पढ्न सके पो पढ्नु

 ‘पढेर को ठूलो मान्छे भएको छ ? तिमीहरूले जति पढे पनि तिमीहरूका भाग्यविधाता हामी नै रहेछौं । कि कसो ?’
शरच्चन्द्र वस्ती

हरिनगरको श्रीहरि सुपरमार्केट तपाईंले देख्नुभएकै होला । त्यो शहरको सबैभन्दा ठूलो र भव्य सुपरमार्केट हो । कुनैवेला त्यस ठाउँमा श्रीहरि माध्यमिक विद्यालय हुनेगर्थ्यो । त्यो त्यस क्षेत्रको सबैभन्दा ठूलो र भव्य विद्यालय थियो । अहिले देशका उच्च पदमा पुगेका धेरै मानिस त्यही विद्यालयका उत्पादन हुन् । 

पढ्न सके पो पढ्नु

पचास वर्ष अघिको कुरा हो । विद्यालयमा एकै वर्ष कक्षा ५ मा भर्ना भएका सात विद्यार्थी घनिष्ठ मित्र थिए । तिनको मित्रता देखेर प्रधान अध्यापक हरिचरण उदेक मान्थे, किनभने सातै जनाको नाम ‘हरि’ बाट शुरू हुने बाहेक उनीहरूको रुचि, स्वभाव र व्यवहार केही मिल्दैनथ्यो । न प्रतिभा समान थियो, न कुल–खानदान नै । कुन चुम्बकले उनीहरू जोडिएका हुन्, कसैलाई थाहा थिएन ।

तीमध्ये हरिदेव राजा हरिवरणको छोरो थियो । बडो सुकुमार शरीरको । बाबुको सेखपछि आफू स्वतः राजा हुने बुझेको ऊ अरूलाई गन्दैनथ्यो । उसलाई पढाइमा पटक्कै रुचि थिएन र खेलकूदमा पनि । स्कूल जीवनभरि कक्षा ५ को स्थायी विद्यार्थी रहृयो । उमेर बढ्दै जाँदा साथीहरू केटी जिस्क्याउन थालेका थिए, उसलाई त्यसमा पनि चासो थिएन । हरिप्रसादसँग भने उसको विशेष घनिष्ठता थियो । साथीहरू कहिलेकाहीं उसलाई ‘हरिदेवी’ भनेर जिस्क्याउँथे । ऊ हरिप्रसादसँगै मुस्कुराउँथ्यो ।

हरिप्रसादलाई पढ्नमा खूब रुचि थियो । ऊ रात–रातभरि पढिरहन्थ्यो । चुटकिलाहरूका संग्रह, जासूसी र तिलस्मी उपन्यास, अपराध कथा र मनोहर कहानियाँ मार्का पत्रिका उसका प्रिय पठन–सामग्री थिए । ज्ञान–विज्ञानका नाममा चलेका हल्ला र उडन्ते कुराले भरिएका दर्जनौं पुस्तक उसले कण्ठस्थ पारेको थियो । तिनका आधारमा आकाश–पातालका कुरा जखेर साथीहरूलाई मात्र होइन, शिक्षकहरूलाई समेत जिल्ल पार्न उस्ताद थियो । स्कूलका पाठ्यपुस्तक र गम्भीर विषयका किताब भने पढ्न सक्तैनथ्यो । तिनको आवरण पृष्ठ पल्टाउनासाथ उसलाई टाउको दुख्न थाल्थ्यो र माइग्रेनले निस्लोट भएर ढल्थ्यो । भोलिपल्ट बिहान तीन पटक उल्टी गरेर कालो चिया खाएपछि मात्र चंगा हुन्थ्यो ।

तेस्रो साथी हरिबोल ती दुवैको मिस्कट जस्तो लाग्थ्यो । पढ्न भनेपछि उसलाई ज्वरो आउँथ्यो र ठूलठूला डीङ हाँक्न कसैले भेट्तैनथ्यो । विद्यार्थीलाई थर्काउन, मुक्याउन र अर्काको खाजा खोसेर खान उस्ताद ऊ हरिप्रसादको पुच्छर जस्तो थियो । दुवैले कक्षा ८ छिचोल्न सकेनन् ।

हरिमान र हरिमाया मध्यम स्तरका विद्यार्थी थिए । खूब मिहिनेत गरेर पढ्थे र बढीभन्दा बढी नम्बर ल्याउन प्रतिस्पर्धा गर्थे । राम्रा, सफा अक्षरमा गृहकार्य गरेर ल्याउने उनीहरू शिक्षकका प्यारा थिए । अर्को साथी हरिलाल थियो, जसका अक्षर फोहोरी थिए र चाल सुस्त थियो, तर दिमाग एकदमै तेज । गणित र विज्ञानका कठिन फर्मुला शिक्षकले ब्ल्याकबोर्डमा हल गरिनसक्तै उसलाई कण्ठ भइसक्थे ।

सातौं साथीको नाम हरिहर थियो । असाध्यै सिर्जनशील दिमाग भएको ऊ ठाउँको ठाउँ राम्रा कविता रच्न सक्थ्यो । पाठ्यक्रममा भएका कथाहरूको पुनर्लेखन गरेर मूल कथाभन्दा छरिता र आकर्षक बनाए बापत हरेक वर्ष शिक्षकहरूबाट स्याबासी पाउँथ्यो । उसलाई सबैभन्दा बढी आनन्द चाहिं हरिचरण सरले कविताका पंक्तिमा लुकेको जीवन–जगत्को रहस्य खोतलेको सुन्दा प्राप्त हुन्थ्यो ।

सातै जनाले एकैचोटि स्कूल छोडे । हरिमानले राम्रो अंक ल्याएर डिग्री पूरा गर्‍यो र सरकारी सेवामा प्रवेश गरेर चाँडै सचिव बन्यो । तलब धेरै नभए पनि सरकारी सुविधा मनग्य थियो र अतिरिक्त आम्दानी पनि प्रशस्त हुन्थ्यो । मालदार मन्त्रालयमा रहिरहन कुन नेतालाई कसरी घाँस हाल्ने भन्ने उसले राम्ररी बुझेको थियो । हरिमायाले कलेजमा सर्वोच्च स्थान हासिल गर्दै एमबीए सिध्याई र महीनाको १५ लाख तलब खाने गरी एउटा बैंकमा सीईओ भई । लोभलाग्दा ‘अफर’ ल्याएर ग्राहक आकर्षित गर्ने र तिनको घाँटी ङ्याकेर बैंकको नाफा बढाउने कलामा ऊ दक्ष थिई ।

हरिलाल र हरिहर छात्रवृत्ति पाएर पढ्न अमेरिका गए । हरिलालले भौतिकशास्त्रमा पीएचडी गर्‍यो र नोबल पुरस्कार विजेता वैज्ञानिकसँग काम गर्न थाल्यो । हरिहरले दर्शनशास्त्रमा पीएचडी गर्‍यो र केही वर्षमा आफूले पढेको विश्वविद्यालयमा डीन हुन पुग्यो । दुवैले अनुसन्धानमा ख्याति कमाए र देशका लागि केही गर्ने सल्लाह गरेर स्वदेश फर्के ।

यसैबीच राजा हरिवरणको मृत्यु भएर हरिदेव राजा भइसकेको थियो । गफाडी हरिप्रसादले केही वर्ष चना फँक्याउँदै, बयलगाडामा गाउँको चक्कर लगाउँदै र नानाओली आकाशपातालका गफ दिंदै बितायो । यसै क्रममा ऊ राजनीतिमा लागेको थियो र उसको छत्रछायामा हरिबोल गुण्डा र तस्करहरूको नाइके बनेको थियो । ऊ आफूलाई ‘डन’ भन्थ्यो । गिट्टी–बालुवा र वन्यजन्तुको तस्करी तथा सरकारी जग्गा कब्जा उसको मुख्य धन्दा थियो । आफू पढेको श्रीहरि माध्यमिक विद्यालयको जग्गा कब्जा गरेर उसैले त्यहाँ श्रीहरि सुपरमार्केट खोलेको थियो । विद्यालय भवन नभत्काउन आग्रह गर्दै रिटायर्ड प्रधान अध्यापक हरिचरणले उसका खुट्टा समातेर क्वाँ क्वाँ रुँदा पनि उसको मन पग्लिएन ।

राजा भए पनि हरिदेवसँग रानी थिइनन् । बिहा गरेको एक वर्ष नबित्दै नजाने के कारणले हो, उनी दरवारकै सईससँग हिंडेकी थिइन् । त्यसपछि हरिदेवले बिहा गरेन । दरवारमा दास–दासीहरू सरोबरी थिए, तर आफ्नो अन्तःपुरमा उसले पुरुष सेवक मात्र राखेको थियो । ऊ तिनैसँग रमाउँथ्यो । ‘किन बिहा नगरेको ?’ भनेर कसैले प्रश्न गर्दा उसको जवाफ हुन्थ्यो, ‘म त राष्ट्रकै पति हुँ नि । एउटीको मात्र पति किन हुनुपर्‍यो ?’ भनिन्थ्यो, अन्तःपुरमा ऊ स्त्री–वेशमा रहने गर्छ ।

राजगद्दी सम्हाले लगत्तै उसले हरिप्रसादलाई प्रधानमन्त्री बनायो । राजकाजका सबै निर्णय हरिप्रसादले गर्थ्यो र हरिदेवको काम लालमोहर लगाएर त्यसको घोषणा गर्नु मात्र हुन्थ्यो । हरिप्रसादले दरवारमा निर्बाध प्रवेश पाएको थियो । आफ्नो निर्णयमा सही गराउन ऊ जुनसुकै वेला त्यहाँ पुग्थ्यो र हरिदेवसँग लामो एकान्त–वार्ता गर्थ्यो ।

प्रधानमन्त्री हरिप्रसाद सामान्य मानिसका लागि दुर्लभ थियो । चार जना पढन्ते साथीहरू छ महीनादेखि उसलाई भेट्न नपाएर छटपटिएको थाहा पाएपछि हरिबोलले आफ्नो घरमा भेटघाटको चाँजो मिलायो । रिटायर्ड हुन लागेको सचिव हरिमान राजदूत हुन चाहन्थ्यो । सीईओ हरिमाया केन्द्रीय बैंकमा उच्च राजनीतिक नियुक्ति चाहन्थी । उनीहरू नोटले भरिएको ब्रीफकेस बोकेर आएका थिए । विदेशबाट फर्केका दुई डाक्टरसँग भने देशमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र स्थापना गर्ने योजना थियो । उनीहरूले भने, ‘सरकारले अनुमति मात्र दिए पुग्छ, सारा खर्च हामी आफैं जुटाउँछौं ।’

हरिप्रसाद जोडले हाँस्यो, ‘पढेर को ठूलो मान्छे भएको छ ? तिमीहरूले जति पढे पनि आखिर तिमीहरूका भाग्यविधाता हामी नै रहेछौं । कि कसो ?’

हरिबोल डाक्टरहरूतिर फर्क्यो, ‘कुरा भनेको स्पष्ट हुनुपर्छ । सचिव र सीईओले त ब्रीफकेस ल्याइसकेका छन् । तिमीहरूबाट चाहिं हामीलाई के सहयोग हुन्छ ?’

डाक्टर हरिलाल रन्कियो, ‘खर्च त हामीले अनुसन्धानका लागि ल्याउने हो । तिमीहरूलाई कहाँबाट ल्याएर पैसा ख्वाउनु ?’

भनिरहनु नपर्ला, त्यस दिन तिनको काम भएन र अरू छ महीना मन्त्रालय धाएपछि निराश भएर दुवै डाक्टर फेरि विदेशतिरै लागे ।

प्रधानमन्त्री भएपछि गफाडी हरिप्रसाद भुइँमा न भाँडामा हुँदैगएको थियो । उसलाई भेट्ने कसैले पनि शिष्टाचारवश उसका कुराको प्रतिवाद गर्दैनथ्यो । त्यसैले ऊ विना संकोच हरेक कुराको व्याख्या गर्न र निष्कर्ष दिन थालेको थियो । सिङ न प्च्छुरका लम्बेतान व्याख्यान सुनेर विज्ञहरू भित्रभित्रै हाँस्थे तर केही बोल्दैनथे । उसलाई कुनै कुरा ठीकसँग थाहा थिएन र आफूलाई थाहा छैन भन्ने कुरा पनि थाहा थिएन ।

भाट–चारणहरूले बिहानै–बेलुकै ‘तपाईं जत्तिको सर्वज्ञानी यो विश्व–ब्रहृमाण्डमै अर्को कोही छैन’ भनेर स्तुतिगान गर्न थालेपछि उसको अहंकार चुलिएर आकाश पुगेको थियो । उसलाई लाग्न थालेको थियो, ‘ज्ञानको मूलस्रोत मै हुँ । मलाई जे लाग्छ त्यही सत्य हो । म जे भन्छु त्यो स्वतः सत्य साबित हुनुपर्छ । साबित नभई सुखै छैन ।’

हरिदेवका पिता राजा हरिवरणले राज्य संचालनका लागि एउटा निर्देशिका तयार पारेका थिए । त्यसमा कस्तो वेला कसले कुन बाटो हिंड्ने र कुन बाटो नहिंड्ने भनेर निर्देशन दिइएको थियो । निषेध गरिएको बाटो आत्मघाती हुन्छ भनेर सचेत गराइएको थियो ।

प्रधानमन्त्री हरिप्रसादले त्यही बाटो हिंड्ने घोषणा गर्‍यो र राजा हरिदेवको हात समातेर बाजागाजा बजाउँदै अघि बढ्यो । केही वेरमै उनीहरू यस्तो भीरमा पुगे, जहाँबाट फर्कने बाटो थिएन र अघि बढ्दा हाडखोर पनि नभेटिने गरी तल खसिन्थ्यो ।

उनीहरू डरले चिच्याउन थालेपछि, अर्को डाँडामा बसेर तमाशा हेरिरहेकी हरिदेवकी पूर्वरानीले हरिप्रसादको सल्लाहकारलाई सोधिन्, ‘प्रधानमन्त्रीले किन त्यस्तो निर्णय गरेको ? निर्देशिकाको किताब पढ्न दिएनौ ? त्यसमा स्पष्टै लेखेको छ नि, त्यो बाटो नहिंड्नू भनेर ।’

‘उहाँले पढ्ने अर्कै थोक हो,’ उसले भन्यो, ‘यस्ता किताब त पढ्न सके पो पढ्नु !’

‘किन नि ?’

‘एकपल्ट पढ्न दिएको, आवरण पृष्ठ पल्टाउनासाथ टाउको दुख्न थाल्यो र माइग्रेनले निस्लोट भएर ढलिहाल्नुभो । पूरै तीन दिन हस्पिटल भर्ना गर्नुपर्‍यो । ...केटाकेटीदेखिकै रोग अरे !’

प्रकाशित : फाल्गुन १५, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?