इज्जत जोगाउन- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इज्जत जोगाउन

‘बस्न, टिक्न नसकिने भएपछि गरीबहरु लाखापाखा लाग्छन् । अनि हामी गरीबमुक्त नगर घोषणा गर्न सक्छौं ।’
शरच्चन्द्र वस्ती

खाने खाइरहेका थिए, बाँड्ने बाँडिरहेका । सार्वजनिक चउरको एउटा कुनामा मध्य दिउसो चार लहरमा दुई सय जना भन्दा बढी मानिस बसेका थिए र तिनलाई खाना खुवाउँदै थिए, करीब दुई दर्जन स्वयंसेवीहरू । प्लास्टिकको प्लेटमा दाल, भात, तरकारी र अचार ।

खान बसेकाहरूको हालत दयनीय थियो । जिङ्ग्रिङ्ङ कपाल, निस्तेज आँखा, कलेटी परेका ओठ, सुक्तै गएका गाला, रङ उडिसकेका थोत्रा कपडाले ढाक्न खोजिएको जीउ । त्यसरी खानुपरेकोमा ग्लानिले झुकेको शिर ।

तिनीहरू भिखारी थिएनन् । सात महीना अघिसम्म सबैको सानोतिनो कामधन्दा अथवा रोजगारी थियो । कोही मजदूरी गर्थे, कोही रिक्सा चलाउँथे, कोही फुटपाथमा व्यापार गर्थे, कोही गुम्टीमा चिया बेच्थे त कसैको नाङ्लो पसल थियो । अकस्मात् आएको महामारीले हातमुख जोर्ने मेलो ध्वस्त पारेर तिनलाई डेराबाट फुटपाथमा ल्याइदियो । धेरैको परिवारमा कसै न कसैले महामारीका कारण अथवा खान नपाएर ज्यान गुमाइसकेको थियो । बाँचेकाहरूसँग पनि प्राण धान्ने उपाय थिएन । सरकार नभएको देशमा बस्थे, त्यसैले गुहार माग्ने ठाउँ थिएन । केही मनकारीले गरीब–गुरुवालाई एक छाक खाना खुवाइरहेका छन् भन्ने थाहा पाएर लगभग डेढ महीनादेखि उनीहरू यहाँ आइरहेका थिए । कैयौं त डेढ–दुई घण्टा पैदल हिंडेर । तिनको प्राण यसैले जोगाएको थियो ।

यसैबीच हुइँकिएर आएका दुइटा गाडी चउरको बीचमा रोकिए । अघिल्लो, विलासी गाडीको ढोका खुल्यो र त्यसबाट ओर्लिए, सूट–टाईमा सजिएका नगरका मेयर । पछिल्लो गाडीमा आएका प्रहरीहरू उनीभन्दा पहिले ओर्लिसकेका थिए । तिनले स्वयंसेवीहरूलाई मेयरका सामु उभ्याए । खाना बाँड्न रोकियो ।

‘कसको अनुमतिले यहाँ खाना खुवाएको ?’ मेयरले हप्काए ।

‘यो सार्वजनिक स्थल होइन र मेयर साब ?’ अगुवा स्वयंसेवीको स्वर शान्त थियो, ‘आजभोलि त्यसै पनि सुनसान छ । एकछिन खाना खुवाउँदा के बिग्रन्छ र ?’

‘गरीबलाई खाना खुवाएर हाम्रो बेइज्जती गर्ने ?’ मेयर एकाएक आक्रोशित भए र आदेश थिए, ‘बन्द गर यो नौटंकी ।’

‘यो नौटंकी होइन मेयर साब । मान्छे खान नपाएर मरिरहेका छन् । तपाईं त नगरपिता । यो काम तपाईंले नै गर्नुपर्ने होइन र ? हामीलाई धन्यवाद दिनुको साटो किन हप्काउनुहुन्छ ?’

‘नगरमा कोही गरीब छैन । यहाँ कोही भोको हुनुपर्दैन । कोही भोकले मर्दैन,’ मेयरले हुंकार गरे, ‘कोही भोको भए हामी खुवाउँछौं । पर्याप्त बजेट छुट्याएका छौं । निवेदन लिएर मकहाँ पठाइदिनू । छानबीन हुन्छ । भोकले मर्न आँटेको प्रमाणित भयो भने हामी खाना खुवाइदिउँला ।’

खाना खान चउरमा बसेको हर्कमानले मेयरको कुरा सुनेर मुख बिच्क्यायो र पिच्च भुइँमा थुक्यो । दुई महीना अघि ऊ र उसकी श्रीमती तीन दिनको भोको पेटमा निवेदन लिएर मेयरको अफिसमा पुगेका थिए । डेढ सय जनाभन्दा बढीको लाइन थियो । तीन घण्टा लाइनमा बसेर निवेदन दर्ता गरेको भोलिपल्टदेखि छानबीन शुरू भयो । छानबीच तीन दिनसम्म चलिरहेको थियो । यसैबीच १८ जना भोकले मरे, जसमा उसकी श्रीमती पनि थिइन् । उनीहरू भोकले होइन, महामारीले मरेको भनियो । तिनको लाश अरूले छुन हुँदैन भनेर भ्यानमा हालेर अज्ञात स्थलतर्फ पठाइयो । त्यसपछि हर्कमान समेत २० जना छानबीन नगराई भोकै पेट त्यहाँबाट फर्केका थिए । ‘भोकले मर्न आँटेको’ प्रमाणित भएर जसलाई खाना खुवाउन थालिएको थियो, ती पनि नजाने के कारणले हो एक हप्तापछि त्यहाँ जान छोडेका थिए ।

‘आजलाई छोडिदिएँ । भोलि पनि यहाँ देखा पर्‍यौ भने ठीक हुँदैन,’ मेयरले स्वयंसेवीहरूलाई चेतावनी दिए र प्रहरीतिर फर्के, ‘इन्स्पेक्टर साब, कुरा बुझ्नुभो नि ?’

‘बुझें सर,’ उसले स्यालुट गर्‍यो । मेयर गाडी चढे र आफ्नो अफिसतिर लागे ।

अफिसमा वडाध्यक्षहरूसँग उनको विशेष मीटिङ थियो । कुरो गरीबलाई खाना खुवाएकै विषयबाट शुरू भयो । एउटा वडाध्यक्षले भन्यो, ‘तिनीहरूको नियतै हामीलाई बेइज्जत गर्ने हो । नत्र आफ्नो पैसा खर्च गरेर कसले अर्कालाई सित्तैं खाना खुवाउँदै हिंड्छ ?’

‘एक ठाउँमा मात्र हो र, तीन–चार ठाउँमा खुवाउन थालिसके । दुनियाँले हेर्छन् । फोटा खिच्छन् । भिडियो खिच्छन् । पत्रिकामा छपाउँछन् । टीभीमा देखाउँछन् । इन्टरनेटमा हाल्छन् । हामीमाथि हाँस्छन् । कतिन्जेल सहेर बस्नु ?’ अर्काले बह पोख्यो ।

‘मैले आज थर्काएर आएको छु । भोलिदेखि एक्शन शुरू हुन्छ,’ मेयरले आश्वस्त पारे, ‘अब नगरमा कसैले गरीबलाई खुवाउन पाउँदैन । अब हाम्रो बेइज्जती हुँदैन ।’

‘खाना खुवाउन रोकेर मात्र के गर्नु ?’ अर्को वडाध्यक्षले गम्भीर चिन्ता जाहेर गर्‍यो, ‘हाम्रो बेइज्जती गर्नेहरू बढ्दै गएका छन् । जाडो शुरू हुन लाग्यो भनेर केही मानिसले गरीबलाई सित्तैं ज्याकेट र स्वेटर बाँड्न थालेका छन् ।’

‘डेराभाडा तिर्न नसकेर सडकमा आइपुगेका मानिसलाई सामूहिक रूपमा निःशुल्क राख्ने भनेर केहीले घर खोजिरहेको थाहा पाएको छु । तिनले त्यसो गरे भने हाम्रो के इज्जत रहला ?’ अर्को झन् चिन्तित थियो ।

‘महामारीले सरकारी स्कूल बन्द भएपछि ढुक्क भएको थिएँ । मेरो वडामा दुई जना गुरुबाले केटाकेटीलाई सित्तैंमा पढाउन थालेका छन् । टोलेहरू मेरो मुखमा हेर्छन् र हाँस्छन्,’ अर्को वडाध्यक्षले सुस्केरा हाल्यो ।

‘हामीले मास्क धरि दिन सकेका छैनौं । मेरो टोलको एकजना आयुर्वेदिक डाक्टर चाहिं सित्तैंमा ओखती दिन्छ । महामारीबाट डराएकाहरू उसकहाँ धुइरो लागेका छन् । इज्जत जोगाउनै गाह्रो पर्ने भो,’ अर्को झोक्राउन लागेको थियो ।

इज्जतमा चौतर्फी हमला हुन लागेको देखिएपछि बैठकले हमलावरहरूलाई ठीक पार्न मेयरको संयोजकत्वमा गोप्य कार्यदल बनाउने निर्णय गर्‍यो । मेयरले भने, ‘अब हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर यस्ता प्रत्येक कार्य खोजीखोजी बन्द गराउनेछौं र हाम्रो इज्जत जोगाउनेछौं । यसबाट नगरलाई गरीबमुक्त बनाउन पनि ठूलो सहयोग पुग्नेछ ।’

‘कसरी ?’, दुई जना वडाध्यक्षले एकैचोटि सोधे ।

‘खान, लाउन, बस्न, केटाकेटी पढाउन, औषधि उपचार गर्न नसकिने भएपछि गरीबहरू नगर छोडेर लाखापाखा लाग्छन् । अनि हामी आफ्नो शहरलाई गरीबमुक्त नगर घोषणा गर्न सक्छौं,’ मेयर भन्दैगए, ‘त्यसपछि नगरको इज्जत बढाउन मैले दुनियाँको र आफ्नै नगरको इतिहास अध्ययन गरेर विशेष योजना बनाएको छु । त्यसले हाम्रो नगर साँच्चै सुखी र समृद्ध देखिनेछ ।’

मेयरले आफ्नो योजना सुनाएपछि सबै हर्षित भए ।

नभन्दै कार्यदलले साम, दाम, दण्ड, भेद सबै उपाय प्रयोग गरेर नगरका सम्पूर्ण स्वयंसेवी र परोपकारी अभियानहरू तीन महीनाभित्र बन्द गरायो । अधिकांश गरीबहरू टिक्न नसकेर नगर छोडी गाउँतिर लागे । त्यसपछि मेयरको विशेष योजना शुरू भयो । केही महीनाभित्रै नगरमा दुःख, पीडा र गरीबी देखिन छोड्यो ।

के थियो त मेयरको विशेष योजना ?

पहिले नगरमा खासखास विदेशी अतिथि आउँदा बाटोको दायाँ–बायाँ सुन्दर दृश्य अंकित फ्ल्याक्स राखिन्थ्यो र कुरूप दृश्य छोपिन्थ्यो । मध्यकालमा युरोपतिर पनि केही मन्त्रीले राजा–रानीलाई यस्तै पाराले झुक्याएका थिए । मेयरको विशेष योजना यसैबाट प्रेरित थियो ।

जहाँ–जहाँ गरीबका छाप्रा छन्, त्यहाँ त्यहाँ सुन्दर बंगला अथवा बगैंचाका त्रि–आयामिक दृश्य अंकित बोर्ड ठड्याइए । गरीबका टोल यस्ता बोर्डले ढाकिए । चर्केका, भत्केका, खुइलिएका घरहरूमा कतै रङ लगाइयो त कतै बोर्ड नै टाँगियो । नगरमा यत्रतत्र सुरुचिपूर्ण बंगला र रमणीय फूलबारी देखिन थाले । तिनका सामु राम्रा लुगा लगाएका, चिटिक्क सिंगारिएका युवा–युवती बसिरहेका, खाइरहेका, खेलिरहेका, हाँसिरहेका, रमाइलो गरिरहेका हुन्थे । ती नगरपालिकाले खटाएका कर्मचारी हुन्थे, जसको मूल ड्यूटी गरीबहरूलाई बोर्ड कटेर बाहिर आउन नदिनु हुन्थ्यो ।

खास गरी नगरका पर्यटकीय क्षेत्र र मुख्य सडकहरू यसरी सजाइएका थिए । नगरमा थोरै मात्र गरीब बाँकी थिए र तिनलाई ती ठाउँमा निस्कन बन्देज थियो । उनीहरू भित्री गल्लीहरूमा घुम्न मात्र स्वतन्त्र थिए । कथंकदाचित् सडकमा निस्कनुपरेमा मुख धोएर, कपाल कोरेर र आफ्ना छाप्रासामु ठड्याइएको बोर्डमा तैनाथ युवक वा युवतीले दिएको लुगा लगाएर निस्कनुपर्थ्यो, फर्केपछि फिर्ता गर्ने गरी ।

महाराजको सवारी हुँदा र विदेशी पाहुना आउँदा यो झिलिमिली अझ बढ्थ्यो । उनीहरू यदाकदा भित्री गल्लीहरूमा पनि जान चाहन्थे । त्यस्तो बेला अरूतिरका बोर्ड ल्याएर गल्लीलाई सुन्दर बनाइन्थ्यो र गरीबहरूको आवतजावत रोकेर नगरपालिकाका कर्मचारीको चहलपहल बढाइन्थ्यो । यसरी नगरलाई सुखी, समृद्ध र गरीबमुक्त बनाएर मेयरले आफू र आफ्नो शहरको इज्जत बढाएको अनुभव गरे र वडाध्यक्षहरू सहित आफैं दंग परे ।

मेयर हरेक दिन एक घण्टा मर्निङवाक जान्थे । एक दिन झिसमिसेमै मर्निङवाकमा निस्केका उनी चार घण्टासम्म फर्केनन् । परिवार तनावमा पर्‍यो । कता हराए भनेर खोज्दै जाँदा निकै गहिरो ढलभित्र फेला परे । सडक छेउको ढलको बिर्को राति कसैले चोरेर लगेछ र मर्निङवाक जान लाग्दा उनी ढलमा छिरेछन् । क्रेनको सहायताले अर्को एक घण्टापछि मेयर साबको उद्धार गरियो । शायद उनी ढलभित्र आफ्नो इज्जतको गहिराइ नाप्तैथिए ।

प्रकाशित : कार्तिक २२, २०७७ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

साउथह्याम्पटनको शीर्ष स्थानमा छलाङ

रोयटर्स

लन्डन — साउथह्याम्पटन इंग्लिस पहिलो डिभिजनको लिगमा शुक्रबार सन् १९८८ यता पहिलो पल्ट शीर्ष स्थानमा उक्लेको छ । यसका लागि उसले न्युकासल युनाइटेडलाई २–० ले हरायो । चे एडम्सले सातौं मिनेटमा साउथह्याम्पटनका लागि गोल गरे ।

स्टुआर्ट आर्मस्ट्रङले ८२ औं मिनेटमा दोस्रो गोल गरे । लिगमा साउथह्याम्पटनको यो पाँचौं जित हो । टिमले सुरुआती दुई लिग खेल भने गुमाएको थियो । प्रिमियर लिगमा आफ्नो आठ खेलपछि साउथह्याम्पटनको १६ अंक भएको छ ।

डिफेन्डिङ च्याम्पियन लिरभपुल पनि १६ अंकमा रहेको छ, तर साउथह्याम्पटन गोल अन्तरले अगाडि रहेको हो । न्युकासल भने ११ अंकमा ११ औं स्थानमा रह्यो । शुक्रबारको अर्को खेलमा ब्राइटन र बर्नलीले गोलरहित बराबरी खेले ।

प्रकाशित : कार्तिक २२, २०७७ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×