सबैलाई रोजगार- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबैलाई रोजगार

बूढो भारदार कड्कियो— सबैले स्पष्टसँग बुझिराख, नाउँ जे भए पनि यो पैसा बाँड्ने कार्यक्रम हो, काम गराउने कार्यक्रम होइन ।
शरच्चन्द्र वस्ती

शहरमा रातारात खबर फैलियो— यसपालि पनि महाराजले पैसा बाँड्ने अरे ।
महाराज गफाडी थिए । त्यसैले उनका कुरा मानिसहरू पत्याउँदैनथे । रमाइलो मानेर सुन्थे र मुसुक्क हाँसेर उडाउँथे । सरकारी पैसा उडाउने मामिलामा भने उनको कुरा सधैं पत्यारिलो हुन्थ्यो । अघिल्लो वर्ष पनि राज्यको ढुकुटीबाट निस्फिक्री पैसा बाँडेका थिए, जसलाई ‘महाराज रोजगार कार्यक्रम’ नाम दिइएको थियो ।

कामै नलगाई पैसा बाँडेको जस्तो नदेखियोस् भनेर आँगनको घाँस उखेल्ने, घरको झ्यालढोका पुछ्ने, आफ्नो नङ काट्ने, कपाल कोर्ने, झिंगा मार्ने र कुकुर धपाउने समेत छवटा काम सूचीकृत गरिएको थियो, जसमध्ये कुनै एउटा काम गर्छॅ भनेर ल्याप्चे लगाएपछि पैसा पाइन्थ्यो । पैसा लिएर गएपछि त्यो काम उसले सम्पन्न गरेको स्वतः प्रमाणित हुने व्यवस्था गरिएको थियो । पैसा पाउनेहरूबीच अत्यन्त लोकप्रिय भएको त्यही कार्यक्रम यसपालि पनि सञ्चालन गरिने र पोहोर भन्दा दोब्बर दुई लाख मानिसलाई पैसा बाँडिने खबर खरबारीमा आगो लागेसरि फैलिएको थियो ।

‘यसपालि कार्यक्रम झन्डै भाँडिएको नि,’ साँझ टोले दादासँग ‘चियर्स’ गदै महाराजको सल्लाहकारले थप सूचना दियो ।

‘के भयो र दाइ ?’ दादाले जिज्ञासा प्रकट गर्‍यो ।

सल्लाहकार प्रत्यक्ष प्रसारणको भाकामा वर्णन गर्न थाल्यो :

‘पैसा बाँड्ने प्रस्ताव आएपछि एउटा मन्त्रीले विरोध गर्‍यो । उसको भनाइ थियो— देश ऋणमा डुबेको छ । राज्यको आम्दानीले कर्मचारीलाई तलब खुवाउन पनि पुग्दैन । शासन व्यवस्था विदेशीले दिएको अनुदानमा अडिएको छ । हाम्रो सुखसुविधा त्यसैले धानेको छ । विकासका लागि कसैले ऋण दिएका छन्, कसैले दान । त्यसरी दिएको पैसा यसरी बाँड्न हुँदैन ।

‘अर्को मन्त्रीको सुझाव थियो— बाँड्ने नै भए पनि अलिक महत्त्वपूर्ण काम लगाऊँ न । देशमा २० लाख केटाकेटी निरक्षर छन् । एउटालाई १० जना बच्चा साक्षर बनाउने जिम्मा दिने हो भने दुई लाखलाई रोजगार दिंदा पूरै देश साक्षर बन्छ ।

‘अर्काले भन्यो— देशभरि खेत बाँझै छन् । तिनीहरूलाई खेतमा काम लगाऊँ । अन्न उत्पादन हुन्छ । अनिकाल हट्छ । देशलाई राम्रै हुन्छ ।

‘तर उनीहरूको उग्र विरोध भयो । अन्य मन्त्री र भारदार तिनलाई कुट्न तयार भए । महाराजको अनुमति लिएर बूढो भारदार कड्कियो— राज्यको ढुकुटी कसरी खर्च गर्ने भन्ने महाराजको इच्छाको कुरा हो । यसमा अरूले बाठो हुनुपर्दैन । जहाँसम्म साक्षरता बढाउने, खेती गराउने भन्ने कुरा छ, त्यसले कार्यक्रमको मर्ममा आघात पार्छ । सबैले स्पष्टसँग बुझिराख, नाउँ जे भए पनि यो पैसा बाँड्ने कार्यक्रम हो, काम गराउने कार्यक्रम होइन ।

‘त्यसपछि उनीहरूको मुखमा ताल्चा लाग्यो । अन्त्यमा महाराजबाट आज्ञा भयो— रोजगार भनेकै विकास हो । यो आफैंमा महान उपलब्धि हो । यसले मलाई लोकप्रिय बनाउँछ । त्यसैले यो कार्यक्रम रोकिंदैन ।’

वर्णन सकिएपछि टोले दादा साखुल्ले पल्टियो, ‘चिन्ता नगर्नोस् दाइ, ती भँडुवाहरूलाई जिल्ला गएको वेला ठीक लगाउनुपर्छ ।’

भोलिपल्टदेखि देशभरिका रोजगार कार्यालयमा नाम दर्ता गराउने मानिसको लाम लाग्यो । दर्ता तीन महीनासम्म चल्यो । चाहिने भन्दा चार गुणा बढी नाम दर्ता भए । त्यसपछि शुरू भयो, नाम छनोट प्रक्रिया । पुरानै शैलीमा ।

छनोट प्रक्रिया सरल थियो । खास मान्छेलाई समातेर पाँच हजार रुपैयाँ कमिशन बुझाएपछि सरक्कै नाम निस्कन्थ्यो । रोजगार कार्यक्रम अन्तर्गत एक जनाले २५ हजार पाउँथ्यो, पाँच हजार खर्च भए पनि २० हजार चोखो बच्थ्यो । शुरूमै पाँच हजार जुटाउन नसक्ने र पैसा जुटाए पनि खास मान्छेसम्म पहुँच नभएकाहरू भने स्वतः छाँटिन्थे ।

यसैबीच एउटा चारतारे होटलमा टोले दादा र सल्लाहकारको ‘लन्च मीटिङ’ बस्यो । दादाले भन्यो, ‘यसपालि मेरा दुई हजार जनाको नाम निकालिदिनुपर्छ है ।’

‘मलाई कति हुन्छ ?’ सल्लाहकारले सोध्यो ।

‘पोहोरकै जस्तो त हो नि दाइ, फिफ्टी–फिफ्टी । एक जनाको पाँच हजारका दरले दुई हजारको एक करोड हुन्छ । तपाईं र मेरो आधा–आधा ।’

‘ठीक छ । नाम वेलैमा देऊ नि ।’

‘हुन्छ दाइ, चिन्तै नगर्नोस् ।’

दुई हप्ता पछि देशभरिबाट दुई लाखको नाम निस्कियो । सबैलाई पैसा बाँडियो । सबैले पूर्वनिर्धारित छवटा मध्ये एउटा काम गर्छु भनेर ल्याप्चे लगाई पैसा लिए । पैसा लिएपछि काम गरेको स्वतः प्रमाणित हुने व्यवस्था छँदै थियो । सबैले महाराजको जयजयकार गरे । आफ्नो लोकप्रियता बढेको देखेर महाराज गद्‍गद भए ।

कमिशनको रकम बाँडफाँट गरेपछि उत्तिकै गद्गद भएर महाराजको जयजयकार गरेका थिए, टोले दादा र सल्लाहकारले पनि ।

एक महीना त राम्रैसँग बित्यो तर त्यसपछि दृश्य परिवर्तन भयो । पैसा नपाउनेहरूले, जसको संख्या असाध्यै ठूलो थियो, ‘रोजगार देऊ–रोजगार देऊ, ठूलो नभए सानै देऊ’ नारा लगाउँदै देशभर विरोध प्रदर्शन गर्न थाले । त्यसले महाराजलाई चिन्तित बनायो । तीन रात आँखा झिमिक्क नपारी बिताएपछि चौथो दिन आफ्ना वफादार अर्थशास्त्रीहरूलाई डाकेर उनले आदेश दिए, ‘अब सरकारले पैसा बाँड्न सक्तैन । सरकारी ढिकुटीबाट थप एक पैसा खर्च नहुने गरी रोजगार सिर्जना गर्नुपर्‍यो । छ महीना भित्र कम्तीमा १० लाखले रोजगार पाउनुपर्छ । के गर्ने हो, सुझाव देऊ ।’

अर्थशास्त्रीहरू बेहोश भए । होश आएपछि प्रश्न गर्दा भए, ‘त्यत्रा मान्छेलाई के काम लगाउने ? के उत्पादन गर्ने ? कति पारिश्रमिक दिने ? त्यत्रो पैसा कहाँबाट ल्याउने ?’

‘मलाई अरू कुरा थाहा छैन,’ महाराजको स्वर कडा भयो, ‘दुइटा कुरा मात्र जान्दछु । जसरी हुन्छ, सबैले रोजगार पाउनुपर्‍यो र सरकारी पैसा खर्च हुन भएन ।’

कैयौं दिनको गहन छलफल पछि मर्नु भन्दा बहुलाउनु निको भन्दै अर्थशास्त्रीहरूले महाराज समक्ष तीनसूत्रीय सुझाव प्रस्तुत गर्दा भए ।

त्यसै हप्ता महाराजले एउटा आदेश जारी गरेर मानिसले एक्लै बोक्न सक्ने कुनै पनि सरसामान गाडीमा ढुवानी गर्न रोक लगाए । त्यसले तत्काल लाखौं रोजगार सृष्टि गर्‍यो । देशभर डोको, थुन्से, खर्पन, बोरा, ढाकी आदिमा सामान ओसारपसार गर्नेहरूको ताँती लाग्यो । हेलिकप्टरबाट त्यो दृश्य हेरेर महाराज प्रसन्न भए ।

अर्को हप्ता कुनै पनि निर्माणमा डोजर प्रयोग गर्न प्रतिबन्ध लाग्यो । बाँध बाँध्नेदेखि सडक बनाउनेसम्म सारा काम गैंती र साबेलको भरमा हुन थाल्यो । यसबाट पनि लाखौं रोजगार थपियो । महाराज विभिन्न निर्माणस्थलमा जान्थे र पहिले दश जनाले काम गर्ने ठाउँमा अब डेढ–दुई सय जनाले पसिना चुहाइरहेको देखेर आनन्दित हुन्थे ।

आफ्ना दुई आदेशले दुई महीना भित्रै १० लाख रोजगारको लक्ष्य हासिल भइसकेको रिपोर्ट आएपछि उनलाई नाचूँ नाचूँ लाग्यो ।

तेस्रो महीना महाराजको विशेष आदेशमा देशको मुख्य राजमार्गमा पर्ने एउटा नदीको पुल भत्काइयो । वारिका गाडी वारि रोकिन थाले, पारिका पारि । यात्रुहरूलाई केही कठिनाइ त भयो तर त्यसले रोजगारीका अनेकौं ढोका खोलिदियो । यात्रुलाई नदी तार्न सयौं डुंगा चल्न थाले । वारि, पारि दुवैतिर दर्जनौं होटल, लज, रेस्टुराँ खुले । चिया पसल, नाङ्ले पसल र फूटपाथ पसलको गन्ती भएन । सयौं कुल्ली, ठेलावाल र रिक्शावाल अहोरात्र पसिना बगाउन थाले । पुल हुँदा निर्जन रहेका दुवै किनारमा सानातिना बजारै विकसित भए । हरेक दिन लाखौंको कारोबार हुन थाल्यो । एक दिन महाराज लावा–लश्करसहित त्यहाँ गए र तीव्र गतिमा सम्पत्ति निर्माण भइरहेको देखेर दंग परे ।

अब देशमा रोजगार नपाउने कोही थिएन । जसले पाइनँ भन्थ्यो, उसलाई उत्तिखेरै डोको अथवा साबेल थमाइन्थ्यो । धेरै जनसंख्या भएका चारवटा जिल्लाले त ‘सबैलाई रोजगार’ को लक्ष्य हासिल गर्न साबेलमा समेत प्रतिबन्ध लगाएर त्यसको सट्टा फलामको पन्यूँ प्रयोग गर्न थालेका थिए ।

महाराजको क्रान्तिकारी कदमले उनका विदेशी पाहुना र पर्यटकहरूलाई पनि आकर्षित गर्न थालेको थियो । खास गरी डोजरको सट्टा गैंती, साबेल र पन्यूँ प्रयोग गरेर बाँध बाँध्ने, नहर खन्ने, सडक बनाउने काम भइरहेको हेर्न र पुल भत्काएर विकास गरिएका बजारको चहलपहल अवलोकन गर्न उनीहरू लालायित देखिन्थे । फर्कन लाग्दा छक्क परेर आपसमा साउती गर्थे, ‘यी बाँध, नहर र सडक कहिले बनिसक्ने होलान् ? यी बजार कतिन्जेल चल्ने होलान् ?’

छ महीना पछि यो रामरमिता सेलाउँदै गयो । ज्याला नाम मात्रको हुन्थ्यो । महीना दिनको कमाइले हप्ता दिन पनि खान नपुग्ने भएपछि मानिसहरू डोको बिसाएर र साबेल छाडेर मजदूरी गर्न छिमेकी देशतिर लर्को लाग्न थाले । नदी तर्न बिनसित्तीको झम्भार बेहोर्नुपरेपछि यात्रुहरू सीमा पार गरेर विदेशको सडकबाट यात्रा गर्न थाले । विकास–निर्माणका काम सेलाए र पुल वारि–पारिका बजार पनि सुके ।

महाराजको फुर्फुर भने कम भएन । उनी जुँगामा ताउ लगाउँदै हुङ्कार गरिरहेका हुन्थे, ‘रोजगार पाइनँ भन्ने एउटा पनि मान्छे मेरा अगाडि ल्याउन सक्छौ ?’

प्रकाशित : मंसिर १३, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्

अझै टुकीको भर

अनिश तिवारी

सिन्धुपाल्चोक — बिजुलीका तारसँगै बस्तीपिच्छै फलामे खम्बा अनि थोत्रा ट्रान्समिटर । केही घरमा मिटर बक्स पनि राखिएको छ । जताततै लगिएका तार घरमा नजोडिएको पनि होइन । तर त्यहाँ कहिल्यै बिजुली आएन ।

‘दुई वर्ष पुग्यो, खम्बा गाडेर तार टाँगेको तर बिजुली बलेन । के खान यो पोल र तार टाँगिएको हो ? अचम्म लाग्छ,’ भोटेकोसी गाउँपालिका–५ मार्मिङ चन्द्रखुकी ७० वर्षीया सुनमाया शेर्पाले भनिन् । जाडो सुरु भएसँगै घाम नलागेपछि सोलार पनि चार्ज गर्न नपाएकी उनी टुकीको भरमा बस्नुपरेको गुनासो गर्छिन् । ‘कतिन्जले यसरी जीवन बिताउनु, कहिले आउँछ हाम्रो गाउँमा बिजुली ?’ उनले प्रश्न गरिन् ।

भोटेकोसी क्षेत्रमा शिवश्री जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पूरा भएलगत्तै २०६६ सालमा बिजुली जोड्ने तयारीसहित खम्बा र तार लगाइएको थियो । ‘केही महिना बिजुली पनि आयो तर पछि फेरि काटियो, त्यसपछि बिजुली फर्किएन,’ स्थानीय ६७ वर्षीय सुनबहादुर शेर्पाले भने । सोलारको भरमा गाउँमा राति आवश्यक परे मात्रै उज्यालो हुने गरेको छ । महँगा सोलार र ब्याट्री पनि अत्यधिक चिसोको कारण प्रायः बिग्रिएपछि विकल्प भनेको टुकी मात्र हुने गरेको चन्द्रखु पल्लो टोलका शेर्पाले बताए । ‘हिउँद र बर्खामा घाम नलागेपछि सोलार चार्ज हुँदैन, टुकीको भरमा जे परे पनि दौडिनुपर्छ,’ उनले भने ।

दोलखा र सिन्धुपाल्चोकको भोटेकोसी–५ बाट चीन क्षेत्र जोड्ने मार्गस्थित गौरीशंकर हिमाल र प्रसिद्ध धार्मिकस्थल देउढुंगा, दामुछे पोखरी पुग्ने पदमार्ग जोड्ने चन्द्रखु गाउँ पुग्नै झन्डै एक दिन लाग्छ । ‘सडक जोडिए पनि हामीले बिजुलीको अभाव व्यर्होनुपरेको छ । यसबारे प्राधिकरणलाई आग्रह गरेका छौं, वडा र पालिकामा पनि निवेदन दिएका छौं, अब चाँडै बिजुली बल्ने प्रतिबद्धता पाएका छौं,’ चन्द्रखु गाउँका अगुवा पेम्बा लामाले भने ।

अझैसम्म सडक नजोडिएको जुगल गाउँपालिकाको दिपु, तेगादेखि तेम्बाथान गाउँबासी अझै टुकी र सोलारकै भरमा छन् । जुगलको गुम्बाथानमा चन्द्रखुमा जस्तै खम्बा र तार टाँगिएको तीन वर्ष भइसक्यो तर बिजुली आएको छैन ।

जुगलको दिपु, तेगा र तेम्बाथानसहित गरी झन्डै २ सय २० परिवार अँध्यारोमै छन् । ‘यहाँ न स्वास्थ्य चौकी छ, न सडक नै जोडिएको छ, बिजुली, नेटवर्कसमेत लाग्दैन,’ तेम्बाथानका साइला शेर्पाले भने ।

प्रकाशित : मंसिर १३, २०७७ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×