कोरोनाको नयाँ स्वरूप : चासो किन आवश्यक ?- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाको नयाँ स्वरूप : चासो किन आवश्यक ?

नेपालमा कोरोना भाइरसको नयाँ स्वरूप फैलन नदिने प्रयास थाल्न ढिला भइसकेको छ । त्यसअघि शंकास्पद व्यक्तिहरूमा भाइरसको ‘जिनोम सिक्वेन्सिङ’को विश्लेषण गरी भित्रिए/नभित्रिएको यकिन गर्नुपर्छ ।
शेरबहादुर पुन

कोरोना भाइरसको नयाँ स्वरूप ‘भेरियन्ट अफ कन्सर्न (भीओसी–२०२०१२/०१’ बेलायतमा सार्वजनिक भएसँगै विश्व तरंगित भएको छ । तरंगको मुख्य कारण यसको फैलने क्षमता अघिल्लो भाइरसभन्दा ७४ प्रतिशतसम्म बढी हुनु र बेलायतमा अधिकांश संक्रमितमा यही नयाँ स्वरूपको भाइरस पाइनु हो ।

उक्त भाइरस भित्रने चिन्तामा नेपालसहित विभिन्न राष्ट्रले बेलायत आवतजावतमा प्रतिबन्ध लगाएका छन् । बेलायतमा कात्तिकदेखि नै नयाँ स्वरूपको भाइरस देखिन सुरु भएकोमा नेपालले पुस ७ बाट मात्र यात्रा प्रतिबन्ध लगाएको हो । तसर्थ नयाँ भेरियन्टको भाइरस त्यसअगाडि नै नेपाल प्रवेश गरिसकेकाहरूबाट भित्रने सम्भावना कति होला ? प्रश्न खडा भएको छ । यो लेख तयार पार्दासम्म छिमेकी भारतमै बीस जनामा यो नयाँ भेरियन्टको संक्रमण भइसकेको मिडियाले सार्वजनिक गरेका छन् । नेपालमा कोरोनाको सुरुआती चरणमा पनि अत्यधिक संक्रमितहरू भारतको सीमा हुँदै प्रवेश गरेकाहरू थिए ।

कोरोना भाइरसको जिनमा प्राकृतिक रूपमै समयक्रमअनुसार स–साना परिवर्तन हुने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । तर हालै बेलायतमा देखिएको नयाँ भेरियन्टको जिन परिवर्तनचाहिँ अस्वाभाविक पाइएको छ । यो परिवर्तन भाइरसको बाहिरी सतहमा हुने स्पाइक प्रोटिनमा पनि देखिएको छ जुन भाइरस प्रवेश गराउन सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यही परिवर्तनका कारण यो भाइरसमा संक्रमण गर्ने क्षमता अघिल्लोमा भन्दा धेरै रहेको वैज्ञानिकहरूको भनाइ छ । तर, उनीहरूले अघिल्लो र पछिल्लोबीचको तात्त्विक भिन्नता स्पष्ट रूपमा बताउन सकेका छैनन् ।

अहिलेसम्म नयाँ भेरियन्ट अघिल्लो भाइरसभन्दा बढी घातक भएको प्रमाणित भइसकेको छैन । भारतमा पनि बेलायतबाट आएका नयाँ भेरियन्टका संक्रमितमा कडा लक्षण नदेखिएको सञ्चारमाध्यमले उल्लेख गरिरहेका छन् ।

अर्को सबैको जिज्ञासा भनेको हाल विकास गरिँदै आएका खोपहरूको प्रभावकारिता कोरोनाको जिनमा देखिएको परिवर्तनसँग सम्बन्धित छ । भाइरसको जिनमा यसरी नै परिवर्तन हुँदै गए खोपको प्रभावकारिता विकासकर्ताहरूले दाबी गरेजत्तिकै नहुन सक्छ । फ्लु भाइरसमा निरन्तर जिनमा परिवर्तन हुने हुँदा फ्लु भ्याक्सिनको प्रभावकारिता पनि उच्च देखिँदैन ।

कुनै पनि देशमा प्रकोप वा महामारी देखिए यातायातको सहज पहुँचका कारण नेपालसम्म नआउला भन्न सकिँदैन । विश्व स्वास्थ्य संगठनले पछिल्लोपटक सन् २००९ सालमा स्वाइन फ्लुका नामले चिनिने ‘एचवानएनवान पीडीएम ०९’ लाई पेन्डेमिक महामारी घोषणा गरेको थियो । अमेरिकामा अप्रिलमा देखिएको उक्त फ्लुको भाइरस दुई महिना नबित्दै (जुनमा) नेपाल भित्रिसकेको थियो । तसर्थ कोरोना भाइरसको नयाँ स्वरूप भित्रन नदिने प्रयास थाल्न ढिला भइसकेको छ । त्यसअघि शंकास्पदहरूमा भाइरसको जिनोम सिक्वेन्सिङको विश्लेषण गरी भित्रिए/नभित्रिएको यकिन गर्नुपर्छ । हालै बेलायतबाट आएकाहरूमध्ये केहीमा कोरोना पोजिटिभ देखिएको नेपाल सरकारले सार्वजनिक गरेको छ । तर भाइरसको जिनोम सिक्वेन्सिङ नगरिएकाले उनीहरू नेपालमै संक्रमित भए वा बेलायतमा भनेर यकिन गर्न सकिएको छैन । बेलायतमै संक्रमित भएका रहेछन् भने त्यो नयाँ स्वरूपको कोरोना हुन सक्ने प्रबल सम्भावना छ ।

नेपालमा हालै संसद् विघटनसँगै जुलुस र र्‍याली बढेका छन् । यसले कोरोना नियन्त्रण अभियानमा अवरोध गरेको छ । यस्ता क्रियाकलापले जनस्वास्थ्यका मापदण्ड व्यवहारमा लागू हुने सम्भावना क्षीण हुनेछ । अहिले पनि देशभर दैनिक झन्डै पाँच सयदेखि हजारको हाराहारीमा नयाँ संक्रमित पुष्टि हुने क्रम जारी छ । सभा, जुलुस, छलफलहरूबाट संक्रमण झन् फैलने सम्भावना बढेर जान्छ । बेलायतमा देखिएको नयाँ स्वरूपको भाइरस नेपाल भित्रिएको रहेछ भने कोरोनाको अर्को लहर सुरु नहोला भन्न सकिँदैन । बेलायतमा पनि क्रिसमस मनाउँदा जनस्वास्थ्यका मापदण्ड बेवास्ता गरिएकाले भाइरस फैलिएको र संक्रमितले अस्पताल भरिभराउ भएको चिकित्सकको अनुमान छ ।

नेपालमा जिनोम सिक्वेन्सिङ प्रविधि नहुँदा नयाँ स्वरूपको भाइरस तत्काल पहिचान गरिहाल्न सजिलो छैन । हुन त यो पंक्तिकारले नेपालमा पहिलो लकडाउनको अन्त्यसम्म ९९ प्रतिशतभन्दा बढी लक्षणविहीन संक्रमित देखिँदै आएकोमा त्यसपछि अचानक लक्षणसहितका संक्रमित देखिँदा भाइरसको स्वरूपमा परिवर्तन आएको हुन सक्ने भनी शंका उठाएको थियो ।

भाइरसको जिन बेलायत वा अरू देशमा मात्र हुनुपर्छ भन्ने छैन । नेपालमा पनि कोरोना भाइरस लामो समयदेखि ‘सर्कुलेसन’ भइरहेको र प्राकृतिक रूपमा जिनमा परिवर्तन पनि भइराख्ने हुनाले त्यस बेलाको भाइरसको जिनोम सिक्वेन्सिङ गर्न सके जिन परिवर्तन भए/नभएको हेर्न सकिने र त्यसैअनुसार योजना र रणनीति बनाउन मार्गनिर्देश गर्न सकिने पंक्तिकारको विश्वास थियो ।

कोरोना अन्तिम महामारी पक्कै हुनेछैन । तसर्थ भविष्यमा देखिन सक्ने अन्य संक्रामक भाइरसको जिनमा देखिन सक्ने परिवर्तन पत्ता लगाउन पनि जिनोम सिक्वेन्सिङ प्रविधि आवश्यक पर्छ । २१औं शताब्दीमा देखिने प्रकोप र महामारीसँग जुध्न भाइरसको स्वरूपमा हुन सक्ने परिवर्तनलाई बेलैमा विश्लेषण गर्न सकिए रणनीति बनाउन सहयोगी हुनेछ । बेलायतले जिनोम सिक्वेन्सिङ प्रविधिबाट बेलैमा भाइरस परिवर्तनबारे जानकारी लिन सक्दा विश्वका अरू देशलाई पनि समयमै सजग हुन मद्दत पुगेको छ ।

(पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : पुस १६, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाको दोस्रो लहर : नेपालमा कति सम्भव ?

एकबाट अर्को ठाउँसम्मको सहज पहुँच, जनस्वास्थ्य मापदण्डको बेवास्ता र भाइरसमा हुने जिन परिवर्तनका कारण नेपालमा पनि कोरोनाको अर्को लहर नआउला भन्न सकिने अवस्था छैन ।
शेरबहादुर पुन

नेपालमा हालसम्म झन्डै दुई लाख मानिस कोरोना संक्रमणमा परेर निको भइसकेका छन् । थप हजारौं जना निको हुने क्रममा छन् । कोरोनाको लहर दोहोरिए पुनः संक्रमित भइने हो कि भन्ने चासो उनीहरूमा पाइन्छ ।

अनि यो चासो अहिलेसम्म संक्रमित नभएकाहरूको पनि हो । युरोप तथा अमेरिकामा कोरोनाको लहर फर्किरहँदा यहाँ पनि चासो–चिन्ता देखिनु अस्वाभाविक होइन । के नेपालमा कोरोनाको दोस्रो लहर निम्तेला त ?

कोरोनाको दोस्रो लहर के हो भनेर निश्चित वैज्ञानिक परिभाषा त छैन । तर संक्रमणको दर उत्कर्षमा पुगेर नगण्य संख्यामा झर्नु, नियन्त्रण हुनु र फेरि केहि समयको अन्तरालमा अत्यधिक संख्यामा देखिनुलाई यस्तो रूपमा बुझ्ने गरिएको छ । सन् १९१८ तिर देखिएको ‘स्पेनिस फ्लु’को नामले चिनिने भाइरसको दोस्रो लहरमा बढी मानिसको मृत्यु भएको तथ्य पाइन्छ । कोरोना र फ्लु दुई फरक भाइरस भए पनि कतै कोरोनाको लहर दोहोरिइरहने हो कि भन्ने भय विश्वमै देखिन्छ । थप मानवीय क्षति नहोस् भनेर खोपलाई मुख्य विकल्पका रूपमा लिइएको र कतिपय देशले द्रुत गतिमा यसको विकास गरिरहेका पनि छन् । कतिपय देशले त आपत्कालीन प्रयोगका लागि हाल उपलब्ध खोपहरू (कम्तीमा ट्रायलको तेस्रो चरण पार गरिसकेका) लाई स्वीकृति पनि दिइसकेका छन् । नेपालले पनि खोप ल्याउने हरसम्भव प्रयास सुरु गरिसकेको छ ।

दोस्रो लहरबारे अनुमान गर्नुअघि युरोप तथा अमेरिकामा किन, कसरी र कस्तो अवस्थामा कोरोनाको लहर दोहोरियो भनेर बुझ्न जरुरी हुन्छ । युरोपमा दोस्रो लहर विशेषतः स्पेनबाट फैलिएको अनुमानसहितको अनुसन्धानमूलक लेख प्रकाशित भएको छ । युरोपमा कोरोना संक्रमणको पहिलो लहर कम हुनेबित्तिकै स्पेनले आफ्नो देश पर्यटकका लागि खुला गरेको थियो भने मानिसको आवतजावत पनि सहज बनाएको थियो । न्युयोर्क टाइम्सका अनुसार जुलाई तथा अगस्ट महिनामा मात्र स्पेन प्रवेश गर्नेको संख्या लगभग चार मिलियन (४० लाख) जति थियो । उनीहरूलाई कोरोना परीक्षण तथा क्वारेन्टिन अनिवार्य गरिएको थिएन । बेल्जियमले पनि कोरोना परीक्षण तथा क्वारेन्टिनको व्यवस्था गरेको थिएन । स्पेन भ्रमण गरेका पर्यटकले आफ्नो देशमा समेत संक्रमण फैलाएका कारण कोरोनाको दोस्रो लहर युरोपमा फैलिएको भन्दै त्यहाँका अनुसन्धाताले जिनको विश्लेषण गरेका थिए । त्यस क्रममा जिनको बनावट नयाँ देखिएको थियो । यसलाई २०एईयू१ नाम दिइएको छ । यो नयाँ प्रकृतिको कोरोना भाइरस युरोपेली देशहरूमा दोस्रो लहर फैलाउने कारक मानिएको छ । बेलायत र स्विट्जरल्यान्डमा देखिएको दोस्रो लहरमा यो प्रकृतिको भाइरसको हिस्सा ८० र ५० प्रतिशतसम्म पाइएको थियो । संक्रमितको संख्या पहिलोभन्दा दोस्रो लहरमा बढी भएको तथ्यांक छ । नेचर जर्नलमा प्रकाशित लेखअनुसार केही समयअगाडि मात्र डेनमार्कको कृषि फार्ममा ‘क्लस्टर ५’ नाम दिइएको मिंक (जनावर) मार्फत झन्डै ३ सय कृषकमा फैलिएको कोरोना भाइरसले संक्रमण बढाएको थियो । यसले विश्वमै तरंग ल्याइदिएको थियो । यसको मुख्य चिन्ता भनेको मानिसबाट मानिसमा सर्न सक्ने सम्भावना र हाल विकास भइरहेको खोपका लागि दिन सक्ने चुनौती थियो । यद्यपि यो अनुसन्धानको पाटो रहेको छ । मिंक पालन गर्ने अरू देशमा समेत ‘क्लस्टर ५’ म्युटेसनको कोरोना देखिएको भनिए पनि ती देशमा यो भाइरसका कारण कृषक र अन्य मानिस संक्रमित भए/भएनन् भन्ने अहिलेसम्म यकिन छैन ।

अमेरिका, टेक्सासको ह्युस्टन महानगरपालिकामा कोरोना भाइरसका दुई लहर देखिएपछि त्यसको कारण खोज्न अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धान अमेरिकी सोसाइटी फर माइक्रोबायोलोजीको ‘एमबायो’ जर्नलमा प्रकाशित भएको थियो । त्यहाँ मार्च पहिलो सातातिर कोरोना संक्रमण देखिन सुरु भई अप्रिलको मध्यतिर उत्कर्षमा पुगी मेको मध्यतिर पहिलो लहर सकिएको थियो । तर लगत्तै दोस्रो लहर देखिएको थियो । उक्त अनुसन्धानले ‘स्पाइक प्रोटिन’ मा देखिएको म्युटेसन (जसलाई डी६१४जी भनेर चिनिन्छ) पहिलोमा भन्दा दोस्रो लहरमा बढी र व्यापक रहेको देखाएको थियो । दोस्रो लहरमा युवा उमेरका र खासै दीर्घरोग नभएकाहरू बढी संक्रमित भएका थिए । यो अनुसन्धानलाई सरसर्ती हेर्दा दोस्रो लहर तीव्र र छोटो अवधिमा फैलनुको कारणमा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ देखिन्छ ।

हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा देखिँदै आएको कोरोना भाइरसको नमुनाको जिन ‘सिक्वेन्सिङ’ गरिएको जनाएको छ । नमुनाहरू फरक ठाउँ, लिंग, उमेर र समूहबाट लिइएको भनिएको छ । नेपालमा देखिएको कोरोना भाइरस भारत र साउदी अरबमा देखिएको कोरोनासँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालिएको छ । नेपालीहरूको आवतजावत पनि यिनै देशमा हुने हुँदा यो स्वाभाविक नै देखिन्छ । तर यी दुईमध्ये कुनचाहिँ भाइरसको कारणले संक्रमितको मृत्यु भयो वा भइरहेको छ भनेर सार्वजनिक गरिएको छैन ।

परिषद्ले असार महिनामा नमुना संकलन गरिएको जनाएको छ तर कोरोना भाइरसको तीव्रता पछिल्लो केही महिनामा बढी देखिएको छ । माथि उल्लेख गरिएका देशमा झैं कतै नेपालमा अहिले रहेको कोरोना भाइरसको जिन बदलिएर फैलने गतिमा तीव्रता आएको त होइन ? यसबारे अध्ययन हुनुपर्छ ।

युरोप तथा अमेरिकामा देखिएको भन्दा फरक जिनको भाइरस नेपालमा नहोला भन्न सकिँदैन किनभने नेपालमा महिनौंदेखि कोरोना भाइरस प्रसारण भइरहेको छ । समय अन्तरालमा भाइरसको जिनमा प्राकृतिक रूपमै परिवर्तन भइरहेको हुन्छ । जिनमा परिवर्तन हुँदै जाँदा संक्रमण दर बढ्न गई कोरोनाको दोस्रो लहरको सम्भावना नकार्न सकिँदैन । तसर्थ भाइरस ‘सिक्वेन्सिङ’लाई समय–अन्तरालमा निरन्तरता दिन सके संक्रमणको उतारचढाव, प्रसारणको क्षमता र हुन सक्ने मानवीय क्षतिको अनुमान गर्न सहज हुनेछ ।

कोरोना भाइरसको दोस्रो लहर नेपालमा आउँछ/आउँदैन भनेर अहिले नै ठोकुवा गर्न त सकिँदैन । तर एकबाट अर्को ठाउँसम्मको सहज पहुँच, जनस्वास्थ्य मापदण्डको बेवास्ता र भाइरसमा हुने जिन परिवर्तनका कारण अर्को लहर नआउला भन्न सकिने अवस्था पनि छैन ।

(पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : मंसिर २१, २०७७ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×