कोभिड–१९ बाट ज्यान गुमाएकालाई किन सम्झने ? - विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ बाट ज्यान गुमाएकालाई किन सम्झने ? 

सदियौंदेखि आफ्नो सांस्कृतिक मूल्य–मान्यताअनुसार गर्दै आएको अन्तिम संस्कार गर्न नपाउँदा आत्माले शान्ति नपाउने हो कि भन्ने चिन्ता सबैमा व्याप्त हुन्छ । तर कोरोना भाइरस संक्रमणले आक्रान्त भइरहेको अवस्थामा त्यस्ता मनोवैज्ञानिक असरहरु तत्कालै बाहिर आइहाल्ने सम्भावना नभए पनि परिवारका सदस्यमा दीर्घकालसम्म रहिरहन सक्छ ।
धिरेन्द्र नाल्बो

मानिस जन्मेदेखि मृत्युपर्यन्त विभिन्न संस्कृति र परम्परामा अनुबन्धित भएर जीवन निर्वाह गर्छन् । बाँचुन्जेल जति काम र उत्तरदायित्त्व निर्वाह गर्छन्, तीमध्ये धेरैजसो व्यक्ति आफ्नो सहज मृत्युको इच्छा गर्नुका साथै मृत्युपश्चात् ‘मेरो अन्तिम संस्कार यसरी गरिदिनू’, ‘मेरो नाममा यस्तो गरिदिनू’ भनेर आफ्नो इच्छा  र चाहना पनि व्यक्त गर्ने गर्छन् ।  

अर्को शब्दमा भन्नुपर्दा हाम्रो समाजमा मृत्यु भएको व्यक्तिको अन्तिम दाहसंस्कारपछि उसको आत्मालाई ‘सम्मान’ गर्ने विभिन्न परम्परा छन् । र, यी परम्परा पूरा गरे मृत्यु भएकाहरुको उचित ‘सम्मान’ र मर्यादा हुन्छ भन्ने विश्वास छ । यो कार्यले परिवारदेखि समाज, समुदाय र राष्ट्रिय स्तरमा महत्त्वपूर्ण समाजिक, सा‌ंस्कृतिक र धार्मिक अर्थ पनि राख्दछ । यो लेखले कोभिड–१९ ले गर्दा मृत्यु भएकाप्रति राज्य, समाज वा सामाजिक संघ/संस्थाले किन राष्ट्रिय तहदेखि सामुदायिक तहसम्म उचित तरिकाले सम्झन र सम्मान दिन जरुरी छ भन्ने कुराको तर्क प्रस्तुत गरेको छ ।

मृत्यु : सामाजिक र सांस्कृतिक व्याख्या

विभिन्न सभ्यतामा सदियाैंदेखि मृत्युको विषयमा आ–आफ्नै सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक तरिकाले व्याख्या गरिएको पाइन्छ । उदाहरणका लागि सती (पतिको मृत्युसँगै आफ्नो ज्यान बलि दिनु), आफ्नो ज्यान आफै लिनुलाई आत्महत्या । युद्ध र ‘क्रान्ति’मा ज्यान गुमाउनेहरुलाई सहिद, वीर भन्ने गरिन्छ भने दीर्घरोगी या बुढेसकालमा ज्यान गुमाउनेलाइ स्वाभाविक मृत्यु भनिन्छ ।

परिवार, समाज र राष्ट्रले मृत्युको (कारणको) आधारमा सम्झने विभिन्न तौरतरिका अपनाएको पाइन्छ । उदाहरणका लागि २००७ सालको क्रान्तिमा ज्यान गुमाउनेहरुका नाममा सहिद गेट बनाइएको छ भने प्रजातन्त्र दिवस मनाएर पनि उनीहरुको स्मरण गर्ने गरिन्छ । माओवादीे द्वन्द्वकालमा ज्यान गुमाउनेहरुको सम्झनामा विभिन्न गेट निर्माण गरिएको छ भने द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’का रुपमा मनाउने गरेका छन् । र, त्यस दिन द्वन्द्वका क्रममा मृत्यु भएका व्यक्तिको सम्झना गर्ने गर्छन् ।

युरोप, अमेरिका र अन्य मुलुकमा विश्वयुद्धमा मारिएका सैनिकको सम्झनामा उनीहरुप्रति समर्पित चिहान देख्न सकिन्छ । यीबाहेक आर्थिक ल्याकत हुनेले मृत्यु हुनेको नाममा विभिन्न संघ, संस्था या चौतारा, फलैंचा र धारा बनाउने परम्परा पनि हाम्रो समाजमा यथावत् छ । यी परम्पराको अर्थ व्यक्ति, परिवार, समाज र राष्ट्रले निधन भएकाहरुलाई उनीहरुको मृत्युको कारणका आधारमा सम्झनु पर्छ भन्ने हो । यसका साथै पारिवारिक, सामाजिक, सांस्कृतिक र राजनीतिक मूल्यमान्यता अलग–अलग भएकाले त्यसका आधारमा मृतकको योगदान र इतिहासलाई जीवन्त राखी, उनीहरुको आत्मालाई शान्ति मिलोस् र आउँदा दिनमा मृतकको योगदानले प्रेरणा तथा सही मार्गनिर्देश गरोस् भन्ने अर्थ पनि रहन्छ । यसबाट मृतकसँग जोडिएका व्यक्ति, परिवार, समुदायदेखि राष्ट्रियस्तरमा पनि एक किसिमको कर्तव्यपरायणताको बोध भई सन्तुष्टि मिल्न जान्छ ।

यो अवस्थामा कोरोना भाइरसका कारणले मृत्यु हुने व्यक्तिहरुलाई परिवार, समाज/समुदाय र राष्ट्रले कसरी लिने त ? यसबारे धेरै किसिमको तर्क–वितर्क छन् । र, भविष्यमा अझै बढी तर्क–वितर्क हुन सक्छ । यहाँ तर्क गर्न खोजिएको विषय कारोनाका कारण मृत्यु हुनेहरुलाई राष्ट्र, समाज र समुदायले यथेष्ट रुपमा सम्मानका साथ सम्झनुपर्छ भन्ने हो ।

किन र कसरी सम्झने ?

यसका दुईवटा मुख्य कारण छन् । पहिलो, कोरोना महामारीविरुद्ध व्यक्ति, परिवार, समुदाय र राष्ट्र एकीकृत रुपमा लडिरहेका छन् । यस अर्थमा फ्रान्सका राष्ट्रपतिले प्रयोग गरेको भनाइ ‘कोरोना भाइरसका विरुद्धको लडाइँ’ यहाँ सान्दर्भिक हुन आउँछ । यसको अर्थ महामारीले सारा देश, व्यक्ति, परिवार, समुदाय र समाज आक्रान्त हुँदा सबैले ऐक्यबद्धताका साथ लड्नुपर्छ र लडिरहेका छन् । यस अर्थमा कोरोना संक्रमणबाट ज्यान गुमाउनु भनेको कुनै एक किसिमको ‘युद्ध’मा ज्यान गुमाएजस्तै हो । यी ज्यान गुमाउने व्यक्तिहरुकै कारण कोरोनासम्बन्धी स्वास्थ्य अनुसन्धानमा महत्त्वपूर्ण भूमिका पुगेको छ

अहिले विश्वका विभिन्न राष्ट्रमा कोरोना भाइरसको खोप र औषधिका विषयमा अनुसन्धान भइरहेका छन् । परीक्षणमा विभिन्न देशका हजारौं मानिसले सहभागिता जनाएका छन् । कोभिड संक्रमण भएका बिरामीहरुले आफ्नो ज्यानको बाजी थापेर परीक्षणमा सहभागिता जनाएर भविष्यमा हुने सक्ने स्वास्थ्य चुनौतीलाई कम गर्न महत्त्वपूर्ण योगदान गरिरहेका छन् । उनीहरुको यो योगदान विश्वका लाखौं मानिसको जीवनका लागि वरदान साबित हुन सक्नेछ । त्यति मात्र होइन, कोरोना भाइरसको संक्रमणबाट निको भएकाहरुले आफ्नो प्लाज्मा दान गरेर कयौं गम्भीर बिरामीको ज्यान पनि बचाइरहेका छन् । सामाजिक विभेदका बाबजुद पनि उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत प्लाज्मा दान गर्ने भनेर सार्वजनिक रुपमा घोषणासमेत गरिरहेका छन् ।

दोस्रो, माथि उल्लेख गरिएअनुसार हाम्रो जस्तो संस्कृति र परम्पराले भरिपूर्ण समाजमा मृत्यु संस्कारले महत्त्वपूर्ण अर्थ राख्छ । गाउँमा होस् या सहरमा सारा काम छोडेर मलामीका लागि आफन्त, नातेदार, छरछिमेकीको दु:खमा साथ दिने हाम्रो गहिरो सामाजिक परम्परा छ जुन परम्परा समाजको अभिन्न अंगको रुपमै स्थापित छ । ‘जिउँदाको जन्ती मर्दाको मलामी’ भन्ने भनाइ त्यही सामाजिक परम्पराबाटै अभिप्रेरित हो । तर, अहिले महामारीका कारण ज्यान गुमाएका व्यक्तिका आफन्त, परिवार र छरछिमेकीले भाइरस सर्न सक्ने कारणले आ–आफ्नो परम्पराअनुसार अन्तिम दाहसंस्कार गर्न पाएका छैनन् जसले गर्दा उनीहरुमा मनोवैज्ञानिक धार्मिक र सांस्कृतिक रुपमा अत्यन्तै गहिरो प्रभाव परिरहेको छ । लिम्बू समुदायमा गरिने मृत्यु–संस्कारलाई नै उदाहरणका रुपमा लिन सकिन्छ ।

लिम्बू समुदायमा जब कुनै व्यक्तिको प्राकृतिक मृत्यु हुन्छ, जमिनमा गाड्नुभन्दा अगाडि गरिने विभिन्न संस्कार छ । तीमध्ये जस्तै, चेधापमा (मृत शरीरलाई समाधिस्थलसम्म लैजान बनाइएको बाँसको बोक्ने साधन) मृत शरीर राखेपछि व्यक्तिको टाउको र खुट्टामा काँसको थाल राखिन्छ । उक्त थालमा मृतकको आत्मा थापिन्छ । यसलाई एकदम पवित्र मानिन्छ । त्यो थाल बरखी गर्ने बेलामा चाहिन्छ जसलाई लिम्बू भाषामा ‘सामदकखोङ’ (मृत्यु भएको व्यक्तिको कुनै पनि किसिमको गहनालाई त्यही थालमा राखेर घरमा ल्याइन्छ र बरखीका दिन अन्य विभिन्न किसिमका खाने कुरासहित मृतकका नाममा चढाएर अन्तिम बिदाइ गरिन्छ) भनिन्छ । यसरी अन्तिम बिदाइ गर्दा मृतकको आत्माले शान्ति पाउने विश्वास गरिन्छ ।

लिम्बूहरुले आफूलाई ‘ढुंगा–माटोको सन्तान’का रुपमा लिने भएका कारण जमिनमा समाधि गर्न कहीँ–कतैबाट बाधाअवरोध नआओस् भनेर माटो मागिदिने परम्परा छ । उक्त माटोमा समाधि गर्नुअघि गरिने कार्य एक महत्त्वपूर्ण परम्परागत प्रक्रिया हो । तर, कोभिड–१९ को महामारीका कारण यस्ता विभिन्न किसिमका परम्परागत संस्कार पूरा गर्नबाट विभिन्न समुदाय वञ्चित भएका छन् । यद्यपि कोभिड–१९ का कारण मृत्यु भएकाहरुको परिवार र आफन्तले राज्यले जारी गरेको नियमलाई पालना गर्दै त्यसैअनुसार अन्तिम संस्कार गर्न दिएका छन् । उनीहरुले कुनै पनि बाधा अवरोध नगरी राज्यलाई कोरोनाविरुद्धको लडाइँमा साथ दिइरहेका छन् ।

यस अर्थमा सामाजिक र सांस्कृतिक परम्पराअनुसार मृत्युसंस्कार गर्न नपाउँदा मृतकका परिवार र उसका नातागोतामा पर्ने गहिरो मनोवैज्ञानिक असरलाई नजरअन्दाज गर्न मिल्दैन । बरु, त्यसरी नजरअन्दाज गर्नु हानिकारक हुन्छ । सदियौंदेखि आफ्नो सांस्कृतिक मूल्य, मान्यताअनुसार गर्दै आएको अन्तिम संस्कार गर्न नपाउँदा आत्माले शान्ति नपाउने हो कि भन्ने चिन्ता सबैमा व्याप्त हुन्छ । तर, कोरोना भाइरस संक्रमणले आक्रान्त भइरहेको अवस्थामा त्यस्ता मनोवैज्ञानिक असर तत्कालै बाहिर आइहाल्ने सम्भावना नभए पनि परिवारका सदस्यमा दीर्घकालसम्म रहिरहन सक्छ । यस कारण कोरोना भाइरसबाट मृत्यु भएकाहरुप्रति राष्ट्र र समाजले स्मरण गर्दै सम्मान गरेमा आफन्त गुमाएका र अन्तिम संस्कार गर्न नपाएका परिवार एवं आफन्तको पीडाप्रति पनि सहानुभूति हुने थियो । त्यसैले राष्ट्र र समाजले भाइरसका कारण मृत्यु भएकाहरुप्रति सम्मान व्यक्त गर्नैपर्छ ।

त्यसो भए के गर्ने ?

कोरोनाको कारणले ज्यान गुमाएका व्यक्तिहरुको विवरण जस्तै– उनीहरुको व्यक्तिगत परिचय खुलाई शिलालेख तयार गरेर स्मारक निर्माण गर्न सकिन्छ । यस्ता स्मारक संघीय सरकारदेखि प्रदेश, नगरपालिका र गाउँपालिकास्तरसम्म निर्माण गर्न सके अझ अर्थपूर्ण हुन सक्छ । यसो गर्न सके सामुदायिक स्तरदेखि राष्ट्रिय स्तरसम्ममा यो महामारीका कारण ज्यान गुमाएहरुको सम्झना जीवन्त रही महामारीका बारेमा चेतना अभिवृद्धि गर्न सहयोग पुग्नेछ । साथै यसबाट राज्यले आफ्ना नागरिकहरुले दिएको ज्यानको बलिदानप्रति सम्मान व्यक्त गरेको अर्थ त लाग्छ नै, व्यक्तिदेखि पारिवारिक, सामाजिक र राष्ट्रिय रुपमा परेको/देखिएको मनोवैज्ञानिक पीडालाई कम गर्न पनि यस्ता सामूहिक प्रयासको महत्त्वपूर्ण भूमिका रहनेछ । यो अभिलेख इतिहासमा रहने कुरा पनि हो ।

यसका अतिरिक्त अस्पतालहरुमा कोभिड–१९ बाट ज्यान गुमाएकाहरुका लागि एक विशेष स्मारक स्थापना गरी उनीहरुको विवरण राख्न सकिन्छ । अन्त्यमा, यस्ता कामले नागरिक र राज्यबीचको सम्बन्ध नजिक बनाउन त सहयोग पुर्‍याउँछ नै, राज्य र समाजमा भविष्यमा आइपर्ने सरुवा रोगहरुसँग लड्नका लागि सदैव तयार रहन पनि उत्तिकै सहयोग पुग्न सक्छ ।

–अमेरिकाको जर्ज मेसन विश्वविद्यालयबाट पीएचडी गरेका नाल्बो सामाजिक, राजनीतिक, प्राकृतिक स्रोतका साथै शान्ति र द्वन्द्वसम्बन्धी विषयमा अनुसन्धान गर्छन् ।

प्रकाशित : कार्तिक ८, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

लिड्ससँग भिल्ला पराजित

रोयटर्स

बर्मिङ्घम — प्याट्रिक बामफोर्डको ह्याट्रिकमा लिड्स युनाइटेडले शुक्रबार राति एस्टन भिल्लामाथि ३–० को जित निकालेको छ । यससँगै लिगमा भिल्लाको शतप्रतिशत जितको यात्रा टुंगिएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगेपछि बामफोर्डले ५५, ६७ र ७४औं मिनेटमा गोल गरे । प्रिमियर लिगमा उनको यो पहिलो ह्याट्रिक हो ।

यो जितपछि लिड्स १० अंकसहित तेस्रो स्थानमा उक्लेको छ । एभर्टन १३ अंकसहित शीर्ष स्थानमा छ । भिल्ला भने १२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित : कार्तिक ८, २०७७ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×