डढेलो नियन्त्रणको चटारो- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डढेलो नियन्त्रणको चटारो

भीषण डढेलो एक साताभित्रै सफलतापूर्वक नियन्त्रण गरियो । कामको चटारो यति धेरै थियो, डढेलो लागेको ठाउँमा कोही पुग्न भ्याएन ।
शरच्चन्द्र वस्ती

रात्माटेको जंगलमा डढेलो लागेको खबर पाएपछि डिभिजन वन कार्यालयको हाकिम रामअगन यादवले तल्लो ओठबाट फुत्कन लागेको छड्के मुस्कान नियन्त्रण गर्‍यो र हुताशन आङदम्बेलाई फोन लगायो । उताबाट ‘हलो’ भन्न नपाउँदै रामअगन बोल्यो, ‘अध्यक्षज्यू, डढेलो लाग्यो भन्ने सुन्छु नि । यसपालि कति ढीलो हो ?’

फाइल तस्बिर

‘पोहोर–परार त अलिक छिटो लाग्थ्यो, यसपालि के भो के भो सर,’ हुताशनले निरीहता व्यक्त गर्‍यो, ‘म पनि कहिले डढेलो लाग्छ भनेर पर्खिराख्या थिएँ, बल्ल लाग्यो ।’

हुताशन ज्वालापुर नगरपालिकाको मेयर थियो, जस अन्तर्गत उक्त जंगल सहित सातवटा दुर्गम गाउँ समेटिएका थिए । जंगल त के, गाउँहरूले पनि मोटरबाटो देखेका थिएनन् ।

‘डढेलो कति ठाउँमा लागेको हो ?’

‘दुई ठाउँमा भन्छन् । कसैकसैले चार ठाउँमा पनि भन्या छन् ।’

‘त्यतिले के गर्नु ?’ रामअगनले बुद्धि दियो, ‘छ ठाउँमा डढेलो लागेको भनेर पत्र पठाउनोस् । म बजेट पठाइहाल्छु । ढीला नगर्नुहोला ।’

‘ठीक छ सर,’ हुताशनले भन्यो, ‘म आफैं पत्र लिएर आउँछु, आजै ।’

डढेलो लागेपछि जे जे गर्नुपर्ने हो तुरुन्तै गरिहाल्नुपर्छ, नत्र डढेलो निभिसक्छ र बजेट फिर्ता जान्छ भन्ने दुवैलाई थाहा थियो । उनीहरू एक मिनट पनि समय खेर फाल्ने पक्षमा थिएनन् ।

डढेलो लागेको सुनेर अग्निधर बुर्लाकोटीले मानिसलाई धूवाँले आँखा पोलेको र सास फेर्न गाह्रो भएको कल्पना गर्न थाल्यो । इन्टरनेटमा डढेलो साहित्यको अध्ययन गरेर डढेलोबाट पर्ने असरबारे तीन वर्ष अघि चारवटा टिकटक बनाएपछि जिल्ला सदरमुकामको एफएमले उसलाई स्थानीय डढेलो विज्ञको मान्यता दिएको थियो । त्यही आधारमा उसको मीतमामा पर्ने रामअगनले उसलाई वर्षेनि रात्माटेको डढेलो अध्ययन गर्ने ‘कार्यभार’ दिंदै आएको थियो ।

अग्निधर रामअगनकहाँ पुग्दा ऊ कार्यालय सहायिका शिखा रानालाई अगाडि राखेर गत वर्ष डढेलो नियन्त्रणका लागि गरिएका कामहरूको फाइल अध्ययन गर्दैथियो । ‘वरिष्ठ डढेलो विज्ञ’ का रूपमा अग्निधरलाई एक सदस्यीय डढेलो अध्ययन कार्यदलको संयोजक नियुक्त गरिएको पत्र थमाउँदै उसले भन्यो, ‘सबै पोहोर जस्तै हो । पाँच लाखमा सही गर्नुपर्छ, एक लाख पाउनुहुन्छ । प्रतिवेदन चार दिन भित्र दिनुहोला ।’

‘२५ हजार त बढाइदिनोस् न मामा,’ अग्निधरले नेहोरा गर्‍यो ।

‘जब पिछला सालकै प्रतिवेदनमा एक–दू–गो प्याराग्राफ अउर मिति हेरफेर गरिलिएको भरमा एक लाख पाइहाल्नुहुन्छ त अरू कति लालच गरिलिनुहुन्छ ?’ रामअगनले अनौपचारिक शैलीमा दपेट्यो, ‘यो साल चूपचाप काम गरिलिनोस्, आगे साल विचार गरिलिउँला ।’ अग्निधर पत्र लिएर फर्कन लाग्दा मेयर हुताशन आफूले लेखेको पत्र लिएर आइपुग्यो र एक घण्टा जति रामअगनसँग बात मारेर एउटा चेक लिई फर्क्यो । भोलिपल्टदेखि सबै जना डढेलो नियन्त्रणको चटारोमा व्यस्त भए ।

सर्वप्रथम, डिभिजन वन कार्यालयले आफू मातहतका सबै कार्यालयलाई रात्माटेको जंगलमा डढेलो लागेकोतर्फ ध्यानाकर्षण गराउँदै पत्र पठायो र लिखित आदेश विना कुनै पनि कर्मचारी घटनास्थल गई खतरामा परेमा त्यसको जवाफदेही ऊ स्वयं हुनुपर्नेबारे सचेत गरायो । त्यसपछि ‘डढेलोबाट सतर्क रहौं, आफू बचौं र अरूलाई पनि बचाऔं’ भन्ने नारा अंकित सेता टीशर्ट वितरण गरी जिल्ला सदरमुकाममा स्कूले विद्यार्थीहरूको प्रभातफेरी आयोजना गर्‍यो । साथै, सोही नारा र डढेलोको आकर्षक चित्र सहितको रंगीन पोस्टर शहरका भित्ता–भित्तामा टाँस्ने व्यवस्था मिलायो ।

डढेलो नियन्त्रणबारे सदरमुकाममा एकदिने सेमिनार आयोजना गरियो, जसमा राजधानीबाट आएका राष्ट्रिय डढेलो विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा डढेलोको परिभाषा, यसका प्रकार, विश्वमा डढेलोको उत्पत्ति र विकासक्रम, डढेलोको इतिहास, मानव समाजसँग डढेलोको सम्बन्ध, विगत एक शताब्दीमा विश्वमा लागेका ठूला डढेलाहरू, तिनको कारण, त्यसबाट भएको जनधनको क्षति, विश्वको अर्थतन्त्र र जनजीवनमा डढेलोबाट परेको प्रभाव, डढेलोको सकारात्मक पक्ष, डढेलो नियन्त्रण गर्न विकसित गरिएका नवीन प्रविधिहरू, तिनको प्रभावकारिता र डढेलोबाट बच्न अपनाउनुपर्ने पूर्व सतर्कताबारे विस्तारपूर्वक उल्लेख गरिएको थियो । प्रस्तुतिको अन्त्यमा उनले नेपालमा डढेलोको इतिहास र डढेलोबाट भएको क्षतिबारे पर्याप्त सामग्री एवं तथ्यांक उपलब्ध नभएकाले यस सम्बन्धमा आधिकारिक रूपमा केही भन्न नसकिने उल्लेख गर्दै डढेलो लाग्न नदिनु नै यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको स्पष्ट पारेका थिए ।

ज्वालापुर नगरपालिकाले वडा कार्यालयहरूमा डढेलो विरुद्ध दुईदिने सचेतना कार्यक्रम आयोजना गर्‍यो, जसमा वडा सदस्यलाई दुई हजार र कर्मचारीलाई पाँच सयका दरले यातायात भत्ता दिइएको थियो । वन कार्यालयले उपलब्ध गराएको पोस्टर सबै वडा कार्यालयमा टाँसियो । साथै, रात्माटेको जंगलसँग जोडिएको सुकेगाउँका १२ सय घरधुरीलाई अघिल्ला वर्षहरूमा झैं डढेलो निभाउन एक–एक वटा फलामे बाल्टिन वितरण गरियो । गाउँमा पानीको अभाव थियो, खानेपानी लिन गाउँलेहरू चार किलोमिटर परको खोलामा पुग्नुपर्थ्यो । फलस्वरूप बाल्टिनले पानीको मुख देख्न पाएनन् ।

स्थानीय डढेलो विज्ञ अग्निधरको व्यस्तता पनि कम थिएन । वन कार्यालयमा पोहोर बुझाएको प्रतिवेदनको एकमात्र प्रति उसले मीतमामाबाट पत्रसँगै हात लगाइसकेको थियो । त्यसको शुरू तथा अन्तिमका दुई प्याराग्राफ, मिति र आवरण पृष्ठको डिजाइन परिवर्तन गरेर यस वर्षको डढेलो अध्ययन प्रतिवेदनलाई उसले दुई दिन भित्रै अन्तिम रूप दियो । र, आफ्नो विज्ञता स्थानीय सञ्चार माध्यमहरूमा वितरण गर्न थाल्यो ।

एक दिन साँझ टेलिभिजनले उसको अन्तर्वार्ता प्रत्यक्ष प्रसारण गर्‍यो । डढेलोबाट पर्ने प्रभाव उल्लेख गर्दै उसले बतायो, ‘डढेलोबाट जंगलका रूख डढ्छन् । रूखको काठ डढ्छ । रूखका हाँगा डढ्छन् । नयाँ पालुवा डढ्छन् । सुकेका, पुराना पात डढेर खरानी हुन्छन् । जंगलका घाँसपात, लहरा र बुट्यानहरूमा आगलागी हुन्छ । जडीबुटीहरू डढेर सखाप हुन्छन् । डढेलोले चराचुरुंगीको आश्रयस्थल प्रभावित हुन्छ । वन्यजन्तुको वासस्थान हरण हुन्छ । आगोको रापले पोल्न थालेपछि कतिपय वन्यजन्तु आफू बसेको ठाउँ छोडेर भाग्छन् । डढेलो उनीहरूका लागि निकै पीडादायी हुने गर्छ ।’ ऊ भन्दैगयो, ‘डढेलोले जंगलमा आगो मात्र लाग्दैन, प्रशस्त धूवाँ पनि उत्पादन हुन्छ । धूवाँ आँखामा परेपछि पोल्छ । नाकमा परेपछि सास फेर्न गाह्रो हुन्छ । सास फेर्न नसकेपछि मानिसको मृत्यु पनि हुनसक्ने खतरा पैदा हुन्छ ।’

टेलिभिजन हेरिरहेका एकजना वृद्ध अग्निधरको अन्तर्वार्ता आउन थालेपछि शुरूदेखि नै हाँस्न थालेका थिए । उनको हाँसो झन् झन् बढ्दै गयो । अन्तिमतिर जोडले खित्का छोडिरहँदा उनले सास तान्नै भ्याएनन् र ठाउँको ठाउँ परमधाम गए । टेलिभिजनले ब्रेकिङ न्यूज दियो, ‘डढेलो मात्र होइन, डढेलोको चर्चा पनि प्राणघातक ।’

दुई जना साहसी खोज पत्रकार ठूलो आँट जुटाएर सुकेगाउँसम्म पुगे । घना जंगलभित्र कतै लागेको डढेलो त उनीहरूले पनि देख्न पाएनन्, तर प्रत्यक्षदर्शीसँगको कुराकानीबाट, डढेलो लाग्दा चौबीसै घण्टा आगो बलिरहने र त्यसवेला गाउँमा राति पनि उज्यालो हुने गरेको नयाँ तथ्य फेला पारे । त्यसले बिजुलीको खपत र चोरीको घटना दुवै घटाएको रहेछ । तिनको रिपोर्ट संयुक्त बाइलाइनमा अखबारको ब्यानर हेडलाइन बनेर छापियो— ‘डढेलोले राति पनि गाउँ झलमल्ल’ । र, ‘सकारात्मक पत्रकारिता पुरस्कार’ का लागि नामांकित पनि भयो ।

यसबीच डढेलो स्वतः मत्थर हुँदै गयो र सातौं रात हल्का पानी परेपछि पूरै निभ्न पुग्यो । यतिन्जेलमा डढेलो नियन्त्रणका लागि आएको ६० लाखको बजेट सकिइसकेको थियो । त्यसबाट मेयरले आठ लाख र वन कार्यालयको हाकिमले २२ लाख आम्दानी गरेका थिए । शुरूमा डढेलोको खबर पाउँदा रामअगनले रोकेको छड्के मुस्कान अब उसको अनुहारमा अहोरात्र प्रस्फुटित हुन थालेको थियो । ऊ हाच्छिउँ गर्दा पनि मुस्कुराइरहेको देखिन्थ्यो । उसको दिमाग अर्को वर्षको डढेलोको सुखद कल्पनामा डुब्न थालेको थियो । यस प्रकार, रात्माटेको जंगलमा लागेको भीषण डढेलो एक साताभित्रै सफलतापूर्वक नियन्त्रण गरियो । सबैले रातदिन नभनी खटेर काम गरेका थिए । गएको वर्षमा सम्पन्न कुनै पनि कार्यक्रम यस वर्ष छुट्न पाएन । यो चटारोका बीच, डढेलो लागेको ठाउँमा भने यस वर्ष पनि कोही पुग्न भ्याएन ।

डढेलो निभेको पर्सिपल्ट दुइटा पुच्छ्रे घटना भए :

क. विपक्षी पार्टीबाट सञ्चालित एउटा स्थानीय अखबारले ‘गत वर्षकै प्रतिवेदनमा मिति मात्र फेरबदल गरेर पाँच लाख रुपैयाँ भ्रष्टाचार गरिएको’ आरोप लगायो । वन कार्यालयको हाकिम रामअगन यादवले सोही दिन पत्रकार सम्मेलन गरी ‘सरासर झूटो, भ्रामक, कपोलकल्पित एवं दुराशयप्रेरित’ भन्दै त्यसको खण्डन गर्‍यो र आरोप प्रमाणित गर्न चुनौती दियो । आरोप प्रमाणित गर्न पोहोरको प्रतिवेदन चाहिन्थ्यो, जुन वन कार्यालयबाट गायब भइसकेको थियो ।

ख. त्यस दिन जिल्ला सदरमुकामस्थित चित्लाङे साहूको पसलमा फलामे बाल्टिन फिर्ता गर्नेहरूको बेपत्ता घुइँचो लागेको थियो । फिर्ता ल्याइएका १२ सयवटै बाल्टिन बिल्कुलै नयाँ थिए, पानी स्पर्श नपरेका । पाँच दिन अघि १२ सय रुपैयाँका दरले बेचेका ती बाल्टिन साहूले दुई सय रुपैयाँका दरले फिर्ता लियो । यी तिनै बाल्टिन थिए, जो उसले पोहोर र परार साल पनि यही मोलमा बेचेर यसैगरी फिर्ता लिएको थियो । तीन वर्षमा १२ सय बाल्टिनबाट उसले ३६ लाख रुपैयाँ नाफा कमाइसकेको थियो र बाल्टिन पनि ऊसँगै थिए । अब ऊ अर्को डढेलोको स्वागत गर्न आतुर थियो ।

प्रकाशित : चैत्र २१, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्

गुनिला अनुवादक

कृष्णप्रकाश श्रेष्ठ अनुवाद साहित्यका कारण हामीमध्ये धेरैका निम्ति बाँचेका थिए र आफ्ना कृतिमार्फत सधैँ बाँचिरहनेछन् ।
विप्लव प्रतीक

पुस्तक पढ्ने मेरो बानी ‘कमर्शियल’ हिन्दी साहित्यबाट सुरु भएको हो । तिनबाट म हिन्दी जासुसी उपन्यासको कक्षामा उक्लिएँ । तर, साहित्यसागरको रसपान गर्ने मेरो यात्रा त्यत्तिकैमा सीमित रहेन । कुन्नि कुन स्रोतबाट हिन्दीमा अनुवादित रुसी साहित्यको निकट पुगेँ । निकोलाई आस्त्रोभ्स्की, टोल्सटोय, दोस्तोएभ्स्की, चेखभ, इभान तुर्गनेभ र पुश्किनका किताब पढेपछि मैले फर्केर पनि हेरिनँ ती जासुसी र सामाजिक भनिने हिन्दी उपन्यासतर्फ । तर, तिनले पढ्ने बानी लगाएको गुन भने अहिले पनि बिर्सिएको छैन ।

भावना, सोच र महसुस मातृभाषामा अभिव्यक्त जब गरिन्छ, त्यसको महत्त्व र अर्थ हृदयको बडो करिब पुग्छ । नेपाली भाषामा दर्द अभिव्यक्त गर्दा ‘आइया’ शब्दले पीडित व्यक्तिलाई पीडा कम जसरी गराउँछ र वरिपरि सुन्ने व्यक्तिलाई जसरी ध्यानाकृष्ट गर्छ, अङ्ग्रेजी भाषामा ‘आउच’ वा ‘इट हर्टस्’ ले गर्ला र भन्ने लाग्छ मलाई । त्यसैकारण बडो धनी साहित्यमध्ये एक रुसी साहित्य हिन्दीमा पढिरहँदा त्यो नेपाली भाषामा पढ्न पाए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो ।

यदि कृष्णप्रकाशले रुसी साहित्यलाई नेपालीमा अनुवाद नगर्दा हुन् त मेरो मनसुवा कसले पूरा गर्थ्यो होला र ? अनुवाद गर्नु भनेको सजिलो काम होइन । जुन भाषामा अनुवाद भयो त्यही भाषामै लेखिएको झैँ लाग्नु र मौलिक लेखन जस्तो छ अनुवादमा पनि त्यही हुनु नै अनुवादका चुनौती हुन् । उनले त्यही चुनौती अँगालेर अनुवादकर्ममै आफ्नो जीवन उत्सर्ग गरे । मेरा निम्ति उनी त्यसैले पनि बडो श्रद्धेय छन् र उनको कर्म मेरा लागि बडो स्तुत्य छ ।

म साहित्य–संसारसँग जोडिनेछु भन्ने मैले मेरो किशोरवयमा कहिल्यै पनि कल्पना गरेको थिइनँ । आज जोडिएको छु, र साहित्य–संसारसम्मको मेरो यात्रामा केही सेतुमध्ये एउटा महत्त्वपूर्ण सेतुका रूपमा म श्रेष्ठलाई हमेसा याद राख्नेछु । बौद्ध दर्शनमा कतै भनिएको छ– हामी अर्काका निम्ति बाँचेका हुन्छौँ । कृष्णप्रकाश पनि अनुवाद साहित्यका कारण हामीमध्ये धेरैका निम्ति बाँचेका थिए र आफ्ना कृतिमार्फत सधैँ बाँचिरहनेछन् ।

प्रकाशित : चैत्र २१, २०७७ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×