कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

टिकटकका ‘महिला कन्टेन्ट’

कोरोनापछि महिलालक्षित रूढिवादी सन्देश दिने टिकटक बग्रेल्ती बनिरहेका छन् । महिलाको रूप, व्यवहार, भूमिका, जिम्मेवारी, लवाइ–खवाइ र सम्बन्धहरूलाई लिएर निकै हल्का स्तरका, उरन्ठेउला र सस्ता सन्देश तिनले अभिव्यक्त गर्ने गरेका छन् ।
अनिशा भट्टराई

टिकटक ! यो एप चलाउनेको त कुरै छोडौं, नचलाउनेलाई समेत यसबारे अनभिज्ञ रहिरहन अब गाह्रो छ । मेरो घरका मान्छेको लगाव देखेर मैले पनि टिकटिक डाउनलोड गरेकी थिएँ । लकडाउनका बेला यो मन भुलाउने र समय काट्ने मेलो बन्यो ।

टिकटकका ‘महिला कन्टेन्ट’

कोरोनापछि नेपालमा टिकटकको प्रयोग ह्वात्तै बढेको छ । कतिसम्म भने नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत टिकटकमा मात्रै खपत हुन्छ । लकडाउनअघि ७ जीबी खपत हुनेमा लकडाउनपछि १३ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटकमा खपत भइरहेकोबारे केहीअघि ‘कान्तिपुर’ मै समाचार आएको थियो । मान्छेहरूले फेसबुकभन्दा टिकटकमा बढी समय बिताउन थालेका छन् ।

टिकटक टाइमपासको साधन मात्रै नभएर आफ्नो कला देखाउने राम्रो र लोकप्रिय प्लेटफर्म पनि हो । तर, लोकप्रियतासँगै कला र मनोरञ्जनको नाममा रूढिवादी चालचलन र विचारलाई यसले प्रोत्साहन गर्दै आएको छ । र, तिनको पुनरुत्पादन बढाएको छ । जस्तै– कोरोनापछि महिलालक्षित रूढिवादी सन्देश दिने भिडियो बग्रेल्ती बनिरहेका छन् । महिलाको रूप, व्यवहार, भूमिका, जिम्मेवारी, लवाइ–खवाइ र सम्बन्धहरूलाई लिएर निकै हल्का स्तरका, उरन्ठेउला र सस्ता सन्देश तिनले अभिव्यक्त गर्ने गरेका छन् ।

महिला मनमोहक वस्तु ?

गोरो, चम्किलो अनुहार अनि त्यसमाथि आकर्षक मेकअप– ओठ र गालामा लाली, आँखामा गाजलको एक धर्सो रेखी ! थ्रेडिङ र वाक्सिङ अत्यावश्यक ! किनभने महिलाको अनुहार र शरीरमा रौँ हुनु हुँदैन नि !

माथिको भनाइ मेरो होइन, टिकटकमा महिलाको सौन्दर्यलाई लिएर बनाइने भिडियोहरूको हो । ती भिडियोमा के मात्र भनिएको छैन, के मात्र देखाइएको छैन ! लकडाउनको समयमा पार्लर जान नपाएर महिलाहरू ‘तर्साउने’ जस्ता देखिन थाले रे, भिट (रौं हटाउने क्रिम) नपाएर केटाजस्तै भए रे, काखीबाट एक फिट लामो कपाल निस्किसक्यो रे !

महिलाले मेकअप गर्न नपाएर तिनको फोनको फेसलक नखुलेको, मेकअपबिनाको फोटो देखेर ब्वाइफ्रेन्ड र श्रीमान् तर्सिएको आदिबारे टिकटकरहरूले मनग्गे भिडियो बनाएका छन् । ती भिडियोले महिलाको पहिचान भनेकै रूप हो, महिला लालीपाउडरमै अल्झिन्छन्, शृंगार नगरे ती ‘कुरूप’ बन्छन् भन्ने सन्देश दिइरहेका छन् ।

यस्ता सन्देश हामीले उहिल्यैदेखि हेर्दै, सुन्दै र ग्रहण गर्दै आएका छौं । ‘रामायण’, ‘ॐ नमः शिवाय’, ‘श्रीकृष्ण’ जस्ता धार्मिक टेलिसिरियलमा देवी वा अस्परालाई गोरी, कम्मर छिनेकी, ठूला आँखा, लामो केश, छरितो जीउडाल भएकी, चिटिक्क परेकी युवतीका रूपमा देखाइएको हुन्थ्यो/हुन्छ । मोटा आँखीभौं, कालो वर्ण, ज्यांगो शरीर भएकालाई राक्षसनीका रूपमा देखाइन्छ । यसले गर्दा हाम्रो दिमागमै राम्री हुनु भनेको गोरी, पातली, बेदाग वा शृंगार गरेर सिनित्त परेकी हुनु अनि नराम्री भनेको चाहिँ जताततै रौं भएकी, डन्डीफोर नलुकाएकी, दाँत फाटेकी, भुँडी लागेकी आदि हुनु हो भन्ने खालको छाप परेको छ ।

त्यो छापलाई फिल्म, सिरियल, विज्ञापनहरूले असाध्यै गाढा पारिदिएका छन्, जसले गर्दा सौन्दर्य प्रसाधनको बजार विशाल बन्न पुगेको छ । राम्री हुन के गर्नुपर्छ भन्नेबारे जताततै सल्लाह–सुझाव पाइन्छन्– टिकटकमा पनि । राम्री हुन शृंगार नगरे महिला ‘पुरुषजस्ता’ देखिन्छन्, ‘कुरूप’ बन्छन् वा ‘तर्साउने’ खालका हुन्छन् भनेर पन्ध्र सेकेन्डदेखि एक–मिनेटभित्रमै एक जुनीलाई पुग्ने सन्देश टिकटकबाट प्रसारित हुन्छ । यसले महिलालाई मनमोहक वस्तुको रूपमा प्रस्तुत हुन प्रोत्साहन गरेको छ ।

श्रीमतीप्रतिको दृष्टिकोण

केही समयअघि एउटा कन्टेन्ट पपुलर भएको थियो, जहाँ एक जना पुरुषलाई दुइटा विकल्प दिइन्छ्र, जसमध्ये एउटाचाहिँ सधैंभरि श्रीमतीसँग बस्नुपर्ने हुन्छ । पहिलो विकल्प सुन्नासाथ ती व्यक्तिले हत्त न पत्त दोस्रो विकल्प सुन्दा पनि नसुनी दोस्रो नै रोज्छन् । यसबाट के बुझ्ने ?

श्रीमती माइत जाँदा खुसीले नाच्ने, श्रीमतीसँग बस्नुभन्दा मर्नु बेस ठान्ने, श्रीमतीको मोबाइल नम्बर ‘कोरोना भाइरस’ भनेर सेभ गर्नेदेखि बिहेपछि बूढीले खाना बनाउन नजानेर दुःख पाएको, भाँडा धस्काउनुपरेको, स्वतन्त्रता खोसिएको र श्रीमतीले लकडाउनभर घरायसी काममा दलाएको, उनको डरले काम गर्नुपरेको भन्नेबारेका भिडियोहरू कति हो कति भेटिन्छन् टिकटकमा ।

केहीले त आफ्ना भिडियोमा ‘बूढीपीडित’ भनेर टेक्स्टसमेत राख्ने गरेका छन् । दुःखको कुरा यस्ता भिडियो पपुलर भइदिन्छन् । र, तिनमा डुएट बनाउने वा तिनको अडियो प्रयोग गरेर त्यस्ता कन्टेन्टलाई व्यापक बनाउने गरिन्छ । श्रीमतीहरू किचकिचे हुन्छन्, तिनले श्रीमान्को शोषण गर्छन्, यो लकडाउन/निषेधाज्ञामा पतिहरूको जीवन कैदीसरह भइरहेको छ भन्ने आशयका भिडियोहरू हेर्दा म निराश हुन्छु ।

खासमा गलत त्यस्ता भिडियो बनाउनेहरू होइनन् । यिनले त जे बिक्छ त्यही बनाए । गलत त यस्तो दृष्टिकोण विकास गरिदिने सोच र संस्कार हो, जसले श्रीमती र महिलालाई पुरुषको मनोरञ्जनको साधनका रूपमा चित्रित गरिदियो, जसले घरायसी काम गर्नु भनेको पुरुषका लागि लाजमर्दो विषय वा जोइटिङ्ग्रे हुनु हो भन्ने कुविचार स्थापित गराइदियो, जसले आफ्नी जीवन–संगिनीलाई कि सेवक कि शासक वा नभए डरलाग्दो भाइरससँग तुलना गर्न सिकायो । गलत त त्यो पितृसत्तात्मक सोच भरिदिनेहरू हुन्, जसका कारण हामी यसरी जान–अन्जानमै पितृसत्ताका मतियार बनेका छौं ।

महिलाको चरित्रहत्या

एउटा प्लट यस्तो छ, जसमा ज्योतिषीले हात हेर्दै बच्चाको बाउलाई खतरा छ भनिरहँदा महिला पात्रको डाइलग हुन्छ, ‘धन्न मेरो बूढोलाई केही हुँदैन ।’ अन्य भिडियोमा श्रीमान् बाहिर गएपछि घरमा भएको सहयोगीसँग सम्बन्ध जोड्ने, छिमेकी पुरुषसँग प्रेम वा शारीरिक सम्बन्ध राख्नेजस्ता कुराहरू देखाइन्छन् ।

केटीहरू सम्पत्तिको पछि लाग्छन्, सयुंक्त परिवारमा बस्न खोज्दैनन्, वृद्ध अवस्थाका सासू–ससुरालाई हेला गर्छन् भन्ने खालका सन्देश दिने टिकटक भिडियोहरू महिला टिकटकरले समेत बनाएको देख्दा म हैरान हुन्छु । श्रीमान् र छोराछोरी नभए महिला हुनुको अर्थ छैन, बिहे गरेपछि मात्रै महिलाको जीवन सार्थक हुन्छ, बच्चा जन्माउनु नै तिनको अन्तिम भूमिका हो भन्ने सन्देश दिने भिडियोहरू टिकटकभर यत्रतत्र छन् ।

पितृसत्तात्मक सोचको पुनरुत्पादन

कमेडीका नाउँमा महिलालाई उडाउने, तिनको मानहानि गर्ने, दुईअर्थी संवाद बोल्नेजस्ता सस्ता शैली समग्र मनोरञ्जन क्षेत्रले अंगकृत गर्दै आएको छ । टिकटकले पनि त्यसको सिको गरेको छ । अझ, धेरैजसो टिकटकरले त फिल्म, टेलिफिल्म, कार्यक्रमहरूकै भिडियो क्लिप, संवाद र संगीतमा लिप सिंक गर्ने गर्छन् । तीमध्ये कतिपय कन्टेन्ट महिलाको हकमा भद्दा र अपमाजनक हुन्छन् । ‘जस्ट फर फन’ लेख्दैमा यस्ता भिडियो ‘फन’ वा मनोरञ्जनको विषय कसरी बन्न सक्छन् !

कुनै विषयलाई ठट्टा बनाउनु भनेको त्यसको गम्भीरतालाई बेवास्ता गर्दै संवेदनशीलता घटाउनु हो । श्रीमतीबाहेक अन्य सम्बन्धलाई लिएर यो स्तरको ठट्टाहरू भएको देखिँदैन । श्रीमतीलाई किन यतिबिघ्न मजाकको विषय बनाइएको ? ऊदेखि डर नभएर, उसको ‘फुर्ती’ नपचेर वा उसलाई जोकर, शासक, निरीह, सहायक, खलनायक वा कनिष्ठ ठानेर ?

यहाँ पनि दोष ती भिडियो बनाउनेहरूको होइन, उनीहरू त पितृसत्तात्मक समाजका नमुना वा प्रोडक्ट मात्रै हुन्, जसले सानैदेखि त्यस्तै भएको देखे, त्यही सिके र त्यही गरे । अनि, अहिले टिकटकको माध्यमबाट त्यसैलाई बढाउँदै लगिरहेका छन् । अब यिनै कुरा स–साना नानीबाबुले पनि सिक्छन् र अर्को पुस्ता पनि पितृसत्तावादी भएर निस्किन्छ । दोष हाम्रो सांस्कृतिक संरचनाको हो, जसले यो पितृसत्तावादी चेतलाई मलजल गर्न हरदम भूमिका खेलेको छ ।

मेकअप नगरे भूतजस्तो देखिइन्छ भन्नु, आमालाई होच्याउने खालका वाक्यांश प्रयोग गर्नु, धेरै पढेर पनि बाले आमाजस्ती श्रीमती पाए भन्नु, आमाको नम्बर बाले कोरोना भाइरस भनेर सेभ गर्नुलाई कमेडी–भिडियोका रूपमा प्रस्तुत गर्दा बालबालिकाको मस्तिष्कमा के छाप पर्ला ? टिकटकमार्फत हामीले बाल दिमागमा पितृसत्तात्मक विचार भरिदिँदै छौं । महिलाहरूको वस्तुकरण गरेर त्यसलाई सामान्यीकरण गर्न हामी टिकटकमार्फत भूमिका खेलिरहेका छौं । यसले वर्षौंदेखिको समानताको आन्दोलन र कार्यक्रमलाई अन्ततः अर्थहीन बनाउँदै लगेको भान हुन्छ ।

मैले टिकटकमा भएका सारा भिडियो नकारात्मक सन्देश दिने खालका वा ती झुर हुन्छन् भन्ने खोजेकी होइन । न त यसको प्रयोग गर्नुहुन्न भन्ने मेरो मनशाय हो । भारत र अमेरिकामा टिकटकमाथिको प्रतिबन्धलाई मैले सोह्रै आना सही मानेकी छैन । टिकटकमा गुणस्तरीय कन्टेन्टहरू पनि छन् । यसले मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न चाहनेलाई अवसरसमेत दिइरहेको छ । मेरो भनाइ यति मात्र हो, मनोरञ्जनका नाममा महिलाको अपमान हुने भिडियो नबनाऔं । र, तिनमा बालबालिकालाई त पटक्कै प्रयोग नगरौं । र, टिकटकमार्फत पितृसत्ताको मतियार हुन छोडौं ।

प्रकाशित : आश्विन १०, २०७७ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?