कोरोनाको दोस्रो लहर : नेपालमा कति सम्भव ?- विविधा - कान्तिपुर समाचार

कोरोनाको दोस्रो लहर : नेपालमा कति सम्भव ?

एकबाट अर्को ठाउँसम्मको सहज पहुँच, जनस्वास्थ्य मापदण्डको बेवास्ता र भाइरसमा हुने जिन परिवर्तनका कारण नेपालमा पनि कोरोनाको अर्को लहर नआउला भन्न सकिने अवस्था छैन ।
शेरबहादुर पुन

नेपालमा हालसम्म झन्डै दुई लाख मानिस कोरोना संक्रमणमा परेर निको भइसकेका छन् । थप हजारौं जना निको हुने क्रममा छन् । कोरोनाको लहर दोहोरिए पुनः संक्रमित भइने हो कि भन्ने चासो उनीहरूमा पाइन्छ ।

अनि यो चासो अहिलेसम्म संक्रमित नभएकाहरूको पनि हो । युरोप तथा अमेरिकामा कोरोनाको लहर फर्किरहँदा यहाँ पनि चासो–चिन्ता देखिनु अस्वाभाविक होइन । के नेपालमा कोरोनाको दोस्रो लहर निम्तेला त ?

कोरोनाको दोस्रो लहर के हो भनेर निश्चित वैज्ञानिक परिभाषा त छैन । तर संक्रमणको दर उत्कर्षमा पुगेर नगण्य संख्यामा झर्नु, नियन्त्रण हुनु र फेरि केहि समयको अन्तरालमा अत्यधिक संख्यामा देखिनुलाई यस्तो रूपमा बुझ्ने गरिएको छ । सन् १९१८ तिर देखिएको ‘स्पेनिस फ्लु’को नामले चिनिने भाइरसको दोस्रो लहरमा बढी मानिसको मृत्यु भएको तथ्य पाइन्छ । कोरोना र फ्लु दुई फरक भाइरस भए पनि कतै कोरोनाको लहर दोहोरिइरहने हो कि भन्ने भय विश्वमै देखिन्छ । थप मानवीय क्षति नहोस् भनेर खोपलाई मुख्य विकल्पका रूपमा लिइएको र कतिपय देशले द्रुत गतिमा यसको विकास गरिरहेका पनि छन् । कतिपय देशले त आपत्कालीन प्रयोगका लागि हाल उपलब्ध खोपहरू (कम्तीमा ट्रायलको तेस्रो चरण पार गरिसकेका) लाई स्वीकृति पनि दिइसकेका छन् । नेपालले पनि खोप ल्याउने हरसम्भव प्रयास सुरु गरिसकेको छ ।

दोस्रो लहरबारे अनुमान गर्नुअघि युरोप तथा अमेरिकामा किन, कसरी र कस्तो अवस्थामा कोरोनाको लहर दोहोरियो भनेर बुझ्न जरुरी हुन्छ । युरोपमा दोस्रो लहर विशेषतः स्पेनबाट फैलिएको अनुमानसहितको अनुसन्धानमूलक लेख प्रकाशित भएको छ । युरोपमा कोरोना संक्रमणको पहिलो लहर कम हुनेबित्तिकै स्पेनले आफ्नो देश पर्यटकका लागि खुला गरेको थियो भने मानिसको आवतजावत पनि सहज बनाएको थियो । न्युयोर्क टाइम्सका अनुसार जुलाई तथा अगस्ट महिनामा मात्र स्पेन प्रवेश गर्नेको संख्या लगभग चार मिलियन (४० लाख) जति थियो । उनीहरूलाई कोरोना परीक्षण तथा क्वारेन्टिन अनिवार्य गरिएको थिएन । बेल्जियमले पनि कोरोना परीक्षण तथा क्वारेन्टिनको व्यवस्था गरेको थिएन । स्पेन भ्रमण गरेका पर्यटकले आफ्नो देशमा समेत संक्रमण फैलाएका कारण कोरोनाको दोस्रो लहर युरोपमा फैलिएको भन्दै त्यहाँका अनुसन्धाताले जिनको विश्लेषण गरेका थिए । त्यस क्रममा जिनको बनावट नयाँ देखिएको थियो । यसलाई २०एईयू१ नाम दिइएको छ । यो नयाँ प्रकृतिको कोरोना भाइरस युरोपेली देशहरूमा दोस्रो लहर फैलाउने कारक मानिएको छ । बेलायत र स्विट्जरल्यान्डमा देखिएको दोस्रो लहरमा यो प्रकृतिको भाइरसको हिस्सा ८० र ५० प्रतिशतसम्म पाइएको थियो । संक्रमितको संख्या पहिलोभन्दा दोस्रो लहरमा बढी भएको तथ्यांक छ । नेचर जर्नलमा प्रकाशित लेखअनुसार केही समयअगाडि मात्र डेनमार्कको कृषि फार्ममा ‘क्लस्टर ५’ नाम दिइएको मिंक (जनावर) मार्फत झन्डै ३ सय कृषकमा फैलिएको कोरोना भाइरसले संक्रमण बढाएको थियो । यसले विश्वमै तरंग ल्याइदिएको थियो । यसको मुख्य चिन्ता भनेको मानिसबाट मानिसमा सर्न सक्ने सम्भावना र हाल विकास भइरहेको खोपका लागि दिन सक्ने चुनौती थियो । यद्यपि यो अनुसन्धानको पाटो रहेको छ । मिंक पालन गर्ने अरू देशमा समेत ‘क्लस्टर ५’ म्युटेसनको कोरोना देखिएको भनिए पनि ती देशमा यो भाइरसका कारण कृषक र अन्य मानिस संक्रमित भए/भएनन् भन्ने अहिलेसम्म यकिन छैन ।

अमेरिका, टेक्सासको ह्युस्टन महानगरपालिकामा कोरोना भाइरसका दुई लहर देखिएपछि त्यसको कारण खोज्न अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धान अमेरिकी सोसाइटी फर माइक्रोबायोलोजीको ‘एमबायो’ जर्नलमा प्रकाशित भएको थियो । त्यहाँ मार्च पहिलो सातातिर कोरोना संक्रमण देखिन सुरु भई अप्रिलको मध्यतिर उत्कर्षमा पुगी मेको मध्यतिर पहिलो लहर सकिएको थियो । तर लगत्तै दोस्रो लहर देखिएको थियो । उक्त अनुसन्धानले ‘स्पाइक प्रोटिन’ मा देखिएको म्युटेसन (जसलाई डी६१४जी भनेर चिनिन्छ) पहिलोमा भन्दा दोस्रो लहरमा बढी र व्यापक रहेको देखाएको थियो । दोस्रो लहरमा युवा उमेरका र खासै दीर्घरोग नभएकाहरू बढी संक्रमित भएका थिए । यो अनुसन्धानलाई सरसर्ती हेर्दा दोस्रो लहर तीव्र र छोटो अवधिमा फैलनुको कारणमा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ देखिन्छ ।

हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा देखिँदै आएको कोरोना भाइरसको नमुनाको जिन ‘सिक्वेन्सिङ’ गरिएको जनाएको छ । नमुनाहरू फरक ठाउँ, लिंग, उमेर र समूहबाट लिइएको भनिएको छ । नेपालमा देखिएको कोरोना भाइरस भारत र साउदी अरबमा देखिएको कोरोनासँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालिएको छ । नेपालीहरूको आवतजावत पनि यिनै देशमा हुने हुँदा यो स्वाभाविक नै देखिन्छ । तर यी दुईमध्ये कुनचाहिँ भाइरसको कारणले संक्रमितको मृत्यु भयो वा भइरहेको छ भनेर सार्वजनिक गरिएको छैन ।

परिषद्ले असार महिनामा नमुना संकलन गरिएको जनाएको छ तर कोरोना भाइरसको तीव्रता पछिल्लो केही महिनामा बढी देखिएको छ । माथि उल्लेख गरिएका देशमा झैं कतै नेपालमा अहिले रहेको कोरोना भाइरसको जिन बदलिएर फैलने गतिमा तीव्रता आएको त होइन ? यसबारे अध्ययन हुनुपर्छ ।

युरोप तथा अमेरिकामा देखिएको भन्दा फरक जिनको भाइरस नेपालमा नहोला भन्न सकिँदैन किनभने नेपालमा महिनौंदेखि कोरोना भाइरस प्रसारण भइरहेको छ । समय अन्तरालमा भाइरसको जिनमा प्राकृतिक रूपमै परिवर्तन भइरहेको हुन्छ । जिनमा परिवर्तन हुँदै जाँदा संक्रमण दर बढ्न गई कोरोनाको दोस्रो लहरको सम्भावना नकार्न सकिँदैन । तसर्थ भाइरस ‘सिक्वेन्सिङ’लाई समय–अन्तरालमा निरन्तरता दिन सके संक्रमणको उतारचढाव, प्रसारणको क्षमता र हुन सक्ने मानवीय क्षतिको अनुमान गर्न सहज हुनेछ ।

कोरोना भाइरसको दोस्रो लहर नेपालमा आउँछ/आउँदैन भनेर अहिले नै ठोकुवा गर्न त सकिँदैन । तर एकबाट अर्को ठाउँसम्मको सहज पहुँच, जनस्वास्थ्य मापदण्डको बेवास्ता र भाइरसमा हुने जिन परिवर्तनका कारण अर्को लहर नआउला भन्न सकिने अवस्था पनि छैन ।

(पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : मंसिर २१, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्

निमोनिया भ्याक्सिन : कोभिड–१९ महामारीमा ‘गेम चेन्जर’ हुन सक्ला ?

न्युमोकोकल निमोनियाविरुद्धको खोप नेपालमा सहजै उपलब्ध भएकाले जोखिम समूहमा पर्ने ज्येष्ठ नागरिक तथा दीर्घरोग भएकाहरूलाई दिन सके निमोनियाबाट हुने जटिलता र मानवीय क्षति धेरै हदसम्म कम गर्न सकिनेछ ।
शेरबहादुर पुन

‘आज कोभिड–१९ बाट यति संख्यामा बिरामीको मृत्यु भयो ।’ अचेल यस्तै समाचारले मानिसको ध्यान तानिरहेका छन् । मृतकको संख्या घटबढ हुनुसँग मानिसहरूको त्राससँगै अब के होला भन्ने जिज्ञासा पनि जोडिएको पाइन्छ । यो लेखकको ध्यान भने यस्ता मृत्युको शृंखलालाई ‘ब्रेक’ लगाउन के गर्न सकिएला भन्नेमा छ ।

यस्तै कुरा मनमा खेलाउँदै कोभिड–१९ मा मृत्युको कारण खोज्दै जाँदा अधिकांशमा निमोनिया भएको तथ्यांक देखियो । निमोनियाविरुद्धको भ्याक्सिन त सर्वसुलभ नै छ । यस तथ्यले मेरो जिज्ञासा निमोनिया भ्याक्सिनतिर मोडिदियो । त्यसो भए के कोभिड–१९ ले हुने मृत्युको शृंखलालाई मत्थर गर्न निमोनिया भ्याक्सिन गेम चेन्जर हुन सक्ला ?

निमोनिया हुनुका कारणमा भाइरस, ढुसी (फनगाई), ब्याक्टेरियाजस्ता संक्रमण मुख्य मानिन्छ । खोकी लाग्नु, काम ज्वरो (उच्च) आउनु, पसिना आउनु, श्वासप्रश्वास छिटोछिटो हुनु र अवरोध देखिनु, मुटुको धड्कन तीव्र हुनु, सास तान्दा छाती दुख्नु, खान मन नहुनु, थकान महसुस हुनु निमोनियाका संकेत हुन् ।

भाइरल इन्फेक्सन हुँदा ‘सेकन्डरी ब्याक्टेरियल इन्फेक्सन’ हुने सम्भावना बढेर जान्छ । वास्तवमा, अनुसन्धानहरूले भाइरल इन्फेक्सनमा ‘सेकन्डरी ब्याक्टेरियल’ कारण अत्यधिक बिरामीको मृत्यु गरेको देखाएका छन् । यस्तो अवस्था आउला भनेर चिकित्सक बढी सतर्क हुने गर्छन् । यसको मुख्य कारण भनेको भाइरल इन्फेक्सनमा ‘एन्टिबायोटिक’ भूमिका नहुने र सेकन्डरी ब्याक्टेरियल इन्फेक्सन भइसकेको अनुमान गर्न ‘क्लिनिकल्ली’ गाह्रो हुनु हो । सामान्यतया ब्याक्टेरियल इन्फेक्सन हुँदा ज्वरो भाइरलमा भन्दा निरन्तर बढ्दै र लम्बिँदै जाने गर्छ ।

बिरामीको अस्पताल बसाइ वा लक्षण जति–जति लम्बिन्छ, त्यति नै सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सनको जोखिम बढ्दै जान्छ । श्वासप्रश्वाससम्बन्धी भाइरस फ्लुमा अधिकांशको मृत्यु पनि सेकन्डरी ब्याक्टेरियल इन्फेक्सनको कारणले हुने गरेको अनुसन्धानले देखाउँछ । त्यस्तै फ्लु लागेका झन्डै ७५ प्रतिशतसम्म बिरामीमा निमोनिया हुनुको प्रमुख कारण सेकन्डरी ब्याकटेरियल इन्फेक्सन पाइएको छ । यसमा विशेष गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र वृद्ध समूह पर्छन् ।

सन् २००९ मा देखिएको स्वाइन फ्लुको महामारीमा पनि सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सनका कारण ५५ प्रतिशतसम्म संक्रमितको मृत्यु भएको अनुसन्धानले देखाएका छन् । सन् १९१८ को स्पेनिस फ्लुमा ९० प्रतिशत संक्रमितको मृत्यु पनि यसै इन्फेक्सनका कारणले भएको अनुसन्धाताको भनाइ छ । निमोनिया संक्रमण समुदाय, अस्पताल र त्यस्तै भेन्टिलेटरमा उपचाररत हुँदा पनि हुन सक्छ । फ्लु भाइरस र कोरोना भाइरस दुवै श्वासप्रश्वाससम्बन्धी रोग रहेका र फ्लुसम्बन्धी प्रशस्त अनुसन्धानहरू भइसकेकाले यहाँ उदाहरणका रूपमा चर्चा गरिएको हो । फ्लु भाइरसको महामारीमा सेकन्डरी ब्याक्टेरियल इन्फेक्सन गराउनुमा मुख्यतया न्युमोकोकल निमोनिया, एच इन्फ्लुएन्जा र एस औरियास ब्याक्टेरियाहरू मुख्य पाइएका छन् ।

कोरोना भाइरसमा अधिकांशको मृत्यु निमोनियाले भइरहे पनि कुन ब्याक्टेरिया बढी जिम्मेवार छ भन्नेमा प्रशस्त अध्ययनहरू भएको पाइँदैन । यसको सिधा सम्बन्ध औषधि र उपलब्ध खोपसँग हुन आउँछ । अधिकांश कोरोना संक्रमितमा ब्याक्टेरियाको पहिचान गर्न सके उपयुक्त एन्टिबायोटिक र उपलब्ध खोपको प्रभावकारिता अनुमान गर्न सकिन्छ । यसको जानकारी सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सनबाट हुन सक्ने मृत्युदर रोक्न र मत्थर गर्न महत्त्वपूर्ण हुने थियो । हालै ‘भाइरस रिसर्च’ जर्नलमा कोभिड–१९ संक्रमितमा देखिएको को–इन्फेक्सनबारे अनुसन्धान लेख प्रकाशित भएको छ । चीनमा गरिएको उक्त अनुसन्धानमा कोरोना पुष्टि भएकाहरूमा झन्डै ३९ संक्रमणहरूको खोजी गरिएको थियो जसमा चौबिस प्रकारका संक्रमण कोभिड–१९ का बिरामीमा देखिएको थियो । कोभिड–१९ का बिरामीमा सबैभन्दा बढी ‘न्युमोकोकल निमोनिया’ ब्याक्टेरियाको–इन्फेक्सन पाइएको थियो ।

‘न्युमोकोकल निमोनिया’ विरुद्धको खोप बजारमा सर्वसुलभ छ । झन्डै ९० प्रजातिको न्युमोकोकल संक्रमण पत्ता लागेकामा हाल यसका सबैभन्दा कडा मानिने १३ तथा २३ प्रजातिका निमोनियाविरुद्धका खोप उपलब्ध छन् । यसलाई पीसीभी–१३ र पीपीएसभी–२३ भनिन्छ । यी खोप न्युमोकोकल निमोनियाविरुद्ध प्रभावकारी मानिँदै आएका छन् ।

नेपालमा न्युमोकोकल निमोनियाविरुद्धको खोप सन् २०१५ देखि बालबालिकाहरूलाई (राष्ट्रिय बालखोप कार्यक्रमअन्तर्गत) दिन सुरु गरिएको छ । अर्थात् ५ वर्ष माथिकाहरूले यो खोप लिएका छैनन् भनेर बुझ्न सकिन्छ । यसको अर्थ नेपालीहरू निमोनिया गराउने मुख्य ब्याक्टेरिया न्युमोकोकलको उच्च जोखिममा छन् भनेर पनि बुझ्न सकिन्छ । वास्तवमा नेपालमा हरेक वर्ष सयौं मानिसको ज्यान निमोनियाले लिने गरेको तथ्यांक भए पनि ती सबैको यकिन कारण थाहा हुँदैन । सीमित अनुसन्धानले निमोनिया संक्रमण हुनुमा न्युमोकोकल ब्याक्टेरिया प्रमुख कारक भएको देखाएका छन् । यसबाट नेपालमा पनि न्युमोकोकल ब्याक्टेरिया व्यापक भएको हुनुपर्छ ।

संक्रमणले बालबालिका र वृद्धवृद्धालाई सबैभन्दा बढी प्रभाव पार्छ । केही दिनअगाडि कोभिड–१९ ले मृत्यु भएका एक वृद्धको उमेर ८८ वर्ष थियो । मृत्युको निमोनिया थियो । केही दिनयता नेपालमा कोभिड–१९ ले बिरामी र मृत्यु हुनेमा वृद्धहरूको संख्या ह्वात्तै बढेको देखिन्छ । निमोनिया यसको मुख्य कारण देखिएको छ । न्युमोकोकल निमोनियाविरुद्धको खोप नेपालमा सहजै उपलब्ध भएकाले जोखिम समूहमा पर्ने ज्येष्ठ नागरिक तथा दीर्घरोग भएकाहरूलाई दिन सके निमोनियाबाट हुने जटिलता र मानवीय क्षति धेरै हदसम्म सीमित गर्न सकिनेछ । कोरोनाको लहर कतिपटक आउने र कहिलेसम्म भन्ने ठोकुवा गर्न सकिँदैन । यस्तोमा यसको प्रभाव पनि घरैपिच्छे देखिँदै जाँदा निमोनियाविरुद्धको खोप वरदान साबित हुन सक्छ ।

(पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : मंसिर १, २०७७ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×