२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाली महिलाको राजनीति के भयो ?

राजनीतिमा जीवन अर्पण गरेर किताबदेखि हतियारसम्म अनि संस्मरणहरु पनि बोकेका महिलाहरु बिस्तारै सीमान्त बन्दै गएका त होइनन् ?
अभि सुवेदी

नेपाली महिलाको राजनीति अहिले के भयो भन्ने प्रश्न साधारणजस्तो प्रतीत भए पनि लाग्छ, जटिल बन्दै गएको छ । जहाँ राजनीतिको कलेबर लाउके पुरुषहरूका कुण्ठा र महत्त्वाकांक्षाले स्तर नपुगेको आधुनिक चित्रकलाजस्तो दुरूह बन्दै गएको छ, त्यहाँ यो प्रश्न मनमा उठ्नु स्वाभाविक हो ।

नेपाली महिलाको राजनीति के भयो ?

म राजनीतिक विश्लेषक नभएको हुनाले केही लक्षणा, केही रङ्गमञ्चीय चरित्रहरू, एकाध स्तर नपुगेका अभिनयहरू, केही महत्त्वपूर्ण राजनीतिक महिलाहरूसँगका फोन वार्ताहरू, अनि अध्ययनहरूका आधार राखेर आफ्ना विचारहरू बनाउँछु ।

राजनीतिमा संलग्न सक्रिय राजनीति गर्ने महिलाका लेखहरूमा पनि यो चिन्ताका छलफल पढ्न पाइँदैन । तर, महिला र अधिकार विषयमा लेखहरू आउँछन् र तिनमाथि विश्वविद्यालयमा शोधप्रबन्धहरू पनि लेखिन्छन् । जस्तो कि एकेडेमिक र कवि सरिता तिवारीको नारीवादी चिन्तन, यसमाथिका बहस र नेपालमा त्यसको प्रयोग विषयमाथि लेखिएको एउटा अर्को बलियो लेख ‘वारि नारीवाद पारि नारीमुक्ति’ भर्खरै ‘कान्तिपुर’ मा प्रकाशित भएको छ (मंसिर ९, २०७७) । यो एउटा उदाहरण हो । अरू पनि लेखिँदै आएका छन् ।

मैले छलफल गरिबस्ने राजनीतिज्ञ विद्वान् हिसिला यमी हुन् । उनका लेखहरू पढ्छु । भर्खरै मेरो विचारका निम्ति पठाएको एउटा मस्यौदा लेखमा हिसिला यमीले आफू बहुलभाषी भएर त्योसँग जोडिएका समस्याहरूको विषयमा लेखेकी छन् । उनको माओवादीकालको जीवन र त्यसपछि उनलाई राजनीतिले कहाँ लाँदै छ भन्ने विषयमा उनले लेखेको त्यति पढ्न पाएको छैन । यमीको एउटा संस्मरण दिल्लीको पेंग्विनबाट प्रकाशित हुने भएको छ । त्यसमा उनका राजनीतिक संस्मरणहरू छन् । त्यसको प्रकाशन केही कारणले ढिलो भएको छ ।

त्यस्तै माओवादी युद्धमा लडेकी सीता विकको संस्मरणको छोटो भूमिकामा मैले मंसिर २०७६ मा यस्तो लेखेको छु, ‘युद्धभित्रका संस्मरण’ शीर्षक र ‘सीता विक सम्झना’ उपशीर्षक भएको प्रकाशन हुन लागेको किताबको प्रेसप्रति मलाई मण्डला बुक प्वाइन्टमा दिन आउने व्यक्ति उनै लेखक सीता विक थिइन्, जसका सम्झनाको पहिले निस्केको किताब विषयमा मैले अनेकौं अवसरमा चर्चा गरेको थिएँ । त्यसको विद्यार्थीहरूलाई अनुसन्धानमा प्रयोग गर्न लगाएको थिएँ र त्यो नेपाली साहित्यका विदेशी अध्येताहरूलाई उपलब्ध गराएको थिएँ । राम्ररी संशोधन गरिएको र अझ स्तरीय बनाएको यो संस्करण फेरि पढ्दा मैले केही महत्त्वपूर्ण कुराहरू बुझेको अनुभव भएको छ ।’ अहिले प्रकाशित भैसकेको होला ।

संविधानमा प्रस्ट उल्लेख भएको छ, संसद्को उप–सभामुख महिला हुनुपर्छ, जुन त्यही कारणले खाली छ । शिवमाया तुम्बाहाम्फेले मानसिक र भावनात्मक तनावमा त्यो पद छोडेकी थिइन् । उनले एउटा उद्घोष गरेर छोडेकी थिइन्, जसको प्रशंसामा मैले लेखेको थिएँ, ‘शिवमायाले भनिन्– संवैधानिक पदमा रहने व्यक्तिमा स्वतन्त्र रहने साहस हुनुपर्छ । उनको लडाइँ त्यही थियो । सभामुख प्रचण्डका मानिस हुन्छन् वा ओलीका त्यसमा शिवमायाको केही आग्रह थिएन । उनले संविधानसम्मत धैर्य गर अनि आफू निर्णय गरेर आओ भनेकी थिइन् । संवैधानिक स्थानमा रहने व्यक्ति स्वतन्त्र रहनुपर्छ भन्ने उनको आह्वान त्यस्तो नरहनेका निम्ति अबदेखि चुनौती भएको छ । त्यही आचरण भत्किँदै गएको देखेकी डा. शिवमायाको यो सन्देश एउटा घटना हो, लोकतन्त्रको’ (कान्तिपुर ११ माघ २०७६) ।

सोझै भन्दा, संघीय गणतन्त्रात्मक संविधान, दलहरूका नियम र आचार, संसद्का नियमित कर्महरू, नियुक्ति अनि महिला समावेशी विषयबिना कुनै संकोच भत्किँदै गएका छन् । मलाई लाग्न थालेको छ, राजनीतिमा जीवन अर्पण गरेर किताबदेखि हतियारसम्म अनि संस्मरणहरू पनि बोकेका महिलाहरू बिस्तारै सीमान्त बन्दै गएका त होइनन् ? अदृश्य बनाइँदै गएका त होइनन् ? हेजिमोनीबाट बन्दै गएको यो एक डरलाग्दो राजनीतिक पश्चगामी चिन्तनको परिणाम होइन भन्न सकिँदैन ।

पार्थ चटर्जीले मेरा पूर्वविद्यार्थी र मित्रहरूले भर्चुअलदानीमा आयोजना गरेको सेमिनारबारे लेख्दा मैले एउटा निष्कर्षमा लेखेको थिएँ, ‘भारतमा जस्तो सीधै अमूक वर्ग सम्प्रदायका मानिसलाई त्यो हेजिमोनीबाट बाहिर राखेजस्तो नदेखिए पनि नेपालमा दलित र महिलालाई संविधानविपरीत गएर भयानक विभेद गरिँदै आएको देखिनु गम्भीर विषय हो । भोलिको पोपुलिस्ट आन्दोलन कस्तो हुन्छ आकलन गर्न सकिँदैन । यो विस्तृत छलफलको विषय हो’ (कान्तिपुर २० भदौ २०७७) ।

तर चर्चा र छलफलमा लामो समयदेखि राजनीतिमा संघर्ष गरेर आएका महिलाका नामहरू उल्लेख गरिँदैनन् । माओवादीहरूका पुरुष ‘ब्रभाडो’ अहं प्रदर्शनहरूमा हिसिला यमीको नाम कहीँ पनि आउँदैन, पम्फा भुसालको नाम आउँदैन । कांग्रेसका जुँगाका लडाइँमा विद्वान् पुष्पा भुसालको नाम आउँदैन । गिरिजाबाबुको शून्य विरासत बोकेकी सुजाता कोइरालाको छाया नाम आइरहन्छ । अरू दलका धेरै काम र साधना गरेका महिलाका नाम आउँदैनन् । पूर्वएमालेकी योग्य र तीक्ष्ण राजनीतिक स्थिति आकलन गर्न सक्ने भए पनि अष्टलक्ष्मी शाक्यको नाम आउँदैन ।

अल्पमत र बहुमतमा बाँडिनेका गणपूरक नामहरूमा सबै पुरुष छन् । सबैभन्दा गम्भीर कुरा संविधान र दलका कानुनी व्यवस्थाले भने पनि माथिदेखि तलसम्मका महिला कोटा भए पनि तिनको पालना गरिएको छैन, उपेक्षा गरिएको छ । मैले भन्न खोजेको कसलाई ल्याउनुपर्थ्यो र ल्याइएन भन्ने होइन । त्योभन्दा अझ गम्भीर विषय हो । संक्षेपमा एकाध सिद्धान्तका चर्चा गरेर आफ्ना चिन्ता राख्न चाहन्छु । दुवै पश्चिमी छन् ।

आन्टोनियो ग्राम्ची भन्ने इटालेली मार्क्सवादी चिन्तक र लेखकले एउटा सिद्धान्त निकाले । त्यसलाई हेजिमोनी भनिन्छ । यो हेजिमोनी भन्ने विषय जटिल र सूक्ष्म छ । नेपालमा महिलाको राजनीतिक अवस्था पुरुषअनुकूल बनाउन प्रस्ट प्रयोग भएका छन् । पोपुलिस्ट शासन प्रणालीदेखि लिएर समावेशी भनिने राज्य प्रणालीहरूमा, समावेशहरू गरिएका छन्, सबै ठीकठाक छ भन्ने भावनाको सिर्जना गरेर अकण्टक शासन गरिन्छ । तर, पोपुलिस्ट आन्दोलनहरूले त्यसलाई भत्काएका उदाहरण अब धेरै भैसके ।

नेपालमा महिलाको राजनीतिलाई त्यही हेजिमोनीले पछाडि धकेलिदिएको छ । हेजिमोनी एउटा यस्तै सर्वस्वीकृतिको अवस्था हो । नेपालमा क्रान्तिहरूपछि महिलाहरूले संविधानद्वारा नै आफ्नो अधिकार परिभाषित गराए पनि ‘होइन, तपाईंहरूलाई ठीकै छ नि, सहभागी गराइएकै छ नि’ भन्ने अस्त्र राजनीतिक पुरुषहरूले सजिलै प्रयोग गरे । अनि महिलाहरूले यसै जिउनुको क्रममा नै त्यसलाई स्वीकृत गरेको अवस्था देखियो । महिला राष्ट्रपति त्यो हेजिमोनीले प्रभावित एउटी अर्की ठूली उदाहरण हुन् । उनले म सबैकी संरक्षक हुँ, त्यसमा पनि महिलाको क्रियाशीलता, राजनीतिकदेखि भावनात्मक सहभागितालाई एउटा लोकतान्त्रिक परिवेशभित्रैबाट कसरी प्रभावित गर्न सक्छु भन्ने कुरा नै बिर्सिइन्, त्यो हेजिमोनीको प्रभावले । उनले तिनै फाइल बोकेर कुद्ने गणपूरक ग्रन्थिले ग्रसित कमिनिस्ट पार्टी गुटका पुरुष नेताहरूलाई मिलाउन बोलाउने कर्ममा जुन समय दिएकी छन् त्यो नेपाली महिलाको राजनीतिको अलमलको द्योतक होइन भन्न सकिन्न ।

अर्को प्रसङ्गमा इमानुअल कान्टको सब्लाइम वा उदात्त सिद्धान्तको कुरा आउँछ । भावनाका उचाइ, कल्पनाका विशालता अनि त्यसलाई आकलन गर्न नसक्दा मनमा उब्जिने उदात्त वा सबलाइमका भावना त्यो दर्शनका विशेषता हुन् । तर, महिला विद्वान् एके मेलोरले ‘रोमान्टिसिज्म एन्ड जेन्डर’ (१९९३) मा लेखिन्, ‘नारी उदात्तता पुरुषले देखेजस्तो हुँदैन । यो व्यक्तित्वको उचाइ, शान्त अनि पुरुषको अत्याचारबाट मुक्त र आत्मसम्मानको चेतना हो ।’ मैले यो प्रसङ्ग ल्याउनुको एउटै अर्थ छ ।

नेपालका (भारतका त झन् धेरै) राजनीतिज्ञहरूले राजनीतिको उचाइ, क्रान्तिका सपना अनि ठूला दाबी गर्दा एकल रूपले पुरुष महिमाको सब्लाइम उच्चारण गर्छन् । माओवादी युद्ध र जनआन्दोलनकालमा उच्चारण गरिने भाषिकामा तिनै पुरुष सपनाका उदात्त भावना उच्चारण गरिन्छन् । दक्षिण भारतको भ्रमणमा प्रधानमन्त्री इन्दिरा गान्धीलाई मानिसले ढुङ्गा प्रहार गरे । नाकको चोट सारीको फेरले छोपेर उनले भाषण गरिन्, ‘नारीहरू किन सारीले मुख ढाकेर हिँड्छन् भन्ने कुरा मैले आज मात्र बुझें ।’ त्यो नारी सब्लाइम वा उदात्त चेतनाको अभिव्यक्ति थियो ।

आज नेपाली राजनीति बबन्डरभित्र छिर्दै छ । हामीले नाटक गर्दा रङ्गमञ्च मिलाउँदाजस्तै विभाजित हुने संघारमा पुगेका कमिनिस्ट नेताहरू शक्ति निःसृत हुने अर्थ मिलाएर कुर्सी राख्छन् । बिस्तारै एउटा मञ्चको परिवेशमा विसंगत नाटकमा जस्तो हिँड्छन् । कांग्रेसका नेता पनि त्यसै गर्छन् । फाइल च्यापेर हिँड्छन् । अर्कोथरी लौ केही भएकै छैन भनेर फ्रान्सेली दार्शनिक जाक डेरिडाले भनेजस्तै हिजोको इतिहासका ‘स्पेक्टर’ वा प्रेत बोकेर हिँड्छन् ।

यो सबै कुराले देखाएको सत्य यस्तो छ– यहाँ हेजिमोनीको स्थापना भएको छ । तर, त्यो आमरूपमा चुनौतीमा पर्नुअघि नै हेजिमोनीका रचनाकारहरूबाटै भङ्ग हुने संकेत देखिएका छन् । यस्तो बेलामा एउटा बलियो प्रतिरोधी शक्ति भनेको राजनीतिमा महिलाको उपस्थिति हो । तर, संविधान, आन्दोलन र परिवर्तनले दिएको भए पनि त्यो नै अलमलमा पर्दै गएको देखिएको छ । प्राध्यापक र नेतृ साहना प्रधानले बहुदलीय महिलाहरूलाई लिएर चलाएको अभियानको बेला मेरो प्रश्नको उत्तरमा भनेकी थिइन्, ‘यो दलीय संयन्त्रबाट मुक्त आवश्यक नारी अभियान हो । यो अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

प्रकाशित : मंसिर २०, २०७७ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?