भुइँमान्छेलाई भेन्टिलेटर

सरकारले थप एउटा पनि भेन्टिलेटर खरिद गर्न नसकिरहेका बेला हामीले सय दिनमा करिब ४० वटा ल्याएर स्वास्थ्य संस्थाहरुलाई प्रयोग गर्न दिन थालिसकेका थियौं ।
डा. विशाल ढकाल

हरेक हिसाबले शक्तिशाली मानिने अमेरिकामा कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि स्वास्थ्यकर्मीका नाताले मेरो ध्यान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमतर्फ केन्द्रित भयो । अमेरिका जस्तो ठाउँमा समेत व्यवस्थापनको समस्या थियो ।

भुइँमान्छेलाई भेन्टिलेटर

नेपालमा संक्रमण फैलियो भने झन् धेरै समस्या हुने देखियो । अनि ‘यसरी हो सर्जिकल मास्क लगाउने’ भनेर एउटा भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरिहालें । त्यसको प्रतिक्रिया राम्रो आयो, त्यसपछि म सामाजिक सञ्जालमा झनै सक्रिय भएँ । युवा साथीहरूबीच यसबारे छलफल भयो । कोरोनाविरुद्ध मिलेर काम गर्नुपर्छ भनेर ५/७ जना डाक्टर साथीको समूह बनायौं । एनसेलसँग मिलेर डाक्टरसित कोरोनाका विषयमा निःशुल्क जानकारी लिने सक्ने गरी एउटा हटलाइन मोबाइल सेवा चलायौं ।

मोबाइलको रिङटोनमा कोरोनासँग सम्बद्ध सन्देश प्रवाह गर्नुपर्छ भनेर केही साथीले सरकारसित ‘लबिइङ’ गर्नुभयो । नेपाल टेलिकमले त्यसलाई स्वीकार गरेर लागू पनि गरिदियो । नेटवर्किङ बढ्दै गयो । हाम्रो नेटवर्कभित्रै रहेको लक्ष्मी ग्रुपले कोरोनाविरुद्धको काममा १ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरिदियो । त्यसमध्ये ५० लाख रुपैयाँ बराबरको पीपीई, थर्मल गन, मास्क, पन्जासहित विभिन्न स्वास्थ्य सामग्री पाँच सरकारी अस्पताललाई दियो । त्यतिबेला सरकारी अस्पतालले स्वास्थ्य सामग्री किन्न सकेका थिएनन् । म र हाम्रा डाक्टर साथीहरूको सल्लाहअनुसार नै पाटन, धरान र पोखराका अस्पतालका ‘फिवर क्लिनिक’ मा ती सामान दिइएको थियो ।

जिल्ला र कतिपय अवस्थामा उपत्यकामै कोरोनाअगाडि भेन्टिलेटर नभएर बिरामी फर्काउनुपरेका अनुभव धेरै थिए । सामान्य अवस्थामा समेत भेन्टिलेटरको समस्या थियो । कोभिड श्वासप्रश्वाससम्बन्धी रोग हो । यसले फोक्सोमै असर गर्ने हो । भेन्टिलेटर नहुँदा झन् धेरै बिरामी मर्ने भए भनेर त्रास हुन थाल्यो ।

‘यो अदृश्य विज्ञानसँगको युद्ध हो । हामीले जे–जे गर्न सकिन्छ, दिनरात खटौं, उपाय निकालौं’ भन्ने निकर्षमा पुग्यौं । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार हाम्रो देशलाई झन्डै ४ हजार भेन्टिलेटर चाहिन्थ्यो । तर त्यसको करिब १० प्रतिशत मात्रै नेपालमा चालु रहेको तथ्यांक निकाल्यौं । ४ सय भेन्टिलेटरमध्ये पनि करिब ७० प्रतिशत उपत्यकामा रहेछन् ।

मैले अप्रिल १५, २०२० मा मिडियम अनलाइन प्लेटफर्ममा ‘थाउजेन्ड भेन्टिलेटर्स इन हन्ड्रेड डेज’ भनेर एउटा आर्टिकल पोस्ट गरें । नेपालकै र विदेशमा बस्ने आफन्त, साथीभाइलाई धमाधम त्यो आर्टिकलको लिंक फरवार्ड गरें । हजार भेन्टिलेटरका लागि म संयोजन गर्न तयार छु, त्यसका लागि १५ मिलियन डलर (१ अर्ब ७७ करोड रुपैयाँ) रकम चाहिने रहेछ भनेर पनि लेखें । ‘ओहो, कति राम्रो पहल, म पनि सहयोग गर्न तयार छु,’ भन्ने सन्देश आउन थाले । त्यसपछि हौसला बढ्न थाल्यो ।

भेन्टिलेटर मगाउने र सरकारी अस्पतालमा लैजाने भनेर काम गर्ने तयारी भयो । तर यो कामका लागि समेत संस्थागत संरचना बनाऔं र त्यसमार्फत काम गरौं भन्ने सुझाव साथीहरूबाट आयो । यो कामका लागि उत्तरदायी मान्छे को–को हुन्छन् भनेर थप पहिचान गर्न थाल्यौं । जस्तै, हामीलाई बिजनेस गर्न आउँदैन, बिजनेसमा सफल भएको मान्छे चाहियो । लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठसँग कुरा गर्‍यौं, उहाँले तुरुन्तै ‘हुन्छ’ भन्नुभयो । यो मेडिकलसँग सम्बद्ध काम भएकाले अर्को स्वास्थ्यकर्मी पनि खोजौं भन्ने लागेर मैले शिक्षण अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख डा. सुवास आचार्यलाई अनुरोध गरें । उहाँले अनुरोध गर्नेबित्तिकै हुन्छ भनिहाल्नुभयो । समृद्धि फाउन्डेसनका निर्देशक दीपेन्द्र चौलागाईंलाई पनि आइडिया सेयर गरें ।

अन्तिममा प्रशासनिक अनुभव भएको अर्को व्यक्ति खोज्यौं । यसमा पूर्वअर्थसचिव रामेश्वर खनाल उपयुक्त लाग्यो । प्रस्ताव गर्‍यौं । तर उहाँले धेरै केरकार गर्नुभयो । म, निरञ्जन श्रेष्ठ र दीपेन्द्र चौलागाईंले उहाँसँग तीन पटक अनलाइन बैठक गरी अवधारणा सुनायौं । सबै बुझिसकेपछि उहाँले ‘यो अभियानको सुरुवात गर्न तपाईंहरू सबैले अनिवार्य सहयोग गर्नुहुन्छ भने म पनि संलग्न हुन्छु । र, म मेरो एक महिनाको पेन्सन रकम सहयोग गर्छु,’ भन्नुभयो  हामी चार जनाले १/१ लाख रुपैयाँका दरले रकम जम्मा गर्‍यौं ।

अभियान सुरु गर्न हामी पाँच जना तयार भयौं । रामेश्वर खनालले यसलाई वैधानिकता नदिई काम गर्न हुँदैन भनेपछि हामी संस्थागत संरचना तयार पार्न लाग्यौं । नयाँ मेसिन किन्ने, न्यून मूल्यमा अस्पतालहरूलाई भाडा लगाउने, कतिपय अस्पताललाई भेन्टिलेटर प्रयोग गर्न निःशुल्क मेसिन दिने, फेरि त्यसलाई ल्याउने र व्यवस्थापनको काम गर्नुपर्ने भएकाले संस्था त चाहियो । लकडाउनकै बेला हामीले निरञ्जन श्रेष्ठको अध्यक्षतामा गैरनाफामूलक कम्पनी नेपाल भेन्टिलेटर सर्भिस कम्पनी खोल्यौं ।

भेन्टिलेटर मेसिन मगाउन सुरु गर्‍यौं । ‘सय दिनमा हजार भेन्टिलेटर’ भन्ने नारासहित अभियान थालेका थियौं । त्यो सम्भव भएन । सय दिनमा करिब ४० वटा भेन्टिलेटर ल्याएर स्वास्थ्य संस्थाहरूलाई प्रयोग गर्न दिन थालेका थियौं । त्यति बेलासम्म सरकारले एउटा पनि भेन्टिलेटर खरिद गर्न सकेको थिएन । प्रक्रिया मिलाउनुपर्ने कारण उसले खरिद गर्न नसक्नु स्वाभाविक पनि थियो ।

हामीलाई पहिलो भेन्टिलेटर लक्ष्मी ग्रुपले सहयोग गरेको थियो । ‘हेल्थ एट होम’ बाट पनि एउटा भेन्टिलेटर सहयोग आयो । त्यसपछि भेन्टिलेटर आयात गर्ने स्थानीय विक्रेतासँग खरिद प्रक्रिया अघि बढायौं । पर्याप्त सहयोग नजुट्दै भेन्टिलेटर मगाउन थालिसकेका थियौं । सुरुमा शिक्षण अस्पतालमा दुइटा भेन्टिलेटर दियौं । पछि सहयोग रुकम जुटाउने र भेन्टिलेटर मगाउने काम सँगसँगै भयो ।

हामीले सहयोग माग्न थालेपछि प्रायः कसैले पनि हुँदैन, छैन, दिन्नौं भनेनन् । रामेश्वर खनालको उदाहरण दिँदै पेन्सनरहरूलाई पनि अनुरोध गर्‍यौं । कसैकसैले ‘कति सहयोग दिऊँ ?’ भन्थे । ‘१३ महिनाको पेन्सन आउँछ । एक महिनाको हामीलाई सहयोग गर्नुस्’ भन्थ्यौं । विद्युत् प्राधिकरणबाट अवकाश पाउनुभएका मेरा ससुरा बाले पनि एक महिनाको पेन्सन दिनुभयो । धेरै पेन्सनरले सघाउनुभयो । शरद वन्तका छोराछोरीले एउटा फाउन्डेसन बनाउनुभएको रहेछ । उहाँहरूले शैक्षिक क्षेत्रमा सहयोग गरिरहनुभएको रहेछ, हामीलाई २ लाख रुपैयाँ सहयोग गर्नुभयो । सबैभन्दा नजिक रहेर आफूले पनि र अरूलाई पनि सहयोग गर्न हौस्याउने व्यक्ति दिव्यराज भण्डारी हुनुहुन्छ । आफूले एक लाख सहयोग गर्नुभयो, आफ्ना सांसद साथीहरूलाई भनिदिनुभयो । उहाँले त फेसबुकमा एउटा भिडियो सन्देशमार्फत सहयोग गर्न सार्वजनिक रूपमै आह्वान पनि गरिदिनुभयो ।

वीरगन्जका एक जना मारवाडी हुनुहुन्छ, उहाँले नाम नै नखुलाई तीन पटक लाख–लाख रुपैयाँको चेक पठाउनुभयो । पैसा पठाउँदाको चेक हेरेर हामीले उहाँको नाम थाहा पाइहाल्यौं । तर उहाँले मेरो नाम कतै पनि नभिनिदिनुहोला भन्नुभयो । कुनै विवादास्पद व्यक्ति हुनुहुन्छ कि भनेर जाँच पनि गर्‍यौं । तर त्यस्तो होइन रहेछ, आत्मसन्तुष्टिका लागि मात्रै उहाँले सघाउनुभएको रहेछ । अरू धेरैले नाम सार्वजनिक नगरिदिनुहोला भन्दै सहयोग गरे । कतिपयले भने नामकै लागि पनि सहयोग गरे जस्तो लाग्थ्यो । ‘पैसा लैजा तर नाम नभन’ भनेर सहयोग गर्ने मेरा धेरै साथी निस्किए । व्यक्तिगत र व्यावसायिक संस्थाको नाम भन्न नचाहने तर कम्तीमा पाँच लाख सहयोग गर्नेहरूको संख्या झन्डै १५ छ । यसले देखाउँछ– नामका लागि मात्रै पैसा दिनेहरू छैनन् यो समाजमा ।

‘फोन पे पेमेन्ट सर्भिस लिमिटेड’ ले आफ्नो अन्तरबैंक प्रतिकारोबारको एक रुपैयाँका दरले पाँच लाख रुपैयाँ सहयोग जुटाइदियो । हामीलाई ८८ वर्षदेखि भर्खरको बच्चाका नामबाट समेत सहयोग प्राप्त भएको छ । यसरी समग्रमा करिब एक करोड रुपैयाँ सहयोगस्वरूप प्राप्त भयो । बैंकबाट तीन करोड रुपैयाँ ऋण लियौं । यो अभियानमा एनएमबी र लक्ष्मी बैंकप्रति कृतज्ञ छौं । लकडाउनका बेला कर्मचारी आउन नमानेको समयमा ढोका खोलेर प्रतीतपत्र (एलसी) खोलिदिने काम सहजसाथ भयो । मुनाफा वितरण नगर्ने कम्पनीलाई समेत उहाँहरूले ऋण दिनुभयो । ब्याजदरमा समेत छुट दिनुभएको छ ।

हामीले ७० वटा भेन्टिलेटर किनिसकेका छौं । यसले धेरैको ज्यान बचाएको छ । पाँचवटा भेन्टिलेटर वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा पठाएका छौं । जनकपुरमा पठायौं । पोखरामा पनि पठायौं । पोखरामा त नेपाल भेन्टिलेटर सर्भिसको शाखा कार्यालय नै खोलेका छौं । अहिले त्यहाँ पाँचवटा भेन्टिलेटर छन् । मेडिसिटीबाहेक काठमाडौंका प्रायः ठूला अस्पतालले हाम्रा भेन्टिलेटर प्रयोग गरिरहेका छन् । कोभिड–१९ का बिरामीले मात्रै प्रयोग गर्ने गरी केही सरकारी अस्पतालमा हाम्रा भेन्टिलेटर निःशुल्क प्रयोग पनि भए । शिक्षण अस्पताललाई भेन्टिलेटर निःशुल्क उपलब्ध गरायौं । हालसम्म कम्तीमा एक हजारले हाम्रा भेन्टिलेटरबाट सास फेर्न सके भन्ने अनुमान छ । सरकारी अस्पतालमा लगिएका भेन्टिलेटरले भुइँमान्छेको उपचारमा सघाएको छ ।

केही सरकारी र निजी अस्पताललाई भने हामीले मेसिन भाडामा लगाएका हौं । दिनको एक हजार रुपैयाँका दरले भाडा लिने गरेका छौं । सरकारी अस्पतालमा उपचार गराउने बिरामी भुइँमान्छे हुन् । निजी अस्पताललाई भने दिनमा बढीमा तीन हजार रुपैयाँ भाडा लिने गरेका छौं । तीन हजार भाडा तिर्नुपर्ने मेसिन एकदमै महँगो र गुणस्तरीय हो । यो अभियान रोकिँदैन । हाल शुल्क लिइरहेभन्दा अझै सस्तो, सर्वसुलभ र उच्च गुणस्तरका मेसिन जुटाउने योजनामा छौं । पाँच वर्षभित्र हामीसित कम्तीमा दुई हजार भेन्टिलेटर हुनेछन् । ‘क्रिटिकल बिरामीलाई’ चाहिने उपकरणका लागि चिन्ता गर्नुपर्दैन भन्ने अवस्थामा पुर्‍याऔं भन्ने हाम्रो चाह छ ।

हामी चाहन्छौं– कुनै अस्पतालमा मेसिन नभएकै कारण बिरामी फिर्ता लैजानुस् भन्ने अवस्था नआओस् । सरकारी अस्पतालसित हाम्रो सहकार्य बल्ल सुरु हुँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालको सहयोग गर्ने मौखिक प्रतिबद्धतालाई मूर्त रूप दिन लिखित सम्झौता गर्ने तयारी गरिरहेका छौं । एउटा अस्पतालले पाँचवटा भेन्टिलेटर किन्नुभन्दा भाडामा लिनु नै उपयुक्त हुने वातावरण बनाउँदै छौं । त्यसपछि अस्पतालले बिरामीलाई मेसिन छैन भनेर फर्काउने अवस्था पनि आउने छैन ।

हाम्रो समाजमा नागरिक उत्तरदायित्वको कुरा पिँधमा छ । सरकार मात्रै होइन, तपाईं, म वा समाजमा भएका हरेक व्यक्ति नागरिकप्रति उत्तरदायी हुनुपर्छ । दसैंमा टीका लगाउँदासमेत ठूलो मान्छे भएस्, डक्टर भएस्, इन्जिनियर भएस् भनेर स्वार्थी बनाउन सिकाइरहेका छौं । यसले स्वार्थी समाज निर्माण गरिरहेको छ ।

हामीले केही गर्न सक्छौं । ६ वटा घर बनाउने मान्छेले एउटा नबनाएर पाँचवटा मात्रै बनाउँदा के हुन्छ ? वा एउटा घर बनाउने मान्छेले घरभित्र सजावट गर्ने खर्चमा थोरै कटौती गरेर असहायलाई सहयोग गर्दा के हुन्छ ? एउटा महँगो गाडी किन्नेले १० लाख मात्रै सस्तो गाडी चढे के हुन्छ ? केही पनि हुँदैन सुविधा उपयोग गर्नेलाई । ५० लाखको गाडी चढ्नुहुन्छ, तर अप्ठ्यारो पर्दा तपाईंले सास फेर्ने भेन्टिलेटर पाउनुहुन्न । ५० लाखको गाडी र ६ वटा घर भए पनि तपाईं बाँच्नलाई पूर्वाधार नै चाहिन्छ । पहुँचवालाले मात्रै सुविधा र उपचार पाउने व्यवस्थाको अन्त्य जरुरी छ । भुइँमान्छेको पहुँच हुन जरुरी छ । हामी चाहन्छौं, बिरामीलाई एम्बुलेन्समा राखेर आईसीयूमा भर्ना गर्ने दलाली प्रथाको अन्त्य हुनुपर्छ । सैद्धान्तिक रूपमा यसको सुरुवात हामीले गरेका हौं ।

जनकपुरमा डाक्टर छन्, मेडिकल कलेज छ, अस्पताल छ । झापा, वीरगन्जको अवस्था पनि त्यही हो । तर मेसिन छैन । हामीलाई मानव संसाधनको समस्या होइन, पूर्वाधारको हो । पूर्वाधारमा पहुँचवालाको होल्ड छ । माथिल्लो तप्काले मेसिन प्रयोग गर्‍यो भनेर चित्त दुखाएको होइन, उसको पनि जीवन हो । तर तल्लो तप्काले मेसिन नपाएरै मर्नुपर्ने ?

अहिले भारत सरकारले दिएको अनुदानको खोप प्रयोग गरिरहेका छौं । हामी भारतप्रति कृतज्ञ छौं । यसले धेरै जनाको ज्यान बचाउनेछ । तर त्यो भ्याक्सिनसँगै हाम्रो सार्वजनिक स्वास्थ्य सेवामा कति सुधार भयो त ? हाम्रा नागरिकको स्वास्थ्यमा के–के काम भए ? यो सरकारलाई मात्रै सोधिएको प्रश्न होइन । जोकोही नागरिकमाथिको प्रश्न हो ।

त्यसकारण म भन्छु– केही न केही, कसै न कसैलाई सहयोग गर्नुस् । हामीले पनि एकै पटक यस्तो काम गरेका होइनौं । स–साना सहयोग गर्दै जाँदा यो आत्मविश्वास आएको हो । २०७२ सालको भूकम्पका बेला पनि हामीले सहयोग अभियान चलाएका थियौं । मेरो सर्कलका साथीहरूले नेपाल उद्योग वाणिज्य महासंघको ब्यानरभित्र रहेर १६ करोड रुपैयाँ बराबरको राहत तथा औषधोपचारको काम गर्‍यौं । तीन हजार त स्वयंसेवक नै परिचालन गरेका थियौं ।

सहयोग गर्न पैसावाल हुनुपर्छ भन्ने छैन । नेपाली दानी छन् । तपार्इंले संयोजन गरिदिए मात्रै हुन्छ । एक्लाएक्लैले केही हुँदैन, समूह बनाउनुस्, पारदर्शी हुनुस् । जोसँग जे छ, त्यही दान गरौं– ज्ञान, पैसा, नेतृत्व, सीप । समाजलाई सुदृढ बनाउने तपाईंको योगदानले हो । नागरिकलाई सदृढ बनाउन पनि तपाईंकै योगदान आवश्यक छ । हामीले गरेको यो काम स्वास्थ्य क्षेत्रको एउटा उदाहरण हो । सबै क्षेत्रमा यस्तै काम गरौं ।

(नेपाल भेन्टिलेटर सर्भिसका संस्थापक ढकालसँग कृष्ण आचार्यले गरेको कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ७, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?