थ्यो । त्यो उद्घाटनको खानी सिद्ध भयो । सर्वप्रथम हरेक प्रदेशका मुख्यमन्त्रीले मर्मत–कार्यको प्रारम्भिक उद्घाटन गरे । अलिक दिनपछि खाल्डाखुल्डीमा गिट्टी हाल्ने कार्यको उद्घाटन भयो । त्यसपछि विभिन्न मितिमा जिल्लैपिच्छे कालोपत्रे ओछ्याउने कामको उद्घाटन गरियो । मर्मत सम्पन्न भएपछि साइत जुराएर केन्द्रमा महाराजले र प्रदेशहरूमा मुख्यमन्त्रीले राजमार्गको उद्घाटन गरे । एक मुख्यमन्त्रीको भनाइ थियो, ‘आफूले राजमार्ग बनाउन सकिंदैन । अरूले बनाएकोलाई नै यसो मौका छोपेर बीचबीचमा उद्घाटन गर्दै जाने हो । अग्रगमन भनेकै यही हो ।’

महाराज अद्वितीय विकासप्रेमी थिए । शिलान्यास र उद्घाटनको घोषणा गर्नु नै विकास हो भन्ने उनको मान्यता थियो । त्यही घोषणा पनि कार्यस्थलमा गएर गर्न उनलाई रुचि थिएन, किनभने कार्यस्थल नै कहाँ हो भन्ने अत्तोपत्तो हुँदैनथ्यो । ‘सुनारको सय चोट, लोहारको एकै चोट’ भनेझैं यस्तो घोषणा घर बसी बसी चिया खाँदाखाँदै थोकको भाउमा गर्न सकिन्छ भन्ने उनले बुझेका थिए । यसमा कम्प्युटरले उनलाई साथ दिएको थियो । उनी कम्प्युटरमै शिलान्यास गर्थे र उद्घाटन पनि ।

एक दिन ठूलो तामझामका बीच महाराजले कम्प्युटरको बटन थिचे र प्रोजेक्टर मार्फत भित्तामा एउटा वाक्य प्रकट भयो, ‘श्री ८ महाराजका वरद बाहुलीबाट देशभर ३३० सडकको एकसाथ शिलान्यास सम्पन्न ।’ भाइभारदारहरूले तालीको गडगडाहट लगाए र नियमानुसार तीन पटक महाराजको जयजयकार गरे । विदूषकीय आत्मविश्वासका साथ महाराजले भाषण दिए, ‘शिला र न्यास दुवैबाट मुक्त यो वैज्ञानिक शिलान्यास हो । हामी कुनै पनि काम समयमै पूरा गर्छौं । अर्को महीना यही ठाउँबाट यसैगरी ३३० वटै सडकको उद्घाटन हुनेछ ।’

कार्यक्रम पछि चियापान गरिरहेका सडक मन्त्रीलाई २० जना सांसदले घेरे र प्रश्न गरे, ‘यी कहाँका सडक हुन् ? हाम्रो क्षेत्रमा त कुनै नयाँ सडक बनाउने योजना छैन ।’

अप्रत्याशित प्रश्नले मन्त्रीको चिया सर्कियो । उसले भन्यो, ‘त्यो त मलाई पनि थाहा छैन । भर्खर शिलान्यास भयो । अब उद्घाटन हुन दिनोस् । हाम्रो सरकार रहिरह्यो भने त्यसपछि कहाँ सडक बनाउने, कहिले बनाउने जस्ता खुद्रा–मसिना कुरामा विचार गरौंला ।’

‘बजेट त हाम्रै खातामा आउँछ नि, होइन ?’ सांसदहरूले मूल चासो व्यक्त गरे । ‘तपाईंहरूकै खातामा आउने हो । चिन्तै नगर्नोस्,’ मन्त्रीले आश्वस्त पार्‍यो । ‘त्यसो भए ठीक छ । हामी पनि सडकको चिन्ता गर्दैनौं,’ सांसदहरू चिया थप्नतिर लागे ।

त्यही हप्ता महाराजले चार सय अस्पतालको शिलान्यास र तीन सय पुलको उद्घाटन भएको घोषणा गरे । सबै कम्प्युटरको पर्दामा । ‘यी कहिले बन्लान् ?’ भन्ने महारानीको जिज्ञासामा उनको जवाफ थियो, ‘मैले उद्घाटन गरिहालें । कुनै न कुनै दिन त अवश्य बन्लान् । जहिले बने पनि मेरै नाम रहने हो ।’

तर, यतिले महाराजलाई चित्त बुझिरहेको थिएन । उनलाई अलौकिक काम गर्न मन लागेको थियो । यस्तो काम, जसलाई यो लोकमा कसैले गर्न नसकोस् । त्यो शुभ घडी पनि चाँडै उपस्थित भयो । हिजो छाडी अस्ति सिंहदरवारमा आयोजित अति विशिष्ट समारोहमा महाराजले कम्प्युटरको बटन थिचेर सिंहदरवारको शिलान्यास गरे । र, आफैं दंग परे ।

‘सिंहदरवारमै बसेर सिंहदरवारको शिलान्यास ?’ तपाईं भन्नुहोला, ‘यो कस्तो ठट्टा हो ?’

तपाईंले कुरा बुझ्नुभएन मित्र ! यो पृथ्वीलोकको होइन, मंगल ग्रहमा बन्ने सिंहदरवारको शिलान्यास थियो । कुनै दिन मंगल ग्रहमा मानव बस्ती बस्न सक्ने परिकल्पना त तपाईंले पनि सुन्नुभएकै होला । हाम्रा दूरदर्शी महाराजका अनुसार, त्यसवेला त्यहाँ पनि चुच्चे नक्शा भएको नेपाल देश हुनेछ । नेपाल भएपछि सिंहदरवार चाहियो नै । हो, त्यही सिंहदरवारको शिलान्यास गरेका रे, उनले । अब त कुरा छर्लंग बुझ्नुभो नि ?

अन्त्यमा, तपाईंलाई खुसुक्क अर्को सूचना पनि दिऊँ । शिलान्यास त भइहाल्यो, उद्घाटन चाहिं नयाँ वर्षको प्रारम्भमा गर्ने योजना रहेछ । त्यसका लागि कालो ग्रेनाइटमा सुनौला अक्षरले लेखिएको भव्य शिलालेख तयार भइसकेको रहेछ, जसमा भनिएको छ, ‘श्री ८ महाराजका करकमलबाट मंगल ग्रहमा निर्मित हुने सिंहदरवार भवनको उद्घाटन आज सम्पन्न भयो । मिति : २०७८ वैशाख १ गते बुधवार ।’

नयाँ वर्षको शुभकामना !

प्रकाशित : चैत्र २८, २०७७ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्

डढेलो नियन्त्रणको चटारो

भीषण डढेलो एक साताभित्रै सफलतापूर्वक नियन्त्रण गरियो । कामको चटारो यति धेरै थियो, डढेलो लागेको ठाउँमा कोही पुग्न भ्याएन ।
शरच्चन्द्र वस्ती

रात्माटेको जंगलमा डढेलो लागेको खबर पाएपछि डिभिजन वन कार्यालयको हाकिम रामअगन यादवले तल्लो ओठबाट फुत्कन लागेको छड्के मुस्कान नियन्त्रण गर्‍यो र हुताशन आङदम्बेलाई फोन लगायो । उताबाट ‘हलो’ भन्न नपाउँदै रामअगन बोल्यो, ‘अध्यक्षज्यू, डढेलो लाग्यो भन्ने सुन्छु नि । यसपालि कति ढीलो हो ?’

फाइल तस्बिर

‘पोहोर–परार त अलिक छिटो लाग्थ्यो, यसपालि के भो के भो सर,’ हुताशनले निरीहता व्यक्त गर्‍यो, ‘म पनि कहिले डढेलो लाग्छ भनेर पर्खिराख्या थिएँ, बल्ल लाग्यो ।’

हुताशन ज्वालापुर नगरपालिकाको मेयर थियो, जस अन्तर्गत उक्त जंगल सहित सातवटा दुर्गम गाउँ समेटिएका थिए । जंगल त के, गाउँहरूले पनि मोटरबाटो देखेका थिएनन् ।

‘डढेलो कति ठाउँमा लागेको हो ?’

‘दुई ठाउँमा भन्छन् । कसैकसैले चार ठाउँमा पनि भन्या छन् ।’

‘त्यतिले के गर्नु ?’ रामअगनले बुद्धि दियो, ‘छ ठाउँमा डढेलो लागेको भनेर पत्र पठाउनोस् । म बजेट पठाइहाल्छु । ढीला नगर्नुहोला ।’

‘ठीक छ सर,’ हुताशनले भन्यो, ‘म आफैं पत्र लिएर आउँछु, आजै ।’

डढेलो लागेपछि जे जे गर्नुपर्ने हो तुरुन्तै गरिहाल्नुपर्छ, नत्र डढेलो निभिसक्छ र बजेट फिर्ता जान्छ भन्ने दुवैलाई थाहा थियो । उनीहरू एक मिनट पनि समय खेर फाल्ने पक्षमा थिएनन् ।

डढेलो लागेको सुनेर अग्निधर बुर्लाकोटीले मानिसलाई धूवाँले आँखा पोलेको र सास फेर्न गाह्रो भएको कल्पना गर्न थाल्यो । इन्टरनेटमा डढेलो साहित्यको अध्ययन गरेर डढेलोबाट पर्ने असरबारे तीन वर्ष अघि चारवटा टिकटक बनाएपछि जिल्ला सदरमुकामको एफएमले उसलाई स्थानीय डढेलो विज्ञको मान्यता दिएको थियो । त्यही आधारमा उसको मीतमामा पर्ने रामअगनले उसलाई वर्षेनि रात्माटेको डढेलो अध्ययन गर्ने ‘कार्यभार’ दिंदै आएको थियो ।

अग्निधर रामअगनकहाँ पुग्दा ऊ कार्यालय सहायिका शिखा रानालाई अगाडि राखेर गत वर्ष डढेलो नियन्त्रणका लागि गरिएका कामहरूको फाइल अध्ययन गर्दैथियो । ‘वरिष्ठ डढेलो विज्ञ’ का रूपमा अग्निधरलाई एक सदस्यीय डढेलो अध्ययन कार्यदलको संयोजक नियुक्त गरिएको पत्र थमाउँदै उसले भन्यो, ‘सबै पोहोर जस्तै हो । पाँच लाखमा सही गर्नुपर्छ, एक लाख पाउनुहुन्छ । प्रतिवेदन चार दिन भित्र दिनुहोला ।’

‘२५ हजार त बढाइदिनोस् न मामा,’ अग्निधरले नेहोरा गर्‍यो ।

‘जब पिछला सालकै प्रतिवेदनमा एक–दू–गो प्याराग्राफ अउर मिति हेरफेर गरिलिएको भरमा एक लाख पाइहाल्नुहुन्छ त अरू कति लालच गरिलिनुहुन्छ ?’ रामअगनले अनौपचारिक शैलीमा दपेट्यो, ‘यो साल चूपचाप काम गरिलिनोस्, आगे साल विचार गरिलिउँला ।’ अग्निधर पत्र लिएर फर्कन लाग्दा मेयर हुताशन आफूले लेखेको पत्र लिएर आइपुग्यो र एक घण्टा जति रामअगनसँग बात मारेर एउटा चेक लिई फर्क्यो । भोलिपल्टदेखि सबै जना डढेलो नियन्त्रणको चटारोमा व्यस्त भए ।

सर्वप्रथम, डिभिजन वन कार्यालयले आफू मातहतका सबै कार्यालयलाई रात्माटेको जंगलमा डढेलो लागेकोतर्फ ध्यानाकर्षण गराउँदै पत्र पठायो र लिखित आदेश विना कुनै पनि कर्मचारी घटनास्थल गई खतरामा परेमा त्यसको जवाफदेही ऊ स्वयं हुनुपर्नेबारे सचेत गरायो । त्यसपछि ‘डढेलोबाट सतर्क रहौं, आफू बचौं र अरूलाई पनि बचाऔं’ भन्ने नारा अंकित सेता टीशर्ट वितरण गरी जिल्ला सदरमुकाममा स्कूले विद्यार्थीहरूको प्रभातफेरी आयोजना गर्‍यो । साथै, सोही नारा र डढेलोको आकर्षक चित्र सहितको रंगीन पोस्टर शहरका भित्ता–भित्तामा टाँस्ने व्यवस्था मिलायो ।

डढेलो नियन्त्रणबारे सदरमुकाममा एकदिने सेमिनार आयोजना गरियो, जसमा राजधानीबाट आएका राष्ट्रिय डढेलो विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा डढेलोको परिभाषा, यसका प्रकार, विश्वमा डढेलोको उत्पत्ति र विकासक्रम, डढेलोको इतिहास, मानव समाजसँग डढेलोको सम्बन्ध, विगत एक शताब्दीमा विश्वमा लागेका ठूला डढेलाहरू, तिनको कारण, त्यसबाट भएको जनधनको क्षति, विश्वको अर्थतन्त्र र जनजीवनमा डढेलोबाट परेको प्रभाव, डढेलोको सकारात्मक पक्ष, डढेलो नियन्त्रण गर्न विकसित गरिएका नवीन प्रविधिहरू, तिनको प्रभावकारिता र डढेलोबाट बच्न अपनाउनुपर्ने पूर्व सतर्कताबारे विस्तारपूर्वक उल्लेख गरिएको थियो । प्रस्तुतिको अन्त्यमा उनले नेपालमा डढेलोको इतिहास र डढेलोबाट भएको क्षतिबारे पर्याप्त सामग्री एवं तथ्यांक उपलब्ध नभएकाले यस सम्बन्धमा आधिकारिक रूपमा केही भन्न नसकिने उल्लेख गर्दै डढेलो लाग्न नदिनु नै यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको स्पष्ट पारेका थिए ।

ज्वालापुर नगरपालिकाले वडा कार्यालयहरूमा डढेलो विरुद्ध दुईदिने सचेतना कार्यक्रम आयोजना गर्‍यो, जसमा वडा सदस्यलाई दुई हजार र कर्मचारीलाई पाँच सयका दरले यातायात भत्ता दिइएको थियो । वन कार्यालयले उपलब्ध गराएको पोस्टर सबै वडा कार्यालयमा टाँसियो । साथै, रात्माटेको जंगलसँग जोडिएको सुकेगाउँका १२ सय घरधुरीलाई अघिल्ला वर्षहरूमा झैं डढेलो निभाउन एक–एक वटा फलामे बाल्टिन वितरण गरियो । गाउँमा पानीको अभाव थियो, खानेपानी लिन गाउँलेहरू चार किलोमिटर परको खोलामा पुग्नुपर्थ्यो । फलस्वरूप बाल्टिनले पानीको मुख देख्न पाएनन् ।

स्थानीय डढेलो विज्ञ अग्निधरको व्यस्तता पनि कम थिएन । वन कार्यालयमा पोहोर बुझाएको प्रतिवेदनको एकमात्र प्रति उसले मीतमामाबाट पत्रसँगै हात लगाइसकेको थियो । त्यसको शुरू तथा अन्तिमका दुई प्याराग्राफ, मिति र आवरण पृष्ठको डिजाइन परिवर्तन गरेर यस वर्षको डढेलो अध्ययन प्रतिवेदनलाई उसले दुई दिन भित्रै अन्तिम रूप दियो । र, आफ्नो विज्ञता स्थानीय सञ्चार माध्यमहरूमा वितरण गर्न थाल्यो ।

एक दिन साँझ टेलिभिजनले उसको अन्तर्वार्ता प्रत्यक्ष प्रसारण गर्‍यो । डढेलोबाट पर्ने प्रभाव उल्लेख गर्दै उसले बतायो, ‘डढेलोबाट जंगलका रूख डढ्छन् । रूखको काठ डढ्छ । रूखका हाँगा डढ्छन् । नयाँ पालुवा डढ्छन् । सुकेका, पुराना पात डढेर खरानी हुन्छन् । जंगलका घाँसपात, लहरा र बुट्यानहरूमा आगलागी हुन्छ । जडीबुटीहरू डढेर सखाप हुन्छन् । डढेलोले चराचुरुंगीको आश्रयस्थल प्रभावित हुन्छ । वन्यजन्तुको वासस्थान हरण हुन्छ । आगोको रापले पोल्न थालेपछि कतिपय वन्यजन्तु आफू बसेको ठाउँ छोडेर भाग्छन् । डढेलो उनीहरूका लागि निकै पीडादायी हुने गर्छ ।’ ऊ भन्दैगयो, ‘डढेलोले जंगलमा आगो मात्र लाग्दैन, प्रशस्त धूवाँ पनि उत्पादन हुन्छ । धूवाँ आँखामा परेपछि पोल्छ । नाकमा परेपछि सास फेर्न गाह्रो हुन्छ । सास फेर्न नसकेपछि मानिसको मृत्यु पनि हुनसक्ने खतरा पैदा हुन्छ ।’

टेलिभिजन हेरिरहेका एकजना वृद्ध अग्निधरको अन्तर्वार्ता आउन थालेपछि शुरूदेखि नै हाँस्न थालेका थिए । उनको हाँसो झन् झन् बढ्दै गयो । अन्तिमतिर जोडले खित्का छोडिरहँदा उनले सास तान्नै भ्याएनन् र ठाउँको ठाउँ परमधाम गए । टेलिभिजनले ब्रेकिङ न्यूज दियो, ‘डढेलो मात्र होइन, डढेलोको चर्चा पनि प्राणघातक ।’

दुई जना साहसी खोज पत्रकार ठूलो आँट जुटाएर सुकेगाउँसम्म पुगे । घना जंगलभित्र कतै लागेको डढेलो त उनीहरूले पनि देख्न पाएनन्, तर प्रत्यक्षदर्शीसँगको कुराकानीबाट, डढेलो लाग्दा चौबीसै घण्टा आगो बलिरहने र त्यसवेला गाउँमा राति पनि उज्यालो हुने गरेको नयाँ तथ्य फेला पारे । त्यसले बिजुलीको खपत र चोरीको घटना दुवै घटाएको रहेछ । तिनको रिपोर्ट संयुक्त बाइलाइनमा अखबारको ब्यानर हेडलाइन बनेर छापियो— ‘डढेलोले राति पनि गाउँ झलमल्ल’ । र, ‘सकारात्मक पत्रकारिता पुरस्कार’ का लागि नामांकित पनि भयो ।

यसबीच डढेलो स्वतः मत्थर हुँदै गयो र सातौं रात हल्का पानी परेपछि पूरै निभ्न पुग्यो । यतिन्जेलमा डढेलो नियन्त्रणका लागि आएको ६० लाखको बजेट सकिइसकेको थियो । त्यसबाट मेयरले आठ लाख र वन कार्यालयको हाकिमले २२ लाख आम्दानी गरेका थिए । शुरूमा डढेलोको खबर पाउँदा रामअगनले रोकेको छड्के मुस्कान अब उसको अनुहारमा अहोरात्र प्रस्फुटित हुन थालेको थियो । ऊ हाच्छिउँ गर्दा पनि मुस्कुराइरहेको देखिन्थ्यो । उसको दिमाग अर्को वर्षको डढेलोको सुखद कल्पनामा डुब्न थालेको थियो । यस प्रकार, रात्माटेको जंगलमा लागेको भीषण डढेलो एक साताभित्रै सफलतापूर्वक नियन्त्रण गरियो । सबैले रातदिन नभनी खटेर काम गरेका थिए । गएको वर्षमा सम्पन्न कुनै पनि कार्यक्रम यस वर्ष छुट्न पाएन । यो चटारोका बीच, डढेलो लागेको ठाउँमा भने यस वर्ष पनि कोही पुग्न भ्याएन ।

डढेलो निभेको पर्सिपल्ट दुइटा पुच्छ्रे घटना भए :

क. विपक्षी पार्टीबाट सञ्चालित एउटा स्थानीय अखबारले ‘गत वर्षकै प्रतिवेदनमा मिति मात्र फेरबदल गरेर पाँच लाख रुपैयाँ भ्रष्टाचार गरिएको’ आरोप लगायो । वन कार्यालयको हाकिम रामअगन यादवले सोही दिन पत्रकार सम्मेलन गरी ‘सरासर झूटो, भ्रामक, कपोलकल्पित एवं दुराशयप्रेरित’ भन्दै त्यसको खण्डन गर्‍यो र आरोप प्रमाणित गर्न चुनौती दियो । आरोप प्रमाणित गर्न पोहोरको प्रतिवेदन चाहिन्थ्यो, जुन वन कार्यालयबाट गायब भइसकेको थियो ।

ख. त्यस दिन जिल्ला सदरमुकामस्थित चित्लाङे साहूको पसलमा फलामे बाल्टिन फिर्ता गर्नेहरूको बेपत्ता घुइँचो लागेको थियो । फिर्ता ल्याइएका १२ सयवटै बाल्टिन बिल्कुलै नयाँ थिए, पानी स्पर्श नपरेका । पाँच दिन अघि १२ सय रुपैयाँका दरले बेचेका ती बाल्टिन साहूले दुई सय रुपैयाँका दरले फिर्ता लियो । यी तिनै बाल्टिन थिए, जो उसले पोहोर र परार साल पनि यही मोलमा बेचेर यसैगरी फिर्ता लिएको थियो । तीन वर्षमा १२ सय बाल्टिनबाट उसले ३६ लाख रुपैयाँ नाफा कमाइसकेको थियो र बाल्टिन पनि ऊसँगै थिए । अब ऊ अर्को डढेलोको स्वागत गर्न आतुर थियो ।

प्रकाशित : चैत्र २१, २०७७ १०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×