कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कवि–नाटककार युगको मञ्चमा

गोपालप्रसाद रिमाललाई प्रगतिशील लेखकहरूले आजको अड्बाङ्गे युगमा जीवन्त बनाएर राखेका छन्  । रिमालले क्रान्तिकारी कविता लेखेका छन् । युग परिवर्तन हुन्छ भन्ने बलियो विश्वासले उनले लेखेका कविता थोरै भए पनि भविता बोल्न सक्ने सामर्थ्यका निम्ति तिनको महत्त्व गरिन्छ ।
अभि सुवेदी

गोपालप्रसाद रिमाल (१९८४–२०३२) एक जना कवि र नाटककारको नाम हो । केही रमाइला वर्णनमा गोपालप्रसाद रिमालको शब्द–चित्र यस्तो खिच्छन् शंकर लामिछाने दाइ, ‘ठूलो टाउको, प्रशस्त निधार, ज्योतिला आँखा, गोरो, परिपुष्ट लक्का जवान थियो ऊ त्यस बेला । म मरन्च्याँसे, छ्वाके, १४–१५ को अपरिपक्व । आकर्षण कतापट्टि थियो त्यो लाटोले पनि बुझ्ने ।’ तर, दिनदिनै प्रकट हुँदै गएको छ, गोपालप्रसाद रिमाल भन्नु एउटा युगको नाम रहेछ ।

कवि–नाटककार युगको मञ्चमा

साहित्य एउटा लेखकका वाक्य र शब्दका हाँगा र पातमा झाँगिएको वटवृक्षझैं एउटा विस्तारित कालको नाम रहेछ । त्यो वटवृक्षमा तरङ्गित ध्वनिको नाम रहेछ लय र सङ्गीत । गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, विलियम सेक्सपियर, वाल्टर ह्विटमन, पारिजात, लु सुन, हेनरिक इब्सेन जुनसुकै नाम लिए पनि, सवैका वैविध्य धेरै भए पनि तिनका केही मुख्य चरित्र समान हुन्छन् । तिनका नियति र अवतारहरूमा थुप्रै समानता हुन्छन् ।

पछिल्लो अथवा अहिलेको युगमा साहित्य अध्ययनका अनेकौं लहर आए । उदाहरणको रूपमा, लु सुन र सेक्सपियर फरक युग, संस्कृति, विचारधारा अनि लेख्ने अलग धारा भएका लेखक हुन् । तर, तिनका एकाध मुख्य नियति र कर्म समान छन् । तिनलाई कस्ता पाठकले पढे, ती गएका धेरै वर्षपछि तिनले जीवनमा थाहा नपाएका कस्ता व्याख्या भए अनि आज तिनलाई कसरी हेरिन्छ र अर्थ लगाइन्छ भन्ने कुरा सबै लेखकहरूमाथि गरिने साझा प्रश्न हुन् । गोपालप्रसाद रिमालको विषयमा आज आएर केही लेख्न बस्दा तरङ्गित भएर आउने विषय पनि तिनै हुन् । अझ मजस्तो साहित्य सिद्धान्त पढाइबस्ने मानिसले सामना गर्नुपर्ने विषयमा त लेखकले त लेखिसक्यो नि, उसको नाममा होइन, अब पाठकको नाममा पो अर्थ लाउनुपर्छ त भन्ने छ । सोध्छौं, जुन लेखकले लेख्नुलाई जीवन भन्यो, जुन लेखकले जिउनुको निम्ति बचाइराखेको सवै शक्ति पाठमा रूपान्तरित गर्‍यो र जसको निम्ति ऊ बिलाउँदै गयो के त्यो सबैमा लेखक एउटा यथार्थ होइन र ? मेरो उत्तर छ, हो ।

त्यसैले कुनै लेखकलाई कुनै पाठकले वा पाठकवृन्दले जीवन्त व्याख्या गरेर राखे ती महान् हुन् भन्छु म । गोपालप्रसाद रिमाललाई निकै किसिमका पाठकले बचाइराखेका छन् । ती उनलाई सम्झिन्छन्, तिनका कविता र नाटकसँग युग चलिरहेको देख्छन्, जयन्ती मनाउँछन् अनि तिनका नाममा आफूले ठीक ठानेको राजनीतिको व्याख्या गर्छन् । ती सबै कुरा मलाई मन पर्छन् । विधि र धारणाहरूसँग सहमत हुन नसकुँला कति ठाउँमा तर त्यसरी जीवन्त बनाएर लेखक र उसका कृतिलाई संझिनु चानचुने कुरा होइन ।

गोपालप्रसाद रिमाललाई प्रगतिशील लेखकहरूले आजको अड्बाङ्गे युगमा जीवन्त बनाएर राखेका छन्, त्यो मलाई मन पर्छ । उनीहरूमा रिमाललाई एक क्रान्तिकारी कवि मान्ने धारणा छ । गोपालप्रसाद रिमालले क्रान्तिकारी कविता लेखेका छन् । युग परिवर्तन हुन्छ भन्ने बलियो विश्वासले उनले लेखेका कविता थोरै भए पनि भविता बोल्न सक्ने सामर्थ्यका निम्ति तिनको महत्त्व गरिन्छ । युवाहरूको कवितामाथिको विश्वास मलाई मन पर्छ । एउटा मेरानिम्ति वाचाल सम्झना छ । एकपटक गोपालप्रसाद रिमाल जयन्ती कार्यक्रम थियो एकेडेमीको पश्चिमपट्टिको एउटा हलमा । त्यसमा पारिजात पनि थिइन् । म पनि एउटा वक्ता थिएँ । मैले उनका कविताका वैविध्यमाथि छलफल गरें । त्यसमा उनको क्रान्तिकारी अभिव्यञ्जना, नारी (‘प्रति’ कविता) अनि ‘आमाको सपना’ (२०२०) बाट छानेका रचना खासगरी मेरो विचारमा उनको अत्यन्त बलियो क्रान्तिकारी कविता ‘सान्त्वना’ माथि बोलेको थिएँ । पछि हलको बीच मुड्कोजस्तो सिटमा बसेकी पारिजातलाई भेट्न गएँ । त्यहाँ उनले दुई जना युवाहरूलाई ‘अरूको पनि कुरा सुन्ने गर, छलफलमा आएका कुरा सुन अनि मात्र गोपालप्रसाद रिमाललाई बुझ्न सकिन्छ’ भनेर सल्लाह दिइन् । मलाई युवाहरूले गोपालप्रसाद रिमाललाई युगअनुसार बुझेको, व्याख्या गरेको एकदम मन पर्छ । तर गोपालप्रसाद रिमालको व्यापकता आफैंमा एउटा शक्तिशाली विषय हो ।

गोपालप्रसाद रिमालले लेखन गर्ने क्रममा एउटा युग र जीवनसँग कसरी संघर्ष गरेका थिए भन्ने विषयमा त्यति छलफल हुँदैनन् । गोपालप्रसाद रिमालका अन्तरङ्ग मित्र वा भाइ शंकर लामिछानेको ‘विम्ब–प्रतिविम्ब’ (२०२७) मा सङ्कलित ‘गोपालप्रसाद रिमाल’ त्यसैले एउटा बलियो र ऐतिहासिक लेख हो ।

रिमाल बर्दियामा लप्टन भएर गएको अनि काम छोडेर हिँडेकोदेखि लिएर उनले सहकार्य र संगत गरेका क्षणहरूको त्यसमा शंकर दाइले अत्यन्त मार्मिक र साहित्यिक शैलीमा प्रस्तुत गरेका छन् । त्यसमा शंकर दाइ र रिमालको दोस्तीको अनौठो स्मृति छ । वयस्क गोपालप्रसाद रिमालले विष्णुमतीको पश्चिमतिरका गाउँहरूमा भ्रमण गरिबस्दा दुई दार्शनिक कार्ल मार्क्स र सिग्मन्ड फ्रायडको उनमाथि परेको प्रभावको विषयमा यी १३–१४ वर्षका युवक शंकरलाई सम्झाएका कुरा छन् । शंकर दाइ ती क्षणहरूलाई रोमाञ्चक शैलीमा लेख्छन् ।

यो संस्मरणमा गोपालप्रसाद रिमाल र उनले बालकृष्ण समको नाटक ‘ऊ मरेकी छैन’ मा खेलेको, रिहर्सल गरेको रिमालले नामकरण गरेको गौरीशङ्कर नाटक समुदायले प्रस्तुत गरेको आदि कुरा छन् । रिमालले आफूले खेलेको पात्रसँग तादात्म्य गरिहाल्नुपर्छ अभिनय गर्नेले भनेर सिकाएको कुराबाट उनको नाटकीय प्रस्तुतिको सूक्ष्मता देखिन्छ । यो नाटक सिंहदरबारमा जुद्धशमशेरलाई देखाइएको थियो भनेर सोझै नभने पनि शंकर दाइ लेख्छन्, ‘यो सब एक गफसफको विषय थियो, सिंहदरबारको मञ्चमा नउत्रिन्जेल । उहाँको वातावरणमा, राणाकालीन उत्कर्षमा, जुद्धशमशेरको सामु ७ ताल्चाभित्र थुनिएर, स्टेनगन र आठपहरियाहरूद्वारा घेरिएर, सिर्फ अन्धकारमा गुडगुडाइरहेको एक हुक्काको निस्तब्धतामा मैले उनको कुरा अनुभव गरें ।’ यो अत्यन्त बलियो वर्णन हो त्यो बेलाको रङ्गमञ्चको । मैले अन्त कहीं यस्तो चित्रण पाएको छैन । त्यसो त ‘नेपाली थिएटर याज् आई सी इट्’ (२०६४) भन्ने किताब लेख्ने सिलसिलामा मैले त्यो बेला पारसी थिएटरका साधक र कलाकार अनि निर्देशकहरू केशरमान तुलाधर, बेखानारायण महर्जन, हरिप्रसाद रिमालहरूसँग कुराकानी गरेर अध्याय लेखेको छु । ती सबै अहिले दिवंगत भएका साधकहरूबाट शंकर लामिछाने दाइले बयान गरेको किसिमका नाटकहरूको जानकारी पाएको हुँ ।

हरिप्रसाद रिमालले उनका दाजु गोपालप्रसाद रिमालको नाट्य कलाको दक्षताबारे वर्णन गरेका छन् । गोपालप्रसाद रिमालले नाटकलाई त्यो परिवेशबाट बाहिर ल्याए । उनले ‘मसान’ नाटक लेखेर हेलेनजस्ती क्रान्तिकारी पात्रको रचना गरे, जसमा नारीलाई यन्त्रवत् ठानेर राख्ने पुरुषको समाज र घर छोडेर हिँडेको कथा छ । हेन्रिक एब्सेनकी ‘ए डल्स हाउस’ की पात्रा नोराले घर छोडेर हिंडेको जस्तै हेलेनले पनि क्रान्ति गरेकी हुन्, तर हेलेन अर्को अत्यन्त मार्मिक परिस्थितिमा फर्किन्छिन् भने नोरा फर्किन्नन् । यो २००२ सालमा प्रकाशित मसान नाटक सात सालको क्रान्तिपछि मात्र मञ्चन गर्न सकिएको थियो भनेर विजय मल्लले ‘नाटक एक चर्चा’

(२०३६) मा लेखेका छन् । यो क्रान्तिकारी नाटक थियो । यसको पहिलो प्रकाशनको भूमिकामा रिमालले आत्मस्वीकृतिमूलक कुरा लेखेका छन् । भनेका छन्, यो नाटक मैले आफनो भाषानुवाद परिषद्को आवश्यकता र त्यसले दिएको सीमाभित्र रहेर लेखेको छु । थप्छन्, मभित्र गुम्फित भावना जागृत भएर आएपछि मैले यो लेखेको हुँ । तर, यस्तो अवस्थामा पनि यस्तो नारीको विद्रोही चरित्रको रचना गरेको कुराले मलाई उनीप्रति एक नाटककारको रूपमा श्रद्धा जागेर आउँछ । उनको अर्को नाटक ‘यो प्रेम’ की पात्राले भने एक स्वार्थी र आत्मकेन्द्रित लोग्नेसँग पारपाचुके गर्छिन् । तर, यी दुईवटा नाटकवीचको समय निकै वर्षको छ ।

आजको क्रान्तिले परिवर्तन ल्याउँछ भन्ने विश्वास र सपना बोकेका तर जिम्मा लिनेले धोका दिएका युवाहरू ‘त्यो आउनेछ,’ ‘एक जुगमा एक दिन एकचोटि आउँछ/ उलट–पुलट, उथल–पुथल, हेरफेर ल्याउँछ’ भनेर लेख्ने कविलाई सम्झेर भेला भएका अनि तिनलाई सम्मान र सम्झना गरेका कुराहरूले मलाई भावुक र द्रवित बनाउँछन् । कविता र राजनीतिक परिवर्तनको अनि कवितामा उद्घोष गरिएको युगको कति सम्बन्ध हुन्छ, त्यो एउटा प्राज्ञिक विषय होला । तर, कविता अनि परिवर्तनका सपना र कल्पनाका रचना गर्ने कवि र तिनका पाठकको सम्बन्धलाई हेर्दा मचाहिँ ती युवाहरूका सपनाको आधार एउटा कवि भएको कुरालाई अत्यन्त महत्त्वपूर्ण मान्छु । नेपालमा गोपालप्रसाद रिमाल त्यही चेतनाका आधार हुन्, प्रतीक हुन् र हुन् एक कालिक चेतनाका स्रोत ।

प्रकाशित : मंसिर ६, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?