बुद्धिजीवी बन्ने बाटो- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुद्धिजीवी बन्ने बाटो

‘कोही कोही बुद्धि नबेच्ने मूर्ख पनि हुन्छन् । तर ती सत्ताको वरिपरि भुनभुन गर्दैनन् । तिनलाई राज्यले चिन्दा पनि चिन्दैन ।’
शरच्चन्द्र वस्ती

मुलुकमा बुद्धिजीवीहरूको चकचकी देखेपछि मलाई लाग्यो— म पनि बुद्धिजीवी हुनुपर्‍यो ।
तर, बुद्धिजीवी हुने कसरी ? आफ्नो बुद्धिले भेउ नपाएपछि म पुगें, एक जना कहलिएका बुद्धिजीवीको शरणमा । र प्रार्थना गरें, ‘गुरुदेव, मलाई बुद्धिजीवी बन्ने बाटो देखाइदिनुपर्‍यो ।’

मैले टक्र्याएको ब्ल्याक लेबलको बोतल प्रेमले सुमसुम्याउँदै उनले आश्वस्त तुल्याए, ‘तिमीमा बुद्धिजीवी बन्ने प्रचुर योग्यता रहेको म प्रत्यक्ष अनुभव गरिरहेको छु । अलिक दिन मेरो संगत गर, तिम्रो अभिलाषा पूर्ण हुनेछ ।’ अनि मुसुक्क हाँसे, ‘अहिले के कुरा गर्नु ? साँझ स्न्याक्स लिएर आऊ न ।’

साँझ यथोचित पोकापोकी बोकेर पुग्दा उनले बोतल खोलिसकेका थिए । एकछिन खान–पीनमा रमाएर, आँखा राता हुन थालेपछि मलाई सोधे, ‘तिमीलाई थाहा छ, के हो बुद्धिजीवी भनेको ?’

‘बुद्धिको आधारमा बाँच्ने’, मैले फुर्तीसाथ जवाफ दिएँ ।

‘मूर्ख !’ उनले दपेटे, ‘चरा–मूसा पनि बुद्धिकै आधारमा बाँच्छन् । आआफ्नो बुद्धि लगाएर खाने कुरा खोज्छन्, शिकारीबाट जोगिन्छन् । ती बुद्धिजीवी भए त ?’

‘त्यसो भए, बुद्धिजीवी भनेको बुद्धिको प्रयोग गरेर जीविका चलाउने भन्या होला,’ मेरो स्वर झीनो थियो ।

‘सिकर्मी, डकर्मी, माली, कुचिकार सबैले बुद्धिकै प्रयोग गरेर जीविका चलाउँछन् । तिनलाई कसैले बुद्धिजीवी भन्छ ?’ उनी हाँस्न थाले ।

मलाई आफ्नो घोर अज्ञानको ज्ञान भयो । आत्मसमर्पणको मुद्रामा हात जोडें ।

गुरुदेवले ज्ञान दिए, ‘बुद्धिजीवी भनेको बुद्धि बेचेर बाँच्ने व्यक्ति हो । अरूले आफ्नो श्रम, आफ्नो सीप मात्र बेच्छन्, बुद्धिजीवीले बुद्धि नै बेच्छ । र, जीवनमा प्रगति गर्छ ।’

‘तर बुद्धि बिकेन भने के हुन्छ गुरुदेव ? खरीददार नै पाइएन भने नि ?’

‘त्यसले केही फरक पर्दैन । मुख्य कुरो बुद्धिलाई बिक्रीमा राख्नु हो । खरीददार नभेटिउन्जेल तिमी स्वतन्त्र बुद्धिजीवी हुन सक्छौ । स्वतन्त्र अर्थात् कसैको बन्धनमा नपरेको । जसले पनि किन्न सक्ने । जस्तै अहिले म छु । के बुझ्यौ ?’

‘बुझें गुरुदेव,’ मैले हात जोडें र संकोचपूर्वक भनें, ‘तर एउटा सानो जिज्ञासा छ । सबैले बुद्धि बेच्छन् र ?’

‘बुद्धि नबेच्ने कसरी बुद्धिजीवी हुन्छ ?’ उनले स्पष्ट पारे, ‘भाउ कम–बेसी मात्र हो । तर सबैले बेच्छन् ।’

म केही बोलिनँ । उनको मुखमा हेरी मात्र रहें । म सन्तुष्ट नभएको महसूस गरेर होला, आधा गिलास एकैचोटि स्वाँट्ट पारेर लर्बराउँदो स्वरमा उनले सुनाए, ‘कोही कोही बुद्धि नबेच्ने मूर्ख पनि हुन्छन् । तर ती सत्ताको वरिपरि भुनभुन गर्दैनन् । तिनलाई राज्यले चिन्दा पनि चिन्दैन । ती आफ्नै घरमा थन्किन्छन् । त्यस्ता बौद्धिकलाई कसैले बुद्धिजीवी पनि भन्दैन । कुरा यही हो ।’

दोस्रो दिन यस्तै चर्चामा बित्यो । तेस्रो दिन उनले भने, ‘नेपालगन्जमा एउटा सेमिनार हुँदैछ । मैले तिम्रो पनि नाउँ लेखाइद्या छु । खर्चको चिन्ता गर्नुपर्दैन । मसँगै जाने हो ।’

‘कुन विषयको सेमिनार हो ? मैले त्यहाँ गएर के गर्ने ?’

‘बुद्धिजीवीले यस्ता कुराको चिन्ता गर्दैनन्,’ उनले भने, ‘मैले पनि राम्ररी बुझेको छैन । उहीं पुगेर बुझौंला ।’

मलाई बुद्धिजीवी बन्नु थियो । त्यसैले उनीसँगै हवाईजहाज चढेर नेपालगन्ज ओर्लिएँ । दुईदिने सेमिनार रहेछ । खाने बस्ने व्यवस्था भव्य होटलमा गरिएको । उद्घाटन सत्र पछि हामी घुम्न निस्क्यौं । साँझ फर्कंदा ककटेल शुरू भइसकेको रहेछ । हामीले एउटा टेबुलमा आसन जमायौं, जहाँ चार जना सहभागी पहिलेदेखि नै विराजमान थिए ।

दुई पेग बिजुलीपानी पेटमा छिर्दा नछिर्दै कुरो घुमीफिरी बुद्धिजीवीमै आइपुग्यो । एक जनाले नाक खुम्च्याए, ‘बुद्धि बेच्नेहरूको के कुरा गर्नु ?’

अर्काले थपे, ‘बुद्धिजीवी र देह व्यापारीमा फरकै के छ र ?’

उनले त्यति भन्नु के थियो, त्यतिन्जेल चूपचाप बसिरहेकी अर्की सहभागी जंगिइन्, ‘यो त सारै विवेकहीन कुरा भयो । बुद्धिजीवीसँग तुलना गरेर देह व्यापार गर्नेहरूको अवमूल्यन गर्न पाइँदैन ।’

‘आखिर के फरक छ यिनीहरूमा ? दुवैले आफूसँग भएको, प्रकृतिले दिएको वस्तु बेचेर पैसा कमाउने त हुन् नि, होइन र ?’ अझ अर्काले आगोमा घीउ थपे ।

‘त्यो त हो, तर शरीर भन्दा बुद्धि धेरै उच्च र अमूल्य कुरा हो । त्यसैले देह व्यापार भन्दा बुद्धिको व्यापार धेरै निकृष्ट काम हो,’ शान्त स्वरमा उनले भनिन्, ‘बुद्धिको सम्बन्ध चेतनासँग छ, आत्मासँग छ । त्यसैलाई बेचिदिएपछि के बाँकी रह्यो ?’ र थपिन्, ‘शरीर बेच्नेले पनि चेतना र आत्मा चाहिं बेचेको हुँदैन ।’

‘म्याडमले कस्तो सूक्ष्म कुरा गर्नुभएको ?’

‘स्थूल कुरामै जाऊँ न त,’ उनी चूप लागिनन्, ‘देह व्यापार गर्नेले आजको ग्राहकलाई भोलि गाली गर्दैन, उसका गोपनीय सूचना अर्कालाई बेच्तैन । उसले किनेको समयमा इमान्दारीसाथ ऊसँग मात्र रहन्छ, उसलाई धोखा दिएर अर्कासँग चोचोमोचो मिलाउँदैन । तर बुद्धिजीवीमा यस्तो व्यावसायिक नैतिकता हुँदैन । उसले आजको मालिकलाई भोलि गाली गर्छ, उसका गोप्य सूचना अरूलाई बेच्न हिचकिचाउँदैन, अनि एउटाको तलब–

भत्ता खाइरहेको बेला अर्काको प्रोजेक्टमा लहसिइरहेको हुन्छ ।’

‘क्या सटीक दिनुभो म्याडमले । असली धर्मनिरपेक्ष भनेको बुद्धिजीवी नै हुँदो रहेछ,’ यो घीउ–थपुवाको स्वर थियो ।

‘त्यसैले बुद्धिजीवीको देह व्यापारीसँग तुलना नगर्नोस्, उनीहरूको मानहानि हुन्छ,’ उनले कुरा टुंग्याइन्, ‘तिनको तहमा उक्लिन बुद्धिजीवीलाई यही जन्ममा त गाह्रै छ ।’

सबैको बोली बन्द थियो । त्यही वेला खाना तयार भएको सूचना आयो र हामी उठ्यौं ।

भोलिपल्ट बिहान चियाको चुस्की लिंदै गुरुदेवले भने, ‘बुद्धिजीवीको स्तर के रहेछ, बुझिहाल्यौ । तर मन सानो नपार्नू ।’ अनि मार्गनिर्देशन गरे, ‘हाम्रा खरीददार दुई किसिमका हुन्छन् । एउटाले पद पनि दिन्छ, गाडी पनि दिन्छ र तलब–भत्ता पनि दिन्छ । अर्काले टन्न पैसा मात्र दिन्छ । मालिक जुन किसिमको भए पनि बुद्धिजीवीले गर्ने काम एउटै हो । बुद्धि अथवा कुबुद्धिले भ्याएसम्म चर्को निन्दा र प्रशंसा गर्न कहिल्यै पछि नहट्नु । एउटा कुरा मात्र ख्याल राख्नू ।’

‘के कुरा ?’

‘प्रशंसा मालिकको मात्र गर्नू । निन्दा अरू सबैको गर्नू ।’

‘त्यो त बुझें । तर मालिक नै पाइएन भने के गर्ने ?’ मैले गम्भीर प्रश्न उठाएँ ।

‘अस्ति नै भनिहालें नि, त्यतिन्जेल स्वतन्त्र बुद्धिजीवी भएर बस्ने । हाम्रो ज्ञानका स्रोत भनेका अखबार, टीभी, अनलाइन, फेसबुक, ट्विटर र बजारिया हल्लाहरू नै हुन् । रात–दिन तिनैमा छिर्ने र तिनकै आधारमा आफूले पनि हल्ला मचाउने,’ उनले आश्वस्त पारे, ‘स्वतन्त्र बुद्धिजीवी कस्तो हुन्छ र त्यसले कसरी काम गर्नुपर्छ भन्ने उदाहरण म तिमीलाई भरे देखाउँछु ।’

अपराह्न सेमिनारको भत्ता बुझेर हामी घुम्न निस्कियौं । सडक व्यस्त थियो । रिक्सा, साइकल, मोटरसाइकल, कार, जीप, ट्रक, ट्र्याक्टर सबै आफ्नो सुरमा आइरहेका, गइरहेका । सडकको बीचमा चारवटा गधा चूपचाप उभिएका । गुरुदेवले तिनलाई देखाउँदै भने, ‘एक छिन तिनको गतिविधिमा ध्यान देऊ है ।’

चारवटै गधा गम्भीर मुद्रामा हलचल नगरी उभिइरहेका थिए । अगाध चिन्तनमा डुबेजस्ता । वरिपरिको हलचलसँग तिनलाई कुनै सरोकार थिएन । मानौं त्यो सब तिनले देखेकै थिएनन् । तीन मिनेट बित्यो, चार मिनेट बित्यो, पाँच मिनेट बित्यो, तिनले कुनै हलचल गरेनन् । हेर्दाहेर्दै मलाई पट्यार लाग्न थालिसकेको थियो । छैटौं मिनेटमा के मूड आएछ, दुइटा गधा अकस्मात् घाँटी ठाडो पारेर गगनभेदी स्वरमा ‘ढेंचू–ढेंचू’ गर्न थाले । कानैनेर एक्कासि विस्फोट भएको त्यो कर्कश आवाजले सवारी चालकहरू झस्किए । तिनको सन्तुलन गडबडायो । एउटा मोटरसाइकल रिक्सामा ठोकियो, एउटा जीपले साइकललाई धक्का दियो र साइकल चालक भुइँमा पछारियो । उनीहरू झगडा गर्न थाले । ट्राफिक अस्तव्यस्त भयो । गधाहरू भने यसैबीच ढेंचू–ढेंचू सिध्याएर, त्यो अस्तव्यस्तताबाट निरपेक्ष, उस्तै अँध्यारो अनुहारमा जहाँको तहीं, जस्ताको तस्तै उभिइसकेका थिए ।

गुरुदेवले कुरा बुझाए, ‘हेर, स्वतन्त्र बुद्धिजीवी भनेको ठ्याक्कै यस्तै हुनुपर्छ । समाजको बीचमा उभिएको, भर्खरै शोकसभामा भाग लिएर फर्केजस्तो गम्भीर मुद्रा धारण गरेको, सारा संसारको चिन्ता आफैंले बोकेजस्तो । समाजको उत्साह, उमंग, हलचलसँग कुनै वास्ता नभएको, तर बीचबीचमा ढेंचू–ढेंचू गरेर समाजको गतिलाई निरन्तर खलबल्याइराख्ने । के बुझ्यौ ?’

‘सबै कुरा छर्लंग बुझें गुरुदेव । हाम्रा आदर्श व्यक्तित्वलाई नै साक्षात्कार गरिसकेपछि अब बुझ्न केही बाँकी रहेन,’ मैले गद्गद भएर उनलाई प्रणाम गरें र भनें, ‘काठमाडौं फर्कनासाथ बुद्धिजीवी बन्ने बाटोमा हिंड्न थाल्नेछु ।’

प्रकाशित : आश्विन १०, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

३ प्रतिशत संक्रमित गम्भीर

देशभरिका अस्पतालमा शुक्रबार ८,२३७ संक्रमित उपचारत रहेकामा २६६ जना अर्थात् ३.२२ प्रतिशत गम्भीर छन् । यीमध्ये २२७ जना आईसीयूमा र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
मकर श्रेष्ठ

काठमाडौँ — टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २५ दिनको उपचारपछि भक्तपुरका ३० वर्षीय एक युवक बिहीबार डिस्चार्ज भए । कोरोनाकै कारण निमोनिया भएपछि उनलाई सघन कक्षमा राखेर उपचार गर्नुपरेको थियो ।

उनीजस्तै काठमाडौंकी एक महिलालाई पनि २६ दिनसम्म आईसीयूमै राखेर उपचार गर्नुपरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । संक्रमितको संख्यासँगै आईसीयूमा राखेर उपचार गर्ने कोरोना संक्रमितको संख्या पनि बढेको उनले बताए ।

‘निजी अस्पतालमा महँगो शुल्क तिरेर पनि सुधार नभएपछि गम्भीर बिरामीलाई हाम्रो अस्पतालमा ल्याउँछन्,’ राजभण्डारीले भने, ‘बिरामीको अवस्थाअनुसार एन्टिबायोटिक, रेमडेसिभिर र प्लाज्माथेरापीलगायत विभिन्न विधिबाट उनीहरूलाई लामो समय आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरी निको बनाएर पठाउने गरेका छौं ।’

अस्पतालका सरुवा रोग विशेष डा. अनुप बास्तोलाले आईसीयूमा उपचार गरेका गम्भीर खालका बिरामी निको भएपछि फेसबुकमा खुसी हुँदै लेखेका छन्, ‘खुसीको सीमा हुँदैन । जब बिरामी ठीक हुनुहुन्छ ।’ घरमा आइसोलेसनमा बस्दा सास फेर्न गाह्रो भएपछि र खोकी नरोकिएपछि अस्पताल भर्ना हुन आउने गरेको उनले बताए । ‘यस्ता बिरामीलाई निमोनिया भइसकेको हुने भएकाले आईसीयूमै राखेर उपचार गर्नुपर्ने हुन्छ,’ उनले भने । अन्यत्रको तुलनामा यो अस्पतालमा गम्भीर खालका बिरामी निको हुने दर उच्च छ । अस्पतालका अनुसार अहिलेसम्म ८२ वर्षीया एक महिलाको मात्रै उपचारका क्रममा मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार १६ जना गम्भीर खालका बिरामी उपचारत छन् । तीमध्ये ४ जना भेन्टिलेटरमा छन् । कोरोना देखिनुअघि दुई बेडको आईसीयू रहेको यो अस्पतालमा अहिले १८ बेड थपिएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा छन् । ‘केही दिनयता गम्भीर खालका बिरामी आउने क्रम बढेको छ,’ अस्पतालका कोभिड फोकल पर्सन डा. प्रवीन नेपालले भने, ‘कोरोनकै कारण निमोनियाले थलिएका ९० प्रतिशतभन्दा बढी संक्रमित आइरहेका छन् ।’ आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्नेमा ६० वर्षभन्दा माथिका वृद्धवृद्धा बढी रहेको उनले बताए । शिक्षण अस्पताल महाराजगन्जमा २२ जना गम्भीर खालका संक्रमित उपचाररत छन् ।

छाउनीको वीरेन्द्र सैनिक अस्पतालमा ९० जना संक्रमित रहेकामा १८ जनाको आईसीयूमा उपचार भइरहेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय २ संक्रमितमध्ये आईसीयूमा १२ जना र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । वीर अस्पतालमा १ सय २ जना संक्रमित भर्ना भएकामा १६ जना गम्भीर छन् । एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सरकारी अस्पतालमा मात्रै होइन, निजी अस्पतालमा पनि गम्भीर खालका बिरामी भर्ना भएका छन् । शुक्रबार उपत्यकामा ६७ जना कोरोनाकै कारण थलिएका संक्रमितको निजी अस्पतालमा उपचार भइरहेको छ । सबैभन्दा बढी नर्भिक अस्पतालमा १४ जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ह्याम्स अस्पतालमा भर्ना भएका ४५ संक्रमितमध्ये १५ जना गम्भीर खालका छन् । त्यस्तै मेघा अस्पतालमा ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचारत छन् । ग्रान्डी अस्पतालमा २० जना संक्रमित भर्ना भएकामा ६ जनाको आईसीयू र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

गम्भीर खालका बिरामी बढ्दै

स्वास्थ्य मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा भर्ना गर्नुपर्ने खालका बिरामी दिनहुँ बढिरहेका छन् । संक्रमितको संख्या बढेसँगै गम्भीर खालका बिरामी बढेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुलेको भदौ २५ सम्म गम्भीर खालका बिरामीको संख्या १ सय ८६ जना मात्रै थिए । तीमध्ये आईसीयूमा १ सय ६५ र भेन्टिलेटरमा २१ जना उपचारत थिए ।

आईसीयूमा संख्या असोज १ मा बढेर २ सय २१ पुग्यो । जसमा भेन्टिलेटरमा राखेर ३९ जनाको उपचार गर्नुपरेको थियो । भदौ २५ मा भने भेन्टिलेटरमा राखेर उपचार गर्नेमा २१ जना मात्रै थिए । असोज ५ मा भेन्टिलेटर र आईसीयूमा राखेर उपचाररतको संख्या २ सय २६, ६ गते २ सय २७ पुगेको थियो । मंगलबार भने भेन्टिलेटर र आर्ईसीयूमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या २ सय ६० जना पुगेको थियो । जसमा आईसीयूमा २ सय २३ र भेन्टिलेटरमा ३७ जना थिए । शुक्रबार देशभरिका अस्पतालमा उपचार ८ हजार २ सय ३७ संक्रमितमध्ये २ सय ६६ जना अर्थात् ३ दशमलव २२ प्रतिशत गम्भीर खालका संक्रमित छन् । यसमा २ सय २७ जना आर्ईसीयूमा र ३९ जना भेन्टिलेटरमा छन् ।

धुलिखेल अस्पतालसहित काठमाडौं उपत्यकाका अस्पतालमा मात्रै १ सय ६९ जना गम्भीर रूपमा थलिएका संक्रमित छन् । यसमा १ सय ३५ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा राखेर उपचाररत छन् । गम्भीर रूपमा थलिएका संक्रमितमध्येका झन्डै ६४ प्रतिशत काठमाडौं उपत्यकामै छन् । ‘पछिल्ला दिन गम्भीर रूपमा बिरामी परेका संक्रमितको संख्या बढेको छ । जसमा लक्षण देखिएका र जोखिमयुक्त छन् ।

उनीहरूको सघन कक्षमा राखेर उपचार भइरहेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘कोही कसैले अप्ठ्यारो अवस्थाको दुरुपयोग गरेर राज्यकोषको दुरुपयोग गर्ला कि भन्ने शंका पनि बढाएको छ ।’ सरकारले गम्भीर बिरामीको उपचार गरेमा दैनिक १५ हजारको दरले अस्पताललाई उपलब्ध गराउने व्यवस्था गरेको छ । यो रकम लिनकै लागि गम्भीर खालको संक्रमितको संख्या बढेको हो कि भन्ने शंका गरेर मन्त्रालयले नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीको संयोजकत्वमा नौ सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ ।

मन्त्रालयका अनुसार गम्भीर खालका संक्रमित सुदूरपश्चिमा शून्य छन् । कर्णालीमा पनि आईसीयूमा १७ जना मात्रै छन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा १ सय ३५ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा छन् । यसबाहेक भेन्टिलेटरमा प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना उपचाररत छन् ।

प्रकाशित : आश्विन १०, २०७७ ०९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×