१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोरोनाको 'अदृश्य प्रसारण'

शेरबहादुर पुन

काठमाडौँ — 

हाल काठमाडौंमा कोरोना संक्रमित हुनेको ग्राफ बढ्दो छ, सायद उत्कर्षतिर गइरहेको हुनुपर्दछ । तर अधिकांश संक्रमितलाई कहाँबाट कोरोना सरेको थियो भनेर सम्झना हुने गरेको भने पाइँदैन । यसैलाई कोरोनाको 'अदृश्य प्रसारण' भन्न खोजिएको हो ।

कोरोनाको 'अदृश्य प्रसारण'

यदी केही गरी प्रारम्भिक स्रोत थाह रहेछ भने पनि त्यो प्रारम्भिक स्रोतलाई आफूलाई कहाँबाट संक्रमण भएको थियो भन्ने थाह भएको पाइँदैन । अर्थात् कोरोनाको संक्रमण कसरी फैलिरहेको छ भनेर यकिनका साथ धेरैलाई थाह नभए पनि काठमाडौंमा यो भाइरस तीव्र गतिमा फैलिरहेको छ ।

कोरोनाको यो 'अदृश्य प्रसारण' पहिचान गर्न सके कोरोनाको फैलावटलाई धेरैहदसम्म नियन्त्रण गर्न सकिनेछ । केही महिना यता तपाईंको अगाडि बिनामास्क कसैले खोक्ने /हाच्छिउँ गरेको सम्झना छ ? कोरोना भाइरस नेपालमा पुष्टि भएसँगै सायदै त्यस्तो कसैले गरेको होला तर त्यसो भए कोरोना तीव्र गतिमा कहाँबाट र कसरी फैलिरहेको होला त ?



कोरोना फैलने मुख्य केही तरिकाहरुमध्ये खोक्दा/हाच्छिउँ गर्दा, कुनै वस्तुको सतहमा छोएपछि नाक, मुख, आँखामा हातले छुँदा र पछिल्लो समय हावाबाट पनि सर्न सक्ने अनुसन्धानहरुको दाबी छ । यो सँगै नेपालमा जंगली तथा घर पालुवा पशुपंछीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहन र पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर खान भन्ने सुझाव दिएको थियो । अर्थात् यी सावधानी नअपनाए कोरोना भाइरस सर्न सक्ने भन्ने थियो । यद्यपि यी सुझावहरुलाई हाल निरन्तरता भने दिएको देखिँदैन ।

जंगली तथा घर पालुवा पशुपंछीसँगको सम्पर्कमा आएर कोरोना संक्रमण भएका यथेस्ट वैज्ञानिक प्रमाणहरु छैनन् । त्यस्तै पशुजन्य मासु वा अन्डाबाट सरेको प्रमाणहरु पनि देखिएको छैन । तथापी यसको व्यापक परीक्षणहरु गरेको/नतिजाहरु पनि छैन ।


हाल बैंक, वित्तीय संस्था, तरकारी बजार, संचारगृह आदि कार्यालयहरुमा कर्मचारीहरु एक पछि अर्को संक्रमित भइरहेको अवस्था देखिन्छ । स्रोत भने थाहा पाउने गरेको देखिँदैन । सबैले जनस्वास्थका मापदण्डहरु अनुशरण गरेको भनिएका हुन्छन् । यसमा धेरैको ध्यान मास्क लगाएको तथा दुरी कायम गरेको भन्ने गरेको पाइन्छ । हातमा पनि स्यानीटाइजर प्रयोग गर्ने गरेको भनिन्छ । तर पनि संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न भने छोडेको छैन ।

यो 'अदृश्य प्रसारण' संक्रमण नियन्त्रण गर्न सबैभन्दा ठूलो चुनौती भएर खडा भएको देखिन्छ । विशेषत: भाइरस लक्षणविहीन संक्रमितबाट सरिरहेको प्रस्ट देखिन्छ। तर कसरी भन्ने प्रश्नवाचक चिन्हले भने निरन्तरता पाइरहेको छ ।



कोरोनाको यो 'अदृश्य प्रसारण'बाट परिवारको जेष्ठ नागरिक तथा दिर्घ रोगीलाई बचाउन थप चुनौती देखिएको छ । यो पंक्तिकारले केही समय अगाडि कोरोनाको संक्रमण परिवारभित्र फैलिँदै गरेको लेख प्रकाशित गरेको थियो । हाल विशेषत: काठमाडौंमा कोरोनाको संक्रमण व्यापक भएको हुँदा जेष्ठ नागरिक तथा दिर्घ रोगीलाई लक्षित गरेर कोरोनाबाट सुरक्षा गर्ने योजना अगाडि सार्नुपर्ने हुन्छ । नेपालको तथ्यांकले पनि यिनै समूहमा बढी मानवीय क्षति भएको देखाउँदछ । आगामी दिनको योजना/निर्देशिका विकास गर्दा सम्बन्धित निकायले यो समस्यालाई (परिवारको जेष्ठ नागरिक तथा दिर्घ रोगीलाई बचाउने) पनि प्राथमिकतामा राखेर तयार गर्नुपर्दछ । यद्यपि त्यसको कार्यान्वयन पक्षमा भने हामी स्वयं नागरिकको बढी दवित्त्व र जिम्मेवारी हुनेछ ।



हाल काठमाडौंमा व्यापक विस्तार भइरहेको कोरोना संक्रमण खोकेर/हाच्छिउँ गरेर भइरहेको छैन । कसैले खोक्यो वा हाच्छिउँ गरे त्यो व्यक्तिलाई शंकास्पद कोरोनाको आशंका गर्ने/टाढा बस्ने अथवा कुनै कार्यालयमा काम गरिरहेको भए कोरोना छ/छैन पीसीआर गरेर आउन अनुरोध गर्ने गरिन्छ ।

मास्क लगाउने, दुरी कायम गर्ने र हात साबुन पानीले धुने अहिले कोरोनाबाट बच्ने मुख्य उपायहरु मध्येमा पर्दछ । मास्क लगाउने र दुरी कायम गर्ने खोकी वा हाच्छिउँबाट रोक्न मद्दत मिल्नेछ । तर हातबाट हुने संक्रमणको लागि भने साबुन पानीले हात धुने गर्नुपर्ने हुन्छ । हालै स्वास्थ मन्त्रालयले गरेको पछिल्लो सर्वेक्षणले नेपालमा ५५% (पचपन्न प्रतिशत) र काठमाडौंमा ५०%(पचास प्रतिशत) ले सही तरिकाले साबुन पानीले हात नधुने गरेकाे भन्ने देखाएको भनिएको छ । यो नै हाल काठमाडौंमा देखिएको 'अदृश्य प्रसारण'को कारण हुनुपर्दछ/हुनसक्दछ । अनुसन्धानहरुले कोरोना भाइरस बाहिरी वातावरणमा पनि केही घण्टासम्म सक्रिय रहनसक्ने देखाएको छ । अहिले पनि हामीले आफ्नो हात जानी/नजानी नाक, मुख, आँखामा धेरैपटक लग्ने गर्दछौं । यो तपाईं हामीले देखिरहेका पनि छौं ।



अन्तमा,
हालसम्म कोरोना संक्रमित भइसकेमा प्रयोग हुने विशेष/निश्चित औषधिहरु छैन । तर कोरोना भाइरस शरीरभित्र प्रवेश गर्नु अगाडि नै नष्ट गर्ने उपाय भने हामीसँग छ । त्यो हो साबुनपानीको प्रयोग जसले कोरोना भाइरसलाई नष्ट गर्ने वैज्ञानिक पुष्टि भइसकेको छ र संक्रमित पनि हुनुपर्दैन। यसर्थमा पनि साबुन पानी कोरोना भाइरसको (शरीर प्रवेश गर्नु अघि) अचुक औषधि मान्न सकिन्छ । भाइरस शरीरभित्र प्रवेश गरिसकेपछि प्रयोग हुने औषधिहरु भन्दा साबुन धेरै सस्तो र सहजै उपलब्ध हुन्छ । हाल देखिएको कोरोनाको 'अदृश्य प्रसारण' रोक्ने/नष्ट गर्ने अचुक ब्रम्हास्त्रको रुपमा साबुन पानीलाई लिन सकिन्छ ।

मास्क र दुरीलाई मात्र होइन साबुन पानीले हात धुने बानीलाई पनि उत्तिकै प्रोत्साहित गरौं र मानव जातिको यो अदृश्य शत्रु कोरोना भाइरसलाई पराजित गरौं ।

प्रकाशित : आश्विन १७, २०७७ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?