कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘यसरी पुनर्जीवन पाएँ’

क्याबिनमा परिवारको सम्पर्कमा हुन्थें । चिकित्सकसँग फेस टु फेस कुरा हुन्थ्यो तर आईसीयूमा गएपछि चिकित्सक र नर्स पनि नआउने रहेछन् । चिकित्सकले सीसी क्यामेराबाट हेरेर उपचार गर्ने रहेछन् । वीर अस्पतालको सेवामा एकदमै लापरबाही रहेछ ।
ग्रान्डीमा उपचार सुरु गर्नासाथै तपाईंलाई भेन्टिलेटरसमेत आवश्यक पर्छ है भनिएको थियो । त्यसो भन्दा निकै डर लागेको थियो । मैले बुझ्दा घाँटीका नसा बाहिर निकालेर सर्जिकल उपचार गर्नुपर्ने रहेछ । श्वासप्रश्वासमा समस्या भएकाले नसाबाट औषधि सप्लाई गर्नुपर्ने रहेछ ।
मीन विश्वकर्मा

सार्वजनिक कार्यक्रममा जाँदा सामाजिक र भौतिक दूरी ख्याल गर्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेको थिएँ । भिनाजु दुईवटै किड्नी फेल भएर छाउनी अस्पतालमा भर्ना हुनुभएको थियो । साताको दुईपटक डायलसिस गर्नुपर्थ्यो । त्यसको जिम्मेवारी मेरै काँधमा थियो । सांसद भएकाले जनताबीच गइरहनुपर्ने, परिवारमा सावधानी अपनाउनुपर्ने र भिनाजुलाई मेरो कारणले कोराना नसरोस् भनेर सचेत रहनुपर्ने अवस्था थियो ।

‘यसरी पुनर्जीवन पाएँ’

यतिकैमा धनुषामा शम्भु सदाको हत्या तथा रौतहटमा प्रहरीको यातनाबाट मृत्यु भएका विजयराम र हत्या भएका नीरञ्जन रामको घटना अनुसन्धान गर्न संसद्को कानुन, न्याय तथा मानवअधिकार समन्वय समितिका सभापतिले टोली गठन गर्नुभयो । कांग्रेसका तर्फबाट प्रमुख सचेतकले मलाई नै जिम्मेवारी दिनुभयो ।

हामी पहिला धनुषा गयौं । त्यसपछि रौतहट पुग्यौं । जिल्लामा जाँदा धेरै जनासँग सम्पर्क र भेटघाट भयो । चार दिनपछि असोज २९ मा फर्कियौं । भिनाजुको किड्नी डायलसिसका लागि अस्पताल जानुपर्ने भयो । एकपटक पीसीआर परीक्षण गरेर मात्रै जाऊँ भन्ने सोच आयो । त्यतिबेला मलाई लक्षण केही थिएन । कात्तिक १ मा परीक्षणका लागि स्वाब दिएँ । संयोग यस्तो पर्‍यो कि, मलाई कोरोना पोजिटिभ र लक्षण एकसाथ देखिन थाल्यो । भिनाजुलाई फोन गरेर कोरोना पोजिटिभ भयो, आउँदिनँ भने ।

ज्वरो सयभन्दा माथि थिएन । संसद् सचिवालयका स्वास्थ्य क्षेत्र हेर्ने डा. शिवजी काफ्लेलाई सम्पर्क गरें । उहाँले तपाईंमा विल र इम्युनिटी पावर छ, धेरै आत्तिनु पर्दैन तर संक्रमण अलि बढी भएकाले होसियार रहनुस् भन्नुभयो । कोरोना बिरामीले जे औषधि र भिटामिन प्रयोग गर्छन्, मैले पनि त्यही प्रयोग गरें । काठमाडौंस्थित घरमै आइसोलेसनमा बसें । ठीक होला भनेको त खोकी बढ्दै गयो । स्वाँ–स्वाँ बढ्न थाल्यो । अक्सिजनको लेबल ९० हाराहारी झर्‍यो । खोकी र ज्वरो ठीक पार्न कफ सिरफ र सिटामोल अलि बढी प्रयोग गर्न थालें । बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको कोभिड हेर्ने इन्चार्ज डा. सञ्जीव शर्मासँग परामर्श गरें । उहाँले पनि सिटामोल, कफ सिरप खाँदै गर्नुहोस्, नौ/दस दिन च्याप्छ, त्यसपछि ठीक हुन्छ भन्नुभयो । मलाई पनि नौ–दस दिनसम्म हेरौं भन्ने लाग्यो ।

कात्तिक ४ सम्म सामान्य अवस्थामै थिएँ । आत्तिएर अस्पताल किन गइहाल्ने भन्ने लाग्यो । कात्तिक ४ मा पार्टी सभापति शेरबहादुर देउवाले फोन गर्नुभयो । गगनलाई पनि भएको छ । अरूलाई पनि भएको छ । अर्जुनरसिंह केसीजस्तो मान्छे त घरमै बसेर ठीक भयो, तिमी त युवा छौ, विल पावर छ, ठीक हुन्छ, आत्तिनुपर्दैन भन्नुभयो । दुई दिनपछि फेरि फोन गर्नुभयो । अरू नेताहरूले पनि फोन गर्न थाल्नुभयो । सबैलाई राम्रै छ भनें । बिस्तारै फोनमा कुरा गर्न झर्को लाग्ने, सास फेर्न पनि गाह्रो हुने क्रम बढ्यो । कुन अस्पताल जाँदा राम्रो होला भनेर आफैंले सर्च गर्न थालें । फोक्सोसम्बन्धी समस्या भएकाले नर्भिकमा आईसीयू छ/छैन भनेर फोन गरें । आज छैन, दुई दिनपछि हुन्छ, हजुरको नाममा बुक गर्दिन्छु भने त्यहाँका कर्मचारीले ।

संक्रमणले गाल्दै लगेकाले पर्खनभन्दा अर्को अस्पताल खोज्नतिर लागें । केएमसीले क्याबिनमा भर्ना हुनु, अहिले आईसीयू चाहिँदैन भन्यो । केएमसीमा कोभिड बिरामीको उपचार त्यति राम्रो भएको मलाई थाहा थिएन । त्यसपछि वीरमा जाने सोचें । वीरले अहिले खाली छैन, एक–दुई दिनमा कल गर्छु भन्यो । अहिले को–को हुनुहुन्छ भनेर सोध्दा सांसद (हाल निवर्तमान) शान्ता चौधरी डिस्चार्जको समय भएर पनि एक/दुई दिन बढी बस्नुभएको रहेछ । लगत्तै तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई फोन गरें । खाली हुने भयो । म ९ गते बिहान १० बजे वीरमा पुगें । पहिलो दिन क्याबिनमा बसें । गएकै दिन एक्सरे भयो ।

एक्सरेको रिपोर्ट सन्तोषजनक आएनछ । कोभिड हेर्ने चिकित्सकले मलाई नभनी परिवारलाई बोलाए । संक्रमण निकै बढेको छ । अलि खतरा छ, जुनसुकै बेला जे पनि हुनसक्छ भनेर श्रीमतीलाई भनेछन् । त्यसपछि ज्वरो, खोकी र अरू औषधि चलाउन सुरु भयो । भोलिपल्ट बिहान सिटी स्क्यान गर्दा पनि राम्रो रिपोर्ट आएन । चिकित्सकले क्रिटिकल भनेर कोरोनाको बिरामीलाई दिने रेमडेसिभिर लगाउनुपर्ने बताए । सरकारले चलाउन अनुमति दिएको रहेनछ । चिकित्सकले औषधि हामीसँगै छ, हजुरले मन्त्रीलाई एक कल फोन गरिदिनुपर्‍यो भन्नुभयो । मन्त्रीलाई फोन गरें, राम्रो रेस्पोन्स गर्नुभयो । लगत्तै एक डोज लगाइयो । त्यसले झन् गाह्रो पार्‍यो । श्वासप्रश्वासमा झनै समस्या आयो । त्यसपछि भोलिपल्टै (कात्तिक १०) आईसीयूमा लगियो ।

आईसीयूमा गएपछि झन् सास्ती भयो । कोरोना बिरामीका लागि भनेर नौ/दस जनाको सामूहिक आईसीयू रहेछ । ह्विलचियर राम्ररी नजाने, स्ट्रेचर नजाने । कमन बाथरुम थियो । कोरोनाका बिरामी हिँड्न नसक्ने, कसैले छुन नमान्ने । उठेर बाथरुम जान पनि समस्या भयो । बाथरुममा कमोड, चेयर केही थिएन । सास फेर्न कठिनाइ हुँदै गयो । सहारा भने कसैको भएन । क्याबिनमा परिवारको सम्पर्कमा हुन्थें । चिकित्सकसँग फेस टु फेस कुरा हुन्थ्यो तर आईसीयूमा गएपछि चिकित्सक र नर्स पनि नआउने रहेछन् । चिकित्सकले सीसी क्यामेराबाट हेरेर उपचार गर्ने रहेछन् ।अस्पतालको सेवामा एकदमै लापरबाही रहेछ । कोरोना बिरामीलाई पोषिलो र झोलिलो पदार्थ खानुपर्ने, अस्पतालमा आलु, चना र काउलीको तरकारी अनि मोटा चामलको भातबाहेक केही थिएन । घरबाट ल्याउन नपाइने । नर्स बिरामीको नजिकै नपर्ने । मेरो अवस्था झन् क्रिटिकल बन्दै गयो । श्रीमतीलाई फोन गरें । वीरमा सुविधा, सेवा केही रहेनछ । अस्पतालको व्यवहारले बचाउला जस्तो लागेन । आजै मेडिसिटी, नर्भिक, ह्याम्स वा ग्रान्डी जुनमा हुन्छ, आईसीयू खोज भनें । त्यसपछि म सम्पर्कमा भइनँ । उनीहरूले खोजीखबर गरेछन् । शेरबहादुर दाइ, बालकृष्ण दाइलाई भनेछन् । ग्रान्डीमा आईसीयू पाइएछ । वीरमा गएको तेस्रो दिन कात्तिक ११ गते राति १० बजे म वीरबाट ग्रान्डी पुगें ।

ग्रान्डीले मलाई लिन आईसीयू सुविधा भएकै एम्बुलेन्स पठाएको थियो । वीरले छिट्टै ग्रान्डी पठाउन डिस्चार्जको संक्षिप्त कार्यविधि अपनायो । त्यतिबेलासम्म म होसमै थिएँ । ह्विलचियरबाट उठेर म आफैं एम्बुलेन्समा बसेको थिएँ । एम्बुलेन्समै ब्लड प्रेसर, अक्सिजन लेबल हेर्ने यन्त्र जडान गरियो । मनिटरले राम्रो रिजल्ट दिएन । नर्सले मनिटर बिग्रेको हो कि भनेर ड्राइभरलाई सोधिन् । उसले अघिसम्म ठीकै थियो भन्यो । त्यसपछि मलाई घोप्टी परेर सुत्न भनियो ।

रत्नपार्क आइपुग्दा नर्स अत्तालिइन् । मनिटरले केही देखाएनछ । राम्रो रिजल्ट छैन, एम्बुलेन्स छिटो कुदाऊ भनिन् । दसैंको खाली सडकमा, एम्बुलेन्सलाई छिटो कुदाऊ भनेपछि मेरो स्वास्थ्य क्रिटिकल भएछ भन्ने लाग्यो । बाँच्दिनँ होला भनेर चिसो पस्यो । कसैलाई अह्राउन, व्यवहार मिलाउन केही पनि भ्याएको छैन । साथीभाइलाई केही भन्न पाएको छैन भन्ने सोचें । क्रिटिकल भए पनि ग्रान्डी त पुग्छु कि भन्ने आशा थियो । होसमा भए पनि प्राविधिक रूपमा गम्भीर भएछु भन्ने लाग्यो । ग्रान्डीमा मलाई रिसिभ गर्न ५/६ जना नर्सहरू आईसीयूको बेड नै लिएर भुइँतलाको रिसेप्सनमा स्टान्डबाई बसेका रहेछन् । तत्काल मलाई कोरोना आईसीयू नम्बर ३ मा राखियो । नर्सहरूले अस्पतालको गाउन लगाइदिए ।

आईसीयूको ढोकामा नै चार–पाँच जना डाक्टर तयारी अवस्थामा थिए । मीनबहादुर सर, तपाईंको स्थिति क्रिटिकल छ, प्रयास गर्छौं । तपाईं नआत्तिनुहोस्, हामी हेर्छौं भनेर उहाँहरूले भन्नुभयो । मैले धेरै कुरा गर्न सकिनँ । श्रीमतीसँग ‘स्थिति गम्भीर छ, क्रिटिकल उपचार सुरु गर्छौं, तपाईंको सहमति चाहियो’ भन्नुभयो । अर्का एक जनाले मीनबहादुर सर, म डाक्टर आनन्द भनेर मास्क खोले । युवा डाक्टर थिए । उनले अब हामी उपचार सुरु गर्छौं भने । मैले तपाईंकामा आएको छु, मलाई बचाउनुहोस् भनें । त्यसपछि मेरो वाक्य बन्द भयो ।

तपाईंलाई भेन्टिलेटरसमेत आवश्यक पर्छ है भनेर पहिल्यै भनिएको थियो । त्यसो भन्दा निकै डर लागेको थियो । मैले बुझ्दा घाँटीका नसा बाहिर निकालेर सर्जिकल उपचार गर्नुपर्ने रहेछ । श्वासप्रश्वासमा समस्या भएकाले नसा बाहिर निकालेर औषधि सप्लाई गर्नुपर्ने रहेछ । मलाई बेहोस बनाए । आईसीयूमा गएको दुई दिनपछि नै मलाई भेन्टिलेटरमा राखिएछ । कात्तिक ११ देखि बेहोस भएको म एकैचोटि २२ गते हल्का होसमा आउन सकें ।

भेन्टिलेटरबाट निकालेको पहिलो दिन जता हेर्‍यो, त्यतै पहेंलो देख्थें । बोल्न सक्दिनथें । दृश्य हेर्दा धरान, काठमाडौं कतै होइन जस्तो लाग्यो । सिसैसिसाको घरमा छु भन्ने लाग्यो । म चटपटाउन खोजेछु । एक जना नर्सले ‘बुबा नहल्लिनू है, हामी तपाईंकै उपचार गर्दैछौं’ भनेको वाक्य कताकता सपनामा सुनेजस्तो लाग्यो । शरीर दुखेको थिएन । घोचेको, पोलेको केही थिएन । चार घण्टापछि डाक्टरले कालो चिया खुवाउनू भनेका रहेछन् । अनि, कालो चिया खानुहुन्छ भनेर सोधेछन् । मैले खाने इसारा गरेछु । चिया ल्याएपछि इसाराले नै खान्न भनेछु । किन अघि खान्छु र अहिले खान्न भन्नुभयो भनेर नर्सले भनिछन् । इसाराले यस्तो प्लास्टिकको कपमा खान्न भनें रे ! त्यसपछि चिकित्सक र नर्स यो मान्छे त पूरै चेतमा आयो भनेर खुसी भएछन् । अनि सिसाको ह्यान्डल भएको कपमा चिया दिएछन् । म पूर्ण होसमा आएपछि नर्सले सुनाएकी थिइन् ।

कात्तिक २२ कै साँझ ६ बजेतिर डाक्टर आएर तपाईं कहाँ हुनुहुन्छ भने । मैले निकै सोचेर अस्पताल भनें । कुन अस्पताल भनेर सोध्दा अकमकिएँ । तपाईं ग्रान्डीमा हुनुहुन्छ भनेपछि हो–हो भनें । तपाईं ग्रान्डीमा डाइरेक्ट आउनुभएको हो ? भनेर नर्सले सोधिन् । मैले हो भनें । तिनले होइन, वीर अस्पतालबाट ल्याएको हो भनिन् । मैले हो है भनेछु । उनीहरूले भन्ने, मैले सही थाप्ने जस्तो भयो । बिस्तारै मेरो चेत खुल्दै गयो ।

नर्सले लोसन लगाउने, मसाज गर्ने, भाइब्रेसन लगाएर फोक्सोको कफ निकाल्ने, घरी घोप्टे सुताउने, घरी उत्तानो पार्ने गर्थे । एन्टिबायोटिक र अरू औषधि चलाएको चलायै थिए । २६ औं दिनमा दिसापिसाब गरेको थाहा पाउन थालें । चेत खुले पनि शरीर मुढोजस्तै थियो । चलमलाउन सक्दिनथें । २७औं दिन आईसीयूबाट क्याबिनमा सारिदिनू भनें । २२ गते नै मेरो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आइसकेको रहेछ ।

ज्वरो नघटेकाले मलाई क्याबिनमा सारेनन् । ज्वरो नघटेपछि अरू केही रोग छ कि भनेर डाक्टरले दिनैपिच्छे सिटी स्क्यान गर्थे । अरू केही देखिएन । ज्वरो किन आयो भन्ने कारण पनि चिकित्सकले पत्ता लगाउन सकेनन् । डा. आनन्द अमेरिकामा पढेका रहेछन् । उनले आफ्नो सम्पर्कमा रहेका अमेरिकाका डाक्टरसँग मेरै अगाडिबाट फोन गरे । एन्टिबायोटिक दिएको कति दिन भयो भनेर उनले सोधे । २२ दिन भएको थियो । ती अमेरिकी डाक्टरले १४ दिनभन्दा बढी लगातार एन्टिबायोटिक दिएपछि ज्वरो आउँछ भने । त्यसपछि एन्टिबायोटिक हटाइयो । ज्वरो पनि घट्दै गयो ।

ज्वरो घटेपछि क्याबिनमा सारियो । परिवारसँग भेट भयो । त्यसपछि छिटफुट आफन्तसँग भेटघाट हुन थाल्यो । मनोबल उच्च भयो । अब घर फर्किन्छु भन्ने आशा पलायो । ३६ औं दिनमा डिस्चार्ज भएँ । त्यतिबेलासम्म खोकी थियो । अक्सिजनको लेबल अझै कम थियो । अतिरिक्त १५ प्रतिशत अक्सिजन लिनुपर्थ्यो । घर जाँदा छिटो रिकभर होला भन्ने मेरो मनमा थियो ।

सरकारी अस्पतालमा तलब बढी सेवा कम, निजीमा तलब कम, सेवा बढी हुने अनुभव मलाई भयो । मलाई पुनर्जन्म दिने कुरामा चिकित्सकको भूमिका जति थियो, नर्सहरूको भूमिका पनि त्योभन्दा कम थिएन । मानिसलाई बचाउन मनोबल उच्च बनाउने काम नर्सकै व्यवहारबाट हुने रहेछ । बेहोसीको बेला एउटा रमाइलो घटना मैले अनुभव गरें । शरीर मरे पनि आत्मा मर्दैन भन्थे, हो रहेछ । आत्मा भनेको म रहेछु । डाक्टर र बाहिर सबैले मर्‍यो भनेका रहेछन् । कसैले घोषणा हुन बाँकी छ भन्दा रहेछन् । बेहोसी संसारमा म डुबुल्की मारेको थिएँ । आनन्दले घुमिरहेको थिएँ । घोच्ने, पोल्ने, दुख्ने थिएन । अचम्म त भारतीय नायक अमिताभ बच्चनलाई गढवाली पोसाकमा नाचेको देखें । यो लोकमा म थिइनँ । परलोकमा मजाले घुमिरहेको आभास हुन्थ्यो । त्यतिबेलाको स्मृति मलाई अहिले पनि छ । पछि ठूलो पुराण लगाउनुपर्छ भनेर श्रीमतीलाई भनेको छु ।

यस्तो विपत्का बेला सरकार सिंगो मुलुकको अभिभावक हुनुपर्ने रहेछ । प्राइभेट अस्पतालमा नसकेपछि सरकारीमध्ये टिचिङ र वीर ठूला अस्पताल हुन् । वीरमा राम्रो उपचार होला भनेर गएको थिएँ । त्यहाँको सेवा र सुविधाले दिक्क लागेर प्राइभेट अस्पताल जानुपर्‍यो । सरकारी अस्पताल, सरकारी कार्यालय, सरकारी स्कुलमा जागिर राम्रो रहेछ । त्यहाँका मानिसको सेवासँग विरक्तिएर प्राइभेट अस्पताल पुग्नुपर्ने रहेछ । सरकारी अस्पताल र सरकारी स्कुलको व्यापक संरचना सुधार गरेन भने सरकार अभिभावक बन्न नसक्ने र गैरजिम्मेवार बन्ने रहेछ भन्ने थाहा भयो ।

यो बीचमा मलाई भित्रैबाट छोएको एउटा घटना छ । म होसमा नआउँदादेखि नै एक जना डाक्टरले मलाई नियमित धाप मार्दै जाने गर्नु हुँदोरहेछ । मीनबहादुर सर कस्तो छ तपाईंलाई भन्नुहुन्थ्यो रे ! त्यसो भन्दा म बोल्न सक्ने थिइनँ । मैले चिनेको पनि थिइनँ । भेन्टिलेटरबाट निकालेको चौथो दिनमा म अलिअलि बोल्नसक्ने भएको थिएँ । उहाँ नै हुनुहुँदो रहेछ । अल्लोको सेतो कोट लगाएर आउनुभयो । मीनबहादुर सर कस्तो छ, बोल्दा नि बोल्नुहुन्न भन्नुभयो । मैले फ्याट्ट डाक्टरसाब म अब बाँच्छु भनेछु । उहाँले भावुक हुँदै भन्नुभयो, ‘तपाईं नबाँचे त म घरै जान पाउन्नँ ।’

म छक्क परें । किन र डाक्टरसाब भनें । उहाँले भन्नुभयो, ‘मलाई दिनमा झन्डै दुई सय नेताको फोन आउँछ तर त्यसको खासै प्रवाह छैन । तपाईंलाई ग्रान्डी ल्याएको चौथो राति मलाई मेरो पिताले फोन गर्नुभयो र देशलाई काम लाग्ने मान्छे त्यहाँ छ, उसको नाम मीनबहादुर विश्वकर्मा हो । त्यसलाई बचायौ भने म पनि तिमीलाई राम्रो डाक्टर मान्छु, त्यति गर भन्नुभयो ।’

मैले उहाँका बुबाको नाम पनि सोध्न सकिनँ । म भावुक भएँ, डाक्टरसाब पनि भावुक हुनुभयो । भोलिपल्ट राउन्डमा आउनेले टिचिङका डा.सुवास आचार्य आउनुहुन्छ भने । बल्ल मलाई उहाँबारे थाहा भयो । एकपटक एयर एम्बुलेन्सबाट भारत लैजाने कुरा भएको रहेछ । डा.सुवास आचार्यले हेरेको भए ल्याउनुपर्दैन भनेछन् । मलाई बचाउन उनको ठूलो भूमिका रह्यो । राष्ट्रपतिले पनि मेरी श्रीमतीलाई दुईपटक फोन गरेर हालखबर सोध्नुभएछ । भानुभक्त ढकाल र सुवास नेम्वाङले पनि बारम्बार स्वास्थ्यस्थिति बुझिराख्नुभएको रहेछ । सबैको प्रयासले पुनर्जीवन पाएँ भन्ने लाग्छ ।

(कुलचन्द्र न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ७, २०७७ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?