१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेकपाको आगोमा कसले थप्दै छ घिउ ?

दाहाल पक्ष तत्काललाई बहुमतको हतियार प्रयोग गर्नेभन्दा पनि ओलीलाई झुकाउने रणनीतिमा छ । ओलीचाहिँ प्रधानमन्त्रीका रूपमा अधिकार प्रयोग गरी दाहाल पक्षलाई काबुमा राख्ने रणनीतिमा छन् ।
गंगा बीसी

काठमाडौँ — नेकपाको घरमा उपियाँको राज थियो । तिनलाई मार्ने बहानामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आगो सल्काए । त्यो आगो उनीहरू बसेकै घरमा बढ्दै छ । यो चिसोमा उनीहरू त्यही आगो ताप्दै छन् । अनि एकले अर्कोलाई आगो लगाएको आरोप लगाइरहेका छन् ।

नेकपाको आगोमा कसले थप्दै छ घिउ ?

भनाइ छ– सानो झिल्कोले सारा वन डढाउन सक्छ । नेकपामा देखिएको झिल्को पार्टी डढाउन काफी छ । त्यो आगोमा को पर्छन् ? को सुरक्षित हुन्छन् ? या सबै सुरक्षित रहन्छन् ? यसको छिनोफानो यसै महिनाभित्र भइसक्नेछ ।

अध्यक्ष ओलीले सन्तानको विवाद हुँदा असली आमाले मात्र सन्तान जोगाउन सक्ने भन्दै नेकपाको असली जन्मदाता आफू भएको दाबी गरे । उनले एउटा कथाको प्रसंग उल्लेख गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई नक्कली जन्मदाताका रूपमा चित्रण गरे ।

यही प्रसंगसँगै नेकपाको जन्म कसरी भयो भन्नेतर्फ फर्किनुपर्ने हुन्छ । तत्कालीन एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच ‘एकत्व’ नभएको भए नेकपा जन्मिने नै थिएन । हाल नेकपाका दुई अध्यक्षले नेकपालाई जन्म दिएका हुन् । दुई किनारामा हिँडिरहेका दुई पार्टीको बीचमा पुल बनेर उनीहरूले नै एक बनाएका हुन् ।

तर पछिल्लो समय दुवै अध्यक्षले आफैंले जन्म दिएको नेकपा टुक्य्राउने गरी विवाद बढाएर पार्टीलाई अनिश्चयको भुमरीमा धकेलेका छन् । नेकपाको असली जन्मदाता को हो भन्ने कुरा घामजत्तिकै छर्लङ्गै छ । सहमति हुँदा धरातल छाड्ने, झगडा हुँदा आकाश उचाल्ने नेताहरूको पुरानै बानी हो । ओली–दाहालको अहिलेको गतिविधि आकाश उचाल्ने गरी छ ।

नेकपामा विवाद चर्किरहेका बेला उक्त पार्टीका अध्यक्षबाट मुख्य दुई ‘हर्कत’ भए । एक– अध्यक्ष ओलीले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफू नै एक नम्बर अध्यक्ष भएको भन्दै पार्टीका कार्यकारी अध्यक्षलाई दोस्रो दर्जा (उपाध्यक्षजस्तै) को पद दिए । दुई– अर्का अध्यक्ष दाहालले यसको प्रत्युत्तर सञ्चामाध्यममार्फत होइन, राजनीतिक दस्तावेज लेखेर पार्टी र सरकार खराब स्थितिमा पुग्नुमा ‘ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रूपमा जिम्मेवार रहेको’ संगीन आरोप मात्र लगाएनन्, संविधानविपरीत प्रदेशका अधिकार कटौती गरेको आरोप लगाए । उनले ओली ‘फुटाऊ र राज गर’ मान्यताबाट अघि बढेको राजनीतिक दस्तावेज (वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमको सहमतिमा तयार पारेको) मा उल्लेख गरे ।

यही साता बसेको पार्टी सचिवालय बैठकमा ओलीले दाहालको दस्तावेज आरोपपत्र भएको भन्दै खारेज गरेको बताए । उनले सांकेतिक रूपमा अब पार्टीमा दुई अध्यक्ष रहन नसक्ने चेतावनी दिए । त्यसपछि १० दिनका लागि उक्त बैठक स्थगित भएसँगै दुई पक्षका नेताहरूबीच तर्क–कुतर्क (राजनीतिमा जे पनि जायज ?) जारी छ । मानौं, उनीहरू एउटा पार्टीका नेता होइनन्, एकअर्काका दुस्मन हुन् ।

पार्टीमा मनमुटाव भयो भन्दैमा एकले अर्कालाई निषेध गर्ने प्रयासलाई यति बेला के भन्ने ? के राजनीतिमा जे पनि गर्न पाइन्छ ? के लोकतन्त्रमा जनताको मुडमा पार्टीलाई सिध्याउन पाइन्छ ? पार्टीमा नेता तथा कार्यकर्ताको लगानी मात्र हुँदैन, जनताले लोकमतद्वारा पार्टीलाई वैधानिकता दिएको भुल्न मिल्छ ?

सोचेझैं राजनीति रै’नछ ।

चुनाव थियो, नमिली सुखै थिएन । नमिलेको भए चुनावी परिणाम उनीहरूको पक्षमा आउने थिएन । अस्थिर सरकारको मार खाएका जनताका लागि पनि स्थायी सरकार चाहिएको थियो । त्यति नै बेला एमाले र माओवादी मिले अर्थात् खास गरी ओली र दाहाल मिलेका थिए । उनीहरूले चाहेजस्तो परिणाम आयो । स्थायी सरकार बनाउनेभन्दा बढी । लगभग दुई तिहाइनजिक ।

दुई अध्यक्षबीचको सरकारको कार्यकाल आधाआधा गर्ने लिखित समझदारी धेरै समय गोप्य राखियो । समझदारी सार्वजनिक भएपछि सरकार आलोपालो चलाउने विषयमा दुई अध्यक्षबीच मनमुटाव भएको थियो । अन्ततः लामो छलफलपछि ओलीलाई पाँच वर्ष सरकार चलाउन दिने र दाहाल कार्यकारी अध्यक्ष भएर पार्टी चलाउने समझदारी भयो । पार्टी र सरकारको महत्त्वपूर्ण काम गर्दा आपसी समझदारीमा गर्ने निर्णय पनि भयो । तर यति बेला दुई अध्यक्षले विगतका निर्णय र समझदारीलाई पातालमा हालिसकेका छन् । उनीहरू ‘कि तँ छैनस्, कि म छैन’ भन्ने अवस्थामा पुगेका छन् । आखिर किन ?

नेकपाको चैतमा हुने भनिएको महाधिवेशन के होला ? भयो भने को अध्यक्ष होला ? ओली र दाहालबीच महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने अनौपचारिक समझदारी भएको कतिपय नेताको दाबी छ । प्रधानमन्त्री ओलीले नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्न सकिने बताएपछि त्यसको ठूलो चोट दाहाललाई लाग्यो । किनकि महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्ने सपना उनको थियो । यही अवस्था रह्यो भने दाहाल नेकपा अध्यक्ष हुने सम्भावना टर्दै छ । दाहाललाई प्रधानमन्त्री हुने लोभभन्दा नेकपाको अध्यक्ष हुने सपना ठूलो छ । ओलीले आगामी पार्टीको नेतृत्व दोस्रो पुस्तामा जाने बताएपछि सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेल उत्साहित भएका छन् । नेकपाले ‘जनताको जनवाद’ को नीति लिएपछि पोख्रेलले ‘जनताको बहुदलीय जनवाद’ को वकालत गर्दै आएका थिए ।

यति बेला ओलीसँग पार्टीभन्दा राज्यसत्ता छ । उनले आफूलाई पार्टीको एक नम्बर अध्यक्ष बताए पनि पार्टीमा उनको समीकरण एक नम्बर देखिँदैन । दाहाल, वरिष्ठ नेता नेपाल, खनाल र उपाध्यक्ष गौतमबीच समीकरण बलियो देखिन्छ । यद्यपि अहिले नै दाहाल पक्ष बहुमतको हतियार प्रयोग गर्ने पक्षमा देखिँदैन । उनीहरू ओलीलाई झुकाउने रणनीतिमा लागेका छन् । ओलीचाहिँ प्रधानमन्त्रीका रूपमा अधिकार प्रयोग गरी दाहाल पक्षलाई काबुमा राख्ने रणनीतिमा लागेका छन् । एकपटक सबैको ध्यान राष्ट्रपति विद्यादेवी भण्डारीतिर छ । राष्ट्रपतिबाट विगतमा नेकपाको विवाद मिलाउन अदृश्य शक्ति प्रयोग गरेको दाबी गरिएको छ । नेकपाको पछिल्लो विवादमा पनि राष्ट्रपतिले ‘गहिरो’ चासो राखेको नेताहरूको भनाइ छ । नेकपा फुट्नुभन्दा जुट्नुमै राष्ट्रपतिको गरिमा बढ्ने बुझाइ शीतल निवासको छ । त्यस कारण ओली र दाहाललाई मन माझ्न शीतल निवासको छहारी आवश्यक पर्नेछ ।

को कति पानीमा ?

नेकपाका अध्यक्षद्वय ओली र दाहालको आरोप–प्रत्यारोप हेर्दा लाग्छ– एकले अर्काको अनुहारमा हिलो छ्यापेका मात्र छैनन्, दुवै पानीमाथि ओभानो हुने प्रयास गरिरहेका छन् । दुई नेताको जुधाइमा कार्यकर्ताको मिचाइ सुरु भइसकेको छ । दुई नेताबीच मुख्य विवादको जड भागबन्डा नै हो । कहिले यसलाई सैद्धान्तिक लेपन दिइन्छ, कहिले सहमति भाँडेको आरोप–प्रत्यारोप चल्छ । खास गरी दुई अध्यक्षबीच शक्ति संघर्षका कारण असन्तुलन बढ्दै आएको छ ।

एमाले र माओवादी एकीकरण हुने बेला एउटा भनाइ आएको थियो, एउटा जंगलमा दुई सिंह कसरी मिलेर बस्छन् ? अर्को भनाइ थियो, एउटै म्यानमा दुई तरबार कसरी अटाउलान् ? त्यसको प्रत्युत्तरमा दुवै अध्यक्षले भनेका थिए– ‘हामी दुई क्याप्टेनले नेकपाको जहाज उठाउने हो ।’

यति बेलाको नेकपाको सन्दर्भमा हेर्दा एउटा जंगलका दुई सिंहबीच चर्को लडाइँ छ । जंगलमा कसले राज गर्ने भन्नेबारे एउटाले अर्काको अस्तित्व अस्वीकार गर्ने अवस्थामा उनीहरू पुगेका छन् । एकले अर्कालाई सिध्याउने गरी एक जना बालुवाटार, अर्को खुमलटारबाट गर्जिरहेका छन् । यो अवस्थासम्म आइपुग्दा नेकपा न जुट्यो, न फुट्यो । ओली र दाहाल न मिले न अलग भए । तन मिले पनि मन मिलेको रहेनछ ।

संयोग नै हुनुपर्छ, भारतीय गुप्तचर, सेनाका उच्च अधिकारी काठमाडौं आएकै बेला नेकपाभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुग्यो । दक्षिणी हावाले नेकपा हल्लिएको हो या अध्यक्षद्वय ओली र दाहालबीच लेनदेनको विषयमा कुरा नमिल्दा यस्तो भएको हो ? यस्तै बेला उत्तरी छिमेकी चीनका काठमाडौंस्थित राजदूतको सक्रियता बढ्छ । दक्षिणी दूत आउँदा नेकपामा विवाद चर्किने, उत्तरी दूत सक्रिय हुँदा मत्थर हुने अनौठो स्थिति छ ।

नेपाल ‘शक्तिशाली’

नेकपा बनेपछि वरिष्ठ नेता माधवकुमार नेपाल मझधारमा छन् । अध्यक्षद्वय ओली र दाहाल मिल्दा उनी चेपुवामा परे पनि चर्को कुरा गरेनन् । उनलाई पार्टी र सरकारका काम–कारबाही चित्त बुझेको थिएन । नेकपा सरकार गठन भएको साढे दुई वर्षको अवधिसम्म उनले पार्टी पद्धतिअनुसार चल्ने कुरामा जोड दिइरहे । कुनै बेला पार्टीमा तेस्रो शक्तिका रूपमा रहेका उनी यति बेला भने शक्तिशाली देखिएका छन् । अहिले उनीसँग नेपालको समीकरण फेरबदल गर्न सक्ने सामर्थ्य छ । उनी ओली वा दाहाल जतातिर मिल्छन्, उही पक्ष बलियो हुने अवस्था छ । हाल नेपाल र दाहाल एक ठाउँ भएकाले पार्टी सचिवालय र स्थायी कमिटीमा बहुमत देखिएको छ ।

जान्ने–बुझ्नेहरू भन्छन्, नेकपा बनेदेखि नै नेता नेपालले पार्टी पद्धतिको कुरा निरन्तर उठाउँदै आएका छन् । भागबन्डाभन्दा प्रणाली बलियो भए मात्र पार्टी राम्ररी अघि जान सक्ने कुरा उनले बताउँदै आएका छन् । केही दिनअघि ओलीले ‘आकर्षक प्रस्ताव’ गर्दा समेत नेपालले पार्टी पद्धति स्थापित गर्ने कुरा गरेको निकट नेताहरूको भनाइ छ ।

ओली र दाहालले पार्टीमा एकलौटी गर्दा समेत नेपालले पद्धतिका आधारमा काम गर्ने विचार राख्दै आएका थिए । त्यति बेला ओली–दाहालले नेपालका सुझावलाई खासै वास्ता गरेनन् । ओलीसँग समीकरण मिलाउँदा नेपाल पक्षले राम्रो मन्त्रालय, पद पाउन सक्छ । तर नेपाल पार्टीमा राजनीतिक संस्कार, प्रणालीको विकास हुनुपर्ने पक्षमा देखिन्छन् ।

तल्लो तहसम्मै डढेलो

देशभर ओली र दाहाल–नेपाल पक्षका बैठक तीव्र भइरहेका बेला एकअर्काप्रति नाराबाजी हुन थालेको छ । नेकपा कमिटी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी चितवनको एक कार्यक्रममा ओली पक्षका कार्यकर्ताले नाराबाजी गरे । यसको सीधा अर्थ हो, शीर्ष तहको विवादको आगो बिस्तारै तल्लो तहसम्म सल्कँदै छ ।

त्यही दिन सुर्खेतमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि छलफल भयो । जबज पूर्वएमालेको कार्यदिशा हो । केन्द्रमा ओली र दाहालबीच विवाद चर्किंदै गएपछि पूर्वएमाले ब्युँताउने प्रयासले विवादको आगोमा झन् घिउ थपेको छ । किनभने नेकपाको आधिकारिक कार्यनीति जनताको जनवाद हो ।

नेकपाभित्रै अर्को पार्टी सक्रिय हुने गतिविधिले विवादको आगो झन् सल्कँदै छ । यो देशभर फैलने देखिएको छ । डढेलो निभ्ने लक्षण छैन । दुई पक्षका नेताहरू सामाजिक सञ्जालमा पार्टीको परिधि नाघेर आरोप–प्रत्यारोपमा उत्रिएका छन् । नमिल्दा एकले अर्कालाई नङ्ग्याउने कम्युनिस्टको गलत परम्परालाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित : मंसिर ८, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?