३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सपना, देख्तादेख्तै

यमराजले भने, 'तुरुन्तै यो घर भत्काइहाल् । नत्र यहीं तेरो ज्यान लिन्छु र तँलाई कुम्भीपाक नरकमा लगेर हाल्छु ।'
शरच्चन्द्र वस्ती

अनि हजूरबाले भन्नुभयो : म तीन दाजुभाइका तीन कथा सुनाउँछु, ल सुन ।

सपना, देख्तादेख्तै

एकादेशमा तीन दाजुभाइ धन कमाउन भनेर परदेश हिंडेका थिए । तीन दिन जंगलै जंगल हिंडेपछि एउटा गाउँमा पुगे र अँध्यारो पाटीमा कुम्लोकुटुरो बिसाए । भोकले हत्तू भएका थिए, आफूले ल्याएको सातु खाए र पानी पिए । एकछिन थकाइ मारेपछि सल्लाह गरे— मीठोमसिनो नखाएको निकै दिन भयो, आज टन्न खीर खानुपर्छ ।

एउटा भाइले गाउँबाट दूध ल्यायो, अर्काले चामल र अझ अर्काले सक्खर । अनि आगो बालेर मजासँग खीर पकाए । मगमग बास्ना आइरहेको थियो, चाटीचुटी पारेर एक्लै खाइदिऊँ जस्तो ।

दाजुहरू आफूलाई निकै चलाख ठान्थे । माइलाले जेठासँग कानेखुसी गर्‍यो र कान्छालाई भन्यो, ‘अहिले सातु खाइहालियो । यो खीर यत्तिकै राखेर सुतौं । राति जसले सबैभन्दा राम्रो सपना देख्छ, भोलि बिहान उसैले जम्मै खीर खाने ।’

खीरको भाँडो सिलाबरको थालले छोपेर तीनै जना सुते । बिहान घाम झुल्कन लाग्दा जेठो जर्‍याकजुरुक उठ्यो र

ऊसँगै माइलो पनि । कान्छो भने मस्त सुतिरहेको थियो । उनीहरूले उसलाई पनि ब्यूँझाए । ऊ आँखा चिम्लेर ओछ्यानमै पल्टिरह्यो ।

जेठाले भन्यो, ‘हन हौ माइला, तैंले कस्तो सपना देखिस् ? सुना न ।’

माइलाले भन्यो, ‘म एउटा दरवारमा पुगेको रहेछु । राजाले मेरो भव्य खातिरदारी गरे । मीठा मीठा पकवान खुवाए, नरम गद्दामा सुताए । राजकुमारी असाध्यै सुन्दर रहिछन् । उनले मलाई मन पराइन् । मैले पनि मन पराएँ । हाम्रो बिहे हुनै लागेको थियो, तपाईंको कुहिनाले लागेर ब्यूँझिहालें ।’ अनि सोध्यो, ‘तपाईंले चाहिं कस्तो सपना देख्नुभो नि, दाजु ?’

जेठाले बयान गर्‍यो, ‘म एउटा नदी किनारमा पुगेको रहेछु । त्यहाँ एक जना सिद्ध पुरुष भेटिए । उनले मलाई उडाएर स्वर्ग पुर्‍याए । इन्द्रको सभामा अप्सराको नाच चलिरहेको थियो । मलाई सम्मानसाथ उच्च आसनमा राखे । स्वर्गको दिव्य खानपीन गराए । इन्द्र महाराजले भने— अब एक महीना स्वर्गमै बसेर सुखभोग गर्नोस् । म इन्द्रको दरवारमा अतिथि भएर बस्न थालें । दुइटी अप्सरा मेरो सेवा गर्दै थिए, त्यही वेला ब्यूँझिहालें ।’

‘तपाईंको सपना मेरो भन्दा कहाँ हो कहाँ राम्रो रहेछ हौ दाजु,’ माइलाले आँखा झिम्क्यायो, ‘अब खीर तपाईं नै खानोस् । उब्रियो भने अलिकति मलाई पनि दिनुहोला है !’

जेठाले खीरको भाँडातिर हेर्‍यो र घुटुक्क थूक निलेर कान्छालाई घचघच्यायो, ‘हन हौ कान्छा, अब तेरो पनि सपना भन्दिहाल् न ।’

कान्छो अल्छी मान्दै उठेर बस्यो र भन्न थाल्यो, ‘मैले त सारै नराम्रो सपना पो देखें हौ दाजु ! निदाएको मात्र थिएँ, कताकताबाट एउटा राक्षस आइपुग्यो । जीउभरि झ्यापझ्याप्ती रौं, लामालामा नङ्ग्रा, ठ्याक्कै भालुजस्तो । उसले मेरो घाँटी समात्यो र खीरको भाँडोतिर देखाउँदै भन्यो— त्यो खीर तुरुन्तै चाटीचुटी पारेर खा, नत्र तँलाई मार्छु । खीर नखाए ज्यान जोगिने थिएन । त्यसैले मन नलागी नलागी खीर खानुपर्‍यो नि हौ । अहिलेसम्म पेट अटेसमटेस भइराख्या छ ।’

‘हन, के भन्छ यो ? सपनाको कुरा गरेको कि बिपनाको ?’ जेठाले भाँडामाथिबाट सिलाबरको थाल हटायो । नभन्दै खीर बाँकी थिएन । दाजुहरूको चालामाला बुझेको कान्छो, उनीहरू घुर्न थालेपछि बेलुकै खीर बजाएर सुतेको थियो ।

कथा सुनिरहेकी बहिनी कान्छाको बठ्याइँ सुनेर दंग परी र ताली बजाउन थाली ।

‘त्यसपछि के भो, हजूरबा ?’ भाइले सोध्यो ।

अनि हजूरबाले भन्नुभयो : अब अर्को कथा सुन ।

१२ वर्ष परदेश घुमेर धन कमाएपछि उनीहरू फर्के र आआफ्नो घर बनाएर बस्न थाले । जेठो अनेक तिगडम गरेर ठूलो भइटोपल्न खोज्थ्यो, माइलो गाउँलेहरूलाई तर्साएर भाले पल्टेको थियो, कान्छो बाह्र सत्ताइस गफ गरेर मान्छेलाई दंग पार्न उस्ताद थियो । उसको घर अरूको भन्दा चिटिक्क परेको, लोभलाग्दो थियो ।

एक दिन माइलाले भन्यो, ‘हन हौ भाइ, हामी एउटै बाबुका सन्तान, बेग्लाबेग्लै घरमा के बस्नु, एउटै घरमा बसौं न ।’

उनीहरू एउटै घरमा बस्न थाले । आआफ्नो घरका खाँबा, दलिन, बाकल, तख्ता, झ्याल, ढोका आदि ल्याएर दाजुहरूले दुई खण्ड जोडे र घर ठूलो पारे । गाउँमा सबैभन्दा ठूलो घर त्यही देखिन थाल्यो । मूल खण्ड कान्छाको छँदै थियो, ऊ तलामाथि बस्थ्यो ।

दुवै दाजुहरू त्यहीं उक्लिन चाहन्थे । उनीहरू आफूलाई निकै चलाख ठान्थे । जेठाले माइलासँग कानेखुसी गर्‍यो र कान्छालाई भन्यो, ‘घरमा सबैको कमाइ परेको छ । अब एक हप्ता सबैले सपना देख्ने । जसले सबभन्दा तगडा सपना देख्छ, मूल खण्डमा उही बस्ने ।’

‘रातिको सपना के सपना ? यसपालि दिउसो सपना देख्ने,’ माइलाले थप्यो । राति सपना देख्ने हुँदा कान्छाले खीर भ्याइदिएको उसले बिर्सेको थिएन ।

अनि उनीहरू दिउसै सपना देख्न थाले ।

हप्ता दिनपछि जेठाले भन्यो, ‘हन हौ, हप्ता दिन त बित्यो नि । अब आआफ्नो सपना सुनाओ न ।’

‘घरमा देखेको सपना घरमै बसेर के सुनाउनु ?’ कान्छाले भन्यो, ‘खोलापारि शिव मन्दिर छ, त्यहीं जाऊँ न ।’

‘हिंड् न त,’ दाजुहरूले भने र फटाफट शिव मन्दिरतिर लागे । उनीहरू मन्दिर पस्तैनथे र देउतालाई पनि ढोग्दैनथे । त्यसैले मन्दिर छेउको चौतारीमा आसन जमाए र आआफ्नो सपनाबारे सोच्न थाले ।

दिउसोको सपना त थियो, जसले जे चाहन्थ्यो, सातै दिन त्यही देखेको थियो । दुवैले फेरि एकपल्ट त्यही सपना देखे ।

जेठाले देख्यो : उसले नाना तिगडम लगाएर माइला र कान्छालाई कजाएको छ । दुवै जना उसका आज्ञाकारी बनेका छन् । ऊ मुखिया बनेर घरमा ढलीमली गरिरहेको छ । सारा गाउँलेहरू उसको जयजयकार गर्दैछन् ।

माइलाले देख्यो : उसले जेठा र कान्छाबीच झगडा लगाएर घर कब्जा गरेको छ । तिनीहरू एकअर्कालाई फुटेको आँखाले पनि हेर्न चाहँदैनन् । उसलाई हाइसन्चो भएको छ । बुइँगलभरि नोटका बिटा खात लागेका छन् । गाउँलेहरू डरले चुइँक्क बोल्न सकेका छैनन् ।

दुवै जना आआफ्नो सपनामा मुग्ध थिए । त्यसैको तरंगमा उँघ्न थाले ।

अकस्मात् भुइँचालो गएजस्तो भयो । चौतारी थरर्र हल्लियो । पर केही भत्के–ढलेजस्तो आवाज आयो र कुइरीमण्डल धूलो उठ्यो । के भयो भनेर उनीहरूले भेउ नपाउँदै कान्छो आइपुग्यो ।

‘तपाईंहरू सपना देखेर बस्नुभा छ । उता घर ढलिसक्यो,’ उसले भन्यो, ‘त्यत्रो आवाज आएको सुन्नुभएन ?’

‘हन, के भन्छ यो ? त्यति बलियो घर कसरी ढल्छ ?’ जेठो च्याँट्ठियो, ‘अनि तँ चाहिं यतिन्जेल कहाँ थिइस् नि ?’

‘तपाईंहरू हिंडेको एक छिन पछि घरबाट निस्कनै लागेको थिएँ, झ्याप्प ढोकामै यमराज आइपुगे ।’

‘को यमराज ?’

‘उनै यमराज नि,’ कान्छाले भन्यो, ‘राँगोमा चढेका, राँगैजस्तो कालो वर्णका, राता आँखा र बाक्ला जुँघा भएका, एउटा हातमा डोरी र अर्कोमा काँडादार मुङ्ग्रो लिएका, हेर्दै डरलाग्दा...

‘उनले मलाई आदेश दिए— तुरुन्तै यो घर भत्काइहाल् । नत्र यहीं तेरो ज्यान लिन्छु र तँलाई कुम्भीपाक नरकमा लगेर हाल्छु । मैले यस्तो अन्याय नगर्नोस् भनेर हात जोडें, तर मानेनन् । भने— सबैभन्दा ठूलो न्यायाधीश मै हुँ । मैले जे भन्छु त्यही न्याय हो...

‘मैले धेरै रोइकराइ गरेपछि उनले घरको एउटा खण्ड जोगाउन छूट दिए । अनि मैले आफ्नो खण्ड जोगाएर बाँकी घर भत्काइदिएँ,’ दाजुहरूको दाउ हप्ता दिन अघि नै थाहा पाइसकेको कान्छो मुस्कुरायो, ‘तपाईंहरू अब कहाँ बस्ने, आफैं विचार गर्नोस् ।’

‘मारिहाल्यो नि बजियाले,’ माइलाले थाप्लामा हात राख्यो ।

‘फटाहाहरूलाई कान्छाले फेरि तीन चित ख्वाइदिएछ,’ कथा सुनिरहेकी दिदीले टिप्पणी गरी ।

‘त्यसपछि के भो हजूरबा ?’ भाइले सोध्यो ।

अनि हजूरबाले भन्नुभयो : तेस्रो कथा छोटो छ । अब त्यो पनि सुन ।

मूल घर भत्किएपछि दुवै दाजुहरूले पुराना बाकल, दलिन, तख्ता आदि भेला गरेर आआफ्ना घर बनाउन खोजे । तर जति गरे पनि पहिले जस्तो भएन । दुवैका घर चाँडै थोत्रिए र पाटी जस्ता हुन पुगे । केही दिन कान्छोको चकचकी उधुमै चल्यो । तर अलिक पछि उसको पनि त्यही हाल भयो । तीनै भाइ खोलो तरेपछि बिर्सिइएका लौरा जस्ता भए ।

बूढा र अशक्त भइसक्ता पनि तिनलाई सपनाको नशाले छोडेन । रातदिन तन्द्रामा हुन्थे र सपनै देखिरहन्थे । बीचबीचमा ‘म यस्तो थिएँ, म उस्तो थिएँ... त्यसो नभएको भए यसो गरिदिन्थें’ भनेर बर्बराइरहन्थे । कसैलाई भेट्यो कि च्याप्प समातेर आफ्नो गन्थन सुनाउन थालिहाल्थे । तिनको तालले छोरा, नातिहरू आजित भइसकेका थिए ।

एक रात नातिहरूले काजु, किसमिस, मह, केसर, के–के हालेको स्वादिष्ट दूध टक्र्याए । उनीहरूले थपी थपी टन्न दूध खाए र मीठो सपना देख्ने आसमा सिरक ओढेर घुर्न थाले ।

भोलिपल्ट उठ्ता उनीहरूले आफूलाई अज्ञात प्रदेशको वृद्धाश्रममा पाए ।

‘त्यसपछि के भो हजूरबा ?’ भाइले सोध्यो ।

अनि हजूरबाले भन्नुभयो : के हुनु नि ? कथा सकियो ।

प्रकाशित : फाल्गुन २९, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?