२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मिलापत्र व्यवसायी

जागिर छैन । राज्यले हेर्दैन । केटाहरुले पकेटखर्च निकाल्न एक–दुईवटा रमाइला भिडियो बनाए भने तपाईं–हाम्रो के बिग्रन्छ ?
शरच्चन्द्र वस्ती

दारूको अड्डाबाट धर्खराउँदै घर फर्किरहेको श्यामलालको आधा नशा चीसो स्याँठले उडाइसकेको थियो । पुसको घाम डुब्न लागेको थियो र उखुबारीको छायाले बाटो ढाकिसकेको । पिसाब फेर्न भनेर उखुबारीभित्र पस्ता कोही चिच्याउन खोजे जस्तो सुनेर उसका कान ठाडा भए । उसले आवाज आएतिर मुन्टो घुमायो । अलिक पर उखुबारीमै अस्वाभाविक हलचल भइरहेको देखेपछि उसको दिमागमा एकाएक बिजुली चम्कियो र बाँकी नशा पनि उत्रियो ।

मिलापत्र व्यवसायी

उखुका पात र बोट पन्छाउँदै त्यहाँ पुग्दा उसले देख्यो, मुसहर टोलकी १८ वर्षे संगीता चार जनाको आक्रमणमा परेकी छ । एउटा उसमाथि घोप्टिएर मच्चिँदैछ र दुई जना दुईतिरबाट मोबाइलमा भिडियो खिचिरहेका छन् । चौथो पछाडि उभिएको छ, पालो पर्खिएर ।

तपाईं ठान्नुहोला, श्यामलालले ‘के गरेको यो ?’ भनेर उनीहरूलाई झम्टियो र उनीहरू संगीतालाई छोडेर कुलेलम ठोके । तर अहँ, त्यस्तो केही भएन । श्यामलाल भिडियोमा नपर्ने गरी अलि वरै उभियो । तीन जनाले उसलाई पुलुक्क हेरे र नहडबडाई आफ्नो काममा लागिरहे । पछाडि उभिएको केटो उसको नजीक आयो र ‘पाय लागूँ चाचाजी’ को पारामा उसका खुट्टा छोयो ।

‘क्या हो बेटा, फेरि धन्दा शुरू ?’ श्यामलाल मुस्कुरायो । केटो केही बोलेन । श्यामलाललाई जवाफ चाहिएको पनि थिएन । उसले ‘भोलि बिहान चारै जना मेरो घरमा आउनू’ भन्यो र जताबाट आएको थियो, उतै फर्क्यो ।

भोलिपल्ट बिहान सातै बजे उनीहरू उसको घरमा हाजिर भइसकेका थिए । ‘मामाघर जान मन लाग्यो ?’ भन्दै उसले दपेटे जस्तो गर्‍यो र उनीहरूका लागि चिया मगायो । अनि भन्यो, ‘जरिवाना त छँदैछ, आम्दानीको हिस्सामा घोटाला नगर्नू नि । नत्र ठीक हुनेछैन ।’

‘जो आज्ञा चाचाजी,’ उनीहरूले खुट्टा छोए र बिदा भए ।

तपाईं भन्नुहोला, श्यामलालले कस्तो आम्दानीको कुरा गरेको ? त्यो पनि सुन्नोस् । गाउँमा बलात्कार त पहिले पनि हुन्थ्यो, तर केही वर्ष यता केटाहरूले त्यसलाई बकाइदा आफ्नो धन्दा बनाएका थिए । त्यो तिनका लागि कमाइको माध्यम थियो । उनीहरू आवेश र उत्तेजनावश होइन, ससाना समूह बनाएर योजनाबद्ध रूपमा बलात्कार गर्थे र प्रायः गरीब परिवारका युवतीलाई आफ्नो शिकार बनाउँथे । कम्तीमा एक, नत्र दुई जनाले मोबाइलबाट भिडियो खिच्थे र त्यसलाई इन्टरनेट मार्फत बिक्री गर्थे । छिमेकी मुलुकहरू मात्र होइन, कतार, मलेसिया, इन्डोनेसिया, युएई, साउदी अरेबिया जस्ता देशमा समेत त्यसको उच्च माग थियो । त्यही आम्दानीको हिस्सा मागेको थियो श्यामलालले ।

उसले सित्तैं केही मागेको थिएन । केटाहरूलाई कानूनको पञ्जामा फस्न नदिने र पीडितसँग मिलापत्र गराएर उन्मुक्ति दिलाउने जिम्मा श्यामलाल जस्ताकै हुन्थ्यो, जसले आफूलाई भद्रभलादमी घोषित गरेका थिए र गाउँमा पञ्चायती बसाउँथे । बलात्कार केटाहरूको धन्दा बने जस्तै मिलापत्र गराउनु उनीहरूको धन्दा बनेको थियो । ती मिलापत्र व्यवसायी थिए । बलात्कार मात्र होइन हत्या, कुटपीट, जग्गा विवाद, अंश झगडा, साँध–सीमाना, घरेलु हिंसा लगायत गाउँका हरेक मामिलामा उनीहरू टाउको घुसार्थे र मिलापत्रका नाममा दुवै पक्षबाट सक्तो रकम झारेर आफ्नो खल्ती पोटिलो पार्थे ।

संगीता सामूहिक बलात्कारमा परेको बारे उसको बाबुले रोइकराइ गर्न थालेपछि पञ्चायती बस्यो । निर्णायक भद्रभलादमी पाँच जना थिए । तीमध्ये एउटा श्यामलाल स्वयं थियो, जो धेरैपल्ट बलात्कारमा फेला परिसकेको थियो । जोगेन्दरले आफ्ना दुई बुहारीलाई दहेजको निहुँमा जलाएको थियो । इकवाल सुपारी लिएर मानिसको हत्या गराउँथ्यो । रञ्जितले अंशको जग्गा हडपेर आफ्नै दाजुको उठिबास लगाएको थियो । रहीम जिल्लाभरि गुण्डाका रूपमा चिनिन्थ्यो । तर, उनीहरूको कुनै पनि मामिला कहिल्यै प्रहरीमा पुगेको थिएन । त्यसैले तिनको मानार्थ ‘भद्रभलादमी’ उपाधिमाथि प्रश्न उठाउने कसैको हिम्मत थिएन ।

पञ्चायतीमा दुवै पक्षलाई उपस्थित गराइयो र केरकार गरियो । बजारबाट नून, तेल र मसला किनेर घर फर्कन लाग्दा आफूलाई बीच बाटोमै समातेर लछारपछार पार्दै उखुबारीभित्र लगेर चार जनाले पालैपालो बलात्कार गरेको र भिडियो खिचेको संगीताले बयान दिई । ऊ चारै जनालाई राम्ररी चिन्दथी । उनीहरूले संगीताको कुनै कुरा प्रतिवाद गरेनन् र आफ्नो अपराध विना हिचकिचाहट स्वीकार गरे । संगीता रोइरहेकी थिई । उनीहरूको अनुहारमा भने ग्लानिको रेखासम्म थिएन ।

सबैका कुरा सुनेपछि भद्रभलादमीले एक छिन छलफल गरेजस्तो गरे र उनीहरूका तर्फबाट श्यामलालले निर्णय सुनायो, ‘जवानीमा केटाहरूबाट कहिलेकाहीं गल्ती भइहाल्छ । यिनीहरू नासमझ छन् । जवान भइसकेकी संगीताले पनि एक्लै हिंडडुल गर्न हुँदैनथ्यो । तर जे हुनु भइहाल्यो । अब कुरा बढाएर कसैलाई फाइदा छैन । गाउँमा सबैले मिलेर आआफ्नो ठाउँमा बस्नुमै कल्याण छ । आजको मुद्दामा हाम्रो निर्णय यो छ कि संगीतामाथि बुरा काम गर्ने चारै जनाले २०–२० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । आधा रकम समाज सुधारका लागि खर्च गर्न राखिनेछ र आधा संगीतालाई दिइनेछ ।’

मिलापत्रको कागज उसले घरबाटै तयार पारेर ल्याएको थियो । त्यसलाई गोजीबाट निकालेर भन्यो, ‘पञ्चायतीको निर्णय अनुसार यसमा दुवै पक्षले सही गर ।’

चार जना केटाहरूले त फटाफट सही गरे तर संगीताको बाबुले सही गर्न मानेन । उसको भनाइ थियो, ‘मेरी छोरीको जिन्दगी बर्बाद भयो । यसले न्याय पाउनुपर्छ ।’

भद्रभलादमीले उसको कुरा सुनेनन् । ‘न्यायको बखेडा निकालेर ठूलाबडालाई सजाय दिलाउन खोज्ने ?’ भनेर हप्काए र हात तानेर मिलापत्रमा जबर्जस्ती ल्याप्चे ठोकाइदिए ।

चार मध्ये दुई जनाले २०–२० हजार रुपैयाँ तत्काल बुझाए । ‘यो समाज सुधारका लागि’ भन्दै त्यो रकम पाँचै जना भद्रभलादमीले बराबरी बाँडेर लिए । ‘बाँकी पैसा आएपछि तिमीलाई दिउँला,’ श्यामलालले संगीताको बाबुलाई भन्यो ।

बाँकी दुई जनाले दुई दिन पछि आआफ्नो भागको जरिवाना बुझाए । तर संगीताको बाबुले एक महीना बित्दा पनि पैसा पाएन । पैसा माग्दा पहिले त श्यामलालले आलटाल गर्‍यो, पछि ‘बढी किचकिच गरे घरमा ताल्चा ठोकेर गाउँबाटै निकालिदिने’ धम्की दिन थाल्यो । संगीता भने दुब्लाएर सिठ्ठी हुन लागेकी थिई ।

तपाईंलाई लागिरहेको होला, संगीताको बाबु प्रहरीकहाँ किन नगएको ? कानूनी कारबाहीतिर नलागेर पञ्चायतीका पछाडि किन दौडिएको ? तर, प्रहरीकहाँ जान सजिलो थिएन । पञ्चायतीको निर्णय नमानेर प्रहरीकहाँ पुग्दा एक त भद्रभलादमीले थप दण्डसजाय गर्ने डर हुन्थ्यो, अर्को, प्रहरीले उजूरी नै दर्ता गर्दैनथ्यो । ‘गाउँको कुरा गाउँमै मिलाऊ’ भनेर फर्काइदिन्थ्यो ।

तैपनि ‘मर्नुपरेपछि खुट्टै तन्काएर’ भन्दै संगीताको बाबु एक दिन प्रहरीकहाँ पुग्यो । प्रहरीले हप्कायो, ‘मिलापत्र गरिसकेको होइन ? फेरि किन यहाँ आएको ?’ त्यसपछि ऊ सिडियो अफिस पुग्यो । सिडियोले ‘हेरिदिनू’ भनेर उसको निवेदनमा तोक लगाइदिएपछि प्रहरीले उनै भद्रभलादमीलाई खबर गरेर आफ्नो कार्यालयमा अर्को पञ्चायती बसायो, जसमा राजनीतिक पार्टीका प्रतिनिधि र मानव अधिकारकर्मी समेत उपस्थित थिए । बैठक शुरू हुनै लाग्दा त्यही क्षेत्रबाट चुनिएको प्रदेश सभा सदस्य पनि आइपुग्यो ।

‘खुरुक्क कानूनी कारवाही नगरेर पञ्चायतीको नाटक किन ? नयाँ कानून आएको थाहा छैन ? यो सरासर गैरकानूनी हो,’ मानव अधिकारकर्मी पड्कियो ।

सबै जना हाँसे । गाउँपालिका अध्यक्षले चेतावनी दियो, ‘यो हाम्रो परम्परा हो । समाजको विवाद समाजमै मिलाउनुपर्छ । नत्र गाउँको इज्जत रहँदैन । कानूनको कुरा गरेर तपाईं यसमा हस्तक्षेप गर्ने कोशिश नगर्नोस् ।’

तीन राउन्ड चिया र एक सेट खाजा छलफल गरेपछि प्रहरी कार्यालयको पञ्चायतीले पनि गाउँकै पञ्चायतीको निर्णय सदर गर्‍यो । अनावश्यक कुरामा निवेदन हालेर सबैलाई दुःख दिएको भन्दै संगीताको बाबुलाई तीन हजार रुपैयाँ जरिवाना गरियो, तीन दिनभित्र नबुझाए हिरासतमा पठाइने गरी । गाउँपालिका अध्यक्ष ‘गाउँको इज्जत जोगिएकोमा’ खुशी देखिन्थ्यो ।

पञ्चायती सकेर फर्कन लाग्दा बाटोमा प्रदेश सभा सदस्यले भन्यो, ‘बलात्कार नै पेशा हुन थाल्यो भने त अति हुन्छ । होश गर्नोस् है अध्यक्षज्यू, गाउँको इज्जत जाला नि ।’

उनीहरूको पछि लागेको श्यामलाल बोल्यो, ‘जागीर छैन । आफ्नै पार्टीको सरकार भए पनि राज्यले हेर्दैन । अनि युवाहरूले पकेट खर्च निकाल्न यसो एक–दुईवटा रमाइला भिडियो बनाए भने तपाईं–हाम्रो के बिग्रन्छ ? गाउँको कुरा गाउँमै मिलाएकै छौं क्यारे !’

त्यसपछि कोही बोलेन ।

साँझ श्यामलाल घर पुग्दा चार मध्ये एउटा केटो हाजिर थियो । उसले श्यामलाललाई खुट्टा छोएर ‘पायलागी’

गर्‍यो र एउटा खाम हातमा राखिदियो । खामभित्र हजारका पाँच नोट थिए ।

‘कति छिटै त ?’ श्यामलालको मुखबाट निस्कियो ।

‘यसपालिको भिडियो निकै सफा र उत्तेजक बनेछ । राम्रो डिमान्ड छ । निकै आम्दानी होला जस्तो छ । हजूरको हिस्सा पुर्‍याउन आइराख्छु,’ ऊ मुस्कुरायो ।

संगीताको बाबु सबैतिरबाट निराश भएर घर पुग्यो । जरिवाना तिर्ने उपाय थिएन, तीन दिन पछि हिरासतमा पुगिने पक्का थियो । ऊ खुइय सास फेर्दै शून्यतिर हेरेर टोलाइरह्यो । बाबुको हालत देखेपछि संगीताका आँखाबाट बगिरहेका आँसु एकाएक रोकिए ।

बिहान घाम झुल्कँदा संगीता घर अगाडिको रूखमा झुण्डिएकी थिई ।

प्रकाशित : फाल्गुन २२, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?