त्यो अनशन, यो अनशन- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्यो अनशन, यो अनशन

भित्री कोठामा फेरि हल्ला शुरू भयो । वरिष्ठ नेताको उत्तेजित स्वर सुनियो, ‘जनप्रतिनिधि त हामी हौं । जनताका कुरा गर्ने त्यसको के हैसियत ? जाबो एउटा डाक्टरले दुई तिहाइको सरकारलाई चुनौती दिने ?’
शरच्चन्द्र वस्ती

बूढा डाक्टर चार हप्तादेखि अनशनमा थिए । जीर्ण शरीर धरापमा परेपछि तीन हप्ता अघि अस्पताल ल्याइएका । सास फेर्न गाह्रो हुन थालेको थियो । बीचबीचमा बेहोश हुन्थे, तर माग पूरा नभएसम्म अनशन छोड्न तयार थिएनन् ।

अस्पताल बाहिर उनका समर्थक चिन्तित मुद्रामा उभिएका थिए, ‘डाक्टरको माग पूरा गर’ लेखिएका प्लेकार्ड बोकेर । प्रहरी उनीहरूलाई लाखापाखा लगाउन ताउरमाउर गर्दै थियो ।

‘डाक्टरले के माग राखेका हुन्, नानी ?’ आफ्नो उपचारका लागि अस्पताल आएकी एकजना

वृद्धाले कम्मरमा हात राखेर ढाड सोझ्याउन कोशिश गर्दै सोधिन् ।

‘गरीबले पनि औषधि उपचार पाउनुपर्छ, तिनका छोराछोरीले पनि डाक्टरी पढ्न पाउनुपर्छ भन्ने त हो नि आमा !’ प्लेकार्ड बोकेकी एकजनाले जवाफ दिइन् । सेतो एप्रोनले जनाउँथ्यो, उनी पनि डाक्टर हुन् ।

‘आम्मै, कति राम्रा माग । यस्ता माग राखेर अनशन गर्ने डाक्टर त देउतै होलान्,’ वृद्धा भावुक भइन्, ‘तर यो त सरकारले आफैं अघि सरेर गर्नुपर्ने काम होइन र नानी ?’

‘कहाँ गर्छ आमा, सरकारले ? त्यसैका लागि अनशन बसेर मान्छे मर्न लागिसक्ता त कानमा बतास लाग्या छैन ।’

‘कस्तो नकच्चरो त । लाजैमर्दो,’ वृद्धाले मुख बिच्क्याइन् र हात तेर्स्याइन्, ‘खोइ, ल्याऊ त त्यो तिमीले बोकेजस्तो एउटा मलाई पनि । आज म पनि तिमीहरूसँगै उभिन्छु । आफ्नो ओखती बरु भोलिपर्सि गर्दै गरौंला ।’

अनि बूढीमान्छे पनि प्लेकार्ड बोकेर उनीहरूसँगै उभिइन् ।

एउटैखाले मागका लागि बूढा डाक्टरको यो उन्नाइसौं आमरण अनशन थियो । अर्थात् अठार पटक उनले सरकारबाट धोखा पाइसकेका थिए । सरकार माग पूरा गर्छु भन्थ्यो, उनी अनशन तोड्थे, अनि सरकार कानमा तेल हालेर सुत्थ्यो । अलिक दिनपछि फेरि अनशन बस्थे, फेरि त्यही कथा दोहोरिन्थ्यो ।

म उनलाई हेर्न अस्पताल पुगेको थिएँ । भित्र छिर्न नपाइने भएपछि फर्कन लाग्दा देखें, छेउको एउटा रेस्टुराँमा दुई जना सेतै कपाल फुलेका बूढा चिया खाइरहेका रहेछन् । एक जना मलाई पढाउने सर हुनुहुन्थ्यो, नामी शिक्षाविद् । अर्को कुइरे थियो, चाउरीले मुजैमुजा परेको अनुहारमा झ्याप्प सेतो दारी पालेको । हेर्दै बौद्धिक लाग्ने ।

मलाई पनि चिया खान मन लागेको थियो । त्यतै लागें र ‘नमस्कार सर’ भन्दै एउटा कुर्सीमा बसें । कुइरे भन्दैथियो, ‘जसरी पनि बचाऊ यिनलाई...’

उसले पुलुक्क मेरो अनुहारमा हेर्‍यो र प्रश्नवाचक दृष्टि सरतिर फर्कायो । उसलाई मेरो परिचय दिएपछि सरले भन्नुभयो, ‘उहाँको नाम अल्बर्ट । जर्मन नागरिक । बोन युनिभर्सिटीको प्रोफेसर इमेरिटस । ९२ वर्षको हुनुभयो । हिटलरको शासन आफ्नै आँखाले देखेको, भोगेको मान्छे हुनुहुन्छ । हामी अनशनकारी डाक्टरलाई भेट्न आएका, भित्र जान पाइएन । उहाँकै बारेमा कुरा गर्दैथियौं ।’

बूढा अल्बर्टले फेरि भने, ‘जसरी पनि बचाऊ यो डाक्टरलाई । नत्र हामीकहाँ जस्तै होला । यहाँको परिस्थिति पनि उस्तै देख्तैछु ।’

‘कस्तो उस्तै भन्नुभएको ?’ मैले उत्सुकता देखाएँ ।

‘मैले हिटलरको वेलाको जर्मनीको कुरा गरेको बाबु,’ उनको बोली कताकता कामेजस्तो लाग्थ्यो, ‘उसवेला हामीकहाँ पनि चर्को राष्ट्रवादको नारा लगाएर हिटलर सत्तामा पुग्यो । ऊ पनि राष्ट्रिय समाजवादको गफ दिन्थ्यो । तर उसको गफाडी राष्ट्रवाद गुण्डा, भ्रष्ट र चापलूसहरूको संरक्षणमा केन्द्रित थियो । यहूदीहरूको निर्मम दमन र हत्या नै उसको समाजवाद थियो ।’

उनी भन्दैगए, ‘त्यसवेला म भर्खर १६ वर्ष पुगेको थिएँ । भारतमा गान्धीले सत्याग्रह गरिरहेका थिए । त्यसबाट प्रेरित भएर मेरा काका पनि शैक्षिक सुधारको माग राखेर आमरण अनशनमा बस्नुभयो । तर हिटलरका मन्त्री र सल्लाहकारहरूले उहाँलाई विदेशीको दलाल, जासूस र राष्ट्रविरोधी भनेर सुनिनसक्नु गाली गरे । काकाको समर्थन गर्नेहरू नाजी गुण्डाहरूको आक्रमणमा परे । एक दिन...’


यत्तिकैमा रेस्टुराँको भित्री कोठामा हल्ला शुरू भयो । कोही टेबुल ठोकेर चिच्यायो, ‘यसपालि त यो डाक्टरलाई ठेगान लगाउनैपर्छ, के बुझ्यौ ? जहिले पनि हाम्रा विरुद्ध अनशन बस्छ ।’

‘तर दाइ, यो त अरूको सरकारमा पनि यस्तै माग राखेर अनशन बस्या थ्यो नि,’ कसैले तर्क गर्‍यो ।

‘नचाहिने कुरा नगर । जहिले अनशन बसे पनि यसले हामीलाई नै निशाना बनाउँछ । स्वास्थ्य क्षेत्रको माफियागिरी बन्द गर रे । के भन्या त्यो ? माफिया भनेर कसलाई भनेको, हामीलाई थाहा छैन ? को छ हामी बाहेक माफिया यो देशमा ?’

‘हो नि । कत्रो दुःख गरेर माफिया बनिएको छ । कस्ता कस्तालाई ठेगान लगाइयो, जाबो डाक्टरले हामीलाई दागा धर्ने ?’

‘सानो लगानी छ हाम्रा मान्छेको ? स्वास्थ्य क्षेत्रबाट वर्षमै अर्बौं उठाउने सपना छ । यसलाई ठेगान नलगाउने हो भने त्यो सब डुब्छ ।’

बोल्नेको अनुहार देखिंदैनथ्यो, तर उनीहरूको चर्को आवाजले हाम्रो शान्त वार्तालाप बिथोलिएको थियो । चिया ल्याउने भाइलाई बोलाएर मैले सोधें, ‘को हुन् भित्र यसरी हल्ला गर्ने ? अघि त थिएनन्, कताबाट आए ?’

‘भित्रको हल सरकारी कमरेडहरूका लागि रिजर्भ छ,’ उसले भन्यो, ‘उहाँहरू पछाडिको ढोकाबाट आउने–जाने गर्नुहुन्छ । डाक्टरको अनशनका विरुद्ध के गर्ने भनेर यहीं योजना बन्छ । उहाँहरूको खानपीनको खर्च मार्सी चामलवाला साहूले बेहोर्नुहुन्छ ।’

मैले डराई–डराई झ्यालको चेपबाट च्याएँ । केही सल्लाहकार र केही गुण्डाहरू रहेछन् । सत्तारूढ पार्टीका दुई नेता, एक बुद्धिजीवी र दुई मन्त्री पनि थिए, अनौपचारिक पोशाकमा ।

‘हाम्रै घोषणापत्रका लाइन सारेजस्तो माग राख्या छ । गाली गर्न पनि कस्तो गाह्रो,’ एउटाले भन्यो ।

‘घोषणापत्रको कुरा छोड्नोस् । त्यो चुनावका वेला देखाउने दाँत हो । त्यो अनुसार चल्ने हो भने त जोगी भइन्छ,’ अर्काले कुरा कथुर्‍यो, ‘त्यो डाक्टर पो जोगी जस्तो छ । सम्पत्तिको नाउँमा एउटा झोला छ, त्यसभित्र दुई जोर लुगा, टूथब्रश र टूथपेस्ट, दुई–तीन थान किताब, केही ओखती र एउटा स्टेथेस्कोप हुन्छ अरे । बैंक ब्यालेन्स शून्य । पेन्सन त ओखती बाँडेर सक्तो रहेछ । त्यस्ता हरिपको के कुरा गर्नु ? हामीले त जोगी बन्न राजनीति गर्‍या होइन नि ।’

‘ठीक छ कमरेड, विरोधको कमाण्ड यसपालि म सम्हाल्छु । सक्तो गाली गरेर वक्तव्य दिन्छु र विरोध जुलूस पनि निकाल्छु । अघिल्लो अनशनमा यसको विरोध गरेर तपाईं मन्त्री बन्नुभो । अब मेरो पालो,’ अझ चर्को चम्कियो ।

खाजा आएछ क्यारे, उनीहरू एक छिन चूप लागे । मौका छोपेर मैले अल्बर्टलाई कोट्याएँ, ‘अनि तपाईंका काकाको के भयो ?’

‘एक दिन उहाँलाई पनि नाजीहरूले अनशन स्थलबाट जबर्जस्ती अस्पताल लगेका थिए,’ उनले भने, ‘अस्पतालमा कसैलाई भेट्न दिएनन् । तीन दिन पछि उहाँको लाश निकाले । नाजी गुण्डाहरू खुलेआम खुशी मनाउँदै हिंडे । तिनको आतंकले गर्दा काकाको सद्गतमा पनि कोही आएन । त्यसपछि हाम्रो देशमा कोही अनशन बसेन ।’

बूढाको स्वर कामिरहेको थियो, ‘निर्दोष मान्छे मारेर राजनीतिमा आएकाहरूलाई मान्छेको ज्यान कीरा–फट्यांग्राको जति पनि लाग्दैन, बाबु । तिनले सत्याग्रहको मूल्य पनि बुझ्दैनन् । मलाई तिम्रा डाक्टरको हालत पनि मेरा काकाको जस्तो होला भनेर डर लाग्या छ । त्यसैले फेरि भन्छु, जसरी पनि बचाऊ यो डाक्टरलाई ।’

भित्री कोठामा फेरि हल्ला शुरू भयो । वरिष्ठ नेताको उत्तेजित स्वर सुनियो, ‘जनप्रतिनिधि त हामी हौं । जनताका कुरा गर्ने त्यसको के हैसियत ? जाबो एउटा डाक्टरले दुई तिहाइको सरकारलाई चुनौती दिने ?’

‘ठीक भन्नुभो । यस्ता झ्यासका अगाडि पनि झुक्नुपर्‍यो भने जिउँदै मरेजस्तो भएन ? त्यसपछि के मर्यादा बाँकी रहन्छ हाम्रो ?’ यो अर्को नेताको आवाज थियो ।

उत्सुकता थाम्न नसकेर मैले फेरि झ्यालको चेपबाट चियाएँ । बुद्धिजीवी कमरेड सल्लाह दिंदैथिए, ‘तपाईंहरूका सामु दुइटा विकल्प छन् । कि कुनै बहाना बनाएर केही दिन त्यता व्यस्त भएजस्तो गर्नोस्, यता कामकुरो खलास भइसक्छ । त्यसपछि देखा जाएगा । होइन भने पहिलेजस्तै माग पूरा गर्ने आश्वासन दिएर डाक्टरको नौटंकी फेरि तुहाइदिनोस् ।’

‘सकेसम्म त पहिलो विकल्पमै जाने भन्या हो । तर निर्णय भइसक्या छैन,’ वरिष्ठ मन्त्रीले नयाँ सन्दर्भमा पुरानो कोडवर्ड प्रयोग गर्दै भने, ‘हेडक्वार्टरले दुई चार दिन पर्खनू भन्नुभा छ ।’

मलाई लाग्यो, अल्बर्टको डर निराधार होइन रहेछ । यतिन्जेल चूपचाप उनीहरूको कुरा सुनिरहेका सरले मुख खोल्नुभयो, ‘मैले त यिनीहरूलाई मान्छे नै होलान् भन्ठानेको थिएँ । तर मान्छे जस्ता देखिएका मात्र रहेछन् ।’

हामी चियाको पैसा तिर्दै थियौं, प्लेकार्डधारीहरू अस्पतालबाट हार्रहुर्र बाहिरिए । प्रहरी उनीहरूलाई लखेट्तै थियो । प्लेकार्ड बोकेकी वृद्धा दगुर्न नसकेर बीचमै ढलिन् । टाउको रक्ताम्य भयो । सास फेर्न गाह्रो भएर हिरिकहिरिक गर्न थालिन् ।

अनशनकारी डाक्टर पनि अस्पतालभित्र हिरिक हिरिक गर्दै थिए ।

प्रकाशित : आश्विन २४, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

गैरआवासीय नेपाली संघ ज्ञान सम्मेलन : व्यवस्थित पूर्वाधार निर्माणमा जोड

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवस्थितरुपमा पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।

'नेपालमा पूर्वाधारमा लगानी' विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार क्षेत्रमा लगानी गर्न आतुर रहेको बताए । यातायात, ऊर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र(सेज), सहरी पूर्वाधारलगायतको क्षेत्रमा लगानीको अवसर रहेको उनले बताए ।

जलविद्युत, पर्यटन होटल र सिमेन्ट उद्योगमा पूर्वाधार निर्माण क्रम बढेको उल्लेख गर्दै उनले पब्लिक प्राइभेट पार्टनरसिपमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताए ।

कार्यपत्र प्रस्तुत गर्दै सतीश त्रिपाठीले आर्थिक विकास सुस्त भएको बताए । ६ प्रतिशतदेखि ८ प्रतिशतसम्मको कुल ग्राहस्थ उत्पादन वृद्धिले आर्थिक विकासमा जाँदा पनि विकास सुस्त भएको उनको भनाइ छ । अरु देशले सुरु गरेको पूर्वाधारको तुलनामा नेपाल निकै पछि रहेको उनको भनाइ छ । सडकको ट्रयाक खोल्ने काममै छौं हामी,' उनले भने, हामी डेपलपमेन्टमा छैनौं ।’ योजनाबद्ध ढंगले अघि बढ्न नसक्दा पूर्वाधार विकास हुन नसकेको उनले बताए । '५ वर्षमै पूर्वाधार बिग्रनेखालको बनाउन हुँदैन । पूर्वाधारका लागि लगानी गर्दैछौं । १९७० को मोडेलमा रहने होइन । दीर्घकालीन योजना बोकेर जानुपर्छ । थोरै काममा काम गर्दा पूर्वाधार निर्माण भएन, अब त स्थानीय तहले योजना बनाएर काम गर्न सक्छन्,' उनले भने ।

प्राध्यापक संगिता सिंहले भूकम्पपछि पुर्ननिर्माणको काम अघि बढ्न नसकेको बताइन् । योजना बनाएर सहर निर्माण गर्नुपर्ने उनको भनाइ छ । पूर्वाधार निर्माणमा योजना बनाएर अघि बढ्न सकेपछि समस्या नआउने र व्यवस्थित सहर बन्ने उनको भनाइ छ । धुर्मुस सुन्तली फाउन्डेसनले बस्ती निर्माण गरेजस्तै सरकारले पनि त्यसरी योजना बनाएर अघि बढ्न आवश्यक भएको उनको भनाइ छ ।

सिभिल इन्जिनियर केशवराज ज्ञवालीले भवन बनाउँदा पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक भएको बताए । 'विकसित सहर बनाउन पहिला नै योजना बनाउनुपर्छ,’उनले भने । नेपालको सहरी क्षेत्र पूर्णरुपमा व्यवस्थित हुन नसकेको भन्दै अब निर्माण गर्दा व्यवस्थित गर्न सकिने उनले बताए ।

कार्यपत्र प्रस्तुत गर्दै रतन झाले पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए । विदेशी लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने उनको भनाइ छ । आर्जन गरेको सीप र ज्ञान ट्रान्सफर गर्न मेकानिजम बनाउन आवश्यकता देखिएको उनले बताए ।

इन्जिनियर दिपकबाबु कँडेलले गैरआवासीय संघले बस्ती सार्न खोज्दा नसकिएको बताए । 'जसरी हुन्छ, आर्थिक विकास गर्नैपर्छ,' उनले भने, 'त्यसका लागि विदेशी लगानी बढाउनै पर्छ ।'

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड-१९ ले उत्पन्न गरेको विषम परिस्थितिमा पनि गैरआवासीय नेपालीले महत्वपूर्ण काम गरेको बताए । भौतिक रुपमा टाढा रहे पनि समृद्ध नेपाल, सुखी नेपालीको नारालाई यथार्थमा परिणत गर्न विश्वकै जुनसुकै देशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गरी विकासशील बनाउन पूर्वाधारले महत्वपूर्ण योगदान दिने मन्त्री नेम्वाङले बताए । स्थायी सरकार बनेसँगै देश निर्माणको क्रममा अघि बढेको उनको भनाइ थियो । नीतिगत रुपमा सहज गर्दै विदेशी लगानी आकर्षित गर्दै पूर्वाधार निर्माणमा अघि बढेको उनको भनाइ छ । रेल, बाटो, सुरुङमार्ग निर्माणमा देश अघि बढेको मन्त्री नेम्वाङले बताए ।

त्यस्तै गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले सरकार र निर्माण व्यवसायीबीच सुमधुर सम्बन्ध हुन नसकेको बताए । देशको विकासका लागि दुवै पक्ष एक भएर जानुपर्ने आवश्यकता रहेको उनले बताए । ‘गुणस्तरीय निर्माण गर्न हामी चुकेका छौं,’उनले भने । प्रविधि प्रयोग र नेपालमा प्रविधि हस्तान्तरण गर्न सरकारले ध्यान दिन जरुरी रहेको उनले बताए ।

प्रकाशित : आश्विन २४, २०७७ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×