सलाम छ चार न्यायमूर्तिहरूको साहसलाई !- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सलाम छ चार न्यायमूर्तिहरूको साहसलाई !

देशको संविधानमाथि आइलागेको यस संकटको घडीमा पूर्वप्रधानन्यायाधीशको पदवीसँग हरदम गाँसिएर रहने कथित मर्यादाको बन्धन तोडिदिएका छन् र केपी ओलीको फासिस्ट निर्णयका विरुद्ध संघर्षमा उत्रिएका लाखौँ नेपालीहरूको आवाजमा आफ्नो आवाज मिसाएका छन् ।
हरि अधिकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अक्षर र मर्म दुवैको प्रतिकूल हुने गरी भङ्ग गरिदिएको प्रतिनिधि-सभाको पुन:स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भई हाल पक्ष-विपक्षमा बहस-पैरवी हुँदै गरेको मुद्दाका सम्बन्धमा सोही उच्चतम न्यायालयका चार जना भूतपूर्व प्रधानन्यायाधीशहरू: मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले एउटा संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेको राय-मसविराले राजधानीको राजनीतिक र न्यायिक वृत्तमा हलचल पैदा गरेको छ ।

न्यायपालिकाको सर्वोच्च निकायको नेतृत्व गरिसकेका ती चार जना महानुभावहरूले अदालतमा विचाराधीन रहेको मुद्दाका बारेमा दिएको किटानी फैसला जस्तो लाग्ने त्यो राय-मसबिराको सामान्यतया स्वागत हुने कुनै सम्भावना थिएन, बरू कडा निन्दा हुन सक्दथ्यो । आखिर भयो पनि त्यस्तै ।

अदालत र त्यहाँबाट हुने निर्णयहरूलाई कुनै पनि प्रकारका प्रश्नहरूको परिधिभन्दा माथि राख्नु पर्दछ भन्ने रूढ परम्परागत सोच राख्ने एकथरीलाई वरिष्ठ न्यायमूर्तिहरूको त्यो वक्तव्य कुनै शक्तिशाली बम जस्तै भयानक लागेको छ भन्ने कुरा त्यसको विरोधमा देखापरेका वक्तव्यहरूको ताँतीबाट भलिभाँती बुझ्न सकिन्छ । प्रधानमन्त्री केपी ओलीले चालेको गैरसंवैधानिक कदमका विरुद्ध कडा टिप्पणी गरिएको वक्तव्यका सन्दर्भमा प्रम स्वयम् र उनका कट्टर समर्थकहरू ती वक्तव्यबाज कानुनविद्हरूसँग रिसले चूर हुनु स्वाभाविक नै थियो ।

त्यसैले न्यायपालिकाका सम्बन्धमा परम्परागत सोच राख्नेहरू र ओली एण्ड कम्पनी, दुवैथरीले एकमुख लागेर चार न्यायमूर्तिहरूको त्यो वक्तव्यको निन्दा र भर्त्सना गरेका छन् । उनीहरूले त्यसलाई 'न्यायालयमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने उद्देश्यले दिन खोजिएको अनुचित दबाब' भनेका छन् । त्यस वक्तव्यको विरोधमा उत्रिएका केहीले वक्तव्य जारी गर्ने ती चार वरिष्ठ न्यायपालकहरूलाई अदालतको मानहानी गरेकोमा हदैसम्म दण्डित गर्नु पर्दछ भन्ने माग पनि गरेका छन् ।

चार पूर्वप्रधानन्यायाधीशहरूको त्यो वक्तव्यलाई परम्परागत दृष्टिले हेर्ने हो भने शायदै उचित ठहर्‍याउँन सकिएला । न्यायपालिकालाई नेपाली समाजले दिंदै आएको उच्च र पवित्र स्थान, अदालतमा विचाराधीन मुद्दामाथि प्रभाव पार्नेगरी अदालत बाहिर बोल्नु नहुने भन्ने समाजमा प्रचलित मान्यता, अदालतसँग भएको अदालतको अवहेलनाविरुद्धको दण्ड विधान र अहिले वक्तव्य जारी गर्नेहरूको वैयक्तिक मर्यादाका दृष्टिले हेर्दा पनि देशको न्यायप्रणालीलाई हाँकिसकेकाहरूले सर्वोच्च अदालतमा चलिरहेको मुद्दाका विषयमा अदालत परिसरभन्दा बाहिर खुल्लमखुल्ला राय बझाएको यो घटना अनौठो मात्र होइन, अशोभनीय जस्तो पनि देखिन्छ । अधिकांश मानिसहरू आफ्नो वैयक्तिक सुख-सुविधा, निजी मान-सम्मान, सन्तुष्टि र सुरक्षा, आफ्नै पेशाका स्थापित मूल्य र मान्यता जस्ता कुराहरूकै परिधिमा बाँधिएर संकुचनमा बाँचिरहने नेपाली संस्कारको दर्पणमा भने ती चार सेवानिवृत्त न्यायमूर्तिहरूको यो कदमलाई ऎतिहासिक र क्रान्तिकारी पनि मान्नु पर्दछ ।

आज हाम्रो देश गम्भीर राजनीतिक संकटको भुमरीमा पर्न पर्न आँटेको अवस्थामा पुगेको छ । कार्यपालिका प्रमुखले संविधानको आडमा सोही संविधानको अपव्याख्या गर्दै लोकतान्त्रिक राज्य-व्यवस्थाका अरू दुई प्रमुख स्तम्भ: व्यवस्थापिका र न्यायपालिकालाई फाजिलमा पार्ने र एक प्रकारको निशस्त्र विद्रोह (सफ्ट कू) गरी राज्यमाथि पूर्ण कब्जा जमाउने प्रयत्न गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले यस प्रकारको सफ्ट कूको अभ्यास २०७४ साल फागुनमा संसदमा सुविधाजनक बहुमतप्राप्त दल नेकपाको संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री बनेदेखि नै गर्न थालेका हुन् ।

उनीहरूले हामीहरूलाई सिकाएका छन् : अदालत कुनै दैवी संस्था होइन, त्यहाँ न्याय सम्पादन गर्न भनी बसेका मानिसहरू देउता होइनन् र तिनीहरूले गर्ने फैसला पनि देववाणी जस्तै प्रश्नातीत हुन सक्दैन । केपी ओलीले शासन गरिरहेको यस घोर कलियुगमा त न्यायाधीशमाथि पनि आँखा चिम्लिएर विश्वास गर्न सकिँदैन ।

सबैभन्दा पहिले त यिनले सर्वोच्चदेखि देशभरका अदालतहरूमा पाएसम्म आफ्नो पार्टीको आफ्नो गुटका कार्यकर्ता, नपाएका खण्डमा पैसा खान र खुवाउन सक्नेहरूलाई न्यायाधीशको पदमा नियुक्ति दिलाएर गार्‍हो साँघुरो पर्दा सरकारको मद्दत गर्ने एउटा वफादार जमात नै खडा गरे न्यायपालिकामा । त्यस्तै किसिमले आफ्नो बगलीका मानिसहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गरेर प्रम ओलीले त्यो महत्वपूर्ण आयोगलाई आफ्नो निजी हितको गोठालो संस्थामा परिणत गरिदिएका छन् ।

बिस्तारै बिस्तारै राज्यसंस्थामाथि आफ्नो निजी पकड मजबूत पार्न नेपाल सरकारको केन्द्रीय सचिवालयका अरू मन्त्रालय र विभागहरूलाई कमजोर पार्दै प्रधानमन्त्री कार्यालयलाई सर्वशक्तिशाली बनाए ओलीले । त्यहाँबाट सल्लाहकार र निजी सचिवहरूको निगरानीमा प्रत्यक्ष प्रशासन सञ्चालन गर्ने, राज्यका औपचारिक संस्थाहरूको काम कारबाहीलाई प्रभावित पार्न बिचौलियाहरूको ब्रिगेड नै खडा गर्ने, ती बिचौलिया र आफ्नो गुटका कर्मचारीहरूमार्फत राज्यका स्रोत र साधनहरूमाथि कब्जा जमाउने र राज्यअन्तर्गतका लाभका पदहरू आफ्ना निकटस्थहरूलाई मात्र सुम्पिने रणनीति बनाएर अघि बढेका थिए प्रधानमन्त्री ओली ।

उनको यो 'ग्र्याण्ड डिजाइन' त्यतिबेला समस्याग्रस्त भयो जब यिनको पार्टीका सह-अध्यक्ष र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण हुनुभन्दा अघिको नेकपा माओवादी केन्द्रका प्रमुख पुष्पकमल दाहाल राज्यरूपी केकबाट आफूले पाउनुपर्ने जत्रो टुक्रो नपाएको गुनासो गर्दै बाउँठिन थाले । दाहालको यो असन्तुष्टिको अग्निकुण्डमा पूर्वएमालेकै अन्य नेताहरू माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ आदिले घिउचरु हालेर त्यसलाई दन्काउन थालेपछि प्रम ओलीको कुर्सी हल्लिन थाल्यो । अनि उनले देखाए आफ्नो सक्कली फासिस्ट अनुहार ।

त्यतिबेलासम्म नेकपाको दोस्रो नम्बरको अध्यक्ष बनेका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एकगठ भएका नेकपाका अधिकांश ठूला नेताहरूले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्न दबाब दिन थालेपछि ओलीले धेरै दिनसम्म त्यो दवाब धान्न सकेनन् । उनको पक्षमा नेपालका लागि चिनिया राजदूत होउ यान्छीले लबिइङ गरेपनि पार्टीभित्रको असन्तुष्टि ओलीद्वारा कुनै प्रकारको त्याग नगरी साम्य नहुने अवस्थामा पुग्यो । अनि त्यही बिन्दुमा आएर केपी ओलीले उठाए शत: प्रतिशत गैरसंवैधानिक राजनीतिक कदम । उनले सत्ता सम्हालेका बेलादेखि नै डिजाइन गर्दै आएको संवैधानिक सत्ताकब्जा (सफ्ट कू) लाई बल प्रदान गर्ने खालको तर पार्टी सञ्चालन विधि, संसदीय परम्परा र प्रचलित संविधानका प्रावधानहरूका दृष्टिले गलत उनले चालेको त्यो कदमको नेपाली समाजको ८० प्रतिशतभन्दा बढी हिस्साबाट तीव्र विरोध भएको छ ।

प्रधानमन्त्री केपी ओलीले चालेको गैरसंवैधानिक कदमको कानुनी र राजनीतिक दुष्प्रभावको गहन विश्लेषण गर्दै त्यसका विरुद्ध वक्तव्य जारी गर्ने सर्वोच्च अदालतका चार पूर्व न्यायाधीशहरूको साहसलाई सलाम छ । उनीहरूले देशको संविधानमाथि आइलागेको यस संकटको घडीमा पूर्वप्रधानन्यायाधीशको पदवीसँग हरदम गाँसिएर रहने कथित मर्यादाको बन्धन तोडिदिएका छन् र केपी ओलीको फासिस्ट निर्णयका विरुद्ध संघर्षमा उत्रिएका लाखौँ नेपालीहरूको आवाजमा आफ्नो आवाज मिसाएका छन् । उनीहरूले हामीहरूलाई सिकाएका छन् : अदालत कुनै दैवी संस्था होइन, त्यहाँ न्याय सम्पादन गर्न भनी बसेका मानिसहरू देउता होइनन् र तिनीहरूले गर्ने फैसला पनि देववाणी जस्तै प्रश्नातीत हुन सक्दैन । केपी ओलीले शासन गरिरहेको यस घोर कलियुगमा त न्यायाधीशमाथि पनि आँखा चिम्लिएर विश्वास गर्न सकिँदैन ।

कम्युनिस्ट कार्यकर्ताबाट नव-फासिस्ट तानाशाह बन्ने सपना देखिरहेका केपी ओलीले देशमा गम्भीर संवैधानिक संकटलाई निम्तो दिएका छन् । उनले गैरसंवैधानिक तवरले गरेको प्रतिनिधि-सभा भङ्ग गर्ने निर्णयविरुद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतले उनकै पक्षमा फैसला गरिदियो भने वर्तमान राज्यपद्धतिको जग नै भताभुङ्ग हुनेछ । त्यतिबेला नेपाली जनता सम्पूर्ण ओलीले नेतृत्व गरेको संविधानको हत्यारा समूह र त्यसको विरोधी समूह गरी दुई विपरीत ध्रुवमा एकट्ठा हुने छन् । त्यो यस्तो जोखिमको समय र स्थिति हुनेछ, थोरै तल-बितल पर्दा पनि पूरै देशको अस्तित्वमाथि खतरा आइलाग्नेछ ।

सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरू त्यही भीषण खतरातर्फ अहिलेका प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाजीको ध्यान खिँच्न सारा अबगालहरू सहन तयार भएर सार्वजनिक भएका हुन् । सम्बन्धित सबैलाई यसको चेतना होस् ।

प्रकाशित : पुस २५, २०७७ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्

कान्ति हराएका कङ्‍कालका शिर

मेरो भव्य रुपाकार , छातीबाट उठेका अग्ला–अग्ला अगम्य शिखर हरु, डरलाग्दा हिमनदीहरु र समय–समयमा उठ्ने प्रचण्ड हिमआँधी, अत्यन्त चिसोले कठो र बनाएको हावापानी र असुविधाजनक यात्रापथका कारण मान्छे हरुका लागि म डर र आकर्षण दुवैको केन्द्र रहँदै आएको छु ।
हरि अधिकारी

मेरो नाम हिमालय पर्वत हो । सुदूर–पूर्वमा तिब्बतको नामचे–बरवादेखि सुदूर–पश्चिममा भारत (जम्मू–कश्मीर) को नंगा–पर्वतसम्मको, लम्बाइमा करिब २५ सय किलोमिटरर क्षेत्रफलमा करिब ५ लाख वर्गकिलोमिटर भू–भाग ओगटेर उभिएको म पृथ्वीको सबैभन्दा लामो पर्वत शृंखलामध्ये दोस्रो हुँ ।

पृथ्वीको सबैभन्दा लामो र भौगोलिक एवम् जैविक विविधताका दृष्टिले अद्भुत, पर्वत–श्रेणी भने एन्डिज् हो । दक्षिण अमेरिकी महादेशमा पर्ने, करिब ७२ सय किलोमिटर लामो यो विशाल र भव्य पर्वत–शृंखलाले आफूमा सयौं हिमनदी, ज्यालामुखी पर्वत, मरु प्रदेश, घाँसैघाँस मात्र भएका अग्ला टारीहरू, अनगन्ती ताल–तलैया र संसारकै विशालतम् जंगल अमेजन रेन–फरेस्टलाई समेटेको छ । एन्डिज् पर्वत–शृंखला दक्षिण अमेरिकी महादेशको सुदूर–उत्तरमा पर्ने देश भनेजुयलादेखि दक्षिण–पश्चिमी किनारामा पर्ने देश चिलीसम्म उत्तर दक्षिण लम्पसार परेको छ । एन्डिज्जस्तै रकी, युराल र ग्रेट डिभाइडिङ रेन्जजस्ता पृथ्वीका विभिन्न महादेशमा पर्ने अन्य पर्वत–शृंखलाहरू पनि उत्तरबाट दक्षिणतिर फैलिएका छन् । तर, युरोपका ९ देश (स्लोभेनिया, जर्मनी, अस्ट्रिया, लाइख्टेन्सटिन, इटली, मोन्याको, स्विट्जरल्यान्ड र फ्रान्स्) लाई समेट्ने करिब १२ सय किलोमिटर लामो भूभाग ओगटेर उभिएको आल्प्स पर्वत–श्रेणीचाहिँ मजस्तै पूर्वबाट पश्चिमतिर फैलिएको छ ।

पूर्वमा भारतको अरुणाञ्चल प्रदेशदेखि पश्चिममा पाकिस्तानको पन्जाब प्रान्तका अधिकांश ठाउँबाट उत्तराभिमुख भएर हेर्दा पूरा क्षितिजलाई ढाकेर उभिएको, चाँदीको जलप खुइलिँदै गएको संरचनाजस्तो जुन विशाल प्राकृतिक प्राचीर देखिन्छ म त्यही हुँ । करिब साढे ४ करोड वर्षपहिले मेरी माता पृथ्वीको गर्भमा रहेका निरन्तर चलायमान दुई विशाल भूमिखण्ड– इन्डियन टेक्टोनिक प्लेट र युरेसियन प्लेटको आन्तरिक घर्षणका कारण, अहिले तिब्बतको मैदान भएको इलाकामा त्यतिबेला ‘टेथिस’ नामक जुन सागर थियो, त्यसको सतहमा संकुचन आई, त्यसले ओगटेको जमिन बिस्तारै अग्लिँदै गएपछि म अस्तित्वमा आएको हुँ । टेथिस सागर सुक्न र मैले मेरो अहिलेको उचाइ प्राप्त गर्न लाखौँ वर्ष लागेको थियो । रोचक कुरो त के पनि छ भने, पृथ्वीको सतहभन्दा करिब २ सय किलोमिटर तल गर्भस्थ रहेका ती प्लेटहरू अझै पनि चलायमान छन् र मेरो उचाइ बढ्ने क्रम पनि जारी छ । यो भौगर्भिक प्रक्रियाको गति सामान्यतया थाहा पाउन नसक्ने किसिमले सुस्त भएकाले मात्र म सदियौँदेखि उस्तै देखिइरहेको हुँ । निरन्तर भइरहेको यही भौगर्भिक विचलनकै कारण दक्षिण एसियाको यो भूभाग सधैँ नै भूकम्पको उच्च जोखिममा छ ।

तर मलाई थाहा छ म उत्पत्तिकालमा जस्तो थिएँ अहिले दुरुस्त उस्तै छैन न त मसँग गाउन बाँकी मेरो कुनै महिमा नै छ । पछिल्ला केही दशकयता आएर आफूले भोग्नुपरेका दुर्दशा देखेर म अवाक् र स्तब्ध भएको छु । मानिसहरूका मनमा मप्रति कुनै उदात्त भावना नै बाँकी छैनजस्तो पनि लाग्न थालेको छ मलाई । मेरो छातीमा पलाएका अग्लाअग्ला शिखरहरू, तीमध्ये पनि सर्वाेच्च सगरमाथालाई कुनै हालतमा पनि पददलित गरिछाड्ने उत्साहले बहुलाजस्तै भएका मानिसहरूको थामिनसक्नु भीड देखेर म आत्तिन थालेको छु । यी मानिसहरू म, शैलाधिराज हिमालय पर्वतको हुर्मत लिइछाड्ने एक मात्र उद्देश्य लिएर बर्सेनि सयौँको संख्यामा मेरा शिखरहरूका आधार शिविरहरूमा जम्मा हुने गर्छन्जस्तो लाग्न थालेको छ मलाई । मेरा शिखरहरूको आधार शिविर र आरोहणका बाटाहरू मात्र होइन, शिखरहरूमै समेत यी असभ्य प्राणीहरूले निष्कासन गरेर छोडी हिँडेको फोहोर–मैलाको डुंगुर लागेको छ । त्यसमाथि जलवायु परिवर्तनको प्रक्रियामा आएको अस्वाभाविकताले हिमपातको मात्रा कम हुँदै गएको मात्र होइन हिउँ पग्लिने गति पनि तीव्र हुँदै गएकाले मेरो छातीमा लहरै उभिएका अनगिन्ती चुचुराहरू सधैँका लागि आफ्नो धवल कान्ति हराएका नीला कङ्कालका शिरजस्ता असुन्दर र डरलाग्दा पनि देखिन थालेका छन् ।

करिब २५ सय किलोमिटर लामो भूभाग ओगटेको मैले ताजिकिस्तान, अफगानिस्थान, पाकिस्तान, चीन, भारत, नेपाल, भुटान र म्यानमार (बर्मा) गरी एसिया महादेशका ८ वटा राष्ट्रलाई समेटेको छु । मेरो दक्षिणी फेदीमा रहेका देशहरूमध्ये नेपालमा सबैभन्दा बढी, मेरो कुल लम्बाइको एक–तिहाइ (८ सय ८० किलोमिटर) भाग पर्छ । उत्तरपट्टि पर्ने देश चीनको स्वशासित प्रदेश तिब्बतको विस्तृत मैदानसँग मेरो सबैभन्दा लामो सिमाना छ । म हिमालय पर्वत मुख्यत: ४ शृंखलामा विभाजित छु : सबैभन्दा उत्तरतिर रहेको तिब्बती हिमालय शृंखला, त्यसपछि तिब्बती पठारको ठीक दक्षिणतिर रहेको मुख्य हिमालय, त्यसपछिको मध्य–हिमाली शृंखला र त्यसभन्दा दक्षिणमा पर्ने महाभारत लेक पनि भनिने शिवालिक पर्वत शृंखला । म हिमालय पर्वतको मुख्य शृंखलामा अग्ला–अग्ला सयौँ हिमशिखरहरू पर्छन् र पृथ्वीकै सबैभन्दा अग्ला, ८ हजार मिटरभन्दा बढी उचाइका १४ शिखरहरूमध्ये ८ वटा नेपालमा नै छन् । ती आठमा संसारकै उच्चतम् शिखर सगरमाथा पनि पर्छ । माउन्ट एभरेस्ट र झयोमोलुङ्मा पनि भनिने ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा मात्र होइन ८ हजार ५ सय ८६ मिटर अग्लो संसारको तेस्रो उच्चतम् शिखर कञ्चनजंघा पनि नेपाललाई मैले दिएका अमूल्य सम्पदामध्ये एउटा हो । नेपालमा पर्ने ८ हजार मिटरमाथिका अरू हिमचुलीहरूमा लोत्से ८५१६, मकालु ८४८५, चोयु ८१८८, धवलागिरि ८१६७, मनास्लु ८१६३ र अन्नपूर्ण प्रथम ८०९१ मिटर छन् ।

भू–बनोट र वातावरणका दृष्टिले दुरुस्तै मजस्तै भए पनि मभन्दा पश्चिमतिर रहेको पर्वत शृंखलालाई भने हिमालय पर्वत नभनेर हिन्दुकुश पर्वतशृंखला भन्ने गरिएको छ । मेरो र पामिर पर्वत–श्रेणीको संयुक्त विस्तारभन्दा पनि फरक नपर्ने, करिब ८ सय किलोमिटर लामो भूभाग ओगटेको यो पर्वत शृंखलाले ताजिकिस्तान, अफगानिस्थान, पाकिस्तान र चीन गरी ४ वटा देशलाई समेट्छ । हिन्दुकुश पर्वत शृंखला हिन्दुकुश हिमाल क्षेत्रको धुर–पश्चिमी इलाकामा पर्ने त्यो भूभाग हो जसले पामिर पर्वत–श्रेणी, काराकोरम पर्वत–शृंखला र म, हिमालयको पश्चिमी सीमा निर्धारण गर्छ । यही पर्वत–शृंखला नजिकको एउटा विन्दुमा चीन, पाकिस्तान र अफगानिस्थान, तीन देशको सिमाना पनि जोडिन्छ । हिन्दुकुश पर्वत शृंखलामा ८ हजार वा त्यसभन्दा माथिका कुनै पर्वत–टाकुराहरू नभए पनि पाकिस्तानको खैबर–पख्तुनख्वा प्रदेशको चित्राल जिल्लामा पर्ने उच्चशिखर तिरिचमिर (७ हजार ७ सय ८ मिटर) लगायत दर्जनौँ अग्ला शिखरहरू भने छन् । हिन्दुकुश पर्वतमाला त्यहाँ शदियौँदेखि विकसित बुद्धधर्मको बामियान शाखाका लागि पनि प्रसिद्ध छ । प्राचीनकालदेखि नै भारत प्रवेश गर्न चाहने सिकन्दर महान्लगायत विभिन्न रूपाकारका आक्रमणकारी जमातहरूलाई यसै पर्वतमालामा पर्ने खैबरको भञ्ज्याङले सजिलो र छोटो बाटो उपलब्ध गराउँदै आएको हो । अहिले पनि पश्चिम एसियाबाट दक्षिण एसिया प्रवेश गर्ने एउटै मात्र सडक खैबरको भञ्ज्याङ हुँदै पूर्वतिर लाग्छ ।

पृथ्वीको सतहभन्दा करिब २ सय किलोमिटर तल गर्भस्थ रहेका ती प्लेटहरू अझै चलायमान छन् र मेरो उचाइ बढ्ने क्रम पनि जारी छ । यो भौगर्भिक प्रक्रियाको गति सामान्यतया थाहा पाउन नसक्ने किसिमले सुस्त भएकाले मात्र म सदियौँदेखि उस्तै देखिइरहेको हुँ ।

म महान् हिमालय पर्वत आफ्नो प्राकृतिक सौन्दर्य, पर्वतारोहणको साहसिक अभियानका लागि दिलाएको अवसर वा अन्यत्र दुर्लभ जीव–जन्तु र जडीबुटीका लागि मात्र उपयोगी छु भन्ने कसैले ठान्छ भने त्यसलाई कोरा अज्ञान भन्दा फरक पर्दैन । हो म प्रख्यात त यिनै कुराहरूका लागि छु तर मेरो उपयोगिताका अरू अनेक आयाम छन् । वास्तवमा म त दक्षिण एसियाका देशहरूका लागि प्रकृतिले दिएको एउटा वरदान हुँ । तिब्बतको पठारको ठीक दक्षिणी भागमा पर्ने बर्मादेखि पाकिस्तानसम्मको २५ सय किलोमिटरको लम्बाइलाई पूरै समेट्दै, एउटा अग्लो अभेद्य किल्लाझैँ दृढताका साथ उभिएको छु म । सुदूर–उत्तर साइबेरियादेखि मंगोलियासम्म फैलिएका उराठ बन्जर मैदानबाट दक्षिणतिर तीव्र गतिमा बहँदै आउने अत्यन्त चिसो हावा मसँग ठोकिएर जताबाट आएको हो उतैतिर फर्किन बाध्य हुने भएकाले मात्र दक्षिण एसिया क्षेत्रमा बसोबास गर्ने मानिसहरू जाडोले कठयाङ्ग्रिएर मर्नबाट बच्दै आएका हुन् । अर्कोतिर प्रत्येक वर्षको ग्रीष्म ऋतुमा भारतीय प्रायद्वीपभन्दा दक्षिणतिरका खाडी क्षेत्रबाट उठेर उत्तरतिर बढ्ने मनसुनी हावालाई आफूभन्दा उत्तरतिर जान रोकेर म त्यसलाई मनसुनी वर्षामा परिणत गरिदिन्छु र पूरै दक्षिण एसियालाई जलप्लावित बनाइदिन्छु । मेरो यो करतबबाट दक्षिण एसियाका देशहरू : भारत, पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका र बर्मा लाभान्वित हुँदै आएका छन् ।

म दक्षिण एसिया क्षेत्रका २ प्रमुख नदी–प्रणाली सिन्धु र गंगा–ब्रह्मपुत्रको पनि उद्गमस्थल हुँ । यी दुवै नदी र यिनका अधिकांश सहायक नदीहरूका मुहानहरू कि त मेरो उत्तर–पश्चिमी सीमाक्षेत्रको हाल तिब्बतमा पर्ने कैलाश–मानसरोवर क्षेत्रमा पर्छन् कि भने मेरो काखमा रहेका असंख्य हिमनदीहरूमा । यस क्षेत्रका मुख्य दुई नदी प्रणालीमध्ये पश्चिमपट्टिको सिन्धु नदीको उद्भव तिब्बतको मानसरोवर क्षेत्रका सेङगे जाङबु र गारसाङपो नामक दुइटा मुहानबाट हुन्छ । तिब्बतबाट भारत हुँदै पाकिस्तान प्रवेश गर्ने यस नदीले मेरो उत्तरी र पश्चिमी सीमा पनि निर्धारण गर्छ ।

पाकिस्तानको कराँचीनेर पुगी अरब सागरमा मिसिने सिन्धु नदीका २५ भन्दा बढी सहायक नदी छन् । तीमध्ये मुख्य ५ सहायक नदीहरू झेलम, चेनाब, राबी, व्यास र सतलज हुन् । यी ५ नदीद्वारा सिञ्चित एउटा ठूलो भूखण्डलाई पन्जाब भनिन्छ । पन्जाब भूखण्ड यति ठूलो छ, बृहत्तर भारतको विभाजन भएर भारत र पाकिस्तान दुइटा देश बन्दा देशको साथसाथै पन्जाब प्रदेशको पनि विभाजन गर्नुपरेको थियो । आजको घडीमा भारत र पाकिस्तान दुवैतिर पन्जाब नामका राजनीतिक र आर्थिक दुवै हिसाबले उत्तिकै महत्त्वपूर्ण प्रदेश कायम छन् । भारततिरको पन्जाबलाई समृद्ध भारतको एउटा सानो टुक्रा भन्दा फरक पर्दैन भने पाकिस्तानी पन्जाबको पनि त्यहाँको राष्ट्रिय राजनीतिमा सदैव हस्तक्षेपकारी भूमिका रहँदै आएको छ । सिन्धु नदीले नै आर्य सनातन धर्मावलम्बीहरूलाई ‘हिन्दु’ भन्ने शब्द दिएको र भारतवर्षलाई ‘इन्डिया’ का रूपमा संसारसामु प्रस्तुत गरेको हो ।

मेरो क्षेत्रको अर्को नदी प्रणालीलाई गंगा–ब्रह्मपुत्र नदी प्रणाली भनिन्छ । यसका दुई नदीमध्ये एक ब्रह्मपुत्रको उद्भव मानसरोवर क्षेत्रबाट साङ्ग्पो नामले हुन्छ र मेरो पूर्वतिरको अन्तिम सिमाना नपुगुन्जेल तिब्बतको पठारमा बग्ने यो नदी भारतको अरुणाचल प्रदेश नजिक पर्ने तिब्बतको पहाड राम्चे–बारवामा ठूलो घुम्ती लिई भारत प्रवेश गर्छ । त्यहाँबाट पूर्वोत्तर भारतका भूभागमा बग्ने अनेकौँ नदी–नालाहरूलाई समेट्दै बंगलादेशको सुन्दरवन क्षेत्रमा पुगी बंगालको खाडीमा गएर समाहित हुन्छ । यस प्रणालीको अर्को नदी गंगाको उत्पत्ति भारत उत्तराखण्डमा पर्ने गंगोत्री नामक हिमनदीमा भएको हो । गंगा उत्तर भारतका प्रमुख जनपदहरू हुँदै बग्छ र यमुनालगायत अनेक सहायक नदीहरूलाई समेट्दै यो पनि पनि बंगालको खाडीमै मिसिन्छ । नेपालका ३ मुख्य नदी प्रणाली कर्णाली, गण्डकी र कोसीका सबै नदीहरू गंगामै मिसिन्छन् । मेरो क्षेत्रमा मभन्दा उत्तरतिर भएका मुख्य तालहरूमा मानसरोवर ४२० वर्ग किलोमिटर, प्याङगोङ ताल ७०० वर्ग किलोमिटर, याम्द्रोक ताल ६३८ वर्ग किलोमिटर हुन् । दक्षिणतिरका तालहरूमा प्रमुख छन् तिलिचो, शे फोक्सुण्डो, रारा, गोक्यो (सबै नेपाल), गुरुदोङमार र चोङमो (भारत) आदि छन् । नेपाल र भारतका यी सबै ताल उत्तरतिरका तालहरूभन्दा धेरै साना छन् । क्षेत्रमा साना–ठूला गरी १५ हजार हिमनदी छन् भन्ने अनुमान गरिएको छ ।

मेरो भव्य रूपाकार, छातीबाट उठेका अग्ला–अग्ला अगम्य शिखरहरू, डरलाग्दा हिमनदीहरू र समय–समयमा उठ्ने प्रचण्ड हिमआँधी, अत्यन्त चिसोले कठोर बनाएको हावापानी र असुविधाजनक यात्रापथका कारण मान्छेहरूका लागि म डर र आकर्षण दुवैको केन्द्र रहँदै आएको छु । मप्रतिको अप्रतिम आकर्षणका कारणले गर्दा नै हुनुपर्छ, इतिहासको प्रथम प्रहरदेखि नै मानिसहरूले मेरो आराधना गर्दै आएका छन् । मलाई मान दिने हुटहुटीले उनीहरूले शिवजस्तो अद्भुत देवाधिदेवको कल्पना गरेका छन् र उनलाई मेरो ज्वाइँ बनाइदिएका छन् । ज्वाइँको कल्पना गरेपछि छोरी चाहिने हुनाले उनीहरूले शैलपुत्री पार्वतीको सिर्जना गरेर मेरो पोल्टामा हालिदिएका छन् ।

मेरो सान्निध्य पाएर धन्य भएको कैलाश–मानसरोवर क्षेत्र हिन्दुहरूको मात्र होइन, बौद्ध, जैन, बोन धर्मावलम्बीहरूको आस्थाको पनि केन्द्र रहँदै आएको छ । धेरै पहिलेदेखि नै जिज्ञासु र साहसी मानिसहरू योगीका भेषमा, तपस्वीका भेषमा, आरोहीको भेषमा, उच्च पर्वतीय प्रदेशको अनुसन्धाताको भेषमा मकहाँ आएको आएै छन् । मेरो सर्वाधिक प्रसिद्ध पुत्र सगरमाथामाथि विजय प्राप्त गर्ने धुनमा मात्रै पहिलो अभियान परिचालन गरेको इस्वी सन् १९२१ देखि अहिलेसम्म ३ सय ७ जनाले ज्यान गुमाएका छन् भने सन् १९५३ मा एडमन्ड हिलेरी (न्युजिल्यान्ड) र तेन्जिङ नोर्गे शेर्पा (नेपाल) ले प्रथमपल्ट सफल आरोहण गरेदेखि यता करिब ५ हजार जनाले सगरमाथाको शिखर चुम्न सफलता पाइसकेका छन् ।

कवि–लेखकहरूका लागि पनि म उनीहरूको सिर्जनात्मक उडानको विषय रहँदै आएको छु । संस्कृत साहित्यका महाकवि कालीदासले मेरो महिमा गाउँदै कुमारसम्भवम् काव्यको प्रथम सर्गमा लेखेका छन् :

अस्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराज:

पूर्वापरौ तोयनिधी नगाह्य स्थित पृथ्विव्याम् इव मानदण्ड

कुनै नेपाली कविले बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् भन्ने कामना गरेका छन् भने कसैले मेरो आत्मालाई नृत्यमय देखेका छन् । अमेरिकाकी प्रसिद्ध कवि एमिली डिकिन्सन्ले समेत मेरो बन्दना गरेकी छन् भने अमेरिकाकै अर्का चिन्तक र लेखक हेनरी डेभिड थोरोले पनि ममाथि एउटा निबन्ध नै लेखेका छन् । भारतीय भाषाहरूमा मेरो विषयमा लेखिएका रचनाहरूको त सायद गणना गरेरै भ्याइँदैन ।

प्रकाशित : श्रावण ३१, २०७७ ११:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×