महामारीविरूद्ध चीनको शैक्षिक मोर्चा- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीविरूद्ध चीनको शैक्षिक मोर्चा

चीन बालबालिका देशका भविष्य हुन् र उनीहरूमा कुनै पनि महामारीविरूद्ध लड्ने साहस तथा कर्तव्यभाव जगाउनुपर्छ भन्ने सन्देश दिन सफल भएको छ ।
लक्ष्मी लम्साल

चीनमा सेप्टेम्बरदेखि नयाँ शैक्षिक सत्र सुरू हुँदाका प्रारम्भिक कक्षाहरू  सरसफाइसम्बन्धी थिए । कोभिड-१९ महामारीपछि चीनका विभिन्न प्रान्तमा नयाँ सेमेस्टर प्रारम्भ हुँदा विश्वविद्यालय, माध्यामिक, प्राथमिक र शिशु कक्षामा सहभागी ३० करोड शिक्षक तथा विद्यार्थी फेरि कक्षा कोठामा फर्किँदाको ध्यानाकर्षक पाठ नै महामारी रोकथामको विषय बन्यो ।

यसबाट दिन खोजिएको सन्देश थियो कि बालबालिका देशका भविष्य हुन् र उनीहरूमा कुनै पनि महामारीविरूद्ध लड्ने साहस तथा कर्तव्यभाव जगाउनुपर्छ।

अक्टोबर १५ मा विश्व हात धुने दिवस मनाइन्छ। विश्वव्यापी हात धुने चलन सामान्य कुरा हो तर यसको प्रभावबारे हेक्का नराखिएकोले पानीले हातको स्पर्श गर्नुलाई मात्रै हात धोएको ठान्ने भ्रम हुन्छ। विशेषगरी सफा पानीले साबुन वा स्यानिटाइजर लगाएर हात धुँदा ब्याक्टेरिया हटाउन सकिन्छ, सही ढंगले हात मिचिमिची धुने हो भने स्यानिटाइजर र साबुनको प्रभावकारिता उत्तिकै हुन्छ।

कीटाणुको धुलाई साबुन वा स्यानिटाइजरको प्रयोगले नगर्ने हो भने निमोनिया र झाडापखालाले अकालमै बच्चाको ज्यान जानसक्छ। तथ्यांकअनुसार प्रतिवर्ष ३.५ मिलियन बच्चाहरूले आफ्नो पाचौं जन्मोत्सव पनि मनाउन पाउँदैनन्। हात धुनाले छाला संक्रमण, आँखा, पेटभित्र छिर्ने परजीवि, सार्स, बर्ड फ्लुको रोकथाम हुन्छ। भीडभाड र ठूलो जनघनत्व भएका ठाउँमा हात धुनु रोकथामको उपाय भएको अध्ययनले नै पुष्टि गरिसकेको छ। शौचालय गएपछि, खाना छुनुअघि र दिसापिसाबपछि हात धुनु सामान्य खर्च हो तर अर्थतन्त्र र सामाजिक स्वच्छताका हिसाबमा ठूलो अर्थ हो।

स्वास्थ्य संरक्षणको सही र सबैभन्दा सस्तो विधि हुनुका साथै बालबालिका परिवर्तनका ‘एजेन्ट’ भएकाले पनि महामारीप्रति सजगता अपनाउन चिनियाँ शिक्षालयहरूले यसलाई ध्यानाकर्षणको विषय बनाएको हुनुपर्छ। ८ महिनापछि स्कुल फर्किएका बालबालिका, विद्यार्थीहरू एउटा महत्वपूर्ण सचेतनाबाट शैक्षिक जीवनलाई गति दिइरहेका छन्।

सेप्टेम्बर १ तारिख हुबेइ प्रान्तको वुहान सहरस्थित चीन किन्डरगार्टनको ढोका खुल्नेबित्तिकै प्रत्येक बच्चाको स्वास्थ्यकोड स्क्यान, ज्वरोमापन, हातमुखको स्वास्थ्य परीक्षण, हात र जुत्ताको कीटाणुशोधन तथा पुनः शारीरिक तापमान परीक्षणसहित ६ वटा प्रक्रिया पूरा गर्नुपर्छ । यसका साथै हरेक बच्चाको स्वास्थ्य प्रतिबद्धता पत्रमा एक हप्तामा बच्चाको शारीरिक तापक्रम र बाहिर जाँदाको विवरण भरिन्छ। यसको अर्थ हो, जतिसुकै स्वच्छन्दतामा पनि स्वास्थ्यप्रतिको संवेदनशील बन्‍नुपर्छ।

तस्बिर : सिन्ह्वा

नयाँ सेमेस्टरमा बालबालिकाको पहिलो ज्ञान महामारी रोकथामसँग जोडियो। हात धुन आकर्षित गर्नका लागि साना साना कक्षामा कार्टून चित्र प्रस्तुत गरियो। शीर्षक थियो, ‘हात धुन मनपर्छ।’ यसबाट बच्चाहरूमा सही ढंगले हात धुन मन लागोस् र कोरोना भाइरस फैलिने तरिका रोकथाममा जागरूकता आओस् भन्ने देखाउन खोजिएको छ।

माध्यामिक कक्षाहरूमा सही ढंगले मास्क लगाउने तरिका सिकाइयो। त्यस्तै उच्च कक्षाहरूमा चिकित्सकसँग जोडिएका कहानीहरू सुनाइयो। वुहानको शिशु विद्यालयका शिक्षक हु मनले भन्छन्, ‘अन्ततः वुहान महामारीको पञ्जाबाट फुत्किन सफल भयो। बालबालिकाले आफ्नै आँखाले यो दृश्य देखेका छन्। भविष्यमा यी बच्चाहरूले स्वास्थ्य महामारीका बारेमा अधिक जानकारी लिन सकून् र आनन्दमय समय बिताउन पाउन्।’

अहिले चीनमा कम भए पनि विश्वजगतमा कोरोना महामारीको वितण्डा साम्य भएको छैन। हिउँदमा फ्लूको फैलावट अझ रफ्तारमा हुन सक्नेछ। महामारीको रोकथाम र जनचेतना फैलाउन विद्यार्थीहरू सबैभन्दा प्रभावकारी ‘दूत’ हुन्। संक्रामक रोगको रोकथाम तथा नियन्त्रणसँग जोडिएका जानकारीहरू सिकाउनु र आम जीवनमा राम्रो बानीको विकास गर्नु समाजका लागि पनि हितकारी हुने कुरा चिनियाँ शिक्षालयहरूले ठानेका छन्।

नेपालमा महामारी देखा परेपछि दैनिक गुजारा गर्नेहरूको जीवन कष्टप्रद भइरहेको छ भने शैक्षिक क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ। कमजोर स्वास्थ्य पूर्वाधारका अलावा शिक्षालयमा पनि सुरक्षाको ग्यारेन्टी छैन। कक्षा सञ्‍चालनपूर्व सबै तयारी र गम्भीरतापूर्वक महामारी रोकथामलाई पूर्वसर्त बनाइनैपर्छ। कक्षाको प्रथम प्रहरचाहिँ स्वास्थ्य विषयमै केन्द्रित हुनुपर्छ जसका लागि स्वयं शिक्षक प्रशिक्षित हुनु जरूरी छ। संक्रामक रोग रोकथाम तथा सम्बन्धित जानकारीका बारेमा शिक्षक वर्गलाई पनि भरपूर जानकारी प्राप्त छैन भन्ने उदाहरण त शिक्षक स्वयंले लगाउने नाकमुन्तिरको मास्क र अपनाउने बेढंगका तौरतरिकाले नै खुलाउँछ।

बेइजिङमा ८ महिनापछि प्राथमिक स्कुलका दोश्रो, तेश्रो र चौथो ग्रेडका विद्यार्थी औपचारिक रूपमा विद्यालय फर्किँदा पहिलो विशेष कक्षा लेख तथा चित्रमार्फत् रक्षात्मक सामग्री कसरी तयारी गर्ने भनेर प्रशिक्षित गरियो । मास्क लगाउने, हात धुने, खाना खाने, हिउँद याममा संक्रामक रोगबाट कसरी बच्ने जस्ता कक्षाका मुख्य पाठ बने । यसबाट महामारीको सामना गर्ने क्षमता विकासका लागि सचेत पुस्ताको अपेक्षा गरिएको हालै मात्र चीनको ‘जनताका वीर’ नामक राष्ट्रिय पदवीबाट विभूषित चिनियाँ इन्जिनियरिङ एकेडेमीका प्राज्ञ च्याङ पो लीले बताए ।

उत्तरपूर्वी ल्याउनिङ प्रान्तको तालियान सहरस्थित कोची माविको एउटा प्राथमिक भागको कक्षाको पहिलो विषय थियो, महामारी विरूद्ध लड्ने वीरहरूसँग साक्षात्कार । त्यहाँको परम्परागत चिकित्सा विभागका डाक्टर च्याङ ख्वाइच्युनले अनुभव सुनाए, ‘लालटिन पर्वको रात वुहानको लेइशनशान अस्पतालमा सहायताका लागि पुगेका ५० दिनहरू चिन्ता, त्रास, उदासी, गाली, ताली, सम्मान सबै प्राप्त हुनु व्यावसायिक जीवनको अविस्मरणीय घटना थियो ।’

नेपालमा महामारीको लामो समयमा चिकित्सकका बहादुरीका गाथा संग्रहित गर्न ढिलो भइरहेको छ । जब कि यिनै चिकित्सकका अनुभवबाट नयाँ पाठ्यक्रम तयार हुनसक्छ र भविष्यका लागि सबक सिक्ने माध्यम । सरकारको फितलो समर्थनका बाबजुद सर्वसाधारणको जीवनका लागि ‘सुपरम्यान’ बनेका चिकित्सकहरू कुनै पनि हालतमा ओझेलमा पारिनुहुन्न ।

चिनियाँ शैक्षिक सत्रको प्रारम्भ यहाँका विद्यार्थीका लागि रोचक, चेतनामूलक र हृदयविदारक भएको छ। उनीहरूले कोरोनाविरुद्ध लड्नेहरुका कथाबाट प्रेरणा पाएका छन् । जस्तो कि आन्ह्वी चिकित्सा विश्वविद्यालयको नयाँ सेमेस्टरमा सहभागी विद्यार्थीका कोरोनाविरूद्ध चिकित्सकका पौठेजोरीका कथा सुन्दा आँखा रसाए ।

क्वाङ्चौको एउटा प्राथमिक स्कुलमा विद्यार्थीहरूले चिकित्सक, सुरक्षाकर्मी, जनमुक्ति सेना, सामुदायिक बस्तीमा काम गर्ने कर्मचारीले महामारीसँग जुध्दाका कथा सुनाए। उनीहरूको निस्वार्थ समर्पण तथा आपसी प्रेमभाव देखेर बच्चाहरूको दिमागमा नयाँ छाप छोडिएको छ।

अस्पतालमा सामग्रीको अभाव, अत्यासलाग्दो समयमा चिकित्साकर्मीहरू चाउचाउ र अचारमा निर्भर, दिनभरि पीपीई धारण, पानी पनि पिउन नपाउने अवस्थाका बीच जब काम पूरा हुन्थ्यो, अस्पतालबाट बिरामी स्वस्थ भएर फर्किन्थे, यो जस्तो चरम आनन्द उनीहरूको जीवनमा अर्को हुँदैनथ्यो ।

यस्ता किस्साहरू सुनेर चिनियाँ विद्यार्थीका प्रारम्भिक कक्षाहरू भावुकता र राष्ट्रप्रेमले भरिएका छन्। यो यही अवस्था हो, जतिखेर सारा देशवासीको मनमुटु एकाकार हुनुपर्छ, संयुक्त रूपमा कोभिडविरूद्धको मोर्चा तयार पार्नुपर्छ।

प्रकाशित : आश्विन २९, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्

चीनमा ५ वर्षमा ५ करोड मानिस गरिबी मुक्त

लक्ष्मी लम्साल

बेइजिङ — पाँच वर्षभित्रमा ५ करोडभन्दा बढी ग्रामीण क्षेत्रका जनता गरिबीबाट पूर्णतः मुक्त भएको चीनले दाबी गरेको छ ।

चीनको तेह्रौं पञ्चवर्षीय योजना (सन् २०१६-२०२०) भित्रमा यति ठूलो उपलब्धी हात लागेको आइतबार चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् २०१६ मा चीनको गरिबी दर ४.५ प्रतिशत रहेकोमा सन् २०१९ मा ०.६ मा झरेको थियो । चीनले सन् २०२० भित्र समग्र चीनभरिको गरिबी उन्मूलन गर्ने घोषणा गरेको छ । यदि यो योजना सफल भएमा संयुक्त राष्ट्रसंघको सन् २०३० दिगो विकासको एजेण्डा पनि १० वर्ष अगावै चीनले हासिल गरेको हुनेछ ।

चीनको राष्ट्रिय गरिबी संख्या ब्यूरोको तथ्यांक अनुसार यो पञ्चवर्षीय अवधिमा चिनियाँ गरिबको आम्दानीमा व्यापक वृद्धि भएको छ । सन् २०१६ मा प्रतिव्यक्ति आय ४ हजार १ सय ४२ युआन (चिनियाँ मुद्रा) रहेकोमा सन् २०१९ मा ९ हजार ५७ युआन पुगेको छ । आयको औसत वार्षिक वृद्धिलाई ३० प्रतिशतमा पुर्याएको चीनले गरिब लक्षित आयमूलक संरचनालाई सरलीकृत गरेको र जनता स्वयं गरिबीबाट मुक्त हुने उपायहरू अवलम्बन गरेको छ ।

चीनको गरिबी निवारणको रणनीतिलाई विश्वका विभिन्न अर्थशास्त्रीहरूले उच्च प्रशंसा गर्न थालेका छन् । यस वर्ष कोरोना महामारीका कारण चीनले वार्षिक वृद्धिदर निश्चित गरेको छैन भने आर्थिक गतिविधि तुलनात्मक सुस्त भएको छ । यद्यपि महामारी नियन्त्रणमा सफल हुँदै गएको चीनले आर्थिक उत्पादनलाई पुनः तीव्रता दिन थालेको छ ।

प्रकाशित : आश्विन २५, २०७७ १८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×