कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कंक्रिटको कमल : ड्रिम प्रोजेक्ट

कमलपोखरी पुनर्निर्माणको बृहत् योजनाको नक्सा हेर्दा महानगरले पोखरी होइन घाट निर्माण गर्न खोजिरहे जस्तो देखिन्छ ।
शिशिर वैद्य

काठमाडौं उपत्यकाले अनेकौं पटक पानीको हाहाकार र अनिकाल भोगेको छ । परापूर्वकालमा सुख्खा पर्दा उपत्यकाका मानिसहरु भगवान पुकार्थे, जात्रा गर्थे । बुँग द्य (रातो मच्छिन्द्रनाथ) जात्राको कथा प्रमाण हो यसको । पानी सुकेपछि जमिन चिरा पर्छ ।

कंक्रिटको कमल : ड्रिम प्रोजेक्ट

जमिन चिरा पर्नु, अनिकाल र अनिष्टको संकेत हो । पृथ्वीमा जीव अस्तित्वको मूल रहस्य नै पानी हो । विज्ञान यसै भन्छ । अर्थात् हाम्रो अस्तित्व पानी हुनु र नहुनुमा निर्भर छ ।

हाम्रा पूर्खाले पानीको जोहो गर्न अनेक उपाय अपनाएका थिए । इनार, ढुंगेधारा अनि पोखरीहरुको निर्माण पानी व्यवस्थापनका नमुना हुन् । सीमित प्रविधि र औजारबाट पनि कलात्मक ढुंगेधारा, ठूलाठूला पोखरी निर्माण भएको थियो त्यो समयमा । पहाडका कुनाकाप्चामा भएका मूलहरुबाट ढुंगेधारासम्म पानी ल्याउनु सजिलो कार्य पक्कै थिएन होला ।

समय फेरिएको छ । उपत्यकाको प्राचीन सुन्दरता नासिएका छन् । कलाकौशल नामेट पारिएका छन् । परम्परागत सीप र प्रविधिबाट बनेका संरचना र सम्पदाहरु ध्वस्त पारिँदै छन् । कंक्रिट र सिसाका बहुतले आयातित वास्तुकलामा रमाएको छ सहर । कंक्रिटको थुप्रो बनेको सहरका प्राचीन ढुंगेधाराहरुमा पानी झर्दैन अहिले । पोखरीहरु अस्तित्वविहीन भएर कतै महल ठडिएका छन्, कतै मैदान । यो विज्ञान र प्रविधिको युग हो । विज्ञानले दिएको अनुपम तर खतरनाक उपहार हो कंक्रिट । यसको प्रयोगले जति विकासमा मद्दत गरेको छ पर्यावरणमा त्योभन्दा बढी असर गरेको छ ।

विज्ञान र प्रविधिका विद्यार्थीहरु प्राचीन कलाकौशल र विद्वताबारे जान्न बुझ्न चाहँदैनन् । सबै कंक्रिटका पछि कुदिरहेका छन् । सम्पदामाथि कंक्रिट आतिक्रमणको पछिल्लो उदाहरण बनेको छ कमलपोखरी । तर काठमाडौं महानगरपालिका कमलपोखरीमा कंक्रिट अतिक्रमण भएको मान्न तयार छैन ।

कमलपोखरी अहिले मैदानमा परिणत भएको छ । पोखरीको वातावरण सुन्दर पार्ने बहानामा महानगरले पोखरी सुकाएको छ । चिरा–चिरा परेको छ पोखरीको पिँध । चारैतिर ढुंगाका चौडा भर्‍याङ जस्तो देखिने पर्खाल निर्माण भइरहेको छ । यसरी निर्माण भएका यी पर्खालले पोखरीमा आउने प्राकृतिक पानीको बाटो पूर्ण रुपमा रोकेको छ । पोखरीका चारकुनामा ढुंगाका पिलर ठड्याइएका छन् । यी पिलरमा पोखरी नियाल्ने पाटी बन्नेछन् ।

योजनाअनुसार नयाँ बन्ने पोखरीको बीचमा कंक्रिटको कमल फुल्नेछ । तर त्यो कमलमा भमरा झुम्मिने छैनन् सेल्फी खिच्नेहरु झुम्मिने छन् । कमलपोखरी पुनर्निर्माणको बृहत् योजनाको नक्सा हेर्दा महानगरले पोखरी होइन घाट निर्माण गर्न खोजिरहे जस्तो देखिन्छ । विगत केही वर्षदेखि छठ मनाउने घाटका रुपमा प्रचार बढेको छ कमलपोखरीको । वर्तमान पुनर्निर्माण योजना त्यसैको प्रभावमा परेको जस्तो लाग्दछ ।

वर्षौंदेखि अतिक्रमण खेप्दै आएको कमलपोखरीमा स्थानीय सरकारको कुदृष्टि परेको छ अहिले । कंक्रिट विशेषज्ञहरुले घेरिएको स्थानीय सरकार सम्पदामाथिको यो अतिक्रमणलाई पोखरी पुनर्निर्माणको नाम दिइरहेका छन् । रानीपोखरीमा लाद्न नसकेको आफ्नो योजनाको झोक कमलपोखरीमा फेर्न खोज्दैछ काठमाडौं महानगरपालिका । महानगरकै योजनामा अघि बढेको भए रानीपोखरी कंक्रिट अतिक्रमणको चपेटामा परिसकेको थियो ।

सम्पदा अभियन्ताहरुले आवाज नउठाएको भए अहिलेको जस्तो सुन्दर रानीपोखरी नयाँ पुस्ताले देख्नै पाउने थिएनन् । अभियन्ताहरुले फेरि आवाज उठाउन हुन थालेका छन् । यस पटकको नारा छ– सेभ कमलपोखरी । झण्डै सत्तरी प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको छ कमलपोखरीको । त्यहाँ भइरहेको पुनर्निर्माणमा महानगरले रानीपोखरीमा गरेको गल्ती दोहोर्याएको छ ।

स्थानीय सीप र प्रविधि प्रयोग गरेर गर्न सकिने पोखरी संरक्षण कार्यलाई बेवास्ता गरिएको छ । किन स्थानीय प्रविधिलाई वास्ता गर्दैन महानगर ? किन पटक–पटक यस्तै नारा बोकेर सम्पदा जोगाउन डटिरहनु परेको छ अभियन्ताहरुलाई ? किन सुन्दैन महानगरपालिका अभियन्ताहरुको आवाज ?

अतिक्रमणको चपेटामा परेर आधा क्षेत्रफल मात्रै बाँकी रहेको कमलपोखरी पटक–पटक व्यक्तिगत र सामूहिक स्वार्थ पुर्ति गर्ने थलो बनेको छ । पोखरी मिचिएको साक्षी बस्न सक्ने पुस्ता अझै जीवितै छन् । तर उनीहरु लाचार छन् । पोखरीको जग्गा व्यक्तिको नाममा पुगिसकेको छ, यो सबैलाई थाहा छ तर न स्थानीय निकायलाई वास्ता छ न सरकारलाई । एक दशक अघिसम्म चारैतिरका बस्तीको ढल पोखरीमा झर्थ्यो ।

स्थानीय युवाहरुको प्रयासमा ती ढल हटाइएका छन् अहिले । पोखरीको दक्षिणतिर अनाधिकृत रुपमा पोखरी अतिक्रमण गरेर बसेको वडा प्रहरी कार्यालय वर्षाैंको प्रयासपछि पोखरी परिसरबाट हटेको छ । प्रहरी कार्यालय बसेको घर कमलपोखरीको उत्तरमा रहेको कमल आधारभूत विद्यालयलाई अस्थायी रुपमा कक्षा सञ्चालन गर्न दिने कुरा चलिरहेको छ । कमलपोखरीको उत्तरतिर लहरै रुख रोपिएका छन् । पोखरी परिक्रमा गर्न पेटी निर्माण गरिएको छ । पोखरीको साँध छुट्याउन फलामे बार लगाइएको छ । केही वर्षअघि मात्रै जडान भएका सोलार बत्ती अहिले अस्तित्वमा छैन ।

स्थानीय व्यापारीहरुको सहयोग र सद्भावले संरक्षित पोखरीलाई यसअघि न स्थानीय सरकारले खासै वास्ता गरेका थियो न अभियन्ताहरुले । कमलपोखरी सुन्दर बनाउन समय समयमा प्रयास नभएका होइनन् । तर ती प्रयासहरु एकीकृत नहुँदा पोखरीको समग्र विकास कहिल्यै हुन सकेन । महानगरको वडा नम्बर १ मा पर्ने कमलपोखरी सुन्दर बनाउने जिम्मा लिएको महानगरले नौ करोड छ्यालीस लाखको बजेट छुट्याएको छ यसपटक । पोखरी पुनर्निर्माण गर्ने जिम्मा पाएको छ जय धनञ्जय/कँडेल जेभी रानीबारीले । योजना हेर्दा पोखरी संरक्षणमा गरिने लगानी वातावरणीय र सामाजिक हितका लागि भन्दा आम्दानीको स्रोतका रुपमा गर्दैछ महानगर ।

पुरातात्विक महत्वको इतिहास भेटिँदैन पोखरीको । तर यो ऐतिहासिक पोखरी हो । सम्पदा संरक्षण र परम्परागत प्रविधिको महत्व महानगरपालिकाले बुझ्दैन वा बुझ्न चाँहदैन । ढलान गरिएका घरमा कलात्मक इँटा टाँसेर र आँखीझ्यालहरु सजाएर परम्परागत बनाउन प्रोत्साहन गर्ने महानगरले कसरी बुझोस् परम्परागत प्रविधि । नत्र रानीपोखरीबाट शिक्षा नलिएर कमलपोखरीमा किन कंक्रिट निर्माणको स्वीकृति दिन्थ्यो ? किन चुक्दैछ महानगर सम्पदा संरक्षणमा ?

कंक्रिट र ढुंगाको चौडा पर्खाल चारैतिर लगाइएपछि, पोखरी रिचार्ज हुने पानीको स्रोत नै बन्द भएका छन् । कसरी बाँच्छ पोखरी पानीका यी स्रोत नासिएपछि ? के पोखरी पुनर्निर्माण गर्न सम्पूर्ण पोखरी सुकाउन आवश्यक छ र ? सुकेको कमलपोखरीमा साग फल्छ भने भरिएको पोखरीमा कमल किन फुल्न सक्दैन ? अनि कमल फुल्ने पोखरीमा व्यर्थै किन सिमेन्टको कमल बनाउने ?

कमलपोखरी टुकुचावारिको एक मात्र बचेको पोखरी हो । जुन केही महिना अघिसम्म पानीसहित सुन्दर थियो । पानीले भरिएको । माछाहरु खेलिरहेको र हाँसहरु तैरिरहेका दृश्यले कमलपोखरी घुम्न पुग्नेहरुलाई मोहित पार्दथ्यो । अहिले कमलपोखरी पुग्ने जो कोहीलाई पोखरीको दुर्दशा देख्दा उदेक लाग्छ । महानगरसँग रिस उठ्छ ।

कमलपोखरी युवा क्लबका पूर्वअध्यक्ष एवं छठ कमिटीका अध्यक्ष राजेन्द्रसिं भन्छन्– ‘कमलपोखरी पुनर्निर्माण मेयरसाबको ड्रिम प्रोजेक्ट हो । यसलाई राम्रो बनाउनु पर्छ भन्ने सुझाव सबैतिरबाट आएको छ । हामी पनि हाम्रो घरछेउको पोखरी सुन्दर भएको देख्न चाहन्छौं । तर ठेकेदारले पानी सुकाएर बर्बाद पार्यो ।’

कमलपोखरीले पानी नथामेको होइन । तर ड्रिम प्रोजेक्टभित्रको कमलको फूल बनाउने चक्करमा पोखरी सुकाइयो । पिँध चिरा पर्ने गरी सुकाइएको पोखरी प्यासले छटपटाइरहेको छ । डोजरले छियाछिया पार्नुअघि नै यसलाई बचाउन स्थानीय र सरोकारवालाहरु अग्रसर हुन ढिला भइसकेको छ । नत्र कमलपोखरीमा सिमेन्टको गन्धविहीन र निर्जीव कमल मात्रै फुल्नेछ, कमल फुल्ने छैन ।

प्रकाशित : माघ ८, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?