कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

रूसमा नयाँ स्वरूपको बर्डफ्लु संक्रमण : नेपालले के सिक्ने ?

विश्वमै पहिलोपटक रूसमा हालै पोल्ट्री फर्ममा काम गर्ने सात जनामा एच५एन८ को बर्डफ्लु भाइरस देखिएको छ । यो भाइरस तत्काल मानिसबाट मानिसमा सरेको प्रमाण नदेखिए पनि भविष्यमा जिनमा हुने परिवर्तनका कारण त्यस्तो क्षमता विकास नगर्ला भन्न सकिन्न ।
शेरबहादुर पुन

पन्छीमा देखिने फ्लुको भाइरसले मानिसलाई पनि संक्रमण गरे बर्डफ्लु लागेको मानिन्छ । इन्फ्लुएन्जा भाइरसलाई छोटकरीमा फ्लु भनिन्छ । चार प्रकारका फ्लु भाइरसमध्ये बर्डफ्लु ‘ए’ अन्तर्गत पर्छ ।

रूसमा नयाँ स्वरूपको बर्डफ्लु संक्रमण : नेपालले के सिक्ने ?

फ्लु ‘ए’ र ‘बी’ हरेक सिजनमा देखिन्छन् । कोभिड–१९ को महामारीभरि फ्लु भाइरस खासै नदेखिए पनि नेपालमा हरेक वर्ष दुईपटक फ्लु संक्रमितको संख्या बढ्ने गरेको पाइन्छ । यिनमा सामान्यतया फ्लु ‘ए’ र ‘बी’ हुन्छन् । फ्लु ‘सी’ ले कडा संक्रमण गर्दैन । फ्लु ‘डी’ ले पनि मानिसमा संक्रमण गरेको वा बिरामी बनाएको हालसम्म तथ्यांक छैन ।

फ्लु ‘ए’ भाइरस कडा हुने भएकाले बेलाबेलामा पेन्डेमिक रूप लिने गरेको पाइन्छ । कोभिड–१९ अगाडि सन् २००९ मा फ्लु ‘ए’ भाइरसअन्तर्गत पर्ने एच१एन१ पीडीएम–०९ (स्वाइन फ्लु) लाई पेन्डेमिक घोषणा गरिएको थियो । फ्लु ‘बी’ भने सामान्यतया स्थानीय स्तरमा बढी फैलने गरेको पाइन्छ । नेपालमा पनि फ्लु ‘बी’ भाइरसले प्राय: हरेक सिजनमा संक्रमण गर्ने र बिरामी बनाउने गरेको पाइन्छ ।

यो पंक्तिकारको अनुभवमा फ्लु ‘बी’ पनि फ्लु ‘ए’ जतिकै कडा हुने गरेको छ । फ्लु ‘ए’ भाइरसअन्तर्गत बर्डफ्लु भाइरसहरू पर्छन् । एच५एन१, एच७एन७, एच७एन९, एच९एन२ जस्ता बर्डफ्लु भाइरसहरू मानिसमा देखा परिसकेका छन् । उच्च घातक मानिएको एच५एन१ बर्डफ्लु नेपालमा देखिएको दस वर्षको अन्तरालमा सन् २०१९ मा एक जनाको मृत्यु भएको थियो । नेपालका लागि त्यो मृत्युदर शतप्रतिशत थियो । यद्यपि विश्व स्वास्थ्य संगठनका अनुसार एच५एन१ बर्डफ्लुको मृत्युदर ६० प्रतिशतसम्म हुने भनिएको छ ।

हालै एच५एन८ को अर्को बर्डफ्लु भाइरसले विश्वमै पहिलोपटक रसियामा मानिसलाई संक्रमण गरेको जानकारी आएको छ । तत्काल यो भाइरस मानिसबाट मानिसमा सरेको प्रमाण नदेखिए पनि भविष्यमा भाइरसको जिनमा हुने निरन्तर परिवर्तनका कारण त्यस्तो क्षमता विकास नगर्ला भन्न सकिँदैन । केही साताअगाडि काठमाडौँमा देखिएको बर्डफ्लु पनि एच५एन८ नै थियो । रूसमा देखिएको एच५एन८ बर्डफ्लुको घटनाबाट नेपालले के सिक्ने ?

सञ्चारमाध्यमले जनाएअनुसार पोल्ट्री फर्ममा काम गर्ने सात जनामा सो भाइरस देखिएको छ । त्यसैले त्यहाँ कृषकहरू पहिलो तथा उच्च जोखिममा देखिन्छन् । हाल उनीहरूको स्वास्थ्यमा सुधार आइरहेको र संक्रमण कडा नरहेको बताइएको छ ।

एच५एन१ र एच७एन९ जस्ता बर्डफ्लु मानिसमा अरू फ्लु भाइरसभन्दा कडा देखिएका छन् । यिनीहरूमा विशेषत: उच्च ज्वरो र खोकीसँगै श्वासप्रश्वासमा तीव्र अवरोध र कडा निमोनिया देखिने गरेको छ । केहीमा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, नाक र गिजाबाट रक्तस्राव हुनेजस्ता समस्या पाइएका छन् ।

चीनमा सन् २०१३ मा पहिलोपटक देखिएको एच७एन९ बर्डफ्लुको मृत्युदर लगभग ३० प्रतिशत रहेको भनिएको छ । एच७एन७ र एच९एन२ बर्डफ्लु भाइरस तुलात्मक रूपमा एच५एन१ र एच७एन९ भन्दा नरम पाइएका छन् । तर सन् २०१९ मा काठमाडौँमा एच९एन२ बर्डफ्लु ‘आउट ब्रेक’ हुँदा सोही फार्ममा काम गर्ने केही कृषकमा ज्वरो, खोकी, छाती दुख्नेजस्ता समस्या तथा केहीको छातीमा सामान्य संक्रमण देखिएको थियो । त्यसैले उनीहरूमा बर्डफ्लु संक्रमणको आशंका गरिएको थियो । तर उनीहरूमा एच९एन२ बर्डफ्लु भाइरस नै थियो/थिएन भनेर पीसीआर गर्न नपाएकाले यकिन भने गर्न सकिएन ।

पन्छीपालन बढीजसो सहरबाहिर वा ग्रामीण इलाकामा गरिने भएकाले स्रोत–साधन अभावमा त्यहाँ काम गर्नेहरूमा संक्रमण भए/नभएको यकिन गर्न व्यावहारिक कठिनाइ देखिन्छ । धेरैले त आफैं औषधि पसल जाने र निको भए जँचाउन नजाने परम्परा नै छ । यसबाट संक्रमण कडा नभएसम्म परीक्षण नगर्दा बर्डफ्लु लागे/नलागेको थाहा हुनेछैन ।

एच५एन१ र एच७एन९ बर्डफ्लु संक्रमण भए लक्षण देखिने अवधि सिजनल फ्लुमा भन्दा केही लामो हुने गरेको देखिन्छ । एच५एन१ को लक्षण औसतमा संक्रमण भएको २ देखि ५ र एच७एन९ को लक्षण १ देखि १० दिनसम्ममा लक्षण देखिने गर्छ । मानिसमा सिजनल फ्लु संक्रमण हुँदा औसतमा दुई दिनमा लक्षण देखिने गर्छ ।

तर हालै मानिसमा पहिलोपटक देखिएको एच५एन८ बर्डफ्लु भाइरसको लक्षण कति अवधिमा देखियो भन्ने जानकारी हालसम्म छैन । रूसमा एच५एन८ बर्डफ्लु पोल्ट्री फार्ममा काम गर्नेमा मात्र देखिएको भनिए पनि पन्छी ओसारपसार र व्यवसाय गर्ने, पन्छी वधशालामा काम गर्नेलगायत व्यक्ति पनि उत्तिकै जोखिममा रहन्छन् । कृषकबाहेक यस्ता पन्छीको प्रत्यक्ष सम्पर्कमा आउने अरू व्यक्तिलाई पनि सचेतना बाँड्न जरुरी छ । स्वस्थजस्तो देखिने फ्लु संक्रमित पन्छीले पनि भाइरस निरन्तर फैलाउन सक्छ । विशेषत: फ्लु संक्रमित पन्छी समातेको हातले नाक, मुख, आँखामा छोए मानिसमा सर्न सक्छ ।

बर्डफ्लु भाइरसको निदान पीसीआर प्रविधिबाट गर्न सकिन्छ । पोल्ट्री फार्ममा अचानक ठूलो संख्यामा पन्छी मरे वा त्यहाँ काम गर्नेमा पनि रुघा–खोकी, ज्वरोजस्ता लक्षण देखिए तुरुन्त उनीहरूको पीसीआर परीक्षण गर्ने वातावरण बनाउनुपर्छ । नेपालमा हालसम्म कृषकमा बर्डफ्लु संक्रमणको आशंकामा परीक्षण गराइएको सुनिएको छैन । यहाँ एच५एन१ बर्डफ्लुबाट एक जनाको मृत्यु हुँदा नमुना परीक्षण र निदान गर्न विदेश पठाउनुपरेको थियो ।

हाल नेपालमा कोभिड–१९ महामारीका कारण हरेक प्रदेशमा पीसीआर प्रविधिको स्थापना भइसकेको छ । यसबाहेक निजी प्रयोगशालामा पनि परीक्षण हुँदै आएको छ । यस्तोमा देशमा कतै बर्डफ्लु प्रकोप देखिए ती पीसीआर प्रयोगशालालाई प्रयोगमा ल्याउन सकिनेछ । यसबाट बर्डफ्लु भाइरस पहिचानमा शीघ्रता आउने र उपचारमा सहयोगी हुनेछ ।

नेपालमा हरेकजसो वर्ष बर्डफ्लु देखिने गरेको छ । मानिस तथा पशुपन्छीमा देखिने फ्लु भाइरसहरू बीचमा सम्मिश्रण हुँदा विकसित हुने नयाँ स्वरूपले मानिसबाट मानिसमा फैलाउने सक्ने क्षमता वृद्धि गरे त्यो घातक हुनेछ जुन पूर्ण रूपमा नकार्न सकिँदैन । रूसमा एच५एन८ बर्डफ्लु मानिसमा देखिएको विश्वकै पहिलो घटना अन्तिम पक्कै नहोला । उक्त भाइरसले आगामी दिनमा विश्वको कुनै पनि ठाउँमा मानिसलाई संक्रमण गर्न सक्छ । नेपालमा एच५एन८ बर्डफ्लु सन् २०१७ देखि निरन्तर देखिँदै आइरहेकोमा पन्छी फर्ममा काम गर्ने वा पन्छीको कारोबारमा प्रत्यक्ष संलग्नहरू उच्च जोखिममा छन् । तसर्थ नियमित परीक्षण तथा परामर्शको सहज उपलब्धता हुनुपर्छ । यसमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अग्रणी भूमिका खेल्न सक्छ ।

(पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : फाल्गुन १०, २०७७ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?