१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आफ्नै अन्तर्मनको विज्ञप्ति : नचाहिने नै हुन् त डा. गोविन्द केसी ?

अजय रिसाल

काठमाडौँ — छोडिदिउँ उनका केही मागमा राजनीति घुसेको–घुसाइएका कुरा । बिर्सिदिउँ उनलाई 'एक्ला बृहस्पति' झैं झुठा ठहर्‍याइन लागिएको कुरा । उनी ढीट, कठोर, 'कुरा नबुझ्ने', अनि कसै कसैले भनेझैं  'पागल' नै पनि भए होलान्  (तिनका लागि) । अहिलेलाई यी सब कुरालाई पनि थाती नै राखौं । तर, एकपटक छातीमा हात राखेर सोचौं त, 'हामीलाई नचाहिने पात्र नै हुन् त डा.गोविन्द केसी ?'

आफ्नै अन्तर्मनको विज्ञप्ति : नचाहिने नै हुन् त डा. गोविन्द केसी ?

कमसेकम उनको पथप्रदर्शनमा अहिले हाडजोर्नी विशेषज्ञ हुन पुगेकाहरुले, उनकै शिक्षादीक्षाका कारण 'डाक्टर' कहलाइएकाहरुले, उनैले लिएका परीक्षाहरुबाट 'चिकित्सा शिक्षाको प्रमाणपत्र' हासिल गरेकाहरुले, उनकै सत्याग्रह–बलिदानका कारण ७५ प्रतिशत छात्रवृत्तिमा अटाएकाहरुले, अनि उनले साँझबिहान नभनी सेवा गरेका कारण जीवन जिउन मात्र नभई जीवनको गुणात्मकता हासिल गरेकाहरुले, एकपटक आँखा चिम्लिएर मनन गरुन् त, 'के अब हामीलाई साँच्चै नै नचाहिने नै हुन् त गोविन्द केसी ?'

उनलाई राजनीति गरिरहेको आरोप लगाउनेहरुले एकपटक इतिहास हेरुन् । उनकै समर्थन गरेर 'पदाधिकारी' बन्न पुगेकाहरु अझै पनि यही धर्तीमा नै छैनन् र ? अनि, उनकै लज्जास्पद रुपमा 'विरोध' गरेर नेता रिझाउनेहरु अझै पनि मन्त्रीमण्डलमा नै छैनन् र ?

उनलाई 'आफ्नो पेशाको काम नगरेर अनशन बसी समय नाश गरेको' हौवा मच्चाउनेहरुले उनका रेसिडेन्ट विद्यार्थीहरु अनि उनकै मार्गनिर्देशनमा थेसिस गरेका डाक्टरहरुलाई सोधुन्, उनमा प्राज्ञिक दक्षता अनि विषयगत विज्ञता कति धेरै छ भन्ने कुरा । पत्रपत्रिका अनि अनलाइनमा आएका 'हाहा'को पछि लाग्ने कि सत्यतथ्य बुझ्नतिर लाग्ने हामी ?

कर्णलीजस्ता दुरदराजमा जनताको स्वास्थ्य सेवा गर्न जाने, भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपहरुमा अनि महामारीहरुका समयमा स्वयंसेवी भएर देशविदेश, तराई-मधेश, पहाड-पर्वततिर आफ्नै खर्चमा खटिने उनका अनुकरणीय चरित्रलाई प्रचारमोह देख्नेहरुले एकपटक पनि विचार गरेका छन् ? यी सब प्रचारप्रसार (?) गरेर उनले कति बैंक ब्यालेन्स थुपारे त ? के पदप्रतिष्ठा, तक्मा, पुरस्कार या मानपदवी पाए त ?

उनको सत्याग्रह, अनशन आदिलाई ढाँटछल आदि भनी प्रपञ्चना पच्चाउनेहरुलाई मेरो एउटै आग्रह– एकपटक आफैंले आत्ममन्थन गरी 'सत्य'को एकमात्र पनि कदम चल्ने प्रयास गर्नुस्, यो दुनियाँ गज्जबको लाग्नेछ तपाईंलाई ।

आठ वर्षका दौरान १९ औं पटकसम्म अनशन बस्दा उनले व्यक्तिगत रुपमा के पाए त ? पटकपटकको दुःखकष्ट, लाञ्छना, घृणा, अनि धोखाबाहेक ? कुन पार्टीको, कुन सरकारले, उनका सबै माग पूरा गर्ने तत्परता देखायो त ? उनलाई जेल नै हाल्ने प्रम अझै पनि यही धर्तीमै इज्जतसाथ नै बसिरहेकै छन् । उनलाई आइसियू भित्रबाटै अस्पताल नै तोडफोड गरेर हेलिकप्टरमा उडाइएको होइन र ? अपराधीलाई जस्तो प्रहरी लगाएर जबरजस्ती एम्बुलेन्समा कोचिएको अनि जबर्जस्ती नै लछारपछार गरेर अस्पताल लगिएको भिडियो हामी सबैले सामाजिक सञ्जालमा हेरेको होइन र ? उनलाई सार्वजनिक संस्थानमा अहिंसात्मक आन्दोलन गर्न समेत बन्देज गर्ने कानून नै बनाउन खोजिएको होइन र ?

'सत्यको बल' नभएको भए एउटा व्यक्तिको हठका अगाडि सरकार र सत्ता नै यत्तिसारो डराउने स्थिति हुन्थ्यो त ? हुन त, सत्याग्रहको स्वरुप नै यस्तै हुन्छ, कस्ता कस्ता साम्राज्य, बादशाहहरु यसका अगाडि झुकेका छन् । भारत, दक्षिण अफ्रिका नै पुग्नपर्दैन, हाम्रै देशको विगतलाई बिना पूर्वाग्रह या बिना मूढाग्रह अवलोकन गरे पुग्छ ।

फेरि यी सब अनशनका श्रृंखला या उनका त्याग तपस्याबाट केही फाइदा नै नभएको पनि होइन । धेरैले यसबाट राजनैतिक अभीष्ट पुर्ति गरेका पनि हुन् । प्रतिपक्षीहरुलाई सरकार परिवर्तन गर्ने भर्‍याङ पनि बनेका थिए उनका आन्दोलन । केही वरिष्ठ डाक्टरहरुलाई 'डीन'को कुर्सी पाउने हतियार पनि नबनेका भने होइनन् उनी ।

यी सबलाई भुलेर एक चिकित्सक अनि एक प्राज्ञिक व्यक्तिका रुपमा उनका आन्दोलनले स्वस्थ्यक्षेत्रमा अनि चिकित्साशास्त्र अध्ययन अध्यापनमा गरेका सुधारहरु मात्र सम्झन्छु अहिले म । हो, गोविन्द केसी नै हुन्, जसका कारण चिकित्सा विषय अध्ययनमा भएका नगदी विकृति बिसंगतिमा केही मात्रामा भए पनि सुधार भएका छन् केहीवर्षयता । पैसा नभए त योग्य विद्यार्थीले समेत डाक्टर बन्ने सपना देख्नै नपाइने निर्लज्ज अवस्थामा अलिकति भए पनि कमी आएको हो, उनैले गर्दा । 'काठमाडौंमात्र नभई कर्णाली पनि नेपाल हो' भन्ने दृष्टिकोण पनि बनेको हो उनैले गर्दा । उनका यस्ता 'नेपाली स्वास्थ्यक्षेत्रका योगदान'लाई भविष्यमा इतिहासले स्वर्णक्षरमा कुँद्ने नै छ, यसमा किमार्थ शंका छैन ।

वास्तवमा 'कर्णलीमा मेडिकल शिक्षा सञ्चालन होस्, योग्य विद्यार्थीले चिकित्सा शिक्षाको अवसर पाउन्, सुदूरपश्चिममा मेडिकल कलेज खुलोस्, गाउँगाउँमा स्वास्थ्यकर्मी पुगुन्' यी मागमा समाजवाद छैन र ? समाजवादोन्मुख संविधान आएको पाँच वर्ष भइसक्दा पनि सच्चा समाजवादी माग लिएर एक सत्याग्रहीले भोक हड्तालमा मर्नुपर्ने अवस्था आयो भने योभन्दा ठूलो दुर्भाग्य के होला त यो मुलुकको ?

'सतीले सरापेको देश' त भई नै सक्यो नेपाल । अब 'सत्याग्रहीको आँशुले पोलेको परिवेश' बनाउन खोजिएको हो ?

त्यसैले, एउटा सत्याग्रही वृद्धले १९ औं पटक अनशन बसेको आज १७ दिन भइसक्दा पनि अझै कानमा तेल हालेर बसिरहने हो सरकार ? कि केही गर, नत्र भने घोषणा गरिदेऊ, 'हामीलाई गोविन्द केसी चाहिँदैन अब' भनेर ।

(लेखक काठमाडौं विश्वविद्यालय अस्पताल धुलिखेलका मानसिक रोग विशेषज्ञ हुन् ।)

प्रकाशित : आश्विन १६, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?