कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बहुउपयोगी युरिले झार

परम्परागत औषधि विज्ञान हिट, ट्रायल र सफलतामा आधारित छ । आधुनिक औषधि विज्ञान प्रमाणमा । तर वर्तमान समयमा भइरहेका वैज्ञानिक अध्ययनहरुले परम्परागत र आधुनिक ज्ञानबीच अन्योन्याश्रित सम्बन्ध रहेको पुष्टि गर्छ।

बहुउपयोगी युरिले झार

आधुनिक विज्ञानमा आधारित भएर परम्परागत अनुभवलाई अझै परिस्कृत गर्ने अभियान नै चलेको देखिन्छ । विशेषगरी पश्चिमा देशहरुमा प्रकृतसँगै अगाडि बढ्ने चलन बढेको देख्न पाइन्छ ।

वनस्पति जगतमा हाइपेरिकम जापोनिकम 'युरिले झार' नेपाली माटोमा पाइने बहुउपयोगी वनस्पतिहरुमध्ये एक हो । यो विभिन्न रोगहरु निवारणको लागि प्रयोग हुँदै आएको महत्त्वपूर्ण वनस्पतिभित्र पर्छ । परम्परागत रुपमा विभिन्न रोगहरुका लागि गाउँघरमा प्रयोग हुँदै आएको छ । यसलाई कतिपयले 'बोक्सी झार' पनि भन्ने गर्छन् ।

नेपामा विभिन्न जातका हाईपेरिकमहरु पाइन्छन् । तीमध्ये 'हाईपेरिकम जापोनिकम' एक बहुआयामिक वनस्पति हो । यो वनस्पति फूल फुल्ने बिरुवा अन्तर्गत पर्छ । यो अक्टोबर र मार्चमा फुल्छ । २–५ सेन्टिमिटर अग्लो हुने हाइपेरिकमका विश्वमा ५ सय प्रजाति पाइन्छन् । यो नेपाललगायत दक्षिण एसिया, ओसेनिया, अमेरिकामा पनि पाइन्छ । १५०देखि २६ सय मिटर उचाइमा पाइने यो वनस्पति प्रायः खेतबारी तथा चरण क्षेत्रहरुमा प्रसस्त मात्रामा हुन्छन् ।

विगतमा अध्ययन राम्रोसँग नभए पनि हालैका दिनहरुमा यो वनस्पतिको विस्तृत अध्ययन भएको पाइन्छ । परम्परागत वनस्पतिको रुपमा पनि यो विशिष्ट छ । पहिलेदेखि नै यो वनस्पति विभिन्न औषधिको रुपमा प्रयोग गरिँदै आएको छ । ब्याक्टेरियल तथा भाइरल इन्फेक्सन, क्यान्सर, चिनी रोग, विभिन्न प्रकारका रोगहरुमा प्रयोग भइरहेको पाइन्छ । परम्परागत चिनियाँ औषधिको रुपमा पनि यो वनस्पतिको प्रयोग भएको पाइन्छ । ज्वरो नियन्त्रण गर्न, यौन विफलतामा, घाउ लाग्दा, रगत जम्नको लागि सघाउन यसले मद्दत गर्छ ।

मध्य नेपालमा यसको जुस दम रोगको लागि, आउँ हुँदा, एक्युट हिपाटाइटिस, पेट दुख्दा तथा अपचमा प्रयोग हुँदै आएको छ । यसको जराको रस ज्वरो आउँदा काभ्रेपलान्चोकका तामाङ जातिले प्रयोग गर्छन् । हेलम्बुका शेर्पाहरुले पूरै वनस्पतिको रस जीउ दुख्दा प्रयोग गर्छन् । वनस्पतिको रस जीउमा पनि लगाउँछन् भने हरेक दुखाइ तथा सुन्निएको ठाउँमा हल्का मालिस गरेमा सन्चो हुन्छ ।

कास्कीतिर यो वनस्पति विशेष गरेर अपच हुँदा प्रयोग हुने गरेको पाइएको छ । जराको रस नाक तथा टाउको दुखेमा पनि लगाइने गरिएको छ । सर्पदंशमा यसको प्रयोग भएको पाइएको छ । अदुवा तथा नुनसँग यो वनस्पतिलाई मिसाएर खाएमा मलेरिया ठिक हुने विश्वास पनि केही मानिसहरुको छ ।

युरोपमा पाईने हाईपेरिकम परफोराटम जातिको वनस्पतिले हल्कादेखि मध्यम खाले डिप्रेसनका लागि प्रयोग गरेको पाइन्छ । तर एसियामा भने यस खालको रोगको लागि उपराचात्मक रुपमा प्रयोग भएको पाइँदैन ।

हालैका दिनहरुमा नेपालमा पाइने यो जातको हाईपेरिकमा विस्तृत अध्ययन गरिएको वैज्ञानिक जर्नलमा प्रकाशित भएका छन् । यसको अध्ययन नेपालस्थित वनस्पतिशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय र इटालीस्थित पाडोभा विश्वविद्यालय, डिपार्टमेन्ट अफ फार्मास्युटिकल र फार्माकोलोजिकल साइन्सका वैज्ञानिकहरुको संयुक्त अध्ययन टोलीले गरेको हो ।

उनीहरुका अध्ययन अनुसार 'फ्लोरोगुल्सिनोल' भन्ने रसायन प्रसस्त मात्रामा यो वनस्पतिमा पाइएको छ । यो बहुआयामिक कम्पाउन्ड हो । पित्त थैलीमा हुने ढुंगा हटाउनको लागि यो उपयुक्त कम्पाउण्ड हो । यसबाट प्रसूति अवस्थामा हुने पीडालाई कम गर्छ भने पेट दुख्दा ज्यादै उपयुक्त हुन्छ । प्रसव पीडा तथा पाठेघरको क्यानसर हुँदा हुने पीडा कम गर्नको लागि यो कम्पाउन्ड उपयुक्त हुन्छ ।

फ्लाभोनाइडहरु मध्येमा यो वनस्पतिमा हाइपेरो साइड कम्पाउन्डहरु पाइनुका साथ साथै करसेटिन, रुटिन, क्यामफेरोल जस्ता महत्त्वपूर्ण कम्पाउण्डहरु भएको पत्ता लागेको छ । रुटिन एउटा महत्त्वपूर्ण एन्टिअक्सिडेन्ट हो । यसले रक्तसञ्चार प्रणालीलाई राम्रो मद्दत गर्छ । रक्त नलीको मजबुतिको लागि यसको महत्त्वूर्ण भूमिका रहन्छ । पाइल्स हुँदा यो कम्पाउन्डले रक्त नलीहरु मजबुद गर्नका लागि विशेष भूमिका खेल्दछ । यसले रगतलाई जम्न दिदैन त्यसकारण मुटु सम्बन्धी रोगहरुमा पनि यो कम्पाउन्ड उपयुक्त हुन्छ । यसले एलडिएल कोलेस्टेरोल घटाउनको लागि महत्त्वपूर्ण भूमिका पनि खेल्दछ । बाथरोगमा हुने पीडालाई कम गर्छ ।

'करसेटिन' पनि एक प्रकारको एन्टिअक्सिडेन्ट हो । शरीरमा हुने चोटपटकलाई यसले कम गर्ने काम गर्छ । क्यानसर प्रतिरोधी क्षमता हुने कारण यसले क्यान्सर जस्ता भयानक रोगविरुद्ध पनि काम गर्छ । अल्जाइमर तथा पारकिन्सन रोगहरु हुन नदिन यो कम्पान्डले महत्त्वपूर्ण भूमिका खेल्छ । दमजस्ता रोगहरु विरुद्ध यो उपयुक्त छ । ब्लड प्रेसर घटाउने काम यसले गर्छ भने हर्ट अट्याकलाई रोक्ने पनि काम गर्छ ।

'क्यामफेरोल' पनि एक प्रकारको महत्त्वपूर्ण एन्टिअक्सिडेन्ट हो । यसले जीवको कोषिका, डीएनए र लिपिडहरुलाई क्षयीकरणबाट रोक्न मद्दत गर्छ । विभिन्न प्रकारका क्यान्सरहरुबाट बचाउन महत्त्वपूर्ण भुमिका खेल्दछ ।

फ्लोरोगुल्सिनोलहरुमा विशेषगरी सारोथ्लिन–ए,सी, डी,जी र त्यसैगरी सारोयस्पिडिन–ए र बी पाइएको छ । यसबाट कुमारिन, हेरिनियारिन, एन्डोस्थोल, जान्थोन तथा जास्मोनिक एसिडजस्ता महत्त्वपूर्ण कम्पाउन्डहरु पनि प्राप्त भएका छन् ।

हाइपेरिकम परफोराटममा पाइने 'हाईपरेसिन' र 'स्युडोहाईपरेसिन' जस्ता कम्पाउन्डहरुले नै डिप्रेसन जस्तो रोगविरुद्ध काम गर्छ । इटालीको सारदिना भन्ने ठाउँबाट संकलन गरिएको हाईपेरिकम स्क्रुग्लि जातिको वनस्पतिको पातमा रहेको फ्लोरोगुल्सिनोल भन्ने तत्वबाट एच आई भी–१ विरुद्ध सफल प्रयोग गरिएको छ ।

यो वनस्पति क्यानसरको लागि पनि उपयुक्त हुने देखिएको छ । मानिसमा हुने रक्त क्यान्सरको उपचारका लागि उपयुक्त हुने हुँदा यो वनस्पति साह्रै नै महत्त्वपूर्ण देखिएको उक्त अनुसन्धानले देखाएको छ । यसमा एन्टिइन्फ्लामेटोरी गुणहरु पनि रहेको छ ।

परम्परागत ज्ञानको जर्गेना गर्दै समाजलाई अगाडि बढाउनु पर्ने वर्तमान परिपेक्षमा यस प्रकारको अध्ययनले केही न केही मात्रामा देश विकासको लागि मद्दत पुग्नेछ । नेपाली वनस्पतिको उपयोगिता र सन्तुलित प्रयोगलाई व्यवस्थित गर्दै लैजान सकेमा देशको आर्थिक विकासलाई यी लगायतका वनस्पतिहरुले गतिलै टेवा प्रदान गर्ने छ भन्ने विश्वास गर्न सकिन्छ ।

(वनस्पतिशास्त्र केन्द्रिय विभाग, त्रिवि तथा इटालीस्थित पाडोभा विश्वविधालयको डिपार्टमेन्ट अफ फार्मास्युटिकल र फार्माकोलोजिकल साइन्स अन्तर्गत नेचुरल प्रडक्ट ल्याबमा अध्ययनरत श्रेष्ठ पीएचडी स्कलर हुन् ।)

प्रकाशित : पुस ४, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?