२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप नेपाललाई उपयोगी

ओम कुर्मी

बेलायतस्थित मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका फर्मास्युटिकल कम्पनीले बनाएको कोभिड–१९ खोप १८ वर्ष वा त्यसभन्दा बढी उमेरका व्यक्तिलाई दिन बुधबार मन्जुरी दिएको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप नेपाललाई उपयोगी

यो खोपमा एनआईएचआर, वेलकम ट्रस्टलगायतले लगानी गरेका हुन् । एक साताअघि बेलायतले फाइजर कम्पनीको खोपलाई पनि अनुमति दिएको थियो । एमएचआरएकी कार्यकारी प्रमुख डा. जुन रैनेले खोपलाई स्वीकृति प्रदान गरिएकोमा खुसी व्यक्त गर्नुका साथै उपलब्ध डेटाहरूको गहन मूल्यांकनपछि मात्र खोप आपूर्तिका लागि अनुमोदन गरिएको बताइन् । मानिसहरूले कुनै आशंका नराखी यो खोप लगाउन सक्ने भन्दै उनले विश्वास दिलाएकी छन् ।

यो खोप दुई डोजमा दिइन्छ । पहिलो खोप लगाएको ४ देखि १२ सातामा दोस्रो डोज दिनुपर्छ । एमएचआरएले पहिलो डोज लिएका व्यक्तिहरूलाई दोस्रो डोज पनि लिन अनुरोध गरेको छ । यो खोप भण्डारण र परिवहन गर्दा २ देखि ८ डिग्री सेल्सियसको तापक्रम चाहिन्छ जुन नेपालजस्ता कम विकसित देशहरूमा पनि उपलब्ध छ । यो तापक्रममा खोप नखोलीकन ६ महिनासम्म राख्न सकिन्छ । मल्टिडोज भएको खोपको सिसी छ भने त्यसलाई खोलेपछि लगाउने क्रममा २ देखि २५ डिग्री सेन्टिग्रेड तापक्रममा राख्न सकिन्छ । तर सिसी खोलेको ६ घण्टाभित्र लगाइसक्नुपर्छ ।

पहिलो डोज दिएको दुई सातापछि यो खोपले काम गर्न थाल्ने विश्वास गरिएको छ । दोस्रो डोज लगाएपछि लामो समय कोभिड–१९ बाट सुरक्षित रहन मद्दत गर्छ । तर, दोस्रो डोज लिएका व्यक्तिहरूमा कति वर्षसम्म यसले सुरक्षा प्रदान गर्छ भनेर अहिले नै यकिनसाथ भन्न सकिन्न । एक वर्षपछि खोपको पुन: मूल्यांकन गर्ने प्रस्ताव गरिएको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले एमएचआरएलाई सेप्टेम्बर २०२० देखि नै विभिन्न चरणमा डेटाहरू उपलब्ध गराउँदै आएका थिए । अहिलेको स्वीकृति बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका २३ हजार ७ सय ४५ जनामा डेटाको अन्तरिम विश्लेषणपछि प्रदान गरिएको हो । यिनमा ९०.३ प्रतिशत व्यक्ति १८ देखि ६४ वर्ष उमेर–समूहका थिए भने ९.७ प्रतिशत व्यक्ति ६४ वर्षभन्दा माथिका । त्यस्तै ७५.५ प्रतिशत व्यक्ति गोरा, १०.१ प्रतिशत अश्वेत जातिका र ३.५ प्रतिशत एसियाली थिए । ५५.८ प्रतिशत महिला र ४४.२ प्रतिशत पुरुष रहेका थिए ।

खोपका प्रतिकूल प्रतिक्रियाहरूमा इन्जेक्सन साइटहरूमा टेन्डरनेस (संवेदनशील, पीडादायक) ६० प्रतिशत, लगाएको ठाउँमा दुखाइ, टाउको दुख्ने र थकान ५० प्रतिशत, मांसपेशी दुखाइ ४० प्रतिशत, हल्का ज्वरो ३० प्रतिशत र हाडजोर्नी दुख्ने अनि बान्ता हुने समस्या २० प्रतिशतमा देखिएको थियो । अधिकांश प्रतिक्रिया हल्कादेखि मध्यम खालका थिए । खोप दिइएको केही दिनमै सन्चो भएको पाइएको थियो ।

६५ वर्ष वा त्यसभन्दा बढी उमेर–समूहमा प्रतिकूल प्रतिक्रियाहरू धेरै हल्का खालका थिए । परीक्षणकालमा भाग लिएका २ हजार ७० (३५.६५ प्रतिशत) व्यक्तिहरूमा पहिल्यैदेखि कम्तीमा एउटा रोग (मुटुरोग, श्वासप्रश्वाससम्बन्धी, मधुमेहलगायत) थियो । यसबाट के थाहा हुन्छ भने यो खोप पहिल्यैदेखि रोग लागेका बिरामीलाई पनि दिन अनुकूल छ ।

खोप परीक्षणमा भाग लिएका मानिसहरूलाई पहिलो डोज दिएको औसतमा १३२ दिन र दोस्रो डोज दिएको ६३ दिनसम्म निरीक्षण गरिएको थियो । त्यस कारण खोप लिएका मानिसहरूमा यसको असर कति समय रहन्छ भनेर यकिन गर्न सकिने यथेष्ट प्रमाण छैन ।

यो खोप प्रत्येक डोजमा मांसपेशीमार्फत ०.५ मिलिलिटर दिन भनिएको छ । ६५ वर्ष वा त्यसभन्दा बढी उमेरसमूहमा यसको प्रभावकारिता र सुरक्षासम्बन्धी डेटा कम भएकाले यसको अध्ययन अझै जारी छ । त्यस्तै १८ वर्षमुनिका व्यक्ति, गर्भवतीहरूमा यसको प्रभावकारिता र सुरक्षासम्बन्धमा यथेष्ट प्रमाण छैनन् ।

यो खोप हाल आएको नयाँ भेरिएन्ट (भीयूआई–२०२०१२/०१) मा पनि काम गर्छ भन्ने कुरामा वैज्ञानिकहरू विश्वस्त छन् । बेलायतमा यो खोप सन् २०२१ जनवरी ४ देखि दिने भनिएको छ । भारतमा पनि सेरम इन्स्टिच्युटले यो खोप बनाइरहेको छ । त्यहाँ यही साता यो खोपको आपत्कालीन अनुमोदन हुने अनुमान गरिएको छ ।

विश्वका धेरैजसो विकसित देशले धेरैभन्दा धेरै खोप आफ्नो देशका नागरिकका लागि मात्र सुरक्षित गर्ने होडबाजी गरिरहेका छन् । यस्तो बेला विश्व स्वास्थ्य संगठनजस्ता निकायहरूले विकासशील वा गरिब देशहरूको पक्षमा बोल्न र ती देशले पनि एकजुट भएर आवाज उठाउन जरुरी देखिएको छ । अक्सफोर्ड र एस्ट्रेजेनेकाले यो खोपलाई नाफारहित र उदार वैश्विक पहुँचलाई केन्द्रविन्दुमा राखेर सबैमा पुर्‍याउने निर्णय गरेका छन् । उनीहरूको यो कदम स्वागतयोग्य छ ।

(लेखक बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा इपिडिमियोलजी तथा हेल्थ केयर रिसर्च विषयका एसोसिएट प्रोफेसर हुन्)

प्रकाशित : पुस १६, २०७७ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?