काग सम्मेलन

‘यस्तो लाग्छ, मानौं म महान आत्मा हुँ, अरू सबै तुच्छ हुन् । बुद्धि मसँग मात्र छ, अरू सबै मूर्ख हुन् ।’
शरच्चन्द्र वस्ती

काग तिहारको बिहान टपरीमा कागलाई खाने कुरा राखिदिएपछि कतै काग देखिन्छ कि भनेर ऊ आकाशतिर नियाल्दै थियो, गेटबाट ‘काग्–काग्’ को आवाज आयो । उसले पनि हाँस्तै ‘काग्–काग्’ गर्‍यो र गेट खोलिदियो । पाँच जना एकैचोटि भित्र पसे र न्यानो घाममा बगैंचाको टेबुल वरिपरि आसन जमाए ।

काग सम्मेलन

‘चिया केमा मगाऊँ ? कपमा कि गिलासमा ?’ चिरनले सोध्यो । गेट खोल्ने उही थियो ।

‘जेमा मगाए पनि हुन्छ । गाग्रीमा चाहिं होइन,’ एउटाले भन्यो ।

‘किन नि ?’

‘बुद्धिमान कागको कथा बिर्स्यौ ? गाग्रीमा टाउको छिराउन सकिंदैन । ढुंगा हाल्दै गएर तलको चिया माथि आएपछि मात्र खान पाइन्छ । त्यतिन्जेलमा चिया सेलाइसकेको हुन्छ ।’

हाँसोको विस्फोट भयो ।

वर्षमा एकपल्ट काग तिहारका दिन भेला हुने यो सानो समूह थियो । यस दिन उनीहरू एक अर्कालाई कागको भाषामा अभिवादन गर्थे । चिरनको पूरा नाम चिरञ्जीवी थियो, जसको एउटा अर्थ नै ‘काग’ भन्ने हुन्थ्यो । हरेक वर्ष सबैजना उसैकहाँ भेला हुन्थे । सबैभन्दा समृद्ध पनि उही थियो ।

केटाकेटीदेखिका साथी थिए उनीहरू । नाकबाट सिंगान चुहाउँदै, एउटा हातले कट्टु समातेर चुँडिएको चंगा पछाडि दौडिने वेलादेखिका । स्कूल पढ्दा चंगा उडाउँथे । कलेज पढ्दा आकाशपाताल जोडेर अरूलाई उडाउँथे । ‘विद्वान’ भएपछि स्वाभाविक रूपमा आफ्ना चाडपर्वलाई उडाउन थाले । हरेकले एउटा चाडको जिम्मा लिएको थियो, जसलाई उडाउन ऊ स्वतन्त्र थियो । एक जना चिरन मात्र यो धन्दामा थिएन । उसले कुनै चाडलाई उडाउने जिम्मा लिएको थिएन । वर्षमा एक दिन भने उनीहरू एक–अर्कालाई नै उडाउँथे, कागलाई साक्षी राखेर ।

चाडपर्व आउँदा दुनियाँ खुशी हुन्थे, यिनीहरू भने त्यसमा भ्वाङ पार्ने कोशिश गर्थे । जुनसुकै चाडमा पनि एउटा न एउटा कराउन थालिहाल्थ्यो, ‘लौ बर्बाद हुने भो । चाडपर्व भन्दैमा यस्तो पनि गर्न हुन्छ ? खत्तमै हुने भो ।’

‘तिमी पनि अति गर्छौ यार,’ ‘क’ लाई चिरनले भन्यो, ‘केही नपाएर शिवरात्रिमा धुनी बालेको पनि विरोध गर्ने ?’

‘शिवरात्रि भन्दैमा रातभरि मूढा बालेर बस्न पाइन्छ ? यसरी त सारा वनजंगल सखाप हुन्छ । वातावरण विनाश हुन्छ । वनजंगलै रहेन भने पृथ्वी कसरी बाँकी रहन्छ ?’ ऊ जोशियो, ‘त्यसमाथि शिवरात्रिमा गाँजा खान किन छूट ? गँजडी जोगी–संन्यासीलाई सरकारले किन कार्वाही गर्दैन ?’

‘ख’ हाँस्यो, ‘बढ्ता गफ नदेऊ । गएको शिवरात्रिमा गाँजा खाएर रातभरि मृगस्थलीमा जोगीको धुनीमा लड्ने चाहिं को हो ? भोलिपल्ट बिहान मैले नै घिसारेर ल्याएको होइन तिमीलाई ?’

‘त्यति सानो कुरालाई ठूलो नबनाऊ न यार,’ ऊ मुसुक्क हाँस्यो । अनि ‘ख’ लाई दपेट्यो, ‘होलीको विरोधमा तिमी पनि त कम उफ्रँदैनौ नि । जाबो एक दिन खेल्ने रंगसँग पनि कत्रो दुश्मनी त ?’

‘रंगमा कति केमिकल हुन्छ, तिमीलाई थाहा छ ? त्यसले छालामा घाउ हुन सक्छ । आँखालाई नोक्सान हुन सक्छ । कपाल झर्न सक्छ । क्यान्सर पनि हुन सक्छ । होली भनेर आफ्नै जीउ खत्तम पार्ने ?’ ‘ख’ बम्कियो, ‘झन् अर्कालाई रंग लगाइदिनु त मानव अधिकारकै हनन हो ।’

‘त्यही भएर होला, जहिले पनि खुसुक्क हामीकहाँ आएर होली खेल्ने गरेको,’ ‘ग’ ले भनिन्, ‘हाम्रोमा त तिमी पागल जस्तै भएर आफू पनि रंगमा डुब्छौ, अरूलाई पनि डुबाउँछौ नि ।’

‘व्यक्तिगत कुरा नगर न । होलीको मजा त लिनु परिहाल्यो नि,’ उसले उनैलाई प्रश्न गर्‍यो, ‘अनि तिमीलाई चाहिं तीजमा अरू व्रत बस्ता किन कन्पारो तातेको त ?’

‘अर्काका लागि व्रत बस्नु दासता हो । अज्ञान हो । अन्धविश्वास हो । कुरीति हो । मूर्खता हो,’ उनले खरर्र भनिन्, ‘यो नारी जातिकै अपमान हो ।’

‘लौ, आज दिउसै रात पर्ने भो,’ ‘घ’ हाँस्न थाल्यो, ‘मेरी श्रीमतीसँग त फलफूल मात्र खाएर व्रत बसौं है भनेर सल्लाह मिलाएकी थियौ अरे त ?’

‘त्यो त मेरो व्यक्तिगत इच्छा हो नि । म के खान्छु, के खान्नँ, त्योसित अरूलाई के मतलब ?’ उनी झ्वाँक्किइन् ।

‘तिम्रो हिसाबकिताप पनि त कम छैन नि,’ ‘घ’ लाई अर्काले छेड हान्यो, ‘दशैंमा टीका लगाउँदा चामल खेर जान्छ भनेर टीकाकै विरोध गर्ने ?’

‘तीन करोड नेपाली मध्ये दुई करोडले पाँच दिनमा दश घरमा टीका लगाए र एक जनाले निधारमा जम्माजम्मी ५० ग्राम मात्र टीका थाप्यो भने पनि एक हजार टन चामल खेर जान्छ । यो सानो बर्बादी हो ?’ ‘घ’ ले टेबुल ठोक्यो, ‘त्यसमाथि दशैं भनेर जताततै पीङ थाप्छन् । पीङबाट मान्छे खस्यो भने के हुन्छ ? हामी स्कूल पढ्दा हाम्रै पियनको छोरो पीङबाट खसेको होइन ?’

‘त्यसो भए तिमी चाहिं किन शाखासन्तान लिएर ससुराली चहार्दै हिंडेको त ?’, यो ‘ङ’ को छड्के थियो ।

‘म आफ्नो इच्छाले थोडै गएको हुँ । केटाकेटीले मामाघर जाने भने, उनीहरूको इच्छा पूरा गरिदिनुपरेन ?’ ऊ पटक्कै हच्केन । उल्टो ‘ङ’ लाई जिस्क्यायो, ‘तिहार आयो कि तिमी पटका भन्दा चर्को पड्किन थाल्छौ । अर्काले पटका पड्काउँदा किन टाउको दुखाउनु ?’

‘पटका त बन्द गर्नैपर्छ, बत्तीलाई पनि छोड्न हुँदैन । पटकाको आवाजले केटाकेटीको कानको जाली फाट्न सक्छ । उनीहरू बहिरा हुन सक्छन् । बूढाबूढीलाई हार्ट अट्याक हुन सक्छ । जथाभाबी दियो बालेर झिलिमिली पार्छु भन्दा आगलागी हुन सक्छ,’ तिहार लागेकाले ‘ङ’ को जोश चरम चुलीमा थियो, ‘पटका पड्काउँदा हरेक वर्ष देशमा २० जना बच्चाको हात पोलेको तथ्यांक छ । पोहोर साल छिमेकी मुलुकको एउटा घरमा तिहारकै बेला आगो लागेको थियो ।’

‘सब जनाले गजब गरेका रहेछौ । अब एउटा कुरा भन त,’ चिरनले सोध्यो, ‘तिमीहरूले भनेको कति जनाले मानेका छन् ?’

पाँचै जना हानथाप गरेर एकैचोटि बोल्न थाले । तिनको भनाइ थियो— अहँ, कसैले मानेको छैन । हाम्रा कुरा सुनेर हल्ला गर्ने त बढे, तर तिनका कुरा कसैले सुन्दैन । हाम्रै घरमा समेत हाम्रा कुरा कसैले सुनेको छैन ।

‘अरूलाई के भन्छौ, आफू पनि त त्यही ड्याङका मूला रहेछौ नि,’ चिरनले जिस्क्यायो ।

‘सामाजिक कुरा बेग्लै हो, व्यक्तिगत कुरा बेग्लै ।’

यत्तिकैमा खाजा आयो । सबैजना तातो सेल खान थाले । चिरनले फेरि सोध्यो, ‘चाडपर्वको मात्र पछि लागेका छौ कि अरू क्षेत्रमा पनि पस्यौ ?’

‘क’ ले बेलिविस्तार लगायो, ‘वर्ष दिनमा एकपल्ट आउने चाडपर्वले मात्र के पुग्थ्यो ? त्यसैले महिला, दलित, जनजाति, बाल अधिकार र उपभोक्ता अधिकारमा पनि पसेका छौं । यो वर्ष अरू एक एक वटा थप्छौं । सानोमा चंगा लुटेजस्तै त हो नि ।’

‘एक–अर्कालाई कत्तिको सघाउँछौ ?’

‘ख’ अघि सर्‍यो, ‘हामीकहाँ त्यस्तो चलन छैन । अरूका कुरा हेर्ने हाम्रा आँखै हुँदैनन् । उदाहरणका लागि, महिलाको क्षेत्र समातेको छ भने महिलाकै कुरा मात्र देख्छौं । अरूतिर जति ठूलो अन्याय, अत्याचार अथवा अपराध होस्, हामीले देख्तैनौं, सुन्दैनौं, अनि बोल्दा पनि बोल्दैनौं । हामीलाई के मतलब ?’

‘अब दुइटा कुरा भन है त । यो काम गर्दा कस्तो लाग्छ ?’

‘घ’ भन्न थाल्यो, ‘यस्तो लाग्छ, मानौं म महान आत्मा हुँ, अरू सबै तुच्छ हुन् । बुद्धि मसँग मात्र छ, अरू सबै मूर्ख हुन् । चेतना भएको म मात्र हुँ, अरूमा चेतना छैन । तिनले जानेको सत्य, सत्य होइन; मैले जे भन्छु त्यो मात्र सत्य हो । त्यसैले मैले तिनलाई बाटो देखाउनुपर्छ, तिनले मैले भनेको मान्नुपर्छ ।’

‘अरू सबैलाई भरमार गाली गर्छौ । कहिलेकाहीं त अरूले पनि तिमीहरूलाई केही भन्दा होलान् । त्यसवेला कस्तो लाग्छ ?’

‘ग’ ले बताइन्, ‘ओहो, कुरै नगर्नोस् । कसैले छिसिक्क केही भन्यो कि रन्का छुट्छ । जीउ काम्न थाल्छ । ब्रहृमाण्ड नै खलबलिन्छ । मलाई यसो भन्ने त्यसको के हैसियत भन्ने लाग्छ । अर्काका कुरा सुन्नुपर्छ भन्ने नै लाग्दैन, मान्नुपर्छ भन्ने त लाग्ने कुरै भएन । सारा शक्ति लगाएर त्यसलाई त्यतिवेलै चिथोरूँ जस्तो लाग्छ ।’

‘धन्न म यो धन्दामा लागिनछु,’ चिरनले बिट मार्‍यो, ‘यसपालिको भेला अब टुंग्याऔं क्यार । सबैलाई तिहारको शुभकामना । काग्–काग् ।’

सबै जना कुर्सीबाट उठे र भने, ‘काग्–काग् ।’

गेटमा पुग्ने वेला ‘ङ’ ले भन्यो, ‘मलाई एउटा कुरा भन्नु छ ।’

चिरनले सोध्यो, ‘के ?’

‘दुई झोला पटका त मलाई पनि राखिदिनुपर्छ है । नत्र केटाकेटीले मार्छन् । म भोलि लिन आउँछु ।’

‘हाम्रो भाग छुट्ला नि !’ क–ख–ग–घ को मुख एकैचोटि खुल्यो ।

‘काग्–काग्’, चिरन मुस्कुरायो ।

प्रकाशित : कार्तिक २९, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?