डोनाल्ड ट्रम्पको अमेरिका- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोनाल्ड ट्रम्पको अमेरिका

घृणालाई बढावा, विभाजन र हिंसा अतिवादको राजनीतिक हतियार हो । ट्रम्पको बहिर्गमनका बाबजुद, यसले आगामी दिनमा अमेरिकी समाजलाई थप गिजोल्ने छ ।
दिनेशजंंग शाह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने संकेत दिए चुनावको नजिता भने स्वीकार गरेका छैनन् ।  अझै उल्टै चुनावमा धाँधली भएको र आफैले जितेको दाबी गर्दैछन् ।

ट्रम्पले निरन्तर निर्वाचनको वैधानिकतामाथि प्रहार गरिरहेका छन् । डेमोक्रयाट्कि प्रत्यासी जो बाइडेनले जित हासिल गरिसकेको परिदृश्यमा, ट्रम्पको बालहठले सबैभन्दा शक्तिशाली प्रजातन्त्र भनिएको अमेरिकी प्रजातान्त्रिक मूल्य मान्यताकै खिल्ली उडाएको तर्क गरिँदैछ । ‘चुनावमा धाँधली भयो । गैरमतदाताहरुले भोट हाले । समाजवादी (उनको भनाइमा कम्युनिष्ट)हरुले चुनाव चोरे’ भन्दै ट्रम्पको रटान चलिरहेकै छ । हारेमा ट्रम्पले यसो गछर्न् भन्ने धेरैको अनुमान नै थियो ।

ट्रम्पको दाबीले नजिता उल्टिने सम्भावना शून्य बराबरै छ । जनवरी २० पछि पनि पदमै बसिरहने भन्ने पक्ष पनि सामान्य कल्पना बाहिरको कुरो हो । तर पनि अस्वभाविक दाबी गर्दै ट्रम्पले विभाजित अमेरिकी राजनीतिलाई अझ बढावा दिँदैछन् । २१औं शताब्दीको अमेरिकी राजनीतिक अवस्था अर्थात अत्यधिक धुव्रीकरणतर्फ उन्मुख राजनीतिक धारको रस्साकस्सीले ट्रम्पलाई उक्साइरहेको छ । भलैं बाइडेनले एकतामा जोड दिए पनि, ट्रम्पको अमेरिका अतिवादतर्फ उन्मुख छ । चार वर्षअघि ट्रम्पको उदय जति अप्रत्यासित थियो, त्यति नै खतरनाक देखिँदैछ राजनीतिमा उनको प्रयोग । ट्रम्पअघि पनि दुई पार्टीबीच स्पष्ट नीतिगत भिन्नता थियो । तर ट्रम्पले त्यो भिन्नतालाई ‘भयानक’ रुप दिन हरसम्भव प्रयास गरे । विस्फोटक बनाउन मलजल गरे । २०औं शताब्दीको सुरुवाती चरणको अमेरिकी राजनीतिको झल्को दिए । जुन अहिलेको परिदृश्ष्यमा अकल्पनीयझै हो ।

ट्रम्पले बढाएको विभाजनको राजनीति उनको पतनसँगै हराउने भने पक्कै छैन । अमेरिकी राजनीतिमा खुल्लमखुल्ला पदार्पण भएको श्वेत सर्वाेच्चता(ह्वाइट सुप्रिमेसी) एजेन्डामार्फत बहुमतको श्वेत सर्वोच्चता, राष्ट्रियता, संस्कृति र धर्मको आडमा अमेरिकी विविधतालाई मास्न खोजिएको छ । यसको एउटै अर्थ हो, अमेरिका श्वेतहरुको मात्र हो भन्ने सन्देश दिन खोजिएको छ । जसले आप्रवासन र विविधताको मान्यतामा अडिएको अमेरिकी समाजलाई कठिन घडीमा धकेलेको छ । आठ वपर्षअघिका अनुदारवादी उम्मेदवार मिट रोमनी हुन् वा त्यसअघिका जोन म्याकेनका सर्मथकहरु कस्ता थिए भन्ने विवादको विषय हुनसक्छ । तर ट्रम्पका सर्मथकहरुको नियत र योजना स्पष्ट छ ।

बाइडेनको जितको अर्थ यो होइन कि, अनुदारवादी खेमा सखाप भयो । वा अमेरिका, बर्नी स्यान्डर्सको आमूल परिवर्तनको मार्गमा लम्कियो । यद्यपि यो जितले खतरनाक नस्लीय राजनीतिलाई ब्रेक मात्र लगाएको छ । ‘मैले जितँे’ भन्दै निर्वाचनको वैधानिकतामाथि आक्रमण गरिरहेका ट्रम्प यो अभियानमा एक्लै छैनन् । रिपब्लिकन पार्टी, ट्रम्पलाई रोक्न डराइरहेको छ । अझ सबैभन्दा महत्वपूर्ण, ट्रम्पका पछाडि करोडौं अमेरिकीहरु छन । जो अमेरिकाको पछिल्लो बदलिँदो समाजिक रुपान्तरणले त्रसित छन । एक दर्जन जति ब्याटलग्राउन्ड राज्यको ‘क्वाइन टस’ जस्तो इलेक्टोरल सिस्टमले निर्धारण गर्ने अमेरिकी राष्ट्रपतिको पद, यसपटक पनि निकै प्रतिस्पर्धात्मक रहयो ।

कंग्रेसको तल्लो सदनमा दुवै पार्टीबीच कडा प्रतिस्पर्धा चल्यो भने माथिल्लो सदनमा यो संर्घष जारी छ । त्यसको अर्थ हो, दुई पार्टीको राजनीति ६० र ४० को अनुपातमा होइन कि ५० र ५० कै स्थितिमा छ । कोभिड माहमारीमा मास्कको प्रयोगको विषयलाई लिएर राजनीतिक जुहारी चल्ने, अमेरिका । विज्ञानले प्रमाणित गरेको र संसारले पत्याएको ‘विश्वव्यापी पर्यावरणीय समस्या’ बारे आम मतभेद हुने, अमेरिका । हेक्का रहोस्, ट्रम्पको रटान र हार नस्वीकार्ने अतिवादी सोच, यस्तै खाले विभाजनको पृष्ठभमिमा अडिएको छ ।

सामाजिक र आर्थिक एजेन्डामा सरकारको भूमिका नै मूलत: दई पार्टीबीचको भिन्नता हो । तर पनि पछिल्लो समयमा यो विभाजनलाई तीव्रता दिएको एउटै एजेन्डा हो आप्रवासन । ट्रम्पको श्वेत अमेरिकाको परिकल्पना यसैको सेरोफेरोमा अडिएको छ । उदारवादीले स्वागत गरिरहेको आप्रवासी ‘ट्रेन्ड’ लाई रिपब्लिकन पार्टी, त्यसमा पनि विशेषत: ट्रम्पले पश्चिमी सभ्यतामाथिको अतिक्रमण वा आक्रमणको रुपमा व्याख्या गरे र गर्दैछन् । आप्रवासीलाई ‘आतंकवादको आयातित रुप’ भनेर व्याख्या गरियो । आप्रवासीले अमेरिकी नागरिकको रोजगार खोस्दैछन् भन्ने मान्यता बनाइयो । यिनै कारणले दसकौंपछि अमेरिकी राजनीतिमा रंगभेदी एजेन्डाले पदार्पण गऱ्यो ।

‘श्वेत सर्वोच्चताको पार्टी’ भनेर चिनिने रिपब्लिकन पार्टीले यसबारे मुख खोल्न नसकेको अवस्थामा ट्रम्पले यो एजेन्डालाई छरपस्ट पारे । धेरै कट्टरपन्थी नेतालाई थाहा छ कि ‘श्वेत अमेरिका’को वकालत, कति घातक छ भन्ने । त्यसैले उनीहरु अप्रत्यक्ष यस्ता आवाजहरु, अतिवादी संगठनहरु वा अतिवादी मिडियामाार्फत उठाउँछन् । तर पछिल्लो समय ट्रम्प नै उनीहरुको संवाहक बने । अन्तत: उनी पार्टीका हर्ताकर्ता भए । अहिले नै चार वर्षपछि सन् २०२४ को चुनावमा ट्रम्पको सम्भावित चर्चा चल्नुले यसैलाई संकेत गर्छ । लिङ्कन र रेगनको पार्टी अहिले, ट्रम्पको पार्टी बनेको छ । ‘श्वेत सर्वोच्चताको पार्टी ।’

अनुदार आर्थिक नीतिबाट कसरी रिपब्लिकन पार्टी, सामाजिक अतिवादतर्फ ढल्कियो, त्यो स्पष्ट छ । हरेकखाले अध्ययन एवम सर्वेक्षणहरुले स्पष्ट रुपमा आप्रवासीको ट्रेन्डले अमेरिकी अर्थतन्त्र र विविधतापूर्ण अमेरिकी शक्तिलाई झनै परिष्कृत गर्दै गएको देखाउँछ । अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवाहले अमेरिकी उत्कृष्टतालाई कसरी उचाइ दिइरहेको पक्ष पनि अकाट्य छ । दुई तिहाई अमेरिकीहरुले आप्रवासन वा विविधताको पक्षमा छन ।

यसका बाबजुद एकै जाति र धर्मको मात्र देश बनाउने ट्रम्पको योजनामा विशेषत: आप्रवासन चुरो पक्ष हो । सन १९२४ मा जसरी आप्रवासी विधेयकले एसियाली आप्रवासीलाई रोक लगाइएको थियो, त्यही इतिहास अहिले ट्रम्पसमर्थकहरुले दोहोऱ्याउन चाहेको देखिन्छ । सिलिकन भ्याली (अमेरिकी प्रविधि उद्योग) मा एसियाली र दक्षिण एसियाली जनशक्तिको हालीमुहालीमा उनीहरुको टाउको दुखाइ छ । उनीहरु तर्क गछर्न्, ‘अर्थतन्त्र, देशभन्दा ठूलो हु नसक्दैन, त्यसलाई महत्व दिन मिल्दैन ।’ श्वेत राज्यका पक्षपातीहरुका अनुसार अमेरिकामा सबै संस्कृति समान हुन् भन्नु वा महत्व दिनु भनेको अमेरिका संस्थापकहरुको योगदानलाई अवमूल्यन गर्नु हो ।

अमेरिकी पछिल्लो अनुदार राजनीति कसरी बढदै छ ? भन्ने कुरा सत्तरीको दशकमा प्रकाशित एउटा विवादास्पद पुस्तक ‘द क्याम्प अफ द सेन्ट्स’ बाट अभिप्रेरित छ । फ्रान्सेली लेखक जँ रस्पाइलले यो उपन्यासमा पश्चिमी (फ्रान्स अन्य युरोपमा) सभ्यतालाई, कसरी तेस्रो विश्वका आप्रवासीहरुले ध्वस्त बनाउँदैछन् भन्ने कथा प्रस्तुत गरेका छन् । उपन्यासमा क्याथोलिक पादरीहरुले भारतको कोलकाताबाट बेल्जियम ल्याइएका चालीस हजार बालबालिकाले कसरी पश्चिमी सभ्यतालाई चुनौती दिन्छन्, कसरी पश्चिमी सरकार, सेना असफल हुन्छ भन्ने देखाइएको छ । सन् १९७३ मा प्रकाशित यो पुस्तक, सन् १९७५ मा अंग्रेजी भाषामा अनुवाद गरियो ।

प्रकाशन भएको चालीस वर्षपछि सन् २०११ मा यो पुस्तक अमेरिकामा सर्वाधिक बिक्री हुने पुस्तकको रुपमा सूचीकृत भयो । सन २००९ को ‘टि पार्टी मुभमेन्ट’ पछि, यो पुस्तक एकाएक चर्चित भयो । यो पुस्तकले अमेरिकालगायत पश्चिमा मुलुकमा ‘श्वेत सर्वोच्चता’ र ‘नस्लीय नीति’लाई उक्साएको विश्लेषकहरुको ठम्याइ छ । ट्रम्पले बारम्बार सोही पुस्तकका हरफहरुलाई उद्धृत गर्दै आएका छन् । सन् २०१८ मा जब मेक्सिको सीमानामा सेना परिचालन गरियो, तब उनले भने ‘यदि उनीहरु ( आप्रवासी)ले हामीतिर ढुंगा हाने भने, हाम्रो सेनाले लडनेछ । मैले सेनालाई राइफलको कामबारे सम्झाएको छु ।’ यी हरफहरु सोही पुस्तकको अन्तिम पटकथामा उल्लेख छ । ट्रम्पको पहिलो चुनावी अभियानमा उनका सल्लाहकार स्टिभ बेन र स्पिच राइटर स्टिभले बारम्बार पुस्तक सबैलाई पढन र अनुशरण गर्न आह्वान गरिरहन्थ्ये ।

घृणाको बढावा, विभाजन र हिंसा अतिवादको राजनीतिक हतियार हो । ट्रम्पको बहिर्गमनका बाबजुद, यसले आगामी दिनमा अमेरिकी समाजलाई थप गिजोल्ने छ ।

प्रकाशित : मंसिर १२, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्

कुञ्‍चा सार्न भारतकै बाटो

सेनाले यो वर्ष घाटीबगडमा ५ सय ५० मिटर बाटो पुनर्निर्माण त गर्‍यो तर तम्बाकु, कल्जु र दोपाखे क्षेत्रका घोडेटो मर्मत भएनन् ।
मनोज बडू

दार्चुला — व्यास जाने बाटो निर्माणमा तीनै तहका सरकारले पोहोर र यसपालि गरेको लगानी सार्थक नभएपछि व्यासका स्थानीयलाई बेंसी झर्न भारतीय बाटो नै प्रयोग गर्नुपरेको छ । पञ्चायतकालमा निर्माण गरिएको घोडेटो बाटो पुनर्निर्माण सम्पन्न नहुँदा यो साता व्यासका स्थानीय यसअघिका वर्षझैं भारतीय बाटो भएरै बेंसी झरेका छन् ।

हिउँदयाममा हिमाली गाउँ टिंकरमा बाक्लो हिमपात पर्छ, यस्तो बेला टिंकरवासी मौसमी बसाइँ सरेर दार्चुला सदरमुकाम खलंगा पुग्छन् । छाङरुवासी पनि खलंगा झर्ने तयारीमा छन् । नेपालको बाटो भएर सदरमुकाम आउन सहज नभएका कारण भारतको बाटो भएर व्यासीका सौका समुदाय कुञ्चा (बसाइँसराइ) सरिरहेका छन् ।

मंसिरको पहिलो सातासम्म बेंसी सरिसक्ने भए पनि बाटोको समस्याका कारण यसपालि ढिलाइ भएको हो । सोमबार टिंकरका ६० परिवार आफ्ना बालबच्चा र पशुचौपायासहित बेंसी पुगेका छन् । केही परिवार बाटोमै छन् । कोरोनाका कारण बन्द रहेको अन्तर्राष्ट्रिय सीमा नेपाल–भारतका स्थानीय प्रशासनिक अधिकारीको समन्वयमा खुलाइएको छ । सीमानाकाको पुल खुला भएपछि टिंकरवासी खलंगा पुगेका हुन् ।

गत असोजमा सेनाले घाटीबगड क्षेत्रमा ५ सय ५० मिटर घोडेटो बाटो निर्माण गरेको थियो । बाटो उद्घाटन गर्न असोज तेस्रो साता हेलिकप्टरमार्फत पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतीय परनिर्भरता हटेको भन्दै भाषण गरेका थिए । तर, त्यसको करिब तीन/चार किलोमिटर यताको तम्बाकु क्षेत्रमा व्यास जोड्ने घोडेटो बाटो बन्द नै थियो । उक्त क्षेत्रमा प्रदेश सरकार र व्यास गाउँपालिकाले धेरै बजेट खर्च गरे पनि अहिलेसम्म बाटो सञ्चालन हुन सकेको छैन । उक्त क्षेत्रमा बाटो खोल्न नसक्दा खलंगा आवतजावत गर्न भारतीय भूभागको बाटो प्रयोग गर्नुपर्ने व्यासीका स्थानीय बताउँछन् ।

गत जेठमा भारतीय पक्षसँग आग्रह गरी थातथलो पुगेका व्यासीले यसपाला जाडोमा औल झर्दा स्वदेशी बाटो भएर आउन पाइएला भन्ने सोचेका थिए । तर कुञ्चा सर्ने बेलासम्म बाटो नै बनेन । ‘हेलिकप्टर चढेर व्यास पुगेका सबै नेता, कर्मचारी तथा सुरक्षा निकाय प्रमुखले यो पटकको कुञ्चा नेपालकै बाटो भएर जाने आश्वासन दिएका थिए,’ व्यासको टिंकरबाट खलंगा पुगेका सौका समुदायका अगुवाहरू भन्छन्, ‘तर भारतकै बाटो आउनुपर्‍यो ।’

करिब ६ दिन हिँडेर टिंकर गाउँको कुञ्चा खलंगा पुगेको जमन टिंकरीले बताए । जुनसुकै सरकार आए पनि वर्षौंदेखिको सौका समुदायको समस्या बुझिदिने कोही नभएको उनको गुनासो छ । भारतले बाटो नदिएको भए अहिले व्यासीहरूले हिमपात भएको अवस्थामा हिमालमै चिसो सहेर बस्नुपर्ने अवस्था आउने थियो,’ उनले भने ।

सेनाले घाटीबगडको सीमित एक ठाउँमा बनाएको बाटोलाई पूरै बाटो राम्रो भएको र नेपाली बाटो भएरै कुञ्चा सर्न सकिने भनेर गरिएको प्रचारबाट छाङरु र टिंकरवासी असन्तुष्ट छन् । २०३३/३४ सालमा बनेको बाटो धेरै ठाउँमा भत्किएर हिँड्न नसकिने अवस्था छ । सबैभन्दा बढी तम्बाकु, कल्जु, दोपखेलगायतको क्षेत्रमा जोखिम भएको व्यासीका सौकाहरू बताउँछन् । ‘मान्छे हिँड्न जोखिम रहेको ठाउँमा पशुचौपाया हिँडाउन झन् मुस्किल हुन्छ,’ मोहन टिंकरीले भने, ‘भारतीय बाटो प्रयोग गर्न गुहारेपछि मात्रै उतैको बाटो तल आउन सजिलो भएको हो ।’

पशुपालन र खेतीपाती गर्ने व्यास, छाङरु र टिंकरका स्थानीय चिसो बढेपछि हरेक वर्ष ६ महिना बेंसी तथा सदरमुकाम खलंगा झर्ने गर्छन् । २०५९ सालसम्म नेपालकै बाटो भएर व्यासीहरू कुञ्चा सार्थे । त्यसपछि व्यास जोड्ने बाटोमा हरेक वर्ष बजेट जाने तर काम नभएरै फरफारक गरिँदा बाटो बन्न नसकेको स्थानीय बताउँछन् ।

कात्तिकमा खेतीपाती लगाएर बेंसी झर्ने व्यासीहरू हरेक वर्ष वैशाख अन्तिम साता खेतीपाती भित्र्याउन गाउँ उक्लने गर्छन् । उनीहरू वर्षको एक पटक उवा, नप्पल, तीते फापर, पल्ती र आलु जस्ता बाली लगाउँछन् । यस क्षेत्रमा बसोबास गर्ने स्थानीयको मुख्य पेसा कृषि र व्यापार हो । व्यास गाउँपालिका–१ मा मात्रै झन्डै एक सय ७० परिवार सौका समुदायको बसोबास रहेको छ ।

प्रकाशित : मंसिर १२, २०७७ ११:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×