कुक्कु, ह्लासा र कैलाश

मानसरोवर असाध्यै मनमोहक, अन्त नै छैन । मान्छे नहुँदा प्रकृति कसरी हाँस्दो–नाच्दो–गाउँदो रहेछ, यहीँ देख्यौं । पानी यति सफा, पुछ्नै नपर्ने ऐनाजस्तै ।
महेन्द्र पी‍. लामा

सन् २००४ मा सिक्किमको नथुला घाटी भएर तिब्बतसँगको व्यापारमार्ग फेरि खोल्नलाई म एउटा अध्ययन दलको अगुवा भएर ह्लासा पुगेको थिएँ, पहिलोपल्ट ।

कुक्कु, ह्लासा र कैलाश

यो व्यापारमार्गमार्फत व्यापक व्यापार हुने गर्थ्यो, तिब्बत–सिक्किम–कालिम्पोङका व्यापारी र कम्पनीहरूबीच । सन् १९६२ मा भारत–चीन युद्ध सुरु हुनासाथै यो मार्ग बन्द गरियो । बिचल्ली भयो व्यापारी, एजेन्सी, खच्चड/गधामालिक, बैंक र परिवारहरूको समेत ।

धेरै भारतीय व्यापारीहरू तिब्बतमै रहे, कतिपय तिब्बतीलाई भारतमै कैदीसम्म बनाएर राखियो । सन् २००३ मा भारतका प्रधानमन्त्री अटलबिहारी वाजपेयी अनि चीनका प्रधानमन्त्री वेन जियाबाओबीच सम्झौता भएपछि सरकारले हामीलाई यो मार्ग पुनः खोल्नलाई एउटा विस्तृत अनि नीतिगत अध्ययन गर्ने अभिभारा दियो । तिनताक म सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार थिएँ । ६ जुलाई २००६ मा, नभन्दै चौवालीस वर्षपछि यो व्यापारमार्ग खोलियो र व्यापार सुरु भयो । २२ मे २००७ मा कान्तिपुर दैनिकमै प्रकाशित ‘नथुला व्यापारमार्ग’ शीर्षक लेखमा यो मार्ग कसरी, किन खोल्यौं भनेर मैले लेख पनि लेखें ।

पन्ध्र वर्षपछि हामी फेरि ह्लासा पुग्यौं । लामो यात्रा थियो, तीर्थैतीर्थको । गत तीस वर्षमा भगवान्–परमेश्वर–अल्लाह–गुरु–देवीदेवताको दर्शन पनि हुने र ज्ञान पनि बटुल्ने ध्येय लिएर मैले अनेकौं तीर्थस्थानको भ्रमण गरिसकेको थिएँ । तर कैलाश–मानसरोवरको मनोकामना पूरै भएको थिएन । रोममा भ्याटिकन, पेरिसमा नोट्रेडेम, इस्लामावादमा कैशल मस्जिद, क्यान्डी (श्रीलंका) मा टुथ टेम्पल, याङ्गुनमा गोल्डन पगोडा, भोटाङमा टाक्साङ, नेपालमा पशुपति र मनकामना, पटियालामा दुःखनिवारक गुरुद्वारा, सांशी (चीन) मा उताइसानको मैत्रेयी गुम्बा, किओटी (जापान) मा किन्काकुजी, ह्लासामा जोखाङ, गान्तोकमा रुम्तेक र कम्बोडियामा अंकोर–वाट सबैसबैअघि शिर निहुर्‍याइसकेको थिएँ । यी सबै मीठा र मन छुने सुसमाचारहरू दार्जिलिङको महाकाल बाबालाई सदैव सुनाउँथें । विद्यार्थीअघि ज्ञानका पोकाहरू खोलिदिन्थें । कुलदेवतादेखि विश्वसम्मलाई नै विक्षिप्त पार्ने धर्मगुरु र धर्मपुस्तकहरू अघि राखिदिन्थें । अर्थशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, भूगोल, विज्ञान, राष्ट्रिय सुरक्षा र विश्वशान्तिमा यी नरम शक्तिहरूको प्रभावको प्रवाह अलिकति भए पनि बुझाइदिन्थें । यसरी चञ्चलता सलबलाइरहेका तरुण–तन्नेरी विद्यार्थीहरूको मानसपटलमा पाठ्यपुस्तकदेखि धेरै टाढाका अक्षर/वाक्यहरूले खेल्ने मौका पाउँथे र एउटा सानो शरीरको कक्षमा विश्वलाई अँगाल्ने सोचको बीजारोपण हुने गर्थ्यो । हाम्रै पूजनीय विभिन्न धर्मावलम्बी शिक्षाहरूले स्कुलदेखि विश्वविद्यालयसम्मै हामीलाई पनि यही मानवतालाई आलिंगन गरिएका रसायनशास्त्र, दर्शन र मार्ग देखाइदिन्थे ।

अति नै सुरम्य र उज्यालो दिनमा हामी फेरि ह्लासा पुग्यौं । अग्लो उचाइमा श्वास–प्रश्वासमा गाह्रो त पर्ने नै भयो, उमेर पनि छिप्पिएकाले होला । हस्याङफस्याङ नगरी, कम्ती बोलेर, धेरै समय सुतेर, ठीक कुरो खाएर, प्रशस्त पानी पिएर कैलाश–मानसरोवरको यात्रा अघि राख्यौं । तिब्बती साथीहरूसँग त्यहाँको विश्वविद्यालयमा गई एकदुईवटा अध्ययनबारे तर्क–वितर्क प्रस्तुत पनि गर्‍यौं । पन्ध्र वर्षमा ह्लासाको रूपरंग नै फेरिएछ; बेइजिङ, शाङ्घाई र चेङ्दु जस्तै हुन लागेछ । दुःखै लाग्ने गरी विकासले ढाकेछ । फराकिलो बाटो, नयाँ अट्टालिका, विश्वभरि पाइने गाडी–फेसन–रेस्टुराँ, ठूलठूला बिजुली पोस्ट अनि फेरि अनेकौं सीसीटीभीभित्र पस्दा ओशाका–न्युयोर्क–रोम जस्तै लाग्ने भएछ । मन नमीठो भयो । पुरानो तिब्बती गाउँ ह्लासाको मुटु नै मानिने भार्खोरलाई पनि विकासले मिचेछ । ससाना गल्लीमा माझोङ खेल्नेहरू, मा–जा (चिया) समेत लुप्त भएछन् । यहीँ भेटेको थिएँ पहिले मैले एक नामी व्यापारी, डाँडाका घाम भइसकेका धर्मरत्न तुलाधरलाई । उनले नै हामीलाई पुराना व्यापार र व्यापारीका कथाव्यथाहरू सुनाएका थिए । धेरै खोजें मैले उनलाई यस पटक पनि, कहीँ भेटिनँ; कसैले ठिम्याउनै सकेन । नयाँ पिँढीले इतिहास पनि नयाँ नै ल्याएको हो कि जस्तो लाग्यो । चीनको जनसंख्यामा ९० प्रतिशत हान चिनियाँ र १० प्रतिशत तिब्बती जस्तै अन्य जनजाति र धर्मावलम्बीहरू छन् । युनानको कुनमिङमा जस्तै ह्लासामा पनि लछ्रप्पै हान चिनियाँहरू । जोखाङ, पोटाला र नर्बुलिंकामा भने तिब्बती संस्कृति हाँसिरहेको । माओ त्सेतुङको सन् १९६६–७६ को दशकको भयानक र विनाशकारी सांस्कृतिक क्रान्तिमा पनि बचाइएका यी गुम्बा र दलाई लामाका राजदरबारहरूमा तिब्बतीहरू नै ताँत लागेर भ्रमण गर्छन् ।

गोगाङ हवाई अड्डादेखि अलिक परतिर यार्लुङ साङ्पो (ब्रह्मपुत्र) नदी शान्तसँग बगिरहेको थियो । यही नदी सियाङ भएर बग्छ अरुणाचल प्रदेशमा, ब्रह्मपुत्र भएर डिब्रुगढ, असमको बोगीबिल पुलमुनि र बंगलादेशमा जमुना भएर भित्र पस्छ अनि बंगालको खाडीमा गई समुद्रमा विसर्जन हुन्छ । ह्लासाबाट हामी ४,५०० मिटर उचाइमा अवस्थित काम्पाला घाटी पुग्यौं । उकालैउकालो लाग्दा बाटोमा तिब्बती मास्टिफ कुकुरहरूसँग खेल्यौं । अद्भुत आकार, ठूलो शरीर र गह्रौं वजन भएका यी पशुहरू चौंरी गोठका अभिन्न रक्षक हुन् । मान्छे त के, बाघ–भालु पनि सतर्क हुन्छन् मास्टिफको गन्धबाटै । शीतल–शान्त–स्वच्छ यामड्रोक ताल, किर्गिस्तानको इसिक–कुल ताल जस्तै आँखा टट्टाउन्जेल हेरे पनि कहाँ सकिन्छ, थाहै नहुने । तिब्बतलाई यही कारण नै जलमुहान (वाटर टावर) भनिन्छ । र, ताजा पानी भन्नासाथ विश्वले नै तिब्बततिर फर्केर शिर झुकाउँछ । हामी अझै दूर माधुर्यमय करोला हिमनदी (ग्लेसियर) पुग्यौं । हिमपात हुँदै थियो र पनि जुन महिनामै करोला पर्वत कालो थियो । हिउँ पग्लिसकेको थियो । एक जना बज्यैले भनिन्, ‘चालीस वर्षअघि उः त्यहाँ आउँदा हिँड्ने बाटो थिएन । हिउँ टम्मै थियो । कहिल्यै बिलिँदैनथ्यो ।’ आँखैले देख्यौं, मौसम परिवर्तनले पुर्‍याएको आघात । यहीँ पर्वतमै पानी तुरुरु मात्रै बग्ने भएपछि हामीले तलतिर भारत, नेपाल, भुटान, पाकिस्तान र बंगलादेशमा नागपञ्चमी र जलदेवतालाई कति पूजा गर्ने !

यो यात्रा नै सपनालाई विपनामा साकार पार्ने मौका थियो । भारतको अंग्रेज सरकारले राखेको नथुला घाटी भएर व्यापार गर्ने प्रस्ताव तिब्बती राजाले मानेनन् । तर सन् १९०३–४ मा कर्णेल योङहसब्यान्डको नेतृत्वमा गोला–बारुद र सैन्य शक्तिसँगै हमला गर्न पठाइएपछि राजाले तिब्बतको ज्ञानत्से भन्ने किल्लामै आत्मसमर्पण गरे । र नै व्यापार–वाणिज्य सुरु भयो । अंग्रेजलाई तिनताक चीनसँग होइन, रुससँग डर थियो । तिब्बतमा अड्डा जमाएर रुसलाई दक्षिणतिर सैन्य प्रभुत्व जमाउनबाट रोक्नु थियो । यति पढेको र सुनेको थिएँ, ज्ञानत्से पुग्नु नै थियो मलाई ।

ओहो, ज्ञानत्सेको किला एकएक गरी नियालेर हेरें । कुमबुम गुम्बाको टुप्पोमा गएर किला र सहरलाई हेरें, उज्यालोका निम्ति सूर्य नमस्कार गरें । हामी अर्को ऐतिहासिक नगर सिगात्से पुग्यौं । चीन सरकारले पहाडको चुचुरो हुँदै शांघाईदेखि ह्लासासम्म सन् २००६ मा ल्याएको रेल लाइन अहिले सिगात्सेमा पुर्‍याएपछि भारतको नथुला र नेपालको तातोपानीसम्म ल्याउने तरखरमा छ । त्यहाँबाट माउन्ट एभरेस्टको बेसक्याम्पसम्म पुग्ने ३२५ किलोमिटरको फराकिलो बाटो पनि पनि बनेको छ । सिगात्सेमा हामी धेरै अलमलियौं । याग शा (चौरीको मासु), रा र लुग शा (बाख्रा र भेडा), का शा काम पो (सुकाइएको मासु) बाटैभरि सलबलाइरहेका । लाली चढेका ससाना केटाकेटीहरू रेस्टुराँमा खानुमा भन्दा मोबाइलमा झुन्डिएको, नेपालीहरूले आफ्ना रेस्टुराँमा मुस्ताङको आलु र नेपाली थाली अघि राखेको र नरम दूध छुर्पी मुखमै बिलाएको दृश्य र महसुसले अब चाहिँ तिब्बतभित्रै रहेछु जस्तो लाग्न थाल्यो । सन् १४४७ मै त्यति उचाइमा पञ्चेन र दलाई लामाहरूका निम्ति निर्माण गरिएको टासी ल्हुन्पो गुम्बाभिर पस्दा दार्जिलिङमा सन् १९६०–७० को दशकमा तिब्बती साथीहरूसँग खेलेको झलझली सम्झना आयो । बाहिर निस्कनासाथ अचम्मै भयो । एउटा रूखमा कुक्कु चरी चिच्याई–चिच्याई सुरिलो आवाजमा कुक्कु–कुक्कु भन्दै बोल्न लाग्यो । हाम्रो तिब्बती साथी आँखाभरि आँसु जमाएर नतमस्तक भयो । उसलाई सोध्यौं के भयो भनी । उसले प्रफुल्लित हुँदै भन्यो, ‘हामी तिब्बती बौद्ध धर्मावलम्बी भोजन गरेर मन्दिरमा जाँदा कुक्कु चरीको त्यस्तो उल्लसित ध्वनि सुन्न पाए आफूलाई अत्यन्तै भाग्यमानी मान्छौं ।’ बौद्ध धर्म र प्रकृतिको समागमको अर्को सग्लो उदाहरण थियो यो ।

सिगात्सेबाट गाडीमा लगभग ४५० मिलोमिटर अघि हिँडेपछि सागा पुग्यौं । बाटोमा नेपालतिर लाग्ने राजमार्ग, शांघाईदेखि ५,००० किलोमिटर टाढा छौं भन्ने जनाउ दिएको सुन्दर विश्रामकेन्द्र र सौर्य बिजुलीका ठूलठूला पोस्टहरू देख्यौं । अक्सिजनका ससाना सिलिन्डरसँग कहिलेकाहीँ लाप्पा खेल्नुपर्थ्यो, आफूलाई बचाउन । यहीँ आएर महसुस हुन्छ, अक्सिजनको मूल्य कति रहेछ भनेर । दार्जिलिङमा चोखो अक्सिजन निःशुल्क चालै नपाई निलिरहेका हुन्छन् गाउँलेदेखि पर्यटकसम्मले । सागाको होटलमा भारतीय तीर्थयात्रीहरूको घुइँचो । ल्याउने–लैजाने सबै नेपालका पर्यटन एजेन्सीहरू । त्यहाँ पनि भुकभुक उम्लेको असमको सीटीसी चिया र ब्रिटानियाको मारी बिस्कुट । कोही थाकेर आलसतालस, कोही डर र त्रासले सिकिस्त । पाँचवटा मार्ग खोलिएका छन्, यो तीर्थयात्राका निम्ति ।

काठमाडौं–केरुङ, नेपालगन्ज–ताक्लाकोट, सिमकोट–पुराङ, काठमाडौं–ह्लासा र गान्तोक–सिगात्से । सबैलाई सागा पुग्नैपर्छ । जीवनभरि शुद्ध मांसाहारी मैले यस तीर्थयात्राका निम्ति एक वर्ष नै आफूलाई विशुद्ध शाकाहारी बनाएँ । अलिक गाह्रै पर्‍यो, फाक शा (सुंगुर), लाङ शा (गोरु), याग शा (चौंरी) मात्रै पकाउने रेस्टुराँहरूमा खान । कहिलेकाहीँ झो खो (आलु), ते–मा सो–पा (मटर) र पे–शे (साग) पाउँथें, तर साम्पाको ढिँडो र डे (भात) ले नै अघाउँथें । चीनको विकासको सीमा नै छैन । त्यस्तो उचाइमा दिल्ली–आगराको जस्तै राजमार्ग, बिजुली प्रशस्तै, फोर–जी मोबाइल कनेक्सन र सबै अन्य सुविधाहरू । मेरो पहाडको गाउँमा टु–जी पनि राम्रो पुग्दैन । सागाबाट हिँडेपछि बीचैमा जिमा–याङजोङ हिमपर्वत, जहाँ ब्रह्मपुत्र नदीको उद्गम हुन्छ । चारैतिर नांगा पर्वत, नीला भेडा, चौंरी गाई, जंगली गधा, आकाशमा चील अनि फेरि टलल टल्कने सुनौलो रंगको बालुवा । त्यही दिन ब्रह्मपुत्रको उद्गमस्थलमै इद–उल–फित्र, विश्व पर्यावरण दिवस र छोरी टोटालाको जन्मदिवस । बालुवाको स्वच्छ होली खेल्यौं र प्रकृतिसँग हातेमालो गर्‍यौं । अलिक परतिर कैलाश पर्वतको चुचुरो देख्यौं । पर्वतको फेदीमा थारचेन गाउँमा पुगेपछि ढुक्क भयो । ब्रह्मपुत्र नदीका शाखा/पोषक नदीहरू सुकेको भयावह दृश्यले हामी विचलित थियौं । यहीँ यस्तो अवस्था भएपछि हामी भारत र बंगलादेशले के गर्ने ! चीनले याङ्जे नदीलाई उल्टा दिशातिर लगेर बेइजिङ, शांघाई आदिमा पानी पुर्‍याएझैं, ब्रह्मपुत्रको पनि यसरी दिशा बदलिदिए के होला ?

मानसरोवर असाध्यै मनमोहक, अन्त नै छैन । यस तालको तटमा धेरै हिँड्यौं, चराचुरुंगीसँग खेल्यौं । मान्छे नहुँदा प्रकृति कसरी हाँस्दो–नाच्दो–गाउँदो रहेछ, यहीँ देख्यौं । पानी यति सफा, पुछ्नै नपर्ने ऐना जस्तै । सेतो पर्वतको आडमा दिनरात छचल्किरहन्छ यो ताल । हाम्रा तीर्थयात्रीहरू तालमा नुहाएको तिब्बतीहरूलाई पटक्क मन पर्दैन । मापाम चुन सो नामक यस तालमा मैले एउटै प्रार्थना गरें, एउटै आश्वासन मागें । गाङ रिम्पोछे (कैलाश पर्वत) ले अति नै आकृष्ट पार्ने । जसले जे सोचे पनि यो पर्वतमा देखिने । खोला, भन्ज्याङ, किल्ला, मन्दिर, त्रिशूल, परिवार, प्रभु–बुद्ध–ब्रह्मा–नानक– मुहम्मद सबैसबै । कैलाश पर्वतको वरिपरि ५४ किलोमिटरको कोरामा धेरै बिमार भए, कतिले शरीरलाई आहुति दिए । हामी पनि केही त्याग्न तत्पर भयौं । बिस्तारै हिँड्यौं । तिब्बतीहरू भुइँमा लम्पसार भएर बिस्तारै अघि बढ्छन्, महिनौं लाग्छ कोरा सक्न, तर किञ्चित् हिचकिचाउँदैनन् । एउटा अर्को सपना साकार भयो, एउटा कल्पना यथार्थमा परिणत भयो । गाङ रिम्पोछेअघि ढोग गरें, धूप जलाएँ, सरस्वती र लक्ष्मीहरूका तस्बिर चढाएँ । हाम्रो छुट्टै राज्य गोर्खाल्यान्डका निम्ति शहीद हुनेहरूका निम्ति खादा अर्पण गरें, लेखेर नै; उनीहरूका परिवारका निम्ति प्रार्थना गरें । त्यहाँ पनि हिउँ पग्लिँदै गरेको स्वच्छ पानी चढाएर एउटै कुराको कामना गरें– हाम्रो छुट्टै राज्य, सबै जात–जाति–धर्म–भाषाका लागि दार्जिलिङ र डुवर्स मिलाएर असम–बंगाल–महाराष्ट्र झैं एउटा आफ्नै राज्य । कैलाश पर्वत अति उज्यालो थियो, मुस्कुराइरहेको थियो, भारतबासी र विश्वबासीलाई आशीर्वाद दिँदै थियो । मेरो त भक्कानो नै फुट्यो, इष्ट–मित्र–गुरु–विद्यार्थी–माता–पिता–बाजे–बज्यै–सविना–काफल–टोटाला–परिवार सबैको नाममा आँतैबाट नमस्कार गरी बिदा मागें ।

प्रकाशित : कार्तिक ४, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?