‘कान्तिपुरले किन सबैलाई तिमी भन्छ ?’- विविधा - कान्तिपुर समाचार

‘कान्तिपुरले किन सबैलाई तिमी भन्छ ?’

पुन: प्रकाशित
अखण्ड भण्डारी

काठमाडौँ — समाचारमा ठूलालाई ‘तपाईं’ र सानालाई ‘तिमी’ छापिन्थ्यो । यस्तो विभेद हटाउने अहिले पहिल्यै टुंगोमा पुगे पनि राजालाई ‘बक्स्यो’ लेख्नैपर्ने अवस्था थियो । अनि, लोकतन्त्र आएकै दिन साइत जुराइयो राजादेखि सर्वसाधारणसम्मलाई एउटै आदर ‘तिमी’ लेख्न । 

गत साउन १४ गते एमाले अध्यक्ष केपी ओलीसँग अन्तर्वार्ता लिनु थियो । कुराकानी सकेर छुट्ने बेला केहीबेर मिडियाबारे गफगाफ चल्यो । प्रसंग कान्तिपुरको भाषामा ठोक्कियो ।

‘एउटा कुरा मलाई फिटिक्कै चित्त बुझेको छैन,’ ओलीले गुनासो गरे, ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य विशिष्ट व्यक्तिहरूलाई ‘तिमी’ भन्ने अधिकार कान्तिपुरलाई कसले दियो ? कान्तिपुरले चाहिँ अरूलाई आदर गर्नु पर्दैन ? सबैभन्दा ठूलो हो कान्तिपुर ?’

बालकृष्ण बस्नेतले मतिर देखाउँदै भने, ‘उहाँ नै हो कान्तिपुरको भाषाशैली हेर्ने ।’

ओलीको औंलो मतिर सोझियो । उनले उत्तर नदिई ढिम्किनै दिएनन्, ‘लु भन्नुहोस्, देशको सबैभन्दा ठूलो मिडियाले भाषामार्फत कसैलाई अपमान गर्न पाउँछ ? कान्तिपुरले जे लेख्यो, सबैले त्यसैलाई ठीक ठान्छन् । उसैले आदर बिगार्ने छुट कहाँबाट पायो ?’

साहित्यकार दधिराज सुवेदीको चित्तदुखाइ त्यसमै थियो । ‘हामी बुवाआमालाई तपाईं भन्छौं । श्रीमतीलाई तिमी भन्छौं । छोराछोरीलाई तँ भनेर बोलाउँछौं । हाम्रा दर्जाअनुसार तीनथरी आदरार्थी छन्,’ माघ ५ गते विराटनगरमा आयोजित कान्तिपुरको अन्तरक्रियामा उनले भने, ‘कान्तिपुरले सबैलाई तिमी के आधारमा भनिरहेको छ ? भाषाकोशबाटै दुईथरी आदरार्थी गायब गराएर सम्मान गर्नुपर्ने व्यक्तिहरूलाई हेप्न पाइन्छ ?’ प्राज्ञ सुवेदीले यति कडा आपत्ति जनाए कि, पछि अनौपचारिक कुराकानीमा कडै कुरा गरे, ‘अदालत कोही गयो भने यसमा त मुद्दासमेत लाग्न सक्छ ।’

***

२०५७ जेठ– म कान्तिपुरभित्र जागिर खाने अन्तर्वार्तामा घेरिएको थिएँ । व्यवस्थापन र सम्पादनको जम्बो टोलीले प्रश्न सोध्यो, ‘तपाईं के गर्न सक्नुहुन्छ ?’ ‘राम्ररी सम्पादन गर्न,’ मैले भनें ।

मेरो आवेदनको फाइल फरर पल्टाएपछि उताबाट प्रश्न आयो, ‘हामीले कसरी पत्याउनु ?’

म मोफसलमा पत्रकारिता गरेर सोझै काठमाडौं आएको व्यक्ति । सबैभन्दा ठूलो दैनिक पत्रिकाको सम्पादन गर्ने, त्यो पनि ‘राम्ररी’, सायद विश्वास लागेन । मैले भने त्यही दिन छापिएको कान्तिपुरको प्रथम पृष्ठ सम्पादन गरेर झोलामा बोकेको थिएँ । रातो मसीले दर्जनौं ठाउँमा त्रुटि र राम्रो गर्न सकिने कुरा औंल्याएको थिएँ । झिकेर त्यही अघि सारिदिएँ । पत्रिका राउन्ड टेबलमा फनफन घुम्यो । केही मिनेट सन्नाटा छायो । मेरो मनमा डर बढयो, ‘बुद्धि बिगारेर आउन लागेको जागिर उम्काएँजस्तो छ ।’

परिणाम ठीक उल्टो आयो । मलाई विशेष खाले समाचार विशेषै ढंगले सम्पादन गर्न ‘कपी एडिटिङ’ शाखा स्थापना गरेर त्यसको प्रमुख बनाइयो । र, भाषा र सम्पादनमा मैले निर्धक्क प्रयोगहरू गर्न थालें । यसले अवसर र चुनौती दुवै दियो । ‘नारायण वाग्ले स्कुलिङ’ सरल, सरस र मितव्ययी भाषाकेन्द्रित थियो । हाम्रो टिमले त्यसमा होस्टे–हैंसे गथ्र्यो ।

मैले त्यहाँबाट रात्रि डेस्क हुँदै सिंगै समाचार डेस्कको जब नेतृत्व गरें, भाषाको मूल अभिभारा मेरै काँधमा आइलाग्यो । डयुटी सम्हाल्दै त्रुटिहरू बटुलेर म ‘समाचारको भाषा’ नामक पुस्तकका पाना एकातिर थपिरहेको थिएँ, अर्कातिर ती खोज कान्तिपुरमा उपयोग गरिरहेको थिएँ ।

२०६१/६२ तिरको कुरा हो । कान्तिपुरमा छापिएको एउटा समाचारले मन कुँडियो । एक पौरखी दलितले आफ्नै खर्चमा बाटो बनाएका थिए । मन्त्री उद्घाटन गर्न पुगेका थिए । कान्तिपुरमा छापियो... ‘मन्त्रीले उद्घाटन गर्नुभयो’, ‘बाटो फलानाले बनाएका हुन् ।’

मेरो ब्रह्मले भन्यो, यो भेदभावको पराकाष्ठा हो । मैले सम्पादन समूहमा उदाहरणसहित प्रसंग उठाएँ । हामीले अन्य समाचारमा पनि हेर्‍यौं । वास्तवमा नजानी–नजानी हामीभित्रको ‘वर्ग–विभेद’ आदरार्थी भेदभावमार्फत पत्रिकामा छापिँदो रहेछ ।

पदीय एवं प्रतिष्ठीय औकात भएकालाई ‘तपाईं’ सर्वसाधारणलाई ‘तिमी’ अनौपचारिक र फिचर लेखनमा ‘तिमी’ मिडियाका नजरमा सबै समान हुनुपर्ने होइन र ? किन हामी मान्छे हेरी आदरका प्रकार छुटयाइरहेका छौं ? छलफल विभिन्न कोणबाट भए । अन्य भाषाका इतिहास र प्रयोग कोटयाइए ।

प्राचीन अंग्रेजीमा पनि दर्जाअनुसारका आदर थिए । औपचारिक र अनौपचारिक आदरार्थी सम्बोधन थिए । सेक्सपियरका सोनेटहरूमा दाउ (thou), दी (thee), दाई (thy), दाइन (thine), ये (ye) जस्ता शब्द पढ्न पाइन्छन् । यी आदरार्थी र तिनका वचनजन्य विविधता झल्काउने शब्द हुन् । अहिले अंग्रेजहरूले एउटै शब्द यु (you) प्रयोगमा ल्याउँछन् । राष्ट्रपतिदेखि सडकमा बस्नेसम्मलाई ।

हामी निचोडमा पुग्यौं— हाम्रो सम्बोधनमा पनि अब भेदभाव हटाउनैपर्छ । एक मित्रले प्रस्ताव राखे, ‘उसो भए सबैलाई तपाईं लेखौं ।’ त्यसो गर्दा फलानाले ‘चोर्नुभयो’, बलात्कारको अभियोगमा फलाना ‘पक्राउ पर्नुभयो’ जस्ता वाक्यगठन बन्ने भए । त्यो पनि अस्वीकृत भयो । ‘तिमी’ ले जुन मिठास र अनौपचारिकता प्रदान गथ्र्यो, ‘तपाईं’ मा त्यो तागत पाइएन । त्यसैले सबैलाई ‘तिमी’ वाचक सम्बोधन गर्ने निचोडमा पुगियो । तर, गाँठो भेटियो– राजामा । राजालाई ‘बक्सियो’ लेख्नुपथ्र्यो । ‘तिमी’ मा झार्ने हिम्मत कसको हुनु ? अनि, राजालाई छाडेर अरूलाई ‘समान’ ठान्नु झन् न्यायसंगत मानिएन । प्रस्ताव विचाराधीन अवस्थामा स्थगन गरियो । फेरि ‘तपाईं’ र ‘तिमी’ छयासमिस चलिरहयो ।

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनको सम्पूर्ण बागडोर जनतामा सुम्पिए । त्यस दिनदेखि उनी पनि ‘जनता’ सरह भए । त्यो ऐतिहासिक दिनका सामग्रीलाई ऐतिहासिकै र पृथक् ढंगले प्रस्तुत गर्दै आकर्षक पत्रिका तयार पार्न हाम्रो बैठक बस्यो । मास्टहेड (पत्रिकाको नाम) भन्दा माथि ‘जनताको जित’ रातो अक्षरमा लेख्ने निर्णय भयो । त्यही क्रममा अचानक पुरानो प्रस्तावको याद आयो ।

‘अब त ज्ञानेन्द्रलाई पनि तिमी भन्न पाइनुपर्ने हो, आजै सुरु गर्ने कि ?’ मैले कुरो उप्काएँ । तुरुन्तै सर्वसम्मत पारित भयो । हामीले निर्णय गर्दा सम्पादक नारायण वाग्ले उपस्थित थिए कि थिएनन्, मैले भुलें । तर, यतिचाहिँ हो— अत्यन्त छिटो, छोटो र सानो समूहको छलफलमा हामी निचोडमा पुग्यौं ।

र, २ सय ४० वर्षे इतिहासको राजतन्त्र पतनसँगै कान्तिपुरबाट ‘बक्सियो’ पतन भयो । त्यससँगै पद र प्रतिष्ठाका नाममा भाषामा भएको भेदभाव समाप्त भयो । सबैलाई एउटै शब्द ‘तिमी’ लेख्न थालियो ।

ज्ञानेन्द्र शाहको सम्बोधनको समाचारबाट ।

त्यसैले, लोकतन्त्रको देन, लोकतान्त्रिक आदरार्थी हो— ‘तिमी ।’

भाषिक भेदभावविरुद्ध कदम, समानताको साइनो हो— ‘तिमी ।’

मैले यो आलेख तयारीका क्रममा कान्तिपुरका उसबेलाका अंक पल्टाएँ । अभ्यस्त नभएकाले त्यसमा केही चिप्लिएका छन् । कसैलाई ‘बताए’, कसैलाई ‘बताउनुभयो’ परिरहेकै रहेछ । हामीलाई ‘तिमी’ शैलीमा पूरापूर ढाल्न एक महिनाभन्दा बढी लागेको, फर्किएर हेर्दा देखियो । केही समय कुनैमा ‘तिमी’, कुनैमा ‘तपाईं’ मिसमास पाइयो ।

अब कान्तिपुरको शैली— सबैलाई ‘तिमी’ तर कसैको प्रत्यक्ष उद्धरणमा जसरी बोलेको छ, उसरी नै । उदाहरणका लागि— देउवाले भने, ‘प्रचण्डजी मसँग सम्पर्कमै हुनुहुन्छ । उहाँसँग अप्रत्यक्ष वार्ता भइरहेको छ ।’

***

‘तर, सबैले पदको सम्मान गर्नुपर्छ,’ एमाले अध्यक्ष ओली र प्राज्ञ सुवेदी दुवैले जिकिर गरे, ‘राज्यले मान्यता दिएका व्यक्तित्वलाई सर्वसाधारणकै हाराहारी राख्नु हुँदैन । सम्मान त उसको पद र औकातले पाउने हो ।’

सुवेदीको तर्क नाजायज होइन । तर, कान्तिपुरको निचोड हो—

मिडियाका नजरमा कोही बुवा होइनन्

कोही श्रीमती होइनन्

बालबच्चा पनि कोही होइनन्

सबै समान हुन् । ठूला–साना पदले होइन, कामले बन्ने हुन् । त्यसमा शब्दको ‘आदर’ होइन, समाचारको प्राथमिकताले न्याय गर्ने हो ।

त्यसैले भाषामा मात्र होइन, समाचारमा

पनि कान्तिपुरले पदलाई प्राथमिकता दिने परम्परा क्रमश: तोडयो ।

***

न कुनै कानुन, न कुनै नियम— पहिल्यैदेखि राजाका सानातिना क्रियाकलाप पनि पत्रिकाको माथिल्लो बायाँ कुनामा छापिन्थे । अनिवार्य । कुनै विदेशी राजदूतको ओहोदाको प्रमाणपत्र बुझेको होस् वा कसैको जन्मदिनमा पुगेको नै किन नहोस्— ठाउँ त्यहीं पाउँथे ।

सम्पादक युवराज घिमिरे थिए । म रात्रि डेस्कमा काम गर्थें । एक दिन हाम्रो टिममा जिकिर गरें, ‘राजाको आजको समाचार खासै गतिलो होइन, अलि तल छापौं ।’ मित्रहरूले ‘मिल्दैन’ भने । सम्पादकलाई फोन गरेर सोध्ने निचोडमा पुगियो ।

‘ठीक छ,’ युवराज दाइको उत्तर आयो, ‘गरौं–गरौं ।’

अर्कोपल्ट (केही दिनमै) भित्री पृष्ठमा धकेलियो । कतैबाट कुनै सिकायत आएन । अघोषित ढंगले चलिरहेको मिडियाको ‘सम्मान पालना’ क्रमश: समानतातिर अघि बढयो ।

त्यही प्रयोगकै क्रममा बोक्सीको आरोपमा मलमूत्र खुवाइएकी महोत्तरीकी मरनीदेवी प्रथम पृष्ठमा मुख्य समाचार बनिन् ।

भाषा पनि त्यसरी नै बन्दै गएको हो ।

***

कान्तिपुरले भाषामा धेरै प्रयोग गरेको छ ।

प्राय:ले लेख्छन्— सानी आएकी छिन् ।

हामी लेख्छौं— सानी आएकी छन् ।

प्राय:ले लेख्छन्— आकाशमा हजारौं ताराहरू रहेका छन् ।

हामी लेख्छौं— आकाशमा हजारौं तारा छन् ।

प्राय:ले लेख्छन्— विगत पाँच वर्षदेखि हुँदै आइरहेको छ ।

हामी लेख्छौं— पाँच वर्षदेखि हुँदै आएको छ ।

केही वर्षअघि नेपाली भाषाको खासगरी आगन्तुक शब्द प्रयोगमा दुईखाले विवाद चर्कियो । एउटा अति अग्रगामी, अर्को अति पश्चगामी । कान्तिपुरले दुवै लहडलाई साथ दिएन ।

यद्यपि नयाँ जे–जे गरिन्छन्, गुनासा र जिज्ञासा सुनिएकै हुन्छन् । तर, सबैभन्दा धेरै गरिने प्रश्न उही हो, ‘कान्तिपुरले किन सबैलाई तिमी भन्छ ?’

उक्त प्रश्न गर्नेमा कहिल्यै–कहीं ‘सर्वसाधारण’ भने भेटिएका छैनन् । किनकि, अरूलाई ‘तपाईं’ भनेर तिनलाई प्राय:ले ‘तिमी’ भन्दै आएका छन् ।

कान्तिपुरले त्यसो गर्न छोडिदिएको मात्रै हो ।

(२०७४ साल फागुन ७ गते कान्तिपुरको २५औं वार्षिकोत्सवको अवसरमा "कान्तिपुर रजत यात्रा"मा प्रकाशित सामाग्री आज पनि सान्दर्भिक भएकोले पुन: प्रकाशित गरेका छौं । - प्रधान सम्पादक )


प्रकाशित : माघ ९, २०७७ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्

सीमाक्षेत्रमा बढ्दै हेरोइन कारोबारीको सञ्जाल

जितेन्द्र साह

विराटनगर — मोरङको उर्लाबारी नगरपालिकास्थित एक होटेलबाट २६ पुसमा १४ ग्राम खैरो हेरोइन र नापतौल मेसिनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछिको सोधपुछमा मुख्य कारोबारी एक भुटानी नागरिक भएको खुलासा भयो । ती दुई खुद्रे कारोबारीले होटेलको कोठालाई सम्पर्क ठेगाना बनाई हेरोइन बिक्री गरिरहेका थिए ।

झापाको काँकडभिट्टापारिको सीमाक्षेत्र पानीट्यांकीमा अड्डा भएका यो गिरोहका मुख्य नाइकेसँग एक किलोग्राम खैरो हेरोइन चाहियो भन्दै कारोबारी बनेर प्रहरीले सम्पर्क गर्‍यो । मोलमोलाइ नगरी प्रतिग्राम १० हजार रुपैयाँको दरले एक करोड रुपैयाँमा ‘सौदा’ तय भयो ।

वारि नै ल्याइदिने सहमतिअनुरूप पैसा भरिएको झोला लिएर सादा पोसाकमा प्रहरी पुग्यो । आलैपालो कारोबारीका दुई मान्छे पैसा ल्याए/नल्याएको भन्दै किन्ने टोलीसँग सोधपुछ गरेर फर्किए । तर घण्टौं कुर्दा पनि हेरोइन लिएर मुख्य कारोबारी आइपुगेनन् ।

‘विश्वास दिलाउनलाई नोटको बन्डलको तलमाथि सक्कली नोट र बीचबीचमा सादा कागज राखेका थियौं,’ मोरङका एसपी सन्तोष खड्काले भने, ‘कतैबाट केही सुइँको पाएर हो वा शंका लागेर होला, उनीहरू आएनन् ।’

म्यानमारबाट भारतको सीमाक्षेत्र हुँदै सानोसानो परिमाणमा नेपाल भित्रिइरहेको हेरोइनले ठूलै चुनौती थपिएको उनले बताए । वारिका थुप्रै खुद्रे बिक्रेताहरूसँग सम्बद्ध ती भुटानीको प्रहरीले खोजी गरिरहेको एसपी खड्काले बताए । ‘प्राय: लागू पदार्थ कारोबारीमा भरिया मात्र समातिन्छ, मुख्य कारोबारी पर्दापछाडिबाटै काम गरिरहेका हुन्छन्,’ उनले भने, ‘ती भुटानी नागरिक पनि तीमध्येका एक हुन् ।’

हेरोइनको दुव्र्यसनी र कारोबारीको जालोमा छोराछोरी परेको भन्दै प्रदेश १ का प्रहरी कार्यालयहरूमा दिनहुँजसो कुनै न कुनै अभिभावकले कारबाहीका लागि गुहार गरिरहेको अनुसन्धान अधिकृतहरूले बताएका छन् ।

गलत संगतले दुव्र्यसनमा लाग्ने र हेरोइन किन्न रकम अभाव भएपछि यसकै खुद्रे कारोबारी बनेर खर्च जुटाउने गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको तथ्यांकले यसको सेवन र कारोबारमा पुरुषसँगै महिला पनि देखिएको प्रदेश १ प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी विपिन रेग्मीले बताए ।

प्रहरीका अनुसार म्यानमारबाट भारत, बिहारको जोगबनी, सुनसरीको भान्टाबारी र पश्चिम बंगालको नक्सलबारीस्थित पानीट्यांकी हुँदै झापातर्फबाट यो प्रदेशमा हेरोइन भित्रिँदै छ । अनुसन्धान अधिकृतहरूका भनाइमा भारतबाट आउने खैरो हेरोइनको बजार नेपाल भए पनि सेतो हेरोइन भने यहाँ हुँदै विदेशी बजारमा पुग्छ । खैरोभन्दा दोब्बर महँगो भएको हुनाले सेतो हेरोइन नेपाललाई ट्रान्जिट बनाएर अन्य मुलुक पठाइने गरेको अपराध अनुसन्धानविज्ञ पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले बताए । ‘आम नेपाली दुव्र्यसनीले सेतो हेरोइन बेहोर्न सक्दैनन्,’ उनले भने, ‘नेपाली बजारमा भारतबाट खैरो हेरोइन आइरहेको हुन्छ ।’

हालसम्मको अनुसन्धानमा देखिएअनुसार ‘गोल्डेन क्रेसन्ट’ का रूपमा अफगानिस्तान, पाकिस्तान र इरान हुँदै संसारभर सेतो हेरोइन पुग्छ । सेतो हेरोइनको कारोबार हुने यो पहिलो मार्ग हो । त्यसै गरी अर्को मार्ग, ‘गोल्डेन ट्य्रांगल’का रूपमा म्यानमारबाट लाओस र बैंकक हुँदै विश्वभर यसको कारोबार हुन्छ ।

ती दुवै मार्गको नजिक नेपाल, बंगलादेश, थाइल्यान्ड र भारत भएकाले कारोबारीले यी मुलुकलाई ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । अपराधविद् मल्लका अनुसार यसमा विदेशीबाहेक नेपाली लगानीकर्ता र भरिया सामेल भएको देखिएको छ ।

खैरो हेरोइनको सबैभन्दा ठूलो बजार मानिने काठमाडौंभन्दा अहिले प्रदेश १ मा निरन्तर बरामद र पक्राउ हुनु भनेको स्थानीय प्रहरीको सक्रियताको परिणाम भएको पूर्वडीआईजी मल्लले बताए । उनका अनुसार पक्राउ गरिएकाको संख्या र बरामद परिमाणकै आधारमा हेरोइन कारोबार बढेको वा घटेको भन्न सकिन्न । ‘यो संगठित अपराधका कारोबारीहरूले फरकफरक शैली र मार्गबाट निरन्तर ओसारपसार गरिरहेका हुन्छन्,’ उनले भने, ‘सके सम्म प्रहरीको आँखामा नपर्ने गरी धन्दा गर्छन् तर सचेत अभिभावक, सक्षम सुराकी परिचालन तथा प्रहरीको कुशल कारबाहीले कुनै न कुनै बेला पक्राउ पर्छन् नै ।’

भारतको जोगबनीसँग जोडिएको रानी सीमाक्षेत्रमा थोरैथोरै परिमाणमा हेरोइन बेच्नेहरू दिनहुँजसो पक्राउ पर्छन् । तर यसको सञ्जाल सबैतिर देखिन थालेकाले चिन्ताको विषय भएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए । उनका अनुसार सीमा क्षेत्रमा छरिएर रहेका हेरोइन कारोबारीहरूको सशक्त नेटवर्क सक्रिय छ । भारतीय सीमासँग नजोडिए पनि मोरङकै पूर्वोत्तर पहाडी भेग र प्रदेशका अन्य पहाडी जिल्लाहरूमा समेत हेरोइनका कारोबारी तथा सेवनकर्ता पक्राउ परिरहेका छन् ।

‘प्रहरीको नजरबाट बच्न थोरथोर परिमाणमा कारोबारीहरूले हेरोइन भित्रयाइरहेको देखिन्छ,’ डीआईजी कार्कीले भने, ‘केही समययता विभिन्न पेसा तथा वर्गका व्यक्तिहरूबाटै निरन्तर बरामद भइरहेको छ ।’ २५ पुसमा जोगबनीबाट विराटनगरतर्फ कारमा आइरहेका झापा, गौरादहका एक प्रतिष्ठित व्यवसायीबाट ३ ग्राम १ सय ६० मिलिग्राम हेरोइन प्रहरीले बरामद गरेको थियो ।

यो आवको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा ७ महिलासहित १ सय ६० जनालाई ९ सय ८८ ग्राम ४ सय १६ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा ६ महिलासहित १ सय ११ कारोबारी र १ महिलासहित ४९ सेवनकर्ता भएको उक्त कार्यालयका डीएसपी रेग्मीले बताए । सबैभन्दा बढी झापामा ८ सय २१ ग्राम ७ सय २६ मिलिग्राम हेरोइनसहित ४ महिला र ८३ पुरुष विक्रेता एवं ८ सेवनकर्ता पक्राउ परेका छन् । उनका अनुसार यसपछि मोरङमा १ सय २९ ग्राम ९ सय २८ मिलिग्राम हेरोइनसहित १८ बिक्रेता र १८ सेवनकर्ता पक्राउ परे । प्रदेश १ का १४ जिल्लामध्ये उदयपुर, इलाम, पाँचथर, ताप्लेजुङ र धनकुटासम्म पनि हेरोइन कारोबारीको सञ्जाल देखिएको डीएसपी रेग्मीले बताए ।

यो आवको ६ महिनामा उदयपुरमा ८ ग्राम ५ मिलिग्रामसहित एक महिला र दुई पुरुष बिक्रेता तथा पाँच सेवनकर्ता पक्राउ परे । इलाममा २ ग्राम ५ सय ७६ मिलिग्राम हेरोइनसहित १ महिला र १२ पुरुष सेवनकर्ता, ताप्लेजुङमा २५ ग्राम ४ सय ८१ मिलिग्रामसहित १ महिला बिक्रेता र २ पुरुष सेवनकर्ता, धनकुटामा ६ सय ६० मिलिग्रामसहित २ पुरुष सेवनकर्ता र ६ सय मिलिग्रामसहित पाँचथरमा २ बिक्रेता र एक सेवनकर्ता पक्राउ परे ।

त्यस्तै २०७६ को ७ माघदेखि असारसम्म १ किलो २ सय २२ ग्राम १ सय ९८ मिलिग्रामसहित २ महिला र ८४ पुरुष बिक्रेता तथा १ महिला र ४६ पुरुष सेवनकर्ता पक्राउ परेको प्रदेश प्रहरीले जनाएको छ । ‘पक्राउको संख्या र बरामदगीको हिसाबले यो ठूलो परिमाण हो,’ अपराधविद् मल्लले भने ।

उक्त ६ महिनाको अवधिमा झापामा सबैभन्दा बढी ६ सय ९१ ग्राम ५ सय ४७ ग्राम हेरोइनसहित २ महिला र ५५ पुरुष बिक्रेता तथा १५ सेवनकर्ता पक्राउ परे । यसै गरी यो समान अवधिमा सुनसरीमा ४ सय १९ ग्राम हेरोइनसहित ७ बिक्रेता र ३ सेवनकर्ता, मोरङमा ७४ ग्राम ३ मिलिग्रामसहित १३ पुरुष तथा १ महिला बिक्रेता र १५ सेवनकर्ता, उदयपुरमा ३१ ग्राम ७ सय १० मिलिग्राम हेरोइनसहित १ बिक्रेता र २ सेवनकर्ता, इलाममा ४ ग्राम ५ सय १८ मिलिग्रामसहित ४ सेवनकर्ता र पाँचथरमा १ ग्राम ४ सय २० मिलिग्रामसहित ८ बिक्रेता र ७ सेवनकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रदेश १ मा गत आवको साउनदेखि पुस सम्मको ६ महिनाको अवधिमा १ किलो १ सय ३७ ग्राम ६ सय ७३ मिलिग्राम हेरोइनसहित १ सय ९९ जना पक्राउ परेको प्रहरीले जनाएको छ । यसमा ४ महिलासहित १ सय २७ बिक्रेता तथा ७२ सेवनकर्ता रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गत आवको सुरुवाती ६ महिनामा झापामा सबैभन्दा बढी ९ सय ८६ ग्राम २८ मिलिग्राम हेरोइनसहित ३ महिला र ३५ पुरुष बिक्रेता तथा २५ सेवनकर्ता पक्राउ परेका छन् । यसपछि सुनसरीमा ७४ ग्राम ८९ मिलिग्राम हेरोइनसहित १ महिला र ३१ पुरुष बिक्रेता तथा ३ सेवनकर्ता पक्राउ परेका छन् ।

गत आवको अघिल्लो छ महिनाको अवधिमा मोरङमा ४१ ग्राम ७ सय ५० मिलिग्राम खैरो हेरोइनसहित ४५ बिक्रेता र ३४ सेवनकर्ता, ताप्लेजुङमा ३३ मिलिग्रामसहित २ सेवनकर्ता, उदयपुरमा २९ ग्राम ३३ मिलिग्रामसहित १ बिक्रेता र एक सेवनकर्ता, इलाममा ५ ग्राम १८ मिलिग्रामसहित ५ सेवनकर्ता र पाँचथरमा १ ग्राम ७ सय २२ मिलिग्रामसहित ११ विक्रेता र १ सेवनकर्ता पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ९, २०७७ १३:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×