कमरेड क्रान्तिकारी- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमरेड क्रान्तिकारी

उनी चिच्याए, ‘फेरि बन्दूक उठ्नेछ यो देशमा !’ कोही करायो, ‘बन्दूक होइन, पहिले आफ्नो सुरुवाल उठाउनोस् ।’
शरच्चन्द्र वस्ती

आफ्नै साथी र कार्यकर्ताले समेत छोड्दै गएपछि एक्लिएको कमरेड क्रान्तिकारी ऐनामा आफ्नो अनुहार देख्ता आफैं आत्तिन थाल्यो र एक अपराहृन उसले घोषणा गर्‍यो, ‘देशलाई अर्को क्रान्ति चाहिएको छ । म दुई–चार वर्षका लागि शहर छोडेर गाउँ पस्छु र दोस्रो क्रान्ति सम्पन्न गर्छु ।’

ऊ महान क्रान्तिकारी थियो । जनताको शिकार गर्नुलाई क्रान्ति मान्थ्यो, जातीय द्वन्द्वलाई अग्रगमन भन्थ्यो र धर्म–संस्कृतिको बेमाखलाई प्रगतिशीलता । व्यक्तित्व अनौठो थियो— मानिस उसलाई नचिनुन्जेल उसका साथमा हुन्थे र चिनेपछि साथ छोड्थे । केही वर्ष अघि देशभर ठूलो ‘क्रान्ति’ गरेर ऊ सत्तामा रजगज गर्न पुगेको थियो । दुर्भाग्य, अब उसलाई सबैले चिनिसकेका थिए ।

सूर्य डुबेपछि ‘आज मलाई कसैले डिस्टर्ब नगर्नू’ भन्ने उर्दी जारी गरेर ऊ भुटेको काजु र मिर्गको सुकुटीका साथ ‘ब्लू लेबल’ को बोतल खोलेर बस्यो र तरल पदार्थसँगै दोस्रो क्रान्तिको ठोस चिन्तनमा लीन भयो । राति अबेर नोकर खाना लिएर आउँदा सोफामा टाउको अड्याएर हल्का घुरघुर आवाजका साथ विचारमग्न देखिएको थियो । बिहान घाम झुल्कनु अगावै उठ्यो र चारजना विश्वासिला अंगरक्षकका साथ शहर छोड्यो ।

अर्को दिन उनीहरू चारैतिर पहाडले घेरिएको एउटा गाउँमा पुगे, जहाँ ऊ पहिलो क्रान्तिमा एक महीना भूमिगत भएर बसेको थियो । छेउमा जंगल थियो, जंगल पछाडि अजंगको पहरो । गाउँमा सडक पुगेको थिएन, पानी र बिजुलीको सुविधा थिएन । स्वास्थ्य चौकी र स्कूल भवन उसैवेला उसले बम हानेर खण्डहर बनाइदिएको थियो, जसको पुनर्निर्माण भएको थिएन । गरीब गाउँलेहरू गौप्राणी थिए— जति ज्यादती गर्दा पनि केही नबोल्ने । उसलाई लाग्यो— दोस्रो क्रान्ति शुरू गर्न यो हरेक दृष्टिले उपयुक्त ठाउँ हो ।

लुखुरलुखुर गाउँ छिर्दै गरेको महान क्रान्तिकारीलाई देखेर गाउँपालिका अध्यक्ष छक्क पर्‍यो । त्यो तिनै साहूको छोरो थियो, जसको घरको बुइँगलमा ऊ भूमिगत भएको थियो । ऊसँग हात मिलाउँदै अध्यक्षले सोध्यो, ‘हेलिकप्टरमा उड्ने मान्छे पैदल कसरी, कमरेड ?’

‘पहिलो क्रान्ति खेर गयो । अब दोस्रो क्रान्ति गर्नुपर्ने भयो । यहींबाट शुरू गरौं भनेर आएको,’ कमरेडले भन्यो, ‘यसमा तपाईंले सहयोग गर्नुपर्‍यो ।’

‘ए, त्यसो पो ? फेरि क्रान्ति गर्ने ?’ साहूको छोरो मुस्कुरायो, ‘भइहाल्छ नि !’

कमरेडलाई आफ्नो घरमा पुर्‍याएर खातिरदारी गरेपछि उसले सोध्यो, ‘ल भन्नोस् मैले के गर्नुपर्‍यो ?’

‘क्रान्ति गर्न भूमिगत हुनुपर्छ । जंगल छँदैछ, म त्यहीं भूमिगत हुन्छु,’ कमरेडले आफ्नो योजना सुनायो,

‘तपाईंले गाउँका युवा–युवती पठाइदिनुपर्छ । म भूमिगत सेना तयार पार्छु ।’

‘भूमिगत हुन त म व्यवस्था मिलाइदिउँला, तर गाउँमा युवा–युवती नै छैनन्, कहाँबाट पठाउनु ?’ अध्यक्षले भन्यो, ‘युवक जति घरबारी बन्दक राखेर खाडी मुलुक हानिए, युवती जति पैसा कमाउन शहर पसेका छन् । गाउँमा केटाकेटी, बूढाबूढी र तपाईंको पहिलो क्रान्तिका घाइते, अपांग र गोली लागेकाहरू मात्र छन् । अरू गाउँको हालत पनि यस्तै हो ।’

‘ठीकै छ,’ कमरेडले सुस्केरा हाल्यो, ‘त्यसो भए केटाकेटीबाटै काम चलाउनुपर्ला ।’

‘बुढेसकालमा किन यत्रो दुःख गर्नुहुन्छ कमरेड ? आफ्नै पुराना लडाकूहरूलाई बोलाउनोस् न । नयाँलाई तालीम पनि तिनैले देलान्,’ अध्यक्षले सल्लाह दिन खोज्यो ।

‘तिनको कुरै नगर्नोस्,’ ऊ झस्कियो, ‘मलाई सबैभन्दा ठूलो खतरा नै तिनीहरूबाट छ । तिनैबाट ज्यान जोगाउन अंगरक्षक लिएर हिंड्नुपरेको छ ।’

‘पैसा त छ नि, क्रान्तिका लागि ? कि पहिले जस्तै बन्दूक देखाएर चन्दा माग्ने हो ?’ व्यापारी बुद्धिको अध्यक्षले मुख्य जिज्ञासा प्रकट गर्‍यो ।

‘छ अलिअलि । चिन्ता गर्नुपर्दैन,’ उसले आश्वस्त पार्‍यो ।

सरसल्लाह मिलेपछि कमरेड फेरि त्यही बुइँगलमा १५ दिनका लागि अर्धभूमिगत भयो । यसबीच अध्यक्षले उसका लागि जंगलमा खाल्डो खनेर एककोठे भूमिगत आवास तयार गरिदियो । बाहिरबाट हेर्दा ढलेको छाप्रो जस्तो, भित्र आरामदायी । कमरेडको निर्देशन बमोजिम सैनिक तालीमका लागि पिस्तोल, बन्दूक, बम, ग्रिनेड आदि निर्माण गरियो । सबै काठका । सुरुङ युद्धका निम्ति आठ हात लामा एक दर्जन सुरुङ खनियो । ठाउँठाउँमा पहिलो क्रान्तिका रक्तपातपूर्ण दृश्य देखाउने फ्ल्याक्स लगाइयो । जंगल पस्ने ठाउँमा गेट बनाइयो । विद्यार्थीहरूले स्कूलपछि दुई घण्टा जंगल पसेर क्रान्तिको खेल खेल्ने सर्वपक्षीय सहमति कायम गरियो ।

त्यसपछि जंगल पसेर कमरेड क्रान्तिकारीले आफूलाई भूमिगत र जंगललाई क्रान्तिको आधार क्षेत्र घोषणा गर्‍यो । क्रान्तिको आभास दिलाउन पहिलो दिन उसका दुई अंगरक्षकले विद्यार्थीहरूलाई आँखामा पट्टी बाँधेर अपहरणको शैलीमा स्कूलबाट जंगल पुर्‍याए । टाउकामा रातो टालो बाँधिदिए र कमरेडलाई सलाम गर्न सिकाए । जंगल घुमाए, सुरुङमा छिराए र दालमोठ–चिउरा ख्वाएर विदा गरे ।

भोलिपल्टदेखि विद्यार्थीहरू आफैं हाजिर हुन थाले । कमरेड पिर्कामा उभिएर उनीहरूको सलाम खान्थ्यो । लाइन लगाएर पीटी खेलाउँथ्यो । बन्दूक बोकाएर मार्चपास गराउँथ्यो । चउरमा उभ्याएर भाषण सुनाउँथ्यो । तिनले ताली बजाएपछि झन् चर्को भाषण गर्न थाल्थ्यो । सुरुङमा लुक्ने तरीका बताउँथ्यो । दुश्मनलाई लखेट्न र परास्त गर्न सिकाउँथ्यो । सुराकी र गद्दारलाई चिनेर सजाय दिन लगाउँथ्यो । एम्बुस थाप्न सिकाउँथ्यो । बन्दूक तेर्स्याएर गोली हान्न लगाउँथ्यो । बम पड्काउन अह्राउँथ्यो । बम भनेर पटका पड्काइन्थ्यो ।

उसलाई त्यसको गन्ध असाध्यै मन पर्थ्यो । निकैवेर नाक गाडेर सुँघिरहन्थ्यो ।

विद्यार्थीहरू त्यो खेलमा छिटै अभ्यस्त भए । खोपी र डन्डीबियो भन्दा त्यो कहाँ कहाँ रोमाञ्चक थियो । उनीहरू आफैं लडाइँ खेल्थे । एउटाले ‘डुम्’ भन्दै गोली चलाएजस्तो गर्थ्यो र अर्को ‘ऐया’ भन्दै छाती थिचेर लड्थ्यो । कमरेड यो देखेर दंग पर्थ्यो । एक दिन उसले देख्यो, एउटा च्याँसे केटो बाबुको ज्वारीकोट र चश्मा लगाएर भाषण गर्दैछ र अरू श्रोता बनेका छन् । ऊ भन्दैछ, ‘देशले फेरि बलिदान मागेको छ । आऊ, आफ्नो बलिदान देऊ । तिम्रो बलिदानले मलाई माथि पुर्‍याउँछ । क्रान्ति भनेकै यही हो । बलिदान देऊ र क्रान्ति सफल पार ।’ उसको वैचारिक परिपक्वता देखेर कमरेड गद्गद भयो ।

अध्यक्षले सवारी साधनका रूपमा उसलाई एउटा खच्चड उपलब्ध गराएको थियो । ऊ त्यसैमा चढेर गाउँ डुल्थ्यो । गाउँलेहरू उसलाई ‘बाजे कमरेड’ भन्थे र ऊसँग डराएको अभिनय गर्थे । ‘बाजे त कति ठूलो क्रान्तिकारी, लास्टै डर लाग्छ नि’ भनिदिंदा ऊ दंग पर्थ्यो । कोही कोही ‘भात खाने हो बाजे ?’ भनेर बोलाउँथे । ऊ भोकै भए पनि मुन्टो बटारेर हिंड्थ्यो । भोलिपल्ट फेरि त्यहीं पुग्थ्यो र चर्को स्वरमा ‘भात पस्क’ भनेर आदेश दिन्थ्यो । क्रान्तिकारीले भात पनि अरूलाई थर्काएर मात्र खानुपर्छ भन्ने उसको प्रबल मान्यता थियो ।

सबै ठीकठाक चल्दैथियो । अचानक एउटा तनाव शुरू भयो । आफ्नो अथाह पैसा कमरेडले शहरमा व्यापारीहरूलाई राख्न दिएको थियो । क्रान्तिका लागि भूमिगत भएपछि आफ्ना अंगरक्षक पठाएर पैसा मगाउने गर्थ्यो । अकस्मात् उनीहरू फर्कन छोडे । एकपछि अर्को गर्दै चारै जना गायब भए । तिनलाई व्यापारीहरूले आफ्नै अंगरक्षक बनाइसकेछन् । यो खबर सुनेपछि उसलाई आफ्ना दुवै हात भाँचिएको अनुभव भयो । लेनदेनको लिखत थिएन । क्रान्ति सफल हुने टुंगो थिएन । अंगरक्षक विना शहर पुग्ने आँट थिएन । ऊ व्यापारीहरूले पैसा पचाइदिने भए भनेर छटपटिन थाल्यो ।

यसैबीच दोस्रो क्रान्तिको तयारी शुरू भएको थाहा पाएर पुलकित भएका कमरेडका वृद्ध गुरु एकदिन उसलाई भेट्न आइपुगे । उसले सैन्य तालीम लिइरहेका विद्यार्थीहरूसँगै उभिएर गुरुलाई सलाम अर्पण गर्‍यो ।

वर्षौंवर्षपछि त्यति धेरै बन्दूक एकसाथ देखेपछि वृद्ध गुरु जोशिए र देब्रे हातले मोटो चश्मा सम्हाल्दै दाहिने मुड्की जोडले आकाशतिर झट्कारेर चिच्याए, ‘स्याब्बास् ! फेरि बन्दूक उठ्नेछ यो देशमा !!’

जोश बढी भएछ क्यार, इँजार चुँडियो र उनको सुरुवाल तल खस्यो ।

कार्यक्रम हेरिरहेका गाउँलेहरू हाँस्न थाले । कोही करायो, ‘बन्दूक होइन, पहिले आफ्नो सुरुवाल उठाउनोस् ।’

उनी निहुरिन खोजे, तर सकेनन् । ढाडै सड्किएछ । कमरेडले हत्तपत्त अगाडि आएर सुरुवाल उठाइदियो र इँजार बाँधिदिंदै भन्यो, ‘बन्दूक त उठ्छ, उठ्छ । अरूले नउठाए मै उठाउँछु ।’

‘उठाउनोस् न कमरेड, त्यहीं पछाडि त छ नि,’ कसैले उक्सायो ।

उसले बन्दूक उठाएर देखायो । हाँसोको फोहोरा छुट्यो । कोही भन्दैथियो, ‘बन्दूक सुल्टो समाउन पनि बिर्सनुभो कि क्या हो कमरेड ?’

ऊ लाजले रातो भयो, र बन्दूकसँगै कुरा घुमायो, ‘बन्दूकको कुरा छोड्नोस्, अब हामी हाम्रा गुरुलाई बमको सलामी दिन्छौं । ल, बम पड्काऊ  !’

मानिस आतंकित भए । तर, बम भन्नु पटका थियो । एउटा विद्यार्थीले सलाई झ्यार्र पारेर आगो झोस्यो र पटका पड्कियो— ड्याम्म !

कमरेड क्रान्तिकारी झसंग भएर ब्युँझियो । यसो हेर्छ, ‘ब्लू लेबल’ को बोतल भर्खर भुइँमा खसेर चकनाचुर भएको छ, आफू सोफाको सोफामै !

उसले टाउको दायाँबायाँ झड्कार्‍यो र तीन–चार पटक लामो सास फेर्‍यो । सारा श्रीसम्पत्ति आफ्नै नियन्त्रणमा छ भनेर मन ढुक्क भएपछि एक्लै हाँस्न थाल्यो, ‘धन्न सपना रहेछ । नत्र बित्यासै परिसकेको !’

प्रकाशित : चैत्र ७, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्

सपना, देख्तादेख्तै

यमराजले भने, 'तुरुन्तै यो घर भत्काइहाल् । नत्र यहीं तेरो ज्यान लिन्छु र तँलाई कुम्भीपाक नरकमा लगेर हाल्छु ।'
शरच्चन्द्र वस्ती

अनि हजूरबाले भन्नुभयो : म तीन दाजुभाइका तीन कथा सुनाउँछु, ल सुन ।

एकादेशमा तीन दाजुभाइ धन कमाउन भनेर परदेश हिंडेका थिए । तीन दिन जंगलै जंगल हिंडेपछि एउटा गाउँमा पुगे र अँध्यारो पाटीमा कुम्लोकुटुरो बिसाए । भोकले हत्तू भएका थिए, आफूले ल्याएको सातु खाए र पानी पिए । एकछिन थकाइ मारेपछि सल्लाह गरे— मीठोमसिनो नखाएको निकै दिन भयो, आज टन्न खीर खानुपर्छ ।

एउटा भाइले गाउँबाट दूध ल्यायो, अर्काले चामल र अझ अर्काले सक्खर । अनि आगो बालेर मजासँग खीर पकाए । मगमग बास्ना आइरहेको थियो, चाटीचुटी पारेर एक्लै खाइदिऊँ जस्तो ।

दाजुहरू आफूलाई निकै चलाख ठान्थे । माइलाले जेठासँग कानेखुसी गर्‍यो र कान्छालाई भन्यो, ‘अहिले सातु खाइहालियो । यो खीर यत्तिकै राखेर सुतौं । राति जसले सबैभन्दा राम्रो सपना देख्छ, भोलि बिहान उसैले जम्मै खीर खाने ।’

खीरको भाँडो सिलाबरको थालले छोपेर तीनै जना सुते । बिहान घाम झुल्कन लाग्दा जेठो जर्‍याकजुरुक उठ्यो र

ऊसँगै माइलो पनि । कान्छो भने मस्त सुतिरहेको थियो । उनीहरूले उसलाई पनि ब्यूँझाए । ऊ आँखा चिम्लेर ओछ्यानमै पल्टिरह्यो ।

जेठाले भन्यो, ‘हन हौ माइला, तैंले कस्तो सपना देखिस् ? सुना न ।’

माइलाले भन्यो, ‘म एउटा दरवारमा पुगेको रहेछु । राजाले मेरो भव्य खातिरदारी गरे । मीठा मीठा पकवान खुवाए, नरम गद्दामा सुताए । राजकुमारी असाध्यै सुन्दर रहिछन् । उनले मलाई मन पराइन् । मैले पनि मन पराएँ । हाम्रो बिहे हुनै लागेको थियो, तपाईंको कुहिनाले लागेर ब्यूँझिहालें ।’ अनि सोध्यो, ‘तपाईंले चाहिं कस्तो सपना देख्नुभो नि, दाजु ?’

जेठाले बयान गर्‍यो, ‘म एउटा नदी किनारमा पुगेको रहेछु । त्यहाँ एक जना सिद्ध पुरुष भेटिए । उनले मलाई उडाएर स्वर्ग पुर्‍याए । इन्द्रको सभामा अप्सराको नाच चलिरहेको थियो । मलाई सम्मानसाथ उच्च आसनमा राखे । स्वर्गको दिव्य खानपीन गराए । इन्द्र महाराजले भने— अब एक महीना स्वर्गमै बसेर सुखभोग गर्नोस् । म इन्द्रको दरवारमा अतिथि भएर बस्न थालें । दुइटी अप्सरा मेरो सेवा गर्दै थिए, त्यही वेला ब्यूँझिहालें ।’

‘तपाईंको सपना मेरो भन्दा कहाँ हो कहाँ राम्रो रहेछ हौ दाजु,’ माइलाले आँखा झिम्क्यायो, ‘अब खीर तपाईं नै खानोस् । उब्रियो भने अलिकति मलाई पनि दिनुहोला है !’

जेठाले खीरको भाँडातिर हेर्‍यो र घुटुक्क थूक निलेर कान्छालाई घचघच्यायो, ‘हन हौ कान्छा, अब तेरो पनि सपना भन्दिहाल् न ।’

कान्छो अल्छी मान्दै उठेर बस्यो र भन्न थाल्यो, ‘मैले त सारै नराम्रो सपना पो देखें हौ दाजु ! निदाएको मात्र थिएँ, कताकताबाट एउटा राक्षस आइपुग्यो । जीउभरि झ्यापझ्याप्ती रौं, लामालामा नङ्ग्रा, ठ्याक्कै भालुजस्तो । उसले मेरो घाँटी समात्यो र खीरको भाँडोतिर देखाउँदै भन्यो— त्यो खीर तुरुन्तै चाटीचुटी पारेर खा, नत्र तँलाई मार्छु । खीर नखाए ज्यान जोगिने थिएन । त्यसैले मन नलागी नलागी खीर खानुपर्‍यो नि हौ । अहिलेसम्म पेट अटेसमटेस भइराख्या छ ।’

‘हन, के भन्छ यो ? सपनाको कुरा गरेको कि बिपनाको ?’ जेठाले भाँडामाथिबाट सिलाबरको थाल हटायो । नभन्दै खीर बाँकी थिएन । दाजुहरूको चालामाला बुझेको कान्छो, उनीहरू घुर्न थालेपछि बेलुकै खीर बजाएर सुतेको थियो ।

कथा सुनिरहेकी बहिनी कान्छाको बठ्याइँ सुनेर दंग परी र ताली बजाउन थाली ।

‘त्यसपछि के भो, हजूरबा ?’ भाइले सोध्यो ।

अनि हजूरबाले भन्नुभयो : अब अर्को कथा सुन ।

१२ वर्ष परदेश घुमेर धन कमाएपछि उनीहरू फर्के र आआफ्नो घर बनाएर बस्न थाले । जेठो अनेक तिगडम गरेर ठूलो भइटोपल्न खोज्थ्यो, माइलो गाउँलेहरूलाई तर्साएर भाले पल्टेको थियो, कान्छो बाह्र सत्ताइस गफ गरेर मान्छेलाई दंग पार्न उस्ताद थियो । उसको घर अरूको भन्दा चिटिक्क परेको, लोभलाग्दो थियो ।

एक दिन माइलाले भन्यो, ‘हन हौ भाइ, हामी एउटै बाबुका सन्तान, बेग्लाबेग्लै घरमा के बस्नु, एउटै घरमा बसौं न ।’

उनीहरू एउटै घरमा बस्न थाले । आआफ्नो घरका खाँबा, दलिन, बाकल, तख्ता, झ्याल, ढोका आदि ल्याएर दाजुहरूले दुई खण्ड जोडे र घर ठूलो पारे । गाउँमा सबैभन्दा ठूलो घर त्यही देखिन थाल्यो । मूल खण्ड कान्छाको छँदै थियो, ऊ तलामाथि बस्थ्यो ।

दुवै दाजुहरू त्यहीं उक्लिन चाहन्थे । उनीहरू आफूलाई निकै चलाख ठान्थे । जेठाले माइलासँग कानेखुसी गर्‍यो र कान्छालाई भन्यो, ‘घरमा सबैको कमाइ परेको छ । अब एक हप्ता सबैले सपना देख्ने । जसले सबभन्दा तगडा सपना देख्छ, मूल खण्डमा उही बस्ने ।’

‘रातिको सपना के सपना ? यसपालि दिउसो सपना देख्ने,’ माइलाले थप्यो । राति सपना देख्ने हुँदा कान्छाले खीर भ्याइदिएको उसले बिर्सेको थिएन ।

अनि उनीहरू दिउसै सपना देख्न थाले ।

हप्ता दिनपछि जेठाले भन्यो, ‘हन हौ, हप्ता दिन त बित्यो नि । अब आआफ्नो सपना सुनाओ न ।’

‘घरमा देखेको सपना घरमै बसेर के सुनाउनु ?’ कान्छाले भन्यो, ‘खोलापारि शिव मन्दिर छ, त्यहीं जाऊँ न ।’

‘हिंड् न त,’ दाजुहरूले भने र फटाफट शिव मन्दिरतिर लागे । उनीहरू मन्दिर पस्तैनथे र देउतालाई पनि ढोग्दैनथे । त्यसैले मन्दिर छेउको चौतारीमा आसन जमाए र आआफ्नो सपनाबारे सोच्न थाले ।

दिउसोको सपना त थियो, जसले जे चाहन्थ्यो, सातै दिन त्यही देखेको थियो । दुवैले फेरि एकपल्ट त्यही सपना देखे ।

जेठाले देख्यो : उसले नाना तिगडम लगाएर माइला र कान्छालाई कजाएको छ । दुवै जना उसका आज्ञाकारी बनेका छन् । ऊ मुखिया बनेर घरमा ढलीमली गरिरहेको छ । सारा गाउँलेहरू उसको जयजयकार गर्दैछन् ।

माइलाले देख्यो : उसले जेठा र कान्छाबीच झगडा लगाएर घर कब्जा गरेको छ । तिनीहरू एकअर्कालाई फुटेको आँखाले पनि हेर्न चाहँदैनन् । उसलाई हाइसन्चो भएको छ । बुइँगलभरि नोटका बिटा खात लागेका छन् । गाउँलेहरू डरले चुइँक्क बोल्न सकेका छैनन् ।

दुवै जना आआफ्नो सपनामा मुग्ध थिए । त्यसैको तरंगमा उँघ्न थाले ।

अकस्मात् भुइँचालो गएजस्तो भयो । चौतारी थरर्र हल्लियो । पर केही भत्के–ढलेजस्तो आवाज आयो र कुइरीमण्डल धूलो उठ्यो । के भयो भनेर उनीहरूले भेउ नपाउँदै कान्छो आइपुग्यो ।

‘तपाईंहरू सपना देखेर बस्नुभा छ । उता घर ढलिसक्यो,’ उसले भन्यो, ‘त्यत्रो आवाज आएको सुन्नुभएन ?’

‘हन, के भन्छ यो ? त्यति बलियो घर कसरी ढल्छ ?’ जेठो च्याँट्ठियो, ‘अनि तँ चाहिं यतिन्जेल कहाँ थिइस् नि ?’

‘तपाईंहरू हिंडेको एक छिन पछि घरबाट निस्कनै लागेको थिएँ, झ्याप्प ढोकामै यमराज आइपुगे ।’

‘को यमराज ?’

‘उनै यमराज नि,’ कान्छाले भन्यो, ‘राँगोमा चढेका, राँगैजस्तो कालो वर्णका, राता आँखा र बाक्ला जुँघा भएका, एउटा हातमा डोरी र अर्कोमा काँडादार मुङ्ग्रो लिएका, हेर्दै डरलाग्दा...

‘उनले मलाई आदेश दिए— तुरुन्तै यो घर भत्काइहाल् । नत्र यहीं तेरो ज्यान लिन्छु र तँलाई कुम्भीपाक नरकमा लगेर हाल्छु । मैले यस्तो अन्याय नगर्नोस् भनेर हात जोडें, तर मानेनन् । भने— सबैभन्दा ठूलो न्यायाधीश मै हुँ । मैले जे भन्छु त्यही न्याय हो...

‘मैले धेरै रोइकराइ गरेपछि उनले घरको एउटा खण्ड जोगाउन छूट दिए । अनि मैले आफ्नो खण्ड जोगाएर बाँकी घर भत्काइदिएँ,’ दाजुहरूको दाउ हप्ता दिन अघि नै थाहा पाइसकेको कान्छो मुस्कुरायो, ‘तपाईंहरू अब कहाँ बस्ने, आफैं विचार गर्नोस् ।’

‘मारिहाल्यो नि बजियाले,’ माइलाले थाप्लामा हात राख्यो ।

‘फटाहाहरूलाई कान्छाले फेरि तीन चित ख्वाइदिएछ,’ कथा सुनिरहेकी दिदीले टिप्पणी गरी ।

‘त्यसपछि के भो हजूरबा ?’ भाइले सोध्यो ।

अनि हजूरबाले भन्नुभयो : तेस्रो कथा छोटो छ । अब त्यो पनि सुन ।

मूल घर भत्किएपछि दुवै दाजुहरूले पुराना बाकल, दलिन, तख्ता आदि भेला गरेर आआफ्ना घर बनाउन खोजे । तर जति गरे पनि पहिले जस्तो भएन । दुवैका घर चाँडै थोत्रिए र पाटी जस्ता हुन पुगे । केही दिन कान्छोको चकचकी उधुमै चल्यो । तर अलिक पछि उसको पनि त्यही हाल भयो । तीनै भाइ खोलो तरेपछि बिर्सिइएका लौरा जस्ता भए ।

बूढा र अशक्त भइसक्ता पनि तिनलाई सपनाको नशाले छोडेन । रातदिन तन्द्रामा हुन्थे र सपनै देखिरहन्थे । बीचबीचमा ‘म यस्तो थिएँ, म उस्तो थिएँ... त्यसो नभएको भए यसो गरिदिन्थें’ भनेर बर्बराइरहन्थे । कसैलाई भेट्यो कि च्याप्प समातेर आफ्नो गन्थन सुनाउन थालिहाल्थे । तिनको तालले छोरा, नातिहरू आजित भइसकेका थिए ।

एक रात नातिहरूले काजु, किसमिस, मह, केसर, के–के हालेको स्वादिष्ट दूध टक्र्याए । उनीहरूले थपी थपी टन्न दूध खाए र मीठो सपना देख्ने आसमा सिरक ओढेर घुर्न थाले ।

भोलिपल्ट उठ्ता उनीहरूले आफूलाई अज्ञात प्रदेशको वृद्धाश्रममा पाए ।

‘त्यसपछि के भो हजूरबा ?’ भाइले सोध्यो ।

अनि हजूरबाले भन्नुभयो : के हुनु नि ? कथा सकियो ।

प्रकाशित : फाल्गुन २९, २०७७ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×