फेरिएको बानी

धेरै चीज बदलियो यो एक वर्षमा । हाम्रो जीवनशैली, आत्मीयता दर्शाउने तौरतरिका, बोलीचाली बदलियो । दुःखका बेला सँगै बसेर रूने हाम्रो बानी फेरियो र बानी फेरिदिनका लागि ‘सामाजिक दूरी’ लाई सबैभन्दा नजिक राख्यौं ।
कोरोनाकालले जति मान्छेलाई साबुनपानीले मिचिमिची हात धुन सिकायो, त्यति प्रभावकारी काम त्यसअघिका कुनै पहलबाट हुन सकेकै थिएन ।
बिनु सुवेदी

मैले प्राध्यापक अभि सुवेदीलाई सोधें– यो कोरोना अवधिको एक वर्षमा तपाईंले सबैभन्दा धेरै याद गर्ने कुरा के हो ? उनले झटपट जवाफ दिए– लकडाउन । मैले जाजरकोटकी शारदा बस्नेतलाई फोन गरें र उसैगरी सोधें– तपाईंले यो एक वर्षमा सबैभन्दा धेरै के कुरा सम्झिनुहुन्छ ? उनले पनि लकडाउन नै भनिन् ।

फेरिएको बानी

पोहोर माघदेखि फाट्टफुट्ट सुनिन थालेको कोरोना कारण भए पनि लकडाउन असरका रूपमा उपस्थित भयो । यो कोरोनाकालमा नागरिकको दैनन्दिन हेर्दा शान्त तर भोग्दा उकुसमुकुसपूर्ण रह्यो । आमनागरिकको जीवनलाई बन्द कोठाभित्र थुनेर भित्रभित्रै गलाएको लकडाउनको ८ महिना त जसोतसो सकियो तर कोरोना अझै सकिएको छैन । यसले एउटा वर्गलाई आरामका लागि यथेष्ट समय पनि दियो, घर बस्नै नपाउनेहरूका लागि त्यसको पनि प्रबन्ध मिल्यो होला, पुगिसरी आउनेलाई परिवारमा बस्ने र मीठो मसिनो खाने अवसरको ढोका पनि खोल्यो होला । तर दुई छाक खाना खाँदाको बीचमा जति समय हुन्छ, यो समय काममै घोटिनुपर्नेहरूका लागि अति उकुसमुकुसपूर्ण भयो ।

त्यसैले पनि समाजको हरवर्ग कोरोना भन्नेबित्तिकै लकडाउन सम्झिन्छन् । सम्झिनुपर्नाको कारण भने फरक हुन्छ । जस्तो कि हामीले लकडाउन अवधि सुरु भएपछि सहरका नागरिकको डायरी पढेका थियौं नि, छतमा तरकारी रोप्ने, फलानो फलानो किताब पढ्ने र फलानो मुभी हेरेर समय बिताऔं भन्ने खालको ।

ठीक त्यही बेला हो, म काठमाडौं उपत्यकाका श्रमिकको लकडाउन डायरी पल्टाउन उनीहरूको झुपडीतिर छिरेको र रित्ता भाँडा कल्ट्याङकुल्टुङ बजेको देख्दा पनि हेरिरहेको मात्रै । सयौं किलोमिटर पैदलै नापेर घर फर्किरहेका मजदुर होऊन् या घरमा गेडो अन्न र मजदुरी गर्ने थलोको अभाव सँगसँगै हुँदा ज्यान गुमाएका सप्तरी कञ्चनरूपका मलर सदा– यी सबै परिणामको उपज केवल लकडाउन हो । यसैकारण बितेको वर्ष धेरैको मस्तिष्कमा लकडाउन नै रह्यो तर यसलाई मनमा राख्न कसैले पनि चाहँदैनन् । मैले पनि र सुत्केरी भएकै बेला लकडाउन हुँदा घरमा अन्न सकिएपछि भोकभोकै सुकेकी सप्तरीकी राधादेवी सदाले पनि ।

लकडाउन सँगैसँगै हामीले मास्क र सेनिटाइजर भित्र्यायौं । मास्कको त यति धेरै बानी पर्‍यो कि अब नलगाउँदा लुगा नै लगाएको जस्तो हुन्छ, कथं झुक्किएर मास्कबिना सहरतिर निस्किनुपर्‍यो भने लाजले पानी–पानी भइन्छ । यसो सम्झिन्छु, पुर्खाहरूले शरीरका अरू अंगजस्तै मुख पनि छोपेर हिँड्नुपर्छ भन्ने चलन बसाइदिएको भए, मास्क हाम्रो मुख मात्रै होइन, लाज छोप्ने कपडा पनि बन्दो रैछ । सुरुसुरुमा मास्कको समेत अभाव भयो । १० रुपैयाँको मास्क ४०/५० रुपैयाँमा किनेर पनि लगाए सक्नेहरूले । सबैका लागि मास्क र सेनिटाइटर पहुँचमा थिएन ।

राज्यले पनि अचाक्ली गर्‍यो, पैसाको अभावमा मास्क लगाउन नसक्नेलाई समेत झ्यापझ्याप समाउँदै सय रुपैयाँ जरिवाना तिरायो । पुलिसले बाटोमा हिँडिरहेका नागरिक पक्रिनका लागि सनासोको आविष्कारै गर्‍यो । भलै सनासो त्यति लामो समय चलेन । स–साना आविष्कार खुब भयो यो बीचमा । ग्रिल उद्योगले खुट्टाले नै टेकेर बोतलबाट सेनिटाइजर झार्न सक्ने मेसिन बनाए । ब्लड बैंकहरू स्थापना भए, बिरामीलाई औषधि र खाना पुर्‍याउन सक्ने सुरक्षित सिस्टमको विकास भयो, ट्याक्सीलाई नै एम्बुलेन्स बनाएर बिरामी बोक्नेहरू फ्रन्टमा देखिए । युवाको इनोभेसन कोरोनाकेन्द्रित हुन थाल्यो ।

चलनमा धेरै चिज आए तर अभाव जरुर रह्यो । कतिसम्म भने सीमा नाका छिचोल्दै आएर क्वारेन्टाइनमा बसेकाहरूले समेत मास्क लगाउन पाएका थिएनन् तर यही अभावले उद्यमशीलता बढायो । अझ महिलाले मास्क बनाउन थाले । त्यहीमध्येको एक हो– काठमाडौंको हातेमालो महिला समूह । समूहकी अध्यक्ष रीता थापा र त्यहाँ जोडिएका अरू दलित, जनजाति, विपन्न र एकल महिलाले संकटलाई अवसरमा बदलेका हुन् । मास्कमात्रै होइन सेनिटाइजर बनाउने उद्योगहरू पनि यो बीचमा धमाधम खुले । कतिले घरेलु रूपमै सेनिटाइजर पनि बनाए । यसैले पनि अरू व्यापार बन्द भएको समयमा थोरै संख्यामा किन नहोस्, गर्जो टार्ने काम भयो ।

धेरैले आफ्नो खोज र आविष्कारलाई कोरोनासापेक्ष बनाउँदै लगे । जस्तो कि महावीर पुनको आविष्कार केन्द्रले पीपीई उत्पादन गर्न थाल्यो । केन्द्रले पीपीईको उत्पादन त्यस्तो बेला थालेको थियो, जतिखेर कोरोनाको दर उकालो लागिरहेको थियो, पीपीईको हाहाकार थियो । सहरको एउटा समूहमा सेनिटाइजरको क्रेज भने खुब बढेको देखियो । दुई–दुई मिनेटको अन्तरमा सेनिटाइजर झिक्दै हातमा दल्दै गर्न थाल्यौं हामीले । एउटाले सेनिटाइजर झिकेर दल्न थाल्दा वरिपरि हुने सबैले हात पसार्ने गरेको त हामी जहींतहीं देख्छौं । यो कोरोनाकाल विकास गरिदिएको हाम्रो स्वभाव हो ।

परिवर्तन भन्ने चिज अचम्मकै हुँदो रैछ, साबुनपानीले हात धुन सिकाउनकै लागि भनेर विकासे संस्थाहरूले नेपालमा प्रोजेक्ट चलाएको निकै लामो समय भयो । स्वास्थ्य मन्त्रालयले साबुनपानीले मिचिमिची हात धोऔं भनेर सार्वजनिक सञ्चारमाध्यमबाट

आह्वान गर्न थालेको पनि अहिलदेखि होइन । तर कोरोनाकालले जति मान्छेलाई साबुनपानीले मिचिमिची हात धुन सिकायो, त्यति प्रभावकारी काम त्यसअघिका कुनै पहलबाट हुन सकेकै थिएन । हामीले हाम्रो आनीबानी परिवर्तन गर्न हामीभित्रको डर जागृत हुनुपर्दो रहेछ भन्ने यो ज्वलन्त उदाहरण पनि हो ।

धेरै चिज बदलियो यो एक वर्षमा । हाम्रो जीवनशैली, आत्मीयता दर्शाउने तौरतरिका, बोलीचाली बदलियो । दुःखका बेला सँगै बसेर रुने हाम्रो बानी फेरियो र बानी फेरिदिनका लागि ‘सामाजिक दूरी’ लाई सबैभन्दा नजिक राख्यौं । सकेसम्म त घरबाटै ननिस्किने, निस्किइहाले पनि टाढा–टाढा बस्ने र टाढैबाट कुरा गर्ने बानी बिस्तारै बढ्दै गयो । कोरोनाको सन्त्रासबाट जोगिन सामाजिक दूरी भरपर्दो उपाय त थियो नै, लकडाउनको असरले असरल्ल जीवन भोगिरहेकाहरूको नजिक पर्दा सहानुभूतिसम्म पनि दिन नपाउने बाध्यात्मक परिस्थिति साँच्चिकै उदेकलाग्दो हुँदो रैछ ।

रिपोर्टिङका क्रममा भेटिएका भोका पेटहरू, सीमामा छटपिटएरै ज्यान गुमाउनेहरूका परिवार, अभावले अस्पतालसम्म जान नसकेकाहरूको कुरा जति सुने पनि उनीहरूसँग नजिकै भएर यो हामी सबैको साझा दुःख हो भन्न नपाउँदा कोरोना कहरले सिर्जना गरेको दुःख आफैं उकालो चढ्दो रैछ । कोरोनाका रोगीहरूको भन्दा लकडाउनका कारण कमाइखाने माध्यम टुटेपछि भोकै भएकाहरूसँग धेरै भेटेकाले पनि होला, समस्या रोगमा भन्दा भोकमा धेरै देखें । फेरि राज्यले कोरोना संक्रमितलाई आफ्नो गच्छेअनुसार जे सक्थ्यो, सम्बोधन गरेको पनि थियो ।

तर लकडाउनको अवधि थपिँदै र भान्साको अन्न सकिँदै जाँदा धेरै गरिखाने वर्ग भोको पेट लिएर सडकमा आयो । भाडा तिर्न नसकेर घरबेटीले निकालिदिएकाहरूको सडकमै बास भयो, काम नपाएर मजदुरहरू बाध्यतावश मागेर खान थाले । यो परिस्थितिले धेरै समाजसेवीको जन्म गरायो । खड्कुलाभरि खाना पकाएर भोकाहरूलाई बाँड्दै हिँड्नेहरू खुलामञ्च, बानेश्वर, गौशालातिर देखा पर्न थाले तर त्यसरी भोको पेट खोज्दै हिँड्ने र सहयोग गर्ने राजनीतिक दलका नेता–कार्यकर्ताको संख्या असाध्यै न्यून थियो ।

अहिले पनि कोरोनाको कहर बाँकी नै छ तर दिनदिनै निस्कने जुलुस कोरोना बढाउन सहयोगी भइरहेको जस्तो देखिन्छ । यतिखेर सडकमा आएर जिन्दावाद र मुर्दावादको नारा लगाउन भ्याइनभ्याइ हुनेहरूलाई जनताको दुःखमा सारथि बन्न खै केले रोक्यो । कोरोनाले हामीलाई अलिकति निष्ठुरी, अलिकति कठोर पनि बनायो कि ! हामीलाई हाम्रा आफन्तजनबाट टाढा राख्न सामाजिक दूरीले पनि त काम गरेको होला नि, जुन यो अवधिमा सबैभन्दा धेरै प्रयोगमा आएका शब्दहरूमध्येमै पर्छ ।

सामाजिक दूरी राख्नुपर्ने भएपछि हाम्रो शिष्टाचारको शैली बदलियो । हामीले हात मिलाउनै छोड्यौं । टाढैबाट नमस्कार गर्न थाल्यौं । नमस्कारको दिन फिर्‍यो । भेटघाट र बैठकलाई भर्चुअल बनाउन थाल्यौं । यति बजे, यो विषयमा जुममा कुरा गरौं न भन्ने विषय हाम्रा लागि सामान्य हुँदै गयो । बच्चाबच्ची ‘रुम’ मै बसेर जुममा पढ्न थाले । कोरोनाले हामीलाई साँघुरो बनायो या फराकिलो मान्छेपिच्छेकै अनुभव होलान् तर धेरै परिवर्तन भने अवश्य गर्‍यो ।

प्रकाशित : फाल्गुन ७, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?